भारतीय नेपाली साहित्य क्षेत्रमा एक सिद्धहस्त लेखकका रुपमा अलग पहिचान बनाइसकेका व्यक्तित्व सीताराम काफ्लेको जन्मथलो डुवर्स भए तापनि वर्तमान उनी आफ्नो कर्मथलो कालेबुङकै स्थायी निवासी भएर लगभग 34 वर्षदेखि शिक्षण पेशामा संलग्न रही साहित्यमा कलम चलाउँदै आएका छन्। उनको जन्म पश्चिम डुवर्सको बाग्राकोट चियाकमानमा पिता स्व. रामचन्द्र काफ्ले अनि माता स्व. पवित्रादेवी काफ्लेको परिवारमा 4 दिसम्बर 1962 मा भएको थियो। उनले बाग्राकोट चियाकमानको प्राथमिक पाठशाला र बाग्राकोट चुनाभट्टी प्राथमिक पाठशालाबाट आफ्नो प्रारम्भिक शिक्षाको पढ़ाई पुरा गरेपश्चात् बाग्राकोट उच्च माध्यमिक विद्यालयबाट सन् 1983 मा माध्यमिक परिक्षा उतिर्ण गरे। यस अवधिमा सन् 1982 को अन्ततिर उनी सिलगढ़ीबाट प्रकाशित हुने ‘हिमालचुली’ दैनिक समाचार-पत्रमा प्रुफरिडरको काम गर्न थालिसकेका थिए। त्यहाँ उनले थोरै अवधिमा धेरै कुराहरू सिक्ने र कर्ममय जीवनको अनुभव हासिल गर्ने मौका पाए। बागाकोट उच्च विद्यालयमा विद्यार्थी रहँदादेखि नै बद्रीनारायण प्रधान जस्ता प्रगतिवादी लेखक र विष्णु शर्मा अधिकारी जस्ता व्याकरणविद्को शिक्षण प्रभावमा परेका काफ्ले सिलगढ़ी आएपश्चात् ‘हिमालचुली’ दैनिक पत्रिकाको सम्पादन तथा प्रकाशन कार्यसित संलग्न रहेका त्यसबेलाका प्रख्यात साहित्य महारथी पारसमणि प्रधान, कथाकार शिवकुमार राई, साहित्यकार-पत्रकार युवराज काफ्ले, कृष्ण प्रधान, राजेश भट्टराई जस्ता व्यक्तिहरूको सान्निध्य पाए। यसरी उनी पनि साहित्य लेखन संस्कारबाट प्रभावित हुँदै गए र उनको लेखन प्रतिभाको विकास हुँदै गयो। त्यहीबेला ‘हिमालचुली’-मा उनका रचनाहरू प्रकाशित हुन थाले। सन् 1983 को ‘हिमालचुली’मा प्रकाशित कविता ‘मेरो तग्दीरको परिणाम’ र निबन्ध ‘अनिश्वरवादी व्यक्तित्व देवकोटा’ लाई उनका प्रथम प्रकाशित रचना मानिन्छ। त्यसपछि छोटो अवधिमा नै उनका अन्य निबन्धहरू ‘सिलगढीको सेरोफेरो’, ‘भानुभक्त आदिकवि हुन् होइनन्’, ‘संस्कृतिका कुरा’, ‘हिमालचुली पूजा विशेषाङ्क एक अवलोकन’ आदि प्रकाशमा आए। यसरी सन् 1984 मा उनका ती नै निबन्धहरूको सङ्कलन ‘गोजिका’ पुस्तक आकारमा प्रथम कृतिको रुपमा प्रकाशित भएको थियो।
तर उनले ‘हिमालचुली’-मा धेरै दिन कार्य गरेनन्। आफ्नो शिक्षालाई निरन्तरता दिनको निम्ति सन् 1983 मै उनी कालेबुङ महाविद्यालयमा भर्ना भए अनि सन् 1985 मा उच्चतर माध्यमिक उतिर्ण गरे। त्यही वर्ष उच्चतर माध्यमिक परिक्षा दिएपश्चात् रिजल्ट हुन अघि करिब दुई महिना नेपालको चन्द्रगढ़ी क्याम्पस मोड़ स्थित श्री दधिराम तिम्सिनाको अंग्रेजी माध्यमको बोर्डिङ स्कुल शिशु निकेतनमा पनि उनले शिक्षण कार्य गरेका थिए। त्यसै अवधिमा उनलाई कुमुदिनी होम्सका भूतपूर्व प्रधान अध्यापक एवं