18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेमाञ्जलि

कृति/समीक्षा सदानन्द अभागी March 19, 2025, 3:11 pm
सदानन्द अभागी
सदानन्द अभागी

काव्यकार पौडेलले २०३२ सालमा ‘आमा’ शीर्षकमा पहिलो कविता प्रकाशित गरी कविको र पहिलो कृति ‘पीडा’ कवितासङ्ग्रह (२०६१) प्रकाशन गरी कवि कृतिकारको रूपमा दर्शिए भने ‘प्रेमाञ्जलि’ खण्डकाव्य प्रकाशन गरेर तेस्रो कृतिकार तथा पहिलो शोककाव्यकारको रूपमा परिचय दिनु भएको छ । मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्ज, बाँकेले प्रकाशन गरेको यस खण्डकाव्यको आवरण फोटो प्रेमप्रकाश मल्ल ‘महेन्द्र मधुकर ’को हो । यसको मूल्य व्यक्तिगत रु १०१/– र संस्थागत मूल्य रु २०१/–राखिएको छ । यस खण्डकाव्यको प्रकाशकीय मध्यपश्चिम स्रष्टा समाज नेपालगन्ज, बाँकेका अध्यक्ष सृजना लम्सालले लेख्नु भएकोछ ।यस खण्डकाव्यको प्रकाशकीयमा सृजनाले लेख्नु हुन्छ कि – ‘ पीडा भन्नु नै प्रेमप्रकाश र प्रेमप्रकाश भन्नु नै पीडा जस्तो लाग्छ , प्रेमप्रकाश मल्ललाई नजिकबाट देख्नेहरूलाई । प्रेमप्रकाश मल्लका यस्तै पीडा पक्षलाई समेटेर कवि इन्द्रराज पौडेलले प्रेमाञ्जलि खण्डकाव्य लेखेका हुन् । पीडा र करुणा यस खण्डकाव्यको विशेषता हो ।’ भूमिका लेख्दै गोविन्दराज विनोदीले कवि इन्द्रको लेखन क्षमतालाई यसरी प्रस्तुत गर्नु भएको छ –‘कवि इन्द्रको भावना ज्यादै सशक्तछ । साधना गर्दै गएमा उनले अझ राम्रो कविता काव्य रचना गर्न सक्छन् ।’ ‘प्रेमाञ्जलि’ काव्यका केही शब्द शीर्षकमा डा. गोपालप्रसाद शर्मा अधिकारी लेख्नु हुन्छ –‘समग्रमा यस काव्यमा कवि पौडेलले प्रेमप्रकाश मल्लको जीवनले भोगेको दारुण कथा–व्यथालाई मल्लकै शब्दमा शब्दबद्ध गरी प्रस्तुत गरेका छन् ।’ प्रेमाञ्जलि माथि शब्दाञ्जलि शीर्षकमा इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ लेख्नु हुन्छ –‘लोकप्रसिद्ध पात्र प्रेमप्रकाश मल्लको जीवनीलाई कवित्वको विषय बस्तु बनाइएको । जुन ज्यूँदो महापुरुष प्रतिको न्याय पनि हो ।’ इन्दजीले मनेसोमा महत्वपूर्ण भावनाहरू पस्केका छन् । लहडी गफलाई साहित्यको छनक ठान्छन् । सम्पूर्ण जगतलाई साहित्यमय मान्छन् । प्रेमप्रकाश मल्ललाई विशाल महाकाव्य हुन् भन्छन् । दैवले उनीमाथि थोपारेका असैह्य वेदनाप्रति केही लेख्ने उदेश्य लिन्छन् र यो समाजलाई यो कृति दिन्छन् ।
समर्पपण–
असह्य सँहदा –सहँदै
बिरहको भुमरीमा बहँदा –बहँदै
साहित्य सेवामा सार्पित
यस राष्ट्रका गीत, सङ्गीत र साहित्यमणि
प्रेमप्रकाश मल्ल मधुकर,
उनैको यो शोक दर्पण
उनैप्रति सादर समर्पण
यो कृति आवरण पृष्ठ बाहेक (१६+४२)=५८ पृष्ठमा सिर्जना भएको छ । अग्र पृष्ठ प्रेमप्रकाश मल्ल मधुकरको तस्विर ले सजिएको छ भने पछाडीको पृष्ठ कविको व्यक्तिगत विवरण साथै खगेन्द्र गिरि ‘कोपिला’को शुभाञ्जलिले सजिएको छ । खगेन्द्र गिरि ‘कोपिला’–लेख्छन् –‘ सपना, करुणा, प्रेम र पीडाले जीवन बोकेका प्रेमप्रकाश मल्ललाई हामीले टाढाबाट हेर्‍यौ मात्रै,तर कविवर इन्द्रराज पौडेलले भने उहाँलाई नजिक बाट स्पर्स गरी सँगालेका अनुभूतिहरूलाई शब्दमा उतारेर प्रेमको एउटा पृथक दृष्टान्त कोर्नु भएको छ ।
प्रेममय भावनाका धनी प्रेमप्रकाश मल्ल र प्रेममय लालित्यका कवि इन्द्रराज पौडेलबीचको यो शब्द सम्बन्ध मलाई फूल र जुनको मितेरीजस्तो लागिरहेको छ । प्रेमप्रकाश मल्लको सपना र पीडाका कथा बोल्ने यो सुन्दर सलिल कविता कृति प्रेमाञ्जलि हो, पुष्पाञ्जलि हो, शब्दाञ्जलि हो र हो इन्द्राञ्जलि पनि ।’ यो खण्डकाव्य १४ श्लोकको प्रस्तावना सहित १०ओटा छालका २१२ श्लोकमा प्रस्तुत गरिएको छ ।
प्रस्तावना – काव्य लेख्दा प्राय मङ्गला चरणबाट थालनी गर्ने चलन देखिन्छ । कविले खण्डकाव्यको थालनी प्रस्तावनाबाट सुरु गर्नु भएको छ । प्रस्तावनाको पहिलो श्लोक यस प्रकार छ–
छातीभित्र मुसुक्क हाँस्छ रुकुमे सौन्दर्य आभा परि
छाता दृष्य छटा विचित्र रचना झल्केर छायाँ छवि ।
खेल्दा लेक, पहाड, खोच, दुनमा आँखा भरीका टक
डाँडा पर्वतमा कुना खरकमा बेंसी र गाउँतक ।।
पृष्ठ १,श्लोक १
भेरी नदीको तरङ्गको आवाज किनारमा ठोकिएर नगराको आवाज जस्तो गम्केको छ । बालाउमेर यही प्रकृतिले सजिएको पाखामा, यहींको माटाको माया र ममता ग्रहण गर्दै मुटुको ढुकढुकी संचालन हुँदै वितीरहेका अवस्थामा विधिले लुटेर झोसी दियो चुकचुकी । लेकमा गुराँसको लालीमा, चापका सेता फूलले सिस्नेका शिर विन्दुलाई सिङ्गार, हिम पाखाभरी फैलावट । आँखालाई तृप्त पार्ने हिमनदी छालहरूको सुन्दरता तर ती छालले निम्त्याएको दःुखदाई पीडालाई कविले यसरी वर्णन गरेका छन् –
पार्‍यो छात विथात दैव गतिले हुत्याउँदै छालमा
फाल्यो फ्यात्त उठाइ रुष्ट भुमरी संकष्टका जालमा
साह्रै जिर्ण दुखान्त दारुण कथा कल्पी दियो दैवले
तातो तिक्ष्ण फलाम र्‍याप्प मुटुमा रोपी दियो दैवले
पृष्ठ २, श्लोक ४
