"तर हामीलाई को सुन्छ र ?" एउटा अक्षरले सुस्केरा हाल्यो ।
पुरानो पुस्तकालयको कुनामा थुप्रिएका धुलाम्य अरू अक्षरहरू मुस्कुराए। उनीहरू अमानवीय भए पनि समयसँगै चेतनशील भइसकेका थिए ।
"आज नारी दिवस हो, हामी बोल्नैपर्छ ।" अर्काले दृढ स्वरमा भन्यो ।
त्यसैबेला, एक महिला भित्र पसिन् । उनले इतिहासको पाना पल्टाइन्, हिजोका संघर्षहरू पढिन् । पुस्तकका अक्षरहरू कम्पायमान भए ।
"हामीलाई सुनेकी छिन् !" तिनीहरू उल्लासित भए ।
महिलाले आँखा चिम्लेर सोचिन्- नारी आन्दोलन, सीता, योद्धा, विदुषीहरू...। अनि, शिर ठाडो पारेर निस्किइन् ।
पछाडि, अक्षरहरू फिस्स हाँसे ।
एउटा अक्षर दमदार आवाजमा भन्यो, "ती महिलाले थोरै पढे पनि, धेरै सोचिन् । कम बोले पनि, धेरै सुनेर हिँडिन् ।"