18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दरीजलभित्र लुकेको प्राकृतिक सुन्दरता

नियात्रा डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ February 24, 2025, 1:51 pm
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’

सुन्दरीजल चावहिलको उत्तरी तथा शिवपुरी राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा रहेको प्राकृतिक विविधताले भरिपूर्ण एक सुन्दर तथा मनोरम क्षेत्र भन्ने सुनेको थिएँ । त्यसैले, यो स्थान हेर्ने र मनलाई आल्हादित पार्ने रहरको हुटहुटी जागेको पनि धेरै वर्ष नै भइसकेको थियो । तर जाने साइत जुरेको थिएन । यस वर्ष भने त्यहाँ प्राकृतिक धरोहरको सामिप्य तथा काखमा रमाउँदै त्यस क्षेत्रको केही ज्ञान प्राप्त गर्ने रहरले मिति २०८१ पुष २० गते शनिबारका दिन सुन्दरीजल जाने निधो ग¥यौँ । वास्तवमा, यस्ता ज्ञान र अनुभूतिहरु किताब पढेर, वृत्तचित्र हेरेर, कथा कहानी सुनेर पूरा हुँदैन ।

काठमाडौँ बस्नथालेको पनि ३७ वर्ष भइसकेछ तर सुन्दरीजल जाने बाटोको खोजीनीति गर्नुपर्ने अवस्था आयो । गुगलमा खोजेँ । चित्तबुझ्दो जानकारी सङ्कलन गरेँ । स्युचाटार चोकबाट चक्रपथको बसमा चढी नारायणगोपाल चोक हुँदै चावहिल चोकमा ओर्लने र त्यसपछि सुन्दरीजलसम्म जाने बसमा चढेर जानुपर्ने रहेछ ।

आकाश पनि स्वच्छ निलो थियो । जाडोको समय सिरसिर चिसो हावा चलिरहेको थियो । लक्ष्मी (श्रीमती), ज्वलिता (बुहारी) र म बिहानको खानपिनपछि साँढेदश बजे चक्रपथको स्युचाटार चोक पुग्यौँ । जुनेली बस आइपुग्यो । बस चढ्यौँ । सिटहरू खाली नै थिए अनि बस्यौँ । मभन्दा अगाडिको एउटा सिटमा अठार वर्ष जतिका एक युवक थिए र उसको दायाँतर्फ एक सिट खाली नै थियो । एक जना वृद्धा महिला आइन् छोराको साथमा । महिलाले अनुरोध गरिन् “बाबु उः त्यो अगाडिको सिटमा जाउ न हामी दुई जनासँगै बस्छौँ यहाँ” । तर उनले मौन इन्कार गरे । के अबको पुस्ता यसरी नै अगाडि बढ्ने होलान् त ? भन्ने मनमा कौतूहलता जागेर आयो । मनमनै धिक्कारेँ पनि । अनि सोँचे सबैलाई एउटै टोकरीमा राखेर मूल्याङ्कन गर्नु पनि उचित हुँदैनजस्तो लाग्छ ।

गाडी बिस्तारै अगाडि बढ्दै गयो । कलङ्कीदेखि बालाजु हुँदै कोटेश्वरसम्मको सडकखण्ड पुनःनिर्माण गर्ने भनेर करीब दुई वर्षअगाडि नै रूखहरू हटाइ काम सुरु गरिसकिएको छ । तर बिच सडक पुरानै कालोपत्रे भए तापनि दायाँबायाँ सडकखण्ड भने कच्ची भएको कारण वर्षादमा आहाल जस्तो हिलाम्य हुने र सुख्खा समयमा धूलोको कारण सडकमा यात्रा गर्दा निस्सासिएर उकुस मुकुस हुने ।

कलङ्कीदेखि सातदोबाटो हुँदै कोटेश्वर जाने बाटो जति, सुन्दर, हरियाली, सफासुग्घर, रमणीय र सहज छ कलङ्कीदेखि नारायणगोपाल चोक हुँदै चावहिल जाने सडकखण्ड भने त्यसको ठीक उल्टो । यात्रीहरू पनि जेब्रा क्रसिङ्बाट सडक पार नगरी यत्रतत्र ठाउँबाट सडक पारगर्ने अवस्थाले कतिखेर माटोको घैँटो फुटेझैँ गाडीको ठक्करबाट फुटी इहलिला समाप्त हुने हो थाहा छैन । तर पनि हामी अबुझ बनी लथालिङ्ग तालले सडक पार गरिरहेका हुन्छौँ । यसमा हामीले सरकारलाई मात्र दोष दिएर उन्मुक्ति लिनुभन्दा पनि आफैँले आफैँलाई समीक्षा गर्न जरुरी देखिन्छ ।

गाडी झोलुङ्गोझैँ हल्लिँदै अगाडि बढे तापनि राजेशपायल राई र लीला राईले गाएको ‘धरान धनुकुटा भेँडेटार’ र राजेशपायल राई र सुनिता थेगिमले गाएको ‘दिक्तेल बजारमा’ गीतहरू गुञ्जिएकोले पीडा भुली आनन्दको गहिराइमा डुब्दै चावहिल पुगेको पत्तै भएन ।

गाडी सहचालकले चावहिल चावहिल भन्दै गाडीमा ढ्याप ढ्याप पारे । गाडी रोके चालकले । हामी त्यहीँ ओर्लियौँ चावहिलबाट सुन्दरीजल जान । तीनजनाको कलङ्कीदेखि चावहिलसम्मको रु. एकसय पचास तिरियो । तर मोरोले त प्रति व्यक्ति रु. दश ठगिहालेछ । सडकदेखि दरवारसम्मै ठगहरूकै आधिपत्य भएको महसूस भयो । जहाँतहीँ यस्ता ठग तथा भ्रष्टहरूले जरा गाडिसके । तर नियमन ?

