18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मानस खण्डकाव्यको चिरफार

कृति/समीक्षा सदानन्द अभागी March 13, 2025, 5:32 pm
सदानन्द अभागी
सदानन्द अभागी

स्वर्गीय पिता पं. तुलसीरामप्रति समर्पण गरिएको यस खण्डकाव्यका काव्यकार हुन् इन्द्रराज पौडेल । पीडा –कवितासङ्ग्रह (२०६१) लिएर कृतिकारको रूपमा दर्शिएका इन्द्रराज पौडेल २०६२ सालमा मानस खण्डकाव्य लिएर काव्यकारको रूपमा साहित्य जगतमा प्रस्तुत हुन्छन् । बर्दीयाली साहित्य समाजले प्रकाशित गरेको यो खण्डकाव्यको प्रकाशकीयमा अध्यक्ष राजेन्द्रप्रसाद धिताल यस काव्यको र कविको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘‘ अनन्त आशाका दीप्तिमय किरणहरू कवि प्रतिभामा प्रज्वलित भै रहेका छन् । ‘पीडा’ कवितासङ्ग्रहबाट ‘मानस’ खण्डकाव्यतिर लम्कनु भएका कवि निबृत्तितिर हैन प्रबृत्तितिर लम्कनु भएको छ ।’ इन्द्रजीको यो खण्डकाव्य छन्दप्रतिको मोह हो । उहाँले लेखकीयमा लेख्नु भएको छ –‘यो भावनाको सङ्गालो छन्दप्रतिको मेरो आस्थाको संगालो हो ।’ इन्द्रजी छन्द बचाऊँ अभियानमा लागेको हुनाले उहाँको उद्देश्यलाई यो काव्यले प्रमाणित पनि गरेको छ । यस काव्यलाई सुभेच्छात्मक उद्गार शीर्षकमा छन्द बचाऊ अभियानका सञ्चालक माधव वियोगीले यस कृतिको मूल्याङ्कन गर्दै ‘सुत्रात्मक र आख्यानीकृत दुवैखाले भाव संयोजनमा कवि इन्द्रराज पौडेल खप्पिस देखिनु भएकोले त्यस क्षेत्रमा अभाव खड्किएको महाकाव्य तर्फ पनि उहाँको कलम गतिशील बन्नुपर्छ ।’ यो राम्रो सुझाव हो र इन्द्रराज पौडेलको कलम महाकाव्य लेखनमा अगाडि बढ्ने छ भन्ने आशा गर्न सकिन्छ । बरिष्ट कवि इन्द्रबहादुर भण्डारीले यस कृतिको विवरणात्मक भूमिका लेख्नु भएको छ । भण्डारी भन्नु हुन्छ – ‘उमेरको परिपक्कताले विचारको परिपक्कता, विचारको परिपक्कतासँगै काव्यकलाको परिपक्कतालाई कविले यस कृति मार्फत देखाउने प्रयास गरेका छन् । यो सुखको कुरा हो । ’ कविले यस खण्डकाव्यमा पृष्ठ १ मा मनसुवा र पृष्ठ २देखि ५९सम्म मानस खण्डकाव्यलाई १८ छालमा प्रस्तुत गर्नु भएको छ । १३ छालसम्म ४ हरफका १७७ श्लोक छन् भने छाल १४देखि छाल १७ सम्म दुई हरफका ८४ श्लोक छन र पुन १८ छालमा ४ हरफका ७ श्लोक छन् । छाल ११मा २ हरफका १श्लोक छ । यस खण्डकाव्यमा जम्मा २६६श्लोक छन् । संरचनाको हिसावमा खण्डकाव्य मझौला आकारमा लिइन्छ । कविताहरू लघु आकारका मानिन्छन् भने महाकाव्य बृहत रूपमा लिइने गरिन्छ ।
यस खण्डकाव्यको भूमिकामा इन्द्रबहादुर भण्डारीले आकारप्रकार, विषयबस्तुको आयम, संरचना र आख्यानमा तुलनात्मक विश्लेषण गर्दै यस खण्डकाव्यको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘ यी विभिन्न आधारबाट कवि पौडेलको यो कृतिलाई सबल खण्डकाव्यको रूपमा हेर्न सकिन्छ ।(भूमिका)
खण्डकाव्यको प्रस्तुति गर्नुभन्दा पहिला मनसुवा शीर्षकमा कविले चारहरफका ५श्लोक पस्कनु भएको छ ।मनसुवाको धेरै अर्थ हुन्छ । नेपाली वृहत शब्दकोशलाई हेर्दा मनसुवा भन्दा मनले, मनद्वारा, मनबाट, कश्यपकी एक छोरीको नाम , नागराज अनन्तकी बहिनी तथा जरत्कारु मुनिकी पत्नी, मनको इच्छा,मनसुवा, चाहना, कामना, अभिप्राय, आशय र तात्प्रय भन्ने बुझिन्छ । बहुअर्थको मनसुवालाई मैले मनको इच्छाको रूपमा ग्रहण गर्दै कविका मनका चाहना भावन तथा उठेका लहरहरूलाई कविले यसरी पोखेका छन् –
मनको प्रभा छहरा छाँगा झुलेर सरिमा
शब्दका थुँगा उनेर माला चुनेर लरीमा
पारख भरी जङ्घार तरी जीवन्त जाँगर
अन्तर मन उठेका लहर उछाल सागर
मनको चाहना तथा मनबाट उठेका लहरले सागरलाई उछालोस् भन्ने काव्यकारका भावना विशाल छन् । कविले प्रकृतिलाई मनसँग जोडेका छन्, इन्द्रेणीका रङ्गसँग घोलेका छन् ,प्रकृति रोएर आँसु झारेमा धरती उजाड हुन्छ भनेका छन् । भावनामा मानिस बग्छ,यस अवस्थामा कल्पनाका लहरहरू उठ्छन् ,रङ्गीचङ्गी चित्रहरू कुँदिन्छन्, सृष्टिको चक्रमा नजर पुग्छन् । झरनाबाट बुल्बुला निस्कन्छन् । त्यसलाई पस्कने प्रयास हुन्छ। यस्तै चाहे जस्तो फुल्नुपर्छ र सुवास फैलिन्छ । कविले विविध भावनालाई केलाएका छन् । काव्यको सिर्जना गर्न गैरहेका छन् । सिर्जनालाई फूलको रूपमा लिएका छन् र आग्रह गर्दछन् –‘नफालीदिए सिर्जना फूल धुलोमा सुँघेर ।’ काव्य लेख्दा मङ्गलाचरण बाट थालनी गरिन्छ । मङ्गला चरणमा देवी देवता आदिलाई स्मरण गरिएको हुन्छ । यहाँ काव्यकारले ‘मनसुवा’ लाई स्मरण गर्दै काव्यको थालनी यसरी गरेका छन् –
मनको गति सुरका ताना उतारी तारङ्ग
छातीको बह सान्त्वना लिन उछाली सारङ्ग
आलिन सिरा आवेग धारा सुची र संञ्चार
सुनिद्यौ मेरा तरङ्ग धुन मनस बजार ।
(पृष्ठ १)
छाल –१ यस छालमा काव्यकारले आत्मा र शरीरको सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेका छन् । घर नभै कुनै चिज बस्न सहज हुँदैन । काव्यकारले शरीलाई घरको रूपमा लिएका छन् । चेतनालाई आधारशीला हो भनेका छन् । आत्मालाई जीवन ठानेका छन् । धर्तीलाई नर्सरी मानेका छन् । नर्सरीमा नानाथरी अथाह मुनाहरू हुर्कन्छन् पालिन्छन् , जगतरूपी नाट्यशालामा नट्रूपी जीवनलाई नचाउँछन् । धर्ती भित्रै जादुगरी तिर्खा मेटाउँछन् । विविध धारणा पस्कदै जीवनदर्शनलाई कविले राम्ररी विश्लेषण गरेका छन् । हेरौं –
मानिस ज्यूनको लागि विविध बहाना बनाउँछ । उसले भोगविलासलाई सुन्दरसँग उपयोग गर्छ । विलास आत्मरतिमा खेलीरन्छ । पृथ्वीका अनमोल रत्न गहना तथा मञ्जरीलाई उपयोमा ल्याउँछ । जीवन ज्यूनको लागि मानिसबाट उपभोग गरिएका विविध सुन्दर पक्षलाई काव्यकारले पस्केका छन् र जुनी विना जगत फिका हुने धारणा यसरी पोखेका छन् –
छाँटी छाँटी छटा सुरम्य दिलका मस्तिन्छ ज्यूने जरी
उर्वीका परिमा प्रभा प्रकृतिका छाँटेर नाना थरी ।
रित्तो हुन्छ जुनी विना जगत यो चर्चा चरम्चाँदनी
फिका हुन्छ प्रकाश सूर्य शशीको आकाश हाँसे पनि ।।
पृष्ठ २
कविले कलियुगका विशेषता बताउँदै फूलभरी बास्नाले भरेर शुभ बान्कीले रङ्गिएका, विभिन्न बान्कीले गम्किएका अपार रचनाहरूको संजाल सिर्जना गरेर यस पृथ्वीमा चित्र विचित्र पारख कलाले भण्डार भरेका धारणा राखेका छन् । भनिन्छ कलियुग तर यो कलायुग हो । यस कलियुगको कलालाई कविले कवितामा समेटेका छन् ।
माटोभन्दा हामीले धेरै कुरा बुझ्नु पर्ने हुन्छ ।माटोभन्दा देश, आमा, मातृभूमि आदि रूपमा लिन सकिन्छ । माटोबाट धेरै चीजहरूको निर्माण गर्न सकिन्छ । माटो आश्रय स्थल हो। गास र कपासको दाता हो । यस्तो महिमामयी माटोको अस्तित्वलाई काव्यकारले यसरी प्रस्तुत गरेका छन्–
माटो बुन्छ मुना कुदेर रसमा सारङ्गमा सर्जरी
माटाकै गहना सजेर गहना सर्जामका नर्सरी ।
माटाकै परिकार यो जगतको देखिन्छ जो रम्झमी
उर्वीको उपमा गलेर गुणता अस्तित्व माटै हुनी ।।
पृष्ठ ३
