डेनमार्कबाट केही टाढा एउटा सुन्दर देश थियो । त्यहाँ ह्यामलेट नामका राजाले शासन गरिरहेका थिए । उनले एक सुन्दरी कन्यासँग विवाह गरेका थिए । दुबै एकअर्कालाई धेरै माया गर्थे र सधैं एक अर्काको लागि आफ्नो जीवन बलिदान दिनसमेत तयार हुन्थिए । विवाहपछि रानीबाट एक राजकुमारको जन्म भयो । उनको नाम कुमार ह्यामलेट राखेको थियो । राजकुमार बाल्यकालदेखि नै आमाभन्दा बुवालाई धेरै माया गर्थे । राजा ह्यामलेटको कान्छो भाइको नाम क्लाउडियस थियो । राजकुमार उनीहरुसँग बस्ने गर्दथे । यसरी उनीहरु खुसीसाथ बाँचिरहेका थिए । ह्यामलेटको राज्य सुख-समृद्धि पूर्ण थियो । राजाले जनताको हितका लागि धेरै काम गरेका थिए । यस्ता राजा पाउनु जनताका लागि धन्य मान्ने कारण थियो ।
एक दिन भयानक घटना घट्यो, राजा ह्यामलेटको मृत्यु भयो । उनको मृत्युको बारेमा क्लाउडियस बाहेक कसैलाई थाहा थिएन । आँखाभरि आँसु लिएर उसले राजा ह्यामलेटलाई विषालु सर्पले टोकेर कालले लगेको घोषणा गरेको थियो ।
ह्यामलेटको मृत्युको खबर जनतामा चट्याङ परे जस्तै भयो । मानिसहरू आफ्ना राजा ह्यामलेटलाई धेरै माया गर्थे । यो खबरले उनिहरूलाई शोकको गहिराईमा डुबाइदियो । राज्यभरी शोक छायो ।
यो दुर्घटनाको सबैभन्दा नराम्रो असर राजकुमार ह्यामलेटमा परेको थियो । ऊ आफ्ना बुवालाई धेरै माया गर्थिए । उनको धेरैजसो समय उनीहरुसँगै बित्थ्यो । बुवाको मृत्युले उनको सानो हृदयलाई चोटले पूर्ण क्षत विक्षत पारेको थियो । उनको आँखाबाट निरन्तर आँसु बगिरह्यो । उनलाई भोक-तिर्खा र निद्रा समेत नलाग्ने भयो । कुनै न कुनै तरिकाले उनलाई सम्झाएर सुताइन्थ्यो । तर मध्यरातमा ऊ ओछ्यानबाट उठेर बुवालाई सम्झिने र बोल्ने गर्नथालेका थिए । त्यसपछि रातभरी रुन्थिए र रोएर रात बिताउने गर्थिए ।
यसरी नै दुई महिना बित्यो । तर पनि उनको मन र हृदयमा बुवाको सम्झना मेटिएन । उनले एक पलको लागि पनि आफ्नो बुवालाई बिर्सन सकेनन् । उनी आफ्नो कोठामा गएर घण्टौंसम्म रुने गर्थे ।
उनले अझै आफूलाई नियन्त्रण गर्न सकेका थिएनन्, एक दिन एउटा खबर सुनेर आश्चर्यमा परे । उनले आफुले सुनेको खबर विश्वास गर्न सकेनन् । बुवा जिवीत रहँदा अपार माया देखाउनुहुने आमाले आफ्ना काका क्लाउडियससँग विवाह गरेकी थिइन् । उनले यसबारेमा केही भन्नु उचित ठानेनन् । किन की त्यहाँ सबै काम एकदमै गोप्य रुपमा गरिन्थ्यो ।
यो विवाह कुनै पनि हिसाबले उपयुक्त मान्न सकिँदैन थियो । जब रानी सुन्दरताले परिपूर्ण थिइन्, क्लाउडियस धेरै कालो, कुरूप र असामान्य रूपमा कठोर थियो । खोज्दा पनि उसमा कुनै गुण देखिदैन थियो । स्पष्ट रूपमा भन्नुपर्दा, ऊ कुनै पनि हिसाबले रानी र सिंहासनका लागि योज्ञ थिएन । तर यो कुरा ह्यामलेटले मात्र बुझेका थिए, रानीले यस कुरामा आँखा चिम्लिने गरेकी थिइन् ।
रानीले यस विवाहको लागि नसोचिकन स्वीकृति दिएकी थिइन्, यही कुराले ह्यामलेटलाई सबैभन्दा धेरै आश्चर्यमा पारेको थियो । उनका बुवाको दुई महिना अघि मात्रै निधन भएको थियो, त्यहि समय आमाले दोस्रो विवाह गरेकी थिइन् । आफ्ना स्वामी प्रति आमाको माया, समर्पण यति चाँडै कहाँ हरायो - यसले ह्यामलेटलाई सोचमा पार्यो ।
