18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उ चि मोको खुसी

नियात्रा भेषराज रिजाल April 15, 2025, 12:19 am
भेषराज रिजाल
भेषराज रिजाल

झाङजिआजे सेन्टरबाट भित्र पसेपछि बसले ल्याइपुर्‍यायो सपनाको स्वर्ग जस्तो ढुङ्गे पहाड मुन्तिरको रसिलो खोचमा । हिजो घुमेको अनौठो पहाडकै खोचमा पुगेको आभास भइरहेथ्यो । झाङ्जिआजे नेशनल फरेष्ट पार्ककै अर्को रमणीय स्थानमा पुगेका रहेछौँ हामी ।

घुम्तीहरू घुमिरहन्छन् । साँघुरो पहाडी बाटोसँगै नयाँ नयाँ दृश्यहरू आइरहन्छन् । विपरिततर्फबाट हुर्रिएर आइरहने बसहरूले भने सातो लान खोज्छन् । लेफ्ट हेण्ड ड्राइभ देखेर त्यस्तो आभास भएको होला, म चित्त बुझाउँछु ।

रुखहरूको छायाँमा कुदिरहेछौँ हामी । समथर खोचमा अग्लिएका छन् हरिया रुखहरू । स्वर्गीय यात्रामा निस्केका पहाडहरूको जुलुस छ सामुन्ने । ती पहाडहरूलाई जङ्गलको भरथेग छ । जङ्गल र पहाड जोगाउन खोला खोल्साहरूको हातेमालो छ । त्यसमाथि प्रकृति संरक्षण गर्दै विकास गर्न तत्पर चिनियाँ मेहनत पनि छ ।
अगस्त १६ सन् २०१९ ।

चर्को घाम खनिए पनि हाँसिरहेथे वनेली यौवन फक्रेका हरिया पहाडहरू । उज्जर थिए सफा आकास मुनिका दृश्यहरू । विशाल पहरोको फेदीमा देखियो खोलो थुनेर बनाएको नीलो ताल । सानो खोलो बगरसँग सङ्घर्ष गर्दै कुदिरहेथ्यो ताल भेट्न । सङ्लो खोलो र नीलो तालको पानीले रङ्गियो मन । विकासले सिङ्गारेको चिनियाँ प्रकृतिसँगै लठ्ठिएको थिएँ म हरपल ।
टावर सिटमा नबसी उभिएरै बहादुरी देखाउँछ । झाङजिआजेलाई झाङ नामक चिनियाँ जातिको मातृभूमि बताउँदै अनेक वंशका चिनियाँ शासकहरूको इतिहास जोडेर जानेजति विषयमा फलाक्न थाल्छ ऊ ।

म भन्छु– “पहाडी साम्राज्यमा पहाडका पनि कुरा गरे हुन्थ्यो नि । मोहक प्रकृतिमा प्रकृतिका कुरा पनि गरे हुन्थ्यो नि ।”

कालान्तरमा ठूलै भुइँचालोले झक्झक्याएर अस्थिपञ्जर बनेजस्ता पहाडहरू रुखको टोपी लगाएर स्वाभिमानसाथ अग्लिएका छन् । समयले खियाउन नसकेका ती पहाडहरूको मुस्कान पनि अद्भूत छ । पहाडहरूको दृढता देखेर मभित्र पनि ठडिएको छ एउटा स्वाभिमानको पहाड ।

फेदीको खोला किनारमा पुगेपछि केहीबेर स्वतन्त्र घुमफिर गर्न लाग्यौँ हामी ।

खोलाको किनार र जङ्गलभरि छन् मान्छेहरू । हरेक ठाउँमा टाँसिएको सूचनामा चुरोट नखान आग्रह भए पनि मान्छेका हातहातमा छ सल्किरहेको चुरोट । अग्ला पहाडको फेदीको शुरुङ जस्तो बाटोमा निसास्सिएझैँ भइरहेथ्यो । चुरोटको धुवाँले झन् रन्थनियो मथिङ्गल । विशाल जङ्गलमा आगलागी भएमा कहाँ भाग्ने ? एउटा डरले निल्यो खर्लप्प ।

सामुन्ने भेटिएको शौचालयमा छिरेर निस्कियौँ हामी । शौचालयछेउमा एकजना चिनियाँ बूढाबा मेहनतसाथ लेखिरहेथे चिनियाँ अक्षर । बूढाबाको लेखनीका कलात्मक डोबहरू हेरिरहेँ धेरैबेर– घर, गोठ, आँगन, परिवार अर्थात् घरपरिवार एकैठाउँ समेटेर बनाए जस्ता चिनियाँ अक्षरहरू । मोहित पार्दै धेरैबेरसम्म हृदयमा सल्बलाए ती अक्षरहरू ।

पसलभरि छन् आरु, नास्पाति, केरा आदि फलफूल । पाकिरहेछन् स्वादिला माछा, मासु, नुडल्स र अरू परिकारहरू । खानेकुराको वरपर झुम्मिरहेछन् मान्छेहरू । खानेकुराको आफ्नो सीमित सूची सम्झँदै सोच्छु– भोक र भोजन नभए के स्वाद जिन्दगीको ? आखिर, स्वाद हराउँदै जाँदा कति निरस होला यो जिन्दगी ?

