संसार पि (प्रोबाबिलिटी) मा अडेको छ – तथ्याङ्क पढाउने सरले भनेको वाक्य उसलाई विश्वास लागेन।
संसार भाषिक अन्तरसम्बन्धमा अडेको छ – अङ्ग्रेजी पढाउने सरले छुट्टै डम्फु पिटे।
संसार दर्शनमा अडेको छ – नैतिक शिक्षा पढाउने सरले उस्तै कुरो दोहोर्याए।
संसार व्याकरणमा अडेको छ – नेपाली पढाउने सरको दाबी उसले एउटा कानले सुन्यो, अर्को कानले उडायो।
संसार धर्ममा अडेको छ – संस्कृत पढाउने गुरुको ढोग उसलाई बेतुक लाग्यो।
उसलाई कुनै पनि शिक्षकको उत्तर विश्वास लागेन र घरमा पुगेर बाँझो खनिरहेका बाउलाई सोध्यो – बा संसार के मा अडेको छ?
पढेको छोराले नपढेको बाउलाई अनौठो प्रश्न सोधेको देखेर आश्चर्य बुढाले भने – के मा अड्नु नि? दुई दिन अन्नपानी नखाएर बस अनि थाहा पाउँछस् संसार केमा अडेको छ।