18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुस्ताचिन्तन

विचार डा. टीकाराम पोखरेल March 16, 2025, 1:12 am
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

साल मलाई ठ्याक्कै याद छैन । संभवतः २०३० सालतिर हुनुपर्छ । २०७२ सालकै जत्रो त होइन, तर पनि ठूलै नै रेक्टरस्केलको भुइँचालो (त्यसबेला गाउँले भाषामा भूकम्पलाई भुइँचालो भनिन्थ्यो र अहिले पनि भनिन्छ) आएछ । समय अनुमानतः रातको २ बजेतिर होला । भुइँचालोले हाम्रो घरको अगाडिको भाग लडेछ र सुतिरहेको मलाई थिचेछ । बुबा घरमा हुनुहुन्थेन । आमा र दिदीहरुले हतार हतार भग्नावशेष पन्छाएर मलाई निकालेछन् । मलाई कुनै चोटपटक पनि लागेनछ । राती सिरकले पूरै छोपिएर सुतेकाले चोटपटकबाट बचेको मात्र होइन, हतार हतार ढुंगामाटो पञ्छाएर निकालेकोले त्यतिबेला मैले भूकम्पमा परेर मृत्युवरण गर्नुपरेन । तर पनि म धेरै आतंकित भएँ । लडेको घरको भग्नावशेषबाट निकालेर मलाई मतानको भुइँतलामा रहेको ढीकीनेर पुर्‍याइएछ । अनि गुन्द्रीमा राखेर दुध खुवाएको र “सातो आइज ! सातो आइज !” भन्दै निधारमा समातेर सातो बोलाएको अलिअलि सम्झन्छु । मेरो सातो कता गएको थियो, गएको मेरो सातो आयो कि आएन, त्यो चाहिँ याद भएन । तर मैले अहिले याद गर्न सक्ने मेरो जीवनको पहिलो घटना चाहिँ यही भूकम्पपछिको सातो बोलाएको घटना हो । म त्यसबेला ४/५ वर्षको थिएँ ।
त्यो बेला भुइँचालो आउँदा हामीबाट बुबा टाढा भएजस्तै २०७२ साल वैशाख १२ गते भूकम्प आउँदा चाहिँ म परिवारबाट टाढा थिएँ । मेरो घरपरिवार काठमाडौँमा थिए, म पोखरामा । मलाई त ३० सालकै भुइँचालोले छोडेर गएकाले २०७२ सालको भूकम्पबाट चाहिँ मर्दिन जस्तो लाग्थ्यो, तर बालबच्चाको चिन्ताले भने मिनेट मिनेटमा सतायो । उता २०३० सालकै भुइँचालोले बिरामी पारिसकेको र मलाई भुइँचालोसँग चिरपरिचित गराएको मेरो गाउँको त्यो घरलाई २०७२ सालको भूकम्पले पूर्ण रुपमा भग्नावशेषमा परिणत गराइदियो । म भूकम्पपीडितमा दर्ज हुन पुगेँ । म मात्र किन मेरो जिल्लाका धेरै घरपरिवार घरबारविहिन भए । स्वार्थका अनेक गन्ध आउने राहतका पोका र पुन्तुरा जिल्लाभरि छरिए । तर पीडाका भकारीहरु प्रभावितहरुसँगै रहे ।
यी दुई भुइँचालो/भूकम्पको बीचको चार दशकको अन्तरालमा अधिकांश भौतिक संरचनाहरु परिवर्तन भइसकेका छन् । भौतिक संरचना मात्र किन एउटा पुस्ता नै परिवर्तन भैसक्यो । भौतिक मान्छे मात्र होइन पुस्तागत सोचाइ र बुझाइमा पनि परिवर्तन भइसक्यो । भूकम्पलाई बुझ्ने दृष्टिकोणमा समेत परिवर्तन आइसक्यो । त्यसबेलाको बुझाईमा भूकम्पका कारक थिए हात्तीहरु । अहिले भूकम्पका कारक भए पृथ्वीको गर्भमा रहेका प्लेटहरु । त्यसबेलाको बुझाईमा पृथ्वीलाई काँधमा थेगेर बसेका २ हात्तीहरुको काँध गलेकोले काँध फेर्दा पृथ्वी हल्लिन गएको थियो र मेरो घर लडेको थियो । चारदशकपछि त्यो भूकम्प हात्तीको कारण आएन, पृथ्वीको गर्भमा रहेका प्लेटहरुको कारण आयो । पृथ्वीको गर्भमा रहेको तिब्बतीयन प्लेट र इण्डियन प्लेटको घम्साघम्सीले भूकम्प गयो । गर्भगृहमा घम्साघम्सी भारतीय प्लेट र तिब्बतीयन प्लेटको भयो, ध्वस्त चाहिँ नेपालमा रहेको मेरो घर भयो, मेरो छिमेकीका घर भए । मेरा छिमेकीले मृत्युवरण गर्नुपर्‍यो । समग्र मेरो देशले ठूलो क्षति व्यहोर्नु पर्‍यो ।
२०३० सालको म र २०७२ सालको मेरो छोराको उमेर लगभग उस्तै छ । म त्यसबेला भुइँचालो कसरी गयो भन्ने कुरा बुझ्न स्वस्थानीको पुस्तकको अन्तिम पृष्ठको भित्री भागमा छापिएको पृथ्वी उचालेर बसेका २ हात्तीको चित्र हेर्थेँ र भुइँचालोको कथा सुन्थेँ, सुनाउँथेँ, बुझ्थे बुझाउँथेँ । मेरो छोरो चाहिँ अहिले कम्प्युटर र टिभीमा पृथ्वीको गर्भमा तिब्तीयन प्लेट र इण्डियन प्लेटहरु ठोक्किएर नेपालको सतहको जमिन हल्लिएको एनिमेशन हेर्छ र भूकम्प कसरी जान्छ भन्ने कुरा बुझ्छ, बुझाउँछ । २०३० साल होस् वा २०७२ साल भूकम्प जाने तरिका एउटै हो । मान्छे फरक भए पनि २०३० सालको म र २०७२ सालको मेरो छोराको उमेर पनि एउटै हो, तर बुझाइ कति फरक छ । पुस्तागत बुझाइ कति छोटो सयममा कहाँबाट कहाँ पुगिसक्यो ?