हामी गाडीबाट झरेपछि नजिकैको होटलमा एकैछिन बिश्राम लियौँ र लाग्यौँ सुन्दरीजल जाने बसस्टपतिर । बस चढ्यौँ । गाडीका सिटहरू राम्रा, सफा र आनन्ददायक थिए । बस पूरा नभरिकनै अगाडि बढ्यो । जब बस बौद्ध पुग्यो, तब यात्रीहरूको भीड थामी नसक्नु भयो ।

त्यसपछि बस अगाडि बढ्दै जाँदा एक चोक आइपुग्यो जहाँबाट देब्रेतिर लाग्दा कपन र सिधै अगाडि जाँदा सुन्दरीजल जाने रहेछ । बस सिधै अगाडि बढ्यौँ । त्यतिखेर गाडीमा नेपाली गीतको सट्ठा डिस्को म्युजिक डड्याम डड्याम ढुस््ढुस् गर्दै बज्दैथियो ।

एकैछिनमा हामी जोरपाटी पुग्यौँ र दाहिनेतिरको सिधै बाटो छाडी नयाँपाटी, गोकर्ण जाने बाटोतिर लाग्यौँ । बसमा अब भने तामाङ्सेलो गीत गुञ्जिएको थियो । हामी बिस्तारै गोकर्ण चोक कटेपछि तालीम चोक पुग्यौँ । ग्रामीण परिवेसको झझल्को र प्राकृतिक बास्ना आउन थाल्यो ।

हामी करीब साँढे बाह्र बजेतिर हरियो पहाडको फेदीमा अवस्थित सुन्दरीजल बसपार्कमा पुगेका थियौँ । बसपार्क निकै नै सानो थियो । यात्रीहरूको चहलपहलमा सुख्खा लागेकोले बसहरू बकुल्लाको ध्यानमा यात्रीको प्रतीक्षामा थिए । हामी बसपार्क वरिपरि एकफन्को लगायौँ । फोटो खिच्यौँ । अनि लाग्यौँ पहाडी जडीबुटीको अत्तर छर्दै ठिङ्ग ठडिएको स्वागतद्वारतिर ।

त्यहाँ उत्तर, पूर्व र पश्चिम दिशातिर हरियाली बोक्दै जुरुक्क उठेको पहाडले नील आकाससँगै पिरती गाँसेको त्यो सम्बन्धको मनोरम दृश्य साच्चिकै अहा भन्नलायक थियो । त्यहाँ प्राकृतिक सौन्दर्य र अन्तरमनको अपूर्वको मिलन देखेँ । मनमा काउकुती जगायो । आँखा लोभिँदै उत्सुकताका साथ नजर जुध्न थाल्यो पहाड, जङ्गल, आकास र वाग्मतीसँग । प्रेमिल तरङ्गहरू फैलन थाले नयनभरी । एकछिन एकटकले हेरिरहेँ अनि सजाएँ मेरो मन र मस्तिष्कको मेमोरी चिप्सभित्र । वास्तवमा, वाग्मती नदीले दुइ पहाडहरूलाई सर्लक्क कोरी सिउँदो बनाएर झर्दैथिइन् अजङ्गको ढुङ्गाहरूसँग कुस्तीखेल्दै काठमाडौँबासीको जीवनरस बन्दै ।

हामी बिस्तारै सुन्दरीजल स्वागतद्वार कट्यौँ । बडेमानको हरियो रङ्को पाइप निरन्तर गाउँबाट बेसी झरेको थियो काठमाडौँतिर उज्यालो छर्दै जीवनरस प्रदान गर्न । देब्रेतिर विद्युत उत्पादन तथा पानी प्रशोधन स्थल थियो । वास्तवमा, विद्युत उत्पादन गरी पानी पूर्णरूपमा प्रशोधन पश्चात पिउनयोग्य भएमा मात्र वितरण गरिने रहेछ ।

उकालोले निम्तो दिएको थाहा पाइहाल्यौँ । बाटोको दायाँबायाँ सुनौला रङ्को छानामा सजिएका दुइवटा मन्दिरहरू वरिपरि लालुपाते र अन्य पूmलहरू रङ्मङिएको थियो । माथिल्लो दायाँतिरको मन्दिर पुगेपछि उकालो बाटा करीब साठी डिग्रीको कोणमा अन्तरीक्ष यात्रातिर सोझिएको अन्तरीक्षयानजस्तो लाग्थ्यो । देब्रेतिर भित्तामा साना र साधारणशैलीमा निर्मित घरहरू अनारदानाझै हारमा लामबद्ध टाँसिएर पहाड थामिरहेका जस्ता देखिन्थे । तिनै घरहरूसँग अगाडि लमतन्न टाँसिएको थियो साँघुरो सडक र दाहिने भीरतिर पानीको पाइप । बाटोको दायाँबायाँ मोटरसाइकलहरू हारमा पार्किङ् गरिएका थिए । एकछिनको उकालोपछि घरहरू दाहिने भीरतिर ठिङ्ग उभिएर हामीलाई नै हेरे जस्तो लाग्दथ्यो ।

त्यहाँ कुमारीत्व बोकेकी वाग्मती नदी बलवान थिइन् । भीर, पहरा, ढुङ्गासँग लडन भिड्न कुनै समस्या थिएन । तर यिनको यात्रा जति लम्बिँदै जान्थ्यो, त्यति नै यिनको कुमारीत्व गुम्दै जान्थ्यो । अझ पशुपति पुग्दा नपुग्दै यिनी प्रदुषणको शिकार भई गल्दै र थाक्दै गएकी हुन्थिन् । उराठ लाग्दो, दया लाग्दो, माया लाग्दो कठै बिचरा !