एक दिन ह्यामलेट आफ्नो कोठामा बसेर पछिल्ला केही महिनामा घटेका घटनाहरूको बारेमा सोचिरहेका थिए, अचानक उनको मनमा एउटा विचार आयो- "के यो विवाहको पछाडि केही षडयन्त्र छ ?" उनले फेरि सबै कुरा मनमा केलाए र फेरि सोच्न थाले- "सबैभन्दा पहिला मेरा बुवाको मृत्यु विषालु सर्पको टोकाइले भयो । तर क्लाउडियसलाई मात्र यसको बारेमा थाहा थियो । त्यसपछि केही दिनपछि उनको र मेरी आमाको विवाह भयो । के यस्तो सम्भव छ कि मेरा बुवाको मृत्युको पछाडि यी दुईको हात छ ? के उनलाई सर्पको रूपमा डसिएको छैन ? सिंहासनको लोभले नराम्रो काम गर्न बाध्य बनाउँछ । निसन्देह तिनीहरूले मेरा बुवालाई मारे र अब तिनीहरू यो राज्य हडप्न चाहन्छन् ।"
ह्यामलेट जति सोच्ने गर्थिए, उति नै सोचमा अल्झिन्थे । सोचाइका कारण उनको स्वास्थ्य दिनप्रतिदिन खस्किन थाल्यो । शरीर काँडा सुके झैँ सुक्यो, अनुहार पहेंलो भयो, आँखा भित्र गाडिए । मानिसहरू उनी हाँसेकोहेर्न चाहन्थे । तर उनी आफुमै भुलिन थालेका थिए । उनी सोचमा गम्भीर र हराइरहेको देखिन्थे ।
एक दिन उनी दरबारको शाही बगैँचामा हिड्दै थिए । एक जना पहरेदार आएर डराउँदै उनलाई भने- "राजकुमार, केही दिनदेखि मैले दरबारमा राजालाई देखिरहेको छु, त्यो निश्चय नै उहाँको आत्मा हो, जो तीन दिनदेखि देखिरहेको छु ।" उनले पहरेको कुरासुने मात्र, कसैलाई केही भनेनन्, तर उनको चाल चलनले कसैलाई खोजेको जस्तो देखिन्थो ।
यो ह्यामलेटका लागि आश्चर्यभन्दा कम थिएन । बुवाको आत्मा दरबारमा रहेको थाहा पाएर खुसी भएपछि उनी सोचमा पनि परे । बिस्तारै उनलाई विश्वास भयो "जे भए पनि बुवा महाराजले उनलाई खोज्दै छन् । पक्कै पनि उनलाई केही भन्न चाहेका छन् ।" अन्ततः राजकुमारले आफ्नो बुवालाई भेट्ने निर्णय गरे।
त्यसै रात उनी पहरेहरूसँग उनको बुवाको आत्मा घुमिरहेको ठाउँमा पुगे । यसबारे उनले कसैलाई केही भनेनन् ।
मध्यरात थियो, राजकुमारको आँखामा निद्रा हराएको थियो । त्यतिकैमा एउटा पहरेदार नजिक आएर नम्र स्वरमा भन्यो, "हेर राजकुमार ! मञ्चमा महाराजको आत्मा ।"
राजकुमारले त्यता हेरे । शाही पहिरन लगाएको एउटा छाया बिस्तारै उनको छेउमा आउँदै गरेको देखे । राजकुमारले आत्माको चाल र लुगाबाट थाहा पाए, उनका बुवा ह्यामलेट भनेर । उनले मृत्युको समयमा आफ्नो शरीरमा लगाएको पहिरन नै लगाएका थिए । त्यो दृश्य राजकुमारले चन्द्रमाको उज्यालोमा स्पष्ट देखिरहेका थिए ।
‘बुवा !’ भन्दै त्यो छाया भएतिर लागे । पहरेहरूले उनलाई रोक्न प्रयास गरे, तर उनी रोकिएनन्, पहरेबाट आफूलाई छुटाएर त्यतातिर लागे । दुईको बीचमा केही पाइलाको दुरी थियो, छायाले उनलाई एउटा सुनसान कुनातिर जान संकेत गर्यो ।
क्षणभरमै ह्यामलेटको अनुहार पसिनाले भिज्यो । उनले सोच्न थाले– "कतै बुवाको भेषमा घुमेको कुनै अर्को भूत त होइन ?
यसले हानि नपुर्याओस् । ऊ त्यहिँ रोकिए । उनको अन्तर्आत्माले भन्यो, ‘राजकुमार, व्यर्थमा शंका नगर । डराउनुपर्ने केहि छैन । यी तिम्रा बुवा हुन ।"
राजकुमारको मनको डर भाग्यो र छाया लिएर कुनामा गए । त्यो छायाले आँखा डुलाएर वरिपरि हेर्यो । उनीहरूको कुरा सुन्न टाढा टाढासम्म पनि कोही थिएनन् । त्यसबेला छायाको मुखबाट पहिलो शब्द निस्क्यो- "कुमार! मेरो छोरा !"
