18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिल्ली देहरादुनः भ्रमण र अनुभूति

नियात्रा सञ्जीव पौडेल April 17, 2025, 2:33 pm
सञ्जीव पौडेल
सञ्जीव पौडेल

भ्रमण गर्ने भने पछि जाने ठाउँ अनुसारको पुर्व तयारी गर्नै पर्दछ । हामीले पनि एक महिना अगाडिदेखिको दिल्ली भ्रमणको तयारी गरेका थियौं । दिल्ली जाने क्रममा चितवनबाट नारायणगढ–बुटवलको मर्मत गर्दै गरेको बाटोमा गाडीसंग दायाँबायाँ धक्का खाँदै करिब पाँच घण्टाको यात्रापछि रुपन्देहीको मंगलापुर पुगियो। त्यो दिन त्यहीँ कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र मंगलापुरमा बस्ने गरी गएका थियौं । आफू झन्डै पाँच वर्षसम्म कार्यालय प्रमुख भएर काम गरेको अफिस भएकाले छोरी माइती गएजस्तै गरी माया पाएर बास बसियो। त्यो दिन २०८१ को मंसिर १५ गते थियो ।

भोलिपल्ट मंगलापुरबाट करिब ११ बजे भारतको यात्रातर्फ हिँडियो । करिब ११ः३० बजे भारतको सीमा पुगियो । भारत प्रवेश बिन्दुमै सुरक्षा जाँच गर्दा झोलाहरू स्क्यान गर्नुपर्ने रहेछ । नेपाली नागरिकता पनि चाहिने रहेछ । कहाँ पुग्ने? कहाँ बस्ने हो? बस्ने ठाउँ छ कि छैन? कसको घरमा किन जान लागेको जस्ता प्रश्नको सामना गर्दै भारतीय सीमा सुरक्षा बलमा नाम दर्ता गराएर भारत पस्यौं । अर्काको देशमा प्रवेश गरेदेखि नै कता कता केही असहज हुने रहेछ । मातृभुमीको महत्व अर्काको देशमा गए पछि थाहा हुन्छ ।
गोरखपुरबाट दिल्ली जानको लागि ४ः३५ बजेको गोरखधाम एक्सप्रेस रेलको टिकट थियो । सूचनाको युग, अरु सबै कुरा नभए पनि मोबाइलमा सिम र डाटा त चाहियो नै। सुनौलीमा पुगेर भारु ३०० तिरेर २८ दिनको डाटासहित रिचार्ज गरियो । डाटा राखेपछि मोबाइलबाट भारतमा फोन गर्दा पैसा लाग्ने रहेनछ । निःशुल्क कल हुने रहेछ । डाटाको लागि रिचार्ज गर्नुपर्ने रहेछ । हामीले पनि भारतीय सिममा रिचार्ज गर्‍यौं ।

सोनौलीबाट गोरखपुरसम्मको १०२ कि.मि. दूरी पर्ने रहेछ । बसको भाडा प्रतिव्यक्ति भारु १५० र ट्याक्सीको ४५० भन्यो । फेरि ट्याक्सीवालाहरू सामान तानातान गर्ने रहेछन् । हामीले सरकारी बसमा नै जाने निधो गरी उत्तर प्रदेश परिवहन सेवा UP 53 HT9541 बसमा चढ्यौं । सोनौलीबाट गोरखपुरसम्म हाम्रो नारायणघाट बुटवल जस्तै बाटो बनाउँदै रहेछ । अन्तर्राष्ट्रिय राजमार्ग बनाउन गोरखपुरसम्मको बाटोलाई चौडा गर्दै गरिएको रहेछ । केही ठाउँमा बाटो समेत परिवर्तन गरी सोझो बनाएको पाइयो । ईसरवा भन्ने ठाउँबाट बाटो परिवर्तन हुँदो रहेछ । कोल्हुई बजारभन्दा केही अगाडिबाट नयाँ राजमार्ग जाँदो रहेछ । पिपरा, विसुनौर, कुर्थिया पुगेपछि फेरि राजमार्ग भेटियो। राजमार्ग बनाउँदै गर्दा धेरै घरहरू भत्काएको पनि देखियो । धेरै जसो ठाउँमा चार लेनको बाटो बनिसकेको रहेछ। ठाउँ ठाउँमा माटोले बाटो अग्लो बनाएको देखियो। अगाडि बढ्दै जाँदा विष्णु मन्दिर फरिन्दा आनन्दनगर आउँदो रहेछ । १०२ किमिको बाटोमा ३ ठाउँमा टोलको सडक शुल्क उठाउने ठाउँ रहेछ ।

सोनौलीबाट ११ः४५ मा हिँडेको करिब ३ घण्टाको यात्रामा गोरखपुर पुगियो । बसबाट झरेर रेलको स्टेसन जाने क्रममा गोरखपुरमा वीरगन्ज निवासी जोगी चौधरी नाम गरेका नेपाली रिक्सावाला भेटिए । उनले हाम्रो सामान स्टेसनसम्म पुर्‍याइदिए । ५० वर्षदेखि गोरखपुरमा रिक्सा चलाउँदा रहेछन् । नेपाली बोले पछि उनले पनि प्रेमपुर्वक भने म पनि नेपाली हो तर अहिले बाध्य भएर भारतीय भएको छु । बिहे गरेपछि त्यतै बसोबास गरेका रहेछन् । कामको खोजीमा गएको देश नै बदलिएछ । धेरै नेपालीको अवस्था यस्तै छ । मेरो ठूलो दाजु पनि कामको खोजीमा जाँदा भारतमै बसोबास गर्न बाध्य हुनुभएको हो ।