संसारमा उब्जेका सबै चीज भोग्य हुन् ।कोही कसैका भोग्य होला कोही कसैका । मानिस, पशु, वनस्पती र माटो एक अर्कामा आश्रित छन् । यहाँ काव्यकारले यो जगतको जनजीवनीलाई भोगी हो भनेका छन् । जुनीलाई जञ्जाल जालो ठानेका छन् । यो संसारको चक्रमा बालक बृद्ध बनेर फनफनी नाची रहेका धारणा राखिरहेका छन् । मोहनीको वाना बुनेका छन् । जरा, बालक, अवलाको जन्म र मृत्यु जे जस्तो भए पनि अन्तिम्मा माटै हुने हो भनी सन्देश दिएका छन् ।
जीवन दर्शनलाई काव्यकारले बुझेका छन् ।यस संसारमा जे जस्तो गरे पनि आखिरमा अस्ताउने धारणालाई यसरी पस्केका छन् –
खोजी हुन्छ भँडार रत्नहरूका रोजेर मीठा फल
झुल्ने जीवन हो झुली परिधिमा फेरी गरी चक्कर ।
हाँसो रोदन रङ्गमा रासरसमा पौडेर मस्ताउने
जस्तै जुनकीरी झुली तिरिमिरि झुल्केर अस्ताउने ।।
पृष्ठ ३
छालः २
यस छालमा काव्यकारले मानव स्वभाव, कृति, प्रबृत्ति, शक्ति,गति,सिर्जना, देवासूर रूप, शशीरूप तथा मानवका विविध कला/ कृडालाई दार्शनिक अभिव्यत्तिका साथ प्रस्तुत भएका छन् । मानिस मनकार हुन्छ । नाना कल्पनामा कला कल्पन्छ । आफ्नो शक्ति बलले गाना भएर गुञ्जन सक्छ । यस धर्तीमा भएका सबै चिजलाई मनपरी भोग गर्छ । यी गुण हुँदा हुँदै सहीरूपले प्रयोग गर्न नजान्दा प्रगतिमा आफै बार बन्न पुग्छ । काव्यकारले मानिस के हो ? उसले के गछ र्? अनि उसका मनभित्र के हुन्छ ? भन्ने कुरा हामीलाई यसरी जानारी गराएका छन् –
मानिस हो मधुमास सिर्जना दिने धर्तीभरी सिल्सिला
मान्छेका अलिसान जो विजनमा आफ्नै कलाका फूला ।
देवासूर दुबै मनुष्य लख हुन् आलोकमा जोशिने
मान्छे कै मनभित्र हुन्छ शशिझै नैना दिने रोशनी ।।
श्लोक २, पृष्ठ ४,
मानिस धनी भयो भने सुविधा माथी थप सुविधा खोज्छ । मजालाई विक्री गर्दछ । दामको भरमा अन्धो हुन्छ एकातिर भने अर्कोतिर अणु परमाणुको तथ्याङ्क राख्छ, त्यतिमात्र नभएर, ध्वंस, विध्वंस निम्त्याउँछ । आजका मानिस धन र अणु परमाणुको भरमा अशान्त मच्चाउँछन् ।
काव्यकारले कतै प्रकृति बाटै शक्ति खोज्ने, कतै धर्तीका धनमा मजालिने, सयलमा रहेर मीठा मुनाहरूलाई रङ्ग्याउने, चकोरले चाँदनी खोज्दै आकाशमा जोशिनु धर्तीभरी झिलिमिलि वर्षाउनु, गहना झुलाउनु, सञ्चारमा उर्लनु, तारामण्डलमा बसाइको सिर्जना गर्नु तथा मानिसमा भएका क्षमतालाई दर्शाएका छन् । मानिसमा कोमलतामात्र हुँदैन उसका मनमा विविधता हुन्छ । उसमा ज्ञानेन्द्रिय छन्, विवेक छ, माया छ, यो विर्षेर पाषण बन्ने पनि गर्छ भन्ने कुरा यसरी प्रस्तुत गरेका छन् –
आँखा यो जगको विवेक बलको आलोक यो लोकको
जस्को भोक अथाह भित्र मनमा ओडार हो भोकको
जस्मा माथि उठाउने वल बुता रोगी मसीना झिना
माया विर्षिदियो चटक्क मनमा साटी मनै पाषण
पृष्ठ ५
मानिसले यो जगतको लीलालाई सहजै बुझ्न सक्छ । यो जगतको मालिक द्यौता पनि मानिसले नै निर्माण गरेको हो । यस्ता क्षमतावान मानिसहरूको मगज स्वार्थ र लोभले भरिन हुँदैन । यस्तो कर्म गर्न ईश्वरसँग डराउनु पर्दछ । कविको धारणा छ माटोमा पसिना चुहाएर मोती फलाउन सकिन्छ । दीर्घ बिचार लिएर अघिबढे धर्तीभरी सिर्जना गर्न सकिन्छ । अणु परमाणुलाई जरैबाट नष्ट गर्न सके विध्वंस रोक्न सकिन्छ । धातुलाई घोटेर बञ्चरो बनाउन सकिन्छ । द्यौता र दानव कथा प्रथासँग जनका प्रथालाई धर्तीका परिधि भित्र जोड्न सकिन्छ ।
यस सुन्दर धर्तीमा सबै सबै चिज राम्रामात्र छैनन् । यहाँ धमिरा पनि छन् । यिनको दुषादको जरो माटोसम्म गडेको हुन्छ । मानिसले यही माटोबाट धेरै परिकार बटुल्छ प्रयोगमा ल्याउँछ र आखिर माटोमै मिल्छ । यस्ता गहन दार्शनिक धारणाहरू काव्यमा आएका छन् ।
कविलेेेे मानवका दुई आँखालाई दुर्विनको रूपमा लिएका छन् ।पानीका कणबाट विजुली निकालेर धर्तीलाई उज्यालो पार्न सकिने,धारणा राखेका छन् । धर्ती धन पनि हो यस धनलाई मानिसले एक्सेरे गरेर नौला आयमका रचनाको खोजी गरिरहेका कुरालाई दर्शाउँदै मानव कुन अवस्थामा दानवमा परिणत हुन्छ भन्ने धारणालाई कविले यसरी प्रस्तुत गरेका छन् –
मानव दानव बन्छ दर्द भरिदै बाटा कतै बिग्रिए ।
छातीमा बदला बनेर बहले साटा गला अड्किए
पृयठ ६
मान्छेको प्रयत्नप्रति कवि यसरी प्रस्तुत भएका छन् –
मान्छे यत्न छर्दैछ खेल्न मनमा आकाश गंगासित
मोती खोज्न उतै विचार अडिलो आभासमा तस्वीर
पृष्ठ ६,
लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने उद्देश्य लिनु पर्छ भने जस्तै इन्द्रराज पौडेलले मान्छेको रहर के छ भन्ने धारणा चन्द्रमा भन्दा माथिका तारासँग लठ्ठिने छ भनेका छन् –
बोकी हिड्छ निकै रहर् दिलभरि तारासितै लठ्ठिन
पर्माणिक कणका कला कुसुमले वाना भरी रङ्गिन
मान्छेका सुरले दवाई दुविधा आलोकका रम्मझम
नाना गानबजान राग रमिता नौला थुँगामा मुना
पृष्ठ ६
यस छालको अन्तिम श्लोकमा मानिसले गरेको प्रगतिलाई काव्यकारले उच्चताको साथमा दर्शाएका छन् । माथिनै मानिसको रहर तारासँग लठ्ठिनु थियो भने यस श्लोकमा मानिसको उपलब्धिलाई यसरी दर्शाएका छन् –
बाँकी छैन कतै रहस्य धरणी कुन्दै छ नौलो कला
पत्रैपत्र खनेर हेर्न ग्रहको जाग्राम मान्छे हुँदा
सारा सृष्टि भरी उच्चाइ चुलियो आश्चर्य मान्छे वजन
धर्तीबाट उडेर मंगल पुग्यो खोजेर नौला सगुन
पृष्ठ ६


छाल– ३
यस छालमा पनि काव्यकारले मानव गतिविधिलाई प्रस्तुत गर्ने काम गरेका छन् । मानिसले सुनका गहनाको सपना देख्छ अर्थात मानव इच्छा सुनका गहनामा जान्छ । गहनाले पेट भरिदैन पेट भर्न त अनाज नै चाहिन्छ । अनाज किन्नको लागि धन लगाउन पर्छ । काव्यकारले विविध पक्षलाई समाउँदै यसरी प्रस्तुत भएका छन् –
गुनको जरो भो जसका बसमा
धरणी भरका फूलका रचना
धनका बलमा सठता हठता
मतिका गतिमा बढदो कटुता
पृष्ठ ७
यस धर्तीमा भएका सबै चिज मानिसबाटै भएको ठहर गर्दै काव्यकारले भन्नु हुन्छ –
कल्पी ईश्वर मूर्तिमा मनुजले सम्मान ठूलो दियो
खोपी पत्थरमा कला र उपमा द्यौता उमारी दियो
छापी काव्य कला कथा र रचना मान्छे भुलाई रह्यो
धर्तीबाट बटन् थिचेर सजिलै आकाश डुल्ने भयो
पृष्ठ ७
कवि भन्छन् कि मान्छेमा बलियो महानता छ तर महानता दर्शाउनको लागि सर्वप्र्रथम मान्छेको मन हुनुपर्‍यो । धन हुन पर्‍यो । धन भए मानिस ऐस्वर्यको सारथी बन्छ । औसर प्राप्त गर्‍यो भने धनको पारखी बन्छ । मान्छे प्रकृतिसँग लड्छ ।निशामा उषा खोज्छ । बदला लिन परेमा जरासमेत काट्न तयार हुन्छ । क्षेप्यास्त्रबाट निशाना लगाउँछ । बलशाली भयो भने जापानको हिरोसिमा बनाउँछ । (हिरोसिमामा एटम्बम पड्काएको घटनाको स्मरण) । बलको आधारमा संसार आफ्नै ठान्छ । धाक रवाफ राख्छ । आफ्नो स्वार्थ पूर्ति गर्न दङ्गा गर्छ खुन बगाउँछ । धोका दिन्छ, धराप थाप्छ । धेरै लोभी बन्छ र गोलीसमेत पड्काउँछ । यतिमात्र कहाँ हो र संसारका सबै आफ्नै बनाउन खोज्छ । अति कहीं पनि राम्रो हुँदैन । धनको अति लोभको कारणले गर्दा आफ्नै कुलको नाश गर्दछ । यी घटनाक्रमलाई काव्यले समेटेको छ ।
