भानुभक्तको जीवनीका थप सूचना

जीवनी शर्वराज आचार्य January 4, 2024, 1:39 pm

शर्वराज आचार्य
शर्वराज आचार्य
वि.सं.२०७८ को नेपाल प्रज्ञा प्रतिष्ठानको समाज शास्त्र विभाग अन्तर्गत रहेर अनुसन्धानका रूपमा ‘भानुभक्तका जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’ गरी कृति प्रकाशित गरिएको थियो । विश्लेषणपूर्व मोतीरामेतर भानु जीवनीका मतान्तरका स्थल, थप सूचना, देखीजान्ने स्रोतसाक्ष्य र सुनीजान्ने आनुवंशिक स्रोतसाक्ष्य तथा सामग्री सङ्कलन विधिको निक्र्योल गरियो । भानुभक्तका चिठीपत्रका तिथिमिति, भानुभक्तकालीन नेपालको इतिहास र जङ्ग बहादुरको बेलायत यात्रा, पाल्पा गौँडाको इतिहास, वि.सं. १९१० को प्रथम हस्त लिखित मुलुकी ऐन, आचार्य वंशावलीहरु र भानुभक्तका हस्त लिखित सामग्रीका तिथिमिति र उनकै हस्त लिखित रामायणको बालकाण्डको अध्ययनबाट प्राप्त तथ्यसँग मतान्तरलाई विश्लेषण र संश्लेषण गरी प्रमुख भानु जीवनीका तिथिमिति र घटनाको अध्ययन सम्पन्न भएको थियो । सो अध्ययनबाट प्राप्त थप सूचना यस लेखमा सङ्क्षिप्त रूपले उल्लेख गरिएको छ ।

सर्वप्रथम भानुभक्तका पुर्खाको नामावली नरनाथ आचार्यकृत भानु जीवनीमा उल्लिखित छ । यसलाई भानुभक्तका पुर्खाहरुका दुई ओटा आचार्य वंशावली (दीक्षित र कौडिन्य गोत्रीय आचार्य बन्धु समाज), किंवदन्ती र सेनराज्यको राजनीतिक इतिहास (मोहन प्रसाद खनाल,२०६१) हरुलाई संश्लेषण गर्दा भानुभक्तका पुर्खा लम्जेल आचार्य र दैलेख जिल्लाका काशीराम आचार्य प्रथम लम्जेल देखिन्छन् । यिनका अठारौँ पुस्ताका गोकुल आचार्य लमजुङमा बसेका र गोकुलका छोरा विश्वामित्र, विश्वामित्रका छोरा गया, गयाका छोरा सागरानन्द, सागरानन्दका माहिला छोरा सूर्योपाध्याय भेटिन्छन् । भानुभक्तका पुर्खा भनेर नरनाथकृत भानु जीवनीले बाजे श्रीकृष्ण आचार्यदेखि माथि सूर्यापाध्यायसम्मको दश ओटा नाम टिपोट गरेको छ । सूर्योपाध्यायभन्दा माथिका भानुपुर्खाको नाम दिने कौडिन्य गोत्रीय आचार्य बन्धु समाजको तत्त्वावधानमा नेपालमा आचार्य वंशावली (कौडिन्य गोत्र) तयार गरि रहेका वंशावलीका अन्वेषक र सम्पादक शालिक राम आचार्य र धर्मराज आचार्य हुन् । प्राप्त १० जना भानु पुर्खामध्ये मणिकण्ठोपाध्यको नाम पाल्पा भेटिएको देखाउने मोहन प्रसाद लिखित सेनराज्यको राजनीतिक इतिहास भन्ने कृति रहेको छ । यसले गर्दा भानुभक्तका पुर्खा दैलेखको लम्जीदेखि कास्की, लमजुङ र पाल्पा हुँदै पाल्पाका सेन राजाका प्रभावमा तनहुँ आएको देखिन्छ । तर भानुभक्तका कुन चाहिँ पुर्खा तनहुँमा आए भन्ने यकिन देखिँदैन ।

