भारतीय नेपाली साहित्य जगतका एक स्तम्भ प्रगतिवादी चिन्तनधाराका साहित्यकारका रुपमा परिचित एक सम्माननीय व्यक्तित्व हुन् दार्जीलिङ निवासी श्री नन्द हांगखिम। उनको जन्म दार्जीलिङकको सोनादा निकट मार्गेरेट्स होप चियाकमानमा 11 नोभेम्बर सन् 1944 मा भएको थियो। उनको पिताको नाम सरदार हरिलाल राई अनि माताको नाम राधिका राई हो। उनको परिवारमा पाँच जना दाज्युहरू र दुई जना दिदीहरू थिए। उनी सबैभन्दा कान्छो हुन्। उनको प्रारम्भिक शिक्षाको शुरूआत कमानकै हेनगेन (ब्रिटिश म्यानेजरको नाममा राखिएको) प्राइमेरी स्कुलबाट भएकों थियो अनि त्यहाँ पढ्दा पढ्दै स्कुलको बड़ोत्तरी भइ मिडल स्कुल हुँदा पाचौं र छैटौं श्रेणी पनि त्यहीँ पढेर सातौँ र आठौँ खरसाङको सेन्ट अल्फन्सस् स्कुलमा पढ़ेपश्चात् नवौं र दशौँ श्रेणीको अध्ययन दार्जीलिङको टर्नबुल हाई स्कुलबाट पुरा गरेर सन् 1962 मा स्कुल फाइनल उतीर्ण गरी त्यही वर्ष दार्जीलिङ सरकारी कलेजमा भर्ना भए अनि सन् 1963 मा प्री-युनिभर्सिटी परिक्षा उतिर्ण गरे।
सन् 1961 मा 55 वर्षको उमेरमा पिताको देहावसान भइसकेको थियो। पिताको मृत्युपछि परिवारमा आइपरेको आर्थिक सङ्कट र घरेलु परिस्थितिको कारण कलेजमा स्नातक स्तरको अध्ययनको निम्ति निरन्तरता कायम राख्न उनी असर्थ रहे। यसर्थ जीवनको कर्मक्षेत्रमा उत्रेर आफ्नै खुट्टामा उभिने उदेश्यले कलेज छोडेर उनी नोकरीको खोजमा लागे। त्यसबेलासम्म उनी साहित्यमा पनि कलम चलाउन थालिसकेका थिए। उनका रचनाहरू कथा, कविता, निबन्ध आदि साप्ताहिक पश्चिम बङ्गाल, दियो, दियालो जस्ता पत्र-पत्रिकाहरूमा प्रकाशित हुन थालेका थिए। उनको पहिलो सामाजिक कथा ‘थेबा’ पश्चिम बङ्गाल पत्रिका वर्ष 7 अङ्क 40, 30 जनवरी सन् 1961 मा प्रकाशित भएको थियो। त्यही वर्ष उनका निबन्धहरू ‘तर चुड़्दिनँ उसलाई म’ (पश्चिम बङ्गाल वर्ष 7 अङ्क 49, 3 अप्रेल 1961) र ‘मेरो परिचय’ (दियालो वर्ष 2 हाँगो 8, 1961) प्रकाशित भएका थिए। पछि ‘दियालो’-मा उनका अन्य कथाहरू ‘क्लिनर काले’ (हाँगो 14), ‘हिमवतीको पेवा सुँगुर’ (हाँगो 19) र ‘छिन्जु-लमु’ (हाँगो 21) प्रकाशित भए। प्रारम्भमा कविता विधाबाट नै उनले साहित्यमा कलम चलाउन थालेका हुन् र उनका धेरै कविताहरू प्रकाशित पनि भएका छन्। उनी गीतहरू पनि रचना गर्थे अनि त्यसमा आफै सङ्गीत भर्ने अनि हार्मोनियम बजाएर गाउने पनि गर्थे। सन् 1963 मा दार्जीलिङमा सम्पन्न भएको सङ्गीत प्रतियोगितामा उनले आफ्नै शब्द, सङ्गीत र गायनमा प्रस्तुत गरेको एउटा गीत ‘’तिमीलाई युग युगदेखि