अति धनको कारणले गर्दा मानिसका चाहना कस्त हुन्छन् भन्ने धारणा काव्यकारले यसरी पस्केका छन्–
जोडी मान्न सुहागरात धनमा जाँदै छरे चन्द्रैमा
राख्ने कृति अमर् विचार बसमा एैयासका संझना
मान्छे बस्छ अरे उतै सगरमा तारा लहरका कुना
हीरा छर्छ अरे उतै सगरमा नौला फूला सृजना
पृष्ठ ९
कतै कविले ठाउँ निर्जन भएको पाउँछन्, कतै मानिसका दुई आँखाले धर्तीका सबै चिज देखेको पाउँछन् , कतै मानिसले धर्तीमाथि रजाइ गरको पाउँछन् । उसकै सञ्जालले भरेको पाउँछन् । आज मानिस चन्द्रमाँ र मंगल ग्रहमा उडेर जाने निमग्न ध्यानलाई साकार भएको पाउँछन् । मानिसले अब त ताराका गहना माला बनाएर लाउने रे,चन्द्रमाका कलाइलाई घडीमा सजाउने रे, गोष्टि चन्द्रमा नै गर्ने रे यी सबै काम केको लागि गर्ने रे भन्नेको प्रश्नको जवाफमा कविले धर्ती र आकाश दुहेर धन कमाउनको लागि गर्दै छ भन्ने उत्तर दिएका छन् ।
मानिसले धनमात्रै कमाउने तर्फतिर लागेको छैन सिर्जनाका काम पनि गरेको छ । मानवका सिर्जनाका कारणले गर्दा पृथ्वीमा ठूलो परिवर्तन भएको छ । परिवर्तन र विकास निरन्तर भै रहने कर्म हुन् । कविले भनेका कतिपय कर्महरू व्यवहारमा उतारिएका छन् । धर्तीलाई प्रकाशमय बनाउने धारणा कविले यसरी राखेका छन् –
मंगल चन्द्रा धरा धितो भैइसक्यो सबृद्धिका होडमा
यो सृष्टि जतिको भयो मनुजको माहोलका मोडमा
पारो छक्क रचेर काम कलको ढाकी दियो तिर्सना
धर्ती बन्छ निसाविना मूजको चम्कने ! सौचन्द्रमा
पृष्ठ ९
मानिसका मनमा विशाल तरङ्गहरू उठ्छन् । धर्तीमाथि फलेको फुलेको देखेर मानिसका तिर्सना बढ्दै गएका छन् । मानिसको बल प्रमत्त धन निष्ठा र आस्थामा प्रवल भएर गएको हुनाले मानिसले धन आर्जन गर्नको लागि ढुङ्गो र माटो खन्यो तथा परिश्रम गर्‍यो,संसारलाई समृद्धिमा पुर्‍यायो, अब उसको आफै उड्न सक्ने ध्यानमा छ भन्ने धारणा काव्यकारले राखेका छन् । हुन त मानिस जहाज मार्फत पानी माथि र धर्ती माथि उडिसकेको छ । यहाँ कविको आशय स्वयम् चरो जस्तै उड्ने रहेको छ र काव्यकारले लेखेका पनि छन् –
ढुङ्गाबाट उठी प्रमाणु मुठिमा पार्दैछ धेरै अझै
उड्नी भुर्र चरी नभै सागरमा मान्दैन मानिस कवै
आफ्नै स्वार्थ सपार्छ दीर्घ गतिको सबृद्धि फैल्याउने
ठण्डा उष्ण मिलाइ लड्छ गतिमा माहोल मौलाउने
पृष्ठ १०
छाल ४
काव्यकारले यस छालमा मानिसका विविध क्रियाकलापलाई समेट्ने प्रयास गरेका छन्। सुरुमा काव्यकारका आशावादी स्वर गुञ्जेका छन् । फूल फुलेर फल लाग्छ फल लागोस् र बृक्षलाई सजावस् । पंक्षीहरूले फूल फोरेर सुनको चरी कोरलोस्, छोरी स्वर्गकी परी बनोस्, परिधि नाधेर पारि नव सर्जरी निर्माण हुँदैछ जस्ता अभिव्यी पस्कदै काव्यकारले मानिस के बन्दै छ र के गर्दै छ जस्ता धारणा यसरी प्रस्तुत गर्दै छन् –
मान्छे धित बन्यो उठ्यो लगनमा द्यौता र दानव बन्यो
मान्छे सिद्ध भयो बढ्यो गगनमा सम्पन्न आफू बन्यो
धर्ती भर्न छटा कला र मसला धेरै चुनौती चुन्यो
धर्तीमाथि विचित्र ताल रचना सञ्जाल आफै बुन्यो
पृष्ठ ११
यो संसारमा विकास र विनास सँगै सँगै यात्रा गर्दछन् । एकातिर उद्योग निर्माण गर्नु भनेको विकास हो ।तर उद्योग निर्माण गर्दा धर्तीमा नकरात्मक असर पर्दछ । मानिस निर्उद्योगी भएर बस्न सक्दैन । उसले विभिन्न उद्योग निमार्ण गर्दछ । यस अवस्थामा परिधिका प्रभाहरू रोकिन सक्छन् । मानिसले समाजबाट आश्रा र विश्वासका सपना देख्छ । निस्वार्थ सेवाको आशा राख्छ,। यतिमात्र हैन कर्म पथमा टेवा र मेवा पनि दिन्छ । मानिस सुन्दर काममा मात्र सीमित रहदैन । ऊ वैभव बटोर्नको लागि स्वार्थवश कुकर्म पनि गर्छ । उसँग विविध विभेद पनि छन् । बाधा छललाई अँगालेर लड्छ । आँखा तर्छ । छडके नजर लगाउँछ । सीमा मिचिदा तथा सीमा बचाउन बलभद्र जस्तो ऊ लड्दैन । शान्तिको लागि तथा हृदयबाट दया दिनको लागि गौतम बुद्ध जस्तो बन्दैन । धर्तीलाई रेट्न जान्दैन । हिमालका उच्च चुचुरा चुम्दैन । अनि मानिसले के गर्छ त ?
खेला खेल्छ लडाइँ लड्छ सुरले खोजेरजो वास्तव
नाची वैभवमा मिचेर अवला तानेर नाथी जर
निर्धाका मनका रुवाई नसुनी सम्पत्ति नै आर्जन
हेपी राख्छ अँठ्याई राख्छ निमुखा सम्पत्ति हत्याउन
पृष्ठ १२
यस्ता द्रव्यपिचास जस्ले सम्पत्ति हडप्ने काम मौलाउँदै लान्छन् । तव बन्दूक बोकेर सन्तती जन्मन्छन् ।नराम्रा कामले सीमा नाघ्छ भने त्यहाँ विनाश नििँम्तन्छ । काव्यकारले उदहरण दिंदै र्कौरवले गरेको अत्यचारबाट मुक्ति दिलाउन महाभारतको युद्धभएको र त्यसयुद्धको चक्रव्यूहमा परेर अभिमन्यूको मृत्युवरण भएको धारणा काव्यमा स्मरण गरिएको छ । काव्यकारको धारणा छ कि मानिसले यी सबै जानेर पनि मानिस हुन सकेको छैन, लेखेर पाप धुन सकेको छैन । बलको भरमा नाना ताल विशाल जाल अन्तपुरमा बढ्दै छन् तर पनि अनभिज्ञ जस्तो भएर मानिस देखिन्छ तब पनि मानिस यसरी अगाडी बढ्दै छ –
भाषा, धर्म, प्रजात,जात, थरका कुल्केर दङ्गा खुनी
मान्छे पर्छ मतान्ध धर्म धुनमा हान्ने र मार्ने बनी
्मान्छे प्युँछ अतृप्त अर्थ मदिरा मातेर हाँसी नशा
मान्छे अड्छ गडेर तर्क गहिरा गाँसेर पैसा कता
पृष्ठ १३
आँधी, बेरी, हुरी, जाडो, गर्मी, प्राकृतिक प्रकोप मानिसमाथि नै पर्छ । मानिस समेत विपक्षी बनेर आउँछ । ऐयासी लतका जरा गडिसके मानिस बर्वादिमा पुग्न आँटिसक्यो, आँफैमा खतरा बढीसक्यो तर पनि मानिस आँफैमा सचेत छैन । मानिसले धन्दा, मति, बैचारिक संहिता, अस्मिता, विडम्बना माया आदिलाई छाडेको छ । श्रुतिस्मृति, पुराण,वेद, त्रिपुटै, मुन्धुम्, कुरान, गुरुग्रन्थ, बाइबल, आदि मानिसलाई आचरण राख्नको लागि लेखिएका हुन् र मानिसले कुनै एक धर्मलाई समाएको छ । यी धर्मका मर्म मानिसलाई शुद्ध आचारणमा राख्नु हो तर एक मतका मानिस अर्को मतका मानिससँग लडेर विनाशमार्गतिर गएको छ भनी काव्यले अर्थ्याएको छ ।
छाल : ५
यस छालमा काव्यकारले मानिसको शरीर हाड, छाला, रगत,बाट निर्मित, सुख, दुख भवना एकै मिल्ने खालका भए पनि जात थरमा अलग किन हुनगए ? संसारको रचनामा विचारमा भिन्नता, चर्को वादविवादको कारणले आचारमा रिक्तता, पीडाबाट अरूको मर्मलाई जलाउँदै, मानवको लखले कता जाने बाटो खनिरहेको छ ? आँफैबाट जलेर घाउ गहिरो पारीरहेको छ ? छाँगाबाट खसेर मृत्यु पहिरो किन झारिरहेको छ ? मृत्युसँगै मसानतिर किन जाँदैछ ? आदि प्रश्न राख्दै आफैले ‘‘ खोजी सुख मजा समाहित हुने आशासितै झुण्डिन” भन्ने छोटो उत्तर एिका छन् । काव्यकारले यस छालमा मानिसले भोगेका तर त्यसको यथार्थतामा तथा व्यवहारमा उतार्न नसकेका धेरै विचारलाई प्रष्ट पार्ने प्रयास गरेका छन् –
डुवेको कणशीलको जलधिमा उत्रन्छ मूढो किन ?