–––––– –––––– ––––––
म दोलखाको उत्तरी भेगमा जन्मेको आलुप्रेमी लेकाली हुँ । आलु मलाई असाध्यै मीठो लाग्छ । आलु र लेकको घनिष्ठ सम्बन्ध हुन्छ । लेकमा मिठो आलु फल्छ । म सानो हुँदा मेरो गाउँमा नि आलु खुब फल्थ्यो । आलु जति फले पनि बिक्री गर्ने कल्चर बसेको थिएन । त्यसबेला गाउँमा मोटर बाटो पनि थिएन । गाउँमा मोटरबाटो नभएपछि शहर लगेर बेच्न संभवै थिएन । सबैका घरमा आलु हुने भएपछि गाउँमा कसैले किन्ने कुरा पनि भएन । खाएको खाएरै सकिन्थ्यो, खाएर नसकेको कुहेरै जान्थ्यो । असारको अन्त्यदेखि झण्डै असोजसम्म आलु नै आलुमा डुबिन्थ्यो । म आलुप्रेमीलाई यो समय वर्षकै सबैभन्दा उर्वर हुन्थ्यो ।
आलुमा पनि उसिनेको आलुमा म अलि बढी नै लोभी छु । गाउँमा हुँदा उसिनेको आलु खुब खाइयो । आफ्नै बारीको हरियो खोर्सानी, भोटतिरको ढिके नुन र जंगलको टिमुर मिसाएर सिलौटामा लसलसी पिँधेर आलुका लागि चटनी बनाइन्थ्यो । खाजाको रुपमा मात्र होइन बेलुकाको खानाकै रुपमा पनि आलु खाइयो । कतिसम्म भने मलाई केही काम अह्राउँदा मानिन भने “आलु खान दिउँला” भनेर फकाउने गरिन्थ्यो ।
बुबा पण्डित्याइँ गर्नुहुन्थ्यो । मलाई पनि त्यही पेशातिर लगाउन बुबाले हरप्रयत्न गर्नुभयो तर मैले मानिनँ । बुबाका धेरै यजमानहरु थिए । कहिलेकाहिँ धेरै यजमानका एकैदिन श्राद्ध पर्दा बुबाले नभ्याउने । बुबाले नभ्याएको ठाउँमा मलाई “जा” भन्दा पनि म अँटेर गर्थेँ । यो कुराले बुबा र म बीच सानैदेखि एकखालको द्वन्द्व थियो ।
एक पटकको कुरा हो । चिलंखामा एउटा यजमानको मृत्यु भयो । पण्डितले पनि १३ दिन क्रियाकर्ममा समय दिनुपर्‍यो । मेरो घर बाबरेबाट चिलंखा टाढै पर्छ । पैदल हिँडेर दिनैपिच्छे आउनजान गाह्रो । त्यहाँ १३ दिन बुबा आफैँ बस्दा अरु काम सबै बित्थ्यो । चिलंखा मलाई जा भन्नुभयो । म मानिन । पछि बुबाले मेरो कमजोरी पत्ता लगाउनु भयो, आलु कमजोरी । त्यहाँ धेरै मिठो लेकाली आलु खान पाइन्छ भनेर बुबाले मलाई लोभ देखाउनुभयो । टिमुर हालेको नुन, खोर्सानी र आलु सम्झिँदा मेरो मुख रसाइ हाल्यो । आलुको लोभमा म चिलंखा जान तयार भएँ । बेसरी आलु खाएर १३ दिन सम्म बसेँ । १३ दिन आलु नै आलु खाँदा शरीर जम्मै आलु नै भयो, तर पनि म वाक्क भइँन । बुबाले मलाई आलुको लोभमा इच्छा विपरीतको काम लगाएर आलु बनाए पनि मेरो आलु जिब्रो आलुसँग थाकेन । अहिले पनि त्यो बेला नुन, खोर्सानी, टिमुरसँग आलु खाएको सम्झँदा मेरो जिब्रो रसाउँछ ।
मेरो छोरालाई पनि आलु खुब मनपर्छ । तर ऊ उसिनेको आलु खान जान्दैन । ऊ त आलुदम खान जान्दछ । रेष्टुरेण्टमा गएर फ्रेञ्च फ्राइ खान्छ । आलु जिरातिर मोह छ । स्टिक फुड स्टलमा पुगे पनि सिन्कामा उनेको आलु खाने भनेर जिद्धी गर्छ । शुद्ध आलुका आलुचिप्स, आलु चिल्ली आलुचप त उसको जिब्रोमा झुण्डेको छ नै, आलु मिसेर बनाइने आलु परौठा र समोसा पनि उसका जिब्रामा झुण्डेका छन् ।