हाम्रो गोरखधाम एक्सप्रेस १२५५५ को ट्रेन थियो । दिल्ली जाने उक्त ट्रेन नौ नम्बर प्लेटफर्ममा लाग्दो रहेछ । धेरै नहिँडेका मानिसहरूलाई कति नम्बरमा ट्रेन लाग्छ र कसरी त्यहाँ जाने भन्ने पनि समस्या हुने रहेछ । हामीलाई ती जोगी चौधरीले बाटो बताइदिए ।

स्टेशनभित्र पस्दा फेरि सुरक्षा जाँच गराई सामान स्क्यान गर्नुपर्ने रहेछ । यात्रामा जाँदा लगेज हलुका हुनु अनिवार्य जस्तै हुने रहेछ । कहाँ कसरी लगेज बोक्नुपर्छ थाहा हुँदैन । बसले रोकिदिएको ठाउँबाट प्लेटफर्म एक नजिक रहेछ । प्लेटफर्म एकबाट नौ पुग्न निकै हिँड्नुपर्ने भयो । सकिनसकि लगेज भुन्ड्याउँदै बल्ल बल्ल हामी ९ नम्बर प्लेटफर्ममा पुग्यौं । यतिबेलासम्म ३ः४५ भएको थियो । ट्रेन त्यहीँबाट लाग्ने भएकाले हिँड्ने समयभन्दा झन्डै पौने घण्टा अगाडि नै ट्रेन लाग्यो । हामीले आफ्नो एसी थर्ड टियर कोचमा लिएको सिटमा समयमा नै बस्न सक्यौं । यो ट्रेनमा २२ वटा डब्बा थिए । रेल तोकिएको समयमा नै चल्यो । बेलुका कतिले आफ्नै टिफिनबाट खाना निकालेर खाएको देखियो । कतिले रेलमै खानाको अर्डर लिन आउने रहेछ, मगाएर खाए । त्यो दिन हामीले मंगलापुरबाटै लगेको गहुँको रोटी सब्जी खायौं । हाम्रो कोचमा भएका अरू २ जनालाई पनि दियौं । एकै कोचमा बसेपछि सहयात्री भइयो।

राती १० बजेतिर प्रायः यात्रीहरू सुत्नको लागि कोचको बत्ती निभाएर आराम गर्न थाले। म पनि निदाउने कोसिस गर्दै थिएँ । रेलको छुकछुक मात्रै थियो अरु सुनसान जस्तो भएपछि करिब ११ बजेतिर हामी सुतेको कोचमा कोही आएर ब्याग उठाए जस्तो आवाज आयो । म झसंग भएँ । हत्तपत्त आफ्ना ब्यागहरू हेरें । यथास्थानमै थियो । एउटा नयाँ ब्याग राखेको देखियो । त्यो ब्याग कसको हो? थाहा भएन । त्यो घटनाले गर्दा म झन् निदाउन सकिनँ । भोलिपल्ट बिहानसम्म त्यो ब्याग लिन कोही आएन । हामीले रेलका कर्मचारीलाई जानकारी गरायौं। उनीहरूले लिएर गए । ब्याग गोलो लामो निकै ठूलो थियो तर के थियो? कसको थियो? केही थाहा भएन ।

दिल्ली पुग्नको लागि गोरखपुरबाट खलीलावाद, बस्ती, बभनान, गोन्डा जक्सन, बाराबंकी जक्सन, लखनऊ, गनाओ जक्सन, कानपुर सेन्ट्रल,नयाँ दिल्ली जक्सन हुँदै हामी सकुरबस्ती स्टेशन दिल्लीमा बिहान करिब ७ः३० बजेतिर पुगियो । ट्रेन तोकिएको समयभन्दा २ घण्टा ढिला भएको थियो । त्यहाँबाट दाजुको घर भएको दिल्ली उत्तमनगर पश्चिम नजिक पर्ने भएर हामीले त्यो स्टेशनमा झरेका थियौं । मैले अनलाइन ट्याक्सी बुकिङ गर्ने भारतको मोबाइल एप्लिकेशन डाउनलोड गरेको थिएँ । त्यहाँबाट सात सिट भएको गाडी अनलाइन बुकिङ गरें । बिहानको खाली समय भएर हो कि करिब १५ कि.मि. टाढा रहेको ठाउँमा ३५० भारु मात्रै ट्याक्सीको भाडा तिरियो । नेपालको तुलनामा त्यहाँ सस्तो लाग्यो । बिहानको करिब ८ः३० बजे गन्तव्यमा अर्थात् दाजुको घरमा पुगियो ।

दिल्ली मेरो जीवन यात्राको डायरी शुरुआत भएको ठाउँ हो । मेरो वाल्यकालमा श्रम गरेर बसेको ठाउं । जहां मैले छोटु नाम पाएको थिएँ । त्यै छोटुको नामबाट मैले मेरो जीवन यात्रासंस्मरण ‘छोटु’ नामक पुस्तक लेखेको थिएँ । त्यसैले दिल्लीमा मेरो भावनात्मक सम्बन्ध छ । धेरै पटक गएको छु । तर अक्षरमा दिल्ली उतारेको छैन । यो पटक पनि दिल्लीका कथा यो लेखमा अटाउँदैन ।