उकाली बाटोमा लक्ष्मी र ज्वलिता सुस्ताएकै थिए । तर गफिँदै थिए । केही दूरीसम्म बाटोमा सानातिना जस्ताको टहराभित्र पसलहरू पनि थिए । त्यहाँ छोयला, सुकुटी, मःमः, चाउमिन, नेवारी खाजा सेट, चिया, कफी, बिजुली पानी सहजै पाइने । जति अगाडि बढ्दै गयौँ, दाहिनेतिर भने सानो गुन्द्री आकारका बेडमा केही हिउँदे र लहरे तरकारी खेती पनि देखिन्थ्यो ।
बाटोको दाहिनेतिर बोर्डमा लेखिएको थियो क्यायोनिङ्, बोल्डरिङ्, क्लाइम्बिङ्, बुस हाइकिङ्, हाइकिङ्, भिलेज टुर र बर्ड वाचिङ् । यसले के कुराको सङ्केत गरेको पाइन्छ भने यो सुन्दरीजल क्षेत्रमा यी कुराहरूको व्यवस्था हुन्छ यदि यात्रीहरूको चाहना मिलेमा । हाम्रो आजको यात्रा भने हाइकिङ्मा मात्रै सीमित थियो ।

त्यसपछि उकालैमा पुनः सुन्दरीजल प्रवेशद्वारले स्वागत गरेको थियो हामीलाई । तर यो भने सेनाको भवानी दल ‘क’ गणले राखेको थियो, टिकट काट्ने काउण्टरसँगै । त्यस्तै गरेर, अन्य सूचनामूलक ब्यानरहरू पनि भित्तामा टाँसिएका थिए त्यहाँभित्र के गर्नहुने र के गर्न नहुने बारे । त्यस क्षेत्रमा प्लाष्टिक, आगो, सूर्ती, मादकपदार्थ, फोहरजन्य सामग्रीहरू लैजान तथा फाल्न नपाइने रहेछ । यसको अलावा, भीर, पहरा, छाँगो र जङ्गली जनावरबाट सावधानी अपनाउन पनि उल्लेख थियो । हामी सुसूचित भयौँ ।

ज्वलिताले सुन्दरीजल प्रवेशको लागि प्रतिव्यक्ति एकसय रुपियाँका दरले जम्मा रु. तीनसय तिरेर सबैको लागि भिसा लिइन् । त्यसपछि, हामी प्रवेशद्वारमा भिसा देखाएर अगाडि बढ्दै गयौँ सानो र कोप्चेरो बाटो, जहाँ ज्वतिलाकी एक भर्भराउँदी जूनजस्ती साथीसँग करीब सवाएक बजे जम्काभेट भयो हाम्रो । ज्वलिताले बोलाइन् “ए तिमी पनि यहाँँ” । उनले “हो भनिन् । अनि अरू साथीहरू पनि पछि आउँदैछन् । म उनीहरूलाई पर्खेर बसेकी ।” उनीहरू पनि हामीजस्तै फिरन्ते ।

त्यहाँ भीरमा भीमकाय शान्त चट्टानको थुप्रो एकआपसमा मिलेर पूरै पहाड र वनजङ्गल थामेर बसेको मनोरम दृश्यले कस्को पो मन चुम्दैन होला र ! लक्ष्मीले त्यही ढुङ्गाको बीचमा चेपिएर फोटो खिच्ने रहर गरिन् र एक क्लिक दिएँ त्यहीँ । बाटो अलि भीरमा भए तापनि छेउमा भएको पहेँलो रङ्ग लगाएको फलामे पाइप तथा ठाउँठाउँमा राखिएको जाली बारले सुरक्षा दिइरहेको थियो भने रमणीय जङ्गलको सहरले पनि हामीलाई थकाइ र अत्यासबाट भुल्याइरहेको थियो । झम्म परेको पिपल, निकै अग्लिएर आकाशै छेडुँलाझै गरेको लप्सीको बोट, यात्रीलाई दायाँबायाँ गर्न नदिने सिस्नुजस्ता बोट बिरुवाहरूको दृश्य निकै नै लोभलाग्दा देखिन्थे । लप्सी नग्न अवस्थामा ठिङ्ग उभिएर बसेको थियो त्यो हरित संसारबिच कौवाको हुलमा एक बकुल्ला बनेर ।

त्यतिखेर सौर्यकिरणको उपस्थितिमा निलो आकाश, हरियो पहाड र त्यहाँबाट दक्षिणतर्फको कङ्क्रिटे शहरको संयोजनले एक अतुलनीय आनन्द सिर्जना गरेको थियो । चराहरूले कञ्चन नीलो आकाश मुनी आफ्नै संसार बनाई सुरिलो आवाजमा गीत गुञ्जाउँदै कोही वेग हान्दै त कोही डाली नुहाउँदै रम्दै बसेका हुन्थे । त्यही चराको आवाजसँग आवाज मिलाउँदै सुन्दरीजल बसपार्कतिर झरेको थियो भीरमा टाँसिदै पानी पाइपहरू ।

बाटोमा उखु, स्कुस, उन्यु मगमगाइरहेको थियो । त्यहीँ बाटोको देब्रेतिर कडा पत्थर चिरेर अविरल बग्दै थियो प्रकृतिको अनुपम उपहार अमृत रस । हामीले दैनिक पिउने पानीको स्वादभन्दा निकै नै वास्नादार र स्वादिलो थियो त्यो पानी । एक अञ्जुली पानी पिउँदा पनि आँतै सररर शितल हुने । सायद मृत्युशैयामा पुगेको बिरामीले पनि यो पानी एक घुड्को पिउन पाए भने ब्युँतेलान् कि जस्तो लाग्ने ।

हामी जब अझैमाथि बढ्दै गयौँ, त्यति नै चट्टाने भीर र अजङ्गको ढुङ्गाका हुल हात्तीजस्तै बनेर बाटो छेकुम्लाझैँ हुन्थ्यो । हिड्नेक्रममा भेट्यौँ फेरी त्यस्तै प्रकृतिको पानीको तुततुरे धारा । यो धारा देख्दा गाउँकै तुरतुरे धाराको पानी अञ्जुली भरेर पिएको याद आयो । कति स्वादिलो थियो गाउँबेसी गर्दा मैले पिउने पानी पनि ।

त्यसपछि हामी अझै अगाडि बढ्दै गयौँ । देब्रेतिर सिँढीको नागबेली उकालो चढ्दै थियो श्री शैलमत्यश्वर महादेव मन्दिर जाने बाटो देख्यौँ । तर त्यहाँबाट कति दूरीमा छ भन्ने जानकारी नभएको र समयाभावले त्यता नगइ सिधै उकालो लाग्यौँ ।

