प्रजातन्त्र इन्तु न चिन्तु भएर दलीय सघन उपचार कक्षको ओछ्यानमा लम्पसार परेको हुन्छ । जीवन रक्षाका लागि जनर्समर्थनको प्राणवायु सुँघाउने कार्य तीव्र गतिमा सञ्चालन गरिँदै हुन्छ । स्वास्थ्यसहायकको टोलीबाट सम्पूर्ण उपचारकार्य पूरा भइसके पनि हलचलको सामान्य लक्षण खुट्याउन धौधौ परिरहेको हुन्छ । प्रजातन्त्रको रेखदेखमा खटिएका राजनीतिक नेतृत्वहरूको अस्तित्वअगाडि संकट देखापरेपछि तिनीहरू सातो गएको छाँटमा कल्याङमल्याङ गर्न थाल्छन् । वैयक्तिक स्वतन्त्रताको लसपसमा परेका एकजना राजनीतिक नेतृत्व क्वाँ क्वाँ गर्न थाल्छन- ''प्रजातन्त्रको बिदावारीसँगै मेरो प्रेमको पनि अन्त्य हुनलाग्यो नि । म त अमरप्रेमको उदाहरण प्रस्तुत गर्न लागेको थिएँ । मेरो घिडघिडोको अकालमा नै अस्तित्व हराउन थालेको छ ।''
जनवादको कल्की भिरेका अर्को नेतृत्व छिःछिः गर्न थाल्छन्- ''यस्तो बेलामा के को वैयक्तिक प्रेमको फलाको छाँट्नु परेको होला ? प्रेम त क्रान्तिकारी धरातलमा उभिएको हुनुपर्छ । वैयक्तिक पे्रमको जात्रा देखाउनु अनैतिक स्वतन्त्रता च्याँठिन्छ- ''केको क्रान्तिकारी थेगो व्यर्थैमा प्रयोग गरेको होला ? भूमिगत कालमा प्रेमलाई लबस्तरी बनायौ । कत्तिले गिजोलेर त्यहीँ हुत्याएर भाग्यौ, पतित हो । अहिले नैतिकताको जात्रा देखाउँछौ ?
यथार्थको कुरुप चरित्र पर््रदर्शनी हुने सुइँको पाएपछि जनवादी प्रसङ्ग अर्कैतिर मोड्छ ''केको बिनासित्तिको गन्थन गरेको होला ? प्रजातन्त्रलाई पो जोगाउनुपर्दछ । चिकित्सकहरू कता निजी क्लिनिकतिर होलान् । खोजेर ल्याउने कार्य गर्नुपर्यो ।''
अपुतालीमा नेतृत्व फेला पारेको घाँटी सुक्नेगरी कराउँछ- ''हाम्रो र्सवश्व प्रजातन्त्रलाई सुइँकिन नदिन, लौन, चिकित्सकहरूलाई हारगुहार गरी ल्याउनुपर्यो । कार्यकर्ता नानीहरू, तपाइँहरूले नै कष्ट गर्नेबेला आइसक्यो ।
नेतृत्वको अस्तित्वलाई जोगाउन खटिएका चेतनहीन कार्यकर्ताहरू यताउता स्वाँस्वाँ र फ्याँ फ्याँ गर्दै कुदाकुद गर्न लाग्छन् । केही समयपछि कार्यकर्ताहरुको एउटा हुलले सेतो लुगा लगाएको एकजना चिकित्सकलाई घिर्सार्दै सुइँकिन लागेको प्रजातन्त्रअगाडि ठिङ्ग उभ्याउँछ ।
उत्तानिएको प्रजातन्त्रतिर पुलुक्क हर्ेनासाथ मुख बिगार्दै चिकित्सक भन्छ- ''कुरै नबुझेर मलाई विनासित्तिँमा लतार्दै तपाइँहरूले यहाँ ल्याएर ठूलो गल्ती गर्नुभएको छ । म त प्रजातान्त्रिक रोगको विशेषज्ञ होइन । जनतान्त्रिक रोगको हेरचाह गर्ने मात्र मैले प्रशिक्षण पाएको छु । जानुस्, छिटो गइहाल्नोस्, विशेषज्ञलाई बोलाएर ल्याउनुहोस् ।''
कार्यकर्ताहरू तोकिएको खान्की गुम्ने भयले एक दोस्रोको मुख हर्ेन थाल्छन् । संयमित हुँदै पुनः चिकित्सकको खोजीमा यतायता धुइँपताल गर्न थाल्छन् । केही छिनकै कुदाकुदबाट अर्को चिकित्सकको हात तान्दै प्रजातन्त्रको समक्ष उभ्याउँछन् ।
