पाखा गाउँका दमाईं अन्तरेको माइलो छोरो हुन् सेते । ‘सेते माइलो’ भनेपछि गाउँमा नचिन्ने कोहि थिएन । गाउँका युवामध्ये सबैभन्दा हक्की र बलिया थिए सेते दमाई । एसएलसी पास गरे पनि पढाइलाई बिचैमा छाडेर माओवादीले सञ्चालन गरेको क्रान्तिमा होमिएका थिए । क्रान्तिमा छिरेकै दिन सेतेको नाम फेरिएर सित्तल भयो । अब उनी कमरेड सित्तल भनेर चिनिन थाले ।
कमरेड सित्तलको बुझाइमा चालु शिक्षा बुर्जुवा भइसकेको थियो, ‘जात र छुवाछुत भन्ने नै हुँदैन, केवल दुईजात हुन्छ एउटा पुरुष अर्को महिला । बुर्जुवा शिक्षाको कामै छैन । अब क्रान्तिबाटमात्रै शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ । पुरानोको ध्वस्त नगरी नयाँको निर्माण हुँदैन । विज्ञानले यही भन्छ ।’ उनका कमरेड्ली तर्कका सामू अरुको स्वर सानो र फिका हुन्थ्यो र उनका अघि प्रश्नपनि एकाएक दविएर सुस्ताउन बाध्य हुन्थ्यो । स्कुल, गाविस भवन, पुराना चौकीका अवशेषहरु जलाउँने आदेश नै थियो । झोलुंगे पुल, विद्युतगृह र पानीको कुलो भत्काएर नयाँ निर्माणमा जुट्न निर्देश थियो । गाउँले सबैलाई उर्दी गरेर बाटो घाटो पनि खनाउँथे । साइसुत्त एकदुईहप्ता हराउँथे गाउँबाट अनि फर्किदा सेनाको जस्तै देखिने बर्दीमा दुईचारजना अघिपछि लाएर निस्किन्थे । कमरेड सित्तल भनेपछि गाउँनै थरर हुन्थ्यो त्यो बेला । त्रासले हो कि मायाले हो सबैले बोलाई बोलाई खाना खुवाउँथे र बास दिएर लुकाउँथे पनि ।
बेला बेलामा जनमुत्ती सेनाको ठूलो हुल लिएर निस्कन्थे । सित्तललाई सबैले कमाण्डर कमरेड भनेर सम्बोधन गर्थे । टिमभित्र कतै मतान्तर र विवाद भइहाल्यो भनेपनि टाक्क टुक्क मिलाइहाल्थे । गाउँमा हुने सीमाना र घरायसी झै झगडाहरुपनि सित्तलको उपश्थितिसँगै मिलाप र निकासको बाटो खोज्दै समाधान भएर निस्कन्थे । बडो रवाफ थियो उनको ।
उनीहरु जस्ता हजारौ योद्धाहरुकै त्याग र वलिदानबाट प्राप्त भएको गणतन्त्रले धेरैले भेगेको ब्यथा र यथार्थ कथा बोकेको, बोलेको र चित्रण गरेको छ । यसमध्ये यस कथाका पात्रहरु सित्तल र वर्षाको कथा यसरी शुरु हुन्छ ।
‘सित्तल र वर्षा धेरै पटक मोर्चा लडिसकेका योद्धा हुन् । तर काम विशेषले भूगोल फरक थियो भेटघाट र चिनजान थिएन । भूमिगत कालमा सेल्टर लिने क्रममा सित्तलको कमरेड वर्षासँग भेट भयो । सित्तलले भेट्दा वर्षा घाइते थिइन्, उनको शरिर गोलीका छर्राले छियाछिया बनाएको थियो । वर्षा विवाहित महिला हुन् । उनको युद्धमोर्चामै रमेशसँग विवाह भएको थियो । भर्खरै युद्धमोर्चामै श्रीमान रमेशलाई गुमाएर आफूपनि घाइते भएकी रहिछन् । श्रीमान सहिद भएपछि र उनीपनि घाइते भएपछि स्वास्थ्य सुधार नभएसम्म स्थानीय पार्टीको जिम्मामा छाडिएको र पार्टीले तोकेको सेल्टरमा रहन भनिएको रहेछ ।
