कार्तिक १५,२०८०, तदनुसार ३१ अक्टुवर २०२३ डिस्ट्रिक अफ कोलम्बिया अथवा वासिङटन डि.सी.स्थित राष्ट्रपति भवन (ह्वाइट हाउस) लगायतका ऐतिहासिक स्थलहरुको भ्रमण–अवलोकन गर्ने योजना बनायौं । विहान ८ बजे बासस्थानबाट निस्क्यौं हामी । संयुक्त राज्य अमेरिकाको राजधानी रहेको यो ठाउँ त्यसै पनि महत्त्वपूर्ण हुने नै भयो । देशविदेशबाट अवलोकन भ्रमण गर्न आउने मानिसहरुको भीडभाड हेर्न लायकको देखिन्थ्यो ।
पहिले फिलाडेल्फिया राजधानी रहेकामा पछि मात्र डि.सी. स्थानान्तरण गरिएको रहेछ । सुरक्षाको संवेदनशीलताले हो वा अन्य कारणले हो, निजी गाडी पार्किङ गर्ने ठाउँ पाउन नै गाह्रो रहेछ । मिलिक मिलिक विजुली बत्ती बालिएका प्रहरीका भ्यानहरु अगाडि पछाडि दौडिरहेका देखिन्थे, कुनै घटना भएर पनि होइन । हाम्रो अनुमानमा केवल सुरक्षाको प्रत्याभूतिदिनकै लागि हो भन्ने बुझियो । उच्च महत्त्व राख्ने, उच्च पदस्थ व्यक्तिहरुको वासस्थान तथा कार्यालयीय भवन र विश्वकै ध्यानाकर्षण हुने हुँदा सचेतता अपनाउनु राज्यको दायित्वभित्र पर्ने नै कुरा भयो ।
लिङ्कन मेमोरियल
यहाँको हेर्न पर्ने महत्त्वपूर्ण स्थान मध्ये पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको सम्झनामा बनाइएको लिङकन मेमोरियल पनि रहेछ । संयुक्त राज्य अमेरिकाका १६औं राष्ट्रपति हुन लिङ्कन । उनी ई १८६१मा निर्वाचित ख्यातिप्राप्त राष्ट्रपति मानिन्छन् । संयुक्त राज्य अमेरिकाको इतिहासमा अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याएका लिङ्कनलाई अमेरिकाली जनताले उच्च सम्मान प्रकट गर्दछन् । त्यसैको स्मरण चिरस्थायी रहोस भन्ने उद्देश्यले लिङ्कन मेमोरियल भवन निर्माण गरिएको रहेछ । भवनभित्र कुर्सीमा पूर्णकदको भब्य शालिक आदरपूर्वक राखिएको छ । जुन, शताब्दियौं वर्षसम्म स्मरणीय रहिरहने छ, भन्ने विश्वास गरिएको छ ।
यो भवन उच्च स्थानमा निर्माण गरिएको छ । त्यस भवनसम्म पुग्न, भवन अगाडि रहेको प्रतिबिम्बित (रिफ्ल्क्टेिङ पुल) पोखरीदेखि ६७ खुट्किला माथि चढ्नु पर्दछ । यी सिंढीहरु फराकिला रहेका छन् । एकै पटक धेरै मानिसहरु हिड्दा पनि सहज नै हुने किसिमको छ । अमेरिकाको इतिहासमा यस भवनले ठूलै महत्त्व राखेको छ,भनिएको छ । लिङ्कनका बारेमा लेखिएका कुरा त पढिएको थियो तर यसरी राज्यस्तरबाट यस किसिमको सम्मान गरिएको पहिलो पटक देख्न पाइयो ।
मैले गीतालाई सोधेको थिएँ, कतिवटा खुट्किला चढ्यौ ? ‘ला ! मैले त गन्दै गनिन त । चढ्दा चढ्दा पिंडुला नै दुःखेका थिए, कता गन्नु ?’ जवाफ आएको थियो । कुरो त ठिकै हो, शालिक हेर्न पो गएको हो त ! सिंढी गन्न त होइन नि । यात्राको उपलब्धी नै मान्यौं हामीले ।