नयाँ दिल्ली पुरानो दिल्ली अव एउटै भई सकेका रहेछन् । मैले चाँदनी चोकको पराठा पनि खाएको छु । पहाडगंजका नेपाली बस्तिमा पनि बसेको छु । इण्डिया गेट अगडी नै दाजुको डेरा भएकोले धेरै पटक गएको छु । इण्डिया गेटको बाहिरपट्टी राखिएका आइसक्रिम पनि खाएको छु । साँझ राष्ट्रपती भवन नजिकबाट हिंड्दा लाग्छ, शक्ति र सौन्दर्य एकै साथ हुन्छन् कि केहो भन्ने । लोटस टेम्पल पुग्दा आवाजहरू आफैं शान्त हुन्छन् । मानौं, त्यहाँ पुगेपछि मन आफैं ध्यान गर्न थाल्छ । त्यो संरचना केवल वास्तुकलाको चमत्कार होइन, शान्तिको सन्देश पनि हो । लालकिल्लमा दिल्लीको चर्को घाममा लाल लाल हुने गरि घुमेको छु । अक्षरधाम मन्दीरको सुन्दरता र त्यहाँको कडा सुरक्षा व्यबस्था अनुभव गरेको छु । दिल्लीको मेट्रो धेरै पटक चढेको छु । राजिव गान्धीचोक को मेट्रो स्टेशन जहाँ हिड्नु पर्दैन आफैँ भिडले हिडाउँछ । भिडको के कुरा गर्नु , सडकमा पनि उही ट्राफिक, उही भीड, तिनीहरू अपरिचित थिएनन् । म त दिल्लीसँग चिनजान भइसकेको ब्यक्ति थिएँ । दिल्ली एउटा शहर मात्र होइन, एउटा जीवित संग्रहालय हो – जहाँ हरेक पर्खाल, हरेक गल्ली, र हरेक अनुहारले कथा सुनाउँछ । दिल्लीसँगको मेरो सम्बन्ध केवल यात्रामा सीमित छैन, त्यो अनुभवमा र भोगाईमा समेत ब्यहोरोको ठाउं हो । जुन कहिल्यै भुलिँदैन ।

यो पटक दिल्ली जाने मेसो एउटा विवाह कार्यक्रमले जुराएको थियो । हामी चार दाजुभाइमध्ये तीन भाइ नेपालमा छौं । विवशता र बाध्यताले थर र नाम मात्रै फेर्नुपरेको होइन, देश नै फेर्नुपरेको अवस्थाले गर्दा एक भाइ भारतको दिल्लीमा बसोवास छ । हामी सबैको अभिभावक ठूलो दाजु नेपालमा ऋषिराम पौडेल तर भारतमा रविलाल रेग्मी विगत ४० वर्षदेखि दिल्लीमा बस्नुहुन्छ । उहाँका तीन छोरीहरूको विवाह भइसकेको छ । दाजुको कान्छो छोरा इन्जिनियर पढेर जागिर पनि शुरु गरेपछि अब विवाह गर्ने कुरा भयो । उसले आफैंले जोडी खोजेको र सबै हिसाबले हाम्रो परिवारसँग पनि मेल खाने भएकाले खुसीका साथ बिहे तय भयो । हाम्रो परिवारको अब छोराछोरीमा विवाह गर्न बाँकी त्यही छोरा थियो । त्यही छोराको बिहेकालागि नेपालबाट एक महिनाअघि नै रेलको टिकट लिएर बसेका थियौं । दिल्ली यात्रामा हामी माइलो दाजु, भाउजु र म र मेरी श्रीमती चार जनाको टोली थियौं।
छोराको विवाह मंसिर २० गते थियो । त्यहाँको चलन बेलुका जन्ती जाने र रातभरि जग्गेको काम सकेर भोलिपल्ट दुलही लिएर आउने रहेछ । नेपालमा पनि पहिला त राती बास बस्ने गरी जन्ती गइन्थ्यो । आजकल भने बिहान गएर बेलुका फर्कने चलन छ । त्यो विवाहमा हामी बेलुका करिब ६ बजे मात्र केटाको घरबाट जन्ती लिएर गयौं। बाटोबाटै त्यहाँको बेन्डबाजा र घोडाको बग्गीसहितको व्यवस्था थियो । खुब नाचगान गर्दै विवाहको लागि तयार गरिएको होटलमा पुगियो । त्यहाँ जन्तीलाई पसेपछि नै दुलाहाको सालीहरूले रिबन टाँगेर छेक्ने चलन रहेछ । पैसा माग्ने चलन रहेछ । हामी कहाँ पनि जुत्ता लुकाएर माग्ने चलन छ । एक लाखबाट बार्गेनिङ गर्दै अन्त्यमा एघार हजारमा बल्ल बाटो खुल्ला भयो । त्यो रात पूरै परम्परागत रूपमा हिन्दुहरूको विवाह संस्कार पूरा गरेर बिहान करिब ६ बजे मात्रै दुलही लिएर घर गइयो । विवाह संस्कार नेपालमा र भारतमा खासै फरक पाइएन । विवाह गराउने पंडित नेपाली नै थिए ।

