18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समालोचक डा.राजकुमार छेत्रीसँग कुराकानी

वार्ता नर्वु शेर्पा March 13, 2025, 5:43 pm

सम्पादक- हजूरले आफ्नो परिचयसहित पारिवारिक जानकारी दिनु हुन्छ कि ?
डा. छेत्री- आदरणीय सम्पादक प्रेम नर्वुजी, सादर नमस्कार। तपाईँले म लगायत मेरो परिवारको परिचयबारे जान्ने जिज्ञासा राख्नु भएको रहेछ। तपाईँ हाम्री आमा पत्रिकाको एकजना कर्मठ, निष्ठावान र उत्तरदायी सम्पादक भएको हैसियतले सबै जना सर्जकहरूसित एक आपसमा परिचय आदान-प्रदान होस् भन्ने महत् उद्धेश्य र अभिप्रायः जान्न पाएर अत्यन्त हर्ष लाग्यो। यस कार्यको निन्ति यहाँलाई अशेष धन्यवाद, अजस्र बधाईसहित हार्दिक शुभ कामना प्रकट गर्दछु। मेरो जन्म दार्जिलिङ जिल्लाको एउटा अभेक ठाउँ नै भन्दा हुने सुकेपोखरी खण्डविकास क्षेत्रअन्तर्गत नागरी चियाबारीको अरेञ्ज भिल्ला, बहादुर गाउँमा भएको हो। आमा श्रीमती मनमाया छेत्री (पराजुली) र बुबा श्री मनबहादुर कार्कीको परिवारमा जन्म लिएका तीन छोरी र तीन छोरामध्ये म कनिष्ठ पुत्र हूँ। मेरो जन्म १० सितम्बर १९७१ को दिन भएपनि सरकारी कागज पत्रअनुसार २४ मई १९७३ लाई नै आफ्नो आधिकारिक जन्म तिथि मान्न परिरहेको स्थिति छ।

सम्पादक- हजूरले आफ्नो शिक्षा कतिसम्म गर्नु भयो, केही जानकारी दिनु हुन्छ कि?
डा. छेत्री- शेर्पाज्यू, मेरो प्राथमिक शिक्षा गाउँकै सरकारी बुनियादी पाठशालाबाट सुरु भएको हो। चौथो श्रेणीसम्म गाउँकै पाठशालामा पढेपछि नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षा ग्रहण गर्न पाँचौं श्रेणीमा भर्ना लिएँ। यसै विद्यालयबाट पाँचौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्म अध्ययन गरी सन् १९९१ सालमा उच्च माध्यमिक परीक्षा उर्तीण गरी खरसाङ महाविद्यालयमा स्नातक तहको अध्ययनार्थ भर्ना लिएर सन् १९९४ सालमा उत्तर बङ्गाल विश्वविद्यालय भरीमा नेपाली अनर्समा सर्वोच्च अङ्कसहित स्नातक उर्तीण गरें। त्यसपछि उच्चशिक्षा अध्ययनको निम्ति उत्तर बङ्गाल विश्वविद्यालयमा भर्ना लिएँ। उबविविबाट नेपाली विषयमा सर्वोच्च अङ्क-(डिस्टिङ्सन)सहित स्नातकोत्तर र प्रथम श्रेणीमा प्रथम भई एम. फिल सन् १९९८ सालमा उत्तीर्ण गरें। तर शिक्षाको भोग भने कहिल्यै नमेटिँदो रहेछ भन्ने कुरो साँचो हो भन्ने मलाई लाग्यो। एम.फिल.उतीर्ण गरेपछि विश्वविद्यालय अनुदान आयोग(UGC)-द्वारा सञ्चालित शोध छात्रवृत्तिसहित नेट परीक्षा सन् १९९८ को जूनमा उतीर्ण गरें अनि सन् १९९९को मार्चदेखि पिएच. डि. शोधकार्यमा संलग्न रहें। विश्वविद्यालय अनुदान आयोग प्रदत्त पाँचवर्षीय (सन् १९९९-२००४) शोधवृत्तिको सहयोगमा मैले मेरा शोध-निर्देशक गुरु प्रोफेसर डा. मोहन पी. दाहालको कुशल शोध-निर्देशनमा शिवकुमार राईका कथामा शिल्प र वस्तुविधान विषयमा शोधकार्य सम्पन्न गरें। यसरी मेरो शैक्षिक यात्रा बि.ए.(अनर्स), एम. ए., एम. फिल र पिएच. डि. शोधकार्य सम्पन्न गरेपछि भने विराम चिन्ह लागेको जस्तो स्थिति छ अहिले।

