अमेरिकाको ओक्लहोमा सिटीमा बस्नु हुने रमेश काकाको दिमागलाई मान्नै पर्छ। पेशाले चिकित्कस…. तर हेरेक क्षेत्रको जानकारी उहाँसङ्ग छ। राजनीति, विज्ञान, साहित्य, कला, सबै क्षेत्रको जानकारीहरू बाट उहाँ पूर्ण हुनु हुन्छ। भन्ने हो भने रमेश काका ज्ञानको एक ठूलो भण्डार नै हो। एक सामान्य घटनालाई पनि रोचक कथा बनाएर सुनाउने उहाँको शैली त झनै तारिफ योग्य नै छ। त्यस्तो शैली अरुमा बिरलै होला। यो उहाँको अर्को महत्वपूर्ण विशेषता हो। रमेश काकको घरमा भएको एउटा पार्टींमा टोरन्टो नजिक रहेको ब्राह्म्पटन शहरमा बस्ने उहाँको एक साथीले उहाँलाई सुनाएको एक घटनालाई रमेश काकाले यसरी कथा बनाएर हामीलाई सुनाउनु भएको थियो।
“म सि यन टावर चढ्दै थिए तर मेरो मन भने नेपालमा थियो। नेपालको मौजुदा स्थितिले मलाई सजिलै अन्य कुराहरु तिर ध्यान केन्द्रित गर्न दिइरहेको थिएन। नेपालमा को प्रधान मन्त्री हुने टुङ्गो हुन सकिरहेको थिएन। आफू जहाँ भए पनि मन भने नेपालमा नै हुने। परदेशमा अचम्मको स्थिति हुँदो रहेछ। धेरैले भन्न सक्छन्, विदेशमा बसेको छ, आफ्नै मौज मस्तिमा व्यस्त छ भनेर। यस्तो भनाइ कोही अरुका लागि उपयुक्त हुन सक्छ तर मेरो लागि यदि कसैले यस्तो भन्छ भने त्यो मेरो लागि बिजाउने कांढा मात्र हुन सक्छ। त्यो भन्दा बढी अरु केही हुन सक्तैन। म त जहिले पनि आफ्नो देशको बारेमा सोंचिरहेको हुन्छु। कसैले, नेपाल डुब्न थाल्यो, असफल राष्ट्र बन्न थाल्यो, राष्ट्रको रुपमा यो मुलुकको अस्तितत्व रहन अब कठिन छ, भन्दा मलाई ज्यादै दुख लाग्छ र त्यस्ता भन्ने व्यक्तिहरु मलाई निराशावादी एवं पलायनवादी लाग्छन्। त्यस्तो सोंच्नेहरुले मैले यस्तो भनेकामा मलाई माफ गर्नु होला। आशावादीहरुले निराशामा पनि आशा देख्छन तर निराशावादीहरुले आशामा पनि निराशा देख्छन। म, हाम्रो देशप्रति सकारात्मक सोंच राख्ने मान्छे हो र त्यस्तै अरुले पनि राखुन भनी म नित्य कामना गर्दछु पनि। मानिस भौतिक रुपमा जहाँ भए पनि त्यहाँ आफ्नो देश लिएर बाँचिरहेको हुन्छ। मानिस जहाँ जान्छ उसको देश पनि उसँग हिँडिरहेको हुन्छ यदि त्यो मानिसले साँचो रुपमा आफ्नो देशलाई माया गरेको हो भने। म अष्ट्रेलियामा हुँदा पनि मेरो देशप्रतिको, देशको राजनीतिप्रतिको लगाव त्यस्तै थियो। क्यानाडा आएको एक वर्ष जति भयो। सेप्टेम्बर १९, २००९ मा म क्यानाडा आएको हो। त्यो बेलादेखि टोरन्टोको नजीक यो ब्राम्प्टन शहरमा बसेको छु। एउटा अफगानीको घरमा डेरा लिएको छु। ती अफगानी र म पनि, हामी दुबै द्रन्दग्रस्त देशको भएको हुनाले हामी बीच धेरै कुरामा समानता छ पनि। हामी दुबै चाहन्छौ, हाम्रो देशमा शान्ति र अमन चैनको स्थिति होस। हामी आफ्नो देश फर्केर चैनको साथमा बस्न पाउँ। खासमा म विदेशतिर बेरोजगारीले गर्दा भौंतारिएको हो। जहान बच्चा पाल्न सक्ने किसिमको सानोतिनो आम्दानीको जागिर स्वदेशमा नै पाइदिएको भए म विदेशमा भास्सिने थिन। मान्छेहरुले भन्दा हुन डलर कमाउन क्यानाडा, अष्ट्रेलियातिर हिँड्यो भनेर। तर सत्ते सत्ते, धर्मो धर्मो म विदेश पैसा कमाउन आएको होइन। म त केवल जीवन धान्न मात्र मदन जस्तो ल्हासातिर हिँडेको हो।”