तेस्रोलिङ्गी (किन्नर) हरूको आशीर्वाद
विवाहको भोलीपल्ट अचानक केही व्यक्तिहरू घरमा आए । उनीहरू चटक पहिरनमा थिए—रंगीन सारी, ठूलो टीका, गहना, अनि अनुहारमा निकै गम्भीर भाव । सुरुमा त मलाई लाग्यो, यिनीहरू नजिकैका छिमेकी हुन् कि क्या । तर केहीछिनमै उनीहरूले हातको तालीको संकेत गर्दै त्यहाँ मध्ये टोली नेताले “हाम्रो आशीर्वादको सामान तयार गर्नु” भन्ने आदेश दिई । उनीहरू सबै महिला पहिरनमा थिए । सारी, मिठाई लगायत सामान तयार गरेर राखियो । उनीहरूले भने “एक लाख एकाउन्न हजार घटी हामी लिँदैनौं” भने । हामी त अचम्ममा पर्‍यौं । किन दिने यति धेरै? हामी हाम्रो खुसीले दिन्छौं भन्यौं । तर उनीहरू टसको मस भएनन् । भनेजती नदिए श्राप दिन्छौं भनेर जथाभावी बोल्न थाले । भारतमा हिंजडाहरूको श्राप लाग्छ, उनीहरूलाई बेखुसी बनाउन हुँदैन भन्ने मान्यता रहेछ। “दिन नसक्ने भए किन यति भव्य बिहे गरेको? मन्दिरमा गएर खुरुक्क बिहे गरेको भए हामी आउने थिएनौं” भनेर हैरान पारे । मैले त जे जे भन्छन् भनेर जान्छन्, उनीहरूले भनेजति दिनु पर्दैन भनें । तर उनीहरू त यति उग्र हुँदै गए कि हामीलाई लाज लाग्ने गरी बोल्न थाले । परिवारमा सुन्नै नसक्ने शब्दहरू प्रयोग गर्न थाले । मैले पुलिसलाई खबर गर्ने कुरा गरें । पुलिसले पनि सम्झाएर दिनु भन्छन्, केही गर्दैनन् भन्ने थाहा पाएँ । बार्गेनिङ गर्दा गर्दै करिब दुई घण्टापछि ११ हजार रुपैयाँ, साडी लगायतका सामानमा कुरा मिलेर बल्ल उनीहरूको विधिअनुसार आशीर्वाद दिएर गए । “अब पोतापोती होगा उस समय बाकी लेजाइँगे” भनेर बाँकी राखेको जस्तो गरेर बल्ल घरबाट निस्के । हामीलाई सारै ठूलो संकटबाट पार पाए जस्तो लाग्यो।

यो दृश्य मलाई गहिरो सोचमा पार्‍यो । म जन्मेको समाजमा तेस्रोलिङ्गीहरू विवाहमा आउने चलन छैन । तर यहाँ दिल्लीमा, उनीहरूको उपस्थिति यस्तो ’अनिवार्य’जस्तो लाग्दो रहेछ । पछि बुझ्दा थाहा भयो—तेस्रोलिङ्गी समुदायले विवाह, सन्तान जन्म, जस्ता अवसरहरूमा जाने परम्परा पुरानो रहेछ । विवाहकोलागि घरमा सिँगारपटार गर्न थालेपछि थाहा पाउने रहेछन् । पहिल्यै हामी आउँछौं भनेर कार्ड दिएर जाने रहेछन् । यो उनीहरूको पहिचान र जीविकोपार्जन दुबैको साधन हो । तर, जति नै परम्परागत होस्, विवाहजस्तो शुभ अवसरमा डर र दबाब सिर्जना गरिनु कत्तिको उचित हो? मलाई यो प्रश्न मनभित्रै घोत्लिन बाध्य बनाएको थियो । दिल्लीको त्यो विवाह समारोहले मलाई केवल सांस्कृतिक भिन्नता मात्र हैन, सामाजिक यथार्थ पनि देखायो—तेस्रोलिङ्गी समुदायलाई अझैसम्म समुचित स्थान नदिइएको, र उनीहरूलाई रोजगारी, सम्मान र समानता चाहिएको स्पष्ट संकेत देखियो । मैले सोचे भारतमा किन्नरहरुको आशीर्वाद निकै महँगो हुने रहेछ ।

चेयर ट्रेन यात्रा
दिल्लीको कार्यक्रम सकेर हामी देहरादुन जाने कार्यक्रम थियो । सोही अनुसार दिल्लीबाट देहरादुनका लागि साधन खोज्ने क्रममा वातानुकूलित कुर्ची ट्रेन (चेयरकार) पाइने रहेछ । दिल्लीबाट देहरादुनसम्म ३१५ कि.मि. दूरी पर्ने रहेछ । हामीले १२०१७ डिडिएन शताब्दी एक्सप्रेसको अनलाइन टिकट लियौं । टिकट लिँदा नै खाना शाकाहारी मांसाहारी आफूले छान्नु पर्ने रहेछ । चढ्ने बित्तिकै पानी दिने रहेछ । त्यसपछि चिया बिस्कुट दिने रहेछ । बाटोमा नास्ता खाना समेत दिने रहेछ । सिटमा हिन्दुस्तान दैनिक पत्रिका राखिदिने रहेछ । आरामदायी सोफाजस्तै कुर्ची राखिएका हुने रहेछन् । मैले यस प्रकारको ट्रेन अस्ट्रेलियामा चढेको थिएँ । यात्रुहरूको लागि यो रेलमा विभिन्न श्रेणीका कोचहरू रहेछन् । जसमा एसी चेयर कार र एक्जिक्युटिभ क्लास हुने रहेछन् । पैसा पनि त्यही हिसाबले महङ्गो पर्ने रहेछ ।

दिल्लीबाट उत्तरप्रदेशको गाजियाबाद, मिरुत, मुजफ्फरनगर, डियोबन्ड, ताप्री स्टेशनहरूमा रोक्ने रहेछ। त्यहाँपछि उत्तराखण्ड शुरु हुने रहेछ। उत्तराद्वारखण्डको रुड्की, हरिद्वार हुँदै देहरादुन पुगिने रहेछ । त्यो ट्रेनको डब्बामा पनि दुई भाग बनाएको हुने रहेछ । आधा कुर्ची एकापट्टि आधा कुर्ची अर्को पटि फर्काएको हुने रहेछ । एउटा डब्बामा ५६ सिट थिए । सहारनपुरसम्म उल्टो हिँडे जस्तो लागेको थियो । त्यहाँबाट फेरि अगाडि हिँडे जस्तो लाग्यो । रुडकी भन्ने ठाउँबाट अगाडि लागेपछि बाहिर सोलारबाट ठूलो स्केलमा विद्युत निकालेको दृश्य देखियो । भारतले सोलार पावरबाटपनि ठुलो स्केलमा बिजुली निकालेको रहेछ भन्ने लाग्यो । यसरी आरामदायी यात्रासहित हामी देहरादुन पुगियो । दिल्लीबाट देहरादुनसम्मको रेलयात्रा पूरा गर्न ६ घण्टा १० मिनेट लाग्यो । देहरादुनमा हाम्रो आफन्त हुनु भएकोले रेलबाट झरेपछि अनलाइन ट्याक्सी लिएर तोकिएको ठेगानामा पुगियो । भारतमा अनलाइन ट्याक्सी सस्तो र भरपर्दो लाग्यो ।

