वैद्यनाथ उपाध्यायः तपाईँको लेख्नेक्रम कहिलेबाट र कसरी सुरु गर्नुभयो?
मनोज बोगटीः १९९४ देखि नै मैले लेख्न थालेको हुँ, तर १९९६ देखि चाहीँ पत्र-पत्रिकामा मैले लेखेका कथा, कविता प्रकाशित हुन थालेको हो। म आठौं श्रेणीमा हुँदा साथीहरूको प्रेमपत्रतिर खुब शायरी लेखिदिन्थेँ। क्लासमा म शायरी लेखकको रूपमा परिचित भइसकेको थिएँ। सायद दाजु पुस्ताका लभलेटरतिर यस्ता शायरीहरू देखेकाले मलाई शायरी लेख्न उक्साएको थियो कि जस्तो लाग्छ। मैले स्कुलको पाठ्यपुस्तकमा मात्र कविता पढ़ेको थिएँ। निलम सुब्बा गुरुआमा र एसबी गोले सरले कविता पढ़ाउनुहुन्थ्यो। कविताप्रति म ती बेला त्यसरी आकर्षित भएँ जस्तो लाग्छ। पाठ्यपुस्तकमा जस्तै कविता कोर्न थालेँ। पछि पछि गाउँमा दैनिक समाचार पत्रिकाहरू आउन थाले। त्यहाँ कविता, कथाहरू छापिएका हुन्थे। म ती कविताहरूको पनि सिको गर्थेँ। मेरा क्लासमेट थिए अरुण थापा। उनले एकदिन एउटा लिफाफा लिएर आए र मलाई दिए। भने, तिमीले लेखेको कविता हालेर यो पोष्ट गर। त्यो आजभोलि दैनिकको ठेगाना भएको लिफाफा थियो। मैले अरुणले भनेजस्तै गरेँ। तर कविता छापिएन। तर त्यसपछि मैले लिफाफा किन्दै कथा, कविता हालेर दुइवटा अखबारमा निरन्तर पठाइबसेँ। १९९६ को अक्टोबरमा पहिले आजभोलि दैनिकमा मेरो सपना शीर्षकको कथा छापियो। अर्को सप्ताह सगरमाथा साप्ताहिकमा घर फर्कनलाई शिर्षकको कविता छापियो। त्यही मेरो पहिलो प्रकाशित कथा र कविता थियो। समाचार पत्रिकामा कथा, कविता छापिन थालेपछि बिकाश थुलुङ भन्ने कवि मलाई खोज्दै घरै आए, तिनी त्यहीँ तल्लो गाउँका कवि रहेछन्। त्यसपछि अनिल तेलैजा, छिरिङ दीन, कमल रेग्मी, रमेश थापा, उज्ज्वल बमजन, जय क्याक्टसहरुको कविता र कविताका किताबहरू पाएँ, पढ़ेँ। त्यसपछि पो थाहा भो, कवि त गाउँभरी रहेछन्। यसरी साहित्यिक पत्र-पत्रिका, कविता, कथाका किताबहरू साथीहरूबाट पाउन थालेँ। अनि लेखन अघि बढ़दै गयो।
वैद्यनाथ उपाध्यायः लेख्नका निम्ति कुनै अनुप्रेरणा थियो कि?
मनोज बोगटीः प्रेम पत्रमा शायरी लेखाउने साथीहरू नै प्रेरणा हुन्। स्कुलको नेपाली पाठ्यपुस्तक र पढाउने सर गुरुआमाहरू नै प्रेरणा हुन्। त्यसपछि जोडिएका कवि साथी, कवि दाजुहरू नै प्रेरणा हुन्।
वैद्यनाथ उपाध्यायः तपाईँ किन लेख्नुहुन्छ?