सर्वप्रथम रङ्गनाथ शर्माले वि.सं.१९९८ मा प्रकाशित भानुभक्त मणिमालाको परिचय भन्ने भानु जीवनीसन्दर्भपरक रचनाभित्रको आफ्नो टिपोटमा भनुभक्तको जन्म वि.सं.१८७१ आषाढ कृष्ण अष्टमी, आदित्यवार धन लग्न र जन्म नक्षत्रको नाम देवीभक्त रहेको उल्लेख गरेका छन् भने विष्णुमायाले पनि प्रदत्त टिपोटका आधारमा जन्म कुण्डली सहित वि.सं.१८७१ आषाढ २९ गते रविवार कृष्णपक्ष अष्टमी ३१ घडी ३२ पलामा भनी भानुभक्तको जन्मदिन बताएकी छन् । तर नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले ज्यौतिषीय अध्ययनबाट उल्लिखित घडी पलामा देवीभक्त भन्ने दे अद्याक्षरबाट उठ्ने जन्म नक्षत्रको नाम परेको देखिन्न, चि आद्याक्षरबाट उठ्ने नाम पर्ने देखिन्छ भनेका छन् । भानुभक्तका सन्ततिहरु र तिनका पुरेतले पनि यस अध्येतासँग चि आद्याक्षर भएको चिन्तामणि वा चिरञ्जीवी भन्ने नामले भानुभक्तलाई तर्पण र पिण्ड दिने गरेको बताइ रहेका छन् । यसले गर्दा रङ्गनाथको उक्त टिपोटमा भानुभक्तको जन्म नक्षत्रको नाम सम्बन्धी गल्ती देखिएको छ ।

उक्त टिपोटमा भानु जन्मसाल पनि गल्ती छ भन्ने शङ्का जन्माएको छ । किनभने वि.सं.२०२३ को भानुका लघु कृति हरुको भूमिकामा विद्वान् जूननाथ शर्मा पण्डितले वि.सं.१८७१ को आषाढ कृष्ण अष्टमी जेठको ३१ गते र साउन कृष्ण अष्टमी आषाढ २९ गते पर्छ भनेका छन् । अहिले सम्बन्धित सालका प्रचलनका पात्रो हेर्दा पनि त्यस्तै देखिन्छ । त्यस कारण रङ्गनाथले भानुभक्त मणिमाला (१९९८) को परिचय भन्ने लेखमा उल्लेख गरेको भानुभक्तको जन्मतिथि आषाढ कृष्ण अष्टमी हो वा साउन कृष्ण अष्टमी हो यकिन हुन सकेन । तसर्थ यी दुई तिथिमध्ये एउटा तिथि अवश्य गल्ती छ भन्ने देखियो । यहाँनेर रङ्गनाथको टिपोटमा रहेको भानु जन्मतिथिमा दोस्रो गल्ती देखिएको छ, । अर्थात् पहिलो गल्ती एउटा भानु जन्म नक्षत्रको नाममा र दोस्रो गल्ती आषाढ वा साउन कृष्ण अष्टमी तिथिमा । तर कुण्डली श्लोकलाई भानुभक्तकै जन्म कुण्डली हो भन्ने आधारमा भने आषाढ कृष्ण तिथि नभएर साउन कृष्ण अष्टमी तिथि हो भन्ने बुझिन्छ । उक्त रङ्गनाथको टिपोटमा दुई ओटा गल्ती देखिएकाले भानुभक्तको जन्म वि.सं.१८७१ पनि गल्ती हो कि भन्ने अर्को आशङ्का उब्जिएको छ । किनभने मोतीरामले भानु जीवनीमा भानुभक्तको जन्मसाल वि.सं. १८६९ हो भनी लेखेका छन् । यसर्थ यी दुई भानु जन्मसालमध्य भानुभक्तको वास्तविक जन्मसाल कुन हो भनी खुट्याउन एकातिर ज्यौतिषीय अध्ययन विधि र अर्कोतिर रङ्गनाथका सन्ततिका घरमा पुराना कागत पत्र र टिपोट सम्भावनाको थप खोज तथा परीक्षणको आवश्यकता देखिएको छ ।

भानुभक्तको काव्ययात्राको अध्ययन गर्दा संवत् १८९१ मा घाँसीभेट भन्दा पूर्व नै उनले कविता लेखेको देखिन्छ । मोतीराम भट्टले भानु जीवनी लेखनको व्रmममा वि.सं.१८९१ मा लेखिएको घाँसी कविता र वि.सं. १८९८ मा लेखिएको बालकाण्ड रामायणलाई भानुभक्तका प्रारम्भिक कविता बनाएका छन् । तर भानुभक्तको काव्ययात्राको अध्ययनबाट मोतीरामको कथनमा सत्यताको अंश देखिन्न । किनभने वि.सं.२०६३ मा दैवज्ञराज न्यौपाने (भानु दर्शन, वर्ष ३२, अङ्क १, पूर्णाङ्क ७) र वि.सं. २०६३ समालोचक तथा प्रा.डा. वासुदेव त्रिपाठी निर्देशित भद्रवीर अधिकारीको नेपाली कविताका विकासमा भानुभक्त आचार्यको योगदान भन्ने शीर्षकको शोध प्रबन्धमा भानुभक्तका प्रारम्भ कालीन, मध्यवर्ती र पछिल्ला कविता कृतिका नामले भानुभक्तको कविता यात्राको अध्ययन गरेका छन् । यी अध्ययनमा मोतीरामले भने झैँ घाँसी कविता र रामायण बालकाण्डलाई भानुभक्तका सुरुका कविता देखिन्नन् । यी कविता लेख्नुभन्दा अगाडि भानुभक्तले केही मुक्तक प्रकृतिका फुटकर कविता लेखि सकेको देखिन्छ ।

