हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षरजस्ता अमिट रहन्छन् अविष्मरणिय हुन्छन । तिनै अविष्मरणिय व्यक्तिमध्ये मेरो स्मृति विम्बमा सधैँ रहिरहने व्यक्ति हुनुहुन्छ प्रतिभाका धनी, "तान्त्रिक रागे बिजुवा" । जब सम्झन्छु ती दिन,मेरा आँखा भरिन्छन । मलाई मेरो
जीवनको स्मृतिमा आइरहने यस्ता थुप्रै घटनाहरू छन् । जसले मलाई बेलाबेला आएर अत्यन्तै सम्बेदनशील बनाइदिन्छन् ।
जीवनको उत्तरार्धमा, जब म हाम्रा पुराना दिनहरूको सम्झना गर्छु, 'रागे विजुवा' मेरो स्मृतिपटलमा एक अविष्मरणिय रूपमा अंकित छ। यो नाम न केवल मेरो विगतको स्मृतिको प्रतीक हो, बरु नेपाली समाजका विभिन्न आयामहरूको जीवन्त चीत्र हो । विक्रम संवत् २०३२ सालतिरको कुरा हो । माघ महिनाको याम । हाम्रो कर्मथलो दोभाने, सालेवा,हालको "साल्पासिलिछो"-६ । जाडो छल्न (अउल) बेसीमा गाई र भैंसीलाई स्थानान्तरण गर्ने बेला । गोठ टहरो बनाएर बस्ने परम्परा थियो । पहाडका दृश्यहरूलाई आँखाले भ्याएसम्म नियाल्दै, ठूलो चौतारा पार गर्दै, सानो चौतारा र देउराली मुन्तिरको जङ्गलको बाटो । तल साल्पा खोला र थुम्लुङ्ग खोलाको दोभान । नजिकै जोरखोला सुसाइरहेको थियो । पारीपट्टि लिम्खिम, दाङ्गमायाको दृश्य र खोलाको तिरमा मितबाउ मचिन्द्रबहादुर राइका उर्वर बारीहरू थिए, नाम थियो बडका । डाले घासका अत्यन्तै उर्वर भूमि। जोर खोलाको तिरैमा अबस्थित । ठूला ठूला पाचपाते, टाकी, खस्रे, कोइराला र थुप्रै डालेघासको रुखहरू बारीमा फैलिएका थिए । खोला तरेर अलिक पर पारीपट्टिका अजङ्गका नागदहका भिर र वारी बेसीको दृश्यहरू पनि रमाइला थिए । यी स्थानहरू घास राख्ने ठाउँ र ठूला ठूला ढुङ्गालेघेरिएका थिए। परालको माच, डाढाभाटा बलो, धुरीखावा गाढेर भकारीको छानो ओडाएर स्याउलाको बारले घेरिएको भित्ता, र त्यहाँ उनिउ ओछ्याइएको सुत्ने ठाउँ ।
माघको छोटो दिन । तल नदीको अविच्छिन्न प्रवाह । झरना, खोल्सा, बाटो, यात्री, सुन्दर प्रकृतिलाई हेर्न भरिया, पथप्रदर्शक,विश्वको सर्वोच्च शिखर सगरमाथा आधा शिविर पदयात्राका लागि ब्यान्खुवा र जोरखोलाको दोभान "गोथेबजार"हुँदै लन्खुवा,नागदह,दोभाने,मातेल,सानो फेदीहुँदै अनौठो प्राकृतिक भू–धरातल पावन भूमि साल्पा पोखरी हुँदै जाने बाटो । आन्तरिक व्यवस्थापन मिलाएर पूर्णिमाको दिन गोथेबजारका लागि दुइतिन दिनलाई पुग्ने पर्याप्त घासको जोहो गरेर बजार जानलाई हतार थियो हामीलाई । पारी अजङ्गको "नागदह" भिर (यो भिरको नाम कसरि रहन गयो लामो किम्बदन्ति छ) जुन नागदहको भिरमा थुप्रै जनवरहरुको वासस्थान घर थियो, जनावरको “घर” भनेको त्यो आवास हो जहाँ उनीहरू बस्छन्, खाना खोज्छन्, प्रजनन गर्छन् र सुरक्षित रहन्छन् । जहा बिभिन्न जातजातिका बाँदरहरुकोस्थाई मुकाम पनि थियो । सूर्यले आफ्नो दिप्त ज्योति फिँजाई