त्यसको एकैछिनमा एक जस्ताको छाना भएको विश्रामस्थल पुग्यौँ । देब्रेतिर अग्लो झरना र दाहिनेतिर वाग्मतीमा सातो जाने अजङ्गको ढुङगै ढुङ्गाको बस्ती, जङ्गल र सानातिना ओडार । सायद यस्तो ठाउँतिर भालु, चितुवा, बनबिरालो, सर्पहरूले सजिलै अड्डा जमाएर बसेका होलान् जस्तो लाग्ने ।

पाटीछेउ एकछिन विश्रामगर्दै झरना र वरिपरिको प्राकृतिक दृश्यहरू अवलोकन गरी लाग्यौँ फेरी उकालो । त्यतिखेरसम्म यात्रीहरूको जमात लाइनमा जन्तिजस्तै भइसकेको थियो । सुनौलो रङ्गको फलामे बारको सहारा लिँदै उकालो उक्लँदै गयौँ । लालीगुँरासलगायत अन्य अनगिन्ती प्रकारका रुख बिरुवाहरू कडा पत्थरमाथि ठिङ्ग ठडिएका थिए । बाबियाजस्ता बिरुवा तथा लहराहरू कपाल तथा कपालको चुल्ठाझैँ लर्केका थिए पहरामा ।

घण्टीको आवाज आउन थालेकोले मन्दिर छ कि जस्तो लागेको थियो । तर हैन रहेछ । एक ठूलो गुफामुनी एक शिवलिङ्ग रहेछ । भुइँमा ढुङ्गा बिछ्याइएको र छेउमा होँचा पर्खाल थियो । शिवलिङ्गको नजिकै घण्टा झुण्डिएको थियो, कुनामा पानीको सानो कुण्ड थियो भने भित्तामा त्रिशुल र मूर्तिहरू थिए । लक्ष्मी र ज्वलितालाई मठमन्दिर देख्नै नहुने, झुकाइहाल्ने शिर र गरिहाल्ने पूजा ।

उकालो चढ्दै जानेक्रममा हामीभन्दा अगाडि गइरहेका एक टोलीसँग हँसिमजाक गर्ने समय पनि जुर्यो । एकजना ईटहरी महानगरका ओभरसियर, ज्वलिताको माइतिदेशको व्यक्ति । माइती र चेलीको एकैछिन भलाकुसारी भयो । अन्यभने यतै काठमाडौ उपत्यकाको । गफिनेक्रममा एकजना बीस वर्ष जतिकी बहिनीको जिब्रो हेर्ने कुरा भयो । उनले जिभ्रो देखाइन् । उनको जिब्रोको तल्लो भाग दाँतभन्दा भित्रको भागमै टाँसिएर रहेकोले बाहिर निकाल्न निकै नै सकस । त्यस्तै रहेछ ती ओभरसियर भाइको पनि । ओभरसियर भाइले भन्दै थिए कि “यस्तो जिब्रो भएको व्यक्तिमा विलक्षणको प्रतीभा हुन्छ रे ! त्यस्तै छिन् यी नानी पनि” भन्न भ्याए उनले । हामीले यस्तो जिब्रो भएको व्यक्ति पहिलो पटक नै देखेकोले आश्चर्यचकित भयौँ ।

त्यो भारी जङ्गल, भीर, पहरा कटेको पनि पत्तै भएन । एकैचोटी देख्यौँ माथि सेनाको जाँच चौकी । करीब पौनेदुइ बजे चौकी पुग्यौँ । सबैले टिकट देखाउँदै निस्किए गेटबाट । ज्वलिताको भने गोजीतिर हात दौडन थाल्यो । टिकट छैन । “टिकट नभइ अगाडि बढ्न पाइन्न” भने बैतडी घर भई ड्युटीमा बसेका सैनिक जवान भाइले । ज्वलिताको एकैछिनमा बदलियो रूपरङ्ग ।

हामीले टिकट बाटोमै खसेछ भनेर विश्वास दिलाउने प्रयास गर्यौँ । ज्वलिताको साथीहरूले पनि होस्तेमा हैँसे मिलाए । तर मानेनन् भाइ । त्यसपछि ज्वलिताले एकपटक प्रवेशद्वारमा फोन गरिदिनको लागि अनुरोध गरिन् । त्यहाँ हाम्रो नाम लेखिएको छ भनिन् । त्यसपछि मात्र छुटकारा पाइयो । धन्यवाद दिँदै बढ्यौँ अगाडि । यदि तिनले टिकटै ल्याउनुपर्छ भनेको भए पनि के लाग्थ्यो र हाम्रो । गल्ती हाम्रै थियो । तर समझदार र व्यवहारिक रहेछन् भाइ ।

त्यसपछि भने एकछिनको लागि बल्ल तेर्सो बाटो हिड्न पाइयो । करीब दुइ बजे पुग्यौँ घना जङ्गलको बिचमा तीन बाटोको मिलन बिन्दु, एक खुल्ला र फराकिलो त्रिबाटो चोक । राहत महसूस भयो । देब्रेतिर कता जान्छ थाहा थिएन हामीलाई । त्यसैले, हामी सिधैअगाडि सुन्दरीजल मन्दिर जाने स्वागतद्वार लेखिएको बोर्डतिर तेर्सियौँ । त्रिबाटो चोकमै कलधारा थियो भने सिधा पूर्वतिर जस्ताको छानाको टहरा थियो । देब्रेतिरको बाटो माथि स्काउटको बोर्ड भएको अफिस घर देखेका थियौँ तर त्यति खोजीनीति गरेनौँ र झ¥यौँ ढिकबाट दाहिने कल्र्याङ्कुर्लङ् परेको बाटो ।