म अहिले पनि कहिलेकाहिँ काठमाडौँमा आलु उसिनेर नुन खोर्सानीसँग चोबेर खान्छु । छोरालाई पनि “खा” भन्छु । तर ऊ उसिनेको आलु रुचाउँदैन । “आलु त परिकार बनाएर पो खाने त्यत्तिकै नि खाने हो” भन्दै ऊ उसिनेको आलुबाट पञ्छन्छ । उसिनेको आलु र नुन खोर्सानी पनि एउटा परिकार नै हो भन्ने ऊ बुझ्दैन । ऊ त ठान्दो हो– “मेरा बाउलाई आलु खान पनि आउँदैन ।” मनमनै प्रश्न गर्दो हो– “फ्रेञ्च फ्राइ बनाएर काँटाले टोमाटो ससेजमा चोबेर खानपर्ने आलु बोक्रैसँग उसिनेर बाँदरले जस्तो दुई हातले ताछेर नुन खोर्सानीसँग साउसाउ.... सिउसिउ..... गर्दै पनि कोही आलु खान्छ ?” उसको विचारमा आलुको बोक्रा ताछ्ने काम त आलु पकाउने मान्छेकै हो, खाने मान्छेको होइन ।
उहिले बा मलाई कुनै काम लगाउन उसिनेको आलुको लोभ देखाएर फकाउनुहुन्थ्यो । अहिले म छोरालाई पनि “राम्रो पढ बाबु कक्षामा फस्ट भइस भने फ्रेञ्च फ्राइ खान रेष्टुरेण्ट लैजाउँला” भनेर फकाउँछु । म उहिले उसिनेको आलुमा दंग अहिले मेरो छोरो फ्रेञ्च फ्राइमा दंग । आलु उही, परिकार फरक । उमेर उही, मान्छे फरक । परिवार उही, पुस्ता फरक । चिज उही, स्वाद फरक । खाने त्यही हो, तर खाने, सोच्ने र बुझने शैली फरक ।
–––––– –––––– ––––––
नेपालमा चिया खाने कल्चर कहिलेबाट प्रारम्भ भएको हो, मलाई साल एकीन छैन । तर मेरो जन्मभूमि दोलखाको दुर्गम गाउँमा २०३० सालतिरबाट मात्र चिया खाने कल्चर प्रारम्भ भएको हो । सुरुमा नुन हालेको दुध चिया खाने प्रचलन आयो । दोस्रो चरणमा हल्का चिनी र हल्का नुन मिसिएको समावेशी चिया खान थालियो । अनि बल्ल बल्ल तेस्रो चरणमा टन्न चिनी हालेको दुध चिया खाने चलन चल्यो ।
सुरुका दिनमा झर्का (चरेस, काँसको) कचौरामा चिया खाइन्थ्यो । चिया सेलाउँदा पनि कचौरा कहिल्यै नसेलाउने । चियाले भन्दा पनि तातो कचौराले ओठ पोल्ने । अलि पछि गाउँका एक दुई घरमा स्टीलका गिलास भित्रिए । स्टिलका गिलासमा चिया खान पाउँदा दंग परियो । विस्तारै शहर छेउका छाप्रे होटलहरुमा एकादुई सिसाका गिलास पनि देखिए । चिया खानभन्दा पनि सिसाको गिलासमा चिया खाने मोहले छाप्रे होटलमा गोजीका पैसा बुझाइन्थ्यो । त्यो बेलाको चिया त्यतिमै सीमित सीमित भयो ।
चियाको यस्तै लुकामारीमा गाउँमा एसएलसी पास भएपछि शहर पसियो । भौतारिँदै हिँड्दा एकदिन गोपाल सरको बेकरी क्याफे पुगेँ । गोपाल सर उर्फ गोपाल खड्का मैले एसएलसी पास गरेको दोलखाको शान्ति आदर्श मा.वि. लादुकका शिक्षक थिए । हाइस्कूल पढ्दा दुई महिना जति उनको घरमा भाडामा कोठा लिई बसेको थिएँ । तिनै गोपाल सरलाई जागिरसँग के झोक चल्यो कुन्नि ? उनी हामीले एसएलसी पास गर्नु अगावै जागिर छोडेर एक दिन काठमाडौँतिर हानिए । शहर पसेर ठूलै जागिर खाए होलान् भनेको त बेकरी क्याफे नामको चिया पाउरोटी पसल पो थापेछन् । गाउँबाट शहर पसेर संसारै जित्छु भन्दै भौतारिएको मेरो दिमागले त्यो बेला गोपाल सरलाई पनि त्यस्तै सोच्यो ।
