काव्य प्रयोजनका बारेमा संस्कृत , नेपाली , हिन्दी , अङ्ग्रेजी वा अन्य भाषासाहित्यका काव्य-मनीषीहरूमा उस्तो मतैक्यता नपाइए पनि वस्तुत: यसको प्रयोजन आनन्दानुभूति गर्नुमात्र नभई लोककल्याणसँग जोडिन पुगेको हुन्छ जसलाई शिवत्त्व भन्ने गरिन्छ ।भित्री तहमा चेतनाको उद्दीप्ति र बाह्य प्रकृति तहमा 'सत्यं शिवं र सुन्दरम्' को दिव्य आलोक फैलिनुपर्ने हुन्छ । यहाँ ज्ञान-तत्त्वको नभई कविकेन्द्रित प्राकृतिक रूपादिको भाव वा कल्पना -सन्दर्भका सामान्य शाब्दिक संरचना-तत्त्वको चर्चा गरिने छ । संस्कृत साहित्यका महाकवि कालिदासको 'ऋतुसंहार तथा नेपाली साहित्यका कविशिरोमणि लेखनाथको 'ऋतुविचार' जस्ता काव्यरसले आच्छन्न आर्त्तवीय काव्य प्रवाहमा दीर्घान्तरालपश्चात् 'प्रात: प्रवाह'मार्फत प्रवाहित हुँदै आइपुगेका छन्- सिद्धहस्त कवि रामहरि शर्मा शराह ।
वि. सं. २०१२ आश्विन २७ गतेको शुभमुहूर्तमा माता तिलकुमारी अधिकारी र पिता न्यायाधीश रामेश्वरप्रसाद अधिकारीको पुत्र-रत्नका रूपमा रामहरि शर्मा शराह गोर्खा छिपिटोलमा जन्मिएका हुन् । यिनको पुर्ख्यौली थलो बेसीसहर -१, उदीपुर लमजुङ भए पनि हाल यिनले नवलपरासी ( ब. सु. पू.) लाई स्थायी बसोबास बनाएका छन् ।
निबन्धकार , गीतकार , मुक्तककार , गजलकार बालसाहित्यकार हुनुका साथै वार्णिक छन्दमा सरल र सरस शैलीमा कविता सृजना गर्नु यिनको मूलभूत विशेषता हो । २०३२ सालदेखि सृजनायात्रातिर उन् मुख शराहले २०३६ को सडक आन्दोलन कविताबाट गति लिन थालेका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका रामहरि शर्माले प्राध्यापन पेसा अँगालेका भए पनि हालको सेवानिवृत्त जीवनमा झनै क्रियाशील देखिन्छन् । प्रकाशित कृतिहरूमा शब्द सङ्गोष्ठी ( कवितासङ्ग्रह , २०६३ ) , शराह र सोराह ( संयुक्त गजलसङ्ग्रह , २०७६ ) , पुतलीको बिहे ( बाल कवितासङ्ग्रह ( ? ) र प्रात प्रवाह ( कोषकाव्य-२०८१ ) प्रमुख रहेका छन् । यी बाहेक विभिन्न पत्र पत्रिकाहरूमा दर्जनौं फुटकर रचनाहरू प्रकाशित देखिन्छन् ।
गैंडाकोट नगर प्रज्ञा पिरतिंष्ठान , त्रिवेणी साहित्य प्रतिष्ठान , मानव अधिकार तथा शान्ति समाज नेपाल , कश्यप गोत्रीय अधिकारी समाज नेपाल , लायन्स क्लब अफ चितवन वाङ्मयजस्ता संस्थाहरूमा आबद्ध रहेका रामहरि शर्मा शराह विभिन्न साहित्यिक र सङ्घसंस्थाहरूबाट चाहिदो सम्मान र पुरस्कारले चुलिएका पात्र हुन् । शहीद स्मृति बहुमुखी कलेजबाट रजत स्वर्ण पदक -३०६१ , कालिका एफ एम चितवनबाट स्रष्टा सम्मान-२०६४ , आदर्श समाज गैंडाकोटबाट आदर्श वर्ष सम्मान-२०६८ , प्रेमा वाङ्मय सम्मान-२०७३ , वाल्मीकि साहित्य सम्मान-२०७३ र पल्लव साहित्य सम्मान-२०७५ , आदि प्रमुंख रहेका देखिन्छन् ।