लामो समयपछि बुवाको स्नेहको स्वर सुनेर राजकुमारका आँखा रसाए, घाँटी निसासिए जस्तो भयो । मन दौडिएर त्यो छाँयालाई अँगालो हाल्न चाहन्थे, मायाले अङकमाल गर्न चाहेका थिए । तर त्यो छाँयाले उनलाई रोक्यो । त्यसपछि राजकुमारले आफूलाई संयममा राखे र भने, "बुवा, तपाईं किन यसरी घुमिरहनु भएको छ ॽ तपाईंको मुक्तिमा के बाधा पर्यो र ? तपाईंको आत्मा किन अशान्त छ ? मलाई सबै कुरा स्पष्टसँग सुनाउनुहोस् ।"
छायाले नरम स्वरमा भन्यो, "छोरा, यस्को एउटा कारण छ, र त्यो हो मेरो रहस्यमय हत्या ।"
"हत्या ! के भन्दै हुनुहुन्छ बुवा ? काकाले भनेका थिए सर्पदंशनले तपाईंको मृत्यु भएको ।" आश्चर्यमा पर्दै राजकुमारले सोधे ।
"कुमार ! म सर्पको डसाइबाट मरेको होइन, मेरो हत्या भएको हो । आजसम्म मेरो आत्मा तिमीलाई यो कुरा सुनाउन भौतारिइरहेको थियो । आज यो रहस्यको पर्दा हट्ने छ र मेरो आत्माले शान्ति पाउनेछ ।" शान्त हुँदै बोल्यो त्यो आवाज।
"तर तपाईंलाई कसले मार्न सक्थ्यो ? यो घिनलाग्दो काम कसले गर्यो ? तपाईं मलाई भन्नुहोस्, म त्यो दुष्टलाई आफ्नै हातले सजाय दिनेछु ।" राजकुमारले आक्रोशित हुँदै भने ।
"शान्त होउ, कुमार ! यो क्रोधमा हुने काम होइन । आफ्नो मन शान्त राख र मेरो कुरा धैर्यपूर्वक सुन ।"
राजकुमारले केही बेर आँखा बन्द गरेर आफूलाई शान्त गरिरहे । त्यसपछि उनले बुवालाई सबै कुरा भन्नुहोस् भने ।
त्यसपछि छायाले सत्य कुरा भन्न थाल्यो, "कुमार, मलाई मार्ने मेरो आफ्नै भाइ हो, हो, मलाई क्लाउडियसले मारेको हो । मेरो मृत्यु भएको दिन म दिनहुँको सबै काम सकेर शाही बगैंचामा गएको थिएँ । म आराम गरिरहेको थिएँ । चिसो बतास चल्दै थियो । यहि कारण म निदाएँ छु । त्यतिबेला मेरा वरिपरि कोही थिएनन् । त्यो मौकालिएर क्लाउडियस त्यहाँ आएर विषालु पदार्थका दुई थोपा कानमा हालिदियो । विषले मेरो स्नायु जल्यो र मेरो मुटुको धडकन पनि रोकिए पछि मेरो मृत्यु भयो । यसरी उसले सबै खोसेर मलाई यस्तो अवस्थामा धकेल्यो । कुमार, यदि तिमीले मलाई माया गर्छौ भने वाचा गर, मेरो मृत्युको बदला क्लाउडियससँग तिमीले लिनुपर्छ, तब मात्र मेरो आत्माले शान्ति पाउनेछ । शान्ति र मुक्ति । नत्र म युगौंसम्म यसरी नै भटकिरहने छु ।
राजकुमारले क्लाउडियसको बारेमा पहिला देखि नै शंका गरिरहेका थिए । बुवाको कुराले उनको शंकालाई विश्वास जगाई दियो । उनले कसम खाए, "बुवा, क्लाउडियसले तपाईंलाई मबाट खोसेको छ । म त्यससँग तपाईंको हत्याको बदला लिनेछु । बदला नलिउन्जेल म शान्त हुनेछैन् ।
"तर एउटा कुरा मनमा राख कुमार ! आमालाई माफ गरिदेउ । तिनले जानेर वा नजानेर गरेको पापको प्रतिफल भगवान आफैले दिनेछन् ।"
त्यसपछि त्यहाँबाट छाया अदृश्य भयो । ह्यामलेट हताश भए, र आफ्नो बुवालाई बोलाए, तर कुनै जवाफ आएन । त्यस पछि ऊ शिर निहुराएर कोठातिर फर्किए ।
ह्यामलेटले जुन प्रतिज्ञा गरेका थिए, उनी जतिसक्दो चाँडो पूरा गर्न चाहन्थे, ताकि उनका पिताको आत्माले शान्ति पाओस् । तर त्यस्ता काममा हतार गर्नु पनि उनको असफलताको कारण हुन सक्छ । त्यसैले योजनाबद्ध ढंगले यो काम पूरा गर्ने निधो गरे ।
ह्यामलेट धेरै सरल र सीधा थिए । कसैलाई मार्ने षड्यन्त्र गर्नु त के, कसैलाई नराम्रो भन्न समेत सक्दैन थिए । यस बाहेक क्लाउडियसका जासुसहरूले पनि उन माथि कडा नजर राखेका थिए । ह्यामलेट सतर्क थिए, त्यसैले उनलाई जासूसहरूको जासुसी बारेमा थाहा थियो ।
