साहित्य र संगीत समाजको ऐना हो, जसले समय, समाज र संवेदनालाई झल्काउँछ। यस्ता संवेदनशील अभिव्यक्तिको सशक्त माध्यम हो गीत। नेपाली आधुनिक गीतहरूमा गहिरो अर्थ, भावनात्मक सन्देश र समसामयिक यथार्थको समावेश गर्ने कुशलता केही विशिष्ट गीतकारहरूमा देखिन्छ, यस्ता गीतकारहमध्ये एक हुन् – डा. दामोदर रेग्मी। प्रशासनविद् र कुशल लेखकका रूपमा परिचित डा. रेग्मीका गीतहरू भावनात्मक गहिराइ, सकारात्मक ऊर्जा र जीवन्त अभिव्यक्तिले भरिएका छन्। उनका गीतमा न केवल शब्दको सौन्दर्य मात्र पाइन्छ , बरु ती शब्दहरूले जीवनका संवेदना बोल्छन्, मन छोएर जान्छन्।
डा. रेग्मीका गीतहरूमा प्रेम, पीडा, आशा, विछोड, समर्पण, राष्ट्रिय भावना जस्ता विविध भावनाहरू उजागर हुन्छन्। उनका गीतहरू भावनात्मक दृष्टिले अत्यन्त समृद्ध रहेका छन्। डा. रेग्मीका गीतहरूमा शब्दहरूले चित्र बनाउँछन्। कुनै गीत सुन्दा लाग्छ – त्यो दृश्य हाम्रो आँखा अगाडि चलिरहेको सजीव दृश्य हो। उनका गीतहरू सुन्दा पाठक वा श्रोता ती कथाभित्र आफै हराउन थाल्दछन्।
उनका गीतहरूमा जीवनका यथार्थ पक्षहरू प्रष्टसँग देखिन्छन्। तर ती यथार्थ नीरस छैनन्, ती प्रेरणादायी छन्। विछोडको वेदनासमेत उनले आशाको स्पर्श दिन्छन्। गीतकार रेग्मीका गीतहरू सरल भाषामा गहिरा कुरा गर्छन्। उनको शैली सजिलो छ तर असाधरण भावका छन्। भावको गहिराइसँगै लयात्मकता पनि उत्तिकै सशक्त हुन्छ। उनका गीतहरू गाउने मात्र होइन, गुनगुनाउने खालका हुन्छन्। त्यसैले ती गीतहरू श्रोताको हृदयमा छिट्टै बस्न सक्छन्।उनका केही गीतहरूमा देशप्रेम र सामाजिक सन्देश पनि अभिव्यक्त छन्। राष्ट्र, संस्कृति र पहिचानप्रतिको प्रेम उनका शब्दमा झल्किन्छ। उनका गीतले केवल भावनालाई होइन, कर्तव्यबोध र समर्पणलाई पनि चित्रण गर्छ।
डा. दामोदर रेग्मीको गीति संग्रह सिरेटोले छुदै छुन्नमा नविर्सने कथाको मीठो पाना तिमी, आज फेरी प्रेमिल वर्षा वर्षायो, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको, मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, शायद जिन्दगी यस्तै रहस्यको जाल छ, विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन, बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षक लगायतका गीतहरु समावेश छन् । यस समीक्षात्मक लेखमा उनका गायन भएका केही गीतहरुको मात्र समीक्षा गर्ने प्रयास गरिएको छ।