सम्पादक- हजूर अहिले कुन पेशामा हुनुहुन्छ, यहाँ बताइ दिनुहुन्छ कि ?
डा. छेत्री- शोधकार्य चलिरहेकै समयावधिमा मैले पश्चिम बङ्गाल लोक सेवा आयोगबाट राजपत्राङ्कित पश्चिम बङ्गाल शैक्षणिक सेवा (WBES) उत्तीर्ण गरी दार्जीलिङ सरकारी महाविद्यालयको स्नातकोत्तर नेपाली विभागमा प्रथमतः व्याख्याता (Lecturer)-को रूपमा सन् २००५ सालको अगस्त महिनामा नियुक्ति पत्र प्राप्त गरें। अतः विगत १७ वर्षदेखि (अर्थात् सन् २००५ सालदेखि) यसै दार्जीलिङ सरकारी महाविद्यालयको स्नातकोत्तर नेपाली विभागमा संलग्न रही उप-प्राध्यापक (Assistant Professor) हुँदै हालमा सह-प्राध्यापक (Associate Professor) को रूपमा कार्यरत् छु। सबै शैक्षिक योग्यता हुँदाहुँदै पनि सन् २०२१ सालको अगस्त महिनादेखि पूर्ण प्राध्यापक (Professor)-को प्रन्नोति भने थाँतीमै रहेकाले सह-प्राध्यापककै रूपमा कार्यरत् छु अहिलेसम्म, प्रेमज्यू।

सम्पादक- हजूरको साहित्यिक-सामाजिक कार्यहरू कहिले र यसमा के कस्तो कार्यहरू गर्नुभयो, केही जानकारी दिनु हुन्छ कि ?
डा. छेत्री- त्यस्तो उल्लेखयोग्य साहित्यिक कार्यहरू त केही पनि गर्नै सकिएको छैन, नर्वुजी। आजको दिनससम्म खै के नै पो गर्न सकियो र । तर निरन्तर सिक्ने र केही राम्रो काम गर्ने प्रयासमा भने सदा लागिपरेकै छु। हेरूँ के कति गर्न सकिने हो। हाइ स्कूलको विद्यार्थी छँदादेखि नै केही कविता, कथा, निबन्ध र नाटक-एकाङ्कीहरू लेख्ने प्रयास गरियो। त्यसताक नागरी हाइ स्कूलबाट निस्किने पटल पत्रिका संस्करण-मा केही कविता र निबन्धहरू छापिएको हो। त्यसपछि सिलगढीबाट शिवकुमार राईको संयुक्त सम्पादनमा निस्किने हिमालचुली दैनिक पत्रिकामा मेरा केही निबन्ध र कविताहरू छापामा आएको हो। त्यसैताक मेरा आदरणीय शिक्षक सपन कुमार घोषको सहयोग र प्रोत्साहनमा आकाशवाणी खरसाङ केन्द्रबाट साप्ताहिक रूपमा प्रसारित हुने युवावाणी कार्यक्रममा मेरा केही निबन्ध र कविताहरू पनि प्रसारण भएका थिए। त्यसका अतिरिक्त विभिन्न साहित्यिक गोष्ठीहरूमा पनि कविता, कथा, निबन्ध र ससाना समीक्षाहरू पाठ गर्न थालें। यस्ता प्रयास र मसिना कार्यहरूले पनि मेरो साहित्य लेखन र पठनमा धेरै सहयोग र प्रेरणा मिलेको रहेछ भन्ने आज थाहा गर्दैछु।