अतिकारुणिक भावनाहरू यहाँ पस्किएका छन् कविले । मानिसले भोगेका सुद, दुख, कर्म, खर्च जिविका सबै दैवले खोसेपछि , दिलमा तीखो शूल प्रवेश हुनु स्वभाविक हो ।दुखान्त पीडालाई मिटाउने कुनै सहारा चाहिन्छ । सहारामा सङ्गीत लेख्ने रुचि बस्यो । लेख रचनाहरू सिर्जनामा दोस्ती भए तापनि पीडाको कारणले रहरका बाटाहरू बन्द हुनु, आशा भाँडिदै जानु, सङ्गीत टाढिदै जानु, दीर्घ रोगले समाउनु, तन विदिर्ण बन्नु, हिड्ने बुता लोलिन जानु र मिठो गला पनि खोसिन गयो । यस्तो दर्दनाक अवस्था त्यतीवेला आयो जब कविको प्रभा उच्चाइमा पुग्न लागेको थियो । तब पनि मनका बिभिन्न पिरलालाई पचाउनको लागि भारतीले आश्रय दिइन् । कविले दह्रो आँट गरेर खरो रूपले, दुखाइका रापलाई ताप्दै कलमलाई निरन्तरता दिंदै आफ्नो छविलाई उज्ज्वल बनाउन गरिएको प्रयत्नलाई काव्यकारले यसरी प्रस्तुत गरेका छन् –
पोल्ने भत्भति राप सन्त कविले भोगे पचाए कति
आफ्नै आँट अठोटमा दृढ रही पीडा अँठ्याए कति ।
ठाने मात्र विशाल यो जगतमा साहित्य नै सम्पत्ति
गाए गीत चरी सरी कुसुमका हाँगाहरूमा बसी ।।
पृष्ठ २, श्लोक ८
कविको गायन कलाप्रति काव्यकार निकै प्रभावित छन् । सारङ्गी, मुरली, सितार सबैको तुल्य तुल्य मिठो ध्वनी सर्सरी बज्दै कविका दिलका मिठास झन्कार झर्ना सरी बगेका, सुरिलो भाका, कल कण्ठि भाव, सुरिलो र माधुरी नाचजस्ता क्षमता भएका कविले सदा सर्वदा मिठासपूर्ण आरती साथ पूजा गर्ने धारणा यहाँ आएका छन् । काव्यकारले यहाँ रचनाले चर्केका दिलभित्रका दहनतालाई लिनु पर्दछ र गरिबीलाई छुन पर्दछ । कविका कला कुशलता र साहित्यका साधनालाई सुनेपछि काव्यकारलाई भेट्ने इच्छा जागेर आयो । कविले आश्रय लिएको घरमा काव्यकार पुगे । बोली गडबडाहट भएको कारणले बुझ्न सहज भएन । उनले भोगेका प्रकोपहरू जो सुनिए ती काव्यधारा भए । जानेवाला त गैह्रो चोट दिए्र गए तर ठिङ्गो धैर्य अडिग तपसी जो रहेका थिए तिनको दुखेको कथा लुला हातबाट लेखिएको थियोलाई समेट्दै काव्यकारले तिनको जीवनको अपूर्ण कविता लेखेर पाठक सामु सप्रेम समर्पण गरेका धारणा यहाँ आएको छ । यस प्रस्तावनामा रुकुमको प्रकृति वर्णन, भेरी नदीले निम्त्याएको विडम्बना, त्यसबाट काव्य नायकलाई भोग्न परेको पीडा, पीडालाई गीत र साहित्यमा रुपान्तरण गर्दै बाँचने सहारा लिनु काव्यकारले काव्यनायकलाई भेट्नु र यस खण्डकाव्यको सिर्जना गरेको धारणा समेटिएको छ ।
छाल एक – यस छालमा रुकुमको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ । काव्यकार आफू नै प्रेमजङ्ग भएर उभिनु भएको छ । कथासार प्रेमजङ्गको जन्म रुकुमको सुन्दर गाउँमा, ठकुरी जातको मल्ल वंशमा भएको थियो । पुर्खा नामी थिए । युद्धमा राज्यको बाजी थापेर लड्थे ।प्रेमजङ्गले भने ज्युँने पेशा कलम समाए । दुर्गाको भजन गाए र भारतीलाई शिरमा राखे । साधनामा करुण रसलाई पिएर गाना गाउँदै सुखलाई दुखमा साटे । प्रेमजङ्ले आफू जन्मदाको अवस्थालाई यसरी वर्णन गरेका छन् –
वषार्, बाढी, भल उछलदै साउने झर्न झर्दा
खोलानाला बहन धमिला दर्कदै पानी पर्दा ।
चम्चम्मचम्की गगन बिजुली मेघको वेग चल्दा
खोले हुँला नजर पहिलो मिल्कदै झल्ल पर्दा ।।
पृष्ठ ५ श्लोक ४
मानिस जन्मन्छ । जन्मदा नै भावि जीवनको संकेत दिन्छ । उनी श्रावणको वर्षामा जन्मे । बिजुलीको चम्कन र आकाशको गर्जनमा झस्के तापनि घरमा खुसीयाली छायो । बढ्दै गए । तातेताते हुने वेलामा बाबुआमा खुसी छायो । बालक काल हाँस्दैखेल्दै वित्यो । बाबुआमाको मिठो माया,जतन सुविधा, सान्त्वना प्राप्त भयो । सबैको हाई हाई भई बड्दो अवस्थामा जीवनमा आँधी भूमरी आएर सुख सयल बढारेर लगेर दुखका दिन थालनी भएको र मातृ वियोग पीडा व्यहोर्न परेका धारणा यसरी पस्केका छन् –
आमा खोश्यो निठुर विधिले चित्तमा चोट लाग्यो
दुख्दै छाती तनमन दुखे दिक्कको रोग लाग्यो
साह्रै शून्यै सबतिर भयो उभ्भिनै भो कठिन
गाह्रो भैगो सकस सहनै थाम्न आँफै सकिनँ
पृष्ठ ५, श्लोक ८
आमा दैवबाट खोशिदा कस्को मन थामिन्छ । प्रेमजङ्ग दुखित हुन्छन् । रोगी हुन्छन् । विह्वल हुन्छन् भावनामा बग्छन् । रगतका कणकण दुखेको अनुभूतिको धारणा यसरी बग्दछन् –
छाती दुख्ने अविरल भयो शोकले रोग जाग्यो
सञ्चो कैले हुन नसकने आत्ममा ठेस लाग्यो
साथी खोजे विह्वल पथमा गीतको राग पाएँ
आफ्ना पीडा बमन गरदै मर्मिला गीत गाएँ ।।
पृष्ठ ६, श्लोक १०
मानिस जब दुखको भूँमरीमा फस्दछ तव उसको जीवनमा नयाँ तरङ्गले स्थान लिन्छ । यहाँ प्रेमजङ्गको पनि आमाको मृत्युमा दुःख लाग्छ र उनका हृदयमा करुणारसका गीतको भाव जाग्छन् । बाजा रेट्दा व्यथित दिललाई शान्त पार्ने दवाई बन्छ । टुक्का जोड्दै गाउने नशाले स्थान लिन्छ । आमाले गीत नगाउन, गाइने नबन्न, छाती छेड्ने करुण रसको नाद नअलाप्न,बरु भजन गाऊ, रामवाणी अलाप भन्ने अमृतवाँणीलाई प्रेमजङ्ले शिरोधार्य गरे । गाउँ सहर सबै ठाउँमा सुनाए । आफ्नो दुखलाई सिर्जनामा डुलाए र उनले के पाए यसरी पस्केका छन् –
लेखे गाएँ सजल कविता भावनाका उछाल
गुन्ज्यो भाखा करुण लयको साधनाको निखार ।
झर्झर धर्ने झरन जलमा गीतका बोल देखें
छल्का उठ्ने जल लहरमा आँसुका भेल देखें ।।
पृष्ठ ७, श्लोक १५
मार्मिक धारणा पोखिएको यस खण्डकाव्यमा प्रेमजङ्ले लेख्ने सजल कवितामा अश्रुविन्द छल्कने मात्र नभएर शव्दसिन्धुमा परिणत हुने धारणा आएका छन् । शब्द र धनलाई तुलना गर्दा धन तुच्छ हुने र रचनाको सिर्जना हुँदै जाँदा मोह त्याग्दै गइने, यी शब्दसँग अलग हुन नसकिने, यिनलाई गाएर धोल बनाएर बगाएको र यस्तो अवस्थामा ल्याउन तन मन आफ्नो उर्जालाई लगाएको, आमालाई आफ्नो पिर नगर्न र भेट्न स्वर्गमा आउने आग्रह गर्दै चार चोटको कारणले रोग्ी बनेको धारणा यसरी पस्केका छन् –