चिने. चिने. झैं लाग्छ’-को निम्ति श्रेष्ठ शब्दकारको रुपमा तेस्रो पुरस्कार प्राप्त गरेका थिए। सन् 1964 मा उनको प्रथम कृतिको रुपमा पहिलो उपन्यास ‘लाश’ प्रकाशित भएको थियो। यसका प्रकाशक थिए परमानन्द शर्मा, दार्जीलिङ। यसरी उनी त्यस समयदेखि नै कथाकार, निबन्धकार, कवि, गीतकार, नाटककार, उपन्यासकारको रुपमा परिचित हुँदै आएका थिए।
कलेज छोडेपछि उनी कामको खोजमा काठमाडौं, नेपाल पुगे। त्यहाँ उनको प्रतिभाको कदर पनि भएको थियो। उनले काठमाडौंको रेडियो स्टेशनमा गीत गाउने अवसर पाए। त्यहाँ आफ्नै शब्द, सङ्गीत र स्वरमा उनले तीन-चारवटा गीत गाएका थिए। ती मध्ये दुईवटा गीतको बोल उनलाई अहिलेसम्म स्मरण रहेछ ‘जानेलाई के दिउँ, जानेलाई के दिउँ? आँशु सिवाय जानेलाई के दिउँ? ...’ र अर्को ‘देवरालीको वर-पीपल’.। त्यहीबेला उनले नाटककार बालकृष्ण समसित भेटघाट गर्ने मौका पनि पाएका थिए र उहाँलाई नाटक ‘प्रह्लाद’ विषय प्रश्न गर्दा खुबै गम्भीरता र ध्यानपूर्बक प्रत्युत्तर दिनुभएको थियो। यसबारे हांगखिमज्यु आफ्नो स्मरणमा रहेको कुरा भन्नुहुन्छ –‘ उहाँले त्यो दिन त्यहीँ खाजा खुवाउनु भयो र मसित उहाँको छोरो जनार्दन सम साहित्यकार, सङ्गीतकार र गायकसित परिचय पनि गराउनु भयो। आश्चार्यको कुरा त्यसबेला उहाँले मसित फोटो पनि खिँचाउनु भएको थियो, पुरानो त्यो च्यादर जस्तो लुगा ओढ़ाएर खिँचिने स्ट्याण्डवाला क्यामेराद्वारा.।‘ तर लगभग तीन महिना जति काठमाड़ौँमा बसेर पनि उनको नोकरीको कुनै समाधान हुन नसक्दा अन्तत: घर फर्किनु पर्यो.। सन् 1965 मा उनी पुन: दार्जीलिङको सरकारी महाविद्यालयमा भर्ना भए अनि अर्को वर्ष बी.ए. पहिलो चरण पुरा गरे.। कलेज पढ्दै गर्दा सन् 1966 मा उनको एकाङ्की नाटक ‘मृत्यु दिवस’ प्रकाशित भएको थियो। तर दोस्रो वर्षको पढ़ाई पुरा गर्न अघि त्यस्तै एउटा प्रतिकुल परिस्थितिको कारण उनी कलेज छोड्नु वाध्य भएका थिए। त्यो सन् 1967 तिरको कुरा हो, त्यसबेला उनी 23 वर्षको युवा उमेरमा थिए। त्यहीबेला धीरधाम, दार्जीलिङ निवासी रणमाया डोल्मी तामाङ नामकी एउटी युवति जो 14 वर्षको उमेरमै माता-पिताको मृत्युपछि सद्धे टुहुरी भएकी र आफूभन्दा साना तीनजना भाई-बहिनीहरूको हेरचाह गर्ने जिम्मेवारीका साथ आफु पनि पढ्दै त्यसबेलासम्म 19 वर्ष पुगेकी सबलासित उनको संवेदनशील सम्बन्ध रहेको थाह पाएर अन्यथा सम्झी उनै युवतीका दाज्युले जो बाहिर कुनै नोकरी गर्थे बहिनीलाई नराम्रोसित कुटपीट गरेर उनको कोमल ह्रदयमा आघात पुर्याएको हुनाले अर्थात् त्यस दुर्घटनाग्रस्त