चिकित्सक रोगीतिर हर्ेनासाथ हात माड्दै झर्किन्छ- ''मेरो काम बिगारेर यहाँ मलाई ल्याएर व्यर्थैमा दुःख पाउनुभयो । म त लोकतान्त्रिक रोगको मात्र रोकथाम गर्नसक्छु । प्रजातन्त्रसँग हैकमवादी नेतृत्वको हिमचिम गाँसिएको हुन्छ । रोगका कारणहरू अनगिन्ती हुन्छन् । मबाट यस्तो रोगको औषधीमुलो त के पहिचान पनि हुनसक्दैन ।"
लौ वित्याँस पर्यो भन्दै कार्यकर्ताहरू एकछिन पनि नपर्खिएर हस्याङफस्याङ गर्दै फेरि यताउता छरिन्छन् । केही धपेडीपछि एकजना अर्को चिकित्सकलाई घचेट्दै ऐया ऐया भन्ने प्रजातन्त्रसमक्ष उभ्याएर चाँडोचाँडो सास फर्ेन थाल्छन् । प्रजातन्त्रको मुख हेर्नासाथ चिकित्सक रिसाएर भाउन्न हुँदै कराउँछ- ''यस्तो पाजी रोगीको चिकिस्ता गर्नु त परै जाओस् म त यसलाई छुन पनि सक्दिनँ ।''
एकजना नातावादी नेतृत्व अनुशासनको नाङ्गो विस्फोटको तालमा बम्किन्छ- ''रोगी फत्रक्क गर्दै सोझै मृत्युको नजिक पुगिसकेको छ । चिकित्सकलाई बल्लबल्ल फेला पारेर रोगीसमक्ष ल्याउँदा म यस्तो रोगको विशेषज्ञ होइन, ढिस्काना रोगको पारङ्गत होइन भन्दै पुङ्गमाङ्गे विद्वतामात्र छाँट्ने गर्दछन् । चिकित्सक भनेको सबै उस्तै होइनन्, रोगीको औषधीमुलो गर्ने -''
''कहाँ सबै चिकित्सक उस्तै हुन्छन् ? म त जनवादी रोगको मात्र उपचार गर्न सक्छु । हामलाई तालिममा नै प्रजातान्त्रिक रोगीलाई छुन त परै जाओस्, हेदा पनि नहार्नु भनी बाचाबन्धनमा टनक्क बाँधिएको हुन्छ । शोषित जीवाणुबाट थला परेका रोगीलाई मात्र म निको पार्न सक्छु । प्रजातन्त्र त मैले छुनासाथ, सुइँकिन्छ ।'' चिकित्सक च्याँठिदै उत्तर हुइँक्याउँछ ।
''देखियो शोषित जीवाणुबाट थला परेका रोगीहरू । जनवादी रोगीका स्याहारसुसार गर्ने एकभन्दा एक तिनै अलिच्छिनी टपरे, लाठावादी, हुक्केचिलिमे र डोलेका मात्र कपटी शाखासन्तानहरू देखिन्छन् । यहाँबाट अब गइहाल्नुस । ती नक्कली जनवादी रोगीहरूलाई पुलपुल्याउँदै म्याद सकिएको क्रान्तिको सुइ रोपिरहनुस्''- एकजना प्रजातन्त्रमुखी कार्यकर्ता हात छोडुँलाको धुनमा कराउँछ ।
''चिकित्सकले मुख छाड्ने पनि तालिम पाएका हुन्छन् ।'' युवा जनावादी चिकित्सक अरिङ्गालको सिङ्गै गोलो खन्याइँदिउँला भन्ने छाँटमा भन्छ- ''तपाइँहरूको प्रजातन्त्र महाप्रभु गतिछाडा हो । त्यसले सामन्तीलाई साष्टाङ्ग दण्डवत गर्छ, मध्यमवर्गीयलाई दुई हात जोड्दै आशीर्कवाद पाउ भन्छ र श्रमिकको अगाडि टाउको निहुर्याउँदै आशनदाता भन्न लाजै मान्दैन । त्यो लवस्तरोको वरिपरि चमेरे, कल्सौडे, झल्लरीहाते र विदेशीका अर्हौटेहरूमात्र भेटिन्छन् ।''