हो, डिल्लीबजार ओरालोमा रहेको तिनै गोपाल सरको पसलको टेबलमा म थिएँ । काउण्टरबाट आएर गोपाल सर पनि मसँगै टेबलमा बसे । सायद आत्मीयता देखाउन चाहन्थे उनी । अनि अर्डर गरे चिया । लाग्न त मलाई भोक पनि लागेको थियो । शिसाभित्रका पूरै बेकरी एकै सासमा सकौँ जस्तो भोक थियो मसँग । तर उनले चिया मात्र अर्डर गरेपछि र्‍याल चुहाउँदै त्यो बेकरी हेर्नुबाहेक मसँग अर्को उपाय थिएन । भोकले पेट हुँडल्दै थियो । म चाहिँ सोच्दै थिएँ– “चियाभन्दा बरु त्यही चियाको मूल्य बराबरको एक पिस पाउरोटी दिएको भए मेरो उदरले अलिकति भए पनि राहत त पाउँथ्यो ।” तर के गर्नु, भन्नु भएन । यस्तै सोच्दासोच्दै चिया टेबुलमा आयो । मान्छे दुई तर चिया एक मात्र । “सर चाहिँ चिया नखाने ?” भनेर मैले सोधेँ । “मैले भर्खर खाएको, तपाइँ लिनुस्” भने गोपाल सरले ।
टेबुलमा हेरेको त चिया त दुईटा भाँडमाथि छ । अर्थात् पहिला प्लेट, प्लेटमाथि सानो कप, कपभित्र दुध हालेको चिया । कपको सँगै प्लेटमा सानो चम्चा पनि छ । अनि चियासँगै सानो एउटा भाँडो पनि सँगै राखेको देखेँ । खोलेर हेरेको चिनी रहेछ । चियाभित्र सानो धागो र त्यो धागोमा लुन्द्रो झुण्डिएको पनि देखेँ । पछि थाहा भो त्यसको नाम टिब्याग रहेछ ।
मलाई फसाद पर्‍यो । कसरी खाने चिया ? बरु दुई जनालाई चिया ल्याएको भए पनि गोपाल सरले जसरी खान्छन् म पनि त्यसै गरी खाने थिएँ । तर चिया एक मात्र । असजिलो महसुस भो मलाई । म अलमलिएँ । गोपाल सरले भने– “लिनुस् न चिया, सेलाउँछ ।” “हस सर लिन्छु” त भनेँ तर चिया खाने तरिका मेरो दिमागमा जँचेन । विचार गरेँ, गिलासमा त चिया पिइन्थ्यो । तर गिलासभन्दा सानो भाँडो (कप) मा सायद पिउन अफ्ठेरो हुने भएकाले नै चम्चाले चिया खानलाई चम्चा राखिएको होला । फेरि कपको चिया पिउँदा त्यो चियाको कपमा रहेको लुर्कोधारी धागो पनि त मेरो मुखमा पर्न सक्थ्यो । यही निष्कर्षसहित म कपको चिया चम्चाले खान थालेँ– “सुरुप.... सुरुप....सुरुप.... ।” मेरो चिया खुवाइ देखेर वरिपरिए भएका सबैजना मुखामुख गर्न थाले ।
गोपाल सर अलमल्ल परे । उनलाई नि के गर्नु कसो गर्नु भो । उनले मलाई ट्रयाकमा ल्याउन मेरो इज्जत नजाने गरी मध्यमार्गी बाटो पक्रे । गोपालसरले भने– “चिनी ठीक भयो कि भएन भनेर चम्चाले चाखेको होला । ठीकै छ अब कपले नै खानुस् ।” गोपाल सरले यसो भन्दासम्म चिया खान नजानेकोले मेरो ओठ कालोनीलो भैसकेको थियो । हतार हतार ओठ पोलाउँदै चिया पिएर म त्यहाँबाट पत्ताटाप ठोकेँ । लाजले धेरै दिनसम्म गोपाल सरका अगाडि मुख देखाउनैँ सकिनँ ।
अहिले मेरो छोरो पनि हल्काफुल्का चिया खान्छ । काँसका कचौरा वा स्टिलका गिलासमा होइन, माटाका ठूला ठूला कपमा । तर चियाभन्दा बढी बुष्ट, कम्प्लान, बर्निभिटा, हर्लिक्स, भिभा खान्छ । चियाभन्दा दुध ठीक भन्छ । काँटा चम्चा र कपहरु उसका अभिन्न अंग छन् । काँसका कचौरा उसले नदेखेको मात्र होइन त्यस्ता कचौरा हुन्छ भन्ने पनि उसलाई थाहा छैन । स्टिलका गिलासमा चिया र दुध खान त परै जाओस्, पानी खान समेत मान्दैन । पानी खाने करुवा, आम्खोरा त झन उसले देख्ने कुरै भएन । कत्रो ठूलो खाडल भैसकेको छ एकै पुस्ता बीचमा ।