उनले पहिले उनको पिछा गरिरहेका जासुसहरूबाट छुटकारा पाउनु छ, त्यसपछि मात्र योजना बनाउन सक्नेछन् । त्यसैले उनले चाल खेले र पागल जस्तै व्यवहार गर्न लागे । उनले यस्तो व्यवहार गरे कि उनको चाल, व्यवहार र कृयाकलाप देखेर सबैले उनलाई पागल ठान्नलागे ।
क्लाउडियसलाई उनबाट कुनै शंका रहेन । राजकुमार पागल भएको सोचेर उसलाई राजकुमारको तर्फबाट लापरवाही बनायो । त्यस कारण उसले जासुसहरूलाई पनि निगरानीबाट हटाईदियो ।
दरबारमा एक जना विश्वासी पात्र थिए, जसको ओफेलिया नाउँकी छोरी थिइन । राजकुमार ओफेलियालाई माया गर्थे, तर ओफेलिया उनीबाट टाढा रहन्थिन् । सबैले सोचेका थिए, सायद प्रेममा असफल भएर राजकुमारको होश हरायो । यो कुरा ह्यामलेटको लागि सुफल दिने लाग्यो । यसको मौका उठाउने निर्णय गर्दै उनले ओफेलियालाई एक पत्रसमेत लेखे ।
पत्रको भाषा जटिल र अप्ठ्यारो थियो । ओफेलियालाई बुझ्न गाह्रो भयो । तैपनि उद्देश्य एउटै थियो, उनले ओफेलियालाई माया गर्नाले नै यो सम्भवहुन सक्छ । यसरी त्यो पत्र ओफेलियाले आफ्ना बुवालाई देखाइन्, पछि त्यो पत्र क्लाउडियससम्म पग्यो । पत्र देखेर क्लाउडियसको मनमा रहेको शंका पनि हट्यो । उसले राजकुमारलाई पूर्णतया स्वतन्त्र हुन दियो । अब राजकुमार जहाँ पनि जान सक्छन् ।
यता ह्यामलेटले पनि सोचे उनले गर्न खोजेको कुरा पूर्णतया सफल भयो । अब ऊ क्लाउडियस विरुद्ध षड्यन्त्रको योजना बनाउन सक्नेभए ।
त्यसबेला सहरमा एउटा नाट्य समूह आएको थियो । उनीहरूले हरेक दिन मञ्चन गरेको नाटक राजाको हत्या गर्ने षड्यन्त्रको बारेमा थियो । दृश्य यति प्राकृतिक र वास्तविकताको नजिक देखिन्थ्यो कि दर्शकका आँखा आँसुले भरिन्थे, मन खिन्न हुन्थ्यो । यो नाटक निकै लोकप्रिय भयो । राजकुमार ह्यामलेटले पनि एक पटक त्यो नाटक हेरेका थिए । नाटक हेरे पछि उनलाई बुवाको मृत्युको दृश्य याद आएको थियो ।
त्यसपछि उनले एउटा बुद्धि खेलाए । उनले सोचे– "नाटक समूहसँग मिलेर राजाको मृत्युको दृश्य परिवर्तन गरि क्लाउडियसलाई हेर्न निम्तो दिनुपर्छ । यदि उसको मनमा आफ्नो पापको बारेमा कुनै पश्चाताप छ भने, उसको शरीरको भाषाले उसको अपराध प्रकट गर्नेछ ।"
यही सोचेर उनले नाटक मञ्चका सदस्यहरूलाई दरबारमा बोलाए र उनीहरूका अगाडि यो प्रस्ताव राखेर भने, "मैले एउटा नाटक लेखेको छु, तपाईंको मञ्चका अनुभवी कलाकारहरूले मञ्चन गरून् भन्ने कामना छ । यसका लागि उचित पारिश्रमिक दिने छु ।"
"राजकुमार, तपाईंले लेखेको नाटकमा काम गर्न पाउँदा हामी आफूलाई धन्य ठान्छौं । तर के हामी नाटकको कथा छोटकरीमा सुन्न सक्छौं ? यसले हामीलाई नाटक बुझ्न सजिलो हुनेछ ।" नाटक समूहका प्रमुखले खुसीहुँदै भनेका थिए ।
राजकुमारले नाटकको कथा सुनाए र भने, "यो नाटक गुञ्जक नामका राजाको कथा हो । गुञ्जक भियना सहरका राजा थिए । उनी आफ्नी रानी ब्याप्टिस्टालाई असाध्यै माया गर्थे । रानीले पनि उनलाई असाध्यै माया गर्थिन् । राजाको लोसियन नाम गरेको भाइ थियो । एक दिन गुञ्जन शाही बगैंचामा सुतिरहेका थिए, त्यतिबेला लोसियनले उनको कानमा विषको केही थोपा हालिदिए, त्यसकारन राजाको मृत्यु भयो । त्यसपछि लोसियनले ब्याप्टिस्टासँग विवाह गरे र त्यहाँको राजा बने ।"