सित्तल वर्षासँग निकै बेर गफिए र वर्षालाई आवश्यक ब्यवस्थापन मिलाएर फर्किए । वर्षालाई भेट्न सित्तल गइरहन्थे, एकदिन वर्षाको सेल्टरदेखि माथिको बजारमा सेना आएको खवर आयो । सित्तल हस्याङ फस्याङ गर्दै वर्षा भएको ठाउँ पुगे, वर्षा, सेना नजिक आइसकेको छ, माथि बजारमा आइसकेको खवर आयो यहाँबाट हामी भाग्नुपर्छ, लागौ छिटो गर.. । सित्तलको कुरा सुनेपछि वर्षामा डरको पारो बढ्यो । हतार हतार गर्दै लुगाको झोला बोकेर ओरालो लागे । घाइते शरिरकी वर्षा दुईकान्ला तल नपुग्दै उनी बसेको सेल्टरमा सेनाको टोली आइपुगेछ । खोजतलास गर्यो । उनीहरु त्यहाँबाट भर्खरै भागेको कुरा पत्ता लागिहाल्यो । अनि अन्धाधुन्ध गोलीको वर्षा भयो । वर्षा र सित्तलका टाउका माथि –माथि गोली वर्षिन थाले, त्रास अझै बढ्दै गयो । उनले घाइते शरिर दौडाउन सकिनन् । सित्तलले वर्षाको हात समातेर हतेर्दै भाग्दैथिए । वर्षा ऐया मरेँ... भन्दै भूँइंमा पछारिन पुगिन् ।
वर्षालाई पाखुरामा गोली लागेछ । उपाय केही नभएपछि सित्तलले उनलाई पिठ्यौमा बोकेर बारीका डिलका आड लिँदै र कान्लाका बुट्यानहरुमा लुक्दै निष्पट्ट जंगलतर्फ छिरे । घाइते वर्षाको रगतले सित्तलको शरिर पुरै भिजेको थियो । बल्लतल्ल तल खोल्सीसम्म पुगेर ज्यान जोगाए । तर वर्षाको हालत खराव भइसकेको थियो । वर्षा रत्तमुच्छेल भएकी थिइन् । खोल्सीको पानीले घाउ पखाले र जंगली झारपात माडेर लगाए । उन्यू र अलैँचीका पातहरुले बाँधे । खोल्साकै पानी पिएर मन सिन्चित गरे । वर्षाको पाखुराबाट रगत भल्भल गइरहेको थियो । सित्तलले लगाएको सट फुकालेर वर्षाको घाउमा बाँधिदिए । रात परिसकेको थियो, सित्तलले बोकेर वर्षालाई जेनतेन पारीपट्टीको गाउँसम्म पुर्याए । स्थानीयको सहयोगमा राती नै उपचारको निम्ति अस्पताल पठाउने प्रबन्ध मिलाइयो ।
सित्तल उपचारको क्रममा रहँदा वर्षालाई भेट्न पटक पटक अस्पतालमै पुगे । यहाँ शंका हुने र दुस्मनले फलो गर्ने भएकाले नआउन भनेकी थिइन् तर उनको मन मानेन । केही महिनापछि वर्षा अस्पतालबाट डिष्चार्ज भइन् । तर उनले दाहिने हात गुमाउनु पर्यो । गोली लागेर चुँडिएको हात जोडिन सकेन ।
सित्तल २५ वर्षका लक्का जवान युद्ध सिपाही हुन् । उच्च चेहराका हक्की र हेन्डसम थिए । विवाह भएको थिएन । वर्षापनि शायद बाइस, पच्चीसकी हुँदिहुन् । सार्है राम्री, चन्द्रमा झैं उज्याली । घाइते शरिर भएपनि फुल्न लागेको गुलाब झैँ अनुपम थियो उनको रुप । क्षमता र गुणमा पनि तिख्खर र सहनशिल थिइन् उनी ।
वर्षाको मनमा सित्तलप्रति कति माया थियो या थिएन, देखाइनन् । तर सित्तलको मनमा भने वर्षाप्रतिको माया र सदभाव झाँगिदै गएको थियो । कामुकताको आकर्षण भन्दापनि भावुकताको सामिप्यता बढ्दै गएको थियो । सित्तलका हरेक प्रश्तुती र उपश्थितिका दृष्यहरुले वर्षाको मनपनि भित्रभित्रै सित्तलप्रति पग्लिँदै गएको थियो । आफू घाइते भएर छट्पटाइरहेको पीडादायी अवस्थामा सित्तलले देखाएको आत्मैदेखिको हार्दिकता, कमरेड्ली भाव र सहयोगले वर्षालाई सित्तलप्रति लचिलो बन्न उत्प्रेरित गरिरहेको थियो । त्यही बेला सित्तलले वर्षालाई मन पराएको भाव प्रश्तुत गरे । यस अघि कहिल्यै भन्न नसकेको कुरा सित्तलको मुखबाट फ्याटै निस्कँदा वर्षाले केही जवाफ दिन सकिनन् ।
सित्तलले युद्धमा बचेको वर्षाको एउटा हात च्याप्प समातेर आँखा चिम्म गरेर भने, ‘वर्षा ! आई लव यू, म तिमीलाई हृदयदेखि नै चाहन्छु, माया गर्छु ! बाचुन्जेल साथ दिन चाहन्छु । मलाई बिस्वास गर । जब सम्म तिमो हृदयमा मेरो नामको प्रेम अंकुरित हुने छैन तब सम्म म तिम्रो पर्खाइमा रहनेछु । वर्षा !’