–––––– –––––– ––––––
लेकमा काफल फल्छ । मेरो घर नजिकै आफ्नै बारीको पाटाको बीचमा एउटा भीमकाय काफलको रुख थियो । वैशाख जेठमा काफल पाक्ने समयमा मेरो बिदाको दिन त्यही रुखमा बित्थ्यो । विद्यालय जान पर्ने दिनमा पनि बिहान बेलुकाको मेरो आश्रय त्यही काफलको रुख हुन्थ्यो । काफल खाने मात्र होइन, खेल्ने ठाउँ समेत त्यही रुख बन्थ्यो । रुखका टुप्पामा चढेर गाउँको दृश्य हेर्नेदेखि लिएर एउटा हाँगो र अर्को हाँगो गर्दै साथी–साथी बीच बाँदरे दौड प्रतियोगिता पनि त्यही भीमकाय रुखकै हाँगा–हाँगामा हुन्थ्यो । रुखका हाँगा यति बाक्ला थिए कि एक हाँगोबाट अर्को हाँगामा जान हाँगाको फेदसम्म पुग्नै पर्दैनथ्यो ।
एकदिन गङ्गानाथ र म काफलको रुखमा चढेका थियौँ । काफल खाँदाखाँदै वाक्क लागि सकेको थियो, तर रुख छोडेर घर फर्किन मन थिएन । के मुड चल्यो कुन्नि एक अर्का बीच त्यो रुखको हाँगाहाँगामा को चाहिँ बढी दौडन सक्ने भन्ने धाकधक्कु चल्यो । यत्तिकैमा एक हाँगाबाट अर्को हाँगा गर्दै एक जना दौडने र अर्कोले भेट्ने बाजी राखियो । म दौडने गङ्गानाथ भेट्ने गरी रुखमा दौड सुरु भयो । म एउटा हाँगाबाट अर्को हाँगामा फड्को मार्न थालेँ । गङ्गानाथको मलाई लखेट्ने जिम्मेवारी पनि राम्ररी चलिरहेकै थियो । म बाँदर जस्तो एक हाँगोबाट अर्को हाँगोमा के फड्को मार्दै थिएँ, कसो कसो खुट्टाले अर्को हाँगो भेटेनछ । हातले पनि हाँगा छोडिहालेछ । म रुखबाट सोझै तल खसेँ ।
रुख प्रायः कान्लामा वा पाटाको डिलमा हुन्छ तर त्यो रुख बारीको पाटाको बीचमा थियो । रुखको तल भर्खरका मकैका बोट थिए । भर्खर मकै गोडेकोले माटो पनि चलाएको थियो । म त्यही माटोमा पछारिएँ । अहिलेको ढलान घरको हिसाब गर्दा झण्डै चारतला जति माथिबाट खसेको थिएँ होला । तर मलाई कहिँ कतै चोट लागेन । जुरुक्क उठेर एकछिन आफ्नो खुट्टा खुस्केको त्यो रुखको हाँगो हेरेँ । अनि लुरुलुरु घरतिर लागेँ । गङ्गानाथ र मदेखि बाहेक म लडेको कसैले देख्दा पनि देखेन, कसैलाई थाहा पनि भएन । उपद्रो गरेर लडेको हुँदा घरमा लडेको कुरामा सान्त्वना पाइने कुरा पनि थिएन । उल्टो गाली खाइन्थ्यो । अनि तैँ चुप मै चुप । तर तीन चार दिनसम्म मेरो शरीर थरथर कापिरहेको थियो । म एकोहोरो भएको थिएँ । मैले यो घटना बुबाआमालाई नभनेको नभनेकै मेरो मनको गर्भमै बिलायो ।
मेरो छोरो बामे सर्दै गर्दा एक दिन भर्‍याङ उक्लेर एक तलामाथि गएछ । हामी आफ्नै धुनमा थियौँ । भर्‍याङमा बार थिएन, बरु गमलाहरु राखिएका थिए । बामे सर्ने बच्चा त्यही गमला समातेर उभिन खोज्दा होला सायद ऊ गमला सहित तल खसेछ । खसेपछि डङ्ग आवाज आयो । अनि हामीले थाहा पायौँ । दौडेर हेर्न जाँदा गमलासहित बच्चा सिमेण्ट ढलानमा बजारिएको भेटियो । गमलासँगै खसेर गमलामाथि बच्चा परेकाले बाहिरी घाऊचोटपटक त कतै लागेन, तर पनि घरमा रुवावासी चल्यो । बच्चालाई हतार हतार ट्याक्सीमा हालेर कान्ति बाल अस्पताल पुर्‍याइयो । बच्चाले वान्ता पनि गर्‍यो । बच्चा लडेर वान्ता गर्नुलाई खतरा भन्दा रहेछन् । तर बच्चालाई केही भएन । जसरी मलाई रुखबाट लड्दा केही भएको थिएन ।
