18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भूमिगत बनेको कलम

कथा विमल लामिछाने March 16, 2025, 6:39 pm
विमल लामिछाने
विमल लामिछाने

त्यो बेला गाउँमा पत्रिका पढ्न पाईदैनथ्यो । कुनै कुनै एफएम लामो तार वा एन्टेना जडान गरेपछि मधुरो टिप्थ्यो । गाउँमा एउटा एउटा घरमा मात्रै टेलिभिजनमा समाचार हेर्न सकिन्थ्यो त्यो पनि ब्याट्रीको चार्ज नसकिँदासम्म ।

ब्ल्याक एण्ड ह्रवाइट टेलिभिजनको पर्दामा दिनभरका घटनाक्रम, देश तथा विदेशबाट संकलित समाचार पढ्दै पाना पल्टाउँदै राख्दै गरेको हेदा अचम्म लाग्थ्यो । पर्दामा चटक्क सजिएर देखा परेका एङ्कर, स्क्रिनमा एकपछि अर्को गर्दै फुत्त फुत्त आइरहने स्क्रोलहरु, एङ्करले जुन पातो उचालेर पढ्यो त्यही अनुसार मिलेको भिडियो क्लिप । विच विचमा विज्ञापन अनि फेरि समाचारका क्लिप, पत्रकारले कसरी मिलाउँदा हुन् यी हरफ र टोन स्लेबलहरु ? कसरी मिलेको होला पढाइको सैलीमा भिडियोका क्लिप र फोटाहरु ? विनयको किसोर अवस्थाको मानसपटलमा यी र यस्तै प्रश्नहरु मडारिरहन्थे ।

देशभर छरिएका समाचार संकलन गरेर रेडियो र टेलिभिजनमा फरर पढेको न्यूज टोन र दृष्यात्मक ट्यूनको आकर्षणले विनयलाई सानैबाट पत्रकार बन्ने भोक जागेको थियो । पत्रकारिताको हुटहुटी मेट्न भित्ते पत्रिका निकालेर विद्यालय परिषरमा बकाइनो र पयूँका रुखमा बोर्ड टाँसेर साहित्यिक भित्ते पत्रिका प्रकाशन गर्दा ठूलै काम गरेको अनुभूति हुन्थ्यो । विभिन्न कोलममा कतै कविता, कतै छोटा कथाहरु, कतै गाउँघरमा अलि ठूलो मुल्यमा भैसी, गोरु र खसी विकेका समाचार, वीउ आलु र दुधालु गाईका टुक्रे कथा, कोदो र अलैंचीले भाउ पाएका समाचार पनि मिलाएर भित्तेपत्रिकामा सिमीका पात निचोरेर तयार पारेको हरियो मसीमा कुचोका डाँठ, बाँसका टुप्पी र परेवाका प्वाँखले लेखेर पनि समाचार तयार गरेको अनुभूति विनयसँग ताजा छ ।

एक्काइसौ सताब्दी निकट पत्रकारिताको समयमा बलपेन नभएको भने होइन तर वाँस र कुचोका डाँठ कपेर बनाइएका पोतो र कुचीहरुले नै भित्तेपत्रिकामा अक्षरको आकर्षण थप्दथ्यो । मसीमा चोबेर बाँसका टुक्राले लेखेका अक्षरहरु आकर्षक र चटक्क मिलेका हुन्थे । ड्रोइङ पेपरमा समाचार र कविताका हेडिङ राम्रा अक्षरमा घुमाएर लेख्ने कलाको अभ्यासले विनयलाई परापूर्वकालमा चराको प्वाँख र हरियो सिमीका पात निचोरेर बनाइएको मसीलाई लेख्‍ने साधन बनाइएको थियो भन्ने भनाई पनि अभ्यासको नौलो श्रृखला हुनसकेन । यस्तै प्राकृतिक कुचीहरुको सहयतामा गाउँका विद्यालयका वालहरुमा महानवाणी र कोटेसनहरु पनि लेखिएका हुन्थे । चराका प्याँखले घुमाएर लेखेका अक्षरहरु अझ आकर्षक र इटालिक स्टायलका हुन्थे, हेर्दै कति मज्जा र आनन्द आउँने ।

विभिन्‍न रंगका वनस्पतिका फूल या पातहरूलाई पिसेर आएको रंगलाई मसिदानीमा जम्मा गर्दै बाँसको तिखो टुप्पोलाई मसीमा चोप्दै लेख्दै गर्दा बनेका अक्षरका आकृति र चित्रहरुको आकर्षक र अग्रजहरुले गरेको बर्णनले पनि विनयलाई प्रकाशनतर्फ उत्साहित गरेकै थियो ।

विनयको भित्ते पत्रकारिताले लय लिँदै गएको थियो । छायाँमा पारिएका बस्तीहरुमा जागरण ल्याउँदै थियो, खेताला गोठालाहरु खेतीबाट फकिँदा भारी विसाएर पसीना ओभाउँन्जेल विश्राम गरेर खेतीका कथा पड्थे । भरीयाहरु भारी विसाएर भरीयाकै कथा पड्थे, विद्यार्थीहरु स्कूल सकेर कविता र गाउँका समाचार पढ्थे । गाउँभरीका समाचारको संगालो थियो त्यो । त्यो असत्यहरुको उजागर थियो, सूचनाविहिनहरुको सारथी थियो, आवाजविहिनहरुको आवाज थियो, विचारविहिनहरुको दस्तावेज थियो, दविएकाहरुको भावना पोख्ने स्पेस थियो ।

समयको गतिसँगै प्रविधिको तिव्रतम विकास रोकिने कुरै परिकल्पना बाहिरको कुरा हो । कम्प्युटरको जमानामा पनि कम्प्युटरको सजिला र अप्ठयारा कथा छुट्टै होलान् तर कलम र पत्रकारिताको परिचय कहिल्यै मेटिँदैन, कलम र पत्रकारितालाई विभाजित गरेर छुट्टै कित्तामा राखेर अध्यायको पूर्णता खोजियो भने त्यो मुर्खता हुनसक्छ । यसरी पत्रकारिताको जीवनको अध्याय पूरा हुँदैन, विनयलाई यस्तै लाग्थ्यो । कम्प्युटरलाई मात्रै प्राथमिकतामा राखेर आवरण र साजसज्जामा होइन, गुदीमा के छ त्यो महत्वको रहन्छ भन्दै गर्दा पनि बाहिरी रूपसज्जा, परिधान र नाम विशेषले पनि मर्यादाको अर्थ राख्दो रहेछ भन्ने उदाहरण पनि धेरै छन् । विनयको यो तर्क केही मानिसलाई मन पर्न छोडेको थियो ।

कुरा २०५६ तिरको हो । गाउँमा राती हिड्नेहरुको दोहोरी जस्तै भइसकेको थियो । राजनीति रंग देखिएको भन्ने आरोपमा कलममाथि पनि निगरानी बढाइएको थियो । तर विनयको कलम हत्तपत्त लर्वराएको थिएन । ‘कलम स्वतन्त्र हुनुपर्छ, कलमलाई बन्दुकले छेक्न मिल्दैन’ शिर्षकमा सम्पादकीय लेखेकै निहुँमा विनय एकाएक ब्लाक लिष्टमा परेको खवर आयो । ब्ल्याक लिष्टमा परेपछि विनयको कलम जोखिममा पर्दै गएको हल्लाले एकान दोकान मैदान बन्दै गयो । कसले कतिबेला मृत्युवरण गर्छ, हेक्का र हिसाव नहुने समयमा सचेतना चलाउने अभिलाशा र त्यहाँभित्रपनि विचारमुलक खुला पत्रकारितामा रम्न खोज्ने विनयको ग्रामिण पत्रकारिताको यात्रामा ब्रेक लाग्गो ।

विनयको स्वतन्त्र पत्रकारिताको कलमी यात्रा एकाएक भूमिगत हुनपुग्यो । विनयको कलम भूमिगत हुँदा धेरैलाई चित्त बुझेको भने थिएन । कयौ रातहरु छिप्पिएर दिन बन्दै गए त कयौ दिनहरु खस्किएर रात बन्दै गए । विनय भूमिगत होलटाइमर पत्रकारको लिष्टमा परिणत हुन पुग्यो । गाउँमा कलमको खोजी गर्ने समकालिनहरु थुप्रै थिए तर हँ हँ कसैले विनयको कलम भेटेको खबर ल्याउन सकेनन्, अलिपछि गाउँमा एकाएक हल्ला चलाईयो ‘विनय भूमिगत भए, विनयको कलम पनि भूमिगत भयो ।’ जीवनका उकाली र ओरालीसँगै पौठेजोरी खेल्दै दिनहरु वित्तै गए, कम्प्युटरको किवोर्ड र इन्टरनेटको हाइटेकको जमानामा पुगिसकेको पत्रकारिताको युगलाई सदुपयोग गर्ने उत्साह विनयकालागि निकै ठूलो चुनौती थियो । मृत्यु कि मुक्ती ? जीवन दोसाँध थियो । सहिद कि बेपत्ता प्रश्न गम्भिर थियो । गाउँले अझै खोजीरहेछ तर विनय अझै फर्किएको छैन ।
दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।