18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भोटे चिया

निबन्ध प्रमाण अधिकारी February 28, 2025, 12:34 am
प्रमाण अधिकारी
प्रमाण अधिकारी

चियाको तलतल नभएको नेपाली समाजमा सायदै कोही होला । अल्छी लागे, दिक्क लागे, थकाइ लागे, चिसो लागे, भोक लागे, झर्को लागे चिया खाने कुरा यी सबै कुराको समाधानका रूपमा दिमागमा झुल्किहाल्छ । साथीभाइ भेट्दा, छुट्ने बेला, कसैलाई भेट्न पर्दा, दिमागमा केही फुराउन पर्दा पनि चिया बसिबियाँलो र उत्प्रेरकको भूमिकामा आइहाल्छ । अझ खलखली पसिना आएको भएपनि हिरालाई हिराले अनि फलामलाई फलामले नै काट्छ भन्दै उष्णकालमा पनि चिया सुर्क्याउने हाम्रो विशेषता नै छ । चियामा पनि पहिलो रोजाइमा त दुध चिया नै आउँछ । त्यसमा पनि शीतकाल भए अलिअलि अदुवा र थोरै मरिच मिसाएको चिया खान पाउँदा झन् स्वाद बढ्छ । मधुमेह भएका, हुन खोजेका वा होलाकी भनेर बेलैमा सचेत हुन थालेका मान्छे चिनीविनाको चिया खान्छन् । अनिमात्र आउँछ कालो चिया, कागती मिसाएको चिया । दुध चियाका पारखीलाई त लाग्छ, ‘कालो चिया पनि कोही खान्छ!’, ‘बरु चिया नै नखाने यदि कालो चियाबाहेक अर्को विकल्प छैन भने’ । अर्को स्वस्थ भनिएको विकल्प यहाँ छुटाउनै भएन, हरियो चिया । यसलाई अङ्ग्रेजीमा ग्रीन टी भन्छन् र अझ विशिष्टीकृत शब्द भन्नपर्दा अर्थोडक्स चिया । सुरुमा उल्लेख गरेको चलनचल्तिको चिया त सीटीसी चिया भइहाल्यो । स्वास्थ्यप्रति सचेत रहने र कपिपयले वजन घटाउने ध्येय पूरा हुने आशाका साथ ग्रीन टी खाने गर्छन् । इन्टरनेट र सामाजिक सञ्जालका कारण कुन चिया स्वास्थ्यवर्धक र कुन हानिकारक भन्ने कुरामा बहस पनि निकै चल्छ । सुकेको हरियो पत्ती खाने कतिपय पारखीहरू दुध चिया खराब हुन्छ भन्छन् । अझ विषाक्त नै हुन्छ भन्छन् । दुध चियामा अदुवा मिसायो भने त झनै खतरा पनि भनिदिन्छन् । शरीरका नशा नशामा रगतसँगै दुध चिया पनि बग्नेहरूलाई यो कुराले छुँदैन । ती सच्चा कुरा हुन् कि मिथ्या कुरा हुन् तिनका अनुसन्धानका आधारसहित स्वस्थ चिया सेवनकर्ता बोलिदिए हुने । अस्वस्थ बानी त्यो चाहिँ पक्कै हो जो चियापानसँगै धुम्रपान गर्छ । चियाविना खाएपनि त्यो हानिकारक नै हो । त्याग्नै पर्ने कुरा हो । यसमा दुईमत छैन ।

चिया हाम्रो जीवनको एउटा अभिन्न अङ्ग बनेका कारण बच्चादेखि वृद्धसम्म चिया सुरुप्प पार्न हुरुक्कै हुन्छन् । बच्चाले चिया खान हुँदैन भन्ने कुरामा वैज्ञानिक तथ्य र अध्ययन पनि छन् । तसर्थ बच्चालाई चिया खान जोड नगर्दा राम्रो हुन्छ । म बच्चैदेखि चिया खान हुरुक्क हुँदै हुर्केको मान्छे । त्यो बेला आकर्षणको मुख्य कारण गुलियो तत्त्व नै थियो होला । चिया खानमात्र होइन, चिया बनाउन पनि हुरुक्कै हुने मलाई चिया पकाएको एउटा घटनाको सम्झनाले बेलाबेला जुरुक्कै उचाल्छ र म त्यही दिन सम्झिन थाल्छु । भोटे चिया भनेपछि पक्कै यसले भोटतिरको चियाको प्रसङ्ग ल्याउन लाग्यो होला भन्ने लाग्ला । साँच्चै भनौँ भने मैले अहिलेसम्म एकपटक मात्र भोटको चिया खाएको छु, म्याग्दी जिल्लातिर । भोटे चियाको स्वाद त हाम्रा हिमाली भेगतिर बस्ने दाइदिदीहरू जिब्रा मै झुण्ड्याएर हिँड्दा हुन्; तर मैले भोटे चिया बनाउन जानेको छैन । फेरि यस्ताले केको भोटे चियाको गफ हाँक्नु भनेर प्रश्न उठाउन पनि सकिन्छ; तर मैले बनाएको चियालाई अरूले भोटे चिया भनिदिएपछि मेरो के लाग्छ । त्यसैले आफूले पहिलोचोटि पकाएको चियाको नामै भोटे चिया राख्न मनलाग्यो । मेरो त्यो पहिलो भोटे चिया पकाइको रहस्यको पोको पनि खोली हालौँ है त ।

