18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

परिकार

लघुकथा डा. रविन्द्र समिर December 29, 2008, 2:39 pm

माड्साब चिया खान जाऔँ –आफ्नो काम सजिलै फत्ते नहुने अनुमान लगाएपछि दुर्गमबाट सीमित खर्च र छोटो समय बोकेर आएको दोर्जेले हाकिमलाई खुसी पार्ने प्रयत्न गर्‍यो।

म चिया खान्न। चिया पिइरहेको हाकिमले जवाफ दियो। त्यसो भए मासु र चिउरा खान जाऔँ – दोर्जेको विवसता उकालो लाग्यो। हिजो अफिसमै मासुच्युरा खाएको हाकिमले जवाफ दियो मैले मासु चिउरा खान्न।

त्यसो भए वियर खान जाऔँ – रक्सीविना निद्रा नलाग्ने हाकिमले जवाफ दियो – मैले रक्सी पनि खान्न।

दोर्जे निरास भएर हाकिमको कोठा बाहिर निस्कियो। त्यसपछि बाहिर बसेका खरदारलाई सोध्यो – सर माड्साबले के खानुहुन्छ?

उहाँले दूध, फलफूल, चिया, मासु, रक्सी मात्र होइन दाल, भात र पानी पनि खानुहुन्न। त्यसो भए के खानुहुन्छ त? दोर्जे कड्कियो। खरदारले काम्दै जवाफ दियो – घुस र कमिसन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।