18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सकारात्मक सोच के हो त ?

विचार डा. टीकाराम पोखरेल March 25, 2025, 12:58 am
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

सन्तुलित दिमाग जस्तो कुनै सादगी छैन,
सन्तोष जस्तो कुनै सुख छैन,
लोभ जस्तो कुनै बिराम छैन,
दया जस्तो कुनै पुण्य छैन ।
–चाणक्य

मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । भनिन्छ– ‘सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।’ हरेक व्यक्तिको यस्ता mशक्तियुत्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरूप नै अकल्पनीय सुन्दर बन्दछ । तर बिडम्बना हामी सकारात्मक सोचप्रति दिनप्रतिदिन गरिब हुँदै गइरहेका छौँ । नकारात्मक सोचले भने हामी निकै भरिपूर्ण छौँ । यही कारण हामीले आफूलाई सन्तुष्ट पार्न सकेका छैनौँ । हाम्रो देशले आसातीत प्रगति गर्न सकिरहेको छैन । तर यसको अर्थ यो पनि होइन कि, हाम्रो देशमा केही पनि भएको छैन ।
मानिसको सकारात्मक सोचले कति उपलब्धि हासिल गर्छ भन्ने कुरा केही सकारात्मक सोचकर्ताहरूको भनाइले पुष्टि गर्दछ । हेनरी मैत्से भन्छन्– ‘उसको लागि फूल सधैँ अगाडि हाजिर हुन्छ, जो फूल देख्न चाहन्छ । तर चाहना फूल देख्ने नै हुनुपर्छ ।’ मैत्सेको मतलब हो लक्ष्य स्पष्ट हुनुपर्दछ, मान्छे जस्तो चाह्यो त्यही नै हुन्छ । विष्टर्न चर्चिल भन्छन्– ‘निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’ चर्चिलको यो भनाइले समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर मानिसको सोचाइ मात्र हो भन्ने कुरा देखिन्छ । भनिन्छ नि, समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ । त्यो खुट्टा दह्रो बनाउनु भनेकै जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक सोच राख्नु हो ।
भागवत गीतामा भनिएको छ– ‘तपार्इँ जस्तो सोच्नुहुन्छ, अन्त्यमा त्यस्तै हुनुहुन्छ ।’ पूर्वजन्म र पुनर्जन्ममा समेत विश्वास राख्ने पूर्वीय दर्शन गीतामा कृष्ण अर्जुनलाई भन्छन्– ‘प्राण त्याग गर्ने बेलामा जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिइन्छ । त्यसैले सकारात्मक सोच ।’ विश्वले नै महान् दार्शनिक ग्रन्थ मानेको गीता दर्शनलाई मान्ने हो भने मानिसले यो जन्ममा सोचेको कुराको प्रभाव अर्को जन्ममा समेत पर्छ । यो जन्ममा त नपर्ने कुरै भएन ।
सोचाई सकारात्मक भए पानीले समेत औषधीको काम गर्दछ भन्ने एउटा उदाहरणीय प्रयोग छ । अमेरिकामा सन् १९६० तिर मेडिकल अनुसन्धानमा संलग्न अनुसन्धाताहरूले २ जना पुड्काहरूलाई अग्लो बनाउने दबाइ दिइएको भनी एउटालाई असली दबाइ र अर्कोलाई चाहिँ पानी मात्र दिइयो । तर जसलाई पानी दिइएको थियो उसलाई पानी नभनेर दबाइ नै दिइएको भनिएको थियो र उसले पनि दबाइ नै सोचेर नियमित सेवन गरिरहेको थियो । अन्त्यमा दुवैको उचाइ बढ्यो । सकारात्मक सोच्दा दुवै जनामा सकारात्मक असर परी उचाइ बढेको भन्ने अनुसन्धानबाट प्रमाणित भयो । औषधी सोचेर खाँदा पानीले समेत औषधीको काम गरेको सकारात्मक सोचको यो ज्वलन्त उदाहरण हो ।
जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरू भविष्यमा नेतृत्वको चुलीमा पुगेका र नकारात्मक सोच भएकाहरू परिवार र समाजको भार बनेका उदाहरण हाम्रै वरिपरि बग्रेल्ती छन् । खेलहरूमा पनि खेलाडीलाई सकारात्मक हौसला दिँदा सोचेभन्दा राम्रो परिणाम ल्याएका उदाहरण प्रसस्तै छन् । व्यापार व्यवसायमा त झन् सकारात्मक सोचको ज्यादै ठूलो महत्व छ । हरेक व्यक्तिमा सकारात्मक सोच जति उच्च हुन्छ, उसको उति उच्च आर्थिक प्रगति हुन्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरू कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन्
हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा थप्दछ । त्यसैले आजकल सकारात्मक सोच सम्बन्धी तालिमहरू सञ्चालन गरिन्छन् । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, सङ्गठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन् ।
सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरूमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलताको समुन्द्र देखिन्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ, त्यति नै बढ्रदै जान्छ । दिन दोगुना, रात चौगुना । सकारात्मक सोचको मुहान हामी आफैँ हौँ । मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान् समुन्द्र बनाउँ ।
डा. योगी विकाशानन्द भन्छन्– ‘संसारलाई बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ ।’ हामीमा पछिल्लो समय सबै काम अरूले नै गरिदिनुपर्ने र आलोचना खेती चाहिँ आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो बिलकुल गलत हो । अरूले यो गरेन, त्यो गरेन भनिरहँदा मैले चाहिँ के गरेँ त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ । डा. म्याक ओडेलका अनुसार ‘एउटा महान् कार्यको थालनी गर्ने दिन आजै हो ।’ रत्तिभर ढीला नगर्नुस्, अरूको आलोचना गरेर समय बर्बाद गर्ने होइन, आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस् । सबैप्रति सकारात्मक धारणा बनाउनुस् । जीवन र जगतलाई सुन्दर देख्नुस् । सकारात्क सोच घर, संस्था, सङ्गठन कार्यालय, समाज सबैमा प्रयोग गर्नुस् । याद राख्नुहोस् सकारात्मक सोचको सुरुवात आफैँबाट गर्नुहोस्, अहिले नै गर्नुहोस्, अनि मात्र अरूमा पनि सकारात्मक सोच आउने छ । आफूमा सकारात्मक सोच छैन भने अरूमा भएको सकारात्मक सोचलाई पनि नकारात्मक मात्र देखिन्छ । आफ्नो दृष्टि परिवर्तन गर्नुहोस् अनि मात्र अरूलाई सुन्दर देखिन्छ । अरूलाई सुन्दर देख्न सक्नु भनेको आफैँ सुन्दर हुनु हो ।
डा. डेभिड एल कुपराइटर भन्छन्– ‘कल्पना मानव जीवनको महत्वपूर्ण स्रोत हो । सकारात्मक प्रतिफल पाउनको लागि सकारात्मक कल्पना गर्नुहोस् ।’ हामी दिमागमा जति नकारात्मक कुराहरू खेलाउँदै जान्छौ हामी कर्ममा पनि त्यतैतर्फ उन्मुख हुन्छौँ । मन र मष्तिष्कमा नकारात्क कुराको गुँड लगाउने अनि मुखले चाहिँ सकारात्मक बाटोतर्फ हिँड्छु भनेर सकारात्मक सोचको यात्रा संभव छैन । हुँदैन । मुखले सकारात्मक सोचतर्फ यात्रा भने पनि मनमा नकारात्मक विचार गुम्सिएको छ भने हामी आफूले थाहा नै नपाई नकारात्मक मार्गतर्फ यात्रा गरिरहेका हुन्छौँ । त्यसैले सकारात्मक यात्राको पहिलो खुड्किलो मनमष्तिष्क हो । मुख होइन ।
नेपाली समाजमा हिजोआज जतासुकै पनि नकारात्मक कुरा मात्र देख्न र सुन्न पाइन्छ । कहीँ कतै समूहमा बसेर छलफल गरिरहेका मानिस हुन् वा दुईजना बिचको कुराकानीमा होस्, सञ्चार माध्यममा होस् वा अन्य क्षेत्रमा होस्, सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ । यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दूषित तुल्याएको छ । यसरी वातावरण नै दूषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ । समाज नकारात्मक सोचको शिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ, तर पनि नकारात्मक विचारको ओइरो छ ।