"जिन्दगीको पाठशालाले धेरै पढायो" भन्ने यो गीतले जीवनका उतारचढावलाई अत्यन्त सरल, सशक्त र सकारात्मक ढंगले चित्रण गर्छ। गीतकार डा. दामोदर रेग्मीको शब्द र गायिका आनिछोइङ डोल्माको आवाजको संगमले यो गीत केवल एक रचना होइन, एक प्रेरणादायी यात्रा बनेको छ। यस गीतमा शब्दहरूको दर्शन राम्रो संग गरिएको छ । गीतको मूल सन्देश छ – जीवन आफै एक विद्यालय हो, जहाँ पीडा, विफलता, खुसी, आँसु र आशाले सिकाइ दिन्छन्। “दुखमा आँसु पुछि, सुखमा नमात्ति” भन्ने हरफले सन्तुलन र विवेकपूर्ण जीवन दृष्टिकोण सिकाउँछ भने “भत्केका ती आशालाई जोड्न सिकायो” जस्ता पंक्तिहरूले पुनर्निर्माण र पुनर्जीवनको पाठ पढाएका छन् । यी पंक्तिहरू केवल लेखिएको शब्द होइनन्, जीवनमा अनुभव गरिएका यथार्थका कविताहरू हुन्।गायिका आनिछोइङ डोल्माको स्वर सधैंजस्तो यस गीतमा पनि धैर्यता, शान्ति र प्रेरणाको सन्देश बोकेको छ।उनको आवाजले गीतमा शब्दको गहिराइलाई अझ उजागर गरेको छ। स्वर भावनात्मक मात्र नभई उत्कर्ष प्रेरणादायी पनि छ –श्रोता मात्र सुन्ने होइन, अनुभव गर्ने, आत्मसात गर्ने दिशामा जान्छ।
यस गीतमा जीवनका विविध रूपहरूलाई यसरी समेटिएको छ — बाधा-विघ्नको सामना, आशाको पुनर्निर्माण, सकारात्मक सोचको विकास, आत्मबल र श्रमको महिमा – गीतमा सबै शव्दहरुलाई कलात्मक तरिकाले समेटिएको छ। "पौरखी यी हातमा भाग्य जुरायो" – यस्तो पंक्तिले कर्मवादी जीवनदर्शन बोल्छ। गीतले श्रोतालाई निस्क्रिय होइन उर्जाशील बन्न सिकाउँछ।आजको चुनौतीपूर्ण जीवनशैलीमा जब मानिस निराशा, थकान वा अवसादतर्फ लम्कन्छ, यस्तो गीत उज्यालो आशाको जस्तो लाग्छ।"ओइलाएको मनभित्र नयाँ सोच पलायो" – जस्तो सन्देशले श्रोतालाई फेरि उठ्न, हिड्न, संघर्ष गर्न प्रेरित गर्छ।उनको यो गीत अति नै समसामयिक र सन्देशमूलक प्रभाव छोड्न सफल भएको छ ।
यसरी "जिन्दगीको पाठशालाले" केवल एक गीत होइन, एक आत्मदर्शी मार्गचित्र हो, एक प्रेरणाको पुस्तक, एक शान्तिको संगीत हो। यस गीतमा डा. दामोदर रेग्मीका शब्दहरू विचार, अनुभूति र क्रियाको त्रिकोणमा समाहित छन्। आनिछोइङ डोल्माको स्वरले तिनलाई आत्मा दिएको छ। मिथिला शर्माको जीवन्त अभिनयले गीत झन अव्वल बन्न पुगेको छ । यस गीतलाई आजको समयका लागि मन, मस्तिष्क र मुटुलाई जागाउने एउटा जीवन-गीत मान्न सकिन्छ।
"केही पाइला तिमी चाल्नु, जंघार म तरिदिउँला" वोलको गीत डा. दामोदर रेग्मी व्दारा रचित गीतहरुमध्येमा मात्र होइन अन्य यस्तै शैलीका गीतहरुमा एउटा उत्कृष्ट रचना हो ।
यो गीत प्रेममा बाँच्ने सकारात्मक सोच र जीवनका चुनौतीहरूलाई प्रेममार्फत पार गर्ने आशावादी भावनामा आधारित छ। गीतमा केटा–केटीको संवाद–शैलीमा उनीहरूले एक–अर्कामा उत्साह, प्रेरणा, समर्पण र जीवन दर्शन साटासाट गर्छन्।