यतिखेर म त्रिसाप वल्लरीको १५० औं पुष्पमालामा र उनको चौथो कृतिका रूपमा अवलम्बित उनको पछिल्लो आर्त्तवाच्छन्न द्वादशमासीय कोषकाव्यजनित सुकोमल , सरल र सरस कृतिका बारेमा आफ्ना धारणा राख्ने मनसाय बनाउँदै छु । शुभकामनाका क्रममा सर्वप्रथम गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति मदनभक्त अधिकारीको रहेझैं प्रकाशकीय मन्तव्यमा कविको सृजनाधर्मिताको बखान गरिएको र विस्तृत समीक्षात्मक भूमिकाका रूपमा चिरपरिचित समालोचक प्रा. डा.नारायणप्रसाद खनालको 'आर्त्तव काव्यको सुन्दर नमुना : प्रात प्रवाह ' बाट आर्त्तवीय काव्यको ऐतिहासिक परम्परासहित कृतिगत वस्तुताको समग्र व्याख्या , विश्लेषण , उपादेयता र औचित्यका साथ कविताको गुण , रूप , स्वरूप र महनीयता दर्शाउँदै वर्णन गरिएकाले हामीजस्ता सामान्य पाठकले लेख्ने थप कुरा केही अवशेष रहेको छैन ।
शुभकामनाका पृष्ठहरूमा 'प्रात: प्रवाहका कवि शराहप्रति' भनी छन्दोमय शुभकामनाका पूर्वसन्ध्यामा आदरणीय कविवर गोविन्दराज विनोदीद्वारा प्रकटित सुललित पञ्च-पद्यावलिबाट नमुनास्वरूप एक श्लोक प्रस्तुत छ-
प्रात: प्रवाह कविको प्रतिभा प्रभा हो
यो सेवानुभूतिमय दर्शनको विभा हो
फैलाउँदै नवल जागृतिको प्रवाह
गर्दै रहून् सृजन सक्रिय भै शराह ।
यसरी नै प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीबाट 'भाइ शराह अगणित बधाई' छ भन्दै कवितामय कमनीयता र महनीयताका मोहनीगार अभिव्यञ्जनामय भावोद्गारको एउटा रचनाअंश-
सत्यं यसैमा छ शिवम् यसैमा
र सुन्दरम्को छ प्रभा यसैमा
आनन्दको स्वाद समेटिएका
विशिष्ट काव्यामृत छन् यसैमा ।
कृति पढिसकेपछि भेट हुँदाका बखत सार्है राम्रो रहेछ भनेर मौखिकरूपमा सुनाएकै हुँ । रामहरि शर्मा मेरा लागि आदरणीय छन् । मैले दाजुकै दर्जामा राखेर आदर-सम्मान गर्दै आइरहेको छु र वहाँबाट पनि भाइको स्नेह र सहानुभूति पाइरहेकै छु । सायद यसैले होला 'तैंले शब्द सङ्गोष्ठी ( कविता सङ्ग्रह , २०६३ ) का बारेमा लेखेझैं अब प्रात: प्रवाहका बारेमा पनि केही लेख्नैपर्छ'को आग्रह रहेको र दाजुको कृतिमा उल्लिंखित 'आत्म निवेदन'मा मेरो कतै नामसम्म नरहे पनि दाजुको स्नेहांभिषिक्त अनुरोधलाई टाल्न नसकी एकाध झिना-मसिना कुराहरू राख्दै छु ।
