हिजो नालापानी दुख्थ्यो
अझै त्यो नमेटिने इतिहास दुखेको छ
भावना फुर्ने गरेको वेला मलाई
देश र देशको सिमाना संगै
यतिखेर मेरो देश दुखेको छ ।
देश घाईते छ, म र मलाईझैँ अरुमा पनि
नालापानीको यूद्ध ब्यूँझिने गरी
हरेक कोटी मनका बिम्बहरुमा
उस्तै गरी ठेस लागेको छ यतिखेर ।
कोही डिङ्गे माउ बनेर झिङ्गे दाउ हेर्नेहरु
ब्वाँसाको हुलमा धावा बोल्दै
अत्याचारको अस्त्रले टाउको निमोठ्न खोज्ने माथि
फेरि पनि नालापानिको इतिहास दोहोर्याउन
तयार छन हाम्रा एकताका बारुदहरु !
अझै पनि सुस्ता र काँगडा छातीभित्र दुखिरहँदा
आज लिम्पियाधुरा, कालापानी र लिपुलेक
एकैसाथ मेरो भावनामा चर्किएका छन्
नक्साङ्कन सिमानाको नयाँ तालमेल खोज्दै
फेरि सिमारेखा निरन्तर काँधमाथि बल्झिरहेछन् ।
यो र यस्तै दुखाईको निदान खोज्दै
म बिपनी बिपनीमा कराउँने गर्छु
र सँधैजसो सपनीमा डराउने गर्छु ।
अहिले मेरो देश दुखिरहदा
आफ्नु आँगनिमा आफ्नै खुसीले
पैताला टेकेर उभिन नपाएसम्म
मेरो मुटुसँगै करोडौँ मनहरुमा
जतिखेरै मेरो देश दुखिरहनेछ !
यतिखेर मभित्र मेरो देश दुखिरहेको छ !
भोजपुर चरम्बी, हाल : कनेक्टिकट अमेरिका