“गएको बुधबार, श्रावण ५ गते २०६७ मा भएको निर्वाचनमा कसैले सामान्य बहुमत ल्याउन नसकेको हुनाले फेरि दुई दिन पछि, श्रावण ७ गते निर्वाचन हुने कार्यक्रम राखिएको छ। प्रधान मंत्रीका उम्मेदबारहरु रामचन्द्र पौडेल र पुष्प कमल दहाल बीच त्यो पदका लागि कडा प्रतिस्पर्धा हुँदैछ। मतदानमा संलग्न हुने दलहरु विभाजित छन्। प्रधानमंत्रीको पहिलो चरणको निर्वाचनबाट बाहिरिएको एमालेले अब राष्ट्रिय सहमति नबनुन्जेल बहुमतीय सरकार निर्माणका लागि कसैलाई समर्थन नगर्ने जनाएको छ। सि यन टावरबाट ओर्लेपछि यस्तै यस्तै विभिन्न समाचारहरु आफ्नो सेल फोनमा पढें।”
“सि यन टावर चढ्दा मैले धेरै कुराहरु अनुभूत गरेको थिएँ। शान्ति र अनुशासनको वातावरणमा दृढ इच्छा शक्ति राखेर परिश्रमी हातले लगनशीलताका साथ काम गर्ने हो भने ठूलो भन्दा ठूलो काम गर्न सकिने रहेछ। सि यन टावरको निर्माण बलियो इच्छा शक्तिको उदाहरण हो। सि यन टावर निर्माण केनेडियन नेशनल रेलवेले गरेको हो। सर्वसाधारणको लागि भनेर यो जुन २६, १९७६ मा खुला गरिएको थियो। औपचारिक रुपमा भने यसको संचालन अक्टोबर १, १९७६ मा गरिएको थियो। ४० महिना लगाएर निर्माण गरिएको यो टाबरलाई The Seven Wonders of the Modern World मध्ये एक भन्ने गरिन्छ। ओन्टारियो प्रोभिन्सको टोरन्टो शहरको डाउन टाउनमा अवस्थित यो टावरको उँचाइ ५५३. ३ मिटर (१८२५ फिट) रहेको छ। १९७५ मा यो निर्माणाधीन रहेको अवस्थामा नै यसले ओस्टानकिनो टावरलाई उँचाइमा उछिनेको थियो। विगतमा ३१ वर्षसम्म यो संसारकै Tallest Free- Standing Structure रह्यो। संसारको सबभन्दा अग्लो भवनको रुपमा बुर्ज खलिफाको निर्माण भए पछि संसारको सबै भन्दा अग्लो भवन बुर्ज खलिफा हुन पुग्यो। गिनेस बुक अफ वर्ड रेकर्डस् २०१० अनुसार अहिले पनि टावरको रुपमा सि यन टावरलाई संसारकै अग्लो टावरको रुपमा लिइएको छ।”
“म गएको त छैन तर मैले बुर्ज खलिफाको बारेम सुनेको र पढेको पनि छु। बुर्ज खलिफाको उँचाइ ८२८ मिटर (२७१७ फिट) रहेको छ। दुबाइको डाउन टाउनमा रहेको बुर्ज खलिफाको निर्माण २१ सेप्टेम्बर २००४ मा शुरु भएको थियो। बाहिरी संरचना सहित गरेर यसको निर्माण सम्पन्न १ अक्टोबर २००९ मा भएको थियो। भवनलाई ४ जनबरी २०१० देखि औपचारिक रुपमा खुला गरिए पछि यो विश्वकै सबै भन्दा अग्लो भवन हुन पुगेको हो।”