केटाकेटी मान्छे भएपनि चिया भनेपछि हुरुक्कै गर्ने मेरो बानीबारे माथि नै चर्चा गरिसकेँ । चिया पकाउने रहर भने मलाई नलाग्ने गरेको होइन । केटाकेटी मान्छे भनेर घरका पाका सदस्यले मलाई पत्याउने कुरा भएन । सबै मिठो चिया खाने बानी परेका मान्छे भएपछि त मैले यो रहर मनमा पालेर बसिराख्ने बाहेक अर्को विकल्प हुने भएन । कहिले मौका पाइएला र सबैलाई मिठो चिया बनाएर दङ्ग पारुँला भनेर मनमा कल्पेर बस्नु नै मेरो बाध्यता बनेको थियो । मैले अरूलाई चिया पकाएर खुवाउने र दङ्ग पार्ने इच्छा मनमा राखेर दिन बिताउँदै गएँ । हिउँदका समयमा सबै मानिसलाई घाम प्यारो हुन्छ । घाम लागेको ठाउँमा मानिसहरू जम्मा भएर बस्छन् । गफिन्छन् । यसैक्रममा एकदिन मेरी आमा र छरछिमेकका केही महिला घरका छतमा बसेर घाम ताप्दै कुराकानी गर्दै हुनुहुन्थ्यो । हाम्रो घर र छिमेकको घर जोडिएकाले घरको छत पनि फराकिलो थियो । चियाका पारखी पाठकहरूलाई त झन् थाहा होला जाडामा चिया नखाई काम गर्ने जाँगर नै चल्दैन । अझ घाम ताप्दै चिया खाँदाको आनन्द नै छुट्टै हुन्छ । घाम तापेका बेला आमा र उहाँका साथीहरूलाई पनि चिया खान मन लागेछ । म त्यो बेला केटाकेटी मानिस । उहाँहरूकै वरपर खेल्दै, ऊफ्रदै थिएँ । झट्ट आमाबाट मलाई बोलाहट भयो र भन्नुभयो “जा त कान्छा! हामी सबैलाई चिया बनाएर ले” । मलाई पनि कहिले यो मौका आउला भन्ने प्रतिक्षा थियो । बालरहर न हो म पनि मख्ख पर्दै “हुन्छ” भनेर छतमा भएका सबैको संख्या गनेर भान्छातिर झरेँ चिया पकाउन । त्यो चिया पकाउने काम मेरा लागि पहिलो थियो । पहिलो अनुभव सँगाल्न लागेकाले मलाई केही नौलो अनुभूति भइरहेको थियो । भान्छाकोठामा आउने बित्तिकै गनेका मान्छेभन्दा एक गिलास कम पानी ताउकेमा खन्याएपछि चिनी, चियापत्ती, थोरै नुन अनि एक गिलास दूध हालेँ । त्यसबेला दुध धेरै शुद्ध हुने भएर पनि होला थोरै अनुपातमा दुध राख्दा पनि चिया गोरुमुते हुँदैनथ्यो । पानी, चिनी, चियापत्ती र दुध त राखियो, अब चिया मिठो पो कसरी बनाउने हो भन्ने पीर पर्न थाल्यो । केही नबुझ्ने अथवा कुन कुरो ठीक र कुन कुरो बेठीक भनेर छुट्याउने बुद्धिको विकास कट्‌मेरो भएको बेला भएपछि मेरो के लाग्थ्यो र । आमाले दाल तरकारी पकाउँदा प्रयोग गर्ने मरमसलातिर मेरो ध्यान जान्थ्यो । लसुन, अदुवा पिनेको मैले देख्ने गरेको थिएँ । खाना खाँदा मिठो लागेपछि तिनै मरमसलाले गर्दा मिठो भएको होला भनेर पकाउने क्रममा प्रयोग गरेका चिजबिजको याद हुन्थ्यो । अनि सिलौटामा अदुवा, लसुन बेस्सरी पिनेर चियामा राखिदिएँ ।

मन यता फुरुङ्ग छ चिया त साह्रै मीठो हुने भो भनेर । कतिखेर चिया माथि पुर्याऊँ र चियाको वाहवाही सुन्दै चियाको चुस्की मारौं । चिया एकछिन उम्लेपछि तयार भयो । हतार हतार थालमा सबै गिलास राखी थालेँ चिया भाग लगाउन । अनि उक्लेँ सिँढी एकै सासमा । छतमा पुगेर सबैलाई चिया बाडेँ । चिया सबैलाई बाँडेर त सकियो, कतिखेर सबैले चिया सुरुप्प पार्लान् भन्ने व्यग्र प्रतीक्षा गरेँ । जब केहीले चिया सुरुप्प पारे मुख पनि कुरूपै हुने गरी बिगारे । मुखको एक सुर्पि चियाले पनि बाहिर नफर्की सुखै पाएन । मलाई साह्रै खिन्नता बोध भयो । जसरी भएपनि चिया मीठो बनाउने मेरो आशा पहिलो पटक नै असफल भयो ।