हामी हाइस्कूलको विद्यार्थी छँदासम्म पनि गाउँमा आयोजना हुने सरस्वती पूजा, सार्वजनिक पूजा र शिवरात्री पूजाहरूको विशेष अवसरमा नाटक र एकाङ्कीहरू मञ्चन हुने गर्दथ्यो। मेरा अग्रज दाजुहरूको अनुसरण-अनुकरण गर्दै रहरै रहरमा मैले पनि नेपाली आमा (सन् १९८७), भोलि हड़ताल हुन्छ (सन् १९८८), युगले जन्माएको मौन आस्थाहरू (सन् १९८९) र विवशताभित्रका आस्थाहरू (सन् १९९१) शीर्षकमा चारवटा पूर्णाङ्की नाटकहरू लेखें। ती नाटकहरूमध्ये नेपाली आमा गाउँमै कृष्णकला संस्थाको सौजन्यमा र युगले जन्माएको मौन आस्थाहरू युगानी कला संस्थानको सौजन्यतामा सन् १९८७ र सन् १९८९ सालमा प्रदर्शन भएको हो। भोलि हड़ताल हुन्छ शीर्षक नाटक चाहीँ आफू त्यसताक दशौँ श्रेणीको विद्यार्थी थिएँ, यसैले ५ सितम्बर १९८८को दिन शिक्षक दिवसको अवसरमा नागरी हाई स्कूलको नेहुरे भवनमा मञ्चन गरिएको थियो। विवशताभित्रका आस्थाहरू नाटक चाहीँ सन् १९९१ सालमा नागरी अरेञ्ज भिल्लामा नवगठित गोल्डन साइट युथ क्लबको सौजन्यतामा पूर्णरूपमा प्रदर्शनको निम्ति तयारी भएपनि कतिपय राजनैतिक कारणले गर्दा नाटक भने मञ्चन हुन सकेन।

हाई स्कूलको विद्यार्थी कालमै मन मिल्ने साथीहरूको हुच्चाइमा सन्दर्भ (सन् १९८८) पत्रिकाको प्रवेशाङ्क प्रकाशनमा ल्याएका थियौं तर यसलाई हामीले निरन्तरता भने दिन सकेनौं। खरसाङ कलेजमा स्नातक गर्दा भने गोर्खा जन पुस्तकालय, अरूगि साहित्य संस्थान, समवाय साहित्य सदन तथा आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारित विभिन्न साहित्यिक कार्यक्रमहरूमा निरन्तर रूपमा सहभागी बन्ने सुनौलो अवसर मिलेपछि निकै ठूलो साहस र साहित्यिक माहोल पाएको बोध भयो। त्यसै समयावधिमा आकाशवाणी खरसाङ केन्द्रबाट नाटक विधामा अडिसन उत्तीर्ण भएपछि आजसम्म लगभग चालिसवटा जति रेडियो नाटक र रूपकहरूमा सहभागी बन्ने मौका पाएँ। यसै बेलादेखि मैले समसामयिक साहित्यिक पत्र-पत्रिका र रेडियोबाट प्रसारित साहित्यिक कार्यक्रमतिर अलिअलि समीक्षात्मक निबन्ध वा समालोचना विधामा पनि कलम चलाउन थालेको हूँ।

केही पछि उत्तर बङ्गाल विश्वविश्वविद्यालयमा एम. ए. पढ्न पुगेपछि भने कविता र कथालेखन प्रायः शून्यप्रायः नै रह्यो भन्दा हुन्छ। यस समयावधिमा सिर्जनात्मक साहित्य लेखनभन्दा सम्पादकीय प्रतिवेदन, समालोचना र सङ्गोष्ठी कार्यपत्रहरू भने धेरै लेखियो, लेखिएको रहेछ। एम. फिल र पिएच.डि. का निम्ति शोधकार्यरत् छदाँ अझ फराकिलो अध्ययन-अनुसन्धान गर्ने, विभिन्न समयमा आयोजित राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्य सङ्गोष्ठी र अधिगोष्ठीका लागि कार्यपत्र लेखनमा अनि शोध-पत्रिका-(जर्नल)हरूका निम्ति शोध-पत्र लेखनमा अभिरूचि बढ्न थाल्यो। आवश्यकताले पनि मलाई त्यतातिर प्रेरित गर्‍यो। विभिन्न क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्य सेमिनारहरूमा प्रस्तुत गरिएका र विभिन्न शोध-पत्रिका तथा स्तरीय साहित्यिक पत्रिकाहरूमा प्रकाशनमा आएका समालोचनात्मक लेखहरूको चयन गरी प्रथमपल्ट सिर्जनाको समावलोकन शीर्षकमा एउटा समालोचनाको पुस्तक सन् २००९ सालमा प्रकाशनमा ल्याएँ। त्यसपछि त निरन्तर जस्तो नै सिर्जनात्मक र समालोचनात्मक पुस्तकहरू प्रकाशनमा आइरहेका छन्।