समाजिक सञ्जाल हेर्ने हो भने पनि प्रष्ट देखिन्छ कि नेपाली समाज सकारात्मक छैन । युवा पुस्ता जो सिर्जनशील पुस्ता हो, उसले पनि नकारात्मक कुरालाई अँगालो हालेको देखन्छ । नकारात्मक भावनाको विकास हुनुमा केही मात्रामा नेपालको सङ्क्रमणकालीन राजनीतिक अवस्था जिम्मेवार भए पनि सम्पूर्ण दोष यसैमाथि थुपारेर पञ्छिन मिल्दैन । जिम्मेवार नागरिकले अरूलाई दोष दिनुभन्दा सकारात्मक समाज निर्माणका लागि आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसो भयो भने केही मात्रामै भए पनि सकारात्मक वातावरण सिर्जना हुन्छ । समाजमा विद्यमान सकारात्मक कुराको खोजी एवं पहिचान गरेर सकारात्मक विचार अपनाउनु नै आजको आवश्यकता हो । सकारात्मक सोच व्यक्ति, समाज र समग्र देशको परिवेशसम्म विकास गर्नु पर्दछ । सकारात्मक सोचको मुहान मूलतः व्यक्ति नै हो ।
जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ । नकारात्मक सोचाई र विचारहरूलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौँ । सकारात्मक सोचमा ठूलो शक्ति छ । यसको ठीक विपरीत नकारात्मक सोचले शक्ति क्षय गरिदिन्छ । हाम्रा वरिपरि पनि सकारात्मक आँखाले हेरे धेरै उपलब्धिमूलक उदाहरणहरू छन् । अशक्त झमक घिमिरे सकारात्मक सोचको उपजले साहित्याकाशमा चम्किन् । यदि उनीमा आत्मबल थिएन भने उनी अहिले पनि ओछ्यानमा नै खुम्चिएकी हुन्थिन् । अपांगता भएकाहरू सगरमाथा चढिसकेका छन् । गाउँबाट रित्तो हात हिँडेका सीताराम कट्टेलहरू (धुर्मस सुन्तली) ले भूकम्प प्रभावित र मुसहर बस्तीलाई नयाँ जीवन दिएका छन् ।
राजनीतितर्फ हेर्ने हो भने वि. सं. २००७ सालसम्म एकतन्त्रीय जहाँनीया शासनमा जकडिएको र विश्वले विकासको शिखर चुमिसक्दा बल्ल प्रजातन्त्र आएको नेपाल ७० वर्ष पनि नपुग्दै गणतन्त्रमा प्रवेश गरेको छ । सकारात्मक आँखाले हेर्दा यति छिटो राजनीतिक परिवर्तनको उपलब्धि सायदै विश्वमै होला । नेपालको विकासको सुरुवात नै २००७ सालपछिको हो । त्यसबाट यता हेर्दा विकासमा फड्को नै मार्न नसके पनि केही काम अवश्य भएको छ । एमालेको आफ्नो आफ्नो गाउँ आफैँ बनाउ अभियानले गाउँमा विकासको चेतना पुर्‍याएको छ । माओवादीले सुरु गरेको १० वर्षे द्वन्द्वले धेरै कुरा विनास गरेको हामीले देख्यौँ, लेख्यौँ । तर त्यसले पछाडि पारिएको वर्गमा ल्याएको चेतनाको हामीले कहिले हिसाब गरेनौँ कि ? लोकतान्त्रिक गणतन्त्रको यात्रा १० वर्षे द्वन्द्वको बीजारोपणबाट नै भएको कुरा सायद हामीले बिर्स्यौँ । हामी परिवर्तन स्वीकार गर्नै नसक्ने र यथास्थितिमा रुमलिने रोगको शिकार भएका छौँ । संघीयतामाथिको नकारात्मक धारणा पनि यस्तो यथास्थितिवादीताको उपज हो । संघीय संरचनामा स्थानीय तहको व्यवस्था र त्यसले घरदैलोमा गरेको अधिकारको वितरणको सकारात्मक पाटोको बहस भने अझै हुन सकेको छैन । नराम्रा मात्र कुरा देख्ने सबै नकारात्मक सोचका उपज हुन् ।
