उज्यालोलाई मासेको सुहाएन

कविता विमल लामिछाने March 30, 2025, 12:11 am

विमल लामिछाने
विमल लामिछाने
उज्यालो भन्दा अँध्यारोमा रमाउन खोज्नेहरुले

यतिबेला स्वर चर्को बनाएका छन्

सामाजिक सञ्जाल भ्रमले रङ्ग्याएका छन्

भ्रष्टाचारीले अँध्याराको बखान गर्छ

बेइमानीले अँध्याराको जयजयकार गाउँछ

जनता ठग्न बानी परेकाहरु

अँध्यारो औधि मन पराउने गर्छन्

अँध्यारोमा षड्यन्त्रका तानाबाना बुनिन्छन्

यतिबेला अँध्यारोको पूजा गर्ने ध्याउन्नमा

मेरो सरकार पनि निक्कै अघि बढेको छ

रवि पछि कुलमानलाई निमोठेर बालेनतिर सरेको छ ।।

मुलुकमा व्यथिति बढेको बेला

नैतिकता मरेको बेला

इमान जमानलाई बन्दक बनाएर

भ्रष्टहरुको साम्राज्य चलेको छ

बुद्धिलाई मुढेबलले जित्न चाहन्छ सरकार !

कपटी र बेइमानी मिलेकै बेला राइँदाइँ गर्न चाहन्छ सरकार !

अँध्यारोमा हाँसेको नराम्रो

अँध्यारोमा हातले इशारा गर्नुको के अर्थ ?

अँध्यारोमा त प्रेतहरुको साम्राज्य चल्छ

अँध्यारोमा चिहानमा मसानहरु सल्बलाउँछन्

अँध्यारो अवनतिको मुहार हो

अँध्यारो यथास्थितिको प्रतीक हो

अँध्यारो असभ्यताको कमाण्ड हो

मान्छेलाई अघि बढ्न त उज्यालो चाहिन्छ सरकार !

उज्यालोलाई यात्राको प्रतीक मानिन्छ

शान्ति, स्वतन्त्रता र स्वाभिमानको स्वस्तिक मानिन्छ

कर्याप्पै निमोठेर चपाउन नखोज सरकार !

यसर्थ मानव सभ्यताको विकासमा उज्यालो चाहिन्छ

समाजलाई उज्यालो मन भएका कुलमानहरु चाहिन्छ ।।

अझै मान्छेभित्रको आशा मरेको छैन

मान्छेले सपना देख्न छाडेको छैन

बाँकी छन् अझै न्याय, स्वतन्त्रताका विद्रोहहरु

बाँकी छन् अझै क्रान्ति र समानताका भाकाहरु

बाँकी छन् अझै समृद्धीका महिमा र त्यागका गाथाहरु

सरकार !

बहुमतको दम्भमा भाले भएर बासेको सुहाएन

समाजवादमा पुग्नु छ, उज्यालोलाई मासेको सुहाएन ।।

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।