आऊ, तिम्रो न्यानो स्पर्शले मलाई अंगालोमा बाँधिदेऊ,
फेरि ती आँखाले चुम हिमालका शीतल ओठहरू,
जसको निस्सासिएको सास तिमीलाई सम्झेर तातिएको छ।
सुम्सुम्याऊ तराईका ममतामयी काखहरू,
जहाँ गहुँका बाला झुकेका छन् प्रतीक्षाको बोझले।
उठाऊ ती लडेका रुखहरू,
जसका जराहरू अझै तिमीलाई अंगालो हाल्न खोजिरहेका छन्।
धानका बालाहरूलाई बताइदेऊ,
कि तिमी एक दिन आउँछौ, बर्सात बनेर।
तिमी गएको दिनदेखि निदाउन सकेको छैन पहाड,
मधेस तिम्रो बाटो कुरेर भिज्दैछ आँसुमा।
माटोको गन्ध आज पनि तिम्रा पाइला खोज्दैछ।
देश देशजस्तो किन लाग्दैन आज?
सिरिसका फूलहरू मलिन छन्,
चौतारीका पीपल रूख मौन छन्,
पोखरीका परेवा हराएका छन्।
ओ प्रवासी हावा, फर्की देऊ!
आऊ, एक पल्ट फेरि देशलाई देश बनाइदेऊ।
बिराटनगर