"जिन्दगी त जिन्दगी नै हो, बाधा अड्चन आइरहन्छन्"
"घामपानी हो जीवन, पछ्याइरहन्छन् सधै सधै"
यी पंक्तिहरूले गीतको दार्शनिक गहिराइ प्रकट गरेकोछ ।
गीत संवादात्मक शैलीमा रचना गरिएको छ, जहाँ प्रेमी र प्रेमिकाले जीवन–दर्शन, प्रेमको समर्पण र आशाको उज्यालो एकअर्कामा बाँडिरहेका छन्।दोहोरिने वाक्यांश “केही पाइला तिमी चाल्नु, जंघार म तरिदिउँला” गीतको मुख्य भाव–विन्दु हो, जसले साथ, समर्थन र सामूहिक संघर्षको प्रतिक बोकेको छ।यी लाइनहरूले जीवनमा ‘तिमी पहल गर, म साथ दिन्छु’ भन्ने गहिरो भावको रूपमा प्रकट भएका छन्।
यस गीतमा डा. रेग्मीले प्रयोग गरेका प्रकृतिका प्रतीकहरूमा – घामको घुम्टो, चन्द्रमामा लाग्ने ग्रहण, नदीका दुई किनारा, घामपानी, अध्यारोमा हराउने सूर्य आदि सवैले मानव जीवनका उतार–चढाव र भावनात्मक अवस्थाको प्रतिनिधित्व गर्छन्।
गीतमा कविता जस्तै गहिरा छविहरू छन्:
“बगिरहेको नदी छेउका दुई किनारा प्यासी हुन्छन्”
– यो प्रेम–प्यासको यस्तो गहिरो चित्रण हो जुन भौगोलिक दूरी भित्रको भावनात्मक नजिकपना प्रकट गर्छ।
“केही शव्द तिमी कोर, संगीत म भरिदिउँला”
– प्रेममा सह–सर्जनशीलता को उत्कृष्ट प्रतीक प्रस्तुत गरिएको छ।
डा. रेग्मीको साहित्यिक विशेषता – दर्शन, प्रतीक र सरल भाषामा गहिरो अर्थ – यस गीतमा पनि सशक्त रूपमा झल्किएको छ। गीतले नेपाली युवा पुस्तालाई संघर्ष–मैत्री प्रेमको अवधारणा दिन्छ। ‘प्रेम भनेको केवल रोमान्टिक मिठास मात्र होइन, जीवनका हरेक उकालो–ओरालोमा हात थाम्ने सम्बन्ध हो’ भन्ने भाव यसमा प्रकट छ।
“केही पाइला तिमी चाल्नु, जंघार म तरिदिउँला” एक आशावादी प्रेमगीत हो, जसले जीवनका अड्चनहरूलाई प्रेम र पारस्परिक विश्वासबाट पार गर्न सकिन्छ भन्ने गहिरो सन्देश दिन्छ। डा. दामोदर रेग्मीको यो सिर्जना गीतको रुपमा मात्र होइन, जीवन–सन्देशको रुपमा पनि मूल्यवान् रहेको छ।
"मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन् धेरै धेरै"– यो पंक्ति अत्यन्त बलियो संघर्ष र सहनशीलताको प्रतीकात्मक प्रस्तुतिको रुपमा उभिएको छ। दामोदर रेग्मी कुशल गीतकार हुन् भन्न यी केही हरफहरु नै पर्याप्त छन् ।
गीतमा प्रताप दासको स्वरले आत्मीय, स्थिर र गहिरो भावले भरिएको – संवादिकतामा जीवन्तता थप्ने काम गरेको छ भने अनु चौधरीको स्वर: मिठास, कोमलता र दृढताबीचको सन्तुलन – नारी पात्रको सोच, सहनशीलता र प्रेमभक्तिलाई उजागर गर्ने काम गरेको छ। लय धाराप्रवाह छ, जसले कवितामय भावनात्मक बहाव सजीव बनाएकोछ।
