18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कमलाको भविष्य

निबन्ध प्रमाण अधिकारी April 15, 2025, 12:00 am
प्रमाण अधिकारी
प्रमाण अधिकारी

“कमलाऽऽ ए ऽ कमला.......”

केहीबेरसम्म कुनै प्रत्युत्तर नआउँदा बोलाउनेले झर्को मान्छ सायद् अथवा उसको अहमत्याइँमा ठेस पुग्छ र फेरि चर्को आवाज आउँछः
“ओइ कमली, ..... कमलीऽऽ” ।

बल्ल उत्तर आउँछ, “हजुऽऽर” ।

“केको हजुर !? यत्रो घाँटी सुक्ने गरेर बोलाएको पनि सुन्दिनस्? काली !”

प्रत्येक बिहान यस्तै चर्का र कर्कश आवाजसँगै मेरो निद्रा खुल्छ अथवा भनौँ भङ्ग हुन्छ । निन्द्रा खुलेपछि मेसो पाउँछु यो आवाज मेरै घरबेटी आमैको हो । कमला पनि मिठो निन्द्रामा थिइ सायद् । उसलाई पनि अवश्य मिठो निद्रा लागेको हुन्छ किनकि ऊ त लामो समयको शारीरिक परिश्रमले थकित भएर सुतेकी हुन्छे । मस्त निद्रामा रहेकालाई बेलानकुबेला आउने यस्ता कर्कश बोलाहटले दिक्क बनाउँछ र हल्का रिस पनि उठाउला । रमरम रिसै उठेपनि त्यो रिस पोख्नसक्ने अवस्थामा छैन म । निन्द्रा बिगार्ने मेरै घरबेटी आमै हुन् । स्नातकोत्तर तहको अध्ययन गर्न उनका घरमा एउटा कोठा भाडामा लिएर बसेको छु । कमला, जो उनका घरमा काम गर्ने केटी हो, लाई दैनिक बिहानै उठाउन गुञ्जिने बोलाहटसँगै नित्य मेरो निद्रा खुल्छ । पढेर राति ढिला सुतेको मलाई, एकाबिहानै, मस्त निदाएको बेला निन्द्रा गडबड गरिदिने उनको व्यवहारले रमरम रिस उठाउँछ तर त्यो रिसलाई नसेलाइ सुख छैन ।

घरबेटीलाई कमलासँग रिस उठे कमलाको नाम पनि अर्कै हुन्छ । कमला अर्काका घरमा काम गर्न बसेकी छ । मेरी घरबेटी, तर उसकी कथित मालिक्नीले कमलाको नाम बिगारेर बोलाए पनि ऊ सहेर बसेकी छ । यस्तो अवस्थामा मलाई माया एन्जिलोको ‘आइ नो ह्वाइ द केज्ड बर्ड सिङ्ज्’ आत्मवृत्तान्तको सम्झना हुन्छ । त्यसमा त मार्गरेट नाम गरेकी महिलाको घरमा काम गर्ने केटीले आफ्नो सही नाम सम्बोधन गराउन सङ्घर्ष गरेकी छ । कमला भने त्यो अपमान, हेला सहेर बसेकी छ । अपमानका विरुद्ध ऊ आवाज उठाउन सकिरहेकी छैन । दैनिक दुर्वाच्य सुन्दा पनि चुपचाप सहन्छे, हाँसेर टारिदिन्छे । रिसाएर फन्किई, झर्किई नै हाली भने पनि उसको कामको सवाल छ फेरि । परिवारको आर्थिक दुरावस्थाले उसलाई अर्काको घरमा बसेर घरेलु कामदारका रूपमा काम गर्न बाध्य तुल्याएको छ । उसलाई घरदेखि टाढा बनाएको छ । अर्काको घरमा आश्रय लिनुपरेको छ । अर्काको काम गर्नु परेको छ । त्यति गर्दागर्दै पनि सम्मान र मायाको सट्टा दमन र शोषण सहनुपरेको छ । उसलाई पनि रहर हुँदो हो– आफ्ना बाबुआमाको माया पाउने, आफ्नै परिवेशभित्र हुर्कने, भाइबहिनीलाई माया गर्ने, पढ्ने, सानालाई पढाउने, आफ्नो भविष्य उज्ज्वल पार्नतर्फ लाग्ने, तर ऊमात्र होइन उसकी बहिनी पनि यही सहरको कुनै घरमा कामदार भएर काम गर्दैछ ।