यो छातीमा पिरछ गहिरो बल्झिँदा चारचोट
चोटीचोटी चरम तपमा पग्लदा सर्वथोक ।
आमा छोरो सकल जिविका खोसिए साथबाट
रोगी भैयो विधुर बनियो भै सक्यो सर्वनाश ।।
पृष्ठ ७, श्लोक २०
छाल : २
यस छालमा प्रेमजङ्गको नेपालगञ्जमा बसाइँसराई, बौद्धिक सर्कलसँग सम्पर्क, नेपालगञ्जमा सहरीया वातावरण र अपुत्र हुन पर्दाको पीडालाई पस्किएको छ । नेपालगञ्जमा बस्न सहज, साहित्य सुधा पिउन सहज साथीभाईहरूको जमघट हुने ठाउँ भएकोले नेपालगञ्जमा बसाइ सहज हुने कारणलाई यसरी दर्शाइएको छ –
जान्ने, बुझ्ने, कुशल गमिला, गर्विला, धीरधारी
मिल्ने जुल्ने शहर दरिला राज्यका कर्मचारी ।
व्यपारीको व्यसन सुविधा व्यस्तता भागदौड
पेशा गर्ने दिनभर खटी उद्यिमी कर्म गौढ ।।
पृष्ठ ९, श्लोक ३
नेपालगञ्जमा सर्दा खुसी हुनु स्वभविक हुन्छ किनक जीवन गुजराको लागि पेशा मिल्छ । ठूलो बस्ती छ । उद्योग गर्न सकिने । जिन्दगी जिउनको लागि विविध तरिकाहरू अपनाउन सकिने । यहाँ विज्ञहरूको जमघट हुने सुदुर पश्चिमको ढोका, जुम्ला हुम्ला तथा कर्णाली अञ्चलको खेपिताको थलो, खाँचो फाँचो पुरा गराउने , सेवा लिन सकिने ठाउँ हो । उद्यिमीको लागि अगमपुर, विपुलको लागि आश्रयदाता, हिन्दु, मुस्लिम सधैं कर्मालिन कर्मी, धारणा पस्किदै नेपालगञ्जको वर्णन यसरी गरिएको छ –
यो भो बस्ती सुदुर जनको अन्नदाता सदाको
बन्दै आयो प्रचुर मनको आशा धान्ने सदाको ।
पाखारेखा नजिक दुरको खर्चको पूर्ण गर्ने
उर्जा खोजी सवल प्रतिभा सिर्जना रङ्ग छर्ने ।।
पेष्ठ ९, श्लोक ७
नेपाल गञ्ज विविधताले भरिएको छ र यो पूर्वतिर लाग्ने स्थल पनि हो । ज्युने बाटो पनि हो । केही कमाइ गर्न र भावना साट्न व्यथित दिललाई शान्त पार्न प्रेमजङ्ग नेपालगञ्ज पुगेका हुन् । राम्रो ठाउँ मात्रै नभएर यहाँ नराम्रा काम पनि हुन्छन् जस्तै जेब काटिन्छन् । अक्कल फिसलिन गए गासबास चौटिन जाने भन्दै यहाँको स्थितिलाई यसरी वर्णन गरिएको छ –
रङ्गी चङ्गी चहल चतुरे नोटले राश भर्ने
मागी खाने निवर निमुखा रोगले ग्रस्त पर्ने ।
गल्ली गल्ली अभय डुलदै शानले पेट भर्ने
स्वस्ती खाई सकल जनका मानले पेट भर्ने ।।
पृष्ठ १०, श्लोक ११
यहाँ कविले नेपालगञ्जको खुलेर वर्णन गरेका छन् । सबै ठाउँमा सबैलाई सधैं रमाइलो भै राख्दैन । पुनः नेपालगञ्जमा प्रेमजङ्गका पीडाका दिन थालनी हुन्छन् । प्रेमजङ्गको जीवनमा चोटको कमी भएन । सदा चोट खाए । दर्द, माथि दर्द थपियो । उनका दर्द थपिने कारण यस्ता छन् –
मेरो प्यारो तनज छरितो घात पार्‍यो छिनेर
मेरो छाती गिथलीगिथली दावि राख्यो थिचेर ।
मेरो सारा गमन हुन गो जिन्दगीको कमाई
पर्दापर्दै विपत भुमरी दिक्क भो ज्यूँनलाई ।।
पृष्ठ ११, श्लोक २०
छालः ३
यस छाललाई रुकुम जिल्ला र सेरा गाउँको प्रकृति वर्णन र जन्मभूमिप्रति प्रेमभाव बारे अध्ययन गर्न सकिन्छ । मानिसले जन्म भूमि सहजै छोड्न चाँहदैन ।प्रेमजङ्गले आफ्नो जन्मथलोको गासबासलाई निराशा बोक्दै छाडे तापनि जन्मथल्योले सम्झदा शान्ति पाइने, मनमा भावना बनी रहने, प्रेमधारा हृदयमा उर्लिरहने, रुकुमपुरको शोभा शान्ति शप्तरङ्गी सुवास प्यारो लाग्ने र हेरी राख्ने पियास लाग्ने जन्मभूमिप्रतिको अमीट धारणा रहीरहने धारणा यसरी आएका छन् –,
त्यै आभामा तनमन तना तन्तु मेरा हियारा
त्यै माटोको टलक दिलमा स्वर्य भन्दा पियारा
साह्रै राम्रो प्रकृति रचना चारु राम्रो मुसीकोट
खै के मिल्लान् रूकुम सरहै अन्त तेस्तै सबै थोक ।।
पृष्ठ १३,
रुकुमको शिरमा सिस्ने हिमाल, हरिया डाँडा पाखको सुन्दरता, लेकमा लालीगुराँस, सानी भेरीको लहर लहरीको त्यो हँसाई, अग्ला होचा गगन चुम्ने शैलका लामबद्ध स्थिति र ती ढुङ्गाका ती दृश्यलाई कविले अति मिठासपूर्ण तरिकाले प्रस्तुत गरेर थाक्दैनन् र भन्दछन् –
अग्ला डाँडा उपर बदरी दौड्दा वेगसाथ
ढाकी सारा गगन घुमले छोपिदा शैल माथ ।
सिमसिम पानी झरन झरदै छाटिदा शीलमाथी
झर्ने भर्ना सलल जलका लस्किदा भीरमाथि ।।
पृष्ठ १३, श्लोक ६,
लेकबाट पानी बग्दाको आवाज, छाँगाबाट पानीका छिटाबाट देखिने ती हीरा मोतीको चम्कन, फाँटमा पुग्ने वेलाको शप्तरङ्गी र धनुष आकारको इन्द्रेणीको लचक, पानीका लहरमा झल्कने पुष्पहार, सारङ्गीको धुन, बुल्बुलाको नाचेको दृश्य आदि ती अति रमणीय लाग्छन् । त्यो रमणीयतामा नदीले निकै ठोक्कर खाँदै बगेको पनि हुन्छ । त्यो नदीको कष्टलाई कविले प्रेमजङ्को कष्टसँग लोभलाग्दो रूपले जोडेका छन् –
पानी जस्तै म पनि तिरमा ठोकिदै बारबार
ठक्कर खाँदै विपद भुमरी वैरिदै धारधार
पृष्ठ १४,
प्रेमजङ्ग अहिले नेपालगञ्जमा छन् र असक्त पनि छन् ।उनमा रुकुमपुरको झल्को आइराख्छ । बाल्यकालको याद आउँछ तर के गर्नु उनी हिडडुल गर्ने अवस्था छैन । उनी भन्छन् कि पञ्छी भए उडेर गाउँ डुल्थे । जन्मथलो भेट्ने रहर लाग्छ, खाटमा बसेर टुलटुल हेर्ने र कल्पना गर्ने सिवाय उनमा के नै छ र,