ह्यामलेटको यो कथा क्लाउडियसको पापकर्ममा आधारित थियो । पात्रहरूको नाम मात्र भिन्न थियो । नाटक समूहलाई कथा मन पर्यो र यसमा अभिनय गर्न राजी भए ।
निर्धारित समयमा नाटक मञ्चन गरियो । क्लाउडियस र रानीलाई विशेष निम्तो दिएर नाटक हेर्न बोलाइयो । नाटकको सुरुमा रानी ब्याप्टिस्टाले आफ्नो पतिको अगाडि आफ्नो प्रेमको कसम खाइरहेकी थिइन् । यो दृश्य देखेर रानीको अनुहार कालो-नीलो भयो । ऊ पसिनाले भिजिन् ।
अर्को दृश्यले राजा बगैंचामा आराम गरिरहेको देखाएको थियो । अर्को तर्फबाट, लोसियन विषालु तरलको शीशी लिएर बगैंचामा प्रवेश गर्छ । उसले सुतिरहेका राजाको कानमा केही थोपा विष हालिदिन्छ । अहिले चकित हुने पालो क्लाउडियसको थियो । उसको मुटु ढुकढुक गर्न थाल्यो । आफूले लुकिरहेको रहस्य ठानेको पाप अगाडिको मञ्चमा खुलेर मञ्चन भइरहेको थियो । उसको सास रोकिन थाल्यो, छातीको मुटु टुक्रिएला जस्तो भयो, ऊ त्यहाँ बस्न नसक्ने भयो र बाहिर निस्किन खोज्दै थियो । त्यसैले अस्वस्थताको बहाना बनाएर ऊ रानीसँगै त्यहाँबाट बाहिर निस्कियो ।
यो नाटक मञ्चन हुनुका साथै ह्यामलेटको उद्देश्य पनि पूरा भयो । एउटा कुनामा बसेर उनले सबै दृश्य हेरेका थिए । उनको छेउमा उनका एक विश्वासी साथी बसेका थिए । दुवैले क्लाउडियस र रानीको अनुहारबाट बुझ्न सकेका थिए की ती दुबै पापीहुन् । ती पापीहरू बारबार डराइ रहेका थिए र एक अर्कालाई हेर्ने र निधारको पसिना पुछ्ने कुरा उनीहरुबाट लुकेको थिएन । जब तिनीहरू दुवै नाटकको मञ्च छोड्दै थिए, ह्यामलेटले आफ्नो साथीलाई भने, "मित्र, क्लाउडियसको बचैनले उसले गरेको अपराध खोल्दै छ । उसले मेरा बुवाको हत्या गरेको कुराको कुनै शंका रहेन अब ।"
"म तिम्रो कुरामा पूर्ण सहमत छु । यो तिम्रा बुवाको हत्यारा हो ।" त्यो साथीले क्रोधितहुँदै भनेको थियो ।
"शान्त होउ, साथी ! भित्ताका पनि कान हुन्छन् । यो त्यस्तो कुरा गर्ने ठाउँ होइन । हामी यसबारे पछि कुरा गर्नेछौं ।" ह्यामलेटले साथीलाई मौनहुन भने ।
नाटक सकियो । सबै उनको प्रशंसा गर्दै मञ्चबाट बाहिर निस्किए ।
त्यही रात रानीले केही जरुरी कामको बहानामा ह्यामलेटलाई आफ्नो कोठामा बोलाइन् । ह्यामलेटलाई थाहा थियो कि नाटक हेरेपछि क्लाउडियस थप सतर्क हुनेछ र आफ्नो चालहरू चल्न थाल्ने छ । त्यसैले जब उनकी आमाले उनलाई आफ्नो कोठामा बोलाएकी छन्, उनलाई थाहा भयो कि उनले सोचेको बदलाको समय नजिकै आईरहेको छ । उनले आफ्नी आमालाई घृणा गर्न थाले, किनकि उनले पनि हत्यारालाई साथ दिइरहेकी थिइन् । तर उनले बुवाको भनाइ सम्झिए । त्यसैले जे भए पनि आमाको अनिष्ट नगर्ने निर्णय लिए ।
संयमितहुँदै ह्यामलेट रानीको कोठाभित्र पसे । त्यतिबेला रानी झ्यालको छेउमा उभिएर बाहिर हेर्दै थिइन् । पाइलाको आवाज सुनेर उनी फर्किन् र राजकुमारलाई सम्बोधन गर्दै भनिन्, ‘आऊ कुमार, बस ।
"तिमी के भन्न चाहन्छ्यौ भन" ह्यामलेटले रानीलाई भने ।
"त्यसो भए सुन कुमार ! तिमीले जे गर्दैछौ, त्यो ठिक छैन । तिमीलाई आफ्नो बुवाविरुद्ध यस्तो कार्य गर्न सुहाउदैन् ॽ तिमी किन यस्तो गर्दैछौ ?"
ह्यामलेटले बुझे कि रानीले क्लाउडियसलाई संकेत गरिरहेकी छिन् । रानीका कुराले ऊ क्रुद्ध भए र चर्को स्वरमा भने, "कुन बुवाको कुरा गर्दै छ्यौ ? जो साँच्चै मेरा बुवा हुनुहुन्थ्यो, कि मेरा बुवा बन्न खोज्ने को ?"