खोलो तर्न तरङ्ग खोज उसको धेरै बितायो दिन
पंछी उड्छ गगन दुगुर्छ जलमा पौडेर माछो किन ?
यस्तै धेरै सवालका लगनमा खोजेर सिद्धि लिन
पृष्ठ १५
यहाँ काव्यकारले कालोम्बसले (कोलम्बसले क्रिस्टोफर कोलम्बसलाई जनाउँछ, जो इटालियन अन्वेषक थिए जस्ले एट्लान्टिक महासागर पारगरेर अमेरिका पत्ता लगाएका थिए) र भासको डिगामा (एक पोर्चुगिज अन्वेषक जो समुद्री मार्गबाट भारत पुग्ने पहिलो युरोपेली थिए) को जलमार्ग यात्राबाट सागर तर्नु थियो । यसबाट ठूलो उपलब्धि हाँसिल भयो । खोजको कारण मानिस ओडारको बासदेखि आज विशाल भवनमा बस्न पुगे । पूर्वजले ढुङ्गा कुदेर चिना लेखे, आफ्ना कथा लेखे, आज तिनको ठूलो मान्यता छ । हिजोको सतमार्ग छाडेर मानिस आज पैसामा विक्री भएको छ । हिजोका कामहरू परिवर्तन भएका छन् र टिनका पाताले स्थान लिएको छ । सगरमा मानिसको अधिपत्य जमेको छ । मानिसका चाहना सौर्य परिवार नाघेर अगाडि बढ्ने रहेको छ । वैभवशालीका घर हीरा जडिन हुन पुगेका छन् । आइस्टेनले विद्युतका तरङ्ग खोजे, यसको प्रयोग गर्नको लागियो तर यसबाट सन्त्रास फैलियो । यस्ता संत्रास फैलिने कार्य हुँदा आज मानिसदेखिनै मानिस डराउन पर्ने देखिएको धारणा काव्यकारले यसरी प्रस्तुत गरेका छन्–
भिक्षापात्र विषान्त दान दिइँदा हत्या भयो बुद्धको
गान्धीमाथि प्रहार निचमति त्यो मान्छे अहं क्रुद्धको
झुण्ड्याई क्रुर यातना दिइरहे ! ईसामसी मारिए
मान्छेको इतिहास भन्छ कतिका छाला तरेका थिए
पृष्ठ १७,
छाल : ६
यस छालमा काव्यकारले ज्ञान र विज्ञानमा होड चुनौतीको रूपमा देखिएको पाउँछन् । पूर्वका प्रकृतिका पाना बाना बनेर बर्षेको देख्छन् । मनका लहडहरू चञ्चल भएको र मर्मको स्वार्थ प्रकृतितिर फर्केर रोयको महसुस हुनु, मानिस भनेको संसारमा बाद विवाद हो, अर्थको रूपमा हेर्दा भण्डार हो, कर्म गवाह हो तर आफ्नै स्वार्थको लागि मात्र । यति हुँदा हुँदै पनि ‘‘ धर्तीमा धुन छन् अपार गुनका आदर्श सौन्दर्यता , धेरै सञ्चयका भण्डारहरु छन् संवर्धना शानका ।” विज्ञानको दृष्टिमा मानिस विभिन्न मतका छन् । छातीमा उदार, करुणा, कल्याण सौज्यनताका लत छन् । कोही विशाल ज्ञान रचनाको ज्ञान रोशनीले पूर्ण हुन्छन् । कोहीले ज्ञान गुनलाई मेट्छन् । कोही पाषाण जस्ता हुन्छन् । कोहीले मतान्ध सुरमा औकात ऐयासको इच्छा राख्छन् । कसैले पैसा खर्चेर गोली दाग्छ, दागा धर्छ । अरूका परी खोस्दा युद्ध हुन्छ । कतै तै–तै मै–मै लोभको कारणले हुन्छ । मानिस वित्तमा भुल्दछ र मानवता रुन्छ ।
मानिस को सङ्गत राम्रो भएमामात्र सबैलाई राम्रो हुन्छ । तर आज शक्ति बलबाट दमन गरिने सङ्गत भएपछि दुखी असक्तहरूलाई अठ्याइँछ र आफूमात्रै उठौ भन्ने धारण राखिन्छ । यस्ता कर्म गर्ने व्यक्तिहरूले आफ्नो काम कसैबाट लिन परेको खण्डमा प्रार्थना गर्न पनि तयार हुन्छन् । यस्तो कुकर्मको जरो के हो त भन्ने कुरामा काव्यकार यसरी प्रस्तुत भएका छन् –
भोकाका पसिना चुसेर रसमा रङ्ग्याई आफ्नो चमन
छातीमा करूणा अन्ठ्याई बलले गर्दै छ रुखो दमन
धर्तीको रीत भो मनुष्य मतमा प्राचिन चिनो अझ
पूर्वैदेखि प्रथा चल्यो चलनमा बाँधा बसाल्ने जर
पृष्ठ ११
गरिव माथिको दमन आज नभएर हिजोबाटै थियो भन्ने स्मरण गराउँदै कविले यहाँ छातीमा पारिने घाउ, त्यसको दर्द, आतङ्कको वीज रोपण, घरघरको रुन्चे मोहनी, शक्तिको गर्जन आदि केही नभएर मान्छेकै उपज हुन् भन्ने काव्यकारको ठहर छ ।
दुई खुट्टामा उभिदैमा मानिस भएको अर्थ लगाउनु गलत हो । मानिस हुनलाई मानवीय आचरण हुनुपर्दछ । हानेर मार्ने सीपलाई तक्मा सम्झनु हुँदैन । मानवता विर्से र विध्वंशमा लाग्न हुँदैन, धन आर्जन गर्न नैतिकता बेच्न हुँदैन मानिसमा धोका, छलछाम, संकिर्णता, कुलत,भाग्यलाई दोषारोपण आदि विकृतिलाई त्याग्नु पर्ने आदि धारणा पोख्दै मावीय तत्त्वलाई काव्यकारले यसरी पस्केका छन् –
मान्छेमा छ कला सुहाग गहँना सुद्धि र सिद्धि जति
यो धर्ती भरियो मनुष्य लतले सिर्जन्छ धन्दा कति
मान्छेकै बसमा शुभा प्रकृतिका फक्रे नि ! पानी मुनि
पारख्मा फलका मुना जगतमा बैभव बनी बर्षनी
पृष्ठ २०
मान्छेमा धोका, छलछाम, सङ्कीर्णता, कुलत, बसमा राख्ने धर्ती भरीका शुभा छन् अनेक बुलबुला छन्, दया, माया, चोखो मानवता, सञ्चय छन्, टुना, लत, हजार रत, कला, धुनका अनन्त रचना,आदि छन् भन्ने धारणा यस छालमा आएका छन् । यस छालमा काव्यकारले मानिसमा अथाह सिर्जना गर्ने शक्तिमात्र नभएर अथाह विध्वंसका शक्ति पनि छन् । सिर्जनामै लाग्नु मानिसको कर्तव्य हो भन्ने सन्देश काव्यमा पाइन्छ ।
छाल : ७
पुज्दैछ मूर्तिको मान्छे परेर अरुकै भर
भावना भित्रको चित्र ठानेर जगदिश्वर
बुझ्दैन सत्यको तथ्य,फेरी कलमका मसी
नौलो भो पूर्वको लाली रगडी कसीमा घसी
पृष्ठ २१
यस छालमा कविले सत्यमा तथ्यको खोजी, विकासमा लगनता, अत्याधिक विकासमा पनि गरिब र गरिबीको उत्थान नहुनु, मानिसलाई एकताको सूत्रमा बाँध्ने दर्शनको कमी, माटो माथिका सबै समान छन् भन्ने अधिकार व्यवहारमा नदेखिनु आदि धारणा राख्दै काव्यकारले खोजी गरी व्यवहारमा उत्रन जटिल छ भन्दै यसरी प्रस्तुत भएका छन् –

छोडी वैभव राज पाठ सयलै माया दिने सगिनी
बाँडी ज्ञान अनन्त धाम धरमा छोडी गए संझनी
साँची छन् अझसम्म कर्म पथमा छोपिन्न जसको छवि
खोजी गर्न गहन् निकै छ जटिलो मान्छे फलेको कलि
पृष्ठ २१
यी श्लोक हेर्दा महात्मा गौता बुद्धको स्मरण हुन्छ । काव्यकारका यी सुन्दर दार्शनिक कटुसत्य अभिव्यक्तिले प्रयत्न गर्न सक्नु पर्छ अमरत्व प्राप्त हुन्छ भन्ने जानकारी गराउँछ । मानिसले प्रयत्न साथ नयाँ बृत्तको खोजी गर्छ । प्रयत्न गरेर लाग्दा सफलता प्राप्त गर्छ । शक्तिमा अपारता, आस्थामा गहनता, छातीमा साहस, धैर्यता, लगनता सहस्र जरिया,कल्की भरेका चमन, कल्याण, श्रद्धा, सुमन, सबै सृष्टिको साँची, नवसिर्जनाको आँखो, दीर्घ सोचवाला, शक्ति रुप, ज्ञान विधान धनले स्वर्णिम रूपमा मानिस देखिन्छ ।यति गहन गुणले युक्त हुँदा हुँदै पनि घमण्ड, दम्भ र विध्वंशका कारणले गर्दा मानिस कन्जरो बन्न पुगेको छ ।