“दुई महिना पहिले अमेरिकाको सिकागो शहर घुम्न जाने संयोग जुरेको थियो। सिकागोको गएको बेला त्यहाँको स्कोकी स्ट्रिटमा बस्ने ठूलो बुआको घरमा बसेको थिएँ। ठूलो बुआले घर नै किन्नु भएको छ। ठूलो बुआको पनि आफ्नै राम कहानी छ। हुन त अहिलेको नेपालको डरलाग्दो गृह परिस्थितिमा विदेशमा बस्ने लगभग सम्पूर्ण नेपालीहरु सँग आ-आफ्नै किसिमको दारूण राम कहानी छ। लेबनानमा रहेका नेपालीहरुको आफ्नै राम कहानी छ भने अरबको मरुभूमिकमा पोलिंदै गरिएका नेपालीहरुको पनि आफ्नै राम कहानी छ। क्यानाडा, अष्ट्रेलिया, इजराइलमा बस्ने नेपालीहरुको आफ्नै राम कहानी छ भने युरोपमा बस्ने नेपालीहरुको पनि त्यस्तै राम कहानी छ। परिस्थितिले हुत्याएर संसारभरि छरिन पुगेका नेपालीहरु मध्ये सुख कम दुख भने धेरैले पाएका छन्। तर वर्तमानमा नेपालको परिस्थिति जे जस्तो भएता पनि भविष्यमा नेपालमा दिगो शान्ति स्थापना होला र आम नेपालीले एक छाक मात्र नै भए पनि ढुक्कसँग खान पाउलान भन्नेमा म पूर्ण आशावादी छु। नेपालीहरुले पनि सिर ठाडो पारेर गर्वका साथ बाँच्न पाउने दिन अवश्य आउनेमा म ढुक्क छु।”
“अँ, सिकागोमा बस्ने ठूलो बुआ नेपालमा हुँदा राजनीति कर्मी हुनु हुन्थ्यो। तर उहाँको स्वभाव अनुसार त राजनीतिमा नलागेर जोगी हुनु पर्ने थियो। ठूलो बुआ जस्तो सरल स्वभावको मान्छे अहिलेको यो तेज रफ्तार चल्ने जमानामा कमै देख्न पाइन्छ। छलकपटले भरिएको राजनीति पेशामा कसरी लाग्नु भयो, बुझ्न सकिएन। नेपालमा २०५२।५३ साल देखि माओवादी द्वन्द मच्चिए पछि उहाँ गाउँमा बस्न सक्नु भएन। काठमाडौ आउनु भयो तर त्यहाँको खर्च धान्न कठिन भयो। तैपनि उहाँको गृहस्थी जसरी तसरी चलिरहेको थियो। एक चोटि गाउँ जानु भएको थियो, जसोतसो त्यहाँबाट ज्यान जोगाएर भाग्नु भयो। उहाँ माथि सुराकीको आरोप लगाएर राति सुतिरहेको बेलामा उहाँको हत्या गर्न माओबादीहरूको एउटा हुल आएको थियो। ठूलो बुआ पछाडिको ढोका खोलेर भाग्नु भयो। घरको रेख देख गर्न बसेको एक व्यक्ति बाहेक त्यो घरमा अरु कोही पनि थिएन। हुल बाँधेर आएकाहरुले त्यै रेख देख गर्न बसेको व्यक्तिलाई यो घरको मालिकलाई कहाँ भगाइस भन्दै बेस्सरी कुटे। जे होस, ठूलो बुआको ज्यान जसो तसो जोगियो। तर ठूलो बुआले काठमाडौ आएर पनि सुख पाउनु भएन। काठमाडौमा पनि उहाँलाई माओवादीहरूबाट ज्यान मार्ने धम्की आइ रह्यो। दिक्क लागेर २०५८।५९ सालतिर अमेरिका आउनु भयो। अमेरिका आएर सर्णार्थीको दर्जा पाउन एप्लाइ गर्नु भयो। अहिले सर्णार्थी बनेर बस्नु भएको छ। ६०/६५ वर्षको उमेरमा पनि ठूलो बुआ निकै मेहनतपूर्वक काम गर्नु हुन्छ। सिकागो शहरमा टेक्सी चलाउनु हुन्छ। सिकागोको गएको बेला, त्यहाँ म त्यै ठूलो बुआको घरमा बसेको थिएँ। उहाँले नै मलाई डेभोन स्ट्रिट, लेक मिचिगन, सिकागो डाउन टाउन, सियर्स टावर घुमाइ दिनु भएको थियो। सियर्स टावरको भ्रमण पनि मेरो लागि निकै रोचक रहेको थियो। सियर्स टावर चढेर घुमिरहँदासम्म मेरो दिमागमा यस्तो टावर नेपालमा पनि बनाउन पाए नेपालीहरुले कति गर्व गर्थ्ये होला भन्ने विषयले चक्कर काटिरह्यो।”