सम्पादक- हजूरको अहिलेसम्म कतिवटा कृतिहरू, पत्र-पत्रिकाहरू प्रकाशित गर्नुभयो, केही जानकारी दिनु हुन्छ कि ?
डा. छेत्री- मेरा हालसम्म चारवटा समालोचनाका पुस्तकहरू सिर्जनाको समावलोकन (सन् २००९-गामा प्रकाशन, दार्जिलिङ, दोस्रो संस्करण सन् २०११-श्याम ब्रदर्श प्रकाशन, दार्जिलिङ), अवलोकन अवबोधन (सन् २०११-मनमाया प्रकाशन, नागरी), कृति आलोकन (सन् २०१४-मनमाया प्रकाशन, नागरी) र दृष्टिपथ (सन् २०१८-मनमाया प्रकाशन, नागरी) नाममा प्रकाशनमा आइसकेका छन्। साहित्यिक अन्तर्वार्ताहरूको सङ्ग्रह अक्षरहरूमा संवाद (सन् २०१८) र कविता-मुक्तक सङ्ग्रह शब्दहरूको देशमा (सन् २०१९-मनमाया प्रकाशन, नागरी) र भूमिकाको आयाम (भूमिका सङ्ग्रह, सन् २०२१-मनमाया प्रकाशन, नागरी) पनि प्रकाशित छन्। यसका अतिरिक्त साहित्य अकादमी, नयाँ दिल्लीको सौजन्यतामा शिवकुमार राई रचना सञ्चयन (सन् २०१२) र भारतीय साहित्य श्रृङ्खलाअन्तर्गत पूर्ण राई (मनोग्राफ, सन् २०२१) पनि अघिबाटै प्रकाशनमा आइसकेका छन्। अब निकै ठूलो अनुसन्धानमूलक समालोचना कृति शिवकुमार राईको कथाशिल्प पनि प्रकाशनको अन्तिम तयारीमा रहेको कुरो तपाईँहरूलाई सगर्व जानकारी गराउनु पाउँदा आफैलाई पनि आनन्द लागिरहेको छ।

मैले हालसम्म सम्पादन गरेको साहित्यिक पत्र-पत्रिकाहरूमा सन्दर्भ (सन् १९८८, नागरी चियाबारी), अर्किड (सन् १९९३, खरसाङ कलेजको वार्षिक पत्रिका), कञ्चनजङ्घा (सन् १९९५-९६, उत्तर बङ्ग विश्वविद्यालयको वार्षिक पत्रिका), साहित्य सन्देश (सन् २००१-२, उत्तर बङ्ग विश्वविद्यालयको शोधार्थीहरूको सौजन्यमा प्रकाशित साहित्यिक बुलेटिन), बाडुली (सन् २००३, सिलगढी, देवकोटा सङ्घको मुखपत्र, समालोचना विशेषाङ्क), दियालो (सन् २००९, स्वर्ण जयन्ती अङ्क, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ), पाइन्स एण्ड क्यामेलियाज (सन् २००४, २००६, २००८, दार्जिलिङ सरकारी महाविद्यालयको वार्षिक पत्रिका), चरित्र (समालोचना अङ्क, २०१२, चरित्र प्रकाशन, कालेम्पोङ) आदि पत्र-पत्रिकाको सम्पादन कार्य गरेको छु। यसका अतिरिक्त आजभोलि दैनिक पत्रिकामा पनि केही कालसम्म सह-सम्पादकको रूपमा कार्यभार निर्वाह गरेको छु।

