विक्रम सम्वत् २०१३ सालमा पौवा पाँचथरमा जन्मिएका गङ्गाप्रसाद अधिकारी साहित्यमा खोलाघरे साहिँलो नामले सुपरिचित छन् । “ आज एउटा जुलुस निस्कँदैछ ” २०५७ कविता सङ्ग्रह प्रकाशनमा ल्याएर देखापरेका उनका हालसम्म जिजीविष - रिक्त रिक्त , मनचरीको मनपरी दुईवटा गजल सङ्ग्रह प्रकाशनमा आइसकेका छन् । स्थापित /विस्थापित कथा सङ्ग्रहले उनलाई कथाकारका पंक्तिमा पनि उभ्याएको छ।
लामो अभ्यास र कला साधना गरी २०५७ सालबाट पुस्तकाकार कृति प्रकाशनमा ल्याई त्यसपछि निकै क्रियाशील देखिएका उनी नेपाली साहित्यकारहरूका पंक्तिमा पनि चर्चित नामका रुपमा उभिन खोजिरहेका छन् । तिनले आफ्नो साहित्यिक क्रियाशीलतासँग विषयवस्तु प्रस्तुत गर्ने शैली र मूल विचारलाई समेत परिवर्तन गर्दै ल्याएका देखिन्छन् । तिनीद्वारा रचित तथा प्रकाशित रचनाहरूको कालक्रमिक अध्ययन गर्ने हो भने त्यस्तो परिवर्तनलाई प्रष्टसँग ठम्याउन सकिन्छ।
“आज एउटा जुलुस निस्कँदैछ” प्रथम प्रकाशित कविता सङ्ग्रहमा उनी वस्तुयथार्थमा आधारित मूल विचारमा अडिक छन्। इन्द्रियजन्य वस्तुतथ्यमा उभिएर भइरहेको अवस्थाबाट परिवर्तन चाहनु , परिवर्तनका लागि संघर्षशील रहनु र परिवर्तन सम्भव छ भन्ने धारणा उक्त कविता संग्रहले व्यक्त गरेको छ । सरल भाषाशैली र बेजोड अभिव्यक्ति भएको उक्त कृतिले समसामयिक धाराको प्रवृत्तिलाई अँगालेको छ त्यसपछिका उनका कतिपय रचनाले सरल भाषाशैली र बुझिने साहित्यको माग गरेका छन्
“कवि मोहन, इन्द्र र ईश्वरले तिलविक्रमले कविता रुमले” भन्ने उनले साहित्यमा क्लिष्टता , दुर्बोध्यता र जटिलताको विरोध गरेका छन् । यसरी प्रगतिवादी यथार्थवादी विचार तथा सरल, सहज, सरस भाषाशैली उनको साहित्ययात्राका प्रथम चरणका मूल प्रवृत्ति बनेर देखा परेका छन् ।
उनी स्थापित/विस्थापित कथासङ्ग्रहसम्म आइपुग्दा लीलालेखनसँग सम्बद्ध भएको यसको भूमिकाबाट नै छर्लङ्ग हुन्छ। यसरी लीला लेखनसँग सम्बद्ध भएपछि खोलाघरे साहिँलाका साहित्यिक प्रवृत्ति बुझ्न लीलालेखनका प्रवृत्तिलाई थोरबहुत बुझ्नैपर्ने हुन्छ।
लीलालेखनले धारणा र विचारहरूको लीलालाई समेटेर “सर्वे सर्वायवाचका” अर्थात् सबै सबै अर्थका वाचक भन्ने सिद्धान्तलाई मूल आधार बनाएको हुन्छ लीलालेखनमा भिन्नता र अन्तरणहरु देखाउने र एकमा अनेक आरोपित गरेर प्रत्येकमा भिन्न भिन्न लिलाको आभास गराउने प्रवृत्ति पाइन्छ । यसले वस्तुप्रति व्यक्तिको मनमा उब्जिएको धारणालाई मात्र यथार्थ वा सत्य मान्छ । एउटै वस्तुले भिन्न भिन्न व्यक्तिमा भिन्न भिन्न धारणा उत्पन्न गर्ने हुनाले यथार्थ व्यक्तिपिच्छे फरक र गतिशील हुन्छ। यसरी लीलालेखनले वस्तुतथ्य यथार्थलाई नभएर वस्तुले व्यक्तिको मनमा उत्पन्न गर्ने प्रतितिलाई सत्य मान्छ। इन्द्रबहादुर राईले प्रतिपादन गरेको यो मान्यता कृष्ण धरावासीको क्रियाशीलतामा झापामा झ्याँगियो र उक्त प्रभाव खोलाघरे साहिँलोसम्म पनि आइपुगेको देखिन्छ।