रानी उनसामु आइन् र भनिन्, "म राजा क्लाउडियसको बारेमा कुरा गर्दैछु । अब उहाँ तिम्रो बुवा हुनु भएको छ ।" रानी कठोर बन्दै भनिन् ।
क्लाउडियसलाई 'बुवा' भने पछि राजकुमारको अनुहार क्रोधले रातो भयो । उनले आफ्नो मुखबाट आगो निक्ले जसरी भने, "क्लाउडियस मेरो बुवा कहिल्यै हुन सक्दैन । ऊ त मेरा स्वर्गीय बुवाको हत्यारा हो । मैले त्यो सर्पलाई बुवा भन्न अघि मेरो जिब्रो जल्नेछ । मेरो तरवार उसको रगत पिउन चाहन्छ । त्यो पापीलाई नमारेसम्म शान्ति पाउन सकदिन ।"
राजकुमारको यस्तो उग्र रूप देखेर रानी डरले काँप्न थालिन् । महाराज आफै आएर उनको अगाडि उभिए जस्तो लाग्यो । उनी केही पाइला पछाडि हटिन् र हतार गरी कोठाबाट बाहिर निस्किन खोजिन् ।
तर राजकुमार अगाडि बढेर उनको बाटो छेके, र कडा स्वरमा भने, "रानी आमा ! तपाईं जानु अघि, तपाईंले मेरो एउटा प्रश्नको जवाफ दिनुपर्छ, नत्र म तपाईंलाई यहाँबाट जान दिनेछैन ।"
"म तिम्री आमा हुँ । तिमीलाई मसँग यसरी कुरा गर्न लाज लाग्दैन ! म जान्छु । हेरौँ के गर्छौ ?" यति भन्दै रानी अगाडि बढेपछि राजकुमारले उनको हात समाते । रानीले आफ्नो हात छुटाउन धेरै प्रयास गरिन तर सकिनन् ।
राजकुमारको रिसाएको अनुहार देखेर उनी पहिले नै डराएकी थिइन् । हात समातेको घटनाले त राजकुमार झन क्रुद्ध बनिसकेको बुझ्न सकिन्थियो । रानीले गुहार लाउदै चिच्याउन थालिन् । पर्दा पछाडीबाट ‘बचाऊ ! बचाऊ ! को आवाज आउन थाल्यो । तर त्यो आवाज पुरुषको थियो ।
"क्लाउडियस पर्दा पछाडि उभिएर तिनीहरूका सबै कुरा सुनिरहेको छ । रानीलाई संकटमा परेको देखेर उसले सहयोगको लागि सिपाहीहरूलाई बोलाइरहेको छ ।" यही सोचेर ह्यामलेटले तरबार निकाले र रानीलाई छोडेर पर्दाको नजिक पुगे । त्यसपछि उनले तरबारले त्यो मान्छे माथी आक्रमण गरे ।
त्यहाँ चिच्याएर कोही ढलेको आवाज निस्कियो र निमेषमै सुनसान भयो ।
"पर्दा पछाडिको मान्छे मरिसक्यो ।" यस्तो सोचेर राजकुमार शान्त भए । उनलाई त्यो मान्छे हेर्न मन लाग्यो । उनले अगाडि बढेर पर्दाको छेउ सारे । त्यहाँ ओफेलियाका बुवाको शव भुइँमा लडिरहेको थियो । उनी क्लाउडियसको विश्वासका पात्र थिए र त्यहाँ गोप्य रूपमा कुरा सुनिरहेका थिए ।
राजकुमारको मुखबाट पश्चातापको बोलि निस्कियो, "मैले यिनलाई नजानेर मारेँ । यसका लागि ओफेलियाले मलाई कहिल्यै माफ गर्ने छैनन् ।"
ह्यामलेट त्यसपछि रानीतिर फर्किए । हातमा रगतल लतपतिएको तरबार देखेर रानी डराइन् । मर्नै लागेको जस्तो अवस्था भयो । ह्यामलेटले तरबार राखे र रानीको काँधमा हात राखेर नम्र स्वरमा भने, "आमा, तिमी मसँग डराउनु पर्दैन, म तिम्रो छोरो हुँ, म अझै पनि तिम्रो स्नेहमा नै छु । म तिमीलाई पहिले जस्तै सम्मान गर्छु । तर आमा, यो सत्य हो कि क्लाउडियसले राजाको हत्या गरेको हो । उसको हात राजाको रगतले लतपतिएको हो । उसले सिंहासन हडप्नको लागि मात्र तिमीलाई विवाह गरेको हो । त्यो जस्तो पापीलाई समर्थन गरेर तिमी आफ्नो वंशलाई कलंकित पार्दैछ्यौ ।"
राजकुमारको कुरा सुनेर रानीका आँखा सरमले झुके । उनीसँग भन्नसक्ने केही थिएन ।
ह्यामलेटले आफ्नी आमाको शिर ठाडो बनाए र भित्तामा झुण्डिएको महाराजको तस्बिरतर्फ औंल्याउँदै भने, "हेर्नुहोस् आमा, बुवाले हामीलाई कस्तो आशापूर्वक हेरिरहनु भएको छ । उहाँ आफ्नो हत्यारासँग बदला लिन चाहनुहुन्छ । उहाँ हामी सँगै मिलेर क्लाउडियसलाई उसको कार्यको सजाय दिन चाहनुहुन्छ । के तपाईं मलाई यो काममा सहयोग गर्नुहुन्न ?"
ह्यामलेटको मुखबाट निस्केका यी शब्दहरू सुनेर रानीका आँखा आँसुले भरिए । मनमा ममताको सञ्चार चल्यो । उनले छोरालाई अँगालो हालिन् ।
त्यस समय ह्यामलेटले उनलाई यसो भन्दै सान्त्वना दिएका थिए, "चिन्ता नगर्नुहोस्, आमा ! म क्लाउडियसले गरेको अपराधको दण्ड दिनेछु । मलाई केवल तपाईंको आशीर्वाद चाहिन्छ, ताकि म..."
त्यसपछि कोठामा एउटा आवाज गुञ्जियो, जुन गुञ्जनले राजकुमारको शब्द पूरा गर्यो, "म मेरो बुवाको हत्याको बदला लिन सक्छु ।"
राजकुमारले अचम्म मानेर आवाज आएको दिशातिर हेरे । त्यहाँ उनका बुवाको आत्मा उभिएको थियो । उनले खुसीमा आवेगिक बनेर भने, "बुवा, तपाई आउनुभयो, बुवा !"
