१. विषय प्रवेश
नेपाली साहित्यमा विधापरक समालोचना निकै फस्टाएको छ। कविता, कथा, उपन्यास नाटक निबन्ध आदि एकेक विधामा दुई चारजना आधिकारिक विद्वान् र समालोचक हुन्छन्। ती सम्बन्धित विधाका सम्बन्धित विद्वानको मत, मान्यता र अड़ानलाई आधिकारिक मानिन्छ। नेपालीका यस्ता विधापरक समालोचकहरूले विधाको अध्ययनको फाँटको निकै विस्तार गरेका छन्। यस्तै नेपाली कथाविधाका आधिकारिक व्यक्तित्व हुन् डा दयाराम श्रेष्ठ। उनी नेपाली कथाविधाका एक आधिकारिक समालोचक हुन्।
दयाराम श्रेष्ठको जन्म वि. सं. २००० भदौ २४ गते, धनकुटा जिल्लाको सिरानबजारमाभएको हो। उनका मातापिताको नाम नयनकुमारी श्रेष्ठ र सूर्यबहादुर श्रेष्ठ हो। उनले नेपाली एम ए विद्वारिधि गरेका छन्। उनले धेरै वर्ष प्राध्यपन सेवा गरी सेवानिवृत्त भएका हुन्। यसका साथै उनी अद्यापि अध्ययन अनुसन्धानमा अहोरात्र खटिरहेका छन्। उनी कथा कमालोचक, साहित्येहासकार, साहित्यानुसन्धाता, सम्पादक, साहित्य क्षेत्रको शोध निर्देशक आदि विभिन्न भूमिकामा देखिन्छन्।
दयाराम श्रेष्ठका प्रकाशित सम्पादित पुस्तकहरूमा सन्दर्भ र मूल्याङ्कन (२०२५), नेपाली साहित्यका केही पृष्ठ (२०३२), नेपाली साहित्यको संक्षिप्त इतिहास (सहलेखन, २०३४), वीरकालीन कविता ( सम्पादन, २०३४), शाहवंश र नेपाली भाषा साहित्य (२०३९), नेपाली भाषा र साहित्को विकासमा शाहवंशको देन (२०४४), रामकथा परम्परा र भानुभक्तको रामायण (सन् १८८५), साहित्येतिहास र सिद्धान्त र प्रयोग (२०६०), प्रारम्भिक कालको नेपाली साहित्य इतिहास र परम्परा (सम्पादन, २०४५), भारतीय नेपाली कथा (सम्पादन, २०३९), कथायन (सम्पादन, २०४०), पुष्कर शमशेरका कथा (सम्पादन, २०४५), पच्चीस वर्षका नेपाली कथा (सम्पादन, २०३९), झपटका दश कथा (सम्पादन, २०४५), नेपाली कथाको समकालीन सन्दर्भ (२०४५), नेपाली कथा र कथाकार (२०७०), कथा दर्शन (२०७९) आदि जस्ता आधिकारिक ग्रन्थका लेखक दयाराम श्रेष्ठले आफ्नो जीवनको अधिकांश भाग उच्च शिक्षाका विद्यार्थीहरूलाई कथा प्राध्यापन, कथा सम्पादन, कथा आलोचना आदि गरी बिताइरहेका छन्। नेपाली कथा साहित्यको एकनिष्ठ समर्पित छन्।
प्रा. डा. कुमारप्रसाद कोइरालाका अनुसार श्रेष्ठले नेपाली साहित्यको आलोचनात्मक इतिहासलेखनमा र नेपाली समालोचनामा नवसम्लाचना प्रणालीको प्रवेश गराएर नेपाली समालोचनालाई प्रभाववादी समालोचनाबाट मुक्त गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनका समालोचना वस्तुपरक, संरचनावादमा आधारित सैद्धान्तिक र व्यावहारिक, शोधमूलक र सामान्य इतिहाससापेक्ष र निरपेक्ष व्यक्ति र कृतिकेन्द्री, विधापरक देखिन्छन्। यस्ता समालोचना लेखेर उनले नेपाली समालोचनालाई नयाँ आयाम र दिशा दिएका छन्। (प्रज्ञा नेपाली समालोचक कोश, पृष्ठ १३७)।
२. दयाराम श्रेष्ठको कथा दर्शन पुस्तकको अध्ययन –