भानुभक्त लिखित तर्तमसुक र इजहारले भानुभक्तलाई कानुनी लेखन र ज्ञानमा दक्ष, तत्कालीन अड्डा अदालत बुझेका सिद्धहस्त लेखन्दास बताउँछन् । वि.संं.१९१७ चैत्रदेखि वि.संं.१९२३ फागुन १७ गतेसम्मका अहिले प्राप्त जम्मा ६ वर्षभित्र कविले लेखेका तमसुक र इजहारले भानुभक्तलाई सिद्धहस्त लेखन्दास देखाएका छन् । समग्रतामा अध्ययन गर्दा भानुभक्तलाई जीवनको उत्तरार्धतिर यो सिद्धहस्त दक्षता प्राप्त हुने अवसर फेला पर्दैन । किनकि तमसुक र इजहार भानुभक्तको देहावसानपूर्व ७।८ वर्ष अगाडिदेखि लेखिएका छन् । उनलाई यो सिद्धहस्त दक्षता चुँदीरम्घा बसेर वा काशीमा पढेर प्राप्त भएको होइन । यसका निम्ति भानुभक्तलाई पाल्पामा आजीवन बसेका बाबु धनञ्जयको निकटता र भाषा सिकाइको सिद्धान्त अनुसार गरिने भाषिक अभ्यास र पुनरावृत्तिको आवश्यकता पर्छ । वि.सं.१८९० तिर काशीबाट पढेर फर्किएका भानुभक्तलाई धनञ्जयको निकटता, कानुनी अभ्यास र अध्ययन लेखनको पुनरावृत्तिको अवसर प्राप्त भएको देखिन्छ ।

भानुभक्तले वि.सं.१९९८ मा रामायण बालकाण्ड तर्जुमा गरेका थिए भन्ने अनुश्रुति हुनु र त्यसमा दरबारिया भाषा र पाल्पाली नामयोगीको प्रयोग देखिनु, उनी कानुनी लेखनमा अड्डा अदालत बुझेका लेखन्दास पाइनु, बिरामी र अस्वस्थ धनञ्जय आचार्यलाई वि.सं.१९०० पूर्व सहयोग गर्न पाल्पा बसेका थिए भन्ने पाल्पाली अनुश्रुति भेटिनु, बाबुराम आचार्यले पनि भानुभक्त वि.सं.१९०२ भन्दा आगडि नै पाल्पामा जागिरमा भर्ना भइ सकेका थिए भन्नु, नरनाथ आचार्यले समेत धनञ्जय अस्वस्थ थिए भनी लेख्नु आदि भनाइहरु यहाँ संश्लेषण गर्न सकिन्छ । यस संश्लेषणबाट भानुभक्तले सर्वप्रथम बाबुलाई सहयोग गर्न पाल्पामा बसेको, पाल्पामा बस्दा थप कानुनी शिक्षा पाएको, जागिरबाट समेत कानुनी लेखन र अभ्यास बढाएको र पाल्पाका दरबारिया प्रशासकसँगको बोलिने अत्युच्च आदरार्थी प्रयोगसँग निकट बनेको देखिन्छ । भानुभक्तका हस्त लिखित रामायण बालकाण्ड तमसुक, इजहारहरुमा प्रकट भएका भाषिक सिपले उल्लिखित भनाइ पुष्टि गरेका छन् ।