यो मेमोरियल भवनको लम्बाई १९० फिट र चौडाइ ११८ फिट रहेको छ । भूइँदेखिको उचाइ ९९ फिट भनिएको छ । शालिकको मात्र तौल १७५ टन रहेको बताइएको छ । यसका कलाकार डेनियल चेस्टर फ्रेञ्च रहेका छन् ।
यस भवनमा जर्जियन मार्बल (मर्फी मार्बल) प्रयोग गरिएको उल्लेख छ । लिङ्कनको शालिकको मात्र उचाइ भूइँको सतहबाट १९ फुट रहेको भनिएको छ तर यो उचाइ केवल शालिकको मात्र होइन । यसको आयात ५८० से.मि. रहेको छ । यस भवनले युनियनको प्रतिनिधित्व गर्दछ । यस भवनको बाहिरी पर्खालका ३६ स्तम्भ(खम्बा) हरु छन्,जसलाई लिङ्कन राष्ट्रपति भइरहेको समयमा उनको हत्या हुँदा अमेरिकाका ३६ वटा राज्य थिए भन्ने बुझाइएको छ ।
यसको निर्माण १९१४देखि सुरु गरिएको रहेछ । १९२२मा भवनको निर्माण पूरा हुँदाका समयमा जम्मा ४८ राज्य पुगेका थिए रे । भवनको बाहिरपट्टि कुँदिएका राम्रा स्तम्भहरु छन् । कुर्सीमा राखेको शालिकको अनुहार (रिफ्लेक्टिङ पुल) प्रतिबिम्बित पोखरी र वासिङ्टन मोनोमेन्टतर्फ फर्काएर राखिएको छ । शालिकको ठिक पछाडि गोटिसवर्ग सम्बोधन गर्दाका मन्तब्य दिएका शब्दहरु कुँदिएका देख्न पाइन्छ । दश वाक्यमा जम्मा २७२ शब्दको प्रयोग गरिएको भनिएको छ । भवनको केन्द्र्रीय भागमा लिङ्कनको शालिक रहेको अनि सम्झनाका लागि उत्तर र दक्षिण कोठाहरुमा लिङ्कनका थप दुईवटा महत्त्वपूर्ण मन्तब्यहरु पनि राखिएका छन् । लिङ्कनले आफ्नो जीनकालभरि स्वतन्त्रता र समानतालाई उच्च महत्त्व दिएको उल्लेख पाइन्छ ।
लिङ्कन मेमोरियल भवनको डिजायन, न्यूयोर्क निवासी हेनरी वेकनले गरेका रहेछन् । यो मेमोरियल भवन नवशास्त्रीयतावादी शैलीमा निर्मित छ । यो भवन राष्ट्रपति भवन (ह्वाइट हाउस) देखि दक्षिणतर्फ, नेशनल मल र वासिङ्टन स्तम्भदेखि सोझै पश्चिमतर्फ र पोटोम्याक्स नदीको किनारमा रहेको छ । यसलाई युनियनको स्वतन्त्रतालाई चिरस्थायी बनाउने उद्देश्य राखिएको, भनिएको छ । एकान्त ठाउँमा शान्त मुद्रामा यद्यापि सिभिल वार उनको हत्यापछि मात्र टुङ्ग्याइएको भनिएको छ ।
यसको निर्माणका लागि १९११मा विधेयक पास गरिएको रहेछ । १९१७ मा निर्माण सम्पन्न गर्ने उद्देश्य राखिएको रहेछ तर प्रथम विश्वयुद्धका कारणले निर्माण रोकिएपछि १९२२ मा मात्र कार्य सम्पन्न भएको तथ्यले स्पष्ट पार्दछ । एक ठाउँमा लिङ्कनको मन्तब्यमा Future भनिएको भए पनि अक्षर कुँदिदा गल्तीले Euture भएको उल्लेख छ । स्मारकको छत तथा अन्य स्थानहरुमा प्रयोग गरिएका मार्बल र ग्रेनाइट म्यासाचुसेट्स, टेनेसी र कोलोराडोबाट ल्याइएको रहेछ । अनि स्तम्भमा लगाइएका मार्बल टेनेसीबाट ल्याइएको रहेछ । यो मेमोरियल अवलोकन गर्न देश विदेशबाट आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनेको देखिन्छ । मेमोरियल भवन अगाडिको प्रतिबिम्बित पोखरी (Reflectin Pool )ले पनि यसको महत्त्व बढाएको अनुभूत हुन्छ । किनभनें यसमा मेमोरियल भवनको छाँया प्रस्ट देख्न सकिन्छ ।