मनोज बोगटीः यो त किन सास फेर्नुहुन्छ भने जस्तो भयो। शुरुमा त रहर पुरा गर्न लेख्थेँ। तर पछि लेख्नु भनेको के हो भनेर बुझ्दै गएँ, त्यसपछि आफैँलाई व्यक्त गर्न लेख्दै गएँ। आफूलाई व्यक्त गर्दा समाज स्वतस्फुर्त व्यक्त हुँदोरहेछ। म मानिस हुँ। दार्जिलिङमा बस्छु। वरिपरि जेजस्ता परिघटनाहरू हुन्छन्, ती परिघटनाहरूले असहज बनाउँछ। म त्यो असहजता लेखनबाट प्रकट गर्दो हुँ।
वैद्यनाथ उपाध्यायः तपाईँको दिनचर्या अर्थात् दैनिकीको विषयमा केही जानकारी दिनुहोस।
मनोज बोगटीः म कवि लेखक सँगसँगै पत्रकार पनि हुँ। जर्नलिष्टिक एक्टिभिज्म मेरो जनरा हो। समाजसित सरोकृत सन्दर्भहरूलाई केलाउँछु। हरेक कुरालाई आलोचनात्मक दृष्टिले हेर्छु। फिल्डमा उत्रेर जनताका गुनासाहरूलाई, समस्याहरूलाई बाहिर ल्याउँछु। अहिले भर्खर पनि म कोर्ट पुगेर आएको हुँ, त्यसपछि यी जबाफहरू लेख्न बसेको हुँ। टाउकोमा सत्रवटा केश छ। दार्जिलिङको सत्तासिनहरूले लगाएको केश हो। जब ड्याम फुटेर टिस्टामा बाढी आयो, यसले टिस्टालाई पनि तहसनहस पाऱ्यो। यसको फिल्ड रिपोर्टिङ र यस सन्दर्भका विश्लेषणहरू म बारम्बार गर्दै आइरहेको थिएँ। जिटिएका मुख्य कार्यपाल अनित थापाकै मातहतमा म र पत्रकार साथी उमेश परियारमाथि कुटपिट भयो। टिस्टा आपदालाई गम्भीरताकासाथ लिनुपर्ने कुरामा म जोड दिइरहेको थिएँ, सत्तालाई त्यो पचेन। कुटपिट पछि निरन्तररूपमा ममाथि केश लगाएर मेरो आवाज दबाउने कोसिस भइरहेको छ। म आफ्नो आवाज बुलन्द राख्न सङ्घर्ष गरिरहेको छु। भर्खरै एउटा ननफिक्सन किताब-संवेदी प्रश्न निकालेको छु, धामाचेरो- नाममा एउटा हिन्दीको किताब पनि अनुवाद गरेर छपाएको छु। बेला बेला कविता पनि लेख्दै आइरहेको छु। घरको आर्थिक वातावरण अलिग बिग्रेको छ, त्यसलाई सपार्न अनेकौं उपाय गरिरहेको छु। डिटिपी, किताबहरूको सम्पादन र किताबहरूको आवरण बनाउने काम गर्छु, पैसा लिएर। चियाबारीका श्रमिकको जस्तै निम्नातिनिम्न जीवन चलाइरहेको छु।
वैद्यनाथ उपाध्यायः दार्जिलिङको साहित्यिक परिवेशको विषयमा के भन्न चाहनुहुन्छ?
मनोज बोगटीः दार्जिलिङमा पहिलेको तुलनामा धेरै स्तरीय किताबहरू छापिन थालेका छन्। तर समीक्षा, समालोचना र आलोचना फिटिक्कै हुन छाड्यो। बहसबरू हुन छाडे। कवि गोष्ठी साह्रै पातलो हुन थालेका छन्। भए पनि बोलाउन पनि छाड्यो। बोलाइहाले जान पनि भ्याउन छाडेँ। आशा लाग्दा कवि, लेखकहरू साह्रै थोरै देखिन्छन्। दाजुदिदी पुस्ता र भाइबहिनी पुस्तामा संवाद हराइरहेको स्थिति छ। अधिकांश लेखकहरूले किताब पढन छाडे। भर्खरै सिलगडी गोर्खे हाटमा सम्बोधन पब्लिकेशनका सुरज रोसुरीले मलाई सोधे, दाजु, साहित्यकारहरूले किन किताब किन्दैनन्? मैले भनिदिएँ, सायद साहित्यकारहरूले पढन लायक किताब नै लेखिन छाड्यो कि? साहित्यमा विमर्श हरायो। लेखक-लेखक बीच संवाद हरायो। लेखक-पाठकबीच संवाद त उहिल्यैदेखि हराएको हो। अहिले सबै एकलकाँटे बनिरहेका हुन् कि जस्तो लाग्छ। तर किताब छापिन छाडेका छैनन्। साहित्यिक भन्दा पनि अहिले इतिहास, राजनीति, समाज सम्बन्धित ननफिक्सन निक्कै छापिँदैछ। त्यता कस्तो छ कुन्नी यता त यस्तै छ।
वैद्यनाथ उपाध्यायः लेखकहरूको दिनचर्या र चरित्रको विषयमा कस्तो दृष्टिकोण राख्नुहुन्छ?