वर्षा– ‘पटक पटक पछारिँदै र उठ्दै गरेकी, श्रम गर्ने हात गुमाइसकेकी त्यसमाथिपनि यो आत्माले रोजेको प्यारो मान्छेसमेत गुमाइसकेकी, भाग्यले ठगिएकी मजस्ती नारीले फेरि अको हात समाउन खोज्नु गलत बाटो रोज्नु हो सित्तल । यो जुनी त यस्तै भैहाल्यो, कतै अर्को जुनी रहेछ भने म तिम्रो जीवनभरको सहयात्री हुनेगरी जन्मिन पाऊँ ।’
सित्तल;– ‘वर्षाजी, मलाई अर्को जुनीको विश्वास छैन । म भौतिकबादी मान्छे हुँ, विज्ञानले प्रमाणित नगरेको कुरामा म कसरी भर परुँ ? सवाल अर्को जुनीको हैन , यही जुनीको हो । पहाड जस्तो जिन्दगीलाई तिमी एक्लैले काट्न मुस्किल पर्छ । तिम्रो बाँकी जिन्दगीमा आइपर्ने कठिनाइलाई सहजै पार लगाउन म तिम्रो साथ चाहन्छु । मान्छेले बनाएको पाप र धर्मको नियम उलंघन गर्दा एक बेसहारा नारीको जीवनमा बसन्त बहार आउँछ भने म त्यो पाप गर्न तयार छु वर्षा ।’
वर्षाले रमेशलाई सम्झिन । विगत सम्झिन र भविश्यको परिकल्पना गर्दै तरतरी आँशु झारिन् र स्वीकारोक्तीको मुण्टो हल्लाइन् । दुबैले चाँजो मिलाए र पार्टीमा प्रश्ताव पत्र राखे । दुबैको भावना, योग्यता र अवस्थाको मापन गरी पार्टीले विवाहको स्वीकृति दियो । एक कार्यक्रमको आयोजनाविच खादा र डायरी साटासाट गरे । हात मिलाएर जनवादी विवाह सम्पन्न भयो । दिनदिनै वर्षाको उजाडिएको जीवनमा पुनः बहार आयो ।
यसपछि उनीहरुमा पार्टी काममा अझै स्फुर्ति जाग्यो । वर्षापनि पार्टीले दिएको जिम्मेवारी बोध गर्न प्रतिवद्ध थिइन् । सित्तल त अझ कमाण्डर नै । दुबैले योजना बनाएर धेरै ब्याटल लडे । एकपछि अर्को सफलताहरु हात पार्दै गए । अन्तत एउटा युगको अन्त्य भयो ।
हजारौ मान्छेहरु उनीहरुको बाटोमा लामबद्ध भए । झण्डा फहराउँदै सित्तल र वर्षाले विशाल जुलुसको कमाण्ड गरे । इतिहास परिवर्तनमा अर्को कथा रचियो । यो कथाका प्रतिवद्ध र सफल लडाकु भनेर पार्टीले स्यावासी दियो । सित्तल र वर्षाको चौतफी प्रशंसा पनि भयो ।
समय वित्तै गयो भूमिगत जीवनबाट खुला जीवनको प्रादुभाव भएसँगै उनीहरुका कुरा विक्न छाड्दै गए । चन्दा उठाउने कार्यक्रम नै रोकियो । उनीहरुको पनि घर परिवार थियो । रोजीरोटी चलाउन गाह्रो हुँदै गयो । उमेरले पनि दिनदिनै जवानी सकिएको संकेत दिइरहेकै थियो । दुवैजना मन्त्री भेट्न गए, समस्या सुनाए । पार्टीमा पनि जिम्मेवारी र रोजगारी मागे । पार्टीले उनीहरुजस्ता कतिलाई ब्यवस्था गर्न सक्थ्यो र ? पार्टीका जिम्मेवार नेताहरूले हेरौंला, उपयुक्त जिम्मवारी दिउँला, काम खोजौंला भन्थे । अलिकपछि त उनीहरुभन्दा तेज र चलाख झुन्डले पार्टीलाई घेर्न थाल्यो । हेर्दाहेर्दै उनीहरु त्यो घेराभन्दा बाहिरै भए ।