परिस्थिति विस्फोटका तहमा पुगेर पडकिनुभन्दा पहिले नै केही छ्यासमिसे कार्यकर्ताहरूले संयमलाई अँगाल्दै दुवै पक्षहरूलाई अँचेट्दै विपरित दिशातिर घचेटिदिन्छन् ।
यता प्रजातन्त्र फत्र्याक फत्र्याक गर्दै वरपरतिर हेर्न थाल्छ । अस्तित्वमा नै प्रश्नचिन्ह तरर्सिन थाल्छ । थकाईले निस्लोट भएका कार्यकर्ताहरू यताउता उभिएका नेतृत्ववर्गका फुङ्ग परेको अनुहहारहरूतिर नियाँल्छन् र पुनः उत्साह उमार्दै यताउता कुदाकुद गर्न थाल्छन् । केही समयको पर्खाइपछि एकजना गोरे राजनीतिक चिकित्सकलाई अगाडि लगाउँदै एकहुल कार्यकर्ताहरू देखापर्दछन् । गोरे प्रजातन्त्रतिर दृष्टिपात गर्नासाथ अनुहार अँध्यारो पार्छ । नाडी समाउनासाथ फतफताउँछ- ''तपाइँहरूलाई फर्जातान्त्रको माया छाइन । यो त हाम्रै डिमोक्रेसीको झाडकेलो नाटि हो । इण्डियन ल्याइटेबाट जन्मिएको हो । सन् १९५० तिर हुकाउँछु भानेर नेताले यटा ल्याएको हो । बाडरको हाटमा नरिवल भानेको यही हो । तेसबेला ढेरै भुरा थियो । पाकिस्टानले लगेर मुस्लिम डिमोक्रेसी बनायो । बर्माले मागेर मिलिट्री डिमोक्रेसी बनायो । टपाइँको डेसले हाम्रो डिमोक्रेसी मार्न लाग्यो । यहाँ नेटा ठीक छाइन भने डिमोक्रेसी कसरी बाँच्छ ?''
''होइन होइन, त्यसो नभनौँ । प्रजातन्त्रलाई जसरी पनि तपाइँले बचाउँनुपर्दछ । प्रजातन्त्र मर्यो भने लोकतन्त्र, जनतन्त्र र जनवादका धुन्धुकारीहरूले हर्षर्ढाई गर्दछन् । एकजना कार्यकर्ता तरतरी आँसु झार्दै गोरेसँग हारगुहार गर्छन् ।
''ट्याही टा गाल्टी हो । हाम्रोतिर साबै मुलुकको बिचार मिल्छ । संसदवादी र राष्ट्रपटिय प्रणालीको डिमोक्रेसी भन्छ, कम्युनिष्टले पनि न्यसनल डिमोक्रेसी नै भनेको छ । सबैले डिमोक्रेसी नै भन्छ । माओले पनि नौलो डिमोक्रेसी नै मानेको छ । तपाइँको मुलुकमा बुद्धि फरक, मान्छे फरक र डिमोक्रेसी पनि फरक छ । एउटै शब्दको धेरै नाम भएपछि नेटा पनि बदमास हुन्छ । यस्तो ठाउँमा हाम्रो प्रजातन्त्र बाँच्दैन । यहाँको मान्छे नै ठीक छाइन । अब लोकल धामी बोलाउनुस् र लोकल औषधी खुवाउनुस् । भाग्यको खेल हो, म टा जान्छु ।'' गोरे रिसले मुर्मुरिदै त्यहाँबाट हिँडिहाल्छ ।
कार्यकर्ताहरू सित्तैमा पाइएको खान्की गुम्ने भएले रुवाबासी गर्न थाल्छन् । केही कार्यकर्ताहरू हातले आँसु पुछ्दै मनमा आशाको त्यान्द्रो तुर्लुङ्ग झुण्ड्याउँदै चिकित्सक विशेषज्ञको खोजीमा हानाथाप गर्न लाग्छन् । केही समयको दगुरादगुरले कसैले पूर्वबाट, कसैले पश्चिमबाट, केहीले दक्षिणबाट, बाँकीले उत्तरबाट र छुटफुटले कुनाकाप्चातिरबाट एकएक थान विशेषज्ञ समात्दै प्रजातन्त्रसमक्ष उभ्याउँछन् । राजनीतिक नेतृत्वहरू आआफ्नो राजनीतिक व्यापारलाई नाफामुलक बनाउन र प्रजातन्त्रलाई सञ्जीवनी चटाएर स्वार्थअनुकुल प्रयोग गर्न ठाउँ, कुठाउँ र भूमिभित्र र भूमिबाहिर जताततैबाट जम्मा हुनथाल्छन् ।
राजनीतिलाई जहिलेसुकै दुहुनागाई बनाएका च्याँखे नेता देखापर्दछन्, बुद्धिजति रित्याएर नेताका पछिलाग्ने खञ्चुवा नेता पनि आउँछन, दल टुक्राटुक्रा भएर सखाप भए पनि र्सवकालिन नेताको पदेन पगरी पाएका पनि टुसुक्क आइपुग्छन्, लेख्न पुस्तकमा जनताका विषयवस्तु र मौका पाए नोटहरू छापिरहने टक्सारेनेताले पनि मौका गुमाउँदैनन्, परिद्यानविन्याँस बिरालोचालमा देखा पर्नुपर्ने चिरीच्याँट नेताका अनुहार पनि देखापर्छ, अपुतालीमा नेतापद पाएका पनि उपस्थिति जनाउँछन् र प्रजातन्त्रको भाषण छाँटेर दलमा निरंकुशताको खुल्ला व्यवस्थापन गर्नेजस्ता नेता पनि उपपस्थिति जनाउँन पछि पर्दैनन् ।
विशेषज्ञहरू प्रजातन्त्रको जिउभरी विभिन्न किसिमका यन्त्रका तारहरू टाँस्न थाल्छन् । यन्त्रहरूले ओकलेका तथ्यहरू सहायकहरू वरिपरी उभिएर केही तथ्य नछुटाएर गम्भीर किसिमले लेख्दै हुन्छन् । कोही सबैका तथ्यहरू एकठाउँमा जम्मा गरेर समीकरणको प्रक्रियातिर लागेका हुन्छन् । यता राजनीतिक नेतृत्वहरू राजनीतिक व्यापार नै गुम्ने भयले कोही बस्ने कोही उठ्ने र कोही मुख अध्यारो पार्दै छट्पटी पर््रदशन गर्दै हुन्छन् । प्रजातन्त्र तलमाथि हुनासाथ जनतन्त्र, लोकतन्त्र, जनवाद, गणतन्त्र र मपाइँतन्त्र सबै किसिमका राजनीतिक थेगोको अस्तित्व गुम्ने निश्चित थियो । यसैले प्रजातन्त्रको गम्भीर अवस्थामा सबै नेतृत्वमाझ खँदिलो एकता गाँसिएको झझल्को पाइन्थ्यो ।
विशेषज्ञहरूले परीक्षणमा नै बढी समय बिताएको देखेर एकजना विशेषज्ञ नजिक गएर भन्छ- ''चिकित्सकज्यू, प्रजातन्त्रको बच्ने छाँट कत्तिको छ ?''
विशेषज्ञ च्याठिन्छ- ''तपाईहरू सत्ता पुङमाङे नेतृत्वले नै सत्ताको लुछाचुँड गर्दै अन्त्यमा प्रजातन्त्रलाई घाट नै पुर्याउने कार्य गर्नुभएको छ ।''
अर्को विशेषज्ञ थप्छ- ''प्रजातन्त्रलाई नेतृत्वले निरंकुशताको सेरोफेरोतिर बसउठ गराएपछि अहमताको कुलतले समात्ने निश्चित छ । यस्तो कुलतमा परेपछि ढीलोचाँडो प्रजातन्त्रलाई घाटतिर नपुर्याएर सुख्खै पाइँदैन ।''
तेस्रो विशेषज्ञ त्यहाँ आएर भन्छ- ''प्रणाली जहिलेसुकै प्रजातान्त्रिक हो भन्दै धमास दिने, तर कहिल्यै त्यसअनुकुल चिन्तन र व्यवहार प्रस्तुत नगरेपछि प्रजातन्त्रको के कुरो गर्ने ? नेतृत्वजत्तिको पनि अन्त्यमा सद्गति गर्नेपर्छ ।''
चौथो विशेषज्ञ झन् च्याँठिन्छ- ''फलाको छाँट्ने र्सवहाराको राजनीतिको । झण्डा उचाल्ने नौलो प्रजातन्त्रको र नेतृत्व सामन्तीका छाउराहरूलाई सुम्पिएपछि प्रजातन्त्रको घिडघिडो बाँकी हुने सम्भावना नै हुँदैन ।''
