नेता ग प्रसादले देस यसरी हिँड्नुपर्छ भनेर एउटा बाटोको खाका कोर्यो र निर्माण सुरू गर्यो। उसको बाटोलाई विपक्षीले मन पराएन। बाटोको विषयलाई लिएर विवाद भयो। भनाभन भयो र झगडा पनि भयो। विवाद र झगडाले गर्दा बन्दै गरेको बाटो पूरा हुन पाएन। यसैबीच ग प्रसाद बाटो बनाउन छाडेर हिँड्यो।
ग प्रसाद हिँडेपछि नेता म प्रसाद अघि सर्यो बाटो बनाउन। उसले नेता ग प्रसादको भन्दा भिन्दै बाटोको खाका कोर्यो र देशको लागि यस्तै बाटोको मात्र उपयोगिता छ भन्दै बाटो बनाउन थालनी गर्यो। केही दिनपछि विपक्षीलाई उसको बाटो पनि मन पर्न छाड्यो र विरोध सुरू भयो।
यसैगरी पालैपालो म प्रसादपछि स प्रसाद, स प्रसादपछि, क प्रसाद आदि नेताहरु छुट्टाछुट्टै बाटोको खाका कोर्दै अघि सरे।
००
यस प्रकार मुलुकभरि बाटैबाटो बन्न थाले। तर कुनै पनि पूरा भने हुन पाएनन्। एउटा बाटो बन्न पाएको हुन्न, त्यो हुन्न भन्दै एक थरिले अर्कै बाटो बनाउन थाल्थे। त्यसको पनि विरोध गर्दै अर्को थरिले फेरि अर्कै बाटो बनाउन थाल्थे। यसरी जहाँतहीँ बाटैबाटो बन्न थाले, तर कुनै पुरा भएनन्।
अचेल ती छुट्टाछुट्टै बाटाहरुमा मान्छेहरु हिँडिरहेका त हुन्छन् तर दुर्भाग्य कोही कहीँ टुङ्गोमा पुगिरहेका भने हुँदैनन्।