परिस्थितिको कारण अचानक उनको मनमा उनीसित वैवाहिक सम्बन्ध गाँस्नु पर्ने स्थिति आएको अनुभव भयो र उनले प्रेम विवाह गरे। फलस्वरूप उनी घरबाट पनि निष्कासित हुनुपर्यो। त्यसपछि उनको दाम्पत्य जीवनको प्रारम्भिक काल कठोर सङ्घर्षमा व्यतित हुन्छ। तर पछि आमा र दिदीको स्नेह र प्रेमले केही सान्तवना पाउन सके। विवाहपछि पत्निको पुरानो नाम परिवर्तन गरी राधा डोल्मी राखिएको थियो। पछि यही नाममा उनले माध्यमिक परिक्षा पनि उतिर्ण गरिन्। यसरी आफ्नो जन्मथलो चियाकमानकै गाउँमा जसोतसो जीवन चलिरहेको थियो। अन्तत: उनले सन् 1969 मा जलपहाड़स्थित एघार गोर्खा राइफल्स, देहरादून पल्टनको निम्ति क्लर्कको पदमा नियुक्ति पाए। तर उनलाई जलपहाड़मै नौ महिनासम्म राखियो। एकदिन त्यस्तै एउटा विषयमा पल्टने पार्टीमा अफिसरसित झगडा हुँदा त्यस नोकरीबाट बर्खास्त हुनु पर्यो। त्यसपछि उनी खरसाङ आएर पहिले त्यसबेलाका नाम चलेका सरदार स्व. काजी प्रधानको छत्र-छाँयामा सानो-तिनो बहिदारको काम गर्दै गुजारा गरे अनि पछि त्यहीँको आदर्श विद्यालय नाम गरेको एउटा हाई स्कुलमा महिनाको 60 रु. मा शिक्षण पेशामा लागे। तर केही महिना पश्चात् उनले खरसाङको रेडियो स्टेशनमा अस्थायी रुपमा महिनाको 100 रु. वेतनमा काम गर्ने अवसर पाए। त्यसबेला प्रसिद्ध साहित्यकार शिवकुमार राई खरसाङ रेडियो स्टेशनका कार्य निर्देशक रहेका थिए। उनले त्यहाँ ‘युवा-वाणी’ भन्ने नयाँ कार्यक्रम शुरु गरी त्यसको सञ्चालन गर्ने भार उनलाई सुम्पिएका थिए। यसरी खरसाङ रेडियो स्टेशनमा काम गर्न थालेको लगभग दुई वर्षपछि सन् 1973 मा पश्चिम बङ्गाल सरकार अधीन रहेको दार्जीलिङको सरकारी मुद्रणालयमा उनले स्थायी रुपमा नोकरी प्राप्त गरे। त्यसबेलासम्म उनका तीनजना नानीहरूको जन्म भइसकेको थियो। दार्जीलिङ आएर स्थायीरुपमा नोकरी गर्नथालेपछि उनले सन् 1976 मा स्व-अध्ययनद्वारा उत्तरबङ्ग विश्वविद्यालयबाट स्नातक उतिर्ण गरे। सन् 1971 सम्म उनका आधा दर्जन जति कृतिहरू प्रकाशित भइसकेका थिए। सन् 1986 मा 84 वर्षको उमेरमा उनकी आमाको मृत्यु भयो। यस्तै उतार-चड़ाउमा जीवन काट्दै लगभग 33 वर्ष सरकारी सेवामा रहेपश्चात् सन् 2006 मा उनले अवकाश ग्रहण गरे।