संस्थापक टीकाराम शर्मासित भद्रपुरको उनकै निवासमा भेटघाट र परिचय हुने अवसर मिल्यो। त्यसबेला टीकाराम शर्मा नेपाल राजकीय परिषद्का सदस्य रहेका थिए। उच्चतर माध्यमिक परिक्षाको रिजल्टपछि उनी कालेबुङ महाविद्यालयमा पुन: भर्ना भए अनि सन् 1988 मा नेपाली साहित्यमा सम्मानसहित स्नातक उतिर्ण गरे। यसरी आफ्नो शैक्षिक योग्यतालाई अघि बढाउने क्रममा सन् 1990 मा उनले इलाहाबादबाट पत्रकारितामा डिप्लोमा लिए अनि सन् 1997 मा हिन्दी साहित्यमा विशारदको परिक्षा उतिर्ण गरे। त्यसपछि सन् 2007 मा उत्तर बङ्ग विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उतिर्ण भए।
कालेबुङ कलेजमा विद्यार्थी छँदा उनी विद्यार्थी सङ्गठनका मूल सचिवको चुनावमा निर्विरोध चयनित भएर एक छात्र-नेताको रुपमा पनि परिचित भएका थिए। त्यहीबेला सन् 1986-87 ताका चलेको अस्तित्वको आन्दोलनमा विद्यार्थी सङ्गठनका नेताको हैसियतमा उनको पनि सक्रिय भूमिका रहेको थियो। उनले दार्जीलिङ, तराई र डुवर्समा आयोजित गोर्खाल्याण्ड आन्दोलनका विराट जनसभाहरूमा सहभागी हुँदै आफ्ना जोशिला वक्तव्यहरू पनि प्रस्तुत गरेका थिए। त्यस आन्दोलनमा विद्यार्थीहरूको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी प्रशासनको नजरमा आइसकेका थिए र प्रशासनिक ताण्डवको सामना गर्नुपर्ने स्थिति आइपर्दा वाध्यतावश केही अवधिको निम्ति भूमिगत पनि हुनुपरेको थियो। भूमिगत अवधिमा सिक्किममा रहँदा आर मोक्तानको संसर्गमा रहेर सन् 1988 तिर उनले ‘टिस्टा तरङ्ग’ पत्रिकाको सम्पादन कार्य पनि गरेका थिए।
कलेजको पढ़ाई सकेपश्चात् उनले अक्टुबर 1989 तिर कालेबुङ इस्टमेन रोडमा टिस्टा सुनकोश प्रेस र प्रकाशन संस्थाको स्थापना गरेर सन् 1990 देखि ‘गोर्खा अस्मिता’ पत्रिका 3 अङ्कसम्म आफ्नो सम्पादनमा प्रकाशित गरे। यसबाहेक उनले समय समयमा अन्य विभिन्न पत्र-पत्रिकाहरू ‘विवेचन’ (1990) एक अङ्क, ‘गोर्खा संवाद’ (1990) 3 अङ्क, ‘डुवर्स स्मारिका’ (1991) एक अङ्क, जर्नेली (1992) एक अङ्क, टिस्टा सुनकोशसम्म भेट्नेहरू (1992) एक अङ्क, सङ्गीताञ्जली (2003) एक अङ्क आदिको सम्पादन गरेका छन्। यसका अतिरिक्त सन् 1995 देखि कुमुदिनी होम्सको मुखपत्र ‘कुमुदिनी’ र पार्वत्य शिक्षक सङ्गठनको मुखपत्र ‘सौरभ’-का पनि उनी सम्पादन सहयोग गर्दै आएका छन्।
उनी नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्तिको निम्ति चलेको अन्तिम चरणको आन्दोलनमा पनि निकै सक्रिय रहेका थिए। यसै क्रममा सिक्किममा 7,8,9,10 फरवरी 1991 मा सम्पन्न भएको भारतीय नेपाली राष्ट्रिय परिषद र डुवर्स गोर्खा सभाको महाअधिवेशनमा पद्मश्री सानु लामा, नाट्यभूषण सी.के.श्रेष्ठ अनि डुवर्सका अग्रज व्यक्तित्वहरू स्व. बी.एम.योञ्जन, स्व. सुखमन मोक्तान, स्व. इन्द्रबहादुर गुरुङ, ललित न्यासुर, मोहन शर्मा, तिलक शर्मा आदिका साथ सिक्किमका तत्कालीन मुख्यमन्त्री नरहादुर भण्डारीसित पटक पटक भएको बैठकमा उनी पनि सामेल रहेका थिए।