नेपाली प्रज्ञा प्रतिष्ठान, काठमाडौंबाट वि. सं २०७९ मा प्रकाशित दयाराम श्रेष्ठको कथा दर्शन पुस्तक कथाविधाको अध्ययनका निम्ति एउटा महत्त्वपूर्ण बनेको छ। यस ग्रन्थभित्र मूल विषयका अतिरिक्त प्रकाशकीय, विभागीय मन्तव्य र प्राक्कथनले यस किताबबारे आंशिक रूपमा भए पनि प्रकाश पारिएको छ। यसले कथा विधाको परिचय, विधागत स्वरूप, तत्विक विमर्श र रूपविन्यास आदिबारे गहन अध्ययन गरेको छ। यसमा सात परिच्छेदहरूमा वर्गीकरण गरिएको छ। पहिलोमा आधुनिक कथाको विधा आकृतिमा क. विषय प्रवेश ख. कथा गद्य सङ्कथनको रूपायन ग. कथाको अङ्गविन्यास। परिच्छेद २ मा कथानक शीर्षकभित्र क. विषय प्रवेश ख. कथानक उपकरणहरू, ग. कथानकका संरचनात्मक एकाइहरू, घ. कथानकका संयन्त्रहरू ङ.कथानकका अवयवहरू। परिच्छेद -३ शीर्षकमा क.विषय प्रवेश ख.पात्रको औचित्य पात्रको भूमिका पात्रको पहिचान। परिच्छेद ४ मा दृष्टिविन्दु अन्तर्गत विषय विषय प्रवेश, ख. दृष्टिविन्दुको स्रोतहरू, ग. दृष्टिविन्दुका स्वरूपहरू, घ. पात्रको सहभागितामूलक भूमिका। परिच्छेद-५. सारवस्तु क. विषय प्रवेश, ख पूर्वतयारी, ग. मार्गचित्र, घ. प्रत्युप्रक्रिया । परिच्छेद -६ रूपविन्यास क. विषय प्रवेश, ख. लक्षणहरू ग. प्रयोजन घ. स्वरूपहरू। परिच्छेद-७ अनुकथन कथाको मृत्यु।
परिच्छेद १ मा आधुनिक कथाको विधा आकृति भित्र कथाले विधागत स्वरूप धारणाका क्रमको चर्चा गर्दै कथालाई अङ्ग्रेजीमा Short Story भनिन्छ जुन नेपालीमा कथा र उपन्यास भनिन्छ। कथाको गद्य सङ्कथनको रूपायन भन्ने उप-शीर्षक दिएर यसको तालिका पनि प्रस्तुत गरेको छ। कथाको अर्थको तहम अभिधात्मक अर्थको तह, अन्योक्तिमूलक अर्थको तह र प्रतीकात्मक अर्थको तह गरी तीन किसिमबाट अध्ययन गरिएको छ। त्यसतैगरी कथाको अङ्ग विन्यास अध्ययन गर्दा यसको संरचना र रूपविन्यासको परिचर्चा गरिएको छ।
कथाको कथानकमाथि पनि यसनि गहन अध्ययन गरिएको छ। कथानकको परिभाषा र अवधारणा प्रस्तुत गर्दै यसका अङ्ग उपाङ्गको चर्चा गरेका छन्। कथाक्रमका उपकरणभित्र क्रियाव्यापार र द्वन्द्व, कथाका संरचनात्मक एकाइहरमा दृश्यविधान र सङ्क्षेपविधान, कथाको संयन्त्रभित्र तथ्य पृष्ठाङ्क, द्वन्द्व स्थिरता, उत्कर्षविन्दु र ग्रन्थी नियोजन रहेका हुनछन्। त्यस्तै गरी कथका अवयवभित्र आशय, भावपरिमण्डल, पूर्वसङ्केत, कल्पना, संवेग र कार्यपीठिका रहेका हुन्छन्।
पात्रको अध्ययन गर्ने क्रममा यसको परिचय दिँदै यसको औचित्य भूमिका, र पहिचानको समस्या गरी तीन वर्गीकरण गरेका छन्। औचित्यभित्र अभिप्रेरणा र स्थिरता, कथाको भूमिकाभित्र दृष्टिविन्दु पात्र, प्रमुख पात्र, प्रतिपक्षी पात्र र पूरक पात्र तथा पहिचानको समस्याअन्तर्गत अतिसरलीकृत, निरपेक्ष पात्र र आयातित पात्रता देखाएका छन्। परिच्छेद ४ मा कथाको दृष्टिविन्दुविधानबारे छलफल गरिएको छ। यसमा विषय प्रवेशमा दृष्टिविन्दुबारे सामान्य परिचय दिइएको छ। यसका स्रोतको चर्चा गर्ने क्रममा वैयक्तिक मानसिक अवस्था र अभिवृद्धि र बाह्य दबाब, सामाजिक नैतिक मूल्य र मानक गरी दुई भेट गरेका छन्। यसका स्वरूपहरूमा पात्र वा पात्रहरूको चिन्तन र पात्र र पात्रहरूको चिन्तनका साथ प्रतिक्रिया गरेर दुई भेट गरेका छन्। पात्रको सहभागितामूलक भूमिकाअन्तर्गत प्रथम पुरूष सहभागिता र तृतीय पुरूष सहभागितामा वर्गीकरण गरेका छन्। प्रथम पुरूष सहभागितालाई पनि सापेक्षित र निरपेक्षित, केन्द्रपसारी र केन्द्रभिसारी गरी दुई उपभेद गरेका छन्। तृतीय पुरूष दृष्टिविन्दुलाई पनि एककेन्द्री, द्विकेन्द्री र बहुकेन्द्री गरी तीन भेद गरेका छन्।