देहरादुन
देहरादुनमा पर्यटकीय ठाउँहरूमा मसूरी पहाड, खलंगा, गुच्चुपानी, बुद्ध मन्दिर र तप्केश्वर मन्दिर लगायत भारतीय पुरातत्व सर्वेक्षण केन्द्र आदि पर्दछन् । यो पटक देहरादुनमा गोर्खाली सुधार सभा र आदिकवि भानुभक्त आचार्यको नाममा पुस्तकालय देख्दा हर्षित भइयो । देहरादूनमा नेपालीहरूले सम्झना लायक धेरै कुरा छन्, किनकि यहाँ लामो समयदेखि नेपाली समुदायको उपस्थिति छ । यी मध्ये केही विशेष चीजहरू पनि छन् । देहरादून गोरखा सैनिकहरूको प्रमुख बेसमध्ये एक गोरखा राइफल्स र क्यान्टोनमेन्ट क्षेत्र हो । यहाँका क्यान्टोनमेन्ट क्षेत्रमा नेपालीहरूका लागि ऐतिहासिक र भावनात्मक सम्बन्ध छ । त्यस्तै तपोवन नजिकै रहेको काली मन्दिर धेरै नेपालीहरूको आस्थाको केन्द्र हो । यहाँ विशेषत दशैं–तिहारका बेलामा भीड लाग्छ अरे । देहरादूनमा नेपाली भाषा बोल्नेको ठूलो समुदाय छ । आफन्तको भनाई अनुसार साँस्कृतिक कार्यक्रमहरू, नाच–गान, भेला आदिको आयोजना हुने गर्छन् । धेरै नेपाली विद्यार्थीहरूका लागि स्थानीय नेपाली स्कूलहरू गोरखा मिलिटरी इन्टर कलेज महत्त्वपूर्ण मानिन्छ ।मःम, गुन्द्रुक, ढिँडो, सेल रोटी जस्ता नेपाली परिकार पाइने रेष्टुरेन्ट र स्टलहरू देहरादूनमा सहजै भेटिने रहेछन् । देहरादूनका नेपालीहरू नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र पारिवारिक सम्बन्धको प्रतीक पनि हुन् । हामीले धेरै ठाउँहरू पहिला नै घुमिसकेकोले यो पटक नालापानी घुम्ने कार्यक्रम बनाइयो ।

नालापानी युद्ध स्मारक
नालापानी किल्ला जानको लागि देहरादुन डाक्रा बजारबाट करिब १४ कि.मि. उत्तर पर्दो रहेछ । त्यहाँ बस जाँदैन, सानो गाडी मात्रै जाने रहेछ । करिब ३ कि.मि. त घना जंगल उकालो बाटो जानु पर्ने रहेछ । हामीले सानो गाडी लिएर गएका थियौं । देहरादूनको सहर पार गर्दै, हरियालीले ढाकिएको उकालो बाटो हिँड्दै जब हामी नालापानीको उचाइमा पुग्यौ । एक किसिमको मौनता र गौरवले मन गहिरो भयो । त्यहाँको शालीनता, थोरै मात्रामा बाँकी रहेको किल्लाको पर्खाल, र वरिपरि लहराइरहेका हरियो रूखले मानौं त्यही पुरानो युद्धकाल सम्झाइरहेका थिए । त्यहाँ एउटा ढुङ्गामा कुँदिएको लेख थियो — अंग्रेजहरूले आफ्ना शब्दमा वीर बलभद्र कुँवर र नेपाली सेनाको साहसको वर्णन गरेका थिए । त्यो पढ्दा मेरो छाती गर्वले फुल्यो । शत्रुले पनि सम्मान गर्न वाध्य बनाएको बलिदान ! त्यो मात्र होइन, त्यहाँ राखिएको बलभद्रको स्मारक सामु उभिँदा, लाग्यो म कुनै तीर्थमा छु — जहाँ वीरता पूजिन्छ । त्यो शिलालेख हेरेर एकछिन मौन बसेँ । आकाश निलो थियो, हावा चल्दै थियो, र मेरो मनभित्र इतिहासको आँधी चलिरहेको थियो । कति साना–साना जीवनहरू, कति सपना, र कति बलिदान यस भूमिमा मिसिएको छ । मैले हात जोडेर मस्तक निहुराएँ — त्यो सम्मान मेरो निजी श्रद्धाञ्जली थियो बलभद्र कुँवर र गोर्खाली शूरवीरप्रति । त्यो दिन मैले अनुभव गरें, इतिहास केवल किताबमा सीमित हुँदैन, त्यो त जीउँदो हुन्छ — ढुङ्गामा, रगतमा, र चेतनामा । नालापानीले मलाई सम्झायो, वीरता केवल जितमा होइन, आत्मसम्मानमा हुन्छ । शिलालेखमा लेखिएको व्यहोरा जस्ताको त्यस्तै यस प्रकार रहेको छः

