18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लापता कलाकार

लघुकथा ईगम खालिङ March 22, 2025, 5:19 pm
ईगम खालिङ
ईगम खालिङ

बिहानको दस बजिसकेको छ। सधैँ त यतिबेलासम्म अफिसका निम्ति निस्किसकेको हुन्थ्यो। तर मोबाइल फोन आफूदेखि परको एउटा टेबलमा राखेर ऊ गुमसुम बसिरहेको छ। आज बिहानदेखि उसले कसैको फोनकल उठाएकै छैन।
केही बेरपछि उसको मोबाइल फोनको रिङटोन बज्न थाल्छ। फोनको छेउमा आएर उसले कलगर्नेको नाम हेर्छ—श्याम ब्रदर्स छापाखानाको अफिसबाट रहेछ। उसले छाप्न दिएको पोस्टर तयार भएको साथै ल्याउन बोलाएको रहेछ। त्यसपछि फटाफट तयार भएर ऊ छापाखानातिर लाग्छ।
छापाखानाबाट पोस्टर लिएर ऊ सिधै अर्को गल्लीतिर लाग्छ। एउटा अलिक खुल्ला ठाउँमा आइपुगेर बाटाछेउको एउटा भित्तामा पहिलो पोस्टर टाल्छ र गम्भीर भएर हेर्दै एकपल्ट पढ्छ:
“मान्छे हराएको सूचना
(राजेस राईको तस्बिर)
नाम: राजेस राई
उमेर: ४४ बर्ष
कसैले पनि देख्नु वा भेट्नुभयो भने यस नम्बर ९३०४३०४०२० मा कल गरी सुचित गरिदिने अनुरोध गर्दछौँ।”
त्यसपछि उसले गोजीबाट एउटा सर्जिकल मास्क निकालेर लगाउँछ, र त्यहाँबाट बस स्टप, ढाबा हुँदै ठाउँ-ठाउँमा पोस्टर टाल्दै-जान्छ। त्यो पोस्टर देख्नासाथ उसको एकजना साथीले कैँय्यौँपल्ट त्यस पोस्टरको नम्बरमा फोन लगाउँछ तर फोनै लाग्दै-लाग्दैन। साथीलाई चित्त पटक्क बुझ्दैन, र ऊ राजेसको घर नै जान्छ। घरको मूल ढोकामा ताला लगाएको देख्दा-देख्दै पनि घर बाहिरबाट धेरैपल्ट बोलाउँछ तर कति गर्दा पनि भित्रबाट आवाज नआएपछि ऊ राजेसलाई खोज्न त्यहाँबाट अफिसतिर लाग्छ। राजेस रातिको एघाह्रो बजेसम्म पोस्टर लगाएर घर फर्किन्छ। घरमा आइपुगेर ऊ चालमारेर खिड्कीबाट भित्र पस्छ। भित्र पसेर पनि उसले बिजुली बत्ती जलाउँदैन। ऊ त्यो अँध्यारो र बन्द घरभित्र चुपचाप बसिरहन्छ।
राजेस हराएको खबर सुनिसकेपछि राजेसको एघारौँ-बाह्रौँ कक्षामा पढ्दाको एकजना पुरानो केटी साथीले उसलाई खोजी निकाल्नलाई एउटा कविता सङ्ग्रहभित्र बारम्बार खोजिरहन्छ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।