“सिकागो स्थित १०८ तल्ले सियर्स टावरको लम्बाइ ४४२ मिटर (१४५१ फुट) रहेको छ। सन् १९७४ मा जब यस टावरको निर्माण सम्पन्न भयो, न्युयोर्क वर्ड ट्रेड सेन्टरलाई उछिन्दै यसले संसारकै सबभन्दा अग्लो भवनको उपाधि प्राप्त गर्यो। २५ वर्षसम्म यो टावरले विश्वकै सबैभन्दा अग्लो भवनको उपाधि पाइनै रह्यो। सियर्स टावर अमेरिकाको सबैभन्दा अग्लो भवनमा पर्दछ। यो संसारको पाँचौ ठूलो Free-standing structure हो र संसारको पाँचौ अग्लो भवन पनि। लण्डन स्थित सेयर दलाल विल्स ग्रुप होल्डिङ्ग, लिमिटेडले यो टावरको एक हिस्सा लिजमा लिने सम्झौता मार्च २००९ मा गरे पछि यो टावरको नाम राख्ने अधिकार उसले प्राप्त गर्यो। जुलाइ १६, २००९ मा यस टावरको नाम औपचारिक रुपमा विल्स टावर राखियो।”
“सि यन टावरबाट हामी डाउन टाउनतिर लाग्यौ। साँच्चै, मैले भन्न नै बिर्से। म सि यन टावर ब्राम्प्टनमै बस्नु हुने रुपेश दाइसँग गएको थिए। एक्लै जान मन नलागेर उहाँसँग गएको हो। खासमा उहाँको व्यवहार मलाई त्यति मन पर्दैन। विशेष गरि, नेपालको बारेमा जहिले पनि उहाँको मुखबाट निस्किने आलोचना सुन्न मलाई अति गार्हो हुन्छ। रुपेश दाइ क्यानाडा आएको पाँच वर्ष पनि भएको छैन, क्यानाडामा नै जन्मे, हुर्केको झै कुरा गर्नु हुन्छ। नेपाल त उहाँको नजरमा…………….? उफ! के भन्नु त्यस्तो मान्छेको बारेमा।”
“रुपेश नाम भएको पात्रको बारेमा छोटकरीमा केही नभन्ने हो भने मेरो यो सानो राम कहानीमा एक महत्वपूर्ण भाग छुट्न पुग्ने छ। नेपालमा हुँदा रुपेश दाइ कुनै व्यापार गर्नु हुन्थ्यो। मिनरल वाटर, यस्तै केही उत्पादन गर्ने कारखाना थियो रे। उहाँको कुरा गराइले नेपालमा हुँदा बि ए वा बि कम पास गर्नु भएको जस्तो लाग्छ। काठमाडौमा भएको व्यापारमा टाट पल्टेर बस्नु भएको थियो। उहाँ कै भनाइ अनुसार अति दयनीय स्थितिमा पुग्नु भएको थियो। भाग्यको परीक्षा एक चोटि गरि हालौ न भनेर क्यानाडाको पि आरको लागि एप्लाइ गर्नु भएको थियो, पर्यो। क्यानाडा आए पछि एक जनासँग मिलेर रियल स्टेटको व्यापार गर्नु भयो। त्यो व्यापार निकै फलिफाप भएको छ। अहिले त्यो व्यापार एक्लै गर्नु हुन्छ। टोरन्टोको डाउन टाउनमा एउटा अफिस पनि छ। तर रुपेश दाइमा एउटा खास विषेशता छ र त्यो विषेशता के हो भने उहाँ जहिले पनि नेपालमा केवल समस्याहरु मात्र देख्नु हुन्छ। एक जिम्मेबार नागरिकको रुपमा आफूलाई ती समस्याहरुको समाधानको एक हिस्साको रुपमा कहिले पनि लिनु हुन्न। उहाँको