मनोज बोगटीः अनेकथरीका लेखकहरू छन्। चरित्र छ आ-आफ्नै। मैले अघिल्लो साल दुइतिनोटा किताबको समीक्षा लेखेको थिएँ समीक्षा अलिक कठोर थियो। आलोचना धेरै थियो भनौं न। लेखकहरू मसित बोल्नै छाडे। कति लेखकले त दुश्मनजस्तै व्यवहार पनि गरे। कति अहिलेसम्म ठुस्किएर बसेका छन्। अचेल कठोर आलोचनाको ठाउँ छैन, प्रशंसा गऱ्यो भने आन्द्रा गाँसिन्छ, आलोचना गऱ्यो भने पराई होइन्छ। लेखकहरूमा आ-आफ्ना चरित्र हुँदारहेछन्। अरु लेखकहरूको दिनचर्याबारे मलाई उति जानकारी रहेनछ। कसले के पो गर्दैछ भनेर चियो गर्ने बानी नभएर हो कि? पछिल्लो समय मैले कवि अगमसिंह गिरी र गुमानसिंह चामलिङबारे निकालिएका किताबहरू पढेको थिएँ। दुवै किताबमा गिरी र चामलिङलाई मत्थु करार गर्न लेखकहरूले गरेको परिश्रम देखेर हैरान बनें। धेरै लेखकहरू लेखकको नीजि जीवनप्रति सरोकार राख्दा रहेछन्। राख्नुपर्ने त कृति र जीवनतिर हो। तर अधिकांश लेखकहरूले न चामलिङ केलाए न गिरी, केलाएका रहेछन् रक्सी। लेखकहरूको आफ्ना आफ्ना चरित्र हुँदारहेछन्। मेरो चरित्र चाहीँ प्वाक्क भन्ने छ। कठोर आलोचना गर्ने छ। हिप्पोक्रेसी पिटिक्कै मन पर्दैन। स्वाङ पार्नेहरू मेरा दुश्मन हुन्। गनेउलेहरू मेरो छेउ नपरे हुन्छ। म निक्कै अडभङ्गे लेखक हुँ कि?
वैद्यनाथ उपाध्यायः सामग्रिक रूपमा तपाईँको लेखाईको मुलभूत संदेश के छ?
मनोज बोगटीः पाठक र समाजलाई प्रबुद्ध पार्ने नै मेरो लेखनको ध्येय हो।
वैद्यनाथ उपाध्यायः तपाईँले आदर्श मानेका लेखकहरू को को हुन?
मनोज बोगटीः गाब्रियल गार्सिया मार्खेज, जसले लेखकले प्रतिरोधी भाषा निर्माण कसरी गर्नुपर्छ, त्यो सिकायो। मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, उदय थुलुङहरूले कविताको क्राफ्टबारे सिकाए। धुमिल, श्यामल, श्रावन मुकारुङ, राजा पुनियानीहरूले विषय छान्न सिकाए। रामकृष्ण शर्मा र गुमानसिंह चामलिङले आलोचनाको पाटो सिकाए, धेरै धेरै धेरै लेखकहरू पो छन् जो मेरा आदर्श छन्, सबैको नाम लिँदा झिँजो होला।
वैद्यनाथ उपाध्यायः लेखकहरूमा अध्ययन, चिन्तन-मननको कस्तो स्थान हुनुपर्छ?
मनोज बोगटीः त्यो त हुनै पऱ्यो। कविले हो भने एउटा कविता लेख्न अघि सय कविता पढनुपर्छ। पहिले त के लेख्ने भन्ने कुरामा उ स्पष्ट हुनुपर्छ। कसरी लेख्ने भन्नेबारे पनि सचेत हुनु पऱ्यो। धेरैभन्दा धेरै किताबहरू पढनु पऱ्यो। आफ्ना रुचिका किताबहरू छान्न जान्नु पऱ्यो। पढेका किताबबारे चिन्तन, मनन गर्नु पऱ्यो। अग्रजहरूसित संवाद गर्नुपऱ्यो। संवाद मूल कुरा हो, सकेसम्म हरेक विषयमा संवाद गर्न जरुरी छ।
वैद्यनाथ उपाध्यायः अब के लेख्ने जमर्को गर्दै हुनुहुन्छ?
मनोज बोगटीः म दार्जिलिङको राजनीतिमाथि किताब लेख्ने सुरसारमा छु। दार्जिलिङमा राजनैतिक चेतनाको उदयदेखि, अङ्ग्रेजकालीन कुटनीतिहरू केलाउँदै अहिलेको भारतसम्म आइपुग्दा दार्जिलिङको राजनीतिको अनुहार कस्तो बनेको छ, त्यो लेखेर देखाउँ कि भन्दैछु। कथात्मक शैलीमा इतिहास लेख्दा पठनीय होलान् कि भन्नेबारे सोच्दैछु, तर तथ्यहरूलाई पात्र बनाएर। पारम्परिकरूपले इतिहास लेख्ने शैली विपरीत। र अर्को वर्ष तीनवटा लामो कथालाई एउटा किताब बनाउने योजना पनि छ। सबै लेखिसकिएको छ, अब पुनर्लेखनमा जाऔं कि भनेर सोचिरहेको छु।