साहित्यप्रति उनको प्रतिबद्धता र लगनशीलताको सन्दर्भमा भन्नुपर्दा विद्यार्थी जीवनकालदेखि नै उनको साहित्यप्रति अभिरुची रहेको थियो भन्ने जानकारी पाइन्छ। सन् 1957 तिर उनी छैटौं श्रेणीमा पढ्दा स्कुलका शिक्षक र गाउँका केही शिक्षित एवं सचेत व्यक्तिहरू मिलेर ‘वाशन्ती’ नामको एउटा हस्तलिखित पत्रिका निकालेका थिए। यो पत्रिका निस्किए पश्चात् उनले पनि दाज्युहरूको माध्यमद्वारा घरमा त्यसलाई हेर्ने मौका पाए अनि त्यसबाट प्रेरित भई उनका दँवलका केही साथीहरूसित मिलेर रहरमा दुई आनामा 16 पृष्ठको खाता किनेर ‘भालेको डाक’ नामको एउटा हस्तलिखित पत्रिका निकालेका थिए। त्यहीबेलादेखि साहित्यमा केही लेख्नुपर्छ भन्ने उत्साहले कविताहरू कोर्न थाले। पछि शिवकुमार राईको कथा सङ्ग्रह ‘फ्रन्टियर’-बाट उनी निकै प्रभावित भए अनि कथाहरू पनि लेख्न थाले। कवितामा उनी जातीय चेतना तथा अस्तित्ववादी चिन्तनधाराका कवि अगमसिंह गिरीलाई आफ्नो आदर्श मान्छन्।
उनको जीवन खुबै सङ्घर्षमय रहेको थियो। जीवन नै सङ्घर्ष हो भन्ने कुरा उनले आफ्नो पिताबाट सिकेका थिए। उनका पिता चिया श्रमिकहरूका स्थानीय नेता पनि थिए। उनी चिया श्रमिकहरूको रोजी-रोटी र हक अधिकारको निम्ति आवाज उठाउने र सदैव उनीहरूको पक्षमा प्रशासन तथा व्यवस्थापकसमक्ष मागहरू लिएर खडा हुने एक लोकप्रिय एवं जुझारू जनप्रतिनिधिका रुपमा परिचित थिए। यस्तै मागहरूको सिलसिलामा 25 जून 1955 सालमा मार्गेरेट्स होप चियाकमानमा श्रमिक आन्दोलन हुँदा पुलिसद्वारा गोलीकाण्ड भएको थियो जसमा 6 जना श्रमिकहरूको निर्मम हत्या गरिएको थियो। यो घटना हुन अघि नै उनको परिवारबाट उनका पिता, दाज्यु र दिदी पुलिसद्वारा पकड़ाउ गरी थुनामा राखिएको थियो। त्यसबेला हांगखिम मात्र 11 वर्षका थिए। पुलिस गोलीकाण्डमा आहत भएर मानिसहरू ढल्दै गरेको उनले प्रत्यक्ष देखेका थिए। त्यो अमानवीय भयावह दृश्यको प्रभाव उनको मन-मष्तिस्कमा धेरै पछिसम्म रह्यो। त्यसैको फलस्वरूप सन् 1992 मा ‘चियाबारीमा’ (खण्ड काव्य) र सन् 2006 मा ‘1955 साल’ (लघु चलचित्र) जस्ता ऐतिहासिक उत्कृष्ट सृजनाहरू उनीबाट हुनसक्यो। उनी परिवारको जीवन धान्दै साहित्य लेखनमा पनि निरन्तर लागिरहे। उनका अहिलेसम्म लगभग डेढ़ दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । तीमध्ये तीनवटा उपन्यास, तीनवटा कथा सङ्ग्रह, तीनवटा खण्ड काव्य, एउटा गीत सङ्ग्रह, एउटा निबन्ध सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह र एकाङ्की सङ्ग्रह अनि पूर्णाङ्की नाटकका पाँचवटा पुस्तकहरू प्रकाशित छन्।
उनका प्रकाशित कृतिहरूको सूची यस प्रकार रहेको छ :-
1) लाश (उपन्यास) – सन् 1964
2) मृत्यु दिवस (एकाङ्की नाटक) – सन् 1966
3) प्रीतिका चिट्ठीहरू (पत्रात्मक कथा सङ्ग्रह) – सन् 1970
4) उन्मुक्ति (कथा सङ्ग्रह) – सन् 1970
5) अर्को अनुहार (उपन्यास) –सन् 1971