काव्यकारले कतै भोगका कुरा कतै अक्कलका कुरा।, पीडाका कुरा, कतै रहर पूरा गर्न दूर्विन लिएर हिडेका कुरा, मानिसको प्रतिलिपीको रूप रोवर्टको निर्माणका कुरा, कतै शरीर सर्जरी गरेर प्रत्यारोपण गरेका कुराले काव्यलाई सजाउँदै यस छालको अन्त्यमा काव्यकार यसरी प्रस्तुत भएका छन् –
भोको भाग्य भनि रुर्दैछ कति ता लाग्दैन उद्योगमा
रोगी श्रापभनी परेर कति ता विश्वासले झाँक्रीमा
द्यौता दुख दिदैछ भन्छ कतिले भाग्क्दैछ रे भक्कल
मान्छे सोच विभिन्न छन् अझ पनि फिर्दैन रे अक्कल
पृष्ठ २४
छाल ८
आशा निराशा मनका तरङ्ग
मस्ती मनोरञ्जनका उमङ्ग
अत्तालिंदै ती महता निचोड
फेर्दै छ बाटा अनगिन्ति मोड
पृष्ठ २५
काव्यकारले नाफा र घाटालाई पिपासाको रूपमा लिएका छन् । किनकी पेशामा चञ्चलता हुन्छ । नाफा भए अझै नाफा गर्ने तृष्णा बढेर आउँछ घाटा भए नैराश्यले पिरोल्छ । काव्यकारले कतै विजुली मान्छेको करिया भएर नाचेको देख्छन् भने कतै यात्राको महतामा नाचेको सञ्चारमा पाउँछर्न्नु । मानिस सन्तोष कहिलै हुन सकेन । यदि सन्तोष भए पनि क्षणिक हुन्छ । सन्तोष भएमा विकास रोकिन्छ । मानिस जति प्रगति पथमा लम्किन्छ त्यति अघि बढ्ने चाहना बढेर जान्छ । भोक रोगले तड्पदा पनि उसको चाहना आकाश चुम्नको लागि लगानी गर्नमा हिचकिचाउँदैन । उसको प्रयास सुनमा सुगन्ध थप्ने युक्तिको खोजीमा छ । हजार वर्ष बाँच्ने चाहना, आफ्नै आगनमा रकेटको स्टेशन होस् र सौर्य नभमा एक दिनमै घुमेर आउन सकियोस् । वर्षा, बादल, चड्कने, आँधी, हुरी, यन्त्र जोडेर टाढा टाढा हेरी रहेको, यी कसरी भए प्रश्न राख्दै आँफै त्यी उमङ्गसँग खोजी भै रहेको कुरा काव्यकारले बोलेका छन् ।
सोझा निर्धा पशुहरुलाई काममा लगाउनु,काटेर मासुमा प्रयोगर गर्नु, यसरी नै चराहरूलाई बन्धनमा पार्नु काट्नु मार्नु, पशुपंछीका अङ्गहरूलाई घर सिङ्गारन प्रयोगमा ल्याउनु , बोकालाई बलिदानमा प्रयोगमा ल्याउनु र मासु खानु काव्यकारलाई राम्रो लागेको छैन । यस छालको अन्त्यमा काव्यकार भन्दछन् –
अग्लो श्रेष्ठ हवेलीमाथि चहका चाहन्छ रे चित्तले
छाता माथि बसेर हेर्न अरुको को–को छ विनातले
जसको हेय विचार स्वार्थ मनको ठान्दै छ आफै ठूलो
राखी दम्भ अहं विचार उसको आदर्श के हो भुल्यो
पृष्ठ २७
छाल : ९
यस छालमा काव्यकारले मान्छेको बारेमा धारणा यसरी राखेका छन् –
मान्छे रैछ विधानका परिधिको फल्दो गुलावी थुँगा
माटा माथि फुलाउने कुशलका उद्यान शोभा भुवा
मान्छे रैछ फुलाउने मुलुकमा उद्योगका बुलबुला
खेला रैछ मनुष्यको मगजमा फर्ने नयाँ सिलसिला
काव्यकारले मानिसलाई कतै मसिनरीको रूपमा लिएका छन् । यत्रो सृष्टि सिहार्न सक्ने शक्ति बलमा लिएका छन् । मानिसलाई ठूलो, सुरो र बञ्चरोको रूपमा मान्न पर्ने भनेका छन् । ढोंगी, धर्म, धुमिल जुनरूपमा भए पनि सँपत्ति आर्जन गर्‍यो । उसका हेर्ने आँखामा नशा बसेको पाउँछन् र भन्छन् –
शिक्षा सञ्चयका विकास जगमा गाडी जरो थन्कियो
दीक्षा मञ्च प्रपञ्च खेल तमसा उर्दी हुँदै सक्यो
पृष्ठ २८
हिन्दू, बुद्ध, इसाई, इस्लाम र सिन्तोससभाका दर्शनलाई छाडेर मानिस आतङ्क, सुराख, छद्म दलमा खेल्न थाले, बढ्दो भोकमरी अतृप्तताको कारणले छातीमा दानबता पलायो । मानिसको रूप भयङ्कर रूपमा परिणत भयो । रोश, प्रलाप आदिको कारणले मानिस आतङ्ककारी बन्न पुग्यो । काव्यकार यी विकृति र विसङ्गतिसँग चिन्तित छन् ।
उनले भन्छन् –‘विचारधारहरुमा मुक्ति लिने सिद्धान्तको खोजी भैरहेको छ किनकी मानिस माथि नै प्रहार भै रहेको छ । सबैका अगाडी चुनौतिको रूपमा खडा भएको छ । देश विदेशमा नै यसले अस्थिरता निम्त्याएको छ । सबैले स्थिरता ल्याउनको लागि तथा यस्ता रोगबाट मुक्ति प्राप्त गर्नका लागि सङ्ढीर्णताबाट माथि उठ्न पर्ने काव्यकारको धारणा यसरी प्रस्तुत भएको छ –
लड्ने छन् अब बुद्धले पनि यहाँ बुद्धत्वको खाँतिर
लड्लान् हिन्दू ईसाइ मौलवीहरू सिद्धान्तमा आखिर
मान्छेमा जति जात धर्म थर छन् उत्ति छ मत भिन्नता
मान्छेमा जति छन् उदार करुणा उत्ति छ सङ्ढीर्णता
आजको अवस्था यति गम्भिर छ कि एकातिर भोक संघारमा खडा छ अर्कोतिर भोकको रुवाइको बीउमा दावाग्नि कडा छ । यसको परिणतीको भविष्यबाणी काव्यकारले यसरी गरेका छन् –
छातीमा बलिदान हौसिन गई माग्ने छ मान्छे बली
मान्छेमा विकारल द्वन्द्व भुमरी चल्ने छ राँको जली
पृष्ठ २९
यी सबै चिजको मूख्य जड भनेको क्षुधा हो । यसको तृप्ति भएमा पेटको अग्नि शान्त हुन्छ । मानिस स्वार्थमा लिप्त छ । हेयहरूको कान्तोमात्र खन्छ । आफ्नो स्वार्थपूर्ति, ऐयासी कसरी हुन्छ,आदि रूपमा मानिसलाई हेर्‍यो भने मानिस लम्पट छ ।
संसारमा धर्मको विवादले गर्दा एक धर्मको मानिस अर्को धर्मको मानिससंँग लड्दा माटो रगतले भिजेको छ । मान्छेले मान्छे मार्ने धर्मलाई धिकार्दै काव्यकारले धर्मले कल्याण गर्नु पर्छ भनेका छन् । आज संसारमा सत्यम् शिवम् सुन्दरम् धर्मको आवश्यक्ता छ । जस्ले सारा बन्धु ,कुटुम्बलाई समेट्न र संझन सकोस् । अहिंसाको नारा त्यसै आएको होइन । यसमा ईसा, बुद्ध, प्रबुद्ध वर्ग, गान्धी र श्रीकृष्णको आदर्श सिद्धान्तको लागि योगदान थियो ।तर अहम्ताले गर्दा हिंसामा बढवा आयो । आज हिंसाका मतियारकै कारण मानिस मानिसमा लडाइँ भएका जस्ता धारणालाई प्रस्तुत गर्दै काव्यकारले भन्छन् – र्
आफ्नै भिन्न बिचार ठेल्न बलले उभिन्छ बाधाबनी
दौडीराख्छ उछिन्न मार्ग अरुको निर्लज्ज मान्छे बनी
जति उन्नतीको उचाइ चुलियो उती खन्यो खाडल
घोली इन्द्रिणीका मधुर रसमा छोप्दै गयो आँचल
पृष्ठ ३०
आर्दश सिधान्त भने पनि नौलो आयमको जलन, मानिस भित्रको पैसाको छुदाले गर्दा आदर्श अस्तायो र सैसा ज्म्मा गरेर अबैध धनको आर्जनले मस्त भयो । धन आर्जन गर्न घुस खाएको धारणा काव्यले समेटेको छ ।
छालः १०
