18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुरस्कारका दाबेदार

लघुकथा कुसुम ज्ञवाली December 8, 2008, 3:06 am

-" क्या हो कामरेड ! त्यस्ता प्रतिगामीलाई पनि पुरस्कारका लागी छनोट गर्ने ?"

-" हेर्नुस् कमरेड ! राष्ट्रब्यापी खुल्ला प्रतियोगिता गराएर, प्राप्त रचनामा लेखकको नाम छोपेर, फोटोकपी गरेर, निष्पक्ष ढंगले छनोट गर्न हाम्रा खारिएका महान समालोचकलाइ दिएकै हो। अनि त्यति गर्दा पनि बरिष्ठ कमरेडहरूका दृष्टिबाट समेत छानियो भने, अब हामीले त्यस परिणामलाई मान्नुको विकल्प छैन।" ठूला कमरेडले केन्द्रीयता लाद्‌न खोजे ।

-"कमरेड ! यो संशोधनबादको सङ्केत हो । समग्र शहिदहरुको अपमान हो । हिजो सम्म दरबारको चाकर बनेर लेख्ने भाट कविलाई क्रान्तिकारी कविहरू भन्दा अब्बल भनेर, पुरस्कारका लागि छनोट गर्ने ! यो कहाँ सम्मको गद्दारी हो देश र जनता प्रति ?" साना कमरेड अत्यन्त आक्रोशित देखिए ।

-"कमरेड ! हाम्रो फलामे अनुशासनको ख्याल गर्नुस् । वरिष्ठ मार्क्सबादी सौँदर्यशास्त्री आदरणीय कमरेडहरूले छनोट गरे पछि केही क्षमता देखेरै निर्णय गर्नु भए होला नी ! रचनामा रहेको कलापक्षको गहनता र क्रान्तिकारीहरु प्रतिको गहन श्रद्धा कदर योग्य थियो रे कमरेड ! " ठूला कमरेड अलि नरम देखिए । साना कमरेडलाई चित्त बुझेको थिएन तर पनि उनी चुप लागे ।

0 0 0

-"झुक्किए की क्या हो ? गणतन्त्र घोषणा हुने ताक त तपाईँलाई कालो मोसो लगाउने भनेर तेत्रो बिधी गरे ।उनीहरूले नै उत्कृष्ट कवि भनेर तपाईँलाई कसरी पुरस्कारका लागि छनोट गरे त यति चाँडै ? की तिनैलाई पनि "आफ्ना" बनाइ सकीस्या'थ्यो ।" पुरानो निरङ्कुश राजतन्त्रका कट्टर हिमायतीका रुपमा चिनिएका युवा कविकी श्रीमतीले पुरस्कृत पति तर्फ विस्फारित आँखाले हेर्दै भनिन् ।

-"होइन । पैला पैला जस्तो निर्णायकको चाकडी गर्न गा'को पनि होइन । पुरस्कार कमिसनको रुपमा दिने सम्झैता भा'को पनि होइन । चाकडीमा जाने सम्मको सम्बन्ध पनि बनिभ्या'को थिएन नी मेरो उनीहरू सड्ग। धरोधर्म तेरो मासु खाने ।" कविमा गहिरो प्रसन्नता देखिन्थ्यो ।

-"हैन के नै लेख्नु भा'थ्यो र पुरस्कार जित्नु भो त नि यो नयाँहरुको समयमा पनि ? त्यत्रा विधि क्रान्तिकारी कवि छदै थिए त प्रतियोगीहरू !" श्रीमती लाइ अझै विश्वास भएको थिएन ।

-" उही क्या त, महाराजको पूर्वाञ्चल सवारीका बेला मौसुफलाई सुनाउँदा खुसी होइबक्सेर मलाइ यो जागीर बक्सेको थियो नी ! हो त्यही कवितामा "महाराज" भन्ने शब्दको ठाउँमा मात्र "कमरेड"शब्द परिवर्तन गरेर पठाएको थिएँ ।उही पुरानो त हो नी पुरस्कारको दाबेदार कविता ! " कवि फेरि एकपटक सधैं जस्तो कुटिल हाँसो हाँसे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।