सकेका थिए पृथ्वीमा ।
अप्ठ्यारो बाटो,पहाडमै जन्मेर हुर्केका हामी । सानैदेखि मार्गदर्शक र मलाई मायालु संरक्षकत्व दिनुभएको थियो पल्लाघरे दाजु दुर्गा गिरीले । दाजु दुर्गा गिरी र भाई नर बहादुर भारती, हामी गोठालो । भाई सानै थियो । दाजु मधेसतिर । बुवा आमा गाउमा । दिनभरि चरेर आउथे भैंसी,बकेर्ना,कोरली र तारे जोभाने । भकराभरि हुन्थे साना बाछा पाडा । दुइदिनलाई पुग्ने माचभरि घास थुपारेर गोठको तगारो लगाएर जानुथ्यो गोथेबजार ।
सिरूपाते खुकुरी उत्पादन हुने भोजपुर जिल्ला भौगोलिक विविधतताले भरिएको रुद्राक्षको खेती उब्जाउ भूमि । अरुणपारी संखुवासभा जिल्ला वारी भोजपुर । विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ। अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, मगर, नेवार,तामाङ, शेर्पा,लिम्बु आदी पर्दछन । जहाँ अवस्थित गोथेबजार एउटा किम्वदन्ती,पहाडी जिल्ला भोजपुर उत्तरी क्षेत्रकै हरेक हप्तालाग्ने दिङ्गला बजार,चौकीडाँडा, कुलुङ् र बर्षको एकदिनमात्र लाग्ने,त्यो क्षेत्रकै ठुलो बजार "गोथेबजारलाई" लिन सकिन्छ । जहाँ प्रकृतिको माधुर्यतामा,दिदीबहिनी, दाजुभाइ,इष्टमित्र,नातेदार र सोल्टी सोल्टीनीहरुसङ्गको भेटघाट । लिम्बूनी आमा, दिदीहरुले लगाएको शिरमा शिरबन्दी,खुर्पेजून, नाकमा चुच्चे बुलाकी र ढिके फुली, कानमा च्याप्टे सुन, गलामा कण्ठ र चाँदीको रेजी । मखमलको चोलो र छिटको साडी वा लुङ्गी र एक काँधमा मिलाएर ओडिएका टाटनको बर्की (मजेत्रो) । त्यसो त पुरुषहरु पनि दौरा, सुरुवाल, ढाका टोपी, इष्टकोट गलबन्दीमा सजिएका हुन्थे । एकापसमा हाकपारे र जुहारी गीत गाउदै कतिको त धान नाच्दा नाच्दै घरजम बसाउने माध्यम समेत हुन्थ्यो । पहाडी बजार जहाँ अनेकन उर्वर भूमिमा उत्पादन गरिएका कन्दमूलहरु र थुप्रै घरायसी चिजबिजले धुमधाम सजिसजाउ गरिएका हुन्थे ।
जहाँ बजारभर्नलाई खानपिन गरिओरि घाँस काट्न तर्यौ जोरखोला । अप्ठ्यारो बाटो । सङ्गैजाने दाजुभाइको नाम माथिनै उल्लेख गरेको छु । घास काट्न लिम्खिम र खाटाङ्माको घना जङ्गलतिर एक्लाएक्लै गयौँ । एक्लै गएको परिणाम नाराम्रो भयो । दाजुकता भाईकता र म कता । अजङ्गको "नागदहको भिर"बाट डालेघास काट्नेक्रममा म लडे । फिट इन्च र मिटरका कुरा नगरौ । कति उचाइको नागदहको भिर थियो भनेर । झरेछु तल । जहाँ छडके पारेर काटिएका घुङ्ग्रिङ्गका ठुटा, जोरखोलाका बगर । खोलाका तीर । नजिकै सिस्नुको बुट्यान । मज्जाले माढेछु हरियो सिस्नुको बुट्यानलाई उठेर पिएछु जोरखोलाका पानी ।
