एकपल्ट एक जना पुरेत पोखरीमा खस्यो। ऊ पौडिन जान्दैनथ्यो । ऊ डुब्न लागेको देखेर पोखरीको डिलमा बसेका मानिसहरूले उसलाई बचाउन खोजे।उनीहरूले पुरेतलाई बाहिर तान्नका लागि आआफ्नो हात दिदै भने "पुरेत बाजे तपाईंको हात दिनुस् " तर जति चिच्याए पनि पुरेतले पानीबाट हात निकालेन । त्यहीबेला आफन्ती पोखरीको छेऊबाट कतै जादै थिए । उनले पुरेत डुब्न लागेको र मानिसले उनलाई बाहिर निकाल्न उनको हात मागेको तर पुरेतले हात नदिएको दृश्य देखे । उनी पोखरीको डिलमा गए र भने "तपाईंहरूले पहिले मेरा कुरा सुन्नुस् त । पुरेत बाजेले जीवनमा कहिल्यै पनि कसैलाई कुनै कुरा दिएका छैनन् । उनले लिन मात्रै जानेका छन् दिन जानेका छैनन् ।" त्यसपछि उनले आफ्नो हात पुरेततिर लम्काउदै भने "पुरेत बाजे मेरो हात लिनुस् त म तपाईंलाई बाहिर तान्छु।" आफन्तीको कुरा सुन्ने बित्तिकै पुरेतले आफन्तीको हात समात्यो र पोखरीबाट बाहिर निस्क्यो ।