प्रेमजङ्को नशानशामा, मनमा तनमा खोलानाला, वन, उपवन, राशढुङ्गा, सेरी गाउँ खलाङ्गा, पुर्खाको खुन र पसिना खर्चिएको उमङ्ग, चिउलामा ओषका विन्दुको टल्कन, बारीका फलमा वायुले लिएको मस्ति , ढुकुरका जोडको कुर्लन ,कतै को हो को हो त कतै न्याउलीको न्याउ न्याउको विरह, भूर्भूर चरीको उडाई ,पैह्रा चल्दाको टाटेपाटे दृश्य, चौतारीका वरपिपलको छायाले पथिकहरूलाई प्रदान गर्ने शीतलता, आदिमा अमिट माया देखिन्छ । त्यति माया हुँदाहुँदै प्रेमजङ्ले ती चिजको उपभोग गर्न सकेनन् । आफ्नो पीडादाई भावना यसरी दर्शाएका छन् –
सेरा गाउँ लहरा लहरी झल्कदै चित्र बन्छ
जे जे भोगे जनम घरमा चित्र त्यो भित्र हुन्छ ।
ठिङ्गा एक्लै रुख पनि कतै एक्लिएका मजस्तै
एक्लो पीडा व्यधन मुटुमा खोपीराख्ने प्रशस्तै
पृष्ठ १५ श्लोक २०
छाल : ४
यस छालमा छोराको जन्ममा मनाइएको हर्ष, छोराको लाउँलाउँ खाउँखाउँ अवस्थाको वर्णन, मधुकरको मोटरसाइकल दूर्घटनामा मृत्यु र शोकको वर्णन गरिएको छ । सन्तान पैदा हुँदा सबै रमाउछन् । प्रेमजङ्ग पनि निकै रमाए कुलको दीयो जन्मेको ठाने । हर्षले छाती फुल्यो । सृष्टि जमाएको महसुस भयो । चारैतिर रमाइलो हुनु, शुभकामना आउनु, हर्षको बाढ आउनु, भावी प्रगतिका सपना देख्नु,मुक्तिको बाटो खुलेको धारणा यसरी राख्छन् –
ठाने मुक्ति अब जगतमा पितृको दण्डबाट
खुल्ला बाटो परमपुरमा पुत्रको पिण्डबाट ।
देख्ने इच्छा झन प्रवल भो पुत्रको ठाँटबाट
उम्ल्यो उर्जा भितर दिलमा के गरु आजबाट ।।
पृष्ठ १६, श्लोक ५
हाम्रो धर्मकर्मले पुत्रको उपस्थिति अनिवार्य दर्शाएको छ । यहाँ काव्यकारले त्यही कुरालाई स्मरण गराएकाछन् ।सानो छँदा पिताले छोराछारीको लालनपालन र विवाहदान गराई दिनु दायित्व हो । पिताले पुत्र या पुत्रीलाई यी काम नगराएमा पुत्र या पुत्री दण्डबाट मुक्ति पाउँदैन । बाबु आमाको सेवा नगरे छोराछारीले पनि पितृदण्डबाट मुक्ति पाउँदैनन् । पुत्र जन्मे पछि छैटी हुन्छ , छैटी पछि ११ दिनमा न्वारा गरिन्छ नामाकरण हुन्छ । नाम राखिन्छ ‘मधुकर’ । चीना लेखिन्छ र ग्रहदशा राम्रो दीर्घ आयु, आँट भएको, धीर, वीर, धर्मी, कृपालु हुन्छ भन्ने जानकारी पाएपछि प्रेमजङ्ग खुसी हुँदै भन्छन् –
छातीमा झन खुसी थपिदै गर्न लागे बखान
सुन्दा सुन्दै अझ उछलियो हर्ष मेरो तमाम ।
पाएँ ठाने अमित सुखको भन्नु पर्दा नढाटी
धन्यै मानेँ प्रभु उपरका सुख दाई ममाथि ।।
पृष्ठ १७ , श्लोक ७
बालकको बालकृडाको दर्शन, बालकको चन्द्रमाको कलाझै बढवा, उसमा निखार पल्लवित हुँदै आउनु, सिर्जनाले पूर्णता पाउँदै जानु, बाबा भन्दै लस्पसिनु, यसो गर्दा बाबुको प्रेमधारा बहनु, मदनका मन जस्तो आभा प्रज्वलित हुनु , मुटुको मोहिनी रूप हृदयमा झल्की राख्नु जस्ता माता पितामा सन्तानप्रति देखिने अथाह प्रेमधारा यहाँ बगेका छन् । मधुकरको न्यानो माया यत्रतत्र छापिएका छन् । बाबुले सन्तानप्रति दर्शाउने बालकृडा यसरी दर्शाएका छन् –
म्वाइ खान्थे दुईकरा बिचै च्यापदै दो कपोल
गाला जोर्दा मसित रिसिदै तर्किदिन्थ्यो सुटुक्क ।
भो भो भन्दै अलि पर सरी हाँसि दिन्थ्यो मुसुक्क
आफै हाँसी मुसुमुसु अनि काख लिन्थेँ थुपुक्क ।।
पृष्ठ १७, श्लोक ११
प्रेमजङ्ले लालन पालनमा कुनै कञ्जुस्याइँ देखाएका छैनन् । दुधसित भात खुवाउनु, मृदुल मनको स्नेह राशराश प्याउनु, उसका इच्छा पूर्ति गराउनु र कुनै चिजको कमी हुन नदिनु, जस्ता धारणा यहाँ आएका छन् । यो संसार यस्तै छ । यहाँ हुने नहुने कर्महरू हुन्छन् । प्रेमजङ्गको छोरो घरबाट निस्कँदा प्रफुल्ल थियो । कुनै लक्ष हाँसिल गर्नकोलागि बाइक हाँकी अगाडि बढ्दै थियो तर बीच बाटोमा नै बाइक दुर्घटना परी स्वर्गको बाटो समायो । काव्यकारको यस दुर्घटनाको वर्णन हृदय विदारकको साथै कलात्मक प्रस्तुति देखिन्छ –
आए होलान् यमदुत लुकी वायुान मार्ग छेक्न
पारे होलान् भ्रमित मधुको कालले ट्याप्प टिप्न ।
वाइक लड्ने समय गतिमा रैछ क्यारे बहाना
मर्ने उसको सडक विचमा दैवको त्यो चाहना ।।
पृष्ठ १८, श्लोक १७,
यसरी घटना घटे पछि मानिस जम्माहुनु, यस दुखित घटनामा चारैतिर शोक छाउनु, सबैका आँखा रसाउनु, प्रेमजङ्गको मगज चड्कनु, मुट्मुा झड्का लाग्नु, तन्तु गल्नु, आँसुका बलेनी बग्नु, माथा फनफन घुम्नु, ख्ट्टा काप्नु, हात लुलाउनु, छातीभित्र काँडाले कोपेको आँधी अजङ्ग भूमरीको सुनामी आएको, धमनीबाट रक्तप्रवाह रोकिएको, सकल दुनिया दुखेको, बगैंचा शून्य लाग्नु, फूलका पत्र पत्र रुनु, रोयो आभा पवन पवन कलिमा कोपिला यत्रतत्र, आदि विरहलाई कविले अति मार्मिक रूपमा पस्केका छन् ।
मधुकरको चालचलन, शीलस्वभावको पनि यहाँ वर्णन गरिएको छ । मधुकर चौडा छाती, चमकिलो मुहडा, अङ्गढङ्ग मिलेको, सबैको अगुवा बन्न खोज्ने, विविध खेलखेल्ने, हाँस्ने, छिटो छरितो, देशको गर्व राख्न सक्ने, सेवाभावनाले युक्त, कोमल हृदय, धर्ममा मर्म राख्ने, प्रगतिको चाहना भएको, प्राप्त गर्नको लागि युद्धरत, आँटिलो शुरो, प्रफुल्ल मनको, कुलको धर्म थाम्ने, हरतरहले हरक्षेत्रमा जित्न खोज्ने, खुसदिल, मित्रप्रेमी, आमा बाबा सकल घरको मर्यदामा ख्याल राख्ने,आदि हरेक गुणले सम्पन्न थियो ।
ममतामयी आमाको सन्तानको यस दुखद अवस्थाप्रति कविको धारणा यसरी आएको छ –
आमा कठै विवस विचरी कोखनै रित्यियो नि,