खलङ्गा युद्ध १८१४
युद्ध स्मारक खलंगा, नालापानी, देहरादुन के क्षेत्र में स्थित है। यह युद्ध १८१४ के दौरान खलङ्गा की लडाई में गोरखा सैनिकों, महिलाओं और बच्चों कि विरता, अदम्य साहस, उच्चतम लड्नेकी क्षमता और सर्वोच्च बलिदानका प्रमाण है। ब्रिटिस इन्फेन्ट्री डिभिजन मे ३५०० सैनिक सामेल थे व साथमें भारी तोपखाने बन्दुकांद्वारा मेजर जनरल राँवर्ट रोलाँ लिजेन्पी की कमानको खलंगा किल्ला नालापानी में हमला गर्नेका काम सौंपा गया था। किले कि रक्षा बलभद्र कुँवर थापा कि थी, जिसमे जनरल के हमलेको विफल करने के लिए महिलाओं और बच्चों सहित कूल मिलाकर ५००–६०० कि सख्या मे गोरखा सैनिक थे । कर्नल मोबे कि अति आत्मविश्वास एवं उत्सुकता ने २४ अक्टोबर १८१४ को किले पर पहला हमला किया था, भारी गोलाबारी के बाद गोरखा सैनिकों ने दृढता से लडाई लडी और दुश्मन के हमलेको जवाब दिया, जिसके बाद ब्रिटिस सेना में भारी क्षति हुई । ३१ अक्टोबर १८१४ को जनरल जिलेन्पी ने खुद सेनाकी कमान्ड संभाली बलभद्र कुँवर थापा व उनकी महिलाओं और बच्चों सहित गोरखा सैनिक आफ्नी पुरी तागत से हमला करते हुए, अपनी जमिन पर मजबुती से खडे रहे, अपने हतियारों, खुखरियों तिरो, यहाँ त कि पत्थरौं के द्वारा बहादुरी से अस्त्रशस्त्र से लडे । इस नजदिकी लडाई में जनरल जिलेन्पी के अतिरिक्त उनके क्याप्टेनको मार गीराया व कइ अन्य ब्रिटिस सैनिकको खदेड दिया गया था। ब्रिटिश सैनिक हमलावरों भारी नुक्सान उठाना पडा तथा एक बार फिर उन्हे युद्ध किलेसे पिछे धकेल दिया गया, जिससे उन्हे राहतकी तलाश करने व फिर से मजबुत होने के लिए मजबुर होना पडा । २९ नवम्वर १८१४ को कर्नल मावि के नेतृत्वमे ब्रिटिश सेना ने खलङ्गाको चारौँ तरफ से हमला बोल दिया परन्तु बलभद्र के साहसी वीर सैनिकां,े महिलांए और बच्चेके साथ स्थानीय गडवाली वा कुमाउँनी के सहयोग से दुश्मन के हमले को विफल कर दिया । रात्री २९ /३० नोभेम्बर १८१४ को गोरखा सैनिक ज्यादा सख्या मे हताहत होने पर रसत की कमी तथा एकमात्र पानी के स्रोत बन्द हुने के विषम स्थिति में बलभद्र ने सक्षम ७० सैनिकों के साथ स्वेच्छा से खलङ्गा किलेको छोड् दुबारा गाउँकी और प्रस्थान किया । एङ्गलो गोर्खा युद्धके दौरान मारे गरे ब्रिटिश सेनाः अधिकारी ३१, अन्य र्याङ ७५०, घायल अधिकारी ३५, अन्य रैंक १५०० था ।
खलङ्गा युद्ध के दौरान गोरखाओं द्वारा प्रदर्शित अविश्वसनीय बहादुरी और युद्ध कौशलकी उच्चतम गुणवत्ता ने ब्रिटिस अधिकारीयों को प्रभावित किया । इस हद तक कि यह शायद युद्ध के इतिहास में एकमात्र उदाहरण है जहाँ एक विजयी सेनाने अपने जनरल जिलेन्पी और उनके सैंनिकौं के स्मारक के अलावा अपने प्रतिद्वन्द्वी बलभद्र कुँवर थापा और उनके बहादुर गोर्खा सैनिक कि याद में दो स्मारक बनवाइ । जो आज भारतीय पुरातत्व सर्वेक्षण के तत्वावधान में सहस्त्रधारा रोड देहरादुन में स्थित है । बलभद्र कुंवर थापा तथा उनके बहादुर सेनानियों को कोटी कोटी नमन एवं भावभीनी श्रद्धाञ्जली । (द्वारा : बलभद्र खलङ्गा विकास समिति नालापानी, देहरादुन उत्तराखण्ड)

यसरी यो विवरण पढ्दा गोर्खालीले देशका लागि कति साहसिक काम गरेका थिए भन्ने थाहा हुन्छ । कति निस्वार्थ त्याग थियो । वीर गोर्खाली भनेर संसारभरि नाम राखेका थिए। । बलभद्र कुँवरका बारेमा सानोमा नेपाली किताबमा पढेको कविता याद आयोः
पहाडको टाकुरी चम्के चमक खुकुरी
जसरी मेघ गर्जन्छ आकाशमा सनन।
उसरी गर्ने नेपाली नालापानी घनन
मुला काटे झैं काटी खुकुरी घुमे फनन।
एक रात सुनसान पानी आउने मुहान
वैरी आई थुनेछ सास धान्ने कसरी
मनमनै गुनेर यसरी कि उसरी
नेपालीको फौजले त्यहाँबाट आँटले
पाइला चाल्यो सुस्तरी। ।

उक्त युद्ध ब्रिटिशका लागि प्राविधिक रूपमा जित भए पनि उनीहरूले खर्चिएको समय, स्रोतसाधन र प्रयासका कारण यो एक पाइरिक विजय (Pyrrhic Victory) सावित भयो । नालापानीको जस्तै अन्य युद्धहरू जस्तै जैतकमा पनि गोर्खालीहरूको साहस र प्रतिरक्षा शक्तिको झल्को देखिएको थियो । विशेष गरी नालापानीको युद्धले गोर्खालीहरूलाई अद्वितीय योद्धाको रूपमा स्थापित गरायो । यही कारणले पछि ब्रिटिश सेनाले गोरखा सैनिकहरूलाई आफ्नो फौजमा भर्ना गर्न थाले, जसले गोरखा रेजिमेन्टको प्रतिष्ठा स्थापना गर्‍यो । संसारमा अहिले पनि गोर्खालीसंग डराउनेहरु छन् ।