6) प्रेमालाप (मुक्तक सङ्ग्रह) – 1971
7) चियाबारीमा (खण्ड काव्य) – सन् 1992
8) युद्धहरू (पूर्णाङ्की नाटक) – सन् 1993
9) अभिषेक (पूर्णाङ्की नाटक) – सन् 1995
10) लीला-अ-लीला (एकाङ्की नाटक) – सन् 2006
11) सत्ता ग्रहण (कथा सङ्ग्रह) – सन् 2012
12) हिमपुरीको देशमा (खण्ड काव्य) – सन् 2013
13) नन्दन निबन्धन (निबन्ध सङ्ग्रह) – सन् 2015
14) मैनबत्तीको आत्मकथा (खण्ड काव्य) –सन् 2016
15) गीतानन्द (गीत सङ्ग्रह) – सन् 2017
16) विडम्बना (उपन्यास) – सन् 2019
17) शिव सती (काव्यात्मक नाटक) – सन् 2020
सम्पादन :
1) आधुनिक नेपाली कविता (भारतीय नेपाली कविता सङ्ग्रह) सम्पादक द्वय – कुमार घिसिङ अनि नन्द हांगखिम, साहित्य अकादेमी, दिल्ली – सन् 1992
यसबाहेक सन् 2024 मा परि प्रकाशन, सिक्किमले ‘नन्द हांगखिम : कृति कुञ्ज’ नाम दिएर उनका कृतिहरूलाई तीन खण्डमा प्रकाशित गरेको छ। उनका अझै चारवटा कृतिहरू प्रकाशोन्मुख रहेका छन् भन्ने जानकारी पनि पाइएको छ। ती हुन् – 1) एक दिन जङ्गलमा (बाल नाटक), 2) हाम्रा केही नाङ्गा कथाहरू (कथा सङ्ग्रह), 3) चिन्तक चरित्रहरू (लेख सङ्ग्रह), 4) संस्मारिका (संस्मरण सङ्ग्रह)। चियाबारीमा (खण्ड काव्य) उनको चर्चित काव्यकृति हो भने सत्ता ग्रहण (कथा सङ्ग्रह)-को निम्ति साहित्य अकादेमी, दिल्लीबाट उनलाई सन् 2014 को अकादेमी पुरस्कारले सम्मानित गरिएको थियो।
यसका अतिरिक्त भारतीय नेपाली चलचित्र जगतमा पनि पटकथा र संवाद लेखनमा उनको केही योगदान रहेको जानकारी पाइन्छ। सन् 1985 मा स्व. जय धमलाको उपन्यास ‘कहीँ अँध्यारो कहीं उज्यालो’ –लाई उनले चलचित्रकरण गरी पटकथा, संवाद र गीत रचना गरेका थिए। यस चलचित्रका निर्माता दोर्जे बम्जन थिए। यसरी नै सन् 2000 मा उन्नाइस वटा प्रकरण (Episode)-मा निर्माण गरिएको दार्जीलिङको पहिलो धारावाहिक लघु चलचित्र ‘सपना’, सन् 2006 मा निर्मित टेलिफिल्म ‘1955 साल’ र सन् 2021 मा निर्मित ‘जीवन खोला’ (निर्देशक – सरोज राणा) आदिको पटकथा र संवाद लेखन उनले गरेका थिए। तर ती कतिपय राजनैतिक कारणहरूले प्रदर्शनमा विघ्न-वाधा आइपर्नाले त्यति राम्ररी चल्न सकेन।
यसबाहेक उनले रचना गरेका गीतहरूमा दार्जीलिङका प्रसिद्ध सङ्गीतकारहरूले सङ्गीत भरेका छन् र नाम चलेका गायक-गायिकाहरूले आफ्नो स्वरमा गाएर उनलाई एक असल गीतकारको रुपमा पनि चिन्हाएका छन्। उनका गीतहरू कतिले गाएका छन् ती सम्पूर्ण रुपमा उनलाई जानकारी नभए तापनि उनको एउटा प्रसिद्ध गीत कर्म योञ्जनले सङ्गीत भरेको अनि कुमार सुब्बाले गाएको ‘फूल भए फेरि फुल्थेँ तिमी आउने बाटोभरि,