यसरी खोलाघरे साइँलाको साहित्यिक यात्रा प्रत्यक्षबाट प्रतितितिर , यथार्थबाट परायथार्थतिर , वस्तुतथ्यबाट भ्रमतिर र सरलबाट दुरुहतातिर अगाडि बढेको देखिन्छ । पुरानो प्रवृत्तिबाट विस्थापित भई नयाँ मान्यतामा स्थापित हुन खोजिरहेको खोलाघरे साइलाको कथा संग्रह स्थापित/ विस्थापित शीर्षकबाट नै थाहा पाइन्छ । यसरी पहिलो चरणमा यथार्थवादी साहित्यिक प्रवृत्ति भएका खोलाघरे साहिँला दोस्रो चरणमा त्यसको पुरै विपरीत भ्रमवादी भएर उभिएका छन् ।
स्थापित विस्थापित कथासङ्ग्रहमाथि सामान्य दृष्टि
स्थापित विस्थापित २०६६ कथा सङ्ग्रह खोलाघरे साहिँलोद्वारा प्रकाशित उनको कथा विधाको पहिलो कृति हो । कृष्ण धरावासीले यसको भूमिकामा यो कथासङ्ग्रह कथा परम्परामा थपिन आएको मात्र नभएर कथालाई नयाँ पाटोतिर फर्काउन आएको उल्लेख गरेका छन् । “अचेल त कथा लीला गर्छन्” भन्दै उनले यस कथा सङ्ग्रहका कथा लीला गर्ने खालका छन् भन्ने सङ्केत गरेका छन् । यो कथा लीलालेखनको मान्यतामा आधारित छ भन्ने कुरा लेखक स्वयंको भूमिकाबाट पनि बुझ्न सजिलो हुन्छ । उनले भनेका छन् “भ्रान्तिहरूमा बाँच्यौ कि सबै संयोगहरु लिला जस्तै लाग्दा रहेछन् संयोग र लीलाको भ्रान्ति आफैमा भएको लेखेँ कि ।” यसरी लेखकको मूल मान्यता अथवा ढङ्गलाई ठम्याइसकेपछि पाठकलाई यो कृति बुझ्न सजिलो हुन्छ । अब यो कृति सरसर्ती हेर्ने प्रयत्न गरौं।
उनले स्थापित/ विस्थापित कथासङ्ग्रहमा सामाजिक विषयवस्तुमा आधारित भएर घटनाप्रधान कथाहरू सिर्जना गरेका छन्। छाडेर छाड्न नसकिने , मन गरेर उम्कन नसकिने जीवनका जटिलतालाई उनले आफ्ना कथामा समेटेका छन् । समाजका आर्थिक शोषणदेखि यौन शोषणसम्मका विषयवस्तुलाई समेटेर उनका कथा संरचित छन् । १० वर्षे द्वन्द र त्यसले आकुल व्याकुल बनाएको जनजीवन पनि उनका कथाको विषयवस्तुभित्र समेटिएका छन् । लुतो जस्ता कथामा समाजका समस्या र विकृतिहरूमाथि तीखो व्यङ्ग्य पनि गरिएको छ । विसङ्गत बनेको सामाजिक परिस्थितिलाई उनले वस्तुपरक र कतिपय कथामा स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरेका छन् ।जाँतो कथा अज्ञात त्रास बोकेर बाँचिरहेको आजको मान्छेका पीडालाई मुख्य विषयवस्तु बनाएर लेखिएको छ। सिमापार /सीमावार कथा शरणार्थी जीवनका पीडालाई समेटेर लेखिएको छ । घटनाहरू कथा द्वन्द्वको चपेटामा परेर बाँच्न विवश आजको मानिसका समस्यामा केन्द्रित छ। यसरी यो कथा सङ्ग्रहले समसामयिक युगका समस्यामूलक सामाजिकतालाई नै मुख्य विषयवस्तुका रुपमा ग्रहण गरेको छ ।
यस कथा सङ्ग्रहमा भएका पात्रहरू भरसम्भव समाजबाट टिप्ने प्रयत्न गरिएका छन् । एउटै पात्र कतै नायकीय भूमिकामा रहेको देखिन्छ भने कतै खलनायकीय भूमिकामा आएको छ । समयको प्रवाहमा परिवर्तन भइरहने गतिशील पात्र कथाहरुमा देखिन्छन् । स्थापित /विस्थापित कथाकी सावित्री ,कमरेड जयन्त र जयन्ते माइलो कथाको कमरेड जयन्त ,अजम्बरी साथीको मपात्र , फुटेको ऐना कथाको मैया आदिजस्ता पात्रहरू गतिशील देखिन्छन् । धेरैजसो