सम्पादक- हजूरको साहित्य लेखन बाहेक अन्य कुनै कार्यहरूमा रूचि छ कि ?
डा. छेत्री- सहृदयी नर्वुजी, साहित्य लेखन मेरो रूचि भित्रैको विषय भएपनि सबैभन्दा प्रमुख चाहीँ होइन। प्रथम कुरो आफू महाविद्यालयमा पढाउने गुरुबाबु र विद्यानुरागी पनि भएकोले मेरो पहिलो रूचि र कर्तव्य भनेको आफूले सकेसम्म पढ्नु र विद्यार्थीहरूलाई पढाउनु हो। त्यसपछि मात्र साहित्य लेखनको पालो आउँछ। छोटकरीमा भन्नु हो भने पठन-पाठन र लेखन नै मेरो पहिलो आवश्यकता र रूचिको क्षेत्र हो। त्यसपछि मेरो अभिरूचिभित्र पर्ने विषय विभिन्न ठाउँको भ्रमण गर्नु पनि हो। मलाई भ्रमणमा अलिक बढी नै रूचि छ। भ्रमण गर्दा आफू पुगेको स्थानको भौगोलिक, सामाजिक-सांस्कृतिक, आर्थिक, राजनैतिक र धार्मिक गतिविधिको पनि एकैसाथ धेरथोर ज्ञान हुन्छ। पुस्तकको पानामा पढेको भन्दा आफैले प्रत्यक्ष भोगेको, बुझेको, बोध गर्नु पाउँदा कता हो कता ठूलो आनन्द हुन्छ। भ्रमणबाट आफ्नै आँखामा संसार अटाँउन पाइन्छ। चाहेर पनि सबै मानिसले विश्वभर त के आफ्नै देशको भ्रमण गर्न पनि विभिन्न कारणले भ्याउँदैनन्, सक्दैनन्। म आफु पनि आफ्नो देशको केही प्रमुख सहरहरू बाहेक सोचें जति सबै ठाउँ जान पाएको छैन। विदेशको नाममा नेपाल र भुटानको केही भागमा सौभाग्यले पाइला टेक्ने मौका पाइयो भनौं। आफू सायद कहिल्यै पुग्न नपाइने स्थानहरू भन्ने ठानेर पनि नियात्रा साहित्यका पुस्तकहरू खोजी खोजी पढ्ने गर्छु। नियात्राकार लैनसिंह वाङ्गदेल, तारानाथ शर्मा, सलोन कार्थक, एम.बी. प्रधान, ज्ञानबहादुर छेत्रीहरूको नियात्रा लेखनबाट म धेरै प्रेरित र प्रभावित बनेको छु।

सम्पादक- हजूरले अहिलेसम्म कुन-कुन सम्मान.पुरस्कारहरू प्राप्त गर्नु भयो, केही जानकारी दिनु हुन्छ कि ?
डा. छेत्री- त्यस्तो गतिलो सम्मान र पुरस्कार पाउने लायक मैले के नै पो काम गरेको छु र नर्वुजी। कति साहित्यिक साथीहरू देखेको छु पुस्तक र सम्मानको मात्र पछि-पछि कुदि हिँड्ने। उनीहरूले आफूले भने जस्तो पुरस्कार र सम्मान पाएनन् भने पुरस्कार दाता संस्था र व्यक्तिहरू निष्पक्ष नभएको भन्दै आलोचनाहरू गरिहिँड्ने, गनगन गरिहिँड्ने गरेको पनि मैले देखेको र सुनेको छु । सानोतिनो काम गरेर ठूल्-ठूलो पुरस्कार र सम्मानको दावेदारी गर्नेहरूसित मेरो ज्यादा भन्नु केही छैन। सौभाग्यले म त त्यस्तो वर्गभित्र कहिले परिनँ र त्यस्ता नौटङ्कीबाजहरूको चक्रव्यूहमा कहिल्यै नपरूँ पनि। आजसम्म कसैले त्यस्तो कुरोमा लोभ्याउने आँट र साहस गरेनन् यो नै मेरो निम्ति सबैभन्दा ठूलो पुरस्कार र मप्रतिको सम्मान भाव हो भन्ठान्छु। तथापि मैले आजसम्म शिक्षा र साहित्यको क्षेत्रमा समाजप्रति गरेको कार्यहरूको मूल्याङ्कन गर्दै युनाइटेड इङ्गलिस स्कूल (सन् २००५, अरेञ्ज भिल्ला, मगरजोङ), जेएसटीओ (सन् २००७ राङभाङ भेल्‍ली), नव योजना समाज (सन् २०१३, त्रिशुले गाउँ, मंगरजोङ), सत्य सेवा साई समिति (सन् २०१०, मगरजोङ), कृष्ण प्रणामी मन्दिर समिति (सन् २०१०, पोख्रेबुङ), दार्जिलिङ सरकारी महाविद्यालय (सन् २०१२, दार्जिलिङ), दिउल साहित्य संस्थान (सन् २०१४, मिरिक), नव-ज्योति पूर्व सैनिक समाज (सन् २०१५, मंगरजोङ), नेपाली साहित्य सम्मेलन (सन् २०१५, दार्जिलिङ) आदि जस्ता संस्थाहरूले सम्मान-पत्रसहित सम्मान जनाएको छ। यस्तै प्रकार पश्‍चिम सिक्‍किम साहित्य प्रकाशनबाट स्रष्टा पुरस्कार (निबन्ध विधामा, वर्ष २००८) र बलिदास बस्नेत स्मृति साहित्यिक पुरस्कार (कृति आलोकन- समालोचना कृतिको निम्ति सन् २०१५, सिलगढी)-बाट पुरस्कृत बनेको छु। संख्यामा थोरै देखिए पनि यी पुरस्कार र सम्मानहरू मेरा कार्यप्रति गरिएका करौडौं मूल्य बराबरका महत्वपूर्ण पुरस्कार र सम्मान हुन् भनी गर्वसाथ भन्न सक्छु। साँचो अर्थमा यी सम्मान र पुरस्कार दाता संस्थाहरू मेरा अस्सली मूल्याङ्कन कर्ता मात्र होइन, यसभन्दा अझबढी मार्गदर्शक र प्रेरणाका स्रोतहरू पनि हुन्।