यसर्थ वि.संं १८९० मा भानुभक्त काशीबाट पढेर तनहुँ आएपछि उनको सम्पर्क पाल्पाका दरबारिया प्रशासकसँग भएको देखिन्छ । वि.सं.१८९८ मा तर्जुमा भएको मानिने रामायण बालकाण्डमा पाल्पाली नामयोगी र दरबारिया भाषाको प्रयोग हुनु तथा काशीबाट पढेर फर्किएको १२ वर्षपछि पहिलो सन्तान रमानाथ आचार्य (१९०२—१९६८) को जन्म हुनुले भानुभक्त आचार्य तनहुँ चुँदीरम्घामा निरन्तर नबसेको देखाउँछ । यसमा अस्वस्थ र पेटका रोगी बाबु धनञ्जय आचार्यलाई सहयोग गर्न परेको उल्लेख हुनुले पनि भानुभक्तको चुँदीरम्घा बसाइमा निरन्तरता देखिन्न । वि.सं.१९९० देखि पाल्पामा जनरल रणवीरसिंह थापा (१८९०—१८९४), काजी रणदल पाँडे (१८९४—१८९७), काजी सिंहवीर पाँडे (१८९७—१८९८), पुनः काजी रणदल पाँडे (१८९८—१८९९), चौतारिया गुरु प्रसाद शाह र चौतारिया खड्ग विक्रम शाह (१९००—१९०१), त्रिविक्रमसिंह थापा (१९०१—१९०२), चौतारिया गुरु प्रसाद शाह (१९०२—१९०३) र कम्यान्डिङ कर्नेल कृष्ण बहादुर कँुवर (१९०३—१९०६) हरु प्रशासक देखिन्छन् । यी प्रशासकहरु तत्कालीन सत्तासीन मुख्तियार वा प्रधान मन्त्रीका दरबारिया आआफ्ना भाइ, भतिजा र नातेदार हुन् । यिनीहरुसँग हुने निकट सम्पर्कको आभ्यासिक संवादविना भानुभक्तलाई वि.सं.१८९८ मा लेखिएको भनिने रामायण बालकाण्डमा दरबारिया र अत्युच्च आदरार्थी शब्दको प्रयोग सम्भव देखिन्न । यस समयमा भानुभक्त पाल्पाका दिननाथ नेपालको घरमा डेरा गरेको बुझिन्छ । किनभने दिननाथसँग भानुभक्तको मितेरी सम्बन्ध रहेको र सँगसँगै जागिर खाएको उल्लेख यिनै दिननाथका छोरा तथा पाल्पाली कवि छविलाल नेपालको जीवनीमा उल्लेख छ । पाल्पामा बस्दा भानुभक्त दिननाथ नेपालको घरमा डेरा गरेर बसेका थिए भन्ने कुरा खुल्न आएको छ ।

भानुभक्त वि.संं.१९०१ कार्तिकमा मामा जयलाल पौडेलका सालीको छोरो कलाधर ब्रह्मणलाई मन्त्र सुनाउन गएको तथ्य कलाधर घिमिरे र भानुभक्तकै कान्छा मामा मणिरामका सन्तानहरु बताउँदै आएका छन् । मोतीरामले बाहेक अन्य भानु जीवनी लेखकले कलाधरलाई निःसन्तान जयलालको छोरो वा भदा सालो बताएका छन् । निःसन्तान जयलाल पौडेलको ससुराली कास्की हंसपुरका सुवेदी हुन् । त्यसैले नाताले कलाधर घिमिरे जयलाल पौडेलको छोरो वा भदा सालो (साला वा जेठानको छोरो) हुन सक्ने देखिएन । अद्यापि भोर्लेटारमा कलाधर घिमिरे र भानुभक्तका कान्छा मामाका सन्ततिहरुले यो प्रामाणिक साक्ष्य बोलि रहेका छन् । यथार्थ के रहेछ भने जयलालका सन्तान थिएनन् र मूल नक्षत्रमा जन्मेका कलाधर (सालीको छोरो) लाई जयलालले आफ्नो घरमा हुर्काएका रहेछन् । जयलालले कलाधरलाई पढाइ लेखाइ गराएर सरकारी जागिर खुवाएका पनि रहेछन् । पछि कलाधर डिठ्ठासम्म भएको कुरा उनका सन्ततिले बताउँदै छन् ।