नजरमा, नेपालमा जता ततै फोहरै फोहर छ, नेपालमा बन्द छ, नेपालमा हडताल छ, नेपालमा केवल काटमार छ। नेपालमा लोडसेडिंग छ, सडक दूर्घटना छ, लुटपाट छ, महँगी छ, बेरोजगारी छ। नेपालमा सामाजिक सद्भाव छैन। मुलुकभरि जातीय, क्षेत्रीय, साम्प्रदायिक झगडा छ। भ्रष्ट नेताहरुको जमात छ। कुटिलताले भरिएको राजनैतिक जटिलता छ। स्वार्थी नेताहरुको महत्वाकांक्षामा देश र जनता कुल्चिएर रसातलमा पुगेको छ। विदेशीहरुको हस्तक्षेप बढेर मुलुकको स्वाधिनता र राष्ट्रियता संकटमा छ। अनुशासनहीनता छ, अराजकता छ। उहाँ समस्या बाहेक अरु केही पनि नेपालमा देख्नु हुन्न। नेपालबारे उहाँको सोंचाइ अति नै नकारात्मक छ। कुनै दिन कसैको घरमा नेपालीहरु भेटघाट भएर कुरा हुँदा उहाँले नेपालको आलोचना गर्नु बाहेक अरु कुरा झिक्नु हुन्न। एकचोटि यो क्यानाडाको डन मिल्स रोडमा बस्नु हुने एक मित्रको अपार्टमेन्टमा ती मित्रको छोरीको वर्थ डे पार्टीमा यस्तै कुराकानी चलिरहेको बेला उहाँ आफ्नो स्वभाव अनुसार केवल नेपालको आलोचनमा मात्र गरिरहनु भएको थियो। आलोचनाले सीमा काट्न थालेपछि मैले भने- रुपेश दाइ, नेपालमा गर्व गर्न सकिने धेरै ठाउँहरु छन्। नेपालमा सर्वोच्च सिखर सगरमाथा छ। मेरो भनाइ सकिएको मात्र थिएन उहाँले के भन्नु भयो, थाहा छ? उहाँले भन्नु भयो- संसारको सबै भन्दा ठूलो सिखर नेपालमा त छ, तर त्यो पत्ता लगाइ दिने विदेशी हो। अनि त्यो सगरमाथा नेपालीहरूले बनाएको पनि होइन। प्रकृतिले निर्माण गरिदिएको हो। रुपेश दाइले प्रश्न पनि गर्नु भयो- सगरमाथा निर्माण गर्नमा के नेपालीहरूको कुनै योगदान छ, कुनै भवन निर्माण गर्नमा निर्माण मजदूरहरूको योगदान भएझै? उहाँको त्यस्तो नकारात्मक मनोवृति देखेर, निकृष्ट स्वभाव देखेर म त्यस दिन उहाँलाई छाडेर अरुसँग कुरा गर्न हिंडे।”
“टोरन्टोको डाउन टाउनको फुटपाथमा रहेका कार्टहरुमा बिक्री गर्न राखिएका खाने कुराहरु सस्तो पनि र स्वादिलो पनि हुन्छन भन्ने मैले सुनेको थिएँ। अझ, हट डग त झनै स्वादिलो हुन्छ भनी खानेहरुले नै मलाई भनेका थिए। मेरो आग्रहमा नै हामी हट डग खान त्यता गयौ। कार्टहरुबाट खान लिनेहरुको भीड थियो। एक छिन लाइन बसे पछि हामीले खाना लियौं। हामी हट डग खाँदै थियौ। पानी परिरहेको हुनाले एउटा घरको छेउमा ओत लागेका थियौ। म हट डग खाने धुनमा भएता पनि मेरो मष्तिष्कमा भने नेपालको राजनीतिले चक्कर काटिरहेको थियो। एउटा प्रधान मंत्रीको चयन गर्न पनि राजनैतिक दल र तिनका जिम्मेबार नेता भनाउँदाहरुले कत्रो राजनैतिक नौटंकी गर्नु परेको? देश र जनताको हितका लागि आपसमा सहमति कायम गर्न नसक्ने कस्ता स्वार्थी र लोभी यी नेताहरु? यस्ता स्वार्थी नेताहरुबाट नेपालले कहिले छुटकारा पाउने हो? नेपालको विकासको पथमा