यस छालमा काव्यकारले धनी र गरिब बीचको पहिरन, स्वार्थ, धन आर्जन आदि विविध पक्षमा धारणा राखेका छन् । यस धर्तीमा शरीर हीरा, मणि, सुन आभूषणले सजिएका धनीमानीहरू छन् । कोही आभूषणरहित छन् । धनीहुम् भन्नेहरूले गरिबहरूलाई हेप्न मिल्दैन । यो कुरा सबैलाई को कति धनी /गरिब छ भन्नेकुरा थाहा छ र धन कसरी आर्जीत भएको छ भन्ने कुरा ठूलो हो । स्वार्थपूर्ण आर्जन जे जति ठूलो हुम् भन्नु पनि व्यर्थ हो । चाहे कमिला होस् या हात्ती होस् उसले खाना खाएकै छ अर्थात हाम्रो कथन अनुसार मानिस एक मानाको भागी हो । बढ्ता उसले खान पनि सक्दैन र मर्दा पनि केही लिएर जाँदैन । काव्यकारको कथन छ । मानिसले तर्कना गर्न सक्छ,मुना पलाउन सक्छ, अर्थात विकासका सम्भावना प्रसस्त छन् ।व्यवहारमा उतार्नमात्र खाँचो हो । प्रगतिशील मानिसलाई विकासमा लम्कन कसैले रोकेर रोकिदैन । आफ्नो कर्मपथमा कोही आगो बनेर उभिए पनि ऊ पानी बन्छ र अगाडि बढ्छ । उसमा पारख छ र भित्र भित्रै उसलाई सञ्चालन गर्ने अगम र असीम सराथ (सञ्चालन
खोजी आर्जनमा अमित सपना धड्कनसँगै गाँसिनी
वैभवमा वरदान प्राप्ति रटना छातीसितै टाँसिनी
मान्छे शक्ति समस्त सिद्दि छरितो छाटी छटा छाँटने
मान्छे युक्ति सपार्छ धीत पछिको आँटी मनै साटने
पृष्ठ ३३,
काव्यकारले मानिसका गुणगान मात्र हैन कि उसले गर्ने अव्यवहारिक कर्मलाई पनि यहाँ केलाएका छन् । काव्यमा प्रष्टसँग बताएका छन् –
मान्छे गर्छ अधर्म कर्म बसमा सन्तान तृप्ति तिर
मान्छे गर्छ कुकर्म दानतिरको खस्की निकै तल्तिर
छोरो पाल्न कुतर्कतर्फ उसको भासिन्छ सङ्ढीर्णता
गर्नु गर्छ नगर्नु गर्छ रटना सन्तान पाल्ने मदा
पृष्ठ ३३
मानिसमा आफ्नै वैश बढोस् भन्ने तिर्सना यति सम्म हुन्छ कि सन्तानको मोहमा बलिदान दिन पनि तयार हुन्छ तर सन्तानले आमाबाबुमा भने त्यति दया माया हृदयबाटै गर्छ जस्तो लाग्दैन । बाबु आमाले छोराबाट शान्ति पाउँदैनन् । बास्तवमा यो संसारिक चक्र हो आजका छोराछोरी भोलीका बाबुआमा बन्दछन् । रोगी ,जीर्ण आजका बाबुआमामात्र बन्दैनन् भोलिका दिनमा आजका छोराछोरीमा पनि जीर्णता आउँछ र रोग लाग्छ । जीर्ण अवस्थामा पूर्वदिनका घटनालाई सम्झन्छन् । मानिसले इर्षा, डाह, हपराई, हेपाई, तडपाई,खाँदै, लुरो, अन्धो बैरो
मान्छेले छोरी भए पनि छोरो नभए अपुतो ठान्छ । निस्तो, निसासिदो निरसिलो, चारैतर्फ निशामय ठान्नु र छोरो नजन्मेको स्मरण गरिहिनु , छाती दुखाई रहनु, रहर खेपी राख्नु , तिर्सना आइरहनु जस्ता पीडादाई धारणा काव्यले समेटेको छ र यस छाललाई तलका धारणासहित बिट मारिएको छ –
देखाए जति सिद्धले जगतमा देखेन फेरी पनि
जोगाई जन जीवनी जगतका प्रचीन चीना मुनि
खोजी शान्ति शुभा प्रवोध मतको सौजन्य पर्माथको
त्यागे राज प्रसादका सयलको रोजेर आरण्यको
पृष्ठ ३४
छाल : ११
धरणीको अस्तित्व मानिसमामात्र सीमित छैन ।यस धर्तीले धेरैलाई आश्रय दिएकी छन् । विसाल जीवहरूले सुसज्जित धर्ती कुनै एक को गुण नाङ्गिदा धरणी नाङ्गै हुँदिनन् भन्ने काव्यकारको धारणा छ –
लोभ र स्वार्थका लागि मोडमा मर्म वाङ्गिदा
हुँदैन धरणी नाङ्गै मान्छेका गुण नाङ्गिदा
पृष्ठ ३५
े मानिस सन्तुष्ट हुन दैवको वरदान चाहिन्छ । मानिसको सुकर्म मैलाले ढाकेको हुनु हुँदैन । मानिसको इख विषमा परिणत भयो भने रिश मातिन्छ । रिश मातियो भने जोश बढेर जान्छ र परिणती कल्याणकारी हुँदैन । मानिस टक्कर लिनमा हटेर जान जानेन । हटेर जान जानेको भए हिरोसिमामा बम पडकने थिएन र हिटलर ( जर्मन तानाशाह १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका नेता थिए र दोस्रो विश्वयुद्ध हुनमा उनको ठूलो हात छ, यस समयमा ६० लाख यहुदीको सामुहिक हत्या भएको थियो) को तानाशाही चल्ने थिएन । धेरैका घरबार जुनी भत्किने थिएनन् । मागेर खानपर्ने, अङ्गभङ्ग हुनु पर्ने थिएन जस्ता धारणा काव्यले समेटेको छ । मानिसले यी चीज देखे पनि नदेखेजस्तो गर्छ, मन्दिर मस्जिदबाट पनि वर आफ्नै लागि माग्दछ ।
मानिसले भाग्यवादी सोच बनाउँछ तर आफ्नो श्रम फल्छ भन्ने ठान्दैन । भाग्य छ भनेर डोकामा दूध अडिदैन काव्यकारले विविध पक्षलाई समेट्दै भन्छन्् –
ईशाको वरदान ठान्छ फलको ठान्दैन आफ्नै श्रम
लेखीदिन्छ प्रपञ्च दर्शन भनी पारेर आफ्नै भ्रम
दम्को पार्छ दया दिनी उपरमा दिन्छौ कि दिन्नौ भनी
पारी त्रास निराश शस्त्र बलमा लुटिन्छ काया पनि ।।
पृष्ठ ३५,
मानव दर्शनमा काव्यकार डटेर लागेका छन् । काव्यकारको धारणा छ कि मानिसले कर्म गर्नु पछ । कर्मपथमा लाग्दा मानिस गौतम बुद्ध बन्न सक्छ । रत्नाकर डाँकुबाट बाल्मीकि बन्न सक्छ भने मानिस किन पछि पर्ने । गार्गी (एउटी महान प्राकृतिक दार्शनिक, वेदकी व्याखाकार ब्रह्मवादी, गर्ग ऋषिकी पुत्री), गौतमी (पहिली भिक्षुणी), पाण्डबी, सती,आदिका योगदानको कदर गर्दै यिनका नाम काव्यमा स्मरण गरेका छन् ।
मानिसले राम्रा खाद्यपदार्थ मात्रै सेवन गर्दछ भन्ने छैन ।भाङ,चुरोट, ह्विस्कि,रक्सी, स्मेक, चरेस, धतुरोको सेवनले तनमा असर पर्छ । अशुद्धिको असर, वायुको प्रदुषण आदि विविध विषाक्तको असर मानसिले नै व्यहोर्न पर्छ । यी असरबाट बच्न मानिसले विविध क्याप्सुल, डेटस्पायर ओखती, मिश्रित अखाद्य बनेका मसला तथा खाना सेवनको असर, धर्तीबाट विषाक्त चिजहरू वायुमा मिसिएर तेजावी वर्षा, उद्योगका असरले ओजनतहमा परेको असर, तेलको जलन र पिरो धुवाँ, प्रदुषित पानीको सेवन, प्लाष्टिकजन्य बस्तुको दुरुपयोग आदिले मानिसमा परेका असर तथा मानिसद्वारा सिर्जित बस्तुले पारेको दुष्परिणामको मतियार अरु कोही नभएर मानिस भएको ठहर काव्यकारको छ । यस छालको अन्त्य काव्यकारले यसरी गरेका छन् –
धर्ती काँपउठयो जुट्यो गगनमा क्षेप्यास्त्र पड्काउने
उर्लेका तमसा प्रवेगहरूमा सञ्जाद अडकाउने ।
आ–आफ्नो जाल फिजाई हाँकहरूमा विज्ञानका उन्नति
वोकी दिन्छ अनेक तर्कहरूमा आधारशीला कति ।।
छाल : १२
यस छालमा आजको वर्णशंकर युगमा देखिएका पक्षलाई काव्यकारले प्रष्ट पार्ने प्रयास गरेका छन् –
छ वर्णै शंकरको बिजन रस पो अन्न धनमा
पसाल्दै छन् नसल पशुका झुण्डहरूमा ।
गयो आफ्नो पाना परभर परी चेतहरूमा
हरायो हीराको बिजन गरिमा खेतहरूमा ।।
पृष्ठ :४१
वर्णशंकर युगमा विकासको नाममा परम्पराबाट चलाउँदै आएका चिजहरू लोप हुन लागेको यथार्थ हो । यसमा काव्यकारमात्र नभएर सबै चिन्तित हुनु स्वभाविक हो तर यो हैन कि काव्यकार विकास बिरोधी हुन् । उनले विकासमा शुद्धता खोजेका छन् । यस काव्यमा काव्यकारले विकासको भूरि भूरि प्रशंसा गरेका छन् साथै यसमा देखिएका नकरात्मक पक्षलाई पनि जोडतोडले उठाएका छन् ।