सन् 1991 मा उनी कुमुदिनी होम्स उच्चतर माध्यमिक विद्यालयमा भाषा विषयक सह-शिक्षकका रुपमा नियुक्त भए। अन्तत: उनले स्थायी रुपमा शिक्षण पेशालाई नै अपनाए। यतिञ्जेल उनका विभिन्न विषयका लेख-निबन्ध र कविताहरू पनि भारत र नेपालका अनेकौं पत्र-पत्रिकाहरूमा प्रकाशित हुँदै आएका थिए। उनका ती नै निबन्धहरूको सङ्कलन ‘अस्तित्वका कुराहरू’ (सन् 1992), रचना विमर्श (सन् 1994), विचार विकीर्ण (सन् 1995) जस्ता गद्य कृतिहरू प्रकाशमा आए। त्यसपछि सन् 2009 मा विमर्श विमर्श (निबन्ध सङ्ग्रह) अनि सन् 2012 मा समयको अवसान (कविता सङ्ग्रह) प्रकाशित भयो। यसरी सन् 2012 सम्म आइपुग्दा उनले पाँच वटा निबन्ध सङ्ग्रह र एउटा कविता सङ्ग्रह साहित्यको ढुकुटीमा चढाई सकेका थिए। अझ स्मरण गर्न योग्य के छ भने उनको चौथो कृति ‘विचार विकीर्ण’ नेपाली साहित्य अध्ययन समिति, कालेबुङद्वारा आयोजित बाह्रौं पारसमणि प्रधान स्मृति पुरस्कार समारोहमा पुरस्कार प्रापक बद्रीनारायण प्रधानको बाहुलीबाट लोकार्पण भएथ्यो भने ‘समयको अवसान’ कविता सङ्ग्रह स्व. बद्रीनारायण प्रधानको शालिग अनावरण समारोह, बाग्राकोटमा मुख्य अतिथि वरिष्ठ साहित्यकार डा. इन्द्रबहादुर राईको कर-कमलबाट बएको थियो।
सन् 1996 मा उनले साहित्य अकादेमी, दिल्लीको अनुदानमा देहरादून, उत्तरप्रदेशको साहित्यिक भ्रमण गर्ने अवसर पाए। त्यसपछि उनी सन् 2018 देखि 2023 सम्म साहित्य अकादेमीको नेपाली भाषा परामर्श समितिका सदस्य रहेका थिए। त्यसै अवधिमा अकादेमीको अनुबन्धमा भारतीय साहित्यका निर्माताको परिचयलाई प्रकाशमा ल्याउने क्रममा उनका एम.एम.गुरुङ (सन् 2019) र हरिप्रसाद गोर्खा राई (सन् 2021) दुई वटा विनिबन्ध (Monograph) साहित्य अकादेमी दिल्लीबाट प्रकाशित भएका थिए।
त्यसपछि मई 2024 मा उनको नयाँ कृति मनस्वी विविध विषयमा लेखिएका बीसवटा निबन्धहरूको सङ्कलन प्रकाशमा आयो। 300 रुपियाँ मूल्य राखिएको 213 पृष्ठको यस गहकिलो पुस्तकबारे साहित्य पोस्टमा प्रकाशित समीक्षक नवीन पौड्यालको समीक्षात्मक लेख ‘सिर्जनात्मक समीक्षा र सीताराम काफ्ले’ साहित्यमा रुची राख्ने पाठकहरूले अवश्य पढ्नु पर्ने मननयोग्य रहेको छ। यस लेखमा पुस्तकबारे उनले लेखेको समीक्षात्मक विश्लेषणको एउटा सानो अंश यहाँ उद्धृत गर्न चाहन्छु – “संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ती अर्थात् कविको वास्तविक प्रतिभा गद्यमा रहेको हुन्छ। निबन्धका रूपमा मनका भाव, सत्यवचन, अनुभव, अनुभूतिलाई पाठकसामु अभिव्यक्ति गर्ने काममा सिताराम काफ्ले देखा पर्दछन्। उनको हालै प्रकाशित पुस्तक मनस्वी (2024) उनको गहन चिन्तन र भावनाको उपज हो। यसभित्र उनका ज्ञान, अनुभव अनुभूति, चाहना आदि सबै प्रस्तुत गरेका छन्। यसभित्र रहेका लेखहरूको अध्ययन गर्दा यसलाई कुन विधाको पुस्तक ठान्नु भन्ने कुरामा पाठक अलमल पर्न सक्छन्- यो निबन्धसंग्रह हो कि? समीक्षासंग्रह? व्यक्ति परिचय संग्रह हो? जातीय प्रेमको उद्गारहरूको सँगालो? समग्रमा हेर्दा यस पुस्तकमा यी जम्मै कुरा समेटिएका छन्। यी जम्मैको एकमुष्ट रूप हो मनस्वी। यसरी हेर्दा यस मनस्वीलाई सिर्जनात्मक समीक्षासंग्रह मान्न सकिन्छ। पाठकले एकरसता नभएर बहुरसता पाउँछन्। पाठकले एकै ठाउँमा ज्ञान, अनुभव, जानकारी, अनुभूति, सन्देशसहित साहित्यिक रसास्वादन पाउँछन्। लेखकले आफ्ना अनुभूति, अनुभव, विचार, भावना, ऐतिहासिक तथ्य, चेतना प्रस्तुत गरेका छन्। यसमा स्थलगत जानकारी, व्यक्तिचित्र, संस्मरण, समीक्षात्मक ढाँचा आदि सबैको सङ्गमका रूपमा देख्न पाइन्छ।“ यसबाट नै उक्त पुस्तकबारे धेरै कुरा बुझ्न सकिन्छ। यस लेखमा समालोचक नवीन पौड्यालले पुस्तकमा सङ्कलित निबन्धहरूका विषयवस्तुको आधारमा उनको लेखनमा मुख्यत: पाँचवटा प्रवृतिहरू - सर्जक मूल्याङ्कनपरक, समीक्षापरक, संस्मरणात्मक, जातीय चिन्तनपरक र तथ्यात्मक परिलक्षित भएको उल्लेख गरेका छन्। पुस्तकमा समावेश गरिएका सम्पूर्ण निबन्धमा विभिन्न पक्षहरूको सम्मिश्रित रुप र विशिष्ट शैली रहेको हुनाले पाठकहरूका निम्ति रोचक भएको छ।
केही महिनाअघिमात्र लेखकबाट सम्झना स्वरूप प्राप्त भएको पुस्तक ‘मनस्वी’ आध्योपान्त पढ़ेपश्चात् एक सामान्य पाठकको रुपमा यहाँ आफ्ना केही मन्तव्यहरू संक्षिप्तमा राख्न चाहन्छु। पुस्तकमा सङ्कलित निबन्धहरू – ‘कृति ‘गोजिका’ र यसको गर्भ’–मा सिलगढ़ीमा हिमालचुली समाचार-पत्रमा प्रुफरिडरको रुपमा कार्यरत रहँदाको संस्मरण र उनको पहिलो कृति ‘गोजिका’-को प्रकाशनको व्यवस्था र परिवेश कसरी बनियो त्यसको जानकारी पाइन्छ। यस लेखमा ‘गोजिका’-को निम्ति लेखिएको साहित्यकार युवराज काफ्लेको भूमिका पनि समावेश गरिएको छ। दोस्रो निबन्ध ‘फुटे फाइदा अरूलाई’ - मा सामाजिक, राजनैतिक चेतना र जातिय अस्तित्वका कुराहरू पाइन्छ। एकताका अस्तित्वको सङ्घर्षमा स्वयं भागीदार रहेका उनका अनुभव र अनुभूतिहरूको संवेदनशीलता र सुन्दर अभिव्यक्तिका केही नमूनात्मक हरफहरूको अवलोकन गरौं –
“थिए विमलका सट्टा सुवास। दुवै गुरु शिष्य ‘गोरख विद्यालयका’। विगतमा राज्यमा
ज्योति, केन्द्रमा बुट्टा, छन् वर्तमान राज्यमा बुद्ध (हालमा दिदी ममता), केन्द्रमा चिदम्बरम्।
सय वर्ष बित्यो रे नि ! हाम्रो युद्ध। करनेशनको आयुभन्दा जेठो। मुद्धा हाम्रो।
करनेशन 1936 सालको। हाम्रो मुद्धा 1906 सालको।
कहाँ बिराएछौँ बाटो हामीले? इतिहासले कि देशले?