राजाको आत्माले शान्त स्वरमा भन्यो, "छोरा, म तिमीलाई तिम्रो कर्तव्यको सम्झना गराउन आएको हुँ । कुमार, तिमीलाई तिम्रो वचन याद छ ? तिमीले क्लाउडियसबाट मेरो हत्याको बदला लिनुपर्छ।"
"बुवा, म यो कहिल्यै बिर्सने छैन । मेरो प्रण पूरा गर्न, म आफ्नो जीवन बलिदान गर्न पछि हटने छैन । त्यसले आफ्नो पापको सजाय भोग्नु पर्छ ।" राजकुमारले उत्साहित हुँदै भने ।
"छोरा ! याद राख, जबसम्म क्लाउडियस जीवित छ, मेरो आत्माले शान्ति पाउनेछैन । म यसरी यताउता भड्कीरहने छु । त्यसको बदला तिमीले लिन सक्नु नै मेरो मुक्तिको बाटो हो ।" यति भन्दै राजाको आत्मा अदृश्य भयो ।
कहिले राजकुमारलाई कहिले राजकुमारले बोलेको ठाउँ तर्फ हेर्दै रानी चकित भइन् । उनले त्यहाँ कसैलाई देखिनन्, न कसैको आवाज सुनेकी थिइन । तर उनले आफ्नो वरिपरि पक्कै केही आश्चर्य घटेको अनुभूत गरिरहेकी थिइन् । जसका कारण उनी काँप्दै थिइन् ।
ह्यामलेटलाई थाहा थियो कि रानी राजाको आत्माको उपस्थितिबाट पूर्णतया अनजान थिइन् । त्यसैले पनि उनले यसबारे केही बताएनन् । उनले यति मात्र भने, "आमा, तपाईं क्लाउडियसबाट होसियार रहनुहोस् । एउटा हत्या गरिसकेको पापी अर्को हत्या गर्न डराउदैन । यदि उसले तिमी मसँग छौ भनेर थाहा पायो भने उसले तिमीलाई पनि मार्नेछ । छोड्ने छैन । त्यसैले जे गर्छ्यौ, सोचेर गर ।" यति भन्दै ऊ कोठाबाट निस्किए ।
अर्कोतर्फ, क्लाउडियसले जासुसहरू मार्फत आमा र छोराको यो मिलनको खबर पायो । उसले भोलि नै राजकुमारलाई विदेश पठाउने निर्णय गर्यो ।
भोलिपल्ट बिहान उसले ह्यामलेटलाई बोलाएर कठोर बनेर भन्यो, "कुमार, हिजो राती तिमीले सबैभन्दा वरिष्ठ र विश्वासी पात्रलाई मारेर हाम्रो लागि समस्या सृष्टि गरेका छौ । यो घटनाले जनतामा क्रोध र असन्तुष्टि पैदा भएको छ । .. केही दिनको लागि तिमी यहाँबाट अन्तै जानु उपयुक्त हुन्छ, यसका लागि मैले सबै व्यवस्था मिलाई सकेको छु, यहाँ सबै शान्त भएपछि फर्केर आउनु ।
यसपछि उसले राजकुमारलाई जबरजस्ती जहाजमा राखेर दुई अफिसरसहित विदेश पठायो । बाटोमा मौका हेरेर मृत्युदण्ड दिनु भनी अधिकारीहरूलाई विशेष निर्देश दियो । राजकुमारलाई त्यस्को मनसाय राम्ररी थाहा थियो, तर उनी विवश थिए ।
तर "जसलाई भगवानले राख्छन्, त्यसलाई कसैले मार्न सकदैनन् ।" समुद्री डाकूहरूले बाटोमा जहाजमा आक्रमण गरे । दुवै पक्षमा भयंकर युद्ध भयो, जसमा दुवै अफिसर मारिए । तर डाकुहरूको नेताले ह्यामलेटलाई पहिले नै चिनेको थियो । त्यसैले उसले सम्मानपूर्वक उनलाई डेनमार्क फिर्ता पठायो ।
डेनमार्क पुगेपछि राजकुमारलाई एउटा नराम्रो खबर आयो । ओफेलिया आफ्नो बुवाको मृत्युले गहिरो शोकमा परेकी छन् । त्यो चोट सहन नसकेर उनले आत्महत्या गरिन् । त्यतिबेला उनको अन्तिम संस्कार भइरहेको थियो । यो खबरले ह्यामलेटलाई ठूलो धक्का लाग्यो । ऊ पागल जस्तै दौडिए जहाँ ओफेलियाको लाश थियो । उनका भाइले उनलाई गाड्ने तयारी गरिरहेका थिए ।
त्यसबेला क्लाउडियस, रानी र अन्य दरबारीयाहरू ओफेलियाको अन्तिम संस्कारमा उपस्थित भएका थिए । ह्यामलेट भीडबाट निस्किएर ओफेलियाको शरीरलाई अँगालो हाल्न पुग्छन्, त्यहाँ ऊ ठूलो स्वरले रुन्छन् । त्यो देखेर उसको भाइ स्तब्ध हुँदै याद गर्छ "यिनले मेरा बुवाको हत्या गरेका थिए र त्यही कारणले आज बहिनीले आत्महत्या गरिन् ।" उसले ह्यामलेटलाई समात्यो र भकुर्न थाल्यो ।