फरक चाहिँ के भने मैले त्यसबेला रुखबाट लडेको कुरा गरेको भए घरमा गाली खान्थेँ, तर मेरो बच्चाले चाहिँ लड्दा माया पायो । म रुखबाट लडेको बेला मेरा लागि अस्पताल भनेको चन्द्रमामा पुग्नुजत्तिकै थियो तर मेरो छोरो लडेको आधा घण्टामा अस्पतालको बेडमा पुग्यो । डाक्टहरुको साथ पायो । मेरो त डाक्टर भने नि लडेको साक्षी भने नि त्यही गङ्गानाथ र त्यही भीमकाय काफलको रुख । पुस्ताले पारेको भिन्नता र परिवर्तनका आयामहरु कति फरक भैसके ।
–––––– ––––– ––––––
सानोमा गाउँमा हुँदा विहेमा जन्ती जान खुब रमाइलो लाग्थ्यो । तर सकेसम्म हामी बच्चाहरु जन्ती जाने लिष्टमा पर्दैनथ्यौँ । घरको घरमूली नजाने भए मात्र प्रत्येक घरको एक कोटा अनुसार ठूलाको सट्टा हामी बच्चा पर्थ्यौँ । मैले पनि एकदुई पटक यस्तै सट्टा जन्ती जाने मौका पाएको छु ।
बिहेमा सबैभन्दा आकर्षण जन्ते बाख्रो हुन्थ्यो । काटिने बोका नै भए पनि नाम चाहिँ जन्तेबाख्रो । रातभरि विहेकर्म सकेपछि भोलिपल्ट बिहान बोको काटेर बारीका पाटामा भोज हुन्थ्यो । बोका १/२ वटा काटिन्थे, तर जन्तेबाख्रो खान गाउँ पुरै उल्टिन्थ्यो । जन्तेबाख्रो खान बेहुलीतिरको गाउँका सबैलाई छुट हुन्थ्यो । खानका लागि लामबद्ध बारीका डिलमा बस्नुपर्थ्यो । लामका अगाडि पहिले टपरी आउँथ्यो, दोस्रो चरणमा भात आउँथ्यो । अनि तेस्रो चरणमा बल्ल जन्ते बाख्राको झोल । जन्ते बाख्रो बाँड्ने डाडू पन्यूको जिम्मेवारी पाएको भान्सेको निगाहा भए एक दुई चोक्टा पनि फेला पर्थ्यो, नभए त उही झोल मात्र । त्यो पनि टपरीमा झोल अडिए पो । सबै चुहेर बारीको पाटो चाहिँ हिलै हुन्थ्यो हाम्रो पेटमा चाहिँ टपरीमा रहेको बाँकी निस्तो भात । तै पनि यस्तो जन्तेबाख्रो खान हारालुछ गरिन्थ्यो ।
जुन उमेरमा म जन्ते बाख्रो खान खुब रमाउँथे, आज त्यही उमेरको मेरो छोरो जन्ते बाख्रोको किस्सा सुन्दा पत्याउँदैन । उसलाई बारीको पाटाको लामलस्कर जन्तेबाख्रो भोज किंवदन्ती भैसक्यो । विहेमा शहरका पार्टी प्यालेसमा गएर थरी थरिका मासुका परिकार, थरिथरिका खानाहरु, सलाद, डेजर्ट, कोल्ड ड्रिङ्स, हार्ड ड्रिङ्स देखेको बच्चाले कसरी जन्तेबाख्रोको झोलको कथा पत्याओस् । ठूला ठूला माटाका प्लेट र डाठु नै आकारका चम्चाले प्रितिभोज खाएको मान्छेले टपरीमा जन्तेबाख्रो खाएको भन्ने कुरालाई कसरी सत्य मानोस् ।
–––––– –––––– ––––––