बिजन सक्कली चाहिन्छ । आज गर्भ बोक्न कठिन मानिन्छ । मानिसको यस्ता किसिमका व्यवहार देखेर धर्ती रुँदैछिन् । मानवरूपी दानवीय व्यवहारले गर्दा धर्तीमाथि बलत्कार भै रहेको छ । मानिसले गाग्रामा सागर नै भर्न चाहान्छ । सबै रत्नहरू निकालेर त्यैलाई प्रयोग गरेर बलसँग प्रकृयालाई पल्टाउने होडमा दौडिरहेको छ । जङ्गली जानव।र, चराहरू सबै खायो अरू खान तयार छ भन्दै यो छाल सकिएको छ ।
छालः १३
यो पृथ्वी र मानवको सृष्टि एक अदृष्य शक्तिबाट भएको कुरा सबैले भन्ने गर्छन् । हरेक धार्मिक दर्शनले पृथ्वीको उत्पत्तिको बारेमा आआफ्ना दर्शनमा दर्शाएका छन् । हामी वेदमा विश्वास गर्दछौ । वेद अनुसार संसारको सृष्टि गर्ने, पालन गर्ने र संहार गर्ने कर्ता ब्रह्मा , बिष्णु र महेश्वर भनिएको छ । यिनले पृथ्वी, अग्नि, वायु, जल, प्रकाश, ग्रह , नक्षत्र , अन्तरीक्ष र भूमण्लको सृष्टि गरे । मानस पुत्रको रुपमा सप्तर्षि ऋषिको सृष्टि गरियो । यी सप्त ऋष्मिा गौतम , भरद्राज , विश्वासमित्र , जमद्ग्नी , वशिष्ट , कश्यप र अग्नि हुन् । ब्रह्माकै शरीरबाट एउटा मानसिक पुरुष (स्वायम्भुव मनु ) र नारी ( शतरुपा ) लाई उत्त्पत्ति गरियो र मैथुनिक क्रियाबाट सन्तान उत्पादन गर्न लगाइयो । आजका हामी यिनैका सन्तान मानिएका छौं । पृथ्वी बन्दा जीव बस्न सक्ने अवस्था थिएन । विविध पक्षलाई काव्यकारले सांकेतिक रूपमा काव्यमा दर्शाएका छन् ।
विना मान्छे धर्ती कतिदिन धुमे सूर्य शशिले
नधर्तीमा देखे मनुज सरहै दिव्य छविले
न ता धर्ती धामा न त अरू गाउँ कविला
नहुन्थे धर्तीमा विधिबत न्याय गतिला
पृष्ठ ४३,
ढुङ्गे युगदेखि मानिसले विकास गर्दै आज विभिन्न बस्तुहरूको निर्माण गरे । अथवा मानिस विविध चिज बनाउन प्रविण भएका कुरा, मगजका बलका कुरा, विधाताका कुरा, ज्ञानका कुरा , कलाका कुरा, अँक्कलका कुरा अघोरी मूर्तिका कुरा, मुर्धा शान्तिका कुरा, उत्पादन बिक्री नहुने कुरा, लोभ नभएको, देव अतिथी पूजा नगरिने, आदि धारणा सहित काव्यकारले प्राकृतिको बर्णन गरेर काव्यलाई सुन्दर बनाएका छन् –
बगेका झर्नामा मधुर लयका ताल छहरा
बजेका बाजाझैं तुमल धुनमा बाद्य नगरा
नदीका पानीमा मगर मछली लाम रमिता
बगेका क्या राम्रा सलललहरी फूल थरिका ।।
पृष्ठ ४५
छालः १४–
यस छालमा दुई पंक्रिका श्लोकमा विविध धारणालाई पस्किएको छ । कतै काव्यकार वर्षने भेघको गर्जनसँग पुग्छन् । कतै वर्षाको कारणले उर्लदो भेलले पथरा टुक्र्‍याएको पाउँछन् । शालिनीसँग खहरे मिन्ले र सङ्गीतमय मर्मका गीत गाएको अनुभूति हुनु । प्राकृति सौन्दर्य यत्रतत्र दर्शिएका, फलेका डाली निहुरेका, सिंहहरू मृगका हुलमा पसेका, बघिनी गर्जेकी, नागिनीले ड्वाकेकी, सिंह गर्जेर अन्याय गर्दै वनका निर्बललाई निमोठिनु, हात्तीको जलाशयको मस्ती, नरका अभेद्य आँखा अनि शुरो पना आदि धारणा काव्यमा प्रस्तुत भएका छन् । काव्यकारले यहाँ विविध संदेश दिएका छन् । उनी भन्छन् कि पीडाको अर्थ मानिसले मात्र बुझ्छ । मानिसको छाती कोमल छ भन्ने कुरा बुद्धको छातीबाट प्रष्ट हुन्छ । सुँघेर फूलको बासना, हीराको चम्कनबाट रत्नको मूल्य थाहा हुने । लोहाको चम्कनले संसार तर्साउँछ, अंकुशेले रोपेर हात्ती बसमा ल्याइने,लगामले घोडा काबुमा ल्याइने,रौका भुप्पा काटेर कम्मल बुन्ने मौरीका महको भोग गर्ने,स्वतन्त्र वनका पशुपंछी पिंजरामा राखेर बन्दी बनाइएका धारणा सहित मानिस शक्तिवानभएको धारणा यसरी पस्केका छन् –
चलायो शक्तिको सत्ता उर्वीको बसमा लियो
अस्ताए अरूका शक्ति मान्छेको विजयी भयो
पृष्ठ ४८
ऋद्धि सिद्धि शुभा शान्ति मान्छेका खेलमा परे
ईश्वर देवता पितृ मान्छेका खेलमा परे
पृष्ठ ४८
मानिसले तप र पूजाबाट देवतालाई खुसी पारेर वरदान लिएर आफू शक्तिशाली बने । यति मात्र हैन । मानिसले पशु र पंछीको बली दिन्छ ,भाकल गर्छ, वरदान माग्छ र विविध नाटक खेलेर सबै बसमा पारेका छ –
पारेको बसमा सारा नगरी भरीका परी
गर्दैछ अवता मान्छे गिदीको पनि सर्जरी
आजको वैज्ञानिक युगमा मानिसले टेष्टटुवेबी जन्माउने काम, नारीले सौन्दर्य बचाउन छोराछोरी नजन्माउने औषधीको प्रयोग, स्वदेशको संकृति परम्परा, भाषालाई छाड्द,ै डेडी मम्मी भन्द,ै डिस्को नाच्दै आफ्नो स्वपन छाडेको धारणा, आएका छन् । यस्ता विकृति रोक्न पण्डितहरूको गहन भूमिका हुनु पर्ने थियो तर त्यो छैन । कुकुर किन पालिन्छ । उसले े घरको सेवा गर्छ तर उसले पाउने भनेको एक गास कलो मात्र हो । पशुले घाँसको लागि मात्र सेवा दिन्छ तर कुखुरा पाठाहरू मासुको लागिमात्र जन्मेका छन् । पिजरामा चराहरू राखिन्छ मार्ने र पाल्ने उसको हातमा निर्भर रहन्छ भन्दै काव्यकार भन्छन् –‘विधताको विधि रैछ चराचर नरानर ।’
छालः १५
यस छालमा बलीप्रथाको बारेमा काव्यकारले आफ्नो धारणा राखका छन् ।पाठापाठी देवको थानमा कटेर सिद्धि प्राप्त हुँदैन । पाप मोचन गर्छु भन्दा अर्को पाप थपिन्छ । देवी रगतका भरमा हुन्नन् र देवीले रगत खाएको पनि देखिदैन । मानिसले आफ्नो पाप दोषलाई छल्नको लागि, आत्म विश्वासको कमीले गर्दा निर्वल पाठामा छुरा रोपिन्छ । घरमा छोराछोरीसरह पालेर निर्वल पाठालाई काटेर चाहना पूर्ति हुँदैन भन्ने काव्यकारको ठहर छ ।
छाल : १६
यस छालमा काव्यकारले विविध पक्षलाई समेट्ने प्रयास गरेका छन् । मोजको होलीको लागि जमानिमा हर्ष रसरङ्ग, आनन्द चाहँनाको लागि पैसामा आत्मा बेचेर इच्छा पूर्ति हुँदैन । आनन्दको लागि त दोषको पहिचान गर्नु पर्छ , कुलको मर्यादालाई राख्नु पर्छ । भलो कुभलो के हो ज्ञानद्वार देख्नु पर्छ । स्वार्थी पसिना बगाउँदैमा, अर्काको छातीमा झीर रोपेर, अर्काको घरलाई उजाड पारेर धन कमाएर, चोरेर, ठगेर, अधर्मी छुद्रपारा, दानवी परिबेशमा, निचता, वैमानशिकता, गरिबको रगत चुसेर धन कमाएर, गीता पढेर पाप पखालिने धारणा राखेर,मूर्तिमा पूजा गरेर, बली दिएर, यस जन्ममा ऐयास तथा रासलीलामा बसेर शुद्ध कर्म नगरी अर्को जन्म पनि त्यसरी रमाउन पाइयोस भनेर, धर्ममा लम्पसार परेर भेटी चढाएर स्वर्गको चाहना राखेर,नून, सुन, अन्नदान, तुलादान,महाँदान आदि बाट शान्ति र स्वर्ग मिल्न सक्छ र भन्ने तर्कहरूमा प्रश्नबाची छन् काव्यकार –
पोखेर धनको थुप्रो स्वर्गमा ठाउँ मिल्छ र ?