एउटा खोल्सो तरियो । सामुन्ने टुपुल्कियो चुच्चे पहरो । पहरोको सेपिलो फेदमा थुपारिएको रहेछ असङ्ख्य सुकेका झिँजा र हाँगाहरू । पहाडलाई झिँजा र हाँगाबिँगाको टेको– पहाड संरक्षण गर्न साङ्केतिक इशारा होला शायद । साँच्चै महत्वपूर्ण सुधार गर्न मान्छेको मनमा सकारात्मक सोच पैदा गर्न जरुरी छ । हिउँद नलाग्दै पहाडमा आगो लगाउने चलन सम्झेर उदेक लाग्छ मलाई । म सोच्न थाल्छु– पहाड संरक्षण नगरे कसरी जोगिएला त पहाडी सभ्यता ?

पहाडको फेदीको बिसौनीमा सुस्ताउन नपाउँदै एउटी बूढीआमाले केही सोधिन् चिनियाँ भाषामा । सञ्जय अधिकारीले पनि आफ्नै हिसाबले हाँसीहाँसी जवाफ फर्काउनुभयो नेपालीमै । छेवैकी चिनियाँ परीसँग पनि भयो उस्तै सम्वाद । सबैको अनुहारमा देखियो उन्मुक्त हाँसो । दुनियाँमा सबैको मनको भाषा हाँसो र मुस्कान नै रहेछ ।

रहस्यमयी पहाडको कन्दरा नियाल्दै अघि बढ्दा देखियो बाँसको पाल्कीमा बोकिएको एउटा मोटे ठिटो । बोक्नेहरू पनि उस्तै मोटाघाटा र बलिया देखिन्थे । बोकिएर यात्रामा निस्केको सहयात्रीलाई महाकवि देवकोटाका शब्द सापट लिएर भन्न सकिनँ मैले– कुन मन्दिरमा जान्छौ यात्री ... ? बरू सोचेर रमाएँ– प्रकृति नियाल्ने चाहले घिस्रिएको म जस्तै पथिक रहेछ ऊ पनि ।

अलिअघि बढेपछि खोला किनारमा रमाइरहेका देखिनुहुन्छ रमेश घिमिरे, प्रवीण शाह र रञ्नन दास । सञ्जय र म भने खोला किनारको फेर समातेर अघि बढिरह्यौँ ।
अघिपछि हिँड्नेहरू सुसेलेर गाइरहेछन् चिनियाँ गीत । कसैले आफ्ना बच्चालाई हामीसँग अङ्ग्रेजी बोल्न आग्रह गर्छन् । बच्चाहरू कोही बोल्छन् खुलस्त । कोही लजाउँछन् लज्जावतीझैँ ।

विशाल पहाडको फेदीको त्यत्रो जङ्गल डुल्दा कुनै वन्यजीव नदेखेर विष्मित भइरहेथेँ । राता बाँदरहरूले अचम्मित बनाए । बाटो किनारमै मान्छेको नजिक–नजिक आइरहेथे ती । केही चिनियाँहरूले त बाँदरलाई हातमै खानेकुरासमेत दिइरहेथे । जङ्गली जीव र मान्छेको आत्मिक व्यवहार देखेर भुलियो केही क्षण ।

पिठ्युँमा सानो ढडिया बोकेकी चिनियाँ फुच्ची उ चि मो भेटिई खोलामा । उसको अङ्ग्रेजी नाम लक्की रे । सेञ्जेन शहरकी छोरी रे ऊ । अर्कै शहरमा काम गर्ने बाबुको फुर्सद नमिल्दा आमाछोरी मात्र घुम्न आएका रे ।

उसकी आमाले उ चि मोलाई खोलामा केही पक्रन हौस्याइरहेकी थिइन् ।

चार वर्षजतिकी त्यो फुच्चीले कहाँ सक्थी र केही समाउन ! तैपनि उसको खोजी र लगाव देखेर तानियौँ हामी । हामीले पनि केही छोपिदिने कोशिस गर्‍यौँ । तर कत्ति गरे पनि सकेनौँ । जत्ति खोजे पनि बगेर गइसकेको आफ्नै बाल्यकालको धमिलो छायाँ सिवाय खोलामा केही देखिनँ मैले पनि ।

पानीसँगै सलल बगेर फुत्की जान्थे माछाका मसिना भुराहरू । खोला किनारका सारा ढुङ्गा पन्छाउँदा अलि गतिलो केही फेला परेन । हाम्रो निरर्थक प्रयास देखेर झन् खित्खिताएकी थिई उ चि मो । माछा छोप्न नसकेर के भो त, उ चि मोका चिम्सा आँखाका डिल वरिपरिको मुस्कान र खुसी त छचल्किएकै छ नि । हात लाग्यो शून्य भनेझैँ केही प्राप्ति नभएर पनि यति ठूलो खुसी पहिलोचोटी पाएको थिएँ मैले ।

उ चि मो र उसकी आमालाई हात हल्लाएर फर्कियौँ गएकै बाटो हामी पनि ।

कहिल्यै घाम नदेखिने बाटोमा जमिरहेथ्यो कठ्याङ्ग्रिँदो ठिही । जूनले झारेको शीतले चिसिएर मुटु पनि दुखिरहेथ्यो चस्कीचस्की । भर्खरै ओझेल भएकी उ चि मोको मुस्कान र खुसीले दुखेको मुटुमा मल्हम लगाउन खोज्दै थिएँ मैले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।