सानैदेखि भूतप्रेत र पिसाचहरुको कथा सुनियो । मरेको मान्छेका आत्मा तड्पिएका कथाहरु पनि त्यत्तिकै सुनियो । मुर्कट्टा चुँडेल, मसान, राँके भूत के–केका कथा सुनिएन । भूतप्रेतको शक्तिको कुरा सुनेकाले होला सानोमा भूतप्रेतसँग खुब डर लाग्थ्यो । लादुक पढ्दा बाटोमा मान्छेको लास भेटिन्छ भनेर सिँगटीको उकालो बाटो हतार–हतार दौडिएर पार गरिन्थ्यो । तर म उसबेला डराउँदाको उमेरको मेरो छोरो आज पशुपतिको आर्यघाटमा मरेको मान्छे पोलेको देख्दा रत्तिभर डराउँदैन । बरु जिज्ञासु भएर मलाई भन्छ– “मान्छेलाई किन पोलेको ? के सबै मान्छेलाई मरेपछि पोलिन्छ ?” यस्तो कुरा भनिरहँदा न उसमा डर देखिन्छ न संकोच । तर मरेको मान्छे र भूतप्रेतका कुरासँग नडराएर के गर्नु ऊ कोठामा माउसुली देख्यो भने डरले चारहात उफ्रिन्छ । छेपारा भ्यागुतासँग मात्र होइन, हरियो जातको ठुलो फट्याङ्ग्रो कोठामा आयो भने पनि “आबुइइइ........” भन्दै भाग्छ । डरका तरिका कति फरक छन् ? पुस्ताले कति फरक पार्दैछ ।
–––––– –––––– ––––––
२०४४ सालतिर एसएलसी दिन दोलखा बजार आउँदा दोलखा बजारको स्वयम्भूस्थान अगाडिको मःम पसलमा मःम कस्तो हुँदो रहेछ, चाख्नुपर्‍यो भनेर पसेको थिएँ । पिठोभित्र मासु हालेको डल्लो अचारमा चोबेर खाँदा मलाई निकै नौलो अनुभव भएको थियो । मेरो त्यसबेलाको उमेरमै नपुगेको मेरो छोरो आज मःम मात्र होइन मःमका सबै परिकारको पारखी छ । मःमका बफ, चिकन, मटन, भेज आइटम मात्र होइन स्टीम, फ्राइ र सी मःमसम्मका भेराइटीहरुको ज्ञाता छ । १० वर्षको बच्चोलाई रेष्टुरेण्ट लिएर गयो भने उसलाई मैले “के अर्डर गरौँ” भनिरहनु पर्दैन । टेबुलमा गएर बस्नासाथ हतार हतार मेनु तानेर हेर्न थाल्छ र उल्टो हाम्रा लागि पो “के अर्डर गर्ने हो” भनेर सोध्छ ।
दोलखाको भीमसेन स्थानमा लाग्ने भैरवकुमारी जात्रा हेर्न र कक्षा ७ को किताब किन्न २०३७ सालतिर चरिकोट आएको थिएँ । सिँगटी–चरिकोटको घोडेटो बाटो खनिँदै थियो । धमिरे खोला नजिक भीर कटान हुँदै रहेछ । माटो र ढुंगाको ढिस्को थुप्रिएर त्यहाँनेर बाटो क्रस गर्न अति अफ्ठेरो थियो । भीरबाट तल खसे सोझै तामाकोसीमा । सानोतिनो झोले भारीसहित त्यो भीर काटियो । सम्झँदा अहिले नि खुट्टा थररर काप्छ । तर मेरो छोरो अहिले पुस्तकको व्याग बोकेर विद्यालयको गाडी चढ्ने ठाउँसम्म पुग्न समेत ठसठस कन्छ । त्यो भीरमा हिँडाए कसरी हिँड्दो हो ? आफैँलाई सम्झँदै अचम्म लाग्छ ।
–––––– –––––– ––––––
सानामा म गट्टा खेल्थे, मेरो छोरा अहिले भिडियो गेम खेल्छ । आजकतल त भिडियो गेमबाट पनि इन्टरनेटतिरका गेममा उसको बढुवा भएको छ । उसबेला म झुम्राको भकुण्डो बनाएर खेल्दै मनोरञ्जन लिन्थेँ । अब छोरो कम्प्युटर एप्लिकेशनमा गेमहरु खेल्छ । हामी चिप्लेढुंगा र ठाडो बाटोहरुमा स्याउला ओछ्याएर चिप्लेटीहरु खेल्थ्यौँ, छोरो अहिले ड्रागन सिटी, क्याण्डीक्रस र याङ्ग्रीबर्डमा रमाउँछ ।