भनिन्छ, एउटा कम्पनीले आफ्ना उत्पादन अरूको भन्दा भिन्न बनाउन केही त्यस्ता तत्त्वको प्रयोग गरेको हुन्छ जो सार्वजनिक गरिँदैन । भित्रै राखिन्छ, बाहिर ल्याइन्न, ल्याए त फेरि आफ्नो उत्पादन र त्यस्तै स्वादकै अर्काे उत्पादन आइदिए के गर्ने नि फेरि । यी कुरा अझ पेय पदार्थका सन्दर्भमा हामीले थाहा पाउँदै आएका हौँ । म पनि गम्केर पेय पदार्थ चियाको लोकप्रियताको कल्पनामा डुबेर यस्तै यस्तै सोच्दै थिएँ त्यो बेला; तर के गर्नु चियाको स्वादले मुख बिग्रिसक्यो, गिलासको चिया गिलासमै सेलायो अनि त “के के हालिस् चियामा?” भनेर सोधेपछि मलाई नभनेर सुख ? मैले सप्पै कुरा भनेँ । त्यसपछि त हाँसोको फोहरा नै छुट्यो । मिठो बनाउँछु भनेर लसुनसमेत हालिदिँदा यस्तो चिया बनेछ । मानिस सधैँ एकै किसिमको स्वादमा अभ्यस्त भएका हुन्छन् । हाम्रा हिमाली भेगमा बस्ने दाइदिदीहरूले खाएको भए त्यही चिया केही फरक नलाग्दो हो; तर फेरि तिनीहरूले त्यही स्वाद नपाए केके नपुगेको महसुस गर्दा हुन् । यहाँ पनि त्यस्तै भयो सधैँ लसुन नहाली चिया खाएका मानिसलाई ।

संसारमा कोही असल चरित्रका र कोही खराब चरित्रका हुन्छन् । कोही आफ्ना राम्रा कामले चर्चित हुन्छन् त कोही उसका अति खराब कर्मले । त्यसैले नाम पनि यी दुवैथरि मान्छेको नै चल्छ जो यी क्षेत्रमा अतिरिक्त क्षमतामा देखापर्छन् । फ्लोरेन्स नाइटिङ्गेल, मदर टेरेजाजस्ता पात्रलाई हामी सत्पात्रका रूपमा स्मरण गर्छौँ भने रत्नाकर डाँका, एडोल्फ हिटलर आदिलाई असत् पात्रका रूपमा । कोही राम्रा कामले त कोही नराम्रा कामले हाम्रा स्मरणमा रहेका हुन् । त्यस किसिमको विशेष उल्लेख्य प्रवृत्ति नभएपनि गणेश बनाउन लागेका मान्छेले बानर बनायो भन्ने भनाइजस्तै मैले पनि त्यत्रो विधि गरेर चिया मिठो बनाउँछु भन्दा उल्टै नमिठो चिया बनाउन पुगेछु । लसुन हालेको चिया नखाएका सबैले मलाई त्यही चियाका नामबाट बोलाउन थाले । मेरो त्यो दिनको सीप आमालगायतका छिमेकी महिलाहरूलाई स्मरणीय बन्यो । आफ्नो पहिलो चिया सबैलाई स्मरणीय बनाउने मेरो ध्येय विपरीत कोणबाट पूरा पनि भयो । नाम चलाउनका निमित्त गधा चढेर, घैँटो फोरेर, कपडा च्यातेर वा जसरी पनि नाम चलाउनपर्छ भन्ने एउटा संस्कृत भाषाको उक्तिले भनेजस्तै मैले पनि लसुन हालेको चिया पकाएर नाम चलाएँ । त्यसप्रकारको चिया मैले नपकाइञ्जेलसम्म त्यस्तो चिया नखाएका कारण सबैलाई त्यो चिया स्मरणीय हुन गयो । म केही हदसम्म सफल भएँ । व्यावहारिक जीवनमा प्रवेश नगर्दा कतिपय कुराहरू राम्रो गर्छु भन्दा नराम्रा पनि हुनसक्छन्; तर जीवनले सिकाउँदै जाँदा सिकिँदै गइन्छ र व्यावहारिक जीवनमा सफल होइन्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । विगतका गल्तीहरूलाई सच्याउँदै अघि बढ्नुपर्छ भन्ने शिक्षा मैले यस किसिमका कतिपय कामहरूबाट पाएको छु । मलाई शङ्कर लामिछानेको “जीवनः एक प्राध्यापक” भन्ने निबन्धले पनि यही शिक्षा दिएको छ ।

रामघाट, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।