प्रकृतिको परिवर्तनशीलतालाई बाह्रमहिनाका नाम र गुणमा परिवेष्टित हुँदाहुँदै वृत्तको विन्यस्तले विभावन गरेकै छ । कवितामा प्रकृति र प्रकृतिमा कविताको अन्योन्याश्रयी सम्बन्धका गहन अध्येता कवि रामहरि शर्मा शराहले महिनाअनुकूल छन्दको प्रयोग गरी काव्यलाई अनुभूतिका रङ्गले रगाउँदै मन्दाक्रान्ताका ३५ श्लोकले आवृत माघ गर्दै वसन्ततिलकाद्वारा वसन्तर्तुको छनक दिंदै ३६ श्लोकले फाल्गुनको महिमा दर्शाएका छन् भने पञ्चचामरबाट ३७ श्लोकले चैत्रभित्र वसन्तकै राग अलापेका छन् । वैशाखलाई प्रकारान्तरले वसन्तकै पर्याय मानिने हुँदा मन प्रफुल्ल पार्दै
३७वटा श्लोकले स्वागत गरेका छन् ।-
यो वसन्त ऋतु बन्दछ बन्दछ राजा
मौसमी प्रणय भाव छ ताजा
पल्लवी पवनसाथ सुसेल्छे
माधुरी वन लतालँग खेल्छे । ८ ।
कविले ३६ श्वोक खर्चेर इन्द्रबज्रा-वृत्तद्वारा ज्येष्ठ मासको बखान गरेका छन् । ३७ वटा श्लोकले सारे भाकामा असार महिनाको महिमासँगै नेपाली सृजना वा श्रममय जनजीवनको सुन्दर झाँकी उतारेका छन् । नमुना स्वरूप एक श्लोक प्रस्तुत छ-
असारे खेती हिलोमा टेकी रोपाइँ गर्ने हो
बचाउन ज्यान वर्ष दिन खान भकारी भर्ने हो ।
श्रावण-मासलाई मात्रिक छन्दद्वारा ३६ श्लोकले , भाद्र-मासलाई भुजङ्गप्रयात छन्दद्वारा ३६ , विधाताछन्दद्वारा ३५ श्लोकले असोज महिनाको मनोहर चित्र उतारेका छन् । एउटा बान्की-
उषाको दिव्य लालीमा खुल्यो सारा खुशी छायो
उता आकाशगवङ्गाको इसारा भो , दशैं आयो
तयारीमा जुटेका छन् जगाई धर्म संस्कार
सबै उल्लासले भन्छन् 'दशैं आयो दशैं आयो'! ।१४
३६ श्लोकमा कार्तिकलाई शार्दूलविक्रीडितले , ४३ श्लोकमा , मङ्सिरलाई अनुष्टुपले, ४० श्लोकमा पौषलाई मात्रिक वृत्तले गरी जम्मा ३७४ श्लोकहरू प्रात: प्रवाहमा काव्य तयार भएको छ ।महिनाहरू बाह्र र ऋतुहरू छवटा देखिन्छन् । वर्षको आरम्भ वैशाख मानिन्छ भने ऋतुको आरम्भ वसन्तबाट मानिन्छ । कविले कविताको आरम्भ माघबाट र अन्त पौषबाट गरी शीतकालीन मौसम स्मरण राखेर हिउँद-बर्खा , जाडो-गर्मी , असिना-पानी , हाबा-हुरी र बाढी-पहिरोजस्तो सुख-दुख , हर्ष-विस्मात , संयोग-वियोग र प्राप्ति-अप्राप्तिको सामाजिक जीवनको गतिविधिलाई मानसिक दर्पणमा उतारिदिएका छन् ।
कविका प्रकृतिगत व सामाजिक भावनाहरू कृतिमा राम्ररी पोखिएका छन् । कविता नारायणी वा मर्स्याङ्दीको जल प्रनाहझै प्रात प्रवाहमा सरल सरस शैली र शिल्पमा प्रवाहित भएका छन् । बारमासाका माध्यमबाट सुन्दर कोष काव्य बनेको छ । आगामी दिनमा झनै राम्रा पढ्न पाइयोस् भन्ने आशा राख्दै कवि रामहरि शराहका यसै कृतिबाट एक श्लोक प्रस्तुत गर्दै बिदा हुन्छु ।
जुट्न सकौं सबै प्रेमिल आत्मा
बन्न सकोस् प्रिय पौष महात्मा
भाव र भाषिक होस् मन एक
हुन्छ प्रसारित पूर्ण विवेक ।
रत्ननगर चितवन।