कहिले तिब्र गतिमा दौडिने हो? जुन नेताले भन्छ म गरिबहरुको नेता हुँ, गरिबहरू सबै भन्दा बढी त्येही नेताबाट पीडित भएका छन्। जुन नेताले भन्छ हामी राष्ट्रिय अखण्डताको पक्षपाति हौ त्यही नेताबाट नेपाल विखण्डनको स्थितिमा पुग्न थालेको छ। जुन नेताले भन्छ हामी विदेशी हस्तक्षेप कदापी सहन गर्न सक्दैनौ, हामीले स्वाधिनताको लडाइ लडन अझै बाँकि छ, त्यै नेता विदेशी दूतावासमा सुटुक्क पुगेको मात्र हो, त्यो नेता नेपालको राजनीतिमा विदेशीहरुको हस्तक्षेप गराउन उद्धत रहेको खबर पत्र पत्रिकाहरु प्रकाशित हुन्छन्। छि! यी नेताहरु कति सम्मका स्वार्थी र घिनलाग्दा हुन सकेका? कहिले सम्म यिनीहरुले जनतालाई ठग्ने हुन? र कहिलेसम्म शक्तिमा पुग्न जनताको गरिबी र अज्ञानतालाई भर्यांग बनाउने हुन? हट डग खाइरहँदा यस्ता धेरै विषयहरु मेरो मष्तिष्कमा आइ रहे। नेपालको मौजुदा राजनीति बारेमा रुपेश दाइ सँग यसो कुरा गरिहालौ न त भन्ने विचार आयो। तर गर्न मन लागेन। के त्यस्ता सँग कुरा गर्नु? कुरा गर्न शुरु गर्यो भने उल्टो बेर लगाउने छैनन् यस्तो भन्न- नेपालको राजनीतिको के कुरा गर्नु, भत्केको घरको बिग्रेको चाला। अशफल हुन थालेको राष्ट्रको के कुरा गर्नु? नेपालको राजनीतिमा टाउको दुखाउनु नै बेकार छ। काम नपाएको मान्छेले नेपालको राजनीतिको बारेमा कुरा गरेर टाउको दुखाउँछ।”
“रुपेश दाइ जस्तो मान्छेलाई के थाहा, जन्म दिने आमा जति सुकै कुरुप र जन्म दिने भूमि जत्ति सुकै खत्त्तम भए पनि दुबै प्रिय र आदरणीय हुन्छन। सुबिधाभोगी एवं स्वार्थी रुपेश दाईलाई जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी को अर्थ र मर्म थाहा भए जस्तो मलाई लागेन। उहाँलाई यी कुराहरु भनिदिउँ जस्तो लाग्यो तर भन्न सकिन।”
“चुप लागेर कति बस्ने? यस्तो केही कुरा गरिहालौ न त भन्ने विचार गरें। मैले भने, “हट डग त निकै स्वादिलो रहेछ, है रुपेश दाइ?”
त्यति भनेको मात्र के थिएँ रुपेश दाइले आफ्नै पुरानो पारा शुरु गर्नु भयो। भन्नु भयो- हेर त, नेपालमा भएको भए यति सस्तोमा यति स्वादिलो, सफा र हेल्थी हटडग किन्न पाइन्थ्यो? एक जनाको पेट भर्न सक्ने यो हट डगलाई दुई डलर पनि परेन। कति सस्तो? नेपालमा त अहिले महँगी बढेर उत्पात छ। नेपालबाट आउनेहरुले भन्छन, यसो रेष्टुरेन्टमा पस्यो कि एक हजार त्यतिकै खास केही विशेष खानेकुरा नखाएर सकिन्छ। टेक्सी भाडा त कुरा गरेर साद्दे नै छैन। दुई पाइला मात्र पनि टेक्सी गुडेको हुँदैन, चार सय पाँच सय टेक्सी चलाउनेहरूले त्यतिकै लिन्छन्।”
“मैले कुराकानीको प्रसंग परिवर्तन गर्न खोजे। आकासतिर हेर्दै भने, आज मौसम सफा नभएको र हल्का बदली लागेको हुनाले सि यन टावरबाट टाढा टाढा सम्मको दृश्य राम्रो गरि देख्न पाइएन, है दाइ?”