गीतकार डा. दामोदर रेग्मीको अर्को गीत "एक अञ्जुली मायाको उपहार छरिदेउ" ले प्रेमभावनाको कोमल चित्रण गरेको छ । गीतका सवै शब्दमा कल्पनाशक्ति र कोमलता छछल्किएका छन् गीतका हरेक पंक्तिले प्रेमको सौन्दर्य, न्यानोपन, र सम्मानलाई कोमल भावनात्मक भाषामा प्रस्तुत गर्न सफल भएको छ। "एक अञ्जुली मायाको उपहार छरिदेउ" – यो पंक्ति मात्रैले गीतको सारा आत्मा समेटेको छ। प्रेमलाई उपहारको रूपमा चित्रण गर्नु – अत्यन्त गहिरो सांस्कृतिक र भावनात्मक अर्थ बोकेको शैलीलाई गीतले समेटेको छ । "त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ" – गहिरो प्रेमलाई मनको अन्त:स्थलबाट खोल्न आग्रह गरिन्छ। यहाँ 'हीरा' को प्रयोगले प्रेमको अमूल्य र पवित्रता देखाउँछ।
गीतको दोस्रो भागमा नारी सौन्दर्यको सशक्त चित्रण गरिएको छ जसमा प्रेमिकाको रूप, लाज, चाल–ढालको सुनिर्मल वर्णन छ – "घुम्टो त्यो लाजको मोति दन्त झलल", "सिर्सिर पवनले बनाएको नागवेली आंचल" – यी पंक्तिहरू केवल शब्द होइनन्, चित्रकलाका सजीव पातहरू हुन्, जसले प्रेमिकाको सौन्दर्यलाई संगीतमा उतारेकोछ।गीतमा प्रयोग गरिएका सन्दर्भहरू सांस्कृतिक गहिराइ र सांकेतिकता दृष्टिले उपयुक्त छन् ।"अप्सरा", "विश्वामित्र", "सन्दुक", "नागवेली", "सिरानी" – यिनीहरूले नेपाली संस्कृतिको काव्यात्मक सम्पदालाई उचाइमा पुर्याएका छन्। गहिरा पंक्तिहरू – जस्तै "विसाइदेउ आफूलाई सिरानी यो छातीमा" – यस्तो गहिरो भावलाई शालीन रुपमा प्रस्तुत गर्न गीतकार सफल भएका छन् । डा. रेग्मीको गीतमा प्रतीकात्मकता र बिम्बात्मकता अत्यन्त सशक्त देखिन्छ। प्रेम, रूप, र स्पर्शलाई चित्रकलाको शैलीमा प्रस्तुत गरिएको छ। उदाहरणस्वरूप: "घुम्टो त्यो लाजको मोति दन्त झलल" – लाजलाई ‘घुम्टो’, सौन्दर्यलाई ‘मोति’ र मुस्कानलाई ‘दन्त झलल’ भनेर चित्रण गर्नुले दृश्यात्मक सौन्दर्य भरिएको अनुभूति दिन्छ यसै गरि "सिर्सिर पवनले बनाएको नागवेली आंचल" – यहॉं प्रेमिकाको वस्त्रलाई प्रकृतिसँग जोडेका छन्, जसले गीतलाई प्रकृति–मानव प्रेमसंसारको समन्वयमा पुर्याउँछ। यी बिम्बहरू रोम्यान्टिक काल्पनिकता को उत्कृष्ट उदाहरण हुन्, जसले गीतलाई गहिराइ दिन सफल भएको छ।आनन्द कार्कीको गायनले शव्दको भाव अनुरुप स्वरको सुसम्बद्धता कायम गरेको छ । यो गीत नेपाली आधुनिक गीत–साहित्यमा एउटा सशक्त सांगीतिक कविताको रूपमा स्थापित हुनसक्ने क्षमता राख्दछ।
मन एउटै भएर होला वोल रहेको अर्को गीतले प्रेमी–प्रेमिकाबीचको भावात्मक संवाद हो, जसले प्रेमको स्वाभाविक विकास, आत्मिक सम्बन्ध, समर्पण र विश्वासको यात्रा वर्णन गर्दछ। युगल शैलीको उपयोगले यो गीतलाई जीवन्तता र सजीवता प्रदान गरेको छ। डा. रेग्मीको शब्दमा झल्कने गहिरो अनुभूति र सरलतासँगै प्रभावशाली सङ्गीतले गीतलाई भावनात्मक उचाइमा पुर्याएको छ।
गीतको संरचना प्रेमी र प्रेमिका बीचको कवितामय संवाद जस्तै छ। यसमा क्रमशः प्रश्न, उत्तर, भावनात्मक स्वीकारोक्ति, र सामूहिक समन्वय प्रस्तुत गरिएको छ। प्रत्येक पङ्क्तिमा प्रेमको बढ्दो गहिराइ अनुभूत हुन्छ। दोहोरिने लय "मन एउटै भएर होला / दुई मुटु मिलेर होला" मार्फत प्रेमको आत्मिक एकता सुदृढ ढंगले प्रस्तुत गरिएको छ।
"हरपल तिम्रै कल्पनामा भुलायौ कसरी"
"तिम्रै समीपमा रहन मलाई मन हुन्छ कसरी"
यी पंक्तिहरू प्रेमिकाको एकोहोरो अनुराग र आकर्षणको प्रतीक हुन्, जुन युवावर्गको मनोविज्ञानसँग मेल खान्छ।
यस गीतले प्रेम–सम्बन्धमा आत्मीयता र सम्पूर्ण समर्पणको भावना उजागर गर्छ।
"यो जुनी त के तिमी भए, सयौं जुनी बाँच्न सक्छु"
"तिम्रो माया पाएँ भने, आँधीहुरी झेल्न सक्छु"
यी पंक्तिहरूमा जुनि–जुनिको प्रेम को भाव प्रकट गराइएको छ, जुन नेपाली लोक–संस्कृति र काव्य–परम्परामा गहिरो जरा गाडेको अवधारणा हो। त्यसैगरी,
"दुनिया नै वैरी बनोस, छुट्ने छैनौ केही गरी"
यसले प्रेममा आउने चुनौती र बाधासमेत स्वीकार्दै अडिग रहने सङ्कल्प देखाउँछ।
सुरेश लामा र दीपा लामाको स्वर यथार्थता र मिठासले भरिएको छ। युगल गायनको लयमा प्राकृतिक संवादिकता छ – सुनँदा स्क्रिप्टेड नभई जीवन्त संवादजस्तो महसुस हुन्छ। स्वर र शब्दको समायोजनले भावनाको प्रवाहलाई अवरुद्ध हुन नदिई सजीव रूपमा बग्न दिएको छ।गीतको मूल आत्मा शब्दमै केन्द्रित रहनेगरी संगीतले भावनात्मक छायांकन सफल रुपमा गरेको छ।
यसै गरि डा. दामोदर रेग्मीका गहिरा, भावुक शब्दहरूमा र समीक्षा अधिकारीको मर्मस्पर्शी स्वरमा "डाँडापारी घाम डुब्यो तिमी किन आएनौ" गीत प्रेम, वियोग र प्रतीक्षाको गहिरो अनुभूतिको बिम्ब हो। यो गीत प्रेमीको प्रतीक्षा, पीडा र नआएको आशाको प्रतीक्षा–यात्रा हो। यो वियोगको मधुर आत्मस्वर हो – जसमा प्रेमीको अनुपस्थितिले सिङ्गो जीवन शून्य भएको छ, तर त्यो खालीपनलाई स्मृति र आशाले भरिएको छ।
"डाँडापारी घाम डुब्यो तिमी किन आएनौ
चराहरु बास बसिसके तिमी अझै आएनौ"
यी पंक्तिहरू प्रेमीको शून्यता र प्रतीक्षाको चित्र हुन् – प्रकृतिको दैनिक चक्र (घाम डुब्नु, चराको बास) को माध्यमबाट समयको बित्दै गएको अनुभूति दिलाइएकोछ ।
साहित्यिक सौन्दर्य र प्रतीक–चित्रण राम्रो संग गरिएको छ जस्तै:
• डाँडापारी घाम डुब्नु — वियोगको प्रारम्भ
• चराहरुको बास — समयको समाप्ति र एक्लोपन
• जूनको उज्यालो — आशाको क्षीण ज्योति
• परेवाको जोडी — मिलनको कल्पना
• हुलाकी खोज्नु — भावना सम्प्रेषणको तीव्र चाहना
यी प्रतीकहरूले गीतलाई कवितामय र चित्रमय बनाएका छन्।
"मनभरिको वेदना यो कुन चिठीमा लेखुं
पुर्याइदिने हुलाकी म कतै छन् कि खोजुं"
यी पंक्तिहरूले गहिरो मानव–संवेदना र भावनात्मक निराशालाई निकै सरल भाषामा व्यक्त गरेका छन् ।
उनको "सिरेटोले छुदै छुन्न" वोलको गीत अत्यन्त गहिरो र आत्मीय भावनाको प्रतिविम्व हो जसले प्रेम र पीडाको अन्तरसम्बन्धलाई अत्यन्त मार्मिक तरिकाले चित्रित गर्छ। गीतमा व्यक्त भएको प्रमुख भावना भनेको प्रेममा परेको वियोग र संघर्ष हो। गीतका शब्दहरूले प्रेमीको वियोगको पीडालाई बयान गर्छ, जसले उनलाई अनगिन्ती वेदनामा पुर्याउँछ।
"सिरेटोले छुदै छुन्न आगोले छुदै छुन्न
शीतलता के हो कुन्नी, घामछाया के हो कुन्नी"
यी पंक्तिहरू वेदनाको तीव्रता र अनुभूतिको द्रुत उतार–चढावको अभिव्यक्ति हुन्, जसमा पीडा तीव्र तर गहिरो छ, असल भावना र कल्पनाशीलतालाई गीतका शव्द शव्दमा अंकित हुन सकेका छन् ।
गीतका शब्दहरूमा प्राकृतिक परिघटनाको प्रतीकात्मक प्रयोग छ।
सिरेटो र आगो: यहाँ सिरेटो (चिसो हावा) र आगो को प्रतीक प्रयोगले प्रेम र पीडाको विपरीतता दर्शाउँछ – एकातिर, चिसो हावामा अल्हादित शान्ति र अर्कोतिर आगोमा वेदनाको जलन छ।
घाम–छायाँ: घाम र छायाँको सन्दर्भमा जीवनका उतार–चढाव र प्रेमका दुःख र सुखलाई सरल तर प्रभावकारी रूपमा चित्रित गरिएको छ। घामका साथ जीवनको आनन्द र छायाँसँग दुःखको सम्झना जोडिन्छ।
हुरी र बतास: हुरी र बतास जस्ता प्राकृतिक शक्तिहरू प्रेमका प्रतिकूल परिस्थितिहरूको प्रतीक हुन्, जसले माया र बाचा सँगै जिउने चाहनालाई छिन्नभिन्न बनाइदिन्छ।
गीतको संरचना प्रतीक्षामा आधारित छ, जसमा वियोगको दुख र सपना र संघर्षको सम्मिलन छ। प्रत्येक पंक्तिमा प्रेमीको दुःख र संघर्षका विभिन्न पहलुहरू व्यक्त गरिएको छ:
प्रकृति र भावनाको समायोजन
o "सिरेटोले छुदै छुन्न" र "आगोले छुदै छुन्न" जस्ता पंक्तिहरूले गीतलाई एक द्रुत रूपमा परिवर्तन हुने प्रेमकथामा रूपान्तरण गर्दछन्।
आशा र संघर्ष
o "साहस त जुटाउंला खेर जान दिने छैन" जस्ता पंक्तिहरूले संघर्षको भावना र जीवनको निरन्तरता को संकेत गर्दछ।
सांस्कृतिक मनोविज्ञान र समय–सन्दर्भ
यसमा प्रेमीको अडिग प्रेम र संघर्षलाई व्यक्त गरिएको छ, जसमा व्यक्तिको निरन्तर संघर्ष र साहस देख्न पाइन्छ। साथै, यसले समाजका संस्कृतिक पक्षहरू पनि अभिव्यक्त गर्दछ, जहाँ प्रेमका वचन र बाचालाई सम्मान दिइन्छ।