पाँचौँ विशेषज्ञ हातबाट पञ्जा निकाल्दै त्यही आएर भन्छ- ''वादविवाद र थकथकी गर्ने समय सिदिसक्यो । प्रजातन्त्रको आत्म नश्वर शरीरबाट सदाका लागि फुस्किसकेको छ । अन्तिम सद्गतिमा संलग्न भएर गोहीको आँशु झार्ने इच्छा छ वा सम्वेदनाको विज्ञप्ति निकाल्नु छ भने नेतृत्ववर्ग अगाडि आउनुस्, हामी त हिँडौँ ।''
प्रजातन्त्र जीवनरहित लास भएको सुनेपछि कार्यकर्ताहरू विरक्तिएर भौत्तारिन थाल्छन् राजनीतिमा जहिलेसुकै ताजा नौनी पचाउने छट्टुहरू सेरोफेरोलाई नै पिरोल्दै विरुप स्वरमा क्वाँ क्वाँ गर्न थाल्छन् । ठूलो भाग जिप्ट्याउने दाउमा रहेका क्षुद्र नेतृत्वहरू थाप्लामा हात राखेर तपतपी पश्चातापको आँशु बगाउन थाल्छन् । नेतृत्व एकजना सिद्धान्तवादी कल्पिएको प्रष्ट सुनिन्छ- ''मेरो प्रेम सिद्धान्तसँग थियो । म सिद्धान्तसँग लगनगाँठो कस्सेर साँचो प्रजातान्त्रिक परिवार सृजना गर्न चाहन्थेँ । प्रजातन्त्रको गमनसँगै मेरो प्रेमको हंस सदाको लागि उड्यो । म सिद्धान्तविहीन राजनीतिक राँडो भएको छु ।
आशनप्रेमी नेतृत्व छातीमा मुड्की बजार्दै फतफताउँछ- ''प्रजातन्त्र थला परेपछि मेरो आशनीप्रेम उन्मुक्तताको शिखरसम्म पुगेको थियो । त्यस्तो उदात्तप्रेमको उदाहरणनै प्रस्तुत गर्न सकिँदैन । म आशनीमा बसेर खान्थेँ, आशनीमा बसेर नै लडिबुडी खेल्दै सुत्थेँ र आशनी नै टाँसेर जताततै हिँडडुल गर्थें । हाम्रो दुई ज्यान भन्नैपर्यो भने एक थियो । प्रजातन्त्र परलोकतिर लागेपछि मेरो आशनीप्रेमको विछोड भएको छ । म प्रेमविहीन पानीविनाको काकाकुल भएको छु ।
जनवादी नेतृत्व सुँकसुँक गर्दै क्रान्तिकारी बिलौना भट्याउन थाल्छ- ''प्रजातन्त्र त मेरो राजनीतिको न्यूनतम कार्यक्रम थियो म त अधिकतम कार्यक्रम समाजवादसँग बासनाविभक्त प्रेम गर्दथेँ । म समाजवाद उच्चारण गर्नासाथ आकासका तारा झार्न पनि तयार हुन्थेँ । म समाजवादकै स्तुतिमा जिन्दगी बिताउन चाहन्थेँ । न्यूनतम कार्यक्रम प्रजातन्त्रसँग मेरो रोमान्समात्र गाँसिएको थियो । प्रजातन्त्र बिलाएपछि मेरो रोमान्सको पनि उठिबास भएको छ । अब त मेरी बुढी क्रान्ति पनि परपर मृगतृष्णाझैँ कल्पनीमा मात्र देखिन थालेकी छ ।
केही कार्यकर्ताहरू नेतृत्वतिर थुक्क गर्दै भन्छन्- 'लोभीमुदा हो, नेतृत्वका भोका हो, छिर्केवाज हो र जनसमूहलाई मुर्ख बनाउने पातकी हो । अब राजनीतिको नाटकको अन्तिम पर्दा सधैँका लागि झार, नेतृत्वको आवरण हटाएर आफ्नो नाङ्गोपन सबैलाई देखाऊ ।'
देख्दादेख्दै अर्थी तयार हुन्छ । प्रजातन्त्रलाई अर्थीमा उत्तानो पारेपछि टन्न बाँधिन्छ । कार्यकर्ताहरूले काँध थापेर घाटतिर सोझ्याउँछन् । पछाडिबाट गीतियुक्त स्वर सुनिन थाल्छः
राजनीति जस्तोसुकै झुट हो ।
नेतृत्वको मात्र लुटपाट हो ।
प्रजातन्त्र झन भाँडभैलो हो ।
छट्टुहरूको मागीखाने भाँडो हो ।
साभारः फित्कौली