18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हेल्लो...! आवाजै आएन...!

लघुकथा डा. हरिप्रसाद भण्डारी December 24, 2008, 3:04 pm
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

“हेल्लो....! देउराली गाउँको पीसीओ हो?”

“हो, तपाईं को बोल्नुभएको?”

“म सहरबाट अजय, तपाईं नि?”

“अजय दाजु नमस्कार, म सविता.......।”

“के छ बहिनी गाउँतिर? सबैलाई आरामै त छ?”

“ठीकै छ दाजु, अनि त्यता नि?”

“यता त ठीकै छ, त्यहाँ पारि गाउँमा हिजो एउटा घटना घट्यो भन्ने सुनिन्छ नि, के भएको हो बहिनी?”

“हेल्लो....! के भन्नुभएको हो दाजु? आवाजै आएन।”

“त्यहाँ के त पारि गाउँमा ...........!”

“हेल्लो....! हेल्लो....! ..... आवाजै आएन!”

“बहिनी हाम्रा घरमा बा–आमालाई कस्तो छ?”

“सन्चै छ दाजु। छोराले फोन गरे भने औषधि पठाइदिन भन्नु भन्दै हुनुहुन्थ्यो। बेला बेलामा फोन गर्दै गर्नु रे।”

“ल ठीक छ, अनि गाउँमा शान्तिसुरक्षाको स्थिति कस्तो छ नि?”

“हेल्लो के भन्नुभएको दाजु? आवाजै बुझएन, राखेँ ल?”

एकैछिनपछि फोनमा टुइँटुइँ आवाज मात्र आयो........!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।