सम्पादक- हजूर सामाजिक-साहित्यिक कुनै सङ्घ-संस्थासित संलग्न हुनुहुन्छ कि ?
डा. छेत्री- केही साहित्यिक र सामाजिक सङ्घ-संस्थाहरूको म आजीवन सदस्य रही आएको छु। यी सङ्घ संस्थाहरूमा म आजीवन सदस्य रही आएको भए पनि सबैमा बराबरी समय दिन भने सकेको छुइनँ। यो त चाहेरै पनि सम्भव हुने कुरै होइन। नेपाली साहित्य सम्मेलन (दार्जीलिङ), गोर्खा दुःख निवारक सम्मेलन (दार्जीलिङ), गोर्खा जन पुस्तकालय (खरसाङ), शिवकुमार राई स्मृति अकादमी (खरसाङ), सिलगढ़ी देवकोटा सङ्घ (सिलगढ़ी) तथा सृजना कला कुञ्ज (अरेञ्ज भिल्ला, मगरजोङ)-को आजीवन सदस्यको रूपमा रहेको छु। तथापि नेपाली साहित्य सम्मेलन, दार्जिलिङलाई अन्य साहित्यिक-सामाजिक संस्थाहरूको तुलनामा अलिक बढी समय दिएको छु। अतः नेपाली साहित्य सम्मेलनमा म वर्ष २००८-१०मा कार्यकारिणी सदस्य र वर्ष २०१०-२०१२ को कार्यकारिणी समितिमा सह-सचिवको रूपमा चयनित थिएँ।

सम्पादक- अन्तमा हजूरले पाठक र हाम्री आमा पत्रिकालाई के-कस्तो सुझाव र सन्देश दिनु हुन्छ ?
डा. छेत्री- आदरणीय सम्पादक नर्वुजी, म के सन्देश दिउँ, त्यस्तो सन्देश र सुझाव दिने त भइहालेको जस्तो लाग्दैन। तपाईँले हाम्री आमा साहित्यिक पत्रिकाको माध्यमद्वारा साहित्य लेखनमा लागेका अग्रज-अनुज अर्थात् प्रवीण-नवीन सबै साहित्यकारहरूलाई समान महत्व र स्थान दिनु भएको छ। अझ नवोदित साहित्य सर्जकहरूलाई यहाँले निकै महत्वका साथ आफ्नो पत्रिकामा महत्व दिँदै आउनु भएको छ। यो साँच्चै सराहनीय कार्य हो। यहाँले आँउदो दिनहरूमा हाम्री आमा पत्रिकाको माध्यमबाट अझ धेरैवटा कार्य-योजनाहरू सम्पन्न गर्नुहुने नै छ भन्ने कुरो म विश्वस्त छु। यसरी नै निरन्तर साहित्य लेखन र प्रकाशन कार्यमा लागिरहनु होस्, यहाँको पत्रिकामा फक्रेका फूलहरूबाट उच्च कोटीका साहित्य सिर्जना भइरहोस् भनी बधाई अभिनन्दनसहित हार्दिक शुभ कामना प्रकट गर्दछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।