मुन्यू (एकप्रकारको माछालाई झुक्याएर मार्ने गाउघरका कला) जुन बल्छिजस्तै हुन्छ । बल्छिको हुक हुन्छभने मुन्यूको सानो डोरीबाट सुर्कानेमा चारो राकेर बनाइएको हुन्छ जुन कलाले माछालाई झुक्याएर मारिन्छ । मुन्यू खेल्दै आउछन खाटाङ्गमा निवासी तान्त्रिक "राघे बिजुवा"देख्छन् बगरमा छट्पटिरहेका लाठे मनुवा (मैले पछि अरुले भनेको सुनेको) रगताम्मे छ । हतारहतार कम्मरको दापबाट चक्मक निकाल्छन । रगेट्छन दल्सिङ्गढुङ्गा र झुलोमा । च्यात्छन पटुका र बाल्छन आगो । समय एकनासले बगिरहेको थियो जोरखोलासङ्गै । सिमेभुमे,खोलानाला, संसारी बुढेनी फलाक्दै,जप्छन तन्त्रमन्त्र । जसको सहयोगले मलाई बाँच्न सिकायो । दुखाइले छट्पटिदै गर्दा छेवैमा बगिरहेको जोरखोलाको सुसाइलार्ई मैले निकै कम सुनिरहेको थिए । त्यो क्षणको मेरो कारुणिक सुस्केरा बेलुकीको चिसो हावामा समाहित भए र यो सम्झना अत्यन्तै घातक बन्यो ।
सबै थाहा पाएर ओरपर वारीपारीबाट गोठालाहरु आए । कति बगे रगत,अहिले वर्णन नगरौ । पिठ्युमा बोकेर दुर्गा दाजुले खोला तार्नुभो । अचेत छु म । रुवाबासी छ । साँझ ढल्किसकेको थियो । चिन्तितछन सबै के हुनेहोनि भनेर । सबैले थाहा पाए । बुवाको मित बहिनी लङ्गुवा कोलेलीको काइली फुपूले तिनपाने रक्सी र काँचो अन्डा ख्वाउदा दुखाइ कम हुन्छ र छिट्टै निको हुन्छ भनेर ख्वाउनुभो । हतारहतार डोली झिक्याइयो गाउबाट । मर्ने बाच्ने ठेगाना छैन । ऐया र आथ्थाको चित्कारसङ्गै हालियो डोलीमा । अन्धकार बाक्लिँदै थियो । तर्दै खोला घुम्ति र देउराली हुँदै चढाए उकालो । पुगियो सालेवा । घर पुग्दा झण्डै रातको दश नै बजिसकेको हुँदो हो । गाउँमा एकैछिनमा खबर फैलियो । मृत शरीरझै मझेरीमा लडाइएको छु । होहल्लामा कुराकानी सुनिरहेको थिएँ । एकजनाले भन्दैथे, एकोहोरो शङ्ख बज्नेभो भोलि । राती मलाई रुङ्गन डकर्मी तिवारी मालदाइ बाहेक अरु कोहि आएनन । सायद पल्लाघरे दाजुहरु पनि थकाईले आउनु भएन र केटोको मृत्यु हुन्छ र अप्ठ्यारोमा परिन्छ भनेर पनि होला । रातभरि निदाउन सकिनँ । भयावह काल्पनिक चिन्तामा डुब्दै बुवाको छातीमै रात छर्लङ्ग भयो ।आफन्तको रुवाबासी । मान्छे हुँदैन भन्छ देख्नेहरु । यस्तै तनावमा रात बित्यो ।