ऋषिकेश, हरिद्वार
देहरादुनको भ्रमण सकेपछि हामी ऋषिकेश र हरिद्वार घुम्ने योजना बनायौं । यसै सिलसिलामा हामीले दिनभरिका लागि २००० भारुमा स्करपियो गाडी भाडामा लिएर निस्कियौं । ऋषिकेशमा रामझुला, लक्ष्मण झुला हेरियो । राम लक्ष्मण झुला भनेको के होला भन्ने जिज्ञासा थियो । गंगा नदीमा राखिएका झोलुङ्गे पुल पो रहेछन् । ऋषिकेशमा भएको गीताभवन लगायत धार्मिक तथा पर्यटकीय स्थानको अवलोकन गरी त्यहाँबाट हरिद्वार लागियो । गीताभवनमा श्रीमद्भगवत गीताका उपदेशहरू सबै भित्ताभरी लेखिएको रहेछ । त्यसैले त्यो भवनलाई गीताभवन भनिएको होला ।

ऋषिकेशबाट हरिद्वार १९ किमि पर्ने रहेछ । हामीसँग हरिद्वारका धेरै धार्मिक स्थान हेर्ने समय थिएन । हरिद्वारमा रहेको कृष्ण प्रणामी मन्दिर पुगियो । उक्त प्रणामी मन्दिरलाई निजधाम पनि भनिँदो रहेछ । त्यहाँ जाने तीर्थयात्रीहरूकालागि खाना बस्न आरामदायी व्यवस्था रहेछ । यद्यपि हामी बस्ने योजनामा थिएनौं । बस्नु पर्दा सजिलो हुने रहेछ । निजधाम नजिकै रहेको भारतमाता मन्दिर, राम मन्दिर लगायत घुमेर हामी आरतीको समय भएकोले साँझ ५ बजे हरकी पौडी पुगियो ।

हरकीपौडी हजारौं तीर्थयात्रीहरूको जमघट हुने र उत्सवहरू सुरु हुने प्रमुख स्थलमा पुगियो । यहाँ हरेक बाह्र वर्षमा हुने कुम्भ मेला, हरेक छ वर्षमा हुने अर्धकुम्भमेला, र अप्रिल महिनामा मनाइने बाली पर्व, वैसाखी जस्ता पर्वहरू मनाइने रहेछ । भारतको उत्तराखण्ड राज्यमा अवस्थित हरिद्वार हिन्दु धर्मावलम्बीहरूको लागि एक पवित्र तीर्थ मानिन्छ । “हरिद्वार” को अर्थ हो — “हरिको द्वार,” अर्थात् भगवान विष्णुको प्रवेशद्वार भनिदो रहेछ । यस सहरलाई वैदिक युगदेखि नै पवित्र मानिएको छ, र यहींबाट हिमालयबाट बग्दै आएको गङ्गा नदी मैदानतिर प्रवेश गर्छ । त्यसैले यहाँ गङ्गा स्नान गर्नु जीवनपछिको मोक्ष प्राप्तिको बाटो भन्ने मान्यता रहदै आएको छ । हरिद्वारको सबैभन्दा प्रसिद्ध स्थल हर की पौडÞी हो । जनश्रुति अनुसार यो स्थानमा स्वयं भगवान विष्णुले पाईला टेकेका थिए, त्यसैले यसको नाम ‘हर की पौडÞी’ (हरीको पाउ“को छाप) परेको हो भनिन्छ । यही ठाउँमा प्रत्येक साँझको गङ्गा आरती संसारभरका श्रद्धालुहरूलाई आकर्षित गर्छ ।

हर की पौडÞीको साँझपखको आरती अत्यन्त भव्य हुने रहेछ । सयौं दियोहरू गङ्गा नदीमा बगाइ आरतीको घण्टी, शङखध्वनि, र मन्त्रपाठले सम्पूर्ण वातावरण आध्यात्मिक बनाउँने रहेछ । तर यो सबैको बीचमा एउटा अर्को यथार्थ पनि लुकेको पाएँ । धार्मिक भावनालाई व्यवसायिकरण गरिँदो रहेछ । आरतीमा सामेल हुन लाग्दा आरतीमा आएकाहरुलाई पण्डितहरू घेर्छन् । सुरुमा उनीहरू “गङ्गा मैया को नाममा दान गर्नुहोस्, पुण्य पाइन्छ ।” भन्दै नजिकिन्छन् । अनि भक्तजनहरूलाई त्यहाँका पण्डितहरूले नराम्रोसँग ब्ल्याकमेल गर्न शुरु गर्छन । उनीसँग भएको सबै पैसा दान गर भन्दै बाध्य पार्दा रहेछन् । सुरुवातमै “तपाईं जोडी आउनुभएको हो ? हो भने “दुवैजनाले यो आरतीको थाली समात्नुहोस” भन्छन् । त्यसपछि उसले भट्याउन थाल्छ । जोडीबाट कति दान गर्ने, दीनदुःखीलाई खाना खुवाउन कति दिने, मातापिताका नाममा कति दिने, समस्त पितृको नाममा कति दिने, छोराछोरी छन् कि छैनन् भनेर सोध्ने, नभए हुने वाला छोराछोरी असल हुनको लागि, भएका भए तिनीहरूको शिक्षा, नोकरी आदिका लागि यति धेरै भट्याउँछन् कि हरेक पटक भट्याउँदा कसलाई कति दान गर्ने भनेर सुरु नै ५१०० सयबाट गर्दा रहेछन् । ११०० सय जति त कमसेकम भन्छन् । करिब २ मिनेटमा भक्तसँग कति सकिन्छ झार्छन् । अनि गङ्गामा आरती बगाइदिनु भन्छन्। । गंगामा बगाउंदा फेरी अर्को पैसा माग्ने तयार हुने रहेछ ।