भानुभक्त आचार्यले छोरा रमानाथ आचार्यलाई .....पौष बदी ५ रोज १ मा लेखेको चिठीको ब्यहोराबाट काशी मणि कर्णिका घाटमा धनञ्जय आचार्यको देहावसान भएको कुरा अवगत हुन्छ । यो हस्त लिखित ब्यहोरा हाल प्राप्त नभए पनि त्यसको अंश वि.संं.२००५ कार्तिक १५ को ठेली १ सङ्ख्या २ भएको नेपाल शिक्षा भन्ने सरकारी पत्रिकाको पृष्ठ २४ मा प्रकाशित गरिएको छ । यसलाई पछिल्ला भानु जीवनी लेखकहरुले धनञ्जयको देहावसान मिति भनेर उल्लेख त गरेका छन् तर ......पौष बदी ५ रोज १ कुन विक्रम संवत्मा पर्छ भनी अध्ययन गरेको देखिन्न । यस अध्येताले प्राज्ञ डा.महेशराज पन्त र प्राज्ञ दिनेशराज पन्तका गृह पुस्तकालयका पुराना पात्रहरु हेरेर वहाँहरुको सहयोग समेत लिई अध्ययन गर्दा भानुभक्तले रमानाथलाई लेखेको उक्त चिठीमा उल्लिखित मिति वि.सं.१९०४ मा परेको देखियो । अर्थात् वि.सं.१९०४ पौष १३ गते कृष्णपक्ष पञ्चमी आदित्यवारका दिन भानुभक्तले काशीबाट तनहुँका रमानाथलाई धनञ्जय देहावसान भएको ब्यहोरा खुलाई चिठी लेखेको अवगत भयो । यस चिठीको आधारमा धनञ्जयको देहावसान वि.सं.१९०४ पौष महिनातिर भएको देखिन्छ ।

धनञ्जयको देहावसानपछि भानुभक्तलाई गिरिधारी रानाभाटसँग बगर खेतको साँधसीमा सम्बन्धी मुद्दा परेको छ । मुद्दामा भानुभक्त पहाडतिरका अड्डामा वि.सं.१९०४ पछि कति समय झुले उल्लेख भेटिँदैन । तर वि.सं.१९०६ मा यो मुद्दा लिएर उनी काठमाडौँ सदर पुगेको देखिन्छ । वि.सं.१९०६ मा काठमाडौँ नपुग्दासम्म भानुभक्तले “गजाधर सोतीका घरबुढि अलच्छिन्कि रहिछन्” भन्ने एक श्लोक बाहेक वि.संं.१८९८ देखि अन्य कविता नलेखेको कुरा मोतीरामले लेखेका छन् । यहाँनेर के देखिन्छ भने वि.सं.१८९८ देखि बाबु धनञ्जयको काममा सहयोग, पितृसेवा, कानुनी अध्ययन र अभ्यास, पाल्पाका प्रशासकसँगको सान्निध्य, धनञ्जयको देहावसान र जागिरका कारण मोतीरामले उल्लेख गरेको समय (वि.सं.१८९८—१९०५) भित्र भानुभक्तले अन्य कविता लेखेको देखिन्न ।

वि.सं.१९०६ को शरद ऋतुमा (असोज, कार्तिक) पाल्पाका प्रशासक, जङ्ग बहादुरका काहिँला भाइ जनरल कृष्ण बहादुर काठमाडौँ झिकाइए । जङ्ग बहादुरले उनलाई न्याय विभाग वा निजामती विभागको प्रमुख बनाएका थिए । यही समयमा भानुभक्तले पनि गिरिधारीसँग भएको बगर मुद्दामा काठमाडौँ आएर फिराद पत्र दिए । यस मौकामा मान (जागिर) पाउँला कि भनेर उनले पाल्पादेखि नै परिचित र तत्कालीन न्याय विभागका प्रमुख कृष्ण बहादुरको चाकरी गर्न थाले । यही समयमा वि.सं.१९०६ को पौष—माघतिर जङ्ग बहादुरको एक बर्से बेलायत यात्रा सुरु भएकोे थियो । यता चाकरीदेखि खुसी भएर कृष्ण बहादुरले पनि भानुभक्तलाई वि.सं.१९०७ वैशाखमा तराई मधेसतिरको जागिर दिएछन् । भानुभक्तका ५ जना नातिमध्ये काहिँला नाति डिठ्ठा दुर्गाभक्त आचार्यले भानुभक्त बुटबलतिर गएको कुरा इतिहासकार बाबुराम आचार्यलाई बताएका छन् ।