सुवास छरी वशन्त ल्याउँथें तिमी आउने बाटोभरि’
अनि अशोक राईले सङ्गीत भरेका उनका प्रगतिशील गीतहरू निकै लोकप्रिय भएका थिए भने उदय सोताङले गाएको र मणिकमल छेत्रीले सङ्गीत भरेको गीत ‘नरुनु धेरै वियोगले चेली म फर्कि आउनेछु’ नेपालमा निकै चर्चित भएको थियो भनिन्छ। उनका अन्य गीतहरू वशन्त छेत्री, कुन्दनराज सुब्बा, प्रदीप छेत्री, जीवन प्रधानको सङ्गीतमा धेरैले गाएका छन् अनि सुधिर राई, गौतम गजमेर, सोनु राई, वनिता प्रधान, अनुपमा प्रधान आदिले रेकर्ड गरेका छन् भने एक समयमा आकाशवाणी खरसाङमा शान्ति ठटालको सङ्गीतमा अरुणा लामा लगायत अन्य धेरैले देश भक्तिका गीतहरू पनि गाएका थिए। यसप्रकारले सङ्गीत क्षेत्रमा पनि उनको यथेष्ट योगदान रहेको देखिन्छ।
यसरी विभिन्न विधामा समान रुपले कलम चलाउँदै आएका हांगखिम समग्रमा भन्नुपर्दा एक विशिष्ट प्रगतिवादी साहित्यकार हुन्। स्व. असीत राई आफ्नो पुस्तक ‘भारतीय नेपाली साहित्यको सर्वेक्षण अनि अध्ययन’ –मा लेख्नु हुन्छ – ‘नन्द हांगखिम एक अब्बल कथाकार, विशिष्ट नाटककार, समर्थ निबन्धकार र सफल कवि हुन्। साहित्यका यी चारै विधाहरूमा कुशलतासाथ आफ्नो प्रतिभाद्वारा कलात्मक शिल्प शैली सौष्ठ्वपूर्ण सुन्दर भाषा र प्रस्तुति र संरचनामा नयाँ टेक्निकले आफ्ना सिर्जनालाई नयाँ आयाम र उच्चता दिने हांगखिम एक प्रगतिवादी कवि पनि हुन् र एक विशिष्ट उपन्यासकार।‘ वर्तमान उनी एक्कासी वर्षको उमेरमा पनि साहित्य लेखनमा सक्रिय रहेका छन् अनि आजका युवा जमातका निम्ति एक दृष्टान्त एवं प्रेरणाका प्रतीक बनेर हाम्रो सामु उभिएका छन्।
साहित्यमा कलम चलाउने नयाँ पिढ़ीका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनको मन्तव्य यस्तो रहेको छ – ‘आफु बाँचेको युगलाई गम्भिरतासित ठिमाएर विवेकपूर्णताको चिश्लेषणले आफ्नो व्यक्तिगत निचोड निकाली लेखे असल हुनेछ। लेख्नकै लागि भने कहिल्यै नलेखेकै राम्रो। अहिले मलाई लाग्छ हामी ‘फ्युजन’ –को समयमा बाँचेका छौं। विश्वमा कतिपय पुरातन सिद्धान्त, आस्था अनि नूतन वैज्ञानिक सिद्धान्त तथा साहित्यिक विचारधारा, राजनैतिक प्रवाहहरूका छालले छोपिरहन्छ। तर ती सब वैश्विक ताप-चापको द्वन्द्वात्मक प्रक्रियाले नै हुने भएकोले द्वन्द्वात्मकतालाई विश्वास गरी आफ्नो निजी विचार मन्थनले मानवोपयोगी साहित्यको सृजना गर्नु असल होला भन्ने मन्तव्य पोख्छु।‘
विगतदेखि वर्तमानसम्म साहित्य, सङ्गीत र कला क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै विभिन्न सरकारी एवं बेसरकारी सङ्घ-संस्थाहरूबाट उनलाई, केही संवर्द्धना, सम्मान र पुरस्कारहरूद्वारा अलङ्कृत पनि गरिएको छ जो निम्न प्रकार रहेका छन् -
पुरस्कार/सम्मान : -
1) 10 नोभेम्बर सन् 1963 मा सम्पन्न भएको दार्जीलिङको सङ्गीत प्रतियोगितामा आफ्नै शब्द, सङ्गीत र गायनमा प्रस्तुत गरिएको गीत ‘’तिमीलाई युग युगदेखि चिने. चिने. झैं लाग्छ’-को निम्ति श्रेष्ठ शब्दकारको रुपमा तेस्रो पुरस्कारले सम्मानित।
2) नेपाली साहित्य संस्थान, काठमाड़ौँबाट ‘पर्खाल’ कथाको निम्ति दोस्रो पुरस्कार प्राप्त सन् 1966 मा।
3) काठमाड़ौँ, नेपालबाट ‘पूर्व पश्चिम’ शीर्षक कथाको निम्ति रत्नश्री स्वर्ण पदक पुरस्कार प्राप्त सन् 1971 मा।
4) नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट ‘दियालो’-मा प्रकाशित ‘अब साहित्य के लेख्ने?’ शीर्षक लेखको निम्ति स्व.राय साहेब पूर्णबहादुर प्रधान स्मारक पूरस्कारले सम्मानित सन् 1974 मा।
5) सन् 1974 मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङमा हस्तकला (काष्ठ-शिल्प) प्रदर्शनीको निम्ति सम्मानित।
6) सन् 1992 मा आकाशवाणी, खरसाङबाट प्रसारित नाटक ‘हजुर अब के हुन्छ?’ –को निम्ति पुरस्कृत।
7) उत्तरबङ्ग नाट्य जगत, बेलाभूमि, सिलगढ़ीबाट विशिष्ट नेपाली साहित्यकारको रुपमा सन् 1995 मा सम्मानित।
8) सन् 1997 मा सिलगढ़ीबाट पारिजात पुरस्कारले सम्मानित।
9) सन् 2002 मा निर्माण प्रकाशन, सिक्किमबाट सम्मानित।
10) पश्चिम बङ्गाल सरकारबाट सन् 2005 मा भारतीय नेपाली साहित्यमा विशिष्ट योगदानको निम्ति भानु पुरस्कारले सम्मानित।
11) सन् 2014 मा ‘सत्ता ग्रहण’ (कथा सङ्ग्रह)-को निम्ति साहित्य अकादेमी पुरस्कारले सम्मानित।
12) सन् 2025 मा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, बाग्राकोट, डुवर्सबाट 14 औं बद्रीनारायण प्रधान स्मृति पुरस्कारले सम्मानित।
वर्तमान उहाँको परिवारमा तीन छोरी र एक छोरा छन्। उनीहरू सबैको विवाह भएर आ-आफ्नो परिवार सम्हाली सफलतापूर्वक जीवन अघाड़ी बढ़ाई रहेका छन्। माइली छोरी-ज्वाईं भूटानमा अनि कान्छी छोरी-ज्वाईं अमेरिकामा वहीँको नागरिक भएर बसेका छन् भने छोरो दार्जीलिङमै रेस्टुरेन्ट चलाउँछन्। नाता-नातिना जम्मा पाँचजना छन्। अन्तत: सम्पूर्ण परिवारका साथ उहाँको अवकाश प्राप्त जीवन सदैव सुस्वास्थ्य एवं सुखमय रहोस् र निकट भविष्यमा अझ उत्कृष्ट कृतिहरू दिन सकुन् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु।
बाग्राकोट (डुवर्स)