फोहर गर्न पाइदैनँ सेनाको प्रवेशद्वारको सूचना बोर्डमा । तर मन्दिरतिर ओरालो झर्दा देब्रेतिर ढिस्कोमै फोहरको अशोभनीय दृश्य थियो । यसमा हामी यात्रीको कमजोर मानसिकता तथा सुरक्षाकर्मीको रेखदेखमा कमजोरी देखियो ।

हाम्रो देब्रेतिर वाग्मतीले गहिरो गल्छी बनाएर घामछायासँग लुकामारी खेल्दै र मन्द स्वरलहरीम सुसेल्दै थिइन् । एकैछिनमा तल नदीमा एक फलामे पुल देख्यौँ । घामले हिमगिझिैँ चम्किएका युवा युवतीहरू त्यो रमणीय प्रकृतिलाई साक्षी राख्दै आत्मा फुकाई आनन्दले मायाप्रीतिको फूल फक्राउँदै थिए । त्यहाँ कोही फोटो खिच्न र टिकटक बनाउन व्यस्त थिए ।
नदीको पानीले ढुङ्गाहरू खोपेर निकै नै आकर्षक र रहरलाग्दा बुट्टेदार प्वालहरू तथा गहिरा आकृतिहरू कोरेको थियो । त्यहाँको दृश्य देख्दा हाम्रा कालीगढ तथा चित्रकर्मीले भन्दा पनि उत्कृष्ट आकृतिका कलाहरू कोरेको पाइयो नदीले आफ्नै लहडमा कुनै नियमको परिधिभित्र नरही । जसरी महाकवी लक्ष्मीप्रसाद देवकोटाले माकुराजाले मगजलाई पङ्खफुक गरेर आफ्ना रचनाहरू सिर्जना गर्ने गर्दथे । हिउँदको समयमा विमल जलको कल्कलतामा गम्दारीपन आए तापनि सायद वर्षादको बेला भएको भए आफ्नो उछृङ्खलता तथा चमकताको प्रदर्शन गर्थीहोली । यदि चैत्र बैशाखको धूपमा त्यहाँको यात्रा गर्न पाएको भए त्यो शितलतामा प्रियतम्सँग मायाप्रितीको खुश्बू साट्दै फैलाउन झनै राम्रो हुनेथियो होला ।
हामी एकैछिनमा तल नदी किनारको साँघुरो गुफाभित्र सुन्दरीमाईको मन्दिर पुग्यौँ । मन्दिरभित्र फूलमालाले राताम्यै सिँगारिएको मूर्ती थियो । भुर्इँमा यत्रतत्र नरिवलका डल्ला र भेटीहरु छरिएको अवस्थामा थियो । पूजा सामग्री तामाको थालीमा सजिएको थियो भने चोखो जल पनि तामाको अङ्खराहरूमा । मन्दिरभित्र घण्टीहरू झुप्पा झुप्पामा फलेका थिए । त्यतिखेर मन्दिरभित्र पूजारी थिएनन् । आफैँ पुजारी र आफैँ भक्त बने लक्ष्मी र ज्वलिता र अन्य यात्रीहरू ।

मन्दिरको नदी किनारतिर डिलमा फलामे डण्डीको निलो बारमा चारवटा घण्टीहरू लस्करै झुण्ड्याइएको थियो । प्रत्येक भक्तजनले घण्टी बजाएर गुञ्बजयमान बनाउँथे मन्दिर परिसर । मन्दिरको दक्षिण परिसरमा पहरा मुनी पनि पानी तप्कँदै गरेको गुफा थियो । त्यहाँ केही शिवलिङग, त्रिशुल, घण्टी, मूर्ती, दीप जलाउने पालाहरू थिए । तर दीप जलेको थिएन त्यस दिन त्यहाँ ।

त्यसपछि झ¥यौँ नदी किनारतिर । जहाँबाट घामको किरणसँग स्पर्श गर्न पाइएकोले न्यानो अनुभूति भयो । नदी किनार आसपास ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ भनेझैँ मानिसहरू आ–आफ्नै झुण्डमा थिए । कोही पेटपूजा गर्न व्यस्त थिए । कोही नदीमा पानीसँग खेल्दै रमाएका थिए त कोही नदी पारी अनकण्टार अन्धकार चिर्दै उज्यालो खोज्दै बगेकी खोल्सीतिरको सयरमा पनि व्यस्त । कोही नजिकैको विश्रामस्थलमा आराम गरेका हुन्थे । कोही यौवनताले शिखर चुमेको परिचय दिन्थे । हामीले पनि मुकाम बनायौँ नदीको एक किनार । भोक जाग्दै थियो पागल बनेर । लरखरिँदै थियो शरीर । सुन्तलाहरू र खाजापानीले तङ्रियौँ हामी ।

त्यसपछि हामी पानीको भण्डार (रिजभ्र्वायर) तिर जानको लागि फर्कियौँ मन्दिरतिर । मन्दिर नजिकै एकजना चिटिक्क जुँगा र दाहिने जुल्फी लर्काएका गोरो र ठाडो अनुहारका अन्दाजी ४५ वर्षका व्यक्ति बेञ्चमा बसी आगो ताप्दै थिए । झट्ट हेर्दा आल्मुनियमको कालो हाँडीजस्तो ताप्केमा चिया पकाउँदै थिए उनी । वरिपरि प्लाष्टिकका पिर्काहरू र केही स्टिलका गिलासहरू पनि थिए । उनी मोबाइलमा व्यस्त देखिए तापनि पुजारीजस्तै लागेकोले उनी छेउ गएर भलाकुसारी गर्ने सोँचको पालुवा पलायो हामीमा । मैले सोधेँ “हजुर यहाँको पुजारी हो कि ?” उनले भने “हैन । म त स्काउटको स्टाफ नवराज सापकोटा” । उनीसँग केही समय भलाकुसारी ग¥यौँ ।