जीविकाका लागि अनेकौं काम सुरु गरे । उनीहरुसँग न त राम्रो शैक्षिक योग्यता थियो न त पुँजी नै । उनीहरु त थिए केवल सफल लडाकु । त्यसैले बिना पुँजीको काम सुरु गरे । ठेला चटपटे, चिया पसलदेखि जग्गा दलालसम्म । गीटी र बालुवाको ठेक्कापट्टादेखि मेनपावर एजेन्टसम्म । तर हरेक ठाउँमा उनीहरुलाई सफलता हात लाग्न सकेन । गणतन्त्रको खुला परिवेशमा न त सित्तलको बलिष्ठ पाखुरा काम लाग्यो न त चर्को क्रान्तिकारी भाषण नै । न वर्षाले भूमिगत भएर सिकेका क्रान्तिकारी गितहरुले स्पेस पाए न उनले भिरेको वर्दीको फुलीले नै काम गर्यो । जताततै आफू ठगिएको, पार्टीभित्रै आफ्नो श्रम शोषण भएको जस्तो लाग्न थाल्यो । बेलाबेला मुर्मुरिन्थे र एक्लै एक्लै कुँडिँन्थे पनि । मन खिन्न भइसकेको थियो ।
केही नलागेपछि वैदेशिक रोजगारीको बाटो समाउन बाद्य भए सित्तल । छिमेकका एक लाहुरे महाजनले उनलाई ठेकी कोशेलीको उपहारसहित सावाँब्याज तिर्ने सर्तमा चाँजो मिलाइदिएपछि उनी बैदेशिक रोजगारमा विदेसिए । खाडी मुलुकका १८ तले भवनहरुमा ४५ डिग्रीको घाममा जोतिन पुगेपछि उनका अझै दुःखको दिनगन्ती सुरु भयो । कामको लागि देशका कुना कुना चक्कर मार्दै नेताहरुका घरघर चहारेपछि पनि केही सिप नलाग्दाको क्षण सम्झिँदै फलाम जडानको काम गर्दथे । हप्तामा एक पटक नजिकै नेपाली बजार लाग्दो रहेछ । नेपालमा नभेटिएका नेपालीहरु त्यहाँ भेटिन्छन् भन्दा साथीहरुसँग बजार जान मन जाग्यो । हो पनि रहेछ कति चिनेकै र कति नचिनेका नेपाली भेटिए । जो हिजो युद्धका बेला लखेटिएका प्रहरी र सेनाका भगौडादेखि पार्टीका चलाख नेता, कार्यकर्ता र सरकारी कर्मचारीसम्मलाई कम्पनी र रेष्टुराँ खोलेर जमेर बसेको देखे ।
वा कति मजाको जिन्दगी यिनीहरुको, मनमनमा गम्दै बजार घुम्दैथिए, बाटा किनारमा उनलाई अचानक एउटा मालबाहक गाडीले ठक्कर दियो । होस् खुल्दा अस्पतालको वेडमा रहेछन् । उनको एकहात र एक खुट्टा नै गुमेको रहेछ । पटक पटकको युद्धमा घाइतेसम्म नभएको मेरो हाल र र खुट्टा अहिले यहाँ आएर गुमाउँनुपर्यो । अस्पतालको बेडमा छटपटाउँदै क्यामराको रिल घुमेझै विगत सम्झिए, घर परिवार सम्झिए । मनभरी वर्षाको संझना आइरह्यो । मन कुँडिन्छ, तरक्क आँशु झर्छन् । आफैले लडेर ल्याएको गणतन्त्र पनि उनलाई पानी चढेर कचपच्चिएको अमिलो सिन्की जस्तै लाग्छ । गणतन्त्र उनलाई जीवनको अभिशाफ जस्तै लाग्छ । गणतन्त्रमा आफू लतारिएको जस्तो लाग्छ । मुर्मुरिन्छन्, तर यी सब सहनुको अर्को विकल्प थिएन । कमरेड्ली जीवन सम्झिँदै असक्त सरिर खुईय...गर्दै कोल्टो फेर्छन् ।
केही दिनपछि प्रवासमा बस्ने नेपालीहरुले पैसा उठाएर दुतावासको सहयोगमा घर फर्काइएका सित्तलले उनै अपाङ्गता भएकी वर्षाकै सहारा लिनुपर्ने भएको छ । सित्तल र वर्षा दुवैजना जीउँदा सहिद जस्तै असक्त र अपाङ्गता भएका छन् । गाउँभरी सन्सनी हल्ला छ, पाखागाउँको ‘अन्तरे दमाईको सेते’ घर फर्किएको छ ।
(यस कथाका पात्र र कथावस्तु कसैको जीवनसँग मेल खान गए त्यो संयोगमात्र हुनेछ ।)
दमक झापा ।