जागिर खाएको र जागिर खोसिएर थुनिएको देखीजान्ने व्यक्ति धर्मदत्त ज्ञवाली हुन्, जो भानु जीवनी लेखक मोतीराम भट्टका स्रोतसाक्ष्य र भानुभक्तका परम मित्र र सहकर्मी थिए । मोतीरामले झँै यति भरपर्दो र देखीजान्ने स्रोतसाक्ष्य कुनै पनि भानु जीवनी लेखकले पाएको देखिन्न । तिनताका हरेक साल साउन भदौ महिनातिर जागिरको पजनी हुन्थ्यो । पजनी भनेको सरकारी कर्मचारीको काम गराइको इमानदारी र बेइमानीका आधारमा खारेजी वा खोसुवा, सरुवा, बँढुवा र थमौती आदि गर्ने काम हो । खाएको दुई वर्ष जतिमा वि.सं.१९०९ को साउन भदौतिर भानुभक्तको जागिर खोसियो । बेलायत यात्रा सकेर ४ फेब्रुअरी अर्थात् वि.सं.१९०७ को माघमा जङ्ग बहादुर थापाथली दरबारमा भित्रिएका थिए । उनले बेलायत यात्राको १ बर्से कार्यकालमा भाइहरुद्वारा जागिर पाएका जागिरदारको जागिर खोसेका थिए । भानुभक्तले पनि जङ्ग बहादुरका काहिँला भाइ कृष्ण बहादुरको चाकरी गरेर पाएको मधेसतिरको जागिर यही मेसोमा खोसिएको देखिन्छ ।

जागिर खोसिएपछिका घटनक्रम हेर्दा भानुभक्त १९०९ सालको कार्तिक महिनातिर कुमारी चोक बुझाउन काठमाडौँ पुगेको बुझिन्छ । कुनै भानु जीवनी लेखकले भानुभक्तले जागिर खाएकै थिएनन्, बाबुको सरकारी बाँकीमा थुनिएका हुन् भनी वि.सं.१९१० मा हातले लेखेको मुलुकी ऐनमा नभएको रैरकम्को महलको नम्बर १३ अनुसार भानुभक्तलाई कुमारी चोकमा थुनाएका छन् । हातले लेखेको त्यो तत्कालीन मुलुकी ऐनको रैरकम्को महलमा १ देखि ६ नम्बर मात्र छ, यसपछिका कुनै पनि नम्बर छैनन् । तसर्थ मुुलुकी ऐनमा नभएको त्यो नम्बर अनुसार भानुभक्त वि.संं.१९१० वा १९११ मा थुनिने कुरा भएन । भानुभक्तलाई कुमारी चोकमा थुनाउने भानु जीवनी लेखकहरुले खरिदार पदमा बहाल छँदा नै वि.सं.१९०९ वा वि.संंं.१९१० तिर धनञ्जयको देहावसान भएको बताएका छन् तर धनञ्जयको देहावसान वि.संं.१९०४ पौषतिर काशीको मणि कर्णिका घाटमा भएको प्रमाणित भएको छ (गोरखा पत्र २०७० फागुन१० गते) । त्यसैले खरिदार पदमा बहाल छँदाछँदै धनञ्जय आचार्य अचानक देहावसान भएको देखिन्न । यी भानु जीवनी लेखकहरुले धनञ्जयको देहावसान उल्लेख भएको भानुभक्तले लेखेको चिठीको ब्यहोराको मिति उतार र वि.सं.१९१० को प्रथम हस्त लिखित मुलुकी ऐन अध्ययन गरेको देखिन्न ।

यसर्थ बाबुको बराखी फुकेपछि वि.संं.१९११ तिर वा १९१० तिर बाबुकै सरकारिया बाँकीमा भानुभक्त कुमारी चोकमा थुनिएका हुन् भन्ने केही भानु जीवनी लेखकहरुको भनाइमा प्रामाणिकता भेटिएन । यसर्थ वि.संं.१९११ को फागुनतिर कुमारी चोकबाट बिदा लिएर भानुभक्त चुँदीरम्घा गई छोरा रमानाथ आचार्यको व्रतबन्ध गरे भन्ने कुरा पनि पुष्टि हुन सक्दैन । वि.संं.१९६४ मा जन्मेका भानुभक्तका कान्छा नाति शिवभक्त आचार्यले बाबु रमानाथ आचार्यको देहावसान हुँदा आपूm ४ वर्ष पुरा भई पाँच वर्ष लागेका थिए भन्ने कुरा उनले जीवितावस्थामा यस अध्येतालाई बताएका थिए । यता भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले भानुभक्तको खोजपूर्ण जीवनीमा रमानाथको जन्म वि.संं.१९०२ र देहावसान वि.संं.१९६८ मा भएको उल्लेख गरेका छन् । यसले भानुभक्तका नाति शिवभक्त आचार्यको उक्त भनाइलाई मात्र पुष्टि गर्दैन कि मोतीराम लिखित भानु जीवनीमा वि.संं.१९०९ मा कुमारी चोकमा थुनिएका भानुभक्तले “चालिस् वर्ष भयाँ म पुत्र पनि एक् मात्रै छ आठ वर्षको” भन्ने भनाइलाई पनि पुष्टि गर्छ । त्यसैले मोतीरामले लेखे अनुसार रमानाथको व्रतबन्ध संवत् १९०९ को फागुन महिनामा भएको देखिन्छ ।