मुरलीधरको आत्मिक र गहिरो स्वरले गीतको भावनात्मक असरलाई बलियो बनाएकोछ। उनले गीतको अर्थलाई जीवित राखेका छन् र गीतका गहिरा भावनात्मक उतार–चढावलाई व्यक्त गर्नमा सफलता प्राप्त गरेका छन्। उनका आवाजमा एक प्रकारको पीडित, निराश र संघर्षरत भावना प्रकट हुन्छ जसले गीतलाई एक कविता जस्तो भावुकता दिन्छ। मुरलीधरको स्वरको गहिराइ र कोमलता गीतमा अत्यधिक प्रभाव पार्दछ, जसले श्रोतासम्म गीतको भावनालाई पुर्याउन मद्दत पुर्याउँछ। विशेष गरेर, "सिरेटोले छुदै छुन्न" जस्तो पंक्तिमा उनले स्वरको अंशलाई अत्यधिक भावनात्मक बनाउँछन्, जसले गीतको वेदनात्मक सन्देशलाई थप स्पष्ट र शक्तिशाली बनाएकोछ।
"सिरेटोले छुदै छुन्न" गीत प्रेम र वेदनाको अनुवाद हो जसले प्रेमीको संघर्ष, आशा र जीवनको निरन्तरताको भावनालाई प्रस्तुत गर्दछ। डा. दामोदर रेग्मीका भावुक शब्दहरू, मुरलीधरको आत्मिक स्वर, र संगीतको सरल संयोजनले यो गीतलाई गहिरो र प्रभावशाली बनाएको छ। यो गीत नेपाली संगीत र साहित्यको एक अत्यन्त भावनात्मक प्रस्तुति हो।
डा. दामोदर रेग्मीको शब्द चयनमा अति चनाखो रहेको र गहिरो अर्थ निहित छ। उनी शब्दहरूको चयनमा सरलता र सहजतालाई प्राथमिकता दिन्छन्, जसले सामान्य जनतासम्म पनि गीतको भावनालाई सजिलै पुर्याउन मद्दत गर्दछ। उनको शब्द चयन प्रायः भावनात्मक र अनुभूतिको साँचो प्रतिनिधित्व गर्दछ।
डा. रेग्मीको गीतका कथावस्तु प्रायः यथार्थमा आधारित रहेका छन् र यसमा मानवीय भावनाका विभिन्न पक्षहरूको चित्रण मज्जाले गरिएको हुन्छ। उनले समाजका विविधतामा सार्वजनिक अनुभवलाई मापदण्ड बनाएर गीत लेख्छन्, जसले गीतलाई समाजसँग जोड्ने क्षमता प्रदान गर्दछ।
डा. रेग्मीका गीतहरू यथार्थपरक हुन्छन्, जसमा जीवनका साधारण, मर्मस्पर्शी र मानसिक संघर्षहरूलाई सम्भाविक र स्वीकार्य रूपले प्रस्तुत गरिएको हुन्छ। उनी समाजका वास्तविक र जटिल मुद्दाहरूलाई गीतमा समेटेर एउटा सकारात्मक सोच र जीवनमा आशा राख्ने विचार पनि व्यक्त गर्छन्।
डा. रेग्मीले गायक र गायिकाको चयनमा पनि आफ्नो संगीत र शब्दको गहिराइलाई ध्यानमा राखेका छन्। उनीले सही गायक–गायिकालाई चयन गर्नका लागि उनीहरूको स्वरको गहिराई, भावनात्मक क्षमता र गीतको सन्देशसँगको समन्वयलाई प्राथमिकता दिएको पाइन्छ । गायक–गायिकाको स्वरले गीतको भावनालाई शक्तिशाली बनाउन मद्दत पुर्याउँछ। उनी अनुभव र भावनात्मक समझ भएका गायक–गायिकालाई प्राथमिकता दिन्छन् जसले गीतको यथार्थपरकता र भावनात्मक प्रभावलाई जिवित राख्न सकेका छन्।