असमान सामाजिक आर्थिक संरचना, समानताका लागि राज्यको उदासिनताका कारण उसको परिवार गरिबी र अभाव भोग्न बाध्य भएको छ । समान अवसरको अभाव, उचित वातावरणको अभाव अनि अभावैअभावले जीवन कष्टकर बनाएको छ । नेपाली साहित्यका महाकवि देवकोटाले देखेका शेक्सपियर, गेटे, कालिदास.... कति हो कति प्रतिभा यस्तै परिस्थितिले थिचिएका होलान् । त्यही गरिबीको विवशताले कमला पनि अन्धकारमा जीवन बिताउन बाध्य छ । तर भविष्य त उज्यालो बनाउनैपर्छ । उसकी नाबालिग बहिनी पनि यही विकसित, शिक्षित र सम्पन्न भनिने सहरमा घरेलु कामदारका रूपमा घोटिँदै छ । दिदी–बहिनी घोटिँदै छन्, शोषित भइरहेका छन् । समाज मूक छ, समानता र न्यायको नारा बोक्ने नेतृत्व खोक्रो छ । ती दिदीबहिनीहरूको शारीरिक र मानसिक शोषण भइरहेको छ । कमला बिहानदेखि रात परुन्जेल काममा घोटिएकी छ । राम्रो खान त चाडबाडै आउनु पर्छ । चाडबाडमा त उसलाई पनि घर जान मन लाग्दो हो । घर जानका लागि अनुमति माग्दा मालिक्नी चाहिँ आफ्नै घरमा चाडबाडको बेला आइपर्ने कामको बोझ सम्झेर तिलमिलाउँछे । कमला घर जान पाउँदिन । पर्याप्त आराम र निद्रा पाउँदिन । बिहान चार÷साढे चार बजेदेखिको अबिरल काम रातको एघार साढे एघारसम्म चल्छ । म उसको यस्तो कडा परिश्रमले प्रभावित हुन्छु । घरमा भेट भएका बेला उसले पाउने सुविधाको कुरा गरे पनि के उत्तर आउँछ थाहा नै छ । उसको पारिश्रमिकको कुरा सुन्दा म मुर्मुरिन्छु शोषक मालिक्नीसित । खान, लाउन र बस्न दिएका बहानामा उसले मासिक पाँचसय रूपैयाँ पारिश्रमिक लिएर चित्त बुझाउनुपर्छ । कमलाका बाउआमाले उसलाई त्यहाँ काम गर्न छाडेर घरबेटी आमैसँग कुनै समझदारी गरेका छन् अथवा सन्तानलाई लालनपालन गर्न नसकेर त्यसैका लागि त्यहाँ छाडेका छन्, त्यो कमलाले भन्न चाहिन सायद । तर त्यो रकम उसका रहर र आवश्यकता परिपूर्ति गर्न अपर्याप्त छ । यसमा कुनै दुईमत छैन । यस्तो अवस्था देख्ता त बाउआमाले उसलाई बोझै सम्झेर यस्तो ठाउँमा मिल्काएझैँ लाग्छ । यसरी अर्काका घर घरेलु कामदार बनाएर घरको अवस्था सुधार्ने सपना देख्ने ती अभिभावक पनि मूर्खै हुन् जहाँ कमलाको श्रमको शोषण भइरहेछ । शिक्षाको अधिकारमाथि खेलबाड भइरहेछ । उसको उज्ज्वल भविष्यको अवसान हुँदै छ ।