इतिहासकार बाबुराम आचार्यकृत भानु जीवनी बाहेक मोतीरामकृत र मोतीरामेतर अन्य भानु जीवनीले कसैले श्री ३ कम्यान्डर इनचिफ, कसैले इनचिफ र कसैले कम्यान्डर इनचिफ कृष्ण बहादुरलाई भानुभक्तले चाकरी गरेको वा श्लोक लेखी बिन्ती चढाएको उल्लेख गरेका छन् । जङ्ग बहादुर कालीन नेपालको इतिहास अध्ययन गर्दा के देखिन्छ भने कृष्ण बहादुर वि.संं.१९१४ भन्दा अगाडि कम्यान्डर इनचिफ भएको देखिन्न । रोलव्रmम अनुसार जङ्ग बहादुरका माहिला भाइ बम बहादुर राणा नै कम्यान्डर इनचिफ देखिन्छन् । इतिहासले वि.सं.१९१४ मा उनको देहावसान भएको उल्लेख गरेको छ । यसपछि वि.सं.१९२० सम्म कृष्ण बहादुर कम्यान्डर इनचिफ भएका छन् । त्यस कारण वि.संं.१९१४ सम्म भानुभक्तले कृष्ण बहादुरलाई चाकरी गर्दा कम्यान्डर इनचिफ कृष्ण बहादुरको होइन कि जनरल कृष्ण बहादुरको चाकरी गरेको देखिन्छ । कम्यान्डर इनचिफकै पदमा बहाल छँदा वि.सं.१९२० को साउन महिनामा यिनको पनि देहावसान भएको छ । तर वि.सं.२०४२ पछिका भानु जीवनी लेखक र भानुभक्तका बारेमा विद्यावारिधिको शोध प्रबन्ध लेख्नेहरुले समेत भानुभक्तलाई देहावसान भइ सकेका कृष्ण बहादुरको चाकरी गर्न पु¥याएका छन् । जीवित र अजीवित मान्छेबिच भेट गराएका छन् ।

उल्लिखित सूचना बाहेक भानुभक्तका बारेमा अन्य थप सूचना पनि भेटिएका छन् । तनहुँ सुरमा बस्ने नैयाँहरु हरेक वर्ष भानुभक्तको घरमा बेठ बेगार तिर्न पुगेको देखिन्छ । नैयाँहरुले भानुभक्तका पुर्खाको तनहुँ सुरको अर्चले स्वाँरा भन्ने जग्गा उपभोग गरे बापत बेठ बेगार तिर्थे । भानुभक्तका नातिका घरमा उनीहरुले बेठ बेगार तिर्न आएका नैयाँहरुलाई यस अध्येताले केटाकेटीमा देखेको थियो । अद्यापि भानुभक्तका कान्छा नातिका माहिला छोरा लक्ष्मीनाथ आचार्य आफ्नो यो स्मृति बताउँदै छन् । अर्को कुरा भानुभक्तका सन्ततिमा जेठा रमानाथ र कान्छा शिव शङ्कर भन्ने दुई छोरा मात्र देखिन्छन् । केही जीवनी लेखकले कलेस्ती गुर्जुलाई विवाह गरेर दिएकी लक्ष्मी नामकी भानुभक्तकी एउटी छोरी थिइन् भनेका छन् तर गुर्जु खलकको वंशावली र तिनले तर्पण पिण्ड दिने पितृहरुको अध्ययन गर्दा त्यहाँ भानुभक्तकी दिएको देखिन्न । बरु कलेस्ती गुर्जुलाई रामानाथकी माहिली छोरी इन्द्रमायालाई विवाह गरेर दिएको र उनलाई दर्पण पिण्ड दिएको देखिन्छ । पनाति मुक्तिनाथ आचार्य लिखित भानुभक्तको वंशावलीमा समेत भानुभक्तको छोरी सन्तान भएको देखिन्न । भानुभक्त र तनहुँ दुम्सीका मगरबिच पनि सुसम्बन्ध रहेको देखिएको छ । भानुभक्तले रमानाथलाई वि.सं.१९१९ वैशाखमा लेखेको चिठीमा दुम्सीका मगरहरुबाट सुर बाँधि दिएको कुरा उल्लेख गरिएको छ तर कस्तो सुर बाँधि दिएको हो भन्ने उल्लेख छैन । यस्तो उल्लेखले दुम्सीका थरी लक्षोमन थापा सहित अन्य मगरहरुसँग भानुभक्तको घनिष्ठ सम्बन्ध रहेको देखाउँछ ।

अर्को सूचना भानुभक्त र गिरिधारी रानाभाटबिच भएको बाँधकुलो सम्बन्धी मुद्दासँग सम्बन्धित छ । यस मुद्दासँग सम्बन्धित भानुभक्त लिखित एउटा खेस्रा प्रतिवादी पत्र प्राप्त छ । त्यो पत्र हेर्दा वि.संं.१९२२ मा पुरानो बाँधकुलामा पानी चली खेत रोपेको कुरा लेखिएको छ । यसरी पानी चलाई खेत रोप्नेमा भानुभक्तकै साहिँला बाबुका छोरा गौरीदत्त, ठाहिँला बाबुका छोरा वेद शर्मा र कान्छा बाबुका छोरा चतुर्भुज गरी तिन जना देखिन्छन् । यता भानुभक्त सहित अन्य अज्र्याल, भाट, ढकाल, अचार्ज र रानाभाट थरका मोही मिलेर वि.सं.१९२१ मा नै नयाँ बाँधकुलोबाट पानी चलाई खेत रोपेको देखिन्छ । पुरानै बाँधकुलाबाट पानी चलाई खेत रोपिएको हुँदा पछि लगाएको र खनेको बाँधकुलो आवश्यक छैन भनी गिरिधारी रानाभाटले भानुभक्तसँग झगडा गरेका रहेछन् भन्ने त्यो खेस्राले नै प्रस्ट्याउँछ । यसले गर्दा भानुभक्तका अन्य बाबुका छोराहरुले पुरानो बाँध लगाएर पुरानै कुलामा पानी नचलाएको भए गिरिधारी रानाभाटले भानुभक्तसँग झगडा गर्ने अवस्था आउने थिएन भन्ने देखिन्छ ।

देहावसान हुनुभन्दा अगाडि नै भानुभक्तले राष्ट्रिय अभिलेखालयस्थित रामगीता सहितको रामायण आफ्नै हातले लेखेका हुन् भन्ने अर्को थप सूचना प्राप्त भएको छ । यसका निम्ति यो हस्त लिखित रामायणसँग भानुभक्तले रमानाथलाई वि.सं.१९१९ वैशाख ४ गते लेखेको चिठी र भानु जीवनीमा उल्लेख भएको मोतीरामको भनाइ संश्लेषण गर्न सकिन्छ । मोतीरामले भानु जीवनीमा वि.सं.१९२५ मा भानुभक्त नेपालबाट घरतर्फ फर्कन लाग्दा धर्मदत्तले उत्तर काण्डको रामगीता भाषानुवाद गर्नू भनेको र धर्मदत्तका घरमा रामगीता अद्यावधि छँदै छ भनेका छन् । यस संश्लेषणबाट धर्मदत्तले संस्कृत भाषामा जस्तै नेपाली भाषा पनि अलग रामगीता बनाउन लगाएको बुझ्न सकिन्छ । तर जीवनीमा मृत्युशैय्याबाट रामगीता लेखि सकेपछि भानुभक्तले भाषा रामायण लेख्ने काम पुरा भएको जनाइएको छ । उता भानुभक्तको पुख्र्यौली घरमा पनि संस्कृत भाषाकै अलग रामगीता देखिएको छ । काठमाडौँबाट घर आई बिरामी भएपछि धर्मदत्तका निम्ति आफ्नो हस्तलिखित रामायणभित्रकै नेपाली रामगीता भानुभक्तले भन्दै रमानाथलाई लेख्न लगाएको बुझिन्छ । वि.सं.१९१९ वैशाखमा रामायण लेखेर सकिए तापनि भानुभक्तले रामगीता समावेश नगरीकन रामायणको प्रचार प्रसार गरे । रामगीता सहितको रामायण भने आफ्नै घरमा मात्र राखे । जुन वर्तमानमा राष्ट्रिय अभिलेखायको ल.स.च.नं.३१० वि.सं.(३२) मा दर्ता भएर अभिलेखालयकै माइक्राे फिल्म शाखामा रिल नम्बर ए३६१र१ मा पनि सुरक्षित छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।