लिङ्कनका हत्यारा विल्केस बुथ नाम गरेको व्यक्ति रहेछ । उसले १५ अप्रिल १८६५ मा विहान ७. बजेर २२ मिनेटको समयमा, फोर्ड थिएटरको स्ट्रिटमा बाटो काट्दै गर्दा ६फिट ४ इञ्च अग्ला लिङ्कनलाई गोली हानी हत्या गरेको रहेछ । गोली लागेको ९ घण्टा पछि पिटर्सन हाउसमा लिङ्कनको मृत्यु भएको, भनिएको छ । लिङ्कनको शव स्प्रिङफिल्ड इलिनोइसमा दहन गरिएको उल्लेख छ । लिङ्कनको शव दाह गरेको ठाउँ (चिहान)मा उनकी पत्नी मेरी टोडको १८८२मा र पछि छोराहरु एडवर्ड, विलियम र थोमसको शव दाह गरिएको बताइएको छ ।
प्रतिबिम्बित पोखरीको हेर्न लायकको बिम्ब
यो पोखरी १९२० मा निर्माण गरिएको भनिएको छ । यो प्रतिबिम्बित पोखरी लिङ्कन मेमोरियलको ठिक पूर्वपट्टि, दोस्रो विश्वयुद्ध मेमोरियल (वार मेमोरियल), वासिङटन मल र वासिङटन मोनोमेन्टदेखि पश्चिमपट्टि छ । यसमा लिङ्कन मेमोरियल र वासिङटन मोनोमेन्टको छाया देखिन्छ । यसको निर्माण सुन्दरता र पर्यटकीय उद्देश्यले गरिएको मानिन्छ । यो पोखरीको लम्बाई २,०२९फुट(६१८ मिटर), चौडाई १६७ फिट (५१ मिटर) रहेको भनिएको छ । यसको परिधि ४,३९२ फिट (१,३३९मिटर) रहेछ । सबैको आकर्षणको केन्द्र रहेको यस पोखरीमा ६,७५०,००० ग्यालन पानी अटाउने क्षमता रहेको भनिन्छ । पोखरीको गहिराइ किनार किनारमा १८ इन्च (४६ से.मि) र केन्द्रमा ३० इन्च (७६ से.मि) रहेको मानिन्छ । यस पोखरीमा पौडी खेल्न पाइदैन । यसको मूल उद्देश्य लिङ्कन मेमोरियल र वासिङ्टन मोनोमेन्टको प्रतिबिम्ब देखाउने अनि पर्यटकहरुलाई मनोरञ्जन दिने रहेको प्रस्ट हुन्छ । पौडी खेलेपछि पानीको तरङ्गले गर्दा लिङ्कन मेमोरियल र वासिङ्टन मोनोमेन्टको प्रतिबिम्ब प्रस्ट देखिदैन । त्यस करणले गर्दा पर्यटकहरुलाई पनि रमाइलो गर्ने क्रममा असर पार्दछ भन्ने रहेछ ।
यो पोखरीलाई प्रतिष्ठाका रुपमा पनि हेरिदो रहेछ । जाडोको समयमा पोखरीको पानी पूरै जम्ने रहेछ । हामीले हेर्दा पानीको रङ नीलो देखिएको छ । यहाँको पानी वर्षेनी सफा गरिने रहेछ । वर्षमा एक दिन ड्रेनेजबाट पानी बाहिर पठाएर किटाणु रहित बनाइँदो रहेछ । लिङ्कन मेमोरियल भवनको काखमा रहेकोजस्तो देखिने यो पोखरी साँच्ची नै हेर्न लायकको देखिन्छ । यसको डिजाइन हेनरी वेकनले गरेका रहेछन् ।
मेमोरियल भवनभित्र कुर्सीमा बसेर पोखरीतर्फ हेर्दै आफ्नो अनुहार र आफ्ना नाममा बनाइएको मेमोरियल भवन देखिन्छ कि देखिदैन भनेर हेर्न भ्याएनन् लिङ्कनले । यदि हेर्न पाएका भए कति खुसी हुँदा हुन, मेरो राष्ट्र(घर) सुन्दर बनाउने चाहना प्रतिबिम्बित भयो कि भएन भनेर ।