बृद्धाबस्था जतन मिलने आशनै सिद्धियो नि ।
बाँकी राख्यो अब नियतिले कर्दले रेट्न घाँटी
काढी छाला नुनचुक दली तेलमा तार्नु बाँकी ।।
पृष्ठ २०, श्लोक २७
विविधपक्षको शोकमय स्थिति यसरी यसरी प्रस्तुत गरिएको छ –
बाजा रोए, विजनलयको गीत रोयो धुरुक्क
नाता पाता स्वजन सवले आँसुझार्दा तुपुक्क
दशै रोयो सवल जसले नौ जवाननै गुमायो
,रुँनै रुँना नगरभरमा पत्रिकाले सुनायो ।।
पृष्ठ २२, श्लोक ३७,
प्रेमजङ्गले यो अवस्था किन भोग्नु पर्‍यो भनि अनेक धारणा आफैमा राख्दछन् –
अञ्जानैमा भूलहुन गई पाप मैले गरेंकी
निष्ठा मेरो क्षयहुन गई स्वर्गबाटै झरेंकी ।
बाल्याबस्था अबुझ महुँदा कर्म खोटो गरेकी
माण्डव्यै झैं कसुर नगरी शूलीमा पो चढेकी ।।
पृष्ठ २२, श्लोक ३८,
मस्त जवान छोराको शोक व्यहोर्नु निकै नै कष्टदायी पीडा हो । यस पीडाको खोजीमा प्रेमजङ्ग माण्डव्य ऋषिले विना कसुर शूली चढ्नु परेको घटनालाई स्मरण गर्न पुग्दछन् । (लुटेराहरूले लुटेका सामान सहित माण्डव्य ऋषिको तपस्थलमा लुक्छन् । मौनब्रत बसेको ऋषि र लुटेराहरूलाई राजाका सिपाहीले समातेर लैजान्छन् र राजाले सोधपुछ गर्दा मौनब्रत बसेका ऋषि बोल्दैनन् र उनले गल्ती स्वीकारेको राजालाई महसुस हुन्छ । उनलाई शूली चढाइन्छ । तपका धनी ऋषि तपबलको शक्तिले जीवितै रहन्छन् । राजाले यस्तो चमत्कारीता देखेर शूलीबाट उतारेर क्षमा माग्दछन् ।ऋषि यमराजसँग पुगेर शूली चढ्न पर्ने कारण सोद्धा बाह्रवर्षको उमेरमा ऋषिले पतङ्गको पृष्ठ भागमा लठ्ठी घुसाएको कारण शूली चढ्न परेको कुरा बताउँदा ऋषिले १२ बर्षको उमेरको बालकलाई पाप र पुण्य थाहा हुँदैन त्यसो हुँदा शूद्र वर्णकी दासीको गर्भबाट मनुष्य योनीमा जन्मनु भन्ने श्राप दिएका थिए ।) यस छालमा कविले अतुलनीय पीडाको वर्णन गरेका छन् ।
छालः ५
यस छालमा पनि असह्य वेदनालाई प्रकट गरिएको छ । प्रेमजङ्ग छोराको सम्झनाले आत्तियका छन् । सम्झनाले सताएको छ । व्यघ्रताले अँठ्याएको छ ।प्रकृति रोएको छ । प्रेमजङ्गले जताहेरो त्यतै रोएको देख्न थाल्छन् र भन्छन–
मेरो चन्दा चहक लुटियो कोपिला भाचियो नि
सृष्टि मेरो अब जगतमा भासमा भासियो नि ।
मेरो नाता तनजसितको शून्यमा गाँसियो नि
यो धर्तिमा अपुतो भनिने नाममा गाँसियो नि ।।
पृष्ठ २५, श्लोक १२
बृद्ध अवस्थाको मृत्युवरण सहज रुपमा लिइन्छ । किन कि मानिस जन्मिन्छ mबढ्छ युवा हुन्छ, बृद्ध हुन्छ र अन्तिममा मर्छ । काललाई कसैले टारेर टार्न सक्दैन तर अल्पकालमा मृत्यु हुनु भनेको असहज परिस्थिति हो । यस परिस्थितिमा रुनु सिवाय के नै हुन सक्छ र यसै रुवाइबाट पीडा पखालिन्छ र मनलाई शान्त पारिन्छ भनिन्छ तर त्यो पनि सहज हुँदो रहेनछ । प्रेमजङ्ग भन्छन् –
ठण्डा हावा पनि भतभतै पोलि राख्दा मलाई
व्याधी बाधा सकल तनको भित्रभित्रै जलाई ।।
जन्मेकाको यस जगतमा मर्न पर्ने विधान
साह्रै गाह्रो सकस खपनै पुत्र मर्दा जवान
तप्दा तप्दै बदन तपमा बिग्रदै पित्त बात
सुस्तैसुस्तै असहज हुदै बल्झियो पक्षघात ।।
पृष्ठ २५,, श्लोक १७,
छाल : ६
यस छालमा महेन्द्राका खानदान,जङ्गसँगको विवाह,दुवै बिचको प्रेमप्रशङ्ग, मृत्युवरण, शोकमय जीवनमा कविले दृष्टिपात गरेका छन् ।
जाजरकोटे कुलिन घरमा राजशी ठाँटबाट
हाँस्देै खेल्दे सुख सयलमा हुर्कदै ढुक्कसाथ ।
बाला बेला जतन सुविधा लालन पालनमा
मेरी जोडा जडन विधिमा दैवको कल्पनामा ।।
पृष्ठ २६, श्लोक १
कुलिन घरमा जन्मनु, बालक कालमा हाँस्नु, , वन उपवन चहार्दै खेल्नु पुलपुल्याइमा पालिएर हुर्किनु, सरल मनकी धनी, महेन्द्रा सातफेरा विधिवत फन्का लगाएर जङ्गकी अङ्गबन्न पुग्छिन् । विवाह पछिको प्रेममय अवस्थालाई यसरी वर्णन गरिएको छ –
माया जम्दै युगल प्रितको मोहनी माधुरी भो
हाँस्ने खेल्ने मिलन मनको चित्तमा आतुरी भो ।
गैह्रो माया विकसित भयो कोपिला झैं उकायो
फक्रेजस्तै उदितकलिको फुल जस्तै बसायो ।।
पृष्ठ २६, श्लोक ४
जङ्गकी सहयात्री भएर कहिले सुखसयलमा, कहिले दुःख बाँडदै, प्रसुति दुख भोग्दै पुत्रको जन्म दिनु, बच्चालाई दुध पिलाएर हुर्काउने काम गर्दा बालक हाँस्दा खेल्दा घरमा खुसी वर्षाएको धारणा काव्यमा आएका छन् । समयको चक्र हो जङ्गले महेन्द्रालाई आत्माको प्यार त दिए तर उनले भोगेका रोग व्यथा विपत घोच्ने काँडाको मुटुको व्यधन, बेला बेलामा आइलाग्ने विपदको भुमरी, आफन्तले धोका, दिंदै परपर भाग्नु, रोगले ग्रस्त पार्नु, अर्थको अभाव हुनु, यी सबैलाई सहन गदर्,ै पतिको सेवा गर्दैगर्दै प्राण त्यागेको अवस्थालाई कविले यसरी प्रस्तुत गरेकाछन्–
साह्रै घाति निठूर विधिले चोट हान्यो रुवायो
कुण्ठा पाली जिवन जिउँनै घिस्रनै बाध्य पार्‍यो ।
निर्धो रोगी अवल निमुखो पारदै प्रेमलाई
बाधा व्याधी अझ, थपिदिने धन्य हो ! दैवलाई ।।
पृष्ठ २८, श्लोक १५
यहाँ जीवन बाधा व्याधीसित अल्झिएको छ, । गैह्रा गैह्रा दुखका पैह्रा गएका छन् । हिड्ने बाटोमा अल्झन थपिएका छन् । दुखको तापबाट जिउने आशा जलेको छ । आफ्ना भन्ने खोसिएका छन् । जङ्गम विधुर बनेका छन् र खाटबाट टुलटुल हेर्नु सिवाय उनीसँग केही छैन । भविष्यको सहारा छोरो जानु, यसरी नै पत्नी जानु, आफू रोगी बन्नु यहाँ भन्दा कष्टदायी जीवन अरु के हुन सक्छ र ? कविले पीडालाई अति गहनरूपले समाएका छन् । प्रेमजङ्गको छिया छिया मुटुलाई यहाँ दर्शाएका छन् । पीडारूपी अश्रुसिन्धुलाई बगाएका छन् । रातभरी निदाउन नसकेको अवस्थामा महेन्द्रालाई यसरी स्मरण गराएका छन् र एक पटक झुल्किने आग्रह गरेका छन् –
मेरी छाया ललित प्रियसी फूल जस्ती महेन्द्रा
रश्मी छर्ने मृदुल घटमा जून जस्ती महेन्द्रा ।
टेक्ने लौरो उभिन तनको आत्म मेरी महेन्द्रा
अस्ताएको रवि वन तिमी झुल्किद्यौ एक फेरा ।।
पृष्ठ ३१ श्लोक ३४
मानिस मर्छ तर मनमा गढेका माया मर्न सक्दैन । एक्लो जीवन जिउन निकै कठिन हुन्छ । मनमा कुरा खेल्छन् । हराएको व्यक्तिको चित्र मनभित्र नाच्छ । पत्नीको गमन मनमा झल्कि राखेको अनुभूति हुन्छ । महेन्द्राले प्रेमजङ्गप्रति गरेका र दर्शाएका ममतालाई स्मरण गर्दै सबैले छैनन् भने पनि प्रेमजङ्ले भने ख्यालमा देखेको र रागमा भेटेको धारणा यसरी प्रस्तुत गरिएको छ –
मीठो माया वचन गुलियो पावना प्रेम राशी
राख्यौ माया हृदय भरको प्रेमको पाउमाथि ।
छैनौ भन्छन् सकल जनले ख्यालमा देख्छु मैले
तिम्रो छाँया बिव्हल मनको रागमा भेट्छु मैले ।।
पृष्ठ ३१, श्लोक ३६
छाल : ७
यस छालमा पनि प्रेमजङ्गको वेदना, रोगी जीवन,सखाबाट एक्लिएको जीवन, यात्रा शून्यतामा विलाएको ,विविध थरका कर्म रेखाको रचना, भाग्य खोटोको निर्माण, मीठो भाका, ललित प्रतिभा लुटिएर निराश भएको अवस्था, विधुर जीवन, साधना लुटिएको, आधा अङ्ग खोसिएको, दाहिने हात काटिएको, थाउनामा सुताएको, दीप बुताएको मर्म, शोख, आशा,सबै सखाप हुँदा प्रेमजङ्गको एक मात्र सहारा कलम भएको धारणा यसरी आएको छ–
मात्रै दोस्ती कलमसित भो लेख मेरो अडेसो
ठण्डा पार्ने मलम पनि भो भित्रजल्दा कलेजो ।
भोगेँ वेला सकल जनमा जून जस्तै थिएँ म
डुल्दा डुल्दै डगर डगरै नुन जस्तै गले म ।।
पृष्ठ ३३, श्लोक ७,
मनका रहरहरू तथा भावनाहरू लेख्ने चाहना, जिन्दगीका पहेलीहरू पोख्न मन लाग्ने भावना, अन्तस्करणका भावभङ्गी तरङ्ग कविता मार्फत पौडी खेल्न मन लाग्ने धारणाको साथै उनको लेखन कलालाई यसरी पस्केकाछन् –
फुल्का फाँकी बुझन सजिला शब्दका जाल बुन्दै
मेरो सारा समय कटने धूलका फुल उन्दै ।
लेखी गाई सकल मनका वेदना पोखी राख्छु
टुक्का जोर्ने करुण रसका शब्द नै खोजी राख्छु ।।
पृष्ठ ३४, श्लोक ११,
पीडा भोगकर्ताको भन्दा बाहिरको जगतलाई कविले यसरी वर्णन गरेका छन्–
झुल्के तारा उदय चलमा चाँदनीमा नुहाए
छर्की लाली रवि गगनमा भावनाको झुमाए ।
मान्छे जागे सकल जगमा मर्ममा कर्म जागे
आशा जागे सकल जनका धीरता भैर्य जागे ।।
पृष्ठ ३४, श्लोक १३
तर प्रेमजङ्गको जीवन यस्तो छैन । उनी कोल्टो फेर्दै सारा रात ख्यालमा हेलिएका हुन्छन् । खाटमा पल्टेर नाना ताना बिव्हलता मनमा गुनेका हुन्छन् । उनलाई रात विताउन वर्ष विताए जस्तो लाग्छ र भोग्न परेका चोटका कारण समय काटन साह्रै गाह्रो हुन्छ ।
छाल : ८
जब विरह वेदनाले अत्याएपछि नैराश्यले बाटो लिन्छ । मानिसलाई यो जीवन नै बोझ हुन्छ अनि मानिसले मृत्युवरण चाहान्छ तर मृत्यु ग्रहण गर्न त्यति सहज हुँदैन । प्रेमजङ्गले मरेर जान पाए राम्रो हुने , चितामा जलेर खाक बन्न चाहे किन कि बुढापामा निद विनाको रात दिन बिताउन सह्रै गाह्रो र दुखदाई हुने धारणा यसरी राखेका छन्–
हेर्दा हेर्दै दिन त कटनी सिर्जनका तुनामा
काट्नै गाह्रो विहिन सँगिनी रात एक्लै कुनामा ।
कोल्टो फेर्नै कहर परने रातका सन्नटामा
हाँस्दो खेल्दो स्वरूप उनकै झल्कदा संझनामा ।।
पृष्ठ ३५, श्लोक २
प्रेमजङ्गको छातीभित्र उनको प्रतिमा टाँसिएको,मगन मनमा झल्किएको, थकित भएर खाटमा लम्पसार परेको, अतितका घटना सम्झेर दङ्ग परेको, चक्कुलिएर छाति चिरौ चिरौ लाग्ने, यसो गर्दा पनि बाँचने इच्छा जाग्ने, हाँस्ने रहर हुँदा पनि कण्ठ रोकिने, गीतको गुञ्जनमा कविता गाउन खोज्दा पनि पोख्ने बाटो उल्झनमा पर्नु, हातले बाजा बजाउन नसक्दा रागबाट अलगिन पर्नु जस्ता दर्दनाक धारणाहरू आएका छन् ।
प्रेमजङ्गको आमा सानैमा वित्ता बालकालमा पनि दुःख भोग्न पर्‍यो । आज आएर उनको कष्टदायी अवस्थालाई यसरी पस्किएको छ –
कठ्ठै भन्थे सकल जनले अर्ध तेन्द्रा थिएँ म
पाएँ माया बखत मनको चाँदनीमा झुमे म ।
बाधा व्याधी व्यधन परदा कर्कलो झै गलेको
लड्दा लडदै गलित म भई मृत्यु शैया परेको ।।
पृष्ठ ३८, श्लोक १५
प्रेमजङ्गले आफ्ना बाबुबाट माया,गुनिला हात प्राप्त गरेका, मुटुको जखमलाई सञ्चो बनाएर भाग्य सुधारेका, धारणालाई यसरी पस्केका छन्–
सारा खाँचा हर समयका पूर्णपारी सदाको
वाणीश्रीको जतन सुविधा धन्य आफ्ना पिताको ।
सेवा पाएँ अतुल मनको वाणिश्री आत्मजाको
साथी मेरी वखत प्रियसी भाग्यमा लेखिएको ।।
पृष्ठ ३८ श्लोक १७
निरबल हुँदा बाँच्न गाह्रो हुने, चोट खाएर रुन पने, समयले साथ नदिएको भए स्वर्ग पुग्ने अवस्था आउन सक्ने , बाधा भोग्न पर्ने, हृदय जल्ने भाग्य रहेको, यस अवस्थामा आश्रय पाएको भए पनि अझै आत्मा डाहा छँदैछ । जीवन पथमा सुख खोज्नु, पनि स्वार्थ रहेछ । अर्थ भन्ने पनि स्वार्थ रहेछ । मुर्छा परन्देरीको व्यवधान सँहदा पनि हात लाग्ने निराशा रहेछ । यी सबै यथार्थलाई भोग्दा भोग्दै उनको सहन सक्ने क्षमता बृद्धि भएको धारणा आएको छ –
हाँसी हाँसी जहर तकको पच्न सक्ने भएँ म
नाना बाधा विपत पचदै खट्न सक्ने भए म ।
भोग्दा भोग्दै विविध लफडा जिन्दगी ज्युँनलाई
माने मैले अलि अलि गरी बिर्सन दुखलाई ।।
पृष्ठ ३८,लोक २०
छाल : ९
यस छालमा गायनकला, लेखनकला, जीवन जगत, राष्ट्रियता, धनी गरिब बिचको विभेद आदिलाई समेटिएको देखिन्छ ।
भाखा हाली मृदुल लयमा नाद घाँटी उचाली
मीठा गाना सरस धुनमा बादनामा झुमाई ।
जोरी टुक्का टलक मनका गीत नाना जुराई
बाजरेटी प्रसव मनको रागमा गुन्गुनाई ।।
पृष्ठ ३९, श्लोक १
मानिस जब विविध पीडाले सतिन्छ, बाँचे आशालाई छाडिन्छ , बाँच्ने आशा मदन मन छिन्न भिन्न हुन्छ त्यस समयमा गला अवरुद्ध हुन सक्छ । ललित स्वरमा गाउने गला तथा सबै प्रतिभामा अवरोध आउन सक्छ । प्रेमजङ्गले पनि आफ्नो सबै प्रतिभा मेटिएको अनुभूति गर्छन् । उनी भन्छन् –
गाई राख्ने तनमन तना पोखियो बालुवामा
पैरो चल्दा भिषण दिलमा चोट लाग्यो कलामा ।
वाणी गुम्दा सकस कति भो बुझनेको महत्व
दुख्दै छाती तनमन दुखे दुख्न लाग्यो समस्त ।।
पृष्ठ ३९, श्लोक ३
प्रेमजङ्ले साधनाको नसा प्युँनु, मृदुल छविमा भावनाका विरक्तिमा झुम्नु, यसैमा झुम्दा आफ्ना भन्ने जनधन सबै लुट्टिदा पनि सहनु तर मीठो भाखाको हरण,बाणीको गुमाईले गर्दा उनको छातीमा परेको चोट सहन सकेनन् र उनी रन्थनिए, विव्हल भए,उनी माथि दैवको लाठी ब्रजेको अनुभूति भयो । दिलमा परेको चोटको दवाईको काम गर्ने गीत पनि मेटियो । शिरमाथि पहाडै झरे जस्तो, बाडी पहिराको लछार पछारको चोट, अङ्गभङ्ग जस्तो पीडा, हिड्न असहज भै खाटमा लडेको, छाती जलेको आदिलाई सहन सक्ने क्षमता बढेको धारणा काव्यमा आएको छ –
जल्दा जल्दै जलन सितलो लाग्न लाग्यो मलाई
तप्दा तप्दै तपन गुलियो लाग्न लाग्यो मलाई ।
घोच्ने काँढा अव त मुटुमा फुल जस्तै भयो भो
खप्दा खप्दै अव वदनले खप्न सक्ने भयो यो ।।
पृष्ठ ४०, श्लोक १०
प्रेमजङले आफ्ना वेदनालाई गजल कविता, हाइकु,लेखेर गाएर सबैमाझ राखिदिँदा समय काट्न सजिलो भएको र उनका गीत कविता, गजल लेखनका विषय देशको घाउ, निर्धा दुब्ला, भोका, नाङ्गा, जनताका पीर मर्काको बारेमा लेखिने । प्रेमजङ्ले भन्छन् कि उनको छाति अडिग पहरो छ । दुख झेल्दा थाक्दैन । सुखमा मात्दैन । उनको स्वभाव सरल छ । सवैमा समान दृष्टि राख्दछन । मनका विरहलाई वेदनाको चितामा जलाउँछन् । धिरतामा सब कुरा प्राप्त गर्दछन् । रुनुधुनु सबै व्यर्थ हो ठान्दछन् । जीवन सहज छैन । सबै गाह्रो छ । ढुक्क बन्न सकिदैन । पीर बाधाले अघि बढ्न बाटो छेक्छ । उनी ठान्छन् जे भोग्नु थियो भोगियो । खिन्न बन्नु छैन । जिन्दगीमा विभिन्न असहजता भोगियो । चिल्ला गाडीमा सरर गुड्नेहरूले के लिएर गएका छन् । अर्थात मृत्युवरण हुँदा धनी र गरिबमा के नै फरक छ र ? नाङ्गै आएको हो र नाङ्गै जाने हो । सबै सरह नै चितामा राखेर नाङ्गै पारेर दागबत्ती जलाएर, कात्रो,बुर्की, कपुर, तुलसी लाशमा चढाएर अन्त्यकर्म गरिन्छ । काव्यले जीवनदर्शनलाई प्रष्ट पार्दै भन्छ –
गाडी घोडा महल बगिया व्यर्थका दम्भ ठाने
मात्रै सारा रहर गहना अन्त्यमा छाडि जाने ।
छैनन् मान्छे अझकत कतै सूनको भात खाने
हैनन् रे ती सकल गहना अन्त्यमा साथ जाने ।।
पृष्ठ ४१, श्लोक १७
मानिसले भोग्न पर्ने विविध पक्षलाई भोगे पछि तथा फलामलाई तताएर चोटदिए पछि मात्र चाहेको आकारमा लान सकिन्छ । प्रेमजङ्गले पनि जीवनमा धेरै चोट खाए । आफै जले, जलन सहे र खारिएको सुन जस्तै भए । त्यतिमात्र कहाँ हो र उनी पूर्णिमाको जूनको कला जस्तै बढ्ने र घट्ने भए । विगतका दिनलाई ऐनामा हेर्दा धुलमा फूल जस्तै भएको धारणा सहित यो छाल समाप्त हुन्छ ।
छाल : १०
यस छालमा ६ ओटा श्लोक छन् । यी विविधताले सजिएका छन् । मानिस यस संसारमा किन जन्म लिन्छ ? उसको कर्तव्य के हो ? जन्मको सार्थकता के हो ? आदिलाई समेट्दै कवि भन्छन् –
यस धर्तीमा मनुज महिमा मोहमा डुब्न हैन
योद्धा हामी समर लडने श्वान झै भुक्न हैन ।
खट्नै पर्ने सजग रणमा कर्मले युद्ध गर्न
जन्मेका हौ यस जगतमा कर्मले धीत भर्न ।।
पृष्ठ ४२, श्लोक १,
मानव दर्शनका यी उच्चतम् मार्ग दर्शन अतुलनीय छन् । मानिस भएर यस संसारमा आएपछि केही गर्नको लागि हो । मोहमा डुब्न होइन । योद्धा लडनको लागि हो । संसारमा जन्म लिनु नै काम गर्नको लागि हो । काम गरे माम मिल्छ । कामप्रतिको आस्था राखेमा कामले नाम दिन्छ । गीतामा भनिएको छ कि काम गर्नु पर्छ तर फलको आशा गर्न हुन्न । किन कि फल आफ्नो हातमा हुँदैन । तर यहाँ कविले कामगर्दै जाउँ फलको लागि आत्तिन हुँदैन । काम गर्दै जाँदा गरव गमिलो गौढता नामी मिल्छ भनेका छन् । काम गर्नु उद्देश्य हासिल गर्नको लागि हो ।
काव्यकारले प्रेमका कुरा पनि उठाएका छन् ।प्रेम शब्द नै गहन छ । प्रेममा के हुन्छ के हुँदैन । प्रेमलाई जति सहज रूपमा लिइन्छ त्यति सहज छैन । हेरौ कविको भनाईलाई–
सिस्नेजस्तै मन छ अडिलो प्रेमको कर्म हेरौं
आँधीबेरी सहज सहने प्रेमको मर्म हेरौं ।
थाती राख्ने दुखद घटना शोकिलो भेल बाढी
काढी राख्ने तरर पसिना कर्म ठानी समाधी ।
पृष्ठ ४२, श्लोक ३
प्रेमजङ्गको व्यक्तित्वलाई कविले यसरी पस्केका छन् –
आस्था थामी अविचलित भई कर्ममा खेल्न जान्ने
आई पर्दा असहज सहि कर्ममा भिड्न जान्ने ।
श्रद्धा कान्ता करम गतिला साधन सिद्ध देख्ने
आफै मान्छे अमर जर हो कामनाभित्र देख्ने ।।
पृष्ठ ४२, श्लोक ४
मानिस कस्तो कुलमा जन्मन्छ । जन्मे पछि के काम गर्छ । उसको कर्मले कतातिर डोर्‍याउँछ । उसको अमरत्व उसको कामले राख्दछ । यहाँ प्रेमजङ्ग रहिस कुलमा जन्मे । राजषी ठाँटबाटमा हुर्के तर यो राजषी सुख सयललाई त्यागेर सिजर््नामा रमाए । उनले सुखमा मात्र सिर्जनामा रमाएनन् जल्दै गल्दै तरल बन्दा पनि काव्य धारा बगाए र अमरत्व कायम गरे । प्रेमजङ्गले के देखे ? के रेटे र के भेटे ? हेरौं अन्तिम श्लोक –
ज्वालो देखे तनज जलदा संगिनी लास देखे
हट्टाकट्टा सवल तनमा रोगको घात देखे ।
जो जे खेपे कविवर सदा कर्मका गीत रेटे
होला मान्छे सफल महिमा प्रेमको रित भेटे ।।
पृष्ठ ४२, श्लोक ६

प्रेमाञ्जलि शोक–काव्यको कथासार विश्लेषणात्मक रूपमा मैले माथिनै लेखि सकेको छु । यस काव्यको भूमिकामा इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ले लेख्नु हुन्छ –‘महाकाव्यको विषय बस्तु बन्न सक्ने कथानकलाई खण्डकाव्यमा खुम्च्याउन खोजेजस्तो आभाष पनि हुन्छ । तर कवित्व प्रवाहले नेतृत्व गरेको छ ।’ यस विषयमा यस खण्डकाव्यमा महाकाव्यका हुनु पर्ने विशेषता छन् र यसलाई अध्ययन गर्दा महाकाव्य जस्तै अनुभूति पनि हुन्छ ।किन कि प्रेमप्रकाश मल्ल काव्यका प्रेमजङ्गको काव्य लेख्न समयसम्मका देखेका र अनुभव गरेका घटना कर्मलाई समावेश गरेर पूर्वीय काव्य सिद्धान्त अनुरूप यो काव्यको सिर्जना भएको छ । उनका सकृय जीवनका क्रियाकलाप यहाँ समेटिएका छन् । । प्रेमप्रकाश मल्ल लोक प्रसिद्ध ज्यूँदा नायक हुन् ।छालगत हिसावले पनि आठ छाल भन्दा माथि सिर्जना गरिएको छ । विविध पक्षलाई अध्ययन गर्दा महाकाव्यको रूपदिन नसकिने होइन तर काव्यकारको कथन छ –‘यस काव्यमा मैले वहाँको जीवनको दुखान्त घटनाको मात्र चर्चा गरेको छु । मलाई लागेको छ त्यो पनि केही अंशमात्र मैले ठानेको छु । उहाँको शोक सागर प्रशान्तभन्दा कम छैन । मैले त सागरबाट एक लोहोटा पानी मात्र पाठक समक्ष टक्र्याएको । बाँकी भन्ने पालो हजुरहरुको ।’ यसैबाट भन्न सकिन्छ कि प्रेमाञ्जलि शोक काव्य हो र शीर्षक सार्थकछ ।
परिवेश– यो शोककाव्य रुकुमको पहाडी प्राकृतिक सौन्दर्य देखि नेपालगञ्जको समतल फाँट, व्यपारिक क्षेत्रको परिवेशमा लेखिएको छ ।
पात्र छनौट–काव्य लेख्दा नायक छनौट गर्नु महत्त्वपूर्ण पक्ष हो । यस खण्डकाव्यले लोकप्रसिद्ध ज्यूँदो पात्र प्रेमप्रकाश मल्ललाई काव्यको नायक बनाइएको छ । प्रेमप्रकाश मल्ल सुप्रसिद्ध साहित्यकार, सङ्गीतकार, गीतकार, कवि, राष्ट्रिय प्रतिभा हुन् । अर्कापात्र मधुकर जुन प्रेमप्रकाशका पुत्र हुन् । यी पात्रको निधन मोटसाइकलको दुर्घटनामा भएको छ । यी पनि शुर वीर,अग्रसोच भएका पात्र हुन् । महेन्द्रा प्रेमप्रकाशकी पत्नी जाजरकोटे कुलिन खानदानकी पुत्री, शोभाशाली नारी जस्ले प्रेमप्रकाशलाई जीवित छन्देरी हरक्षेत्रमा साथ दिइन् एक कुशल नायिका हुन् ।
भाषाशैली – भाषा सरल छ । छन्दमा लेखिएको हुँदा लयात्मक छ । साधारण भन्दा बौद्धिक वर्गकालागि पठन योग्य छ । छन्द आदि प्रयोग सम्बन्धमा इन्द्रबहादुर भन्डारी ‘इन्द्रेणी’को भनाइलाई यहाँ प्रस्तुत गर्ने अनुमति चाहान्छु –‘यसमा मन्दाक्रान्ता छन्दलाई सहीरूपले प्रयोग गरिएको छ । उपमा , रुपक, उत्प्रेक्षा, दृष्टान्त,आदि अलङ्कारको स्वभानविक प्रयोग भएको छ ।’
खण्डकाव्यको विशेषता– यो काव्य प्रेमजङ्ग (प्रेमप्रकाश मल्ल) जो जीवित छन् उनको बारेमा लेखिएको काव्य हो । जीवित मानिसको बारेमा काव्य लेख्नु सहज हुँदैन । यस काव्यमा काव्यकार इन्द्रराज पौडेल प्रेमजङ्नै बनेर प्रेमप्रकाश मल्लका जीवनमा घटेका तथा भोगेका दारुण कथा व्यथालाई समग्रमा समेटेका छन् । अर्को महत्वपूर्ण विशेषता शोक वर्णन अतुलनीय छ । परिवेशस्थलको प्राकृतिक वर्णनलाई काव्यकारले गहनरूपमा उठाएका छन् । मातृभूमिप्रतिको अथाह माया, भूमि प्रेम, राष्ट्रप्रेम साहित्य प्रेम, धैर्यता, सहनशीलता,कारुणिकता, जीवनदर्शन, प्रेमदर्शन, मुक्तिप्राप्त गर्न पुत्रको आवश्यक्ता, केही प्राप्त गर्न त्यागको आवश्यक्ता, नारी पुरुष बीचको सम्बन्ध, महेन्द्राको पति सेवा,आदि थ्प्रुै विषय बस्तुलाई यसमा उठान गरिएको छ । खास गरी पीडा र करुणा यस खण्डकाव्यको विशेषता हो । यसलाई शोक दर्पण पनि भन्न सकिन्छ । प्रेममय भावनाका धनी प्रेमप्रकाश मल्लको यथार्थ पीडादायी घटनालाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ ।

सुधारका पक्ष– छालको घटनालाई वर्णन गर्दा केही धारणा दोहोरिए जस्तो भान हुन्छ । फरक प्रसङ्गमा प्रस्तुत गरिएको हुनाले काव्यदोष भन्न त मिल्दैन तर सकेसम्म यस्तो दोहोरोपना नदर्शिनु नै राम्रो हुन्छ ।
अन्त्यमा सबै विवरणहरू माथि आइसकेको हुनाले यसको सारांशतिर जान आवश्यक देखिदैन । समग्ररूपमा काव्य गहन छ , पठन योग्य छ र प्रशंसनीय छ । शोक प्रस्तुत गर्न काव्यकार सफल देखिन्छन् । भाविजीवन सफलताको कामना सहित विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।