त्यस समय ह्यामलेटलाई कुटपिट गरेको देखेर क्लाउडियस खुसी भैरहेको थियो । आज उसको बाटोबाट ह्यामलेट नामको काँडा सदाका लागि हटोस् भन्ने कामना गरिरहेको थियो । तर केही दरबारीयाहरू अगाडि बढेर दुबैजनालाई छुट्ट्याए । ओफेलियाको भाइले क्लाउडियसलाई सम्बोधन गर्दै भन्यो, "महाराज, यिनले मेरा बुवाको हत्या गरेका थिए । त्यहि भएर मेरी बहिनीले आत्महत्या गरिन् । म यिनलाई आफ्नै हातले सजाय दिन चाहन्छु ।"
"तिम्रो आरोप सही छ । तर यसको मतलब यो होइन कि तिमीले यिनलाई यसरी सजाय दिनुपर्छ । म तिमीहरू बीचमाहुने लडाई तय गर्छु । यसमा जसले जित्छ उसलाई बाँच्ने अधिकार हुनेछ ।" क्लाउडियसले मुस्कुराउँदै आफ्नो निर्णय सुनायो ।
यस निर्णयको पछाडि क्लाउडियसको पाप बुद्धि थियो । ओफेलियाको भाइको तुलनामा राजकुमार अझै बालक नै थिए भनी उसलाई थाहा थियो । यिनी यस्को सामना गर्न सक्षम हुनेछैनन् । लडाईमा नक्कली तरवारहरू प्रयोग गरिन्थ्यो । तर उनले वास्तविक तरवार ओफेलियाको भाइलाई दिए । त्यो तरवारमा धारिलो विष थियो । क्लाउडियसले लडाईमा राजकुमार बाँचे भने राजकुमारलाई मार्ने अर्को पनि योजना बनायो । उसले आफ्नो छेउमा एउटा शाही कप राख्यो, जसमा विषालु शरबत थियो । लडाई सुरु हुनु अघि, उसले घोषणा गर्यो - उसले युद्धको विजेतालाई शाही कप शरबत दिने छ । उसको षड्यन्त्र रानीलाई समेत थाहा थिएन ।
निर्धारित समयमा लडाई सुरु भयो । उनलाई हेर्न एम्फिथिएटरमा सारा सहरको भीड लागेको थियो । सुरुमा ह्यामलेटले ओफेलियाको भाइलाई जित्दै गए, तर बिस्तारै ह्यामलेट त्यस्को आक्रमणमा पर्दै गए । र त्यसपछि ओफेलियाको भाइले उनलाई प्रहार गर्न थाल्यो । ह्यामलेटले आफूलाई बचाउने हरसम्भव प्रयास त गरे तर तरवारले उनको शरीरमा चोट लगायो । ह्यामलेटको शरीरमा विष प्रवेश गर्नेबित्तिकै उनलाई जलनको अनुभूति हुन थाल्यो । उनले बुझे कि क्लाउडियसले उनलाई धोका दियो । उनको शरीरमा विष तिब्र गतिमा फैलिरहेको थियो । उनले आफ्नो अगाडि आफ्नो मृत्यु देख्न थाले । तर मर्नु अघि, उनले आफ्नो संकल्प पूरा गर्नु थियो । त्यसैले उनले ओफेलियाको भाइबाट तरवार खोसे र तरबार ओफेलियाको भाइको छातीमा रोपे ।
त्यसपछि ऊनले रगतले भिजेको तरवारलिएर क्लाउडियसलाई हेरे । उनको यो रूप देखेर रानी डराइन् । उनले आतंकमा शाही कप उठाईन र सबै शरबत पिदिइन् । विषले आफ्नो प्रभाव देखायो र रानी त्यहीँ ढलिन ।
आफ्नी आमा पीडामा मरेको देखेर ह्यामलेटले आफ्ना बुवाको मृत्युको सम्झना गरे । यो पापीले बुवालाई यस्तै यातना दिएर मारेको थियो । ऊ तुरुन्तै क्लाउडियसतिर दौडिए । विषको असरले उनको खुट्टा नराम्ररी काँपिरहेको थियो । तर ऊ लड्नु अघि क्लाउडियससम्म पुग्न चाहन्थे । उनले शरीरलाई शक्तिले थेगे र सिंहासन अगाडि पुगे । क्लाउडियस भाग्न खोज्यो, तर समय बिति सकेको थियो । ह्यामलेटले क्लाउडियसको छातीमा तरवार हाने । क्लाउडियस भयंकर चित्कार छाडेर भुइँमा ढल्यो र केही समयमै प्राण त्याग्यो ।
ह्यामलेटको अनुहारमा सन्तुष्टि र खुशीका रेखाहरू देखा परे । उनले अन्ततः आफ्ना बुवाको मृत्युको बदला लिए । अब ऊ शान्तिपूर्वक मर्न सक्छन् । उनको विश्वास थियो, क्लाउडियसको मृत्युले उनका बुवाको आत्मा मुक्त हुनेछ । त्यसपछि उनले पनि प्राण त्यागे ।
(नेपाली अनुवाद: योगप्रसाद उपाध्याय चापागाईं, गोठाटार, काठमाण्डौं । मूल नाटक: विलियम सेक्सपियर, रूपान्तर हिंदी कथा महेश शर्मा)