आनन्द कार्की, आनि छोइंग डोल्मा, मुरलीधर, अनु चौधरी, प्रताप दास,सुरेश लामा, समीक्षा अधिकारी र दीपा लामा जस्ता गायक–गायिकाको आत्मिक र गहिरो स्वरले गीतको भावनात्मक उतार–चढावलाई मूल्यवान बनाउँन सफल भएकोछ। डा. दामोदर रेग्मीका गीतहरूलाई साहित्यिक र संगीतात्मक दृष्टिले गहिरो र सजीव रूपमा हेर्न सकिन्छ। उनी शब्दको सरलता र भावनात्मक गहिराइसँगै यथार्थपरक कथावस्तु र सामाजिक जीवनका संघर्षलाई प्रस्तुत गर्दै गायक–गायिकाको स्वर चयनमा उत्तिकै ध्यान दिन्छन्, जसले गीतलाई भावनात्मक र सांस्कृतिक समृद्धि प्रदान गरेकोछ।
समग्रमा डा. दामोदर रेग्मी एउटा सकारात्मक सोच र यथार्थपरक दृष्टिकोण भएका गीतकार हुन्। उनी जीवनका वास्तविक संघर्षहरू, समाजका सामाजिक र मानसिक अवस्थाहरूलाई सामाजिक सन्देशसँग जोडेर गीत लेख्ने प्रवृत्तिमा रहेका छन्। डा. रेग्मीका गीतहरू प्रायः प्रेम, आशा, संघर्ष, संघर्षका बीचमा सन्देश दिने र सकारात्मकता खोज्ने प्रवृत्तिका हुन्छन्। उनी सामाजिक परिप्रेक्ष्यमा आधारित गीत लेख्न रुचाउँछन् जसले श्रोतासम्म जीवनका साँचो पहलुहरू र समाजका वास्तविक मुद्दाहरूलाई उजागर गरेको छ। डा. रेग्मीको गीत लेखन प्रवृत्तिमा उनका गीतहरूमा सकारात्मक सोच र आशाको स्पष्ट झल्को पाइन्छ। यसका माध्यमबाट जीवनका कष्टपूर्ण परिस्थितिहरूलाई पनि सकारात्मक दृष्टिकोणबाट देखाइएको छ। उनका गीतहरूमा समाजका वास्तविक समस्याहरू र व्यक्तिगत संघर्षलाई प्रकट गर्ने प्रवृत्ति छ। यसले श्रोतालाई गीतसँग भावनात्मक रूपमा जडान बनाउन सहयोग पुर्याउँने देखिन्छ।डा. रेग्मीका गीतहरूमा सहज र साँचो भावनात्मक अभिव्यक्ति पाइन्छ। उनले शब्दहरूको चयन गर्दा गहिरो अर्थ र भावनालाई सजिलै तर प्रभावकारी ढंगले व्यक्त गर्ने प्रयास गर्छन्। डा. दामोदर रेग्मीका गीतहरूको विश्लेषण गर्दा, उनी प्राचीन नेपाली काव्य परम्परा र आधुनिक गीतकारहरूबाट प्रेरित भएको देख्न सकिन्छ। उनी विशेष गरी भावनात्मक गहिराई, जीवनका सरल यथार्थहरू, र सकारात्मक सोचमा आधारित शब्द चयनमा ध्यान दिन्छन्, जसमा उनी चर्चित गीतकारहरू र नेपाली साहित्यका प्रमुख काव्यधाराहरूबाट प्रभावित भएको देखिन्छ तर उनका सवै गीतहरुमा मौलिकताको विशिष्ट छाप भने सर्वत्र देख्न पाइन्छ ।
डा. दामोदर रेग्मी एक आधुनिक यथार्थपरक र सकारात्मक सोचका गीतकार हुन् जसले जीवनका संघर्ष, प्रेम, समाजका जटिल मुद्दाहरू र आशाको सन्देशलाई गीतमा समेटेका छन्। उनको लेखन शैली सामाजिक, भावनात्मक र सकारात्मक सोचमा आधारित छ। उनी नेपाली गीतकारहरूको आधुनिक परम्परामा एक उत्कृष्ट स्थान राख्छन्, र यो गुण उनको प्रेम र आशाको सकारात्मक दृष्टिकोणमा आधारित गीत लेखनबाट स्पष्ट देखिन्छ।