पोखरीको दक्षिणी किनारमा उभिएर हेर्दै गर्दा वासिङ्गटन मोनोमेन्टले पनि आफ्नो उचाइ नाप्दै गरेको हुनु पर्दछ र हेर्दै मेरो उचाइ वासिङ्टनको (प्रथम राष्ट्रपति) जतिकै भयो कि भएन भनेर हेरिरहेको त होइन ? भन्ने प्रश्न उठ्न थाले मेरो मनमा । उता मेरी बूढी कराउन थालिन्, ए ! बूढा के टोलाइ रहेका हौ, यो पोखरीको पानी देखेर ? यो भन्दा त धेरै पानी भएको रारा ताल देखेकै छ नि, जसले नेपाल र नेपालीको गौरवको प्रतीकको काम गरेको छ । त्यस्तै फेवा, बेगनास लगायतका अनेकौं ताल त हेरिसकिएकै छ । अनि किन एकै ठाउँमा समय बिताउने ? पानीकै हिसाबले हो भनें सप्तकोशी छैन र ? अनि हाम्रा बेगले बग्ने नदी नाला धेरैछन् त ! यो त केवल जमेको पानी न हो । बगेको पानीमा पो उर्जा हुन्छ त । मैले पोखरीको पानीलाई कसरी हेरें बूढीलाई कसरी अर्थ्याउँ ? जे होस् म झस्किएँ र लागें वार मेमोरियलतिर ।
प्राकृतिक रुपमा निर्मित हाम्रा कैयौं कुण्ड, पोखरी, दह, तालहरु रहेका छन् तर पनि यसको फरक विशेषता भनेको लिङ्कन मेमोरियल र वासिङ्टन मोनोमेन्टको प्रतिछाया राम्ररी देखिनु हो । पानीभित्र प्रतिबिम्बित छायालाई पूर्णरुपले देख्न सकिने भएकाले जो कोही पर्यटकहरु आकर्षित भएका देखिन्छन् ।
पोखरीको दुबै किनारमा पैदल यात्रीहरुका लागि बाटो बनाइएको छ । दुबैतिर बाक्ला रुखहरु रोपिएका र झ्याम्म परेका देखिने हुनाले पर्यटकहरु खुसी हुँदै विभिन्न कोणबाट फोटा र भिडियो बनाइरहेका देखिन्छन् । यहाँको भीडभाडले यसको महत्त्व फरक रहेको पुष्टि हुन्छ ।
वार मेमोरियलको चिरस्मरणीय पक्ष
डि.सी.क्षेत्र घुम्ने, हेर्ने र आकर्षित गर्ने ठाउँहरु धेरै छन् तर समय सीमाले हामीलाई बाँधेको छ । प्रतिबिम्बित पोखरीसङ्गै अर्को महत्त्वपूर्ण नवनिर्मित फोहोरा सहितको मेमोरियल देख्न पाइन्छ । दोस्रो विश्वयुद्धको सन्दर्भलार्ई दीर्घकालीन स्मरणका रुपमा राखिने उद्देश्यले निर्माण गरिएको मेमोरियल रहेछ । जसलाई सेकेन्ड वर्ल्डवार मेमोरियल भनिएको छ । पहिलो विश्वयुद्ध मेमोरियल थियो वा थिएन हाम्रो ध्यान त्यतातिर गएन । यो मेमोरियलमा उत्तर र दक्षिणबाट पानीका ठूलाठूला फोहोराहरु छाडिएका छन् । गोलाकारमा रहेका अन्य ससाना फोहाराले पनि त्यतिकै सुन्दर बनाएको देखिन्छ । यहाँ जम्मा भएको पानी नीलो रङको देखिन्छ । त्यसको वरपर भियतनाम मेमोरियल, जर्मन अमेरिकन मित्रता गार्डेन, नेशनल मल, मार्टिन लुथर किङ मेमोरियल, थोमस जेफर्सन मेमोरियल, ज्वार वेसिन लगायतका दर्शनीय स्थानहरु भएपनि सबैको अवलोकन गर्ने अवसर मिल्न सकेन । प्रतिबिम्बित पोखरी नजिकै रहेकाले दोस्रो विश्वयुद्ध मेमोरियल, वासिङ्टन मोनोमेन्टतिर जाने बाटैमा पर्ने हुँदा हेर्न छुटाउन हुदैन भन्ने लाग्यो । यो मेमोरियल निशुल्क हेर्ने व्यवस्था रहेछ । यो चौबिसै घण्टा खुला रहन्छ, भनिएको छ ।