जोखेर धनको तुलो निर्मल पाप हुन्छ र ?
काव्यकारले यस छालको अन्त्यमा यसरी प्रस्तुत गरेका छन् –
अन्त्यमा मुक्तिको आशा पुगेर धर्म धाममा
ठानेर तीर्थ हो तर्न पैसा हो मनकामना
पृष्ठ ५६
मुक्तिको बारेमा विभिन्न दर्शनहरूले आफ्नो आफ्नो तरिकाले परिभाषित गरेको पाइन्छ । ‘ कोही भन्छन् सत्सङ्ग द्वारा नै जिवात्मको मुक्ति प्राप्त हुन्छ ।’ कर्मवादीहरू कर्मको फल सबैलाई मिल्छ ’ भन्छन् । कसैले ज्ञान मार्ग, भक्ति मार्ग, कर्म मार्ग ध्यानमार्ग बाट मुत्तिल प्राप्त हुन्छ भन्दछन् । कसैको कथन छ कि मुक्ति प्राप्त गर्न ईश्वरको दया चाहिन्छ र जो त्यसलाई प्राप्त गर्न इमान्दार भक्ति र समर्पणले मात्र सम्भव छ ।
छाल : १७
मान्छेको नगरौ. खुन नगरौं पशुको बली
नमारौं मर्मको माया त्यगेर अरुमा छली
पृष्ठ ५७
यस छालमा काव्यकारले दार्शनिक अभिव्यक्ति पोखेका छन् ।कविले भन्छन् परोपकारका पाटा उधानमा रोपौं । यस धरणीको माटोमा रहने हामीले आत्मियता खोज्नु पर्छ । सबैको दुःख एउटै भएकाले आँसुका भललाई रोकौं अथवा दुःखीलाई नरुवायौं । काव्यकारको धारणा कति महान छ ‘उमारौं छातीमा शान्ति फुलाउँ प्रेमको फूल ।’ शान्तिमा आगो लगाउन हुँदैन । लाटा खाँचाले पनि जिउन पाउनु पर्छ । तिनी माथि हिंसा गरेर आएको रगतलाई लुकाउन चपरा मुनि छोप्न हुँदैन । जिउने अधिकार सबैको छ । जन्मदा कोही धनी कोही गरिब हुँदैन । कर्मबाटमात्र धनी गरिब बन्ने हो । काव्यकारले आजको क्रियाकलापलाई मूल्याङ्कन यसरी गरेका छन् –
दिदैंछ मान्छेको हाँक मान्छेको कामवासना
अत्तालिदो छ यो मान्छे भोगेर क्रूर शासन
पृयठ ५७
छाल : १८
लड्ने युद्ध थलो विपक्ष कुन हो जान्दैन लड्ने अरे
छातीमा बदला बलेर मुटुको तातो रगत जल्छ रे ।
पेलम्पेल पछाडी पार्न अवला ठेली रहेको हुरी
छाती भित्र उमाली गर्म पसिना काडेर आफै रुनी ।।
पृष्ठ ५८
युद्ध सहज हुँदैन । यहाँ खुन बहन्छ । सफलता चाहान्छ । कौतुहलता बढेर आउँछ । सपना देखेको विपनामा परिणत कसरी गर्ने भनेर आशाका लहर बग्दछन् । ननिका चालमा बिचार विमर्श गर्नु हुँदैन किनकी भविष्यको गति कता लाग्ने हो त्यो थाहा लाग्दैन तर आँट गरेर क्रान्ति गरेर घातलाई लग्यो भने जनतामा खुसी छाउँछ र शान्तिमा हाँसिन्छ । काव्यकारले युद्धको परिणतीलाई यसरी पस्केका छन् –
शक्ति गर्भ पतन भई बगरमा लत्याउला स्यालले
पाल्दा रुग्ण विचार ख्यालहरूमा धोका दिंदा ख्यालले
कोदाली खुकुरी कुटो र हँसिया भाला खुँडा बञ्चरा
लड्नेछन् हतियार युद्धथलमा काट्ने अजर्का जरा ।।
पृष्ठ ५८
काव्यकार युद्धबाट सकरात्मक उपलब्धीप्रति आशावादी पनि छन् –
छाती ढाल बनाई दीनहरूले लड्ने र ढल्ने दिन
धर्तीमाथि सबै कुकर्म खलता धोयर तातो खुन
यो साझा धरणी मनुष्य चरको मानेर साझा घर
बाँडी खान रमाई भाइहरुको बस्ती बनोस् निडर
विषमताको यो धरणीमा काव्यकारले सङ्कीर्णता भन्दा माथि उठेर समताको खोजी गरेका छन् । युगौंदेखिका अभाव, रोग, भोक, गरिवीबाट मुक्ति चाहेका छन् र उनी भन्दछन् –
मान्छे ढाल बनाउदै सहिदको तातो र रातो खुन
पारी मानवता विदीर्ण जगमा हुँदैन कैल्यै गुन ।
यस खण्डकाव्यको अन्तिम छालको अन्तिम श्लोकमा आजको संसारमा देखिएका विविध खाले कुकृत्यको नाशको लागि शहीदहरूले धर्ती कम्पाय मान पार्ने अवस्थामा खलका दलालहरू उम्कन पाउने छैनन् । धर्तीमा पापका रगतले तर्पण हुनेछ । दुर्योधन जस्ता हारे भनेर विना कसुरमा खुडा उठ्ने छैनन् अर्थात सत्यता थाम्न सधै हतियार तयार रहने प्रतिबद्धता सहित खण्डकाव्यको बिट मारिएको छ ।
मैले माथि १८ छालको भावसार पस्कने प्रयास गरे । झट्ट हेर्दा यी छालको स्वतन्त्र अस्तित्व छ कि जस्तो लागे पनि शीर्षकको उद्देश्य अनुरूप यी छालहरूको कथाबस्तु एक अर्कामा जोडिएकाछन् । आकारप्रकार, विषयबस्तु,संरचनाको राम्रो विश्लेषण गरेर भूमिकाकार इन्द्रबहादुर भण्डारीले यसलाई खण्डकाव्य भनेर प्रमाणित गरेका छन् । महाकावि माधव वियोगीले ‘विषय बस्तुकै सनिन्कटामा आवद्ध रहेकाले यसलाई विषयबस्तुका सनिन्कटतामा खण्डकाव्य भन्न हिछकिचाउनु पर्ने कुनै कारण छैन ।’ भनेका छन् । मेरो अध्ययनले पनि खण्डकाव्यका मान्यताको आधारमा केलाउँदा खण्डकाव्य हो भन्ने ठानेको छु । शीर्षकीकरण र यसभित्र पस्केका धारणालाई केलाउँदा यस खण्डकाव्यले मानिसका समग्र पक्षका आयमलाई समेटेको छ । एउटै छन्दमा खण्डकाव्य लेखिन्छ भन्ने मान्यता रहेता पनि आजको सन्दर्भमा विविध छन्दमा खण्डकाव्य लेखिएका छन् र यस खण्डकाव्यमा सार्दूलविक्रीडित छन्दले बाहुल्यता लिएको छ । रसको हिसावले हेर्दा शान्त रसको बाहुल्यता छ । अलङ्कार, बिम्ब र प्रतिकको प्रयोगले काव्य उत्कृष्ट बन्न पुगेको छ । भाषा सरलदेखि क्लिष्ट तत्सम र आगन्तुक शब्दको प्रयोग भएको देखिन्छ । बादको हिसावले हेर्दा अध्यात्मवादलाई प्राथमिकता दिएको पाइन्छ ।
शीर्षकीकरण– विविध अध्यनबाट मानस भनेको मानवका मानसिक अवस्थाहरू, विचार, भावना, र चेतना सम्बन्धी सबै कुरा को समुच्चय हो भन्ने जानकारी पाइन्छ । यस शब्दले मानिसको मन र सोचाइलाई जनाउँछ र यस शब्दमा मनोविज्ञान र भावनात्मक प्रतिक्रिया समावेश हुन्छ। यस खण्डकाव्यले मानसको परि भाषालाई सार्थक तुल्याएको छ । शीर्षक ठिक छ ।
परिवेश –यो कृतिको परिवेश मूख्यरूपमा धर्ती भए पनि आकाश, स्वर्ग, नर्क, हिमाल आदि विविधतालाई समेटेको पाइन्छ ।
पात्र चयन–यस काव्यले मान्छेका समग्र पक्षका चिन्तनलाई समेटेको हुँदा मानव नै नायकको रूपमा लिन ठिक होला जस्तो लाग्यो । धर्ती सवल रूपमा उभिएकी छन् ।पेट बोलीमा थुप्रै पात्रहरू यस काव्यमा देखिन्छन् ।
पहिलो खण्डकाव्य भए पनि केही कमी कमजोडी देखिए पनि यो निरन्तरताले सुधार हुँदै जाने कुरा हो ।
निष्कर्ष– मैले यस खण्डकाव्यका प्रत्येक छाललाई गहनरूपमा विश्लेशण गरेको छु । तिनै कुरा यहाँ दोहोर्‍याउन चाहान्न । समग्रमा काव्यले मानवका विविध पक्षलाई समेटेको छ । यहाँ माटोप्रति प्रेम छ । धर्मप्रति आदर छ । अध्यात्मिक र भौतिकवादका धारणा प्रसस्त छन् , विकृति र विसङ्गतिप्रति कटाक्ष छ । सकरात्मक पक्षलाई बढवा दिंदै मानव जीवन दर्शनलाई प्रष्ट पार्दै एउटा सुन्दर खण्डकाव्यको सिर्जना गर्नु भएकोमा धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।