18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाकिमको सत्ता

हास्यव्यङ्ग्य गायत्री लम्साल March 19, 2025, 3:14 pm
गायत्री लम्साल
गायत्री लम्साल

राजतन्त्रका किङ फालेर चिन्ता पटक्कै गर्नुपर्दैर्न महाशय गणतन्त्रका हाकिम भएपछि सबै कामकुराको विकास मात्र होइन देख्न, छुन, हेर्न नमिल्ने अमूल्य वस्तुहरु समेत सजिलै निकास हुन्छ हजुर । हा....कि....म शब्द नै काफी छ क्या । जुन लिङ्गको भए तापनि यिनीहरु सबैको साझा विशेषता सेम माने उस्तै हुन्छ । नेपालको संविधानलाई कानुनले बरु फरक–फरक व्याख्या गर्न मिल्छ तर यो हाकिम भन्ने उच्चकोटीको मनुवाको काम र आचारसंहिता भन्ने कुरो कसैले फरक पार्न मिल्दै–मिल्दैन । प्राकृतिक न्यायको सिद्धान्तसँग समाहित भएर मस्तसँग मज्जाले रहन्छ ।
वा ! कति धेरै हुन् हाकिम भन्नै गार्‍हो बाबै गन्नै गाह्रो । सरकारी हाकिम, सहकारी हाकिम, दलका हाकिम, बलका हाकिम, एनजिओका हाकिम, आइएनजिओका हाकिम, निजीका हाकिम, बिजीका हाकिम, विभिन्न पसलका हाकिम, विभिन्न फसलका हाकिम, घरका हाकिम, वनका हाकिम, आयातका हाकिम, निर्यातका हाकिम, राजनीतिका हाकिम, लाजनीतिका हाकिम, समाजसेवी हाकिम, दलालसेवी हाकिम...........यता हेर्‍यो हाकिम, उता हेर्‍यो हाकिम, यत्रतत्र सर्वत्र जताततै हाकिम नै हाकिम ।
हजुरहरुलाई थाहा छ कि छैन कुन्नि ? चालिस वर्षमा वृद्ध भत्ता खान पाउँदा मख्ख नपर्नेहरु समेत हाकिमको सत्ता खान पाएपछि मस्तसँग मख्ख पर्छन् । परापूर्व कालदेखि भविष्य पश्चिम कालसम्म सबै काल फालेर, धेरै तन्त्रको राँको बालेर ल्याएको जनप्रिय, लोकतान्त्रिक, समाजवाद उन्मुख, आर्थिक समृद्धि सहितको चुरो कुरो भनेको हाकिमको सत्ता नै हो । यदि कोही कसैले होइन भन्नुहुन्छ भने आउनुहोस् चुनावमा जाऔँ सेवाग्राही भन्दा हाकिम बढी भएको हाम्रो मुलुकमा तपाइँ अल्पमतमा पर्ने कुरो कुनै बोकुवा नराखी मैले ठोकुवा गरेँ है त ।
सत्ता हुनु यस्तो पो हुनु, हाकिमको सत्तालाई दलगणका धुपौरेहरुले कसरी छुनु ? टाउकोमा छुन खोज्दा खुट्टा देखाइदिन्छन्, अनि खुट्टामा छुन खोज्दा टाउको । सबै हाकिमको उस्तै हुन्छ कसरी चिन्नु ? टाउको निकै सार्‍हो, खुट्टामा सबैको पाँच वटै औँला उस्तै –उस्तै । अरु जे–जे सुकै भए तापनि हाकिमको सत्तालाई खोट लगाउने ठाउँ भने पटक्कै छैन है । सबे हाकिमहरु बहुमुखी प्रतिभाका धनी छन् । मुलुकलाई त बसी–बसी जादुगरको हातको छडीले जादु देखाएजस्तै देखाइदिन्छन् । नेताका हाकीमले एकैछिनमा स्वीजरल्याण्ड, सिँगापुर बनाउँदै भाषण गरिरहँदा त्यसपछिको भाषण ग्रहण र आसन ग्रहण सकिएर समापनको बेलामा त उही झिँगापुर र धूलोपुर मात्रै ।
त्यस्तै सडकमा हाकिमले नदी, खोला नभएको ठाउँमा पुल बनाउनु, वनका हाकिमले चोरीनिकासी बन्द गर्नलाई जंगलभित्र सिसी टि.भी. राख्दा समेत त्यसले तस्करको फोटो नखिच्नु, सहकारीको हाकिमको न्वारन नै साहुकारी हुनु, चिया बजारीबाट शुरु भएका निजी बजारीका हाकिमहरु बालाबजारीमा छलाङ् मार्नु, काला कोटधारी हाकिमहरुले न्याय किनवेच बजारको विस्तार गर्नु, सरोकारवाला अड्डाका हाकीमहरुले खानेकुरा मात्र होइन अखाद्य बस्तु समेत खानु, एनजिओ र आइएनजिओका हाकिमहरुले देश, काल, परिस्थिति अनुसार अलिकति बाँकी रहेको देश खानु, भेष खानु, रीति खानु थिति खानुलाई द्रुत गतिको विकास भनिएन भने हामीलाई पाप लाग्छ है ।
व्यक्ति व्यक्तिका समय तालीका अनुसार यहाँ हरेकका सत्ता पत्तासाफ भए तापनि हाकिमको सत्ता भने एक इन्च तल नझरीकन चलेको छ । देशको गरिबीको संख्या नघटेर चिन्ता नमान्नुहोस् महासय सबै हाकिमका घर/परिवारको गरिबी निवारण समेत भैसकेको छ । एउटा किङ मात्र भएर हो देशले विकास भन्ने कुरो देख्न नपाएको । अहिले त तीन करोडमा दुई करोड त हाकीम र भू.पू. हाकिम नै पुग्न आँटेका छन् भने अब त देशको विकास मात्रै होइन विकासको बाबु, हजुरबाबु हुँदै एघार पुस्ता अगाडि सम्मका सबै देख्न पाइन्छ ।
खै मेरा आँखामा के भाको हो कुन्नि ? पावर भन्ने कुरो थपे पनि नथपे तापनि जताततै हाकिम मात्रै देख्छु भन्या । उसको हाकिम ऊ,उसको हाकिम ऊ, उसको हाकिम ऊ लाष्टमा कसको हाकिम को चिन्नै गार्‍हो । मलाई हाकिम मान्ने मेरै सोझो मोरोले अलिकति हाकिम चिन्ने, हाकिम किन्ने फरमुला सिकाइदियो र पो नत्रभने त कतिबेला आफू हाकिम भइयो भन्ने पत्तोफाँट नै नहुने क्या । अनि नि निकै काइदाको कुरो नी हाकिमको सत्ता भनेपछि अरु कसैको नभएर हाकिम कै सत्ता हो है । यसमा महिला, पुरुष, नाम, थर, पेशा, व्यवसाय, वर्ग, धर्म, सबै फरक–फरक भए तापनि सबै हाकिमको सत्ता भनेको बराबरी हो । अहिलेको डिजीटल किलोमा मात्र होइन, बाजेका पालाको धार्नी जोख्ने तुलोमा जोखे पनि केही फरक पर्दैन ।
जतिसुकै पढेका, राम्रा–राम्रा बानिव्यहोरामा सडेका व्यक्तिहरु समेत हाकिम भएपछि सबैको आनिबानी र खानेकुरो उस्तै हुन्छ । जति खाए पनि नअघाउने कला, सबैभन्दा आफूलाई उत्कृष्ट मान्ने सर्वौत्कृष्ट ज्ञान, बुद्धि र विवेकलाई सलाम गर्दा हाकिम हुन आतुर हुनेहरुलाई पटक्कै घाटा भन्ने कुरो हुँदैहुन्न है । संघीयताको विस्तारवादसँगै केन्द्र, प्रदेश र स्थानीयमा पुर्‍याउँदा समेत सबैलाई फिट भएको सत्ता भनेको हाकिमको सत्ता नै हो । आफ्नै आत्मालाई साक्षी राखेर सोचौँ त –हाकिम भन्ने जिनीश जतिसुकै लुरो र लुरी भए तापनि उनीहरुको नजर बिक्ने भनेको आफूमा ठोकिन आउने शुरो र शुरीमा नै हो । हाकिमको सत्तामा मनलाई कैद गर्ने ठाउँ भनेको सत्ता, शक्ति, सुन्दर र सुन्दरी मै हो ।
हाम्रै बाबा–आमाको पालामा बन्द खामभित्र चिट्ठी हुन्थ्यो । आजभोलि हाकिमलाई प्राप्त हुने बन्द खामभित्र त बाघ र हात्ती मज्जाले कोचिएर बस्छन् । कहिलेकाहीँ हो, बन्द खामभित्रका बाघर र हात्तिले हाकिमलाई आक्रमण गर्ने, त्यही पनि ठूलो संख्यामा रहेछन् भने त मिलापत्र गर्न सिंगापुर र स्विजरल्याण्डतिर उड्छन् । जे होस्, हामी सबै नेपालीहरुलाई सधैँभरि फिट हुने र जसलाई चाहिन्छ उसैलाई तुरुन्तै सिट हुने सत्ता भनेको हाकिमको सत्ता हो भन्नलाई कसैले भत्ता लिनु पर्दैन । नेपाली भएको नाताले नेपाललाई विर्सेर केही माने उही हुँदैन तर हाकिमलाई बिर्स्यौँ भने लाग्न मिल्ने जति कुरोले पिछा गर्दै साढे सातको लातले समेत झ्याप्पै समाउँछ ।
त्यसैले आउनुहोस्, जहिले, जहाँ, जसरी हुन्छ हाकिमको सत्तामा हाजिर भएर देशलाई विकास मात्र होइन छिमेकीतिर निकास गर्नको लागि एकजुट भएर लागि परौँ । संघीयताको सबलीकरण भन्दै हाकिमको सत्तालाई आन्तरिकिकरण गरौँ । रात रहे अग्राख त पलाउँछ भन्छन् । दिन पनि रहेपछि हाकिमको सत्ताको साझेदार कसो नभएला र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।