द्वितीय विश्वयुद्ध मेमोरियल भनेर ठूला अक्षरमा लेखिएको भवन टाढैबाट देखिन्छ । भ्रमणका क्रममा ज्वाइँ र छोरीलाई एटलान्टिक र प्यासिफिक लेखेको मण्डप देखेपछि त्यसको अर्थ सोधेको थिएँ । प्यासिफिक र एटलान्टिक क्षेत्रभित्र पर्ने राज्यबाट उच्च योगदान पुर्याउने व्यक्तिहरुले जीवन बलिदान गरेको भन्ने अर्थमा उल्लेख भएको उत्तर पाएँ । गोलाकार पोखरीका छेउमा उत्तर र दक्षिणतिर एकएकवटा मण्डप आकारका स्तम्भ देख्न सकिन्छ । माथि उल्लेख गरिएका फोहोराबाट निस्किएको पानीमा क्रस इन्द्रेणी परेको देखिन्छ । ती दृश्यहरुले सबैको मन नै लोभ्याउँछन् ।
पश्चिमी प्रवेशद्वारबाट प्रवेश गरेपछि रमिता हेर्दै पूर्व फर्किएर बाहिर निस्कने सिंढीछन् । यसको सम्पूर्ण रेखदेख, स्याहार, सम्भार गर्ने दायित्व सरकारले नेशनल पार्क सर्भिसलाई सुम्पिएको रहेछ । त्यसको किनारतिर गोलाकार आकारमा चरेस धातुमा अक्षर कुँदिएको र महिलाले दायाँ–बायाँ हातमा हतियारजस्तो वस्तु बोकेको देखिन्छ । प्रत्येक स्तम्भमा वृत्ताकारको चित्र अङ्कित छ । प्यासिफिक र एटलान्टिक भनेर लेखिएका मण्डपमा कहीं लुइजियाना, कहीं भर्जिनिया, कही. नेब्रास्का लेखिएको स्पस्ट देखिन्छ । फराकिलो र सुन्दर त्यस ठाउँमा मानिसहरु भरपुर रुपमा मनोरञ्जन लिइरहेका देखिन्छन् । बाहिर पट्टि हरिया रुखहरु र हरियो चौर पनि देख्न पाइन्छ । वर्ल्डवार द्वितीय मेमोरियल लेखिएको अग्लो फराकिलो पर्खालका बिचमा चिलजस्तो देखिने पंक्षीको आकृति पनि सुन्दर देखिन्छ ।
वास्तवमा यो मेमोरियल ढुङ्गाले बनेको फराकिलो प्लाजा हो । यसका डिजाइनर अस्ट्रियन अमेरिकन–फ्रेडरिक फ्लोरेन रहेहन् । यो पोखरीलाई गोलाकार रुपमा बनाइएको छ । यहाँ युद्ध ताकाका संयुक्त राज्य अमेरिकाका ४८ वटा राज्य, डिस्ट्रिक अफ कोलम्विया र सातवटा टेरिटोरी (पोर्टोरिको, युएस भर्जिन आइजल्याण्ड, अमेरिकन समोवा, गुआम, अमेरिकन फिलिफिन्स आदि ) को उल्लेख गरिएको छ ।
विश्वयुद्धको सम्झनास्वरुप राष्ट्रका लागि जीवन समर्पण गर्ने व्यक्तिहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले निर्माण गरेको मेमोरियलको अवलोकन गर्न वर्षभरिमा लाखौं पर्यटकहरु आउने गर्दा रहेछन् । राष्ट्रका लागि समर्पित सैनिक र सिभिल सर्भिसहरुले पुर्याएको योगदानको उच्च सम्मान गरिएको उत्कृष्ट उदाहरण मानिन्छ । यो वार मेमोरियलले संयुक्त राज्य अमेरिकाको एकताको सन्देश दिएको छ ।
सात एकड जमीन मध्ये दुई तिहाई भूमि पोखरी, बोट विरुवा र झ्याम्म परेका रुखहरुले ढाकिएको रहेछ । पश्चिमी प्रवेशद्वारबाट प्रवेश गरेपछि वार मेमोरियलको महत्त्व दर्शाइएको देखिन्छ । प्रत्येक राज्यको प्रतिनिधित्व हुनेगरी ठडिएका खम्बामा फूलको गोलाकार मालाको प्रतीक बनाएर सजाइएको छ ।