परिच्छेद -५ मा सारवस्तु शीर्षकलाई विषयप्रवेश, पूर्वतयारीका दई क्रियाको भेद गरेका छन्- पाठकलक्षित विचार र भाव, कथानक योजना। मार्गचित्रभित्र पात्र-पात्रका बिचको घर्षण, पात्र र प्रतिकूल परिस्थितिबिचको घर्षण, प्रतिकूल परिस्थिति र प्रतिकूल परिस्थितिबिचको घर्षणको चर्चा गरेका छन्। सारवस्तुको प्रत्युपक्रियालाई प्रासङ्गिक सारवस्तु र विश्वनजनीन सारवस्तु भनी दुई भेद गरेका छन्। परिच्छेद-६ मा कथाको रूपविन्यास पक्षबारे आफ्नो समीक्षकीय दृष्टिकोण प्रस्तुत गरका छन्। कथाको रूपविन्यास अध्ययन गर्दा यसका मूल तीन प्रकारले वर्गीकरण गरेका छन्- लक्षणहरू, प्रयोजन र स्वरूप। लक्षणहरूलाई योजना र आदेय, प्रयोजनलाई विधागत अभिन्यासको चिनारी र सशक्तिकरण र स्वरूपहरूलाई संवत्त र विवृत्त गरी दुई दुई उपभेद गरेका छन्। यस परिच्छेदमा उनको चिन्तन, विवेचना पक्ष निकै रूचिका साथ गरिएको छ। परिच्छेद ७ मा अनुकथन भनेर कथाको मृत्यु भन्ने शीर्षक दिइएको छ। यसको परिशिष्ट खण्ड क मा पारिभाषिक तथा विशिष्ट शब्द-शब्दावलीहरू भनेर नेपालीका जम्मा २५८ वटा कथासम्बन्धित प्राविधिक शब्द-शब्दालीहरूलाई अङ्ग्रेजी समानन्तरका शब्द-शब्दावली प्रस्तुत गरिएको छ। परिशिष्ट ख मा अनुसन्धानको सुलेखन विधि भनेर कथा लेखकहरूलाई लेखनका केही नमुना शिल्प र प्रविधिबार जानकारी दिइएको छ। यसअन्तर्गत विषयप्रवेशभित्र सुलेखन विधिका विभिन्न प्राविधिक पक्षहरूबारे चर्चा गरेका छन्। यसभित्र वर्णमाला र शब्दको सही उपयोग, कर्ता, सङ्गठन, अनुच्छेद योजना आदि प्राविधिक पक्षहरू रहेका छन्। यसमा कर्तालाई पनि उपभेद गरेर प्रथम पक्ष कर्ता, द्वितीय पक्ष कर्ता, कथानुसन्धानमा एकत्व, संसक्ति र जोड जस्ता पक्ष हुन्छन् भन्ने कुरा उल्ळेख गरेका छन्। यसै परिशिष्टमा सुलेखनको संरूपलाई तीनवटा परिचय, मूलपाठ र निष्कर्षमा वर्गीकृत गरिएको छ। परिचय दिने क्रममा क्षमायाचनायुक्त परिचय, विषयवस्तुगत अहमतायुक्त परिचय गरी दुई प्रकारको परिचयको उल्लेख गरिएको छ।
३.मूल्याङ्कन र उपसंहार-
दयाराम श्रेश्ठको कथा दर्शन भन्ने पुस्तक कथाका लेकक र पाछठठक दुवैका निम्ति अति उपयोगी रहेको छ। यसमा कथा कसरी लेख्ने, कथामा के के तत्व हुन्छन्? यसभित्रका प्राविधिक पक्षहरू के कस्ता हुन्छन्? कथाको दर्शन के कस्तो हुन्छ? कथाभित्र कस्ता विषयवस्तु हुन्छन्? ती विषयलाई कसरी सजाइएको बुनिएको हुन्छ?, कथाको स्वरूप र संरचना के कस्तो हुन्छ? आदिबारे विस्तृत अध्ययन गरिएको छ। यसरी हेर्दा यो ग्रन्थ सबैका निम्ति अति उपयोगी सुपाठ्य र सङ्ग्रहनीय छ।