कि, देश गम्भीर छैन?
टिस्टा बगिरहेथ्यो एकै सूत्रमा पाठ घोकाउन हामीलाई। धैर्यको, निरन्तरताको, एकताको
बाघपूल मुन्तिर। मुस्लो बनेर लक्ष्यमा लम्किरहेको।“
कति सचेत छन् उनी हाम्रा अस्तित्वका प्रश्नहरू लिएर। उनी अझै भन्छन् –
“कहालिलाग्दो छ अस्तित्वको कुरा अहिलेलाई
बाघचाल गरिबस्छ देश गोर्खा भावनामा।
घरि लुडु खेलाउँछ, शिखर चढाउँछ, पार्छ सर्पको मुखमा अनि
वासभूमि र पेटको यात्रा यो विवशता
पहाड़ भन्नु नै सङ्घर्ष हो, आपस्तको युद्धको महिसासुरमय पेटको
जाति भन्दा कुर्सी ठुलो रे .... ।“
तेस्रो निबन्ध ‘अभिनन्दनदेखि स्मृतिसम्म’ –मा शिशिरकुमार गुरुङ अभिनन्दन ग्रन्थको विमोचनमा रुपनारायणसिंह नगर, तुम्बाजोत, मतिगढ़ामा आफ्नो उपस्थितिको संस्मरण सहित शिशिरकुमार गुरुङको व्यक्ति परिचय एवं साहित्यिक मूल्याङ्कन गर्दै अन्तमा उनको मृत्युपश्चात् शोक प्रकट एवं श्रद्धाञ्जली अर्पणसँगै यस लेखलाई उनको स्मृतिमा समर्पण गरिएको छ। ‘पर्यवेक्षण एक : टिस्टा सुनकोशको गढ़तिर’ बाग्राकोटका लेखक निर्मल शर्माको पुस्तक ‘टिस्टा सुनकोशको गढ़तिर’-को समीक्षा गर्दै लेखकको प्रतिभा परिचय सहित गाउँदेखि सम्पूर्ण डुवर्स र डुवर्सदेखि दार्जीलिङ र दार्जीलिङदेखि पुरा देशलाई सम्झेका छन्। उनी लेख्छन् – “धर्मनिरपेक्ष देश भारत। यस देशमा को-कहाँबाट कहिलेदेखि स्थायी बसोबास गरिआएका हुन् भन्ने ऐतिहासिक तथ्यहरू बाहियात कुराहरू भएका छन् आजका सन्दर्भमा। पूँजीवादले शासन गर्छ यहाँ। तथाकथित धर्मगुरु र धार्मिक प्रतिष्ठानहरू व्यवसायका केन्द्रविन्दु बन्नका साथ राजनीतिले प्रेरित छन्। व्यक्तिगत व्यवसाय केन्द्रको स्थापनाको होड़मा निर्वास गरिन्छ मान्छे र गाउँ।“ यो सम्झिने मन छ म बिर्सुं कसरी –मा सन् 1985 मा चन्द्रगढ़ी, झापा, नेपालमा प्रसिद्ध गायक एवं सङ्गीतकार नारायण गोपालसित गरेको भेटघाट, वार्तालाप र साक्षात उहाँको मुखारविन्दबाट सुनेका गीतहरूको सम्झना तथा गायन र सङ्गीत क्षेत्रमा उहाँको प्रतिभा परिचय दिइएको छ। त्यसरी नै क्रमश: समय अनि सकुरा –मा सन्तोष कुमार राई ‘थुलुङ’-को निडर पत्रकारिता साहित्यिक परिचय र सन् 1986 को अस्तित्वको आन्दोलन संस्मरणसितै विगत र वर्तमानलाई रौंचिरा समीक्षा गरेका छन् लेखकले। जातीय चेतनाको धुकधुकी बाँचेको छ यस लेखमा। कृति अवलोकन –मा अशोक राई अभिनन्दन ग्रन्थको समीक्षात्मक अवलोकन र उनको गायन तथा सङ्गीत क्षेत्रमा योगदानको मूल्याङ्कन र उनीहरूसित लेखकको सम्बन्ध, अनुभव, संस्मरण आदि अभिव्यक्तिको सम्मिश्रण रहेकोले पाठकले बहुरसताको स्वाद चाख्न पाएका छन्। मनदेवीको ललाटमा मुनामदन –मा नेपालको काठमाडौं पुगेर लक्ष्मीप्रसाद् देवकोटाको मूल घरको दर्शन गरी उनको धर्मपत्नि मनदेवी देवकोटालाई भेटेर महाकविको स्वभाव, आनीबानी र जीवनशैलीबारे सोध-खोज गरी नयाँ तथ्यहरू दिने चेष्टा गरेका छन्। जसले मह काट्छ उसले हात चाट्छ –मा वरिष्ठ साहित्यकार एम.