सकारात्मक सोचका लागि केही प्रक्रियाहरू सुझाइएका छन् । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छुबाट सुरु गरौँ । हरेक दिन बिहान सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ । अरूलाई कृतज्ञता र धन्यवाद व्यक्त गर्ने, दानी बन्ने, स्वास नियन्त्रण गर्ने, सकारात्क कल्पना गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरू सकारात्मक सोचका आधारभूत तत्वहरू भनिएका छन् । यस्ता कुरा पढ्नेभन्दा अनुशरण गर्ने गरौँ । जहिले पनि आफूले अरूबाट खुशी या केही सामान पायौँं भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरू प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावानाहरू प्रकट हुन दिन्छ । जहिले पनि बिहान उठ्ने बितिकै जीवनमा आफूले पाएको खुशीहरूको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्नु उचित हुन्छ । आफू जन्मेको स्थान, समाज देश र बाँचेको धर्ती र वातावरणप्रति सधैँ कृतज्ञ र खुशी हुन सिकौँ ।
हाम्रो स्वाभाव कस्तो रूपमा विकसित हुँदै गइरहेको छ भने जहिले पनि हामी अरूको लिनुमा खुसी हुन्छौँ । सित्तैँमा पाए अलकत्र खाने, उल्फाको धन फूपूको श्राद्ध जस्ता उखान हाम्रो समाजमा प्रचलित छन् । अरूलाई दिनु परे मन खुम्च्याउँछौँ हामी, तर लिन परे खुसी । अरूको लिएर हुने खुसी क्षणिक खुसी मात्र हो । जहिले पनि अरूलाई मद्दत गर्ने भावना मनमा पाल्नु पर्छ । यो नै वास्ताविक र दीर्घकालीन खुसी हो । आफूमा भएको गुण, क्षमता र सीप अरूलाई पनि बाड्नका लागि हो । भण्डारण गर्नका लागि होइन । गुण, क्षमता र सीप भण्डारण गरेर ब्याज प्राप्त पनि हुँदैन । तर ज्ञान र सीप बाँड्दा भने घट्दैन, बरु यो झन् झन् बढ्छ । अरूलाई दिँदा अकल्पनीय खुसी पनि मिल्छ । यो खुसी लिन मानिस कहिले चुक्नु हुँदैन । अरूलाई दिएर प्राप्त गरेको खुसीले नै मानिसलाई सकारात्मक बाटोतर्फ लैजान्छ । लिएर पाएको खुसीले कहिल्यै सकारात्मक बनाउँदैन ।
मानिस श्वासप्रस्वास विना बाँच्न सक्तैन । स्वासप्रश्वास हेर्दा सामान्य र निरन्तर प्रक्रिया लाग्छ । तर श्वासप्रश्वासमा अपार शक्ति छ । भनिन्छ– ‘जो व्यक्ति आफ्नो श्वासमा नियन्त्रण गर्न सक्छ, त्यो व्यक्तिले आफ्नो जीवनलाई पनि नियन्त्रणमा राख्न सक्छ ।’ जब कोही व्यक्ति क्रोधित हुन्छ, तब उसको श्वास फेर्ने गति छोटो र छिटो हुन्छ । यस्तो अवस्थामा मनमा विभिन्न नकारात्मक विचारहरू आउने गर्दछन् । मनमा सकारात्मक विचार ल्याउनको लागि जहिले पनि लामो श्वास फेर्ने गर्नुपर्छ । लामो स्वास सकारात्मक सोचको मुहान हो । जब रिस उठ्छ तब तत्कालै लामो श्वास लिन सुरु गरिहाल्नुस् ।
ध्यान सकारात्मक सोचको सबैभन्दा ठूलो मुहान हो । ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरू आउने गर्छ । ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरूलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरू सोच्न सक्छौँ । एउटा शान्त ठाउँमा बसेर आँखा चिम्लेर विस्तारै विस्तारै लामो श्वास फेर्नुस् र मनमा भएका नराम्रा विचारहरू विस्तारै विस्तारै श्वाससँगै बाहिर फाल्नुस् । राम्रा विचारहरू श्वाससँगै मन भित्र हाल्नुस् । आहा ! यो आनन्द अकल्पनीय छ ।
र अन्यमा, आफूले जिन्दगीमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरूको मूल्याङ्कन सकारात्मक कोणबाट गरौँ । यसो गर्दा भविष्यमा पनि त्यस्तै सफलताहरू पाउन प्रोत्साहित हुन्छौं । अनि मनमा पनि आफ्नो काम र जीवनप्रति सकरात्मक विचारहरू आउँछ । अरूको कहिल्यै कुभलो नसोचौँ । अरूलाई सकारात्मक सोचौँ, आफू सकारात्मक बनौँ । जीन्दगीको सफलता सकारात्मक सोचमा निहित छ । यो नै मानव जीवनको सार्थकता हो ।
र अन्त्यमा,
आशावादी व्यक्ति कठिन परिस्थितिमा पनि आशावादी रहन्छन् । नकारात्मक व्यक्तिहरू सहज परिस्थितिमा पनि बहाना खोजिरहन्छन् । – गौतमबुद्ध

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।