त्योबेला न अस्पातल, न डक्टर,न नर्स, न स्ट्रेचर न आईसीयु न जेनेरल वार्ड । यी सबै कुराबाट टाढा थियो गाउ । जङ्गली झारपात मुख्य ओखती थियो उबेला । खाइलाग्दो केटो ठुला गिरीको माइलो भिरबड लड्योअरे भनेको आवाज कानमा पर्दा कसको आँखा रसाएका थिएनन् र उबेला । वारीपारी इष्टमित्रका सहयोगले ठुलो ओखती र अनेकन बनजङ्गलका झार लहराले म बिसेक भए । झन्डै अपाङ्गता ब्यहोर्नु परेको थियो मैले तर मेरा स्वर्गिय बुवाआमाले रातदिन नभनि छातीभरि टासेर राख्नुभो, डोरीको भरले दुई महिना पछि उठ्नसक्ने बनाउनुभो । १७ बर्षको उमेरमै गन्तब्यमा पुग्न बाँकी छँदै झन्डै अवसान भएको म ।
जीवन र मरणको बीचको द्वन्द्वमा बाचिरहदा त्यो रात र त्यो दुखाइ मेरो मस्तिष्कमा जीवनभर सम्झनाको रुपमा राखेको छु ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, मैले बुबा र आमाको माया र आफन्तहरुको आशीर्वादले म बाँच्न सफल भए । जसको मायाले मलाई मेरो जीवनको यो कठोर यात्रा पार गर्न मद्दत पुर्यायो । उहाहरूको अपार माया र भरोसामा मैले आफूलाई बचाएको छु (अहिले हुनुहुन्न, मेरो बुवा र मेरी आमाले यो धर्ती छोड्नु भएको पनि थुप्रै भयो ) त्यो समय पहाडका दृश्यहरु र अजङ्गको भिर मेरो आँखामा अझै स्पष्ट छन्, जहाँ खुला आकाश र हावाका लहरहरूसँगै अहिले पनि डरलाग्दो यात्रा गरिरहेको जस्तो महसुस हुन्छ र झसङ्ग हुन्छु सम्झदा ।
“Men must endure
Their going hence, even as their coming hither.
Ripeness is all.”
― William Shakespeare, King Lear
मानिसले जगतबाट बहिर्गमनलाई त्यसैगरी सहनु पर्दछ जसरी आगमनलाई ।
यस्तै यस्तै थुप्रै विद्वानले लेख्नु भएका हजारौं पेजहरु पढ्दै अन्तर्मनका कुराहरु सबै नखोलि हितकारी कुराहरू गर्दै रहरलाग्दो रोज्जा जिन्दगीलाई अनेकन हुँन्डरि सहदै, उकाली ओराली हिड्दै, घस्रिदै,घिस्याउदै यसै गर्दैगर्दै यो मोडमा आइपुगेको छु ।
सेसिल रोड्सले मर्ने बेलामा भनेका थिए, यति मात्र गरियो, कत्रो धेरै बाँकी रह्यो (so little done, so much to do) हुन पनि हो ढल्कदो उमेरसङ्गै के गर्न सकिन्छ र ।
ज्ञान, विज्ञान र विवेकको त्रिवेणी जीवन आज हेर्दाहेर्दै जीवनको स्पीड लिमिट कमहुँदै गैरहेको अवस्थामा गोरुगाडीदेखि टेस्लासम्म आईपुग्दा रुखबिरुवा, बुट्यान, खेतबारी र पानी पधेरोसित मूक संवाद गर्दै किशोर र यौवनमय उमेर पत्तै नपाई आएको यौवनका पारिला घामहरुमा त्यसै बेगिरहेकाछन । सोचिरहेको छु । त्यो संघर्ष भनेको केवल मेरो मात्र होइन, हामी सबैको साझा कथा हो। यो कथा हाम्रो साहस, आशा र संघर्ष को कथा हो जसले हाम्रो जीवनलाई अर्थ दिन्छ। यस संसारमा हरेक व्यक्ति, हरेक जीवन एक संघर्ष हो, र त्यस संघर्षलाई सम्झनाले मात्र हामीलाई वास्तविक बाँच्ने उत्साह दिन्छ । ति दिनका सपना र आशा अहिले पनि जोरखोलासँगै बहिरहेछन् ।
बिर्तमोड २, चारपाने, झापा, हाल: बेल्जियम ।