"कहाँ गएकी हो ? अहिलेसम्म आएकी छैन ? छोराछोरी भोकाइसके । दस बजिसक्यो । ´´ सासूले घडी हेर्दे गनगन गर्न थालिन् ।
बुहारी हस्याङ्फस्याङ् गर्दै भान्सामा पसेर भनिन् ,`` एकछिन नेताको भाषण सुन्न गएकी थिएँ । कार्यक्रम सकिदा ढिलो भो । छिटै खाना पकाइ हाल्छु नि ! ´´
सासूले आँखा तर्दै भनिन् , ``कसैलाई नलागेको राजनीतिको नसा यसैलाई लाग्दो रहेछ । बिदाको दिन , केटाकेटीलाई नुहाइ दिनुपर्ने , लुगा धुनुपर्ने , घरभरि काम अस्तव्यस्त छ ।´´
बुहारीले पनि झनक्क रिसाउँदै भनिन् , ``घरको कामै बिताएर कहिले हिँडेकी छु र ? मरिमरि गरेको काम चाहिँ कसैले देख्दैन् तर एकछिन हिँडेको देखियो ।"
सासूले हकारिन् , ``खुब जानिछस् कुरा गर्न । सिक सिक देउरानी घरै जेठानी भन्थे । हो रहेछ , वरिपरिको माहोल नि त्यस्तै । अझ , हेर न ! लाजै नमानी ठाड्ठाडै बोल्छे ।"
बुहारी नबोली भात पकाउन थालिन् । सासू फेरि फत्फताउन थालिन् ,
"मकै गोड्न मेलामा जानु थियो । भर दिएकी थिएँ । अब जान ढिलो हुने भयो । के भन्लान् ? अहिलेका बुहारीलाई त केही बोल्नै हुन्न । हाम्रा पालामा कति सास्ती खेपियो।´´
सासू बुहारीको निकै बेरको गन्थन सुनेका ससुरा चर्कदै बोले , " हैन , तिमीहरू कति शत्रु हसाउँछौ हँ ? तिल जत्रो कुरालाई पहाड बनाउन जानेका छौ । आइमाईका खुट्टा आइमाईले नै तान्छन् भन्थे , साँच्चै हो ।"
केही नरम स्वरमा सासूले सोधिन् , ``के , के भने त तेरा नेताले ? तैले पनि ठुलै भाग पाइस् होली नि ! "
बुहारीले भनी , "यी लाछीले गर्न त के पो गर्न सक्थे र ? कमसेकम देसमा बेरोजगारी समस्या हल गरे त हुने हो । "
गैंडाकोट ४ नवलपुर