पथिकको व्यक्तित्व परिचय र साहित्यिक योगदानको चर्चासँगसँगै मौरी पालनमा पनि उनको चासो रहेको जानकारी दिइएको छ। त्यसैगरी मेरो टोपी कैलाशको शीर जस्तो –मा स्वर, सङ्गीत र शब्द रचना तीनैवटा धारालाई सही संयोजन गरी समय सन्दर्भका गीतहरू नेपाली जगतलाई पस्किदिएर ख्याती प्राप्त गर्ने व्यक्तित्व गोपाल योञ्जनको योगदानको मूल्याङ्कन गरेका छन् भने हस्त नेचाली: व्यक्ति एक व्यकित्व अनेक –मा हस्त नेचालीको व्यकित्व परिचय र साहित्यिक योगदान, केही विगत केही वर्तमान युवराज काफ्ले –मा युवराज काफ्लेको साहित्यिक योगदान, किरात कृतित्व दिवसमा विरिमफूलको रमझम – मा कथाकार प्रदीप गुरुङको कथा सङ्ग्रह ‘बिरिमफूल’-को लोकार्पणको अवसरमा गोरुबथानको यात्रा अनि हायमनदास राई किरातसित भएको औपचारिक भेटघाट र उनको कृतित्वको संक्षिप्त विवरणसहित लेखकका अनुभूतिहरूको मधुर संस्मरण पढ्न पाइन्छ। यसै प्रकारले साधक सानुमतीबारे सानै कुरा –मा प्रख्यात नारी हस्ताक्षर सानुमती राईको साहित्यिक योगदान अनि किरात र ‘केही नमिलेका रेखाहरू –मा किरातको कथा सङ्ग्रह ‘केही नमिलेका रेखाहरू (भाग दुई)-को समीक्षात्मक मूल्याङ्कन रहेको छ। अकादेमीको सौजन्य : बद्रीनाथको यात्रा –मा प्रगतिवादी सर्जक बद्रीनारायण प्रधानको कर्मस्थल बाग्राकोटलाई बद्रीधाम मानेर उहाँसित रहेको गुरु-चेलाको सम्बन्धदेखि लिएर विभिन्न समयमा भएको अन्तरङ्ग भेटघाटहरूको सम्झना सहित डा. जीवन नामदुंगको संयोजन र साहित्य अकादेमीको सौजन्यमा मालबजारको उदिचि भवनमा सम्पन्न भएको Meet the author कार्यक्रममा लेखकको उपस्थितिको संस्मरण पढ्न पाइन्छ। अक्षर अभिलेखमा डा. जीवन नामदुंग –मा प्रख्यात कवि तथा समालोचक डा. जीवन नामदुंगको कविता सङ्ग्रह ‘अक्षर अभिलेख’-को समीक्षात्मक मूल्याङ्कन गरेका छन्। यसमा साहित्यप्रति उनको योगदानको चर्चा गर्दै लेखक उनका कविताहरूको अन्तर्आत्मा स्पर्श गर्न पुग्छन् – ‘कवि नामदुंगद्वारा रचित कविता ‘जन्मोत्सव’-देखि ‘हतारको हस्ताक्षर’-सम्म सङ्ग्रहमा परेका छत्तीसवटा शीर्षक कविता आफुलाई वक्त्याउनु होइन कवि आफु बाँचेको समय र हिँडेको वर्तमानप्रति सचेत बन्दै चेतनाको रङ्ग पोतेका छन्।‘
‘आस्तित्वक चेतनाका शीर्ष कवि अगमसिंह गिरीले छोड़ेका गोरेटाहरूलाई आत्मसात गर्न र अन्तर्चेतना पस्कन पारखी छन् पौरखी शब्दहरू डा. नामदुंगका। बिहानीले कहिल्यै नयाँ सन्देश नल्याउनु, एउटा छिप्पिएको विकृत युगले जातिलाई थिचेको, मिचेको, सरकारतन्त्रले न्यायादेखि वञ्चित गराएको, पुर्खाको इतिहासलाई निमिट्यान्न पार्ने षड्यन्त्रकारीप्रति विरोधाभास व्यक्त छ उनको।