हामीले उनीसँग सुन्दरीजल ड्याम कहाँ छ र कसरी जाने होला ? भनेर सोधेका थियौँ । उनले भने “माथि त्रिबाटो चोकमा स्वागतद्वार नजिकै एक कलधारा छ त्यसैलाई दाहिने पारेर उत्तरतर्फ जाने, टाढा छैन” । उनले थपे कि “सुन्दरीजल बसपार्क जानको लागि यता फर्केर नआई त्यतैबाट पाइप लाइन हुँदै पारीको सडक बाटो समातेर जाँदा सजिलो छ” । अनि हामी ढुक्क भयौँ ।

उनले दिएको जानकारी अनुसार सुदरीमाई मन्दिर (देवल) देव शमशेरको पालामा बनेको रहेछ । जलविद्युत तथा खानेपानीको ड्याम भने वि.सं. १९९२ तिर निर्माण सम्पन्न गरी सञ्चालनमा आएको रहेछ ।

हामी त्यहाँबाट बाँदरको हाउभाउ हेर्दै उकालो हिँडी फेरी माथि चोकमा पुग्यौँ र नवराजले भनेझै उत्तरतिर ओरालो लाग्यौँ । अनि देखिहाल्यौँ काठमाडौँबासीको जीवनरस तथा उज्ज्यालोको पानी तलाउ ।

त्यो तलाउ खुल्ला र स्वच्छ निलो आकासमुनी लमतन्न सुतेको थियो हरिया पहाडहरूका बिच फेदीमा तारजालीभित्र सुरक्षितसँग । त्यहाँ हरियै सुन्दर रूपरङ्ग उनेर आकाश नाचिरहेको थियो । त्यहीँ सुन्दरीजलभित्र लुकेको प्राकृतिक सुन्दरताको दृश्यहरू छर्लङ्ग देख्न सकिन्थ्यो । यसले तान्यो अति तान्यो समस्त यात्रीहरूलाई । मैले पनि राखेँ यो अनुपम प्रकृतिको उपहारलाई मथिङ्गलभित्र फोटो खिचेर ।

त्यहाँ मानिसहरू वारिपारि आवत जावतको लागि ड्याममै साँघुरो फलामे पुल थियो । मानिसहरू हुलमा हुँदा आवत जावत गर्न एकआपसमा ठोसिँदै जानुपर्ने । त्यसैले, मानिसहरू ताँतीमा देउडा गीत गाउन लागेजस्तो देखिन्थ्यो । त्यही लाइनमा भारतीय मूलका केही व्यक्तिहरू पनि थिए उनीहरूका केटाकेटीहरूसहित । त्यहाँ पुगेपछि हामीलाई दुःखपछिको सुखले मन र मस्तिष्क विरेचित भई हर्षका वास्ना मगमगाउन थाल्यो ।

वास्तवमा पानी सङ्कलन अर्कै सानो खोलाबाट पनि भीरभीरै पाइप दौडाएर ल्याइएको रहेछ । असिना पानीमा जोगिनको लागि एक टिनको छाना भएको टहरा पनि थियो ड्यामको डिलमै । केही फोटोहरू क्लिक गरियो । हामी फर्कने सुरसारमा लाग्यौँ । अन्यत्र अपरिचित बाटो कोट्याउँदै सुङ्दै हिड्नुभन्दा फर्किएर मन्दिरनिरको फलामे पुल तरी उकालो बाटो हुँदै पुग्यौँ पारीको सडकतिर ।

डाँडामा गाडी पार्क र झरी बादलमा ओतलाग्ने एक टहरा पनि रहेछ । त्यो बाटो भने अझै उत्तरतिर हान्निएको थियो तर कता जाने हामी अनभिज्ञ नै थियौँ । हामी दाहिने मोडिएर नदीलाई दाहिने पार्दै कच्ची सडकमा मोटरसाइकलहरूले उडाएको धूलोभित्र रङ्सालिँदै धूलो उडाउँदै झर्यौँ ओराली ।

बाटोमा अन्य बटुवाहरू हिँड्दै गरेका बटुवाहरूमध्ये हाम्रो भेटघाट भयो कविन्द्र शेर्पा र उनकी श्रीमतीको एक जोडीसँग । उनीहरूसँग भलाकुसारी भयो । उनीहरू सोलुखुम्बूका हाल जोरपाटीबाट आएका रे ! वास्तवमा कविन्द्र पर्यटक गाइड पनि रहेछन् भने जोरपाटिमा होटल व्यवसायी पनि । हामीले पनि हाम्रो छोँटो जानकारी दिँदै हामी गोरखाली हाल स्युचाटारबाट आएका भन्यौँ ।

उनले हामीलाई सोधे “हाइकिङ्को लागि आउनुभएको तपाईँहरू ? मैले “हजुर” भने । उनले “माथि मूलखर्क पनि जानुपर्ने फर्कनु भयो नि त ?” भनेर सोधे । मैले “एक त बिहान घरबाटै निस्कन ढिला भयो, अर्को बाटोमा गाडी जामको कारण तल बसपार्क आइपुग्न ठ्याक्कै दुइ घण्टा लाग्यो नि” भने ।

एकैछिनमा, हाम्रो सम्बन्ध मौलाउन लागिहाल्यो त्यो बनपाखामा । म मनाङ्मा जागिर गर्दाको समयमा पर्यटक गाइड शेर्पाहरूसँग निकै नै राम्रो सम्बन्ध थियो । मलाई उनीहरूको बोली निकै नै निश्चल र सङ्लो लाग्थ्यो । त्यस्तै भेटेँ त्यो जोडीलाई ।

बाटो आसपासको घनघोरको जङ्गलमा उत्तिस, चिलाउने, कटुस, बनमारा, उन्यु प्रजाती, पाती, लालीगुराँस, काफल, पानीअमला, मसुरेकटुस, सल्लाजस्ता बोट बिरुवाहरू जति रसिलो, रसदार, निश्चल र वास्नादार थियो । त्यो जोडीका कुराहरू त्यस्तै लाग्थ्यो हामीहरूलाई ।

शेर्पा भाइले सुन्दरीजलको माथि डाँडातिर नीलो आकाश चुमेको पहाडी गाउँलाई देखाएर भने उः त्यो गाउँ मूलखर्क हो । त्यतिखेरै लक्ष्मीले पनि थपिन् “त्यो गाउँ त हामै्र जन्मथलो गाईखुर गाउँजस्तै लाग्यो” । निकै नै पारिलो ठाउँ । शेर्पा भाइले थपे कि अधिकांस तामाङ्हरू छन् रे त्यहाँ ! यो बाटो त्यहाँबाट चिसापानी हुँदै धापड्याम जान सकिन्छ रे गाडीमै ! तर बाटो निकै नै कष्टकर । पहिला त यो सडक थियो रे कालोपत्रे तर अहिले भने अलपत्रे । कति पर्यटकहरू घुम्न जान्छन् त्यहाँ । तर बाटोको अवस्था सुधारको लागि स्थानीय सरकारलाई त वास्ता छैन भने सङ्घीय सरकारलाई झन् बाल मतलब । त्यसैले, फोर ह्वील गाडी बाहेक मोटरसाइकलहरू मुश्किलले झ्यालटुङ् गर्दै धूलोको आकृति बनी पुग्दछन् रे मूलखर्क, चिसापानी र धापड्याम !

हामी गफिँदै ओरालो झर्दै थियौँ । शेर्पा भाइले सुन्तला र बदाम ल्याएका रहेछन् । हामीलाई पनि दिए अनि खायौँ । हामीले त खाने चिज सबै नै मन्दिर नजिक थकाइमार्दा नै स्वाहा बनाएका थियौँ । त्यसैले हामीले दिने भनेको बोली मात्र भयो ।

एकैछिनमा एक ढलान गरेको घुम्ती बाटो भेट्यौँ । घुम्तीमै देब्रेतिर हाङ्गिएको कागेश्वरी मन्दिर जाने बाटो रहेछ । हामी त्यता नलागी अगाडि बढ्दै गयौँ । त्यहाँ नजिकै सेनाका दुइ भाइहरू भेट भए । उनीहरूसँग मेलम्ची खानेपानी बारे सोधपुछ ग¥यौँ । हामीलाई त दुवै पानीको स्रोत एकै ठाउँमा मिसाइन्छ होला जस्तो लागेको थियो । तर हैन रहेछ । मेलम्चीको पानी सुन्दरीजलको पानीमा नमिसाइ छुट्टै पठाइने रहेछ । सुन्दरीजलको पानी भने विद्युत उत्पादन कार्यपछि प्रशोधन गरेर पिउनयोग्य भएपछि मात्र खानेपानी लाइनमा जोडिने रहेछ अन्यथा सिँचाइको लागि पठाइने रहेछ । केहीछिनमा करीब चार बजे संरक्षित क्षेत्रबाट बाहिरिने चेकपोष्ट आयो । उनीहरूलाई धन्यवाद दिँदै विदावादी भएर झ¥यौँ सुन्दरीजल गाउँ हुँदै मेलम्ची खाने पानी भण्डारतिर ।

सुन्दरीजल गाउँ जाँदाजाँदै बाटोको दाहिनेतिर एक होटलमा बनभोज गर्दै रमाएका समुह थिए । गाउँ घन्किएको थियो गीत र छमछमी नाचले । वास्तवमा गीत र नाचले मानिसका स्वतन्त्रतालाई चरमउत्कर्षमा पुर्याएको अनुभूति भयो हामीमा । हामी त बनभोज जङ्गल तथा पार्कको खुला चउरमा रङ्गरस गर्दै खाँदै रमाउथ्यौँ । त्यहाँको बनभोजले मेरो सोँचाइमा बल्ड्याङ खायो ।

सुन्दरीजल गाउँ नदी किनार, पहाड र जङ्गलको फेदीमा अवस्थित तामाङ्हरूको सुन्दर बस्ती रहेछ । पानीको सुविधा । त्यसैले, रायो, बन्दागोवी, रुख टमाटर, बकुल्ला, लसुन, प्याज, घिराँैला, स्कुस, जुनेलो, केरा, अम्बा, आरू, सुन्तला, कागुने घाँस, लालुपाते फूल, सयपत्री, बाबियो, बनमारा, पिपल, बाँस, निगालाजस्ता बोटबिरुवाहरू देखिन्थे करेशाबारी तथा आसपासमा । लहरे बालीका सुकेका झ्यालहरू टाढाबाट हेर्दा परालको टौवाजस्तो लाग्दथ्यो । वर्षे सिजनमा धान र मकै खेती पनि राम्रै हुनेरहेछ । टाढाबाट हेर्दा घरहरू पहाडमै टाँसिएर पहाडलाई थामेजस्तो देखिने विचित्रको दृश्य ।

त्यस्तै गरेर, सल्लाका पातहरू सङ्कलन गरेर खुला आकाशमुनी थुपारेर कम्पोष्ट मल बनाइँदोरहेछ । यो दृश्य बीस वर्षअघि मनाङ्का किसानहरूले सल्लाको पातबाट कम्पोट मल बनाउने तरिकासँग ठ्याक्कै मेल खान्थ्यो । त्यतिखेर र अहिलेको प्रविधिमा अन्तर केही पाइएन त्यहाँ । कृषिकर्मी भएको नाताले नतमस्तक बन्दै लाजले निहुरियो मेरो शिर ।
एकैछिनमा हामी मेलम्ची खानेपानीको भण्डारछेउ पुग्यौँ । पूर्वतिर पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई तथा मेलम्ची खाने पानी परियोजनाका परिकल्पनाकारको स्मृतिपार्क र मेलम्चीबाट आएको खानेपानीको सुरुङ् तथा पाइपलाइनको मुख रहेछ । हामी त्यतातिर घुम्न जाने विचार ग¥यौँ । तर शेर्पा बहिनी र लक्ष्मी भने थकाइले बफाएको गाबाजस्तै फत्ल्याक फुत्लुक गलिसकेछन् । हिड्न मन गरेनन् । त्यसैले शेर्पा भाइ, ज्वलिता र म मात्र गयौँ त्यतातिर ।

पूर्व प्रधानमन्त्रीको सालिकको केही वरिपरि भुईँ भने ढुङ्गा बिछ्याइएको थियो डिलमा स्टिलको बार । ठाउँठाउँमा बस्ने बेञ्च भने थियो त्यहाँ । सालिकको आधारमा भने रातो ईट्टाद्वारा बनाइएको थियो । मैले सोँचेको थिएँ कि स्मृति पार्क त हरियाली तथा रङिगबिरङगी बोट, बिरुवा तथा फूलहरूले झकिझाउसँग सिँगारिएको होला । तर पार्क त उदाङ्गो, फुङ्ग र उजाडिएको थियो । पूर्व प्रधानमन्त्री भट्टराई भने टोपी, दौरा, सुरुवालमा सजिएर दाहिने हातले थोत्रो बाकस बोकेका र देब्रे हातले छाता र सुरही बोकेर ठिङ्ग उभिएको । अनि कठै बिचरा ! यो पार्क निर्माणको लागि गुरु योजनाको खाका तयार भएको त थियो होला नि ! तर किन यति परित्यक्त अवस्थामा होला यो स्थान ?

यदि पानीबाट उठेको रकमको केही हिस्सा छुट्याएर यो पार्क व्यवस्थापनतिर लागे त हुन्थ्यो नि ! एकछिनलाई मानौँ, अन्य पार्टिहरू त अन्य नै भए रे ! तर नेपाली काङ्ग्रेसले निकै पटक सरकार सञ्चालन गरेको त हो नि । तर खै किन त्यतातिर ध्यान नपुगेको एक पर्यटकीय गन्तब्य बनाउनतिर ? कौतूहलता जाग्यो मेरो मनमा ।

त्यहाँ बेञ्चमा केही महिलाहरू घाम तापेर गफिँदै बसेका थिए । मैले उनीहरूसँग त्यहाँको भूगोलको बारेमा जानकारी लिने कोशिश गरेँ । उनीहरूले भने कि “सालिकको पूर्वतिरको पहाड गागल गाउँ । त्यसको अझ पल्तिरको पहाड भुमरचोक । त्यसभन्दा पश्चिमको समथर भूभाग साँखु, साँखुभन्दा परको डाँडा भने चाँगु । साँखुभन्दा पश्चिमतिरको समथर भूभाग ईन्द्रेणी र त्यसपछि पश्चिमतिरको भाग भद्रवास र अझ पश्चिमको हरियाली डाँडाभने खड्गा गाउँ ।” रमणीय छ त्यहाँ वरिपरिका दृश्य र परिदृश्यहरू ।

मेलम्ची पानी भण्डारस्थल भने पर्खालले घेरेर राखेकोले सर्वसाधारणको लागि प्रवेश पहूँच ‘आकाशको फल आँखा तरी मर’ जस्तै थियो त्यहाँ । त्यसैले बाहिरबाटै घाँटी तन्काइ तन्काइ हेरियो पानी भण्डार ।

शेर्पा भाइले भनेअनुसार यो खाने पानी भण्डार तथा स्मृति पार्क निर्माणको लागि त्यहाँका स्थानीयबासी तामाङ्हरूको जमीन अधिग्रहण गरिएको रहेछ । ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई हसियाको बिँड’ भनेझैँ कतिले मुआब्जा रकमलाई उचित व्यवस्थापन गरेर आफ्नो जीवनस्तर ह्वात्तै उकासेछन् भने कतिपयले त बिजुली पानीमै सकेछन् र हिजोआज त झनै दरिद्री अवस्थामा गुजारेका छन् रे दैनिकी । मेरो बाजेले मलाई भन्ने गर्थे “मानिसलाई एक पटक मौका आउँछ तर पर्खँदैन” भन्थे नभन्दै हो रहेछजस्तो लाग्यो ।

त्यसपछि हामी झ¥यौँ ओरालो ध्वजापतकाले सिँगारिएको बाग्मती नदी र झोलुङ्गे पुलतिर । त्यतिखेर ध्वजापतकाहरू पनि हल्लिँदै नाचगानमै व्यस्त थिए । फोटो खिच्यौँ सुन्दर पुलमा । बिस्तारै अगाडि बढ्दै गयौँ । बाटो आसपास खानाको बास्नाले पेट जुर्मुराउन थाल्यो फेरी । शेर्पा भाइ बहिनी त्यतै बसे थकाइ मार्न । हामी भने लाग्यौँ बसपार्कतिर । भोकले पेट सारङ्गी बनेको थियो । त्यसैले, एक होटलमा थुक्पा र मःमः, हटलेमन, चिया पिएर बस चढी लाग्यो आफ्नो गन्तव्यतिर । अध्याँरोले आधिपत्य जमाइरहे तापनि रात्रीकालीन झलमल थियो शहर तथा बजार क्षेत्र । जोरपाटी झनै धपक्क बलेको ठूला ठूला घर र पसलले । हामी करीब छ बजे चावहिल चोक पुग्यौँ । पारीपट्टि कलङ्कीतिर जाने चक्रपथको बस चढ्यौँ । बेलुकीको करीब पौने आठ बजे स्युचाटार चोक पुग्यौँ र बसबाट झरेर थकित मुद्रामा उकालो लाग्यौँ स्युचाटारको । करीब आठ बजे बेलुकी घर पुग्यौँ र बिट मा¥यौँ आजको यात्रा ।

अन्तमा, हामी शहरको धुवाँ, धूलो, हल्लाखल्लाबाट वाक्कदिक्क भएका कङ्कक्रिटे यात्रीहरू सुन्दरीजलभित्र लुकेको प्राकृतिक सुन्दरतासँग रमाउन पाउँदा निकै आनन्दित भयौँ । यस भ्रमणबाट सिर्जनाको लागि अमूल्य पाठ तथा ज्ञान सिक्ने मौका पनि पाएँ । काठमाडौँ शहर नजिकैको यो पवित्र स्थान एकदिने भ्रमणको लागि अति उत्तम देखेको छु मैले ।

नागार्जुन १०, स्युचाटार काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।