कथामा घटनाले पात्रहरु डोर्याएर लगेको देखिन्छ भने स्थापित/ विस्थापित कथाकी सावित्री, रागिनी अनुरागिनी कथाकी रागिनी जस्ता पात्रहरु मनोदशाबाट पीडित छन् । यसरी यस कथामा पतिद्वारा त्यागिएकी पत्नी , नोकर , बाध्यताले धेरै विवाह गर्न विवश व्यक्ति, आर्थिक शोषणदेखि यौन शोषणमा परेकाहरु , विद्रोही तथा ग्रामीण जनजीवनमा बाँच्ने चरित्रलाई नै मुख्य भूमिकामा उभ्याइएको देखिन्छ । कथामा वर्गीयभन्दा व्यक्ति चरित्रका रूपमा पात्रलाई उभ्याइएको छ तर प्रकाशजी ,खेचरबहादुर ,भैरवबहादुर जस्ता वर्गीय चरित्र पनि कथामा प्रस्तुत छन् । कथामा जीवनका एक पक्षको चरित्र नै उद्घाटन गरिएको छ । तर अजम्बरी साथी कथाको भैरव बहादुर पात्रको जीवनको व्यापक चित्र उतारिएको छ ।
नेपाली जनजीवनको गाउँले परिवेशलाई यस सङ्ग्रहका कथाले मूल कार्यपिठिका बनाएका छन् । मूलरूपमा पहाडी र केही मात्रामा तराईको परिवेश कथामा झल्किएको छ । अजम्बरी साथी कथाचाहिँ भैरहवा भारतका बनारस हुँदै कलखन ,गुजरात , ऋषिकुञ्ज कृष्णधामजस्ता व्यापक परिवेशलाई समेटेर रचना भएको छ । तर यो सङ्ग्रहभित्रका कथाको मूल परिवेशचाहिँ ग्रामीण जनजीवन नै हो । यी कथाहरुले १० वर्षीय जनविद्रोहको समयावधिलाई समेटेका छन् । त्यसैले कथाहरूले द्वन्द्वले आक्रान्त गाउँले समाज समेटेको छ । रीतिरिवाज ,परम्परा, संस्कार -कुसंस्कार अनि त्यसमाथि द्वन्द्वको अतिक्रमण कथामा देखाइएको छ । विकृतिजन्य यौनभावना र सामाजिक यौनदुराचारलाई पनि कथाले परिवेश बनाएको छ ।
“कथाले कथा मात्र भन्दैनन् बरु कथा भनेजस्तो गरी अरु थोक नै केही भनिरहेका हुन्छन् ।” भनी कृष्ण धरावासीले यसको भूमिकामा लेखेका छन् । पूर्वउल्लेख भएअनुसार लीलालेखनको मान्यतामा कलम चलाउन थालेकाले आफ्ना कथाहरुमा तिनै मान्यताहरूलाई स्थापित गर्ने प्रयत्न गरेका छन् । यस सङ्ग्रहभित्रका सिमापार/ सिमावार ,धत्तेरिकाजस्ता कथाहरुले मानिसले देखेका ,भोगेका र अनुभव गरेका सबै कुरा भ्रम मात्र हुन्; मानिसहरु त्यस्तो भ्रमलाई नै यथार्थ मानेर बाँचिरहेका छन् भन्ने कुरा बताउन खोजेका छन् । अजम्बरी साथी कथामा यथार्थलाई छोपेर बाँचेको अभिनय गर्ने वा गर्नैपर्ने मानिसका विवशतालाई देखाइएको छ । जाँतो कथामा अज्ञात भयले भयवित बनेर बाँचिरहेको आजका मानिसको मानसिकतालाई उद्घाटन गरिएको छ भने लुतो कथामा लुतोग्रस्त बनेको आजको सामाजिकता प्रति व्यङ्ग्य पनि गरिएको छ । स्पर्श कथामा स्वभाविक प्राकृतिक इच्छा दुराचारितामा बदलिएपछि त्यस्तो प्रतिक्रियामा उब्जिएको सामाजिकताले दण्डित युवतीहरूका पीडालाई प्रस्तुत गरिएको छ । रागिनी अनुरागिनी कथाले आन्तरिक जीवनको यथार्थ र बाहिरी जीवनको देखावटीपनलाई उदाङ्गो पारेको छ । समयचक्र कथाले मानिसले सोचेर, गर्छु भनेर केही हुँदैन समयले डोर्याएको बाटोमा बग्नुपर्छ र नियतिलाई भोगेर नचाहँदा नचाहँदै पनि बाँच्न विवश हुनुपर्छ भन्ने यथार्थ उद्घाटन गरेको छ । यसरी समग्रमा भन्नुपर्दा खोलाघरे साहिँलाका कथाहरु जीवन भ्रम मात्र हो, हामी त्यसैलाई यथार्थ मानेर बाँचिरहेका हुन्छौं भन्ने मान्यतालाई स्थापित गर्न खोजिएको छ उपयुक्त मान्यतालाई स्थापित गर्ने उद्देश्यका साथ उनका कथा रचना भएका छन् ।