झिल्काले आगो हुँ भनेर घोषणा गर्दैन
झिल्काले भस्म गर्छु भनेर डङ्का पिट्दैन (झिल्काहरू बोल्दैनन्)
आगो र पानी, तरुणी र मुर्ख, राजा र रङ्कदेखि नमान्नु हर्क।
दनदन बल्दै गरेको आगो निभ्न सक्छ, परालको आगो बन्न सक्छ त्यो क्षणिक छ।
यद्यपी झिल्का भने भुङ्ग्रोभित्र सुरक्षित बस्छ अनन्त छ त्यो।
बिन्दु बिन्दु मिलेर सिन्धु बन्छ।
आगो बन्दैमा झिल्का नबिर्सिनू, सिन्धु बन्दैमा विन्दु नाबिर्सिनू। आगोको उच्छ्वास भएर होइन झिल्काको प्रखर तेज भएर बाँच्न चाहन्छन् कवि।........‘
यसरी नै छङ्छङ् बग्ने खहरे खोला –मा गायक छुजाङ डुक्पाको गायन कला र सङ्गीत क्षेत्रमा उनको योगदानको चर्चा गरिएको छ भने गोर्खाका गौरव : महानन्द पौड्याल –मा वरिष्ठ साहित्यकार महानन्द पौड्यालको साहित्यिक व्यक्तित्वको परिचय पढ्न पाइन्छ र अन्तमा सम्झनामा कितापसिंह राई –मा साहित्यकार कितापसिंह राईसित लेखकको सम्बन्ध, उनको व्यक्तित्व र साहित्य, समाज अनि शिक्षाप्रति उनको योगदानको मूल्याकन गरिएको छ। पुस्तकमा सङ्कलित कतिपय निबन्धहरूमा विशेषत: नेपाली भाषी गोर्खाहरूको बसोबासो रहेको डुवर्सको गाउँ, चियाबारी र यसका वरिपरिका परिवेशको दर्शन अनुभव, त्यहाँका साहित्यिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक व्यक्तित्वहरूसितको भेटघाट र उनीहरूसित लेखकको सम्बन्ध आदिको संस्मरण चाखलाग्दो ढङ्गमा प्रस्तुत गरिएको छ। उनी लेख्छन् -
‘अस्सीको दशकपछि बीरपाडा नेपाली स्कुलमा संलग्न किताप सरलाई भेटें मैले 12 अप्रेल 1987 –मा, उनकै वास स्थानमा। 9 सेप्टेम्बर 1986 मा एउटै भएको नेपाली स्कुल भस्म बनाइएको प्रसङ्ग झिके उनले। हामी कारकतत्व स्कुल जल्नुको। मौनतामा सुने मैले उहाँको कुरा। यो सामाजिक दु:खद घडीमा श्री इन्द्रबहादुर राई, मिस दुर्गा गुरुङ, श्री राजेन भेटवाल,श्री गोपालमणि प्रधान, श्री के.डी.राई, श्री के.बी.श्रेष्ठ आदिको अन्तर्मन चियाएँत्यो मुहूर्तमा, बीरपाडामा। गरगण्डा, हन्टुपाड़ा, राङ्गामाटी, दलसिंहपाड़ा, राइमटाङ, गङ्गुटिया, लङ्कापाड़ा, रामझोड़ा, मदारीहाट, चाल्सा, मटेली, सामसिङ, चिलाउने, कुमाई, बाग्राकोट र आशाबारी आदि ठाउँहरूमा गणतन्त्रको हत्या गरेर प्रशासनले सन्त्रासको राज चलाएको थियो। लेखेर विक्षोभ प्रकट गरें देखेका कुरा। धेरै पटक गाउँको मायामा मैले। हात्ती आयो, हात्ती आयो... फुस्स भैं विचलित बन्यो डुवर्सको एउटा युग। त्यही नाङ्गो युगलाई बर्को ओढाईरहे किताप दाईले। शिक्षा, साहित्य,, कला र संस्कृतिको माध्यमबाट।
युग युगदेखि दन्किरहेको
यो अशान्त उर-ज्वाला
विभ्रांत जीवन। कहाँ जाउँ?
सन् 1980 मा प्रकाशित जीवन फूल - कविता सङ्कलन अन्तर्गत ‘भ्रान्ति’-मा आफ्नो अभिव्यक्ति पोखेका छन् यसरी।:’
डुवर्सकै माटोमा लेखकको सालनाल गाडिएको हुनाले पनि उनको अन्तस्करणबाट डुवर्सप्रति अगाध माया र संवेदनाको प्रगाढता झल्किएको देखिन्छ। पुस्तक पढिसक्दा साहित्यसँगसँगै सङ्गीत क्षेत्रमा पनि लेखकको उत्तिकै चासो रहेको बुझिन्छ। प्राय: सम्पूर्ण निबन्धहरूमा उनका जीवनमा घटेका अनुभव, अनुभूतिका संस्मरणहरू र आत्मकथाहरूको अन्तर्घुलन रहेको हुनाले पनि भारतीय नेपाली साहित्यमा यस पुस्तकले विशेष स्थान प्राप्त गर्न सफल होला भन्ने मेरो मन्तव्य रहेको छ।
बहु-आयामिक प्रतिभाका धनी सीताराम काफ्ले साहित्य लेखनका साथै उद्घोषणा कलामा पनि दक्ष रहेका छन्। यसबाहेक उनले अभिनय क्षेत्रमा पनि काम गरेका छन्। उनले चलचित्र जगतका वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्मित धारावाहिक ‘झजल्को’-मा प्रशासनिक अधिकारीको चरित्र अभिनय गरेका छन् भने निर्देशक अमर रसाइलीद्वारा निर्मित लघु चलचित्र ‘जुनेली’ –मा पत्रकारको भूमिका र अच्छा राई रसिकको कथा ‘औंठी’ माथि आधारित लघु चलचित्रमा मामाको भूमिका निभाएका छन्।
नेपाली साहित्य अध्ययन समिति, कालेबुङ, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ, गोर्खा जनपुस्तकालय, खरसाङ, नेपाली साहित्य प्रचार समिति, सिलगढ़ी, गोर्खाली सुधार समिति, देहरादून, भारतीय गोर्खा परिसङ्घ, डुवर्स नेपाली साहित्य विकास समिति आदि विभिन्न सङ्घ-संस्थाहरूसित संलग्न रहँदै आएका काफ्ले सन् 2010 मा जसबहादुर राणा पुस्तकालय, दलसिंहपाड़ाबाट त्रिवेणी पुरस्कार सन् 2016 मा सिलगढ़ीबाट ‘सकुरा सम्मान’-ले अलङ्कृत भएका थिए। उनी के.के.बिड़ला फाउन्डेसन, दिल्लीसित पनि आबद्ध रहेका छन्।
सन् 1989 मा लोवर बोङ बस्ती, कालेबुङ निवासी स्व. पदमप्रसाद दाहाल र श्रीमती विष्णुमाया दाहालकी सुपुत्री प्रेमलता दाहालसित उनको वैवाहिक जीवनको शुरूआत भएर कालेबुङकै स्थायी निवासी भइ बस्दै आएका काफ्लेका एक मात्र छोरा विवेचन काफ्ले पनि शिक्षण पेशासित संलग्न छन् भने बुहारी प्रतिभा गिरी काफ्ले कालेबुङ जिल्ला न्यायालयमा अधिवक्ताका रुपमा कार्यरत रहेकी छन् र एउटी नातिनिसहित सुखी पारिवारिक जीवन व्यतित गरिरहेको पाउँछौं। उनको उत्तरोत्तर उन्नति हुँदै जावोस् र नेपाली साहित्यको ढिकुटीमा अझ उत्कृष्ट कृतिहरू दिन सकुन्, डुवर्सबाट हाम्रो यही शुभकामना छ।
बाग्राकोट (डुवर्स), भारत