नेपाल कृषिप्रधान देश । पहाडमा अधिकांश खेतीपाती हलो र गोरुको भरमा चल्छ । मैले एसएलसी दिएपछि केही समय हलो जोतेँ र खेतीपाती गरेँ । मेरो छोरोले हलो जोतेको चित्रमा बाहेक देखेको छैन । हलो जोतेको चित्रमा देखेको भए पनि अनौ, फाली, जुवा, हरिस, हल्लुण, सोइला, जोतारा, लिँड्को, दाँदे जस्ता हलोसँग सम्बन्धित ठेट नेपाली शब्दको अर्थ बुझ्दैन । तर ऊ मभन्दा बढी बुझ्छ युरोप र अमेरिका । जहाँ ऊ अहिलेसम्म पुगेको छैन तैपनि ऊ त्यहाँको सब जान्दछ । ऊ एकैछिनमा हामीलाई विश्वको विचरण गराउँछ । कोठैमा बसीबसी संसार घुम्छ र घुमाउँछ । फेसबुक, ट्वीटर, इमेल, इन्टरनेट, युटुबमा औला चलाउँछ । ऊ बेलाको म, यो बेलाको ऊ, उमेर उस्तै हो । उस्तै उस्तै उमेरमा कत्रो फरकपन ।
म बच्चा हुँदा जुत्ताविहिन खुट्मा स्कूल जान्थेँ । ड्रेसको त कुरै छाडौँ । तर आज मेरो छोरोको विद्यालयले हप्तामा ३ जोर फरक फरक ड्रेस र जुत्तामा विद्यालयमा हाजिर गराउँछ । हाम्रो पालामा आफूले पढेको पुस्तक पछिल्लो कक्षामा पढ्दै गरेका भाइ बहिनी वा छिमेकीहरुका लागि अर्को बर्ष चाहिन्छ भनेर जोगाइ जोगाइ पढिन्थ्यो र एक सेट किताबले ३ जना सम्मलाई धान्थ्यो । आज एउटाले पढेको पुस्तक अरुलाई पनि पुर्‍याउने त परै जाओस् बरु किनेको ६ महिना पनि नभई पुस्तक धुजाधुजा हुन्छ । हामीले विद्यालयमा बस्ने डेक्स बेञ्च नपाएर धेरै बर्ष सुकुलमा बसेर पढ्यौँ तर मेरो छोराको विद्यालयमा कमन डेक्स बेञ्च होइन उसका लागि सिंगल डेक्सबेञ्च छ । पढ्ने पढाउने अक्षर तिनै क, ख, ग हुन् । तिनै १, २, ३ हुन् । तिनै ब्, द्य, ऋ, म् हुन् । तर शैलीमा कति कति भिन्नता छ ।
दिसापिसाब गर्न बारीका पाटा र जंगल झाडी चहार्दै हिँड्ने म समेत अहिले अट्याच बाथरुममा आइपुगेको छु । ढुंगा, माटो र काठको घरबाट सिमेण्ट ढलानमा मार्बल विछ्याएको घरमा प्रवेश गरेको छु । कालोपाटीमा मैले लेखेका तीनै अक्षर आज कम्प्युटर स्कृनमा कोर्न थालेको छु । मलाई समेत पछिल्लो पुस्ताले आफूतिर डोर्‍याउँदै छ जस्तो लाग्दैछ । चाहेर वा नचाहेर म समेत त्यतातर्फ तानिएको छु । नवपुस्ताको नेतृत्वमा ।
–––––– –––––– ––––––
सोच्दै जाँदा लाग्छ, संसार कति छिटो छिटो परिवर्तन हुँदोरहेछ । एकपुस्ता र अर्को पुस्ताको बीचमा सोचाइ, बुझाइ र भोगाइहरु कति फरक हुँदा रहेछन् । विज्ञान र प्रविधिले जीवनशैलीमा कति भिन्नता ल्याएको छ । मेरो बुबाको पुस्ता र म बीच जति भिन्नता छ म र मेरो छोरा बीच अझ ठूलो भिन्नता छ । मेरो छोरा र मेरो नाति बीच त झनै ठुलो भिन्नता आउला । सायद विकास भनेको यही नै हो । त्यही कुरा खाँदा पनि खाने शैलीहरु, त्यही काम गर्दा पनि गर्ने शैलीहरु, त्यही खेल्दा पनि खेल्ने शैलीहरु, बुझ्नपर्ने कुरा एउटै भए पनि बुझ्ने शैलीहरु, हिँड्ने ठाउँ र पुग्ने ठाउँ त्यही भए पनि हिँड्ने शैलीहरुमा कत्रो परिवर्तन छ ? अघिल्लो पुस्ताको कुरा पछिल्लो पुस्तालाई किंवदन्ती जस्तो लाग्ने र पछिल्लो पुस्ताको कुरा अघिल्लो पुस्ताले पचाउनै नसक्ने जस्तो पुस्तागत भिन्नता र एकताको दोसाँधको संक्रमणमा समसामयिक युग बाँच्दो रहेछ । यस्तै संक्रमणमा जीवन र जगत भने निरन्तर चलिरहेछ । अघिल्लो पुस्ताको विदाई र पछिल्लो पुस्ताको स्वागत गर्दै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।