मेरो यो भनाइमा उहाँले कुनै प्रतिक्रिया जनाउनु भएन। मैले फेरि भने- टावरको माथिल्लो त्यो भाग जहाँ केवल जाली मात्र लगाइएको छ, सिसा पनि छैन, त्यहाँ कस्तो जोड जोडले हावा चल्दो रहेछ। मेरो त कैप नै टाउको माथिबाट उड्न थालेको थियो।”
“मेरो यो भनाइमा पनि रुपेश दाइले कुनै प्रतिक्रिया देखाउनु भएन।”
“मैले फेरि भने- सि यन टावरमाथि रहेको त्यो रेष्टुरेन्टमा मलाई कफी खान मन लागेको थियो। यति अग्लो ठाउँमा कफी खाएको थिएँ भनी सम्झना संगाल्न मलाई अति मन लागेको थियो।”
मेरो यो भनाइमा उहाँले छोटो प्रतिक्रिया दिनु भयो। भन्नु भयो- कफी खाने भनी सम्झाउनु भएको भए हुन्थ्यो नि।”
अघि देखि चुप लागेको रुपेश दाइ बोल्न शुरु गर्नु भयो। सि यन टावरतिर देखाउँदै भन्नु भयो- हेर त, अरु देशले कति विकास गरिसके। हामी नेपालीहरु अझै पनि अगाडि बढ्न सकिरहेका छैनौ। केवल लडाइ झगडा र एकले अर्कोलाई काटा काट गर्नमा व्यस्त छौ। अरु देशहरुले चमत्कारी किसिमले विकास गरिरहेका छन। हामी भने अरुले गरेको प्रगति केवल हेरिरहेका छौ। हाम्रो देशको विकास अरु कसैले गरिदेला भनेर बाटो कुरिरहेका छौ।”
“उहाँले सि यन टावरतिर औला देखाउँदै फेरि भन्नु भयो- यो टावर के का लागि बनाइएको थियो, थाहा छ?”
“थाहा भएन, दाइ, मैले भने।”
“रुपेश दाइले भन्नु भयो- सञ्चारका लागि र माथिबाट हेर्नका लागि यो टावर बनाइएको थियो। टोरन्टो शहरलाई पूर्ण रुपमा माथिबाट हेर्नका लागि बनाइएको थियो।”
“मैले भने- साँच्चै दाइ, आधुनिक इन्जिनियरिंगको हिसाबले सि यन टावरको निर्माण त चमत्कार नै हो।”
उहाँले फेरि भन्नु भयो- यो टावरको हिसाबले संसारको नै सबै भन्दा अग्लो टावर हो। र विश्वको सात आधुनिक आश्चर्य मध्ये यो टावर एक पनि हो।”
“रुपेश दाइको कुरा सुनिसके पछि मैले भने- सि यन टावरलाई क्यानाडाको राष्ट्रिय गौरवको प्रतीकको रुपमा लिने गरिन्छ। अनि अझै थपे- हामीले पनि नेपालमा यस्तै टावर बनाइ सकेका छौ। त्यसको उँचाइ र चौडाइ यो सि यन टावरभन्दा धेरै नै कम होला। तर हामीले सन् १८३२ मा नै यस्तो टावर बनाइ सकेका थियौ। धरहरा, त्यो हामीले निर्माण गरेको, हाम्रो मौलिक टावर हो। हाम्रो परिश्रम हो। हाम्रो कलाकृति र गौरवको प्रतीक हो। हामी नेपालीले टावर त बनायौं तर त्यस किसिमको निर्माणलाई, त्यस किसिमको विकासलाई निरन्तरता दिन भने सकेनौ। तर त्यो दिन पनि आउला, नेपालमा चमात्कारी किसिमले विकास होला।”
“मेरो यो पछिल्लो भनाइको कुनै प्रतिवाद रुपेश दाइले गर्नु भएन। चुप नै रहनु भयो।”
अमेरिका