हाम्रो टोलीले पैसा दिन मानेन र “हामी आफै मन्त्र जाप गर्छौ भन्यौ ।” किनकी म संग गएका साथीहरु पहिला पनि आरतीमा पुगीसकेको हुनाले थाहा थियो । पंडितहरू द्रवित हुँदै “गङ्गा जीको अपमान भयो“ जस्ता शब्द प्रयोग गरे । हामीले उनिहरुसंग वादविवाद गर्न चाहेनौ । कसैलाई त डर नै लाग्छ होला । पुण्य नपाउने हो कि भनेर । यहाँ दान स्वतन्त्र इच्छा होइन, भावनामा खेलिने एउटा दबाब बनेको देखिन्छ । सबै पण्डित उस्तै हुँदैनन् भन्ने स्वीकार गर्नुपर्छ, तर कतिपयले आरती, तर्पण, पिण्डदान जस्ता क्रियाहरूलाई एक किसिमको व्यवसायिक खेती बनाएजस्तो लाग्दछ । हरिद्वारको सौन्दर्य दुबै किसिमको छ—एक, जुन तपाईं हाम्रो आत्मालाई छुन सक्छ; अर्को, जुन तपाईं हाम्रो गोजी छाम्न सक्छन् । गङ्गाको पानीजस्तै यहाँको अनुभव पनि शुद्ध तर कहिले काहीँ धमिलो लाग्न सक्छन् । होसियारी हुनुपर्ने रहेछ । श्रद्धा लिन सकिन्छ, तर श्रद्धाको मूल्य तोक्नु भने उचित होइन । स्थानीय प्रशासन वा धार्मिक संस्थाहरूले पूजा र अनुष्ठानका लागि शुल्कको मापदण्ड तोकिदिए राम्रो हुने थियो। भक्तहरूको सचेतना जगाउनु पर्ने देखियो । धर्मको नाममा पण्डितहरूले लुट्ने अवस्था आउन दिनु हुँदैन । जानेहरू सचेत हुनुपर्ने रहेछ ।

देहरादुनबाट फर्कंदा
करिब एक हप्ताको बसाइपछि नेपाल फर्कने कार्यक्रम बन्यो । पहिलादेखि नै रेलको टिकट नलिएकोले देहरादुनबाट गोरखपुर आउने दैनिक रेलसेवा रहेनछ । एक दिन बिराएर आउने रहेछ । हामीले तत्कालको रेल टिकट पनि पाउन नसकेपछि बसबाट आउने निधो गरियो । देहरादुनबाट आउँदा कि महेन्द्रनगर हुँदै आउनुपर्ने रहेछ, कि नेपालगञ्ज हुँदै बुटवलसम्म आउने बस पाइने रहेछ । हामीले बुटवलको बाटो हुँदै आउने निधो गरियो । नेपालगञ्ज नाकाबाट नेपाल भित्रिँदा पनि भारतीय सीमामा निकै कडा सुरक्षा जाँच हुने रहेछ । सामानहरू सबै मेसिनमा राखेर स्क्यान गर्नुपर्ने रहेछ । मानिसहरूलाई पनि एक एक गरेर सुरक्षा जाँच गराई नागरिकता प्रमाणपत्र भिडाएर मात्र नेपाल आउन दिने रहेछ । भरखर सुरक्षा जाँच कार्यालय स्थापना भएको हो भन्ने सुनियो ।

तीन हप्तासम्म भारतका विभिन्न स्थानहरूको यात्रा गरेर म नेपालगंजको बाटो हुदै नेपाल फर्किए । दिल्लीको भीड, देहरादूनको हरियाली, नालापानीको वीरता, र हरिद्वारको आध्यात्मिक शान्ति सबै अनुभवहरु स्मृतीमा संगालेर आउंदा मलाई थकित होइन, समृद्ध बनाइरहेका थियो । यति धेरै देखेपछि पनि मनको एक कुनामा केही खालीपन थियो, त्यो खालीपन नेपालगन्ज बोर्डर नजिकिँदै गर्दा स्वदेशको वास्नाले भरिन थालेको महसुस गरें । बोर्डर नजिक पुगेपछि हावामा केही चिरपरिचित गन्ध मिसिएको थियो । नेपाली भाषामा बोल्ने सुरक्षाकर्मी देख्दा, टोलाइरहेका मुहारहरू देख्दा, र चामलको भातको वास्ना आउँदा म आफैंसँग मुस्कान बाँड्दै थिएँ । भारतमा दिल्लीको चमक, हरिद्वारको आस्था, र नालापानीको इतिहास देखेर प्रभावित भएँ, तर त्यहाँ केही थिएन जुन मैले “मेरो हो” भनेर दाबी गर्न सकूँ । यहाँ नेपालगन्जको बोर्डर पार गर्नेबित्तिकै म हिँडेको बाटो पनि मेरो लाग्यो, फाटेको सडक पनि प्रिय लाग्यो, र हावा पनि आफ्नै लाग्यो । आफ्नै देश फर्किनुको सुख अपूर्व हुन्छ । कुनै पासपोर्ट देखाउनु पर्दैन, भिसा चाहिँदैन, र न त मनमा असहजता हुन्छ । बस एक अदृश्य भावनाले भन्छ—“तिमी फर्कियौ, यहाँ तिमीलाई कसैले सोध्दैन कि तिमी को हौ ?”

भरतपुर १०, चितवन, हाल : ब्रीसवेन, अष्ट्रेलीया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।