कुनै पनि मानिसले मर्यादित तर जुनसुकै स्तरको श्रम गरे पनि तात्कालिक अवस्थाको समाजमा उसको जीवन औसत रूपमा व्यतीत हुनुपर्छ । दिनरात नभनी काम गर्दा पनि दुई छाक खान धौधौ, लत्ता कपडाको अभाव, बस्न असुविधा, स्वास्थ्योपचारमा सङ्कट, सबै कुरामा अभावै अभाव हुन्छ भने उसको कठोर श्रमले उचित मूल्य नपाएको ठहरिन्छ । चाहे साङ्ग या अपाङ्ग नै किन नहोस् जसले आफ्नो उमेर र अवस्थाअनुसार, आफ्नो क्षमताअनुसार श्रम गर्छ उसले त्यसको उचित मूल्य पाउनैपर्छ । देशको सामाजिक, आर्थिक संरचना अझै शोषणको पुरानै रवैयामा चलिरहेको छ भने श्रमले उचित मूल्य पाउने त अझ टाढाको कुरा भएको बुझ्न गाह्रो छैन । औपचारिक क्षेत्रका कामदारका लागि न्यूनतम ज्याला सरकारले तोकिदिएको छ । त्यसका पनि कार्यान्वयनका समस्या छन् । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाका सबाल चुनौतीपूर्ण बनेका छन् । कमलासम्म त राज्यको कुनै संयन्त्र आइपुगेकै छैन । ऊ यस सहरमा गुमनाम छ ।

घरबाहिर, वरपर, समाजमा हाम्री घरबेटी आमै एक वामपन्थी पार्टीकी सक्रिय कार्यकर्ता हुन् । उनका पति विश्वविद्यालयका प्राध्यापक । यी आमै टोलटोलमा गरिने भेला र छलफलहरूमा स्थानीयहरूलाई शोषणको अन्त्य गर्नका लागि आह्वान गर्दै हिँड्छिन् । प्रगतिशील हुनुपर्ने कुरो गर्छिन् । महिला अधिकारको प्राप्तिका लागि असमानता, शोषण र यातनाको जञ्जिर चुँडाउन आह्वान गर्छिन्; तर यिनी आफ्नै घरमा शोषणको शृङ्खला चलाइरहन्छिन् । बजारमा एउटा टेलिकम कम्पनीको विज्ञापनको नारा चलेको थियो केही अगाडि “धेरै बोल, थोरै तिर” (टक मोर, पे लेस) । यस नाराकी सच्चा अनुयायी त यिनै घरबेटी आमै बनेको देखिन्छ । ‘धेरै काम गराऊ’, ‘धेरै कराऊ’, ‘धेरै लदाऊ’ अनि ‘थोरै देऊ’ मा रूपान्तरित भएर उक्त विज्ञापन उनको व्यवहारमा ठ्याक्कै मिलेको देखिन्छ । बिहान भएदेखि डाङ्ग्रे चरो कराएझैँ अटुट आदेश निस्कने उनका चुच्चो मुखबाट आदेश निस्कन रोकिएको छैन । ती आज्ञालाई शिरोधार्य गर्दै कमला काम गरिरहेकी छे । मलाई उसको शोषण देखेर छटपटि हुन्छ । म कसरी उसलाई सहयोग गरौँ भनेर उपाय खोज्छु, सोच्छु । कमला सायद् अभ्यस्त भइसकेकी हो कि यो अवस्थासँग । ऊ चुपचाप छे । सायद् अन्तर्मनमा फुलाउँदै छे समतामूलक र न्यायपूर्ण समाजको चित्र । त्यही व्यवस्थाको प्रतिक्षामा छ कमलाको भविष्य ।

रामघाट, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।