यसमा प्रयुक्त भाषाशैली हेर्न इन्द्रबहादुर राई हुँदै कृष्ण धरावासी भएरमात्र खोलाघरेसम्म आउनुपर्ने हुन्छ। लीला लेखनको मान्यतामा लेख्नेहरू भाषामा पनि लीला गर्छन् । इन्द्रबहादुर राई भन्छन् “शब्दहरूलाई कुन्नि के भएको छ अचेल? ठिक कुरा बताउँदै बताउँदैनन् । अब थकित पनि भइसके, शब्दहरू जे सोधे अँ अँ भनिदिन्छन् ।” यसबाट लीलालेखनको भाषा बुझिन्छ । कृष्ण धरावासीले प्रयोग गर्ने भाषा पनि राईको जस्तै जटिल छ । तिनकै पथ पछ्याउन थालेका खोलाघरेले भने यस कथा सङ्ग्रहमा सरल भाषाको प्रयोग गरेका छन् । तर कथा सङ्ग्रहको भूमिकामा तिनले लेखेको भाषाचाहिँ निकै जटिल छ । खोलाघरेले सरल ढाँचामा मार्मिक कथा रचना गरेका छन् । केही कथा वृत्तकार्य ढाँचामा रचना गरेका छन् भने धेरै कथा घटनाप्रधान र घटनाको क्रमिक विकास भएको देखिन्छ । अजम्बरी साथीजस्ता केही कथाले उौन्यासिक रुप पनि प्राप्त गर्न खोजेको देखिन्छ । तिनमा केही अस्वभाविक ढङ्गले घटना अघि लम्किएजस्तो पनि लाग्छ तर लेखक असन्तुलित बनेजस्तो पाठकले अनुभव गर्दैन । लेखकको कलात्मक प्रस्तुति शैलीले पाठकको मर्म छोएको छ । विश्वासनीय यथार्थ सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्ने लेखकको प्रस्तुति शैलीले कथाहरू जीवन्त बनेका छन् । जे होस् खोलाघरे साहिँलाले सरल भाषाशैलीको प्रयोग गरी सरस र जीवन्त कथा रचना गरेका छन् ।
लेखक स्वयं पुरानो विचार र मान्यताबाट विस्थापित भई नयाँमा स्थापित हुन खोजिरहेका छन् । मान्यता, धारणा र विचारहरू फेरिँदै जान्छन् । त्यस क्रममा पुराना सत्य विस्थापित भई नयाँ सत्यहरू स्थापित भइरहेका हुन्छन् । मनमा एउटा सत्य स्थापित हुने बित्तिकै पहिलेको सत्य ठानिएको भ्रम बन्न पुग्छ र त्यो मनबाट विस्थापित हुन्छ । लीलालेखनको मान्यतामा सत्य गतिशील हुन्छ र नयाँनयाँ सत्य मनमा स्थापित भइरहन्छन् । पुरानाचाहिँ विस्थापित भइरहन्छन् । यसरी लीलालेखनका अनुयायी बनेका खोलाघरे साहिँलाले राखेको यस कथा सङ्ग्रहको शीर्षक वा जुराएको नाम सापेक्षित र सार्थक छ।
यसरी हरेक दृष्टिले हेर्दा स्थापित कथा सङ्ग्रह निकै वजनयुक्त देखिन्छ । हाल लीलालेखन नेपाली साहित्यको जल्दोबल्दो र चर्चाको विषय बनिसकेको छ । लीलालेखन र त्यस मान्यताका कथाहरुको उल्लेख गर्नुपर्दा इन्द्रबहादुर राईको कठपुतलीको मन उल्लेख छ । यसै क्रममा आएको अर्को कृति कृष्ण धरावासीको झोला हो । झोला कथासङ्ग्रह भित्रका कथाहरूको उचाइ छुनेगरी नै खोलाघरे साहिँलाको स्थापित /विस्थापित कथा सङ्ग्रह आएको देखिन्छ । यसरी उनको पहिलो कथा सङ्ग्रहले नै खोलाघरे साहिँलालाई आधुनिक नेपाली कथाको प्रयोगवादी धाराका स्थापित कथाकारका रूपमा उभ्याउन खोजेको छ ।