वार मेमोरियलको पश्चिमतर्फको स्वतन्त्रता पर्खाल (फ्रिडम वाल) मा ४०४८ गोल्डस्टार अङ्कित चिह्नहरु राखिएका छन् । ती प्रत्येक एउटा गोल्डस्टारले १०० जना अमेरिकन सैनिकहरुको प्रतिनिधित्व गर्दछन्, भनिएको छ । ती सुनौला तारा अङ्कित चिह्नहरु हेर्दा साह्रै सुन्दर देखिन्छन् । पर्खालका बाहिरी भित्ताहरुमा युद्धमा शाहदात प्राप्त गर्ने केही बहादुर सैनिकहरुका कुँदिएका तस्वीरहरुले साङ्केतिक अर्थ दिइरहेको अनुभूत गर्न सकिन्छ । गोलो आकारको चरेस धातुमा निर्मित विश्वयुद्ध विजेता मेडलमा ‘वर्ल्डवार द्वितीय’ लेखिएको देख्न सकिन्छ । वर्ल्डवार द्वितीय मेमोरियलको स्तम्भमा चिलको चित्र अङ्कित चिह्न छ, यसको साङ्केतिक अर्थ बुझ्न भनें सकिएन । सोध्ने मान्छे पनि कोही भेटिएनन् । त्यहाँ पाले पहरा दिने व्यक्ति कोही देखिदैनन् । नयाँ ठाउँ, नयाँ मान्छे अलमलमै परियो । यसलाई आफ्नै ढङ्गले बुझ्दा जति पनि शालिक, भवन, स्तम्भ, मण्डप र अन्य सम्बन्धित कुराहरु छन् ती सबैको एउटै उद्देश्य युद्धमा जीवन उत्सर्ग गर्ने बहादुर राष्ट्रप्रेमीहरुको कदर गर्दै युद्धको विजयोत्सव मनाउने सन्दर्भ नै मान्नु पर्ने हुन्छ ।
वार मेमोरियलको वरिपरिको सुन्दर निर्माण शैली हेर्दा फ्रान्सको पेरिसको जस्तो वृतांश(आर्क),बेल्जियमको नमूनाजस्तो मेमोरियलको मुख्यद्वार, आयरल्याण्डको नमूनाको वगैंचा, सिकागोको जस्तो मेमोरियल आदि नमूनायुक्त संरचनाले समग्र वार मेमोरियलको सौन्दर्य अनुकरणीय बनाएको देखिन्छ । चारलाखभन्दा बढी सैनिकले जीवन बलिदान गरेका रहेछन भनें हराएको सङ्ख्या पनि सैंतिस हजारभन्दा माथि नै रहेको उल्लेख पाइन्छ ।
वार मेमोरियलको अवलोकन गर्दा प्रचुर मात्रामा मनोरञ्जन भइरहेको छ । यहाँको दृश्यले लोभ्याइ रहेकै त छ तर नेपालका सन्दर्भमा कुरा गर्दा, दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनाकातर्फबाट युद्ध लड्न भर्ती भएका नेपाली युवाहरु कतिले शाहदात प्राप्त गरे त्यसको कुनै लेखाजोखा नै छैन । यो सम्झदा भनें मन नै खिन्न भएर आउँछ । मेरो भनाइ, विश्वयुद्धमा वीरगति प्राप्त गर्ने नेपालीहरुको त्यही स्थानमा नै स्मारक बनाउनु पर्छ भन्ने होइन तर नेपाल सरकार (राणा सरकार) ले कम्तीमा तथ्याङ्कसमेत नराख्नु दुःख लाग्दो कुरा भएको छ । हाम्रा नेपालीहरुले अर्काका लागि बर्मा, मलाया, पाकिस्तान लगायतका युरोपेली युद्ध मैदानमा बलिदानी गरेका थिए । यति धेरै नेपालीहरुको खुटखवर पनि घर परिवारले नपाउनु साह्रै दुःख लाग्दो र मार्मिक पक्ष हो । द्वितीय विश्वयुद्धमा युद्ध लडेका, मैदानमा आफ्नै साथीहरुले वीरगति प्राप्त गरेको आफ्नै आँखाले देखेको र आफू संयोगले बाँचेर आएको बताउने धनकुटा खुवाफोक मादेनका आदरणीय लिङ्खा बुबाले कुरै कुरामा बत्तिस सालमा मलाई युद्धको घटनाको वर्णनका क्रममा उल्लेख गर्नु भएका कुराले पनि पुष्टि गर्दछ । अङ्ग्रेज भक्त तात्कालीन राणा सरकारले बेलायती सरकारसङ्ग नेपाली योद्धाहरुको सत्य तथ्य विवरण र वीरगति प्राप्त गर्नेहरुका परिवारलाई सहानुभूति र सान्त्वना स्वरुप क्षतिपूर्तिको मागसमेत गर्न नसक्नु निरीहता र दासत्बको पराकाष्ठा नै मान्नु पर्दछ ।
अग्लो वासिङ्टन मोनोमेन्ट
संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको स्मरण चिरस्थायी रहोस भनेर सम्मानका लागि बनाइएकाले यसको नाम वासिङ्टन मोनोमेन्ट राखिएको रहेछ । यो वार मेमोरियलको पूर्वी क्षेत्रमा अवस्थित छ । यसको उचाइ ५५५ फिट ५.१२५इञ्च (१६९मिटर) रहेको उल्लेख गरिएको छ । यसबाट पूर्वतर्फ फर्किएर उदाउँदै गर्दाको सूर्यको प्रशंसा गरेको सन्दर्भको अभिव्यक्ति पाइँदो रहेछ । यसले खास अर्थ दिएको रहेछ ।
फ्रान्सको पेरिसमा बनेको आइफेल टावरको उचाइ ३२४ मि.र दुबईको बुर्ज खलिफाको ८२८मि.रहेको छ । सबैभन्दा पुरानोमा आइफेल, त्यसपछि वासिङ्टन मोनोमेन्ट र पछिल्लो पटकको बुर्ज खलिफा मानिन्छ तर हालसम्मको सबैभन्दा अग्लो टावर बुर्ज खलिफा नै रहेको छ ।
वासिङ्टन मोनोमेन्टको निर्माणमा मेरिल्याण्ड मार्बल र ग्रेनाइट प्रयोग गरिएको छ । यसका लागि ९१०००टन मार्बल, ग्रेनाइट र रातो बलौटे ढुङ्गा उपयोगमा ल्याइएको भनिएको छ । भुइँदेखि टुप्पासम्म ८९६ खुट्किला चढ्नु पर्ने रहेछ । यहाँबाट लिङ्कन मेमोरियल भवन, प्रतिबिम्बित पोखरी, वार मेमोरियल, ह्वाइट हाउस, जेफर्सन मेमोरियल, क्यापिटल भवनलगायतका दृश्य देख्न सकिन्छ । यसको निर्माणको प्रारम्भ १८४८मा गरिएको रहेछ । अगाडि बढाउन आर्थिक अभाव हुनुका साथै अमेरिकन सिभिल वारका कारणले बन्द भएछ । १८५४मा १५६फिट उचाइमा पुगेको बेलामा स्थगित भएको मोनोमेन्ट, सिभिल वार रोकिएपछि १८८४मा पुनः निर्माण सुरु गरिएछ । मर्मत पूरा भएपछि २१फ्रेबुअरी,१८८५देखि पुनःखुला गरिएको तथ्यले बताउँछ ।
यो खुला चौरमा निर्मित छ । मानिसहरु मोमोमेन्टको वरिपरि बसेर, उभिएर विभिन्न कोणबाट फोटो खिचिरहेका र कतिपयले त टिकटक बनाउनसमेत भ्याएको देखिन्छ । हामी पनि रमायौं । एक त एउटा इतिहास बोकेको स्मारक भएकाले र पटक पटक भ्रमण गर्न नसकिने भएकाले पनि केही समय बढी खर्च गर्यौं । मानिसहरुको भीडभाड यहाँ पनि उत्तिकै देखिन्छ ।
अब अलिकति फरक कुरा, मौसम चिसो चिसोनै थियो । गाडी पार्किङ गर्ने ठाउँको अभावमा केही समय गुज्रियो हाम्रो । हामी विहानको आठ बजे डि.सी क्षेत्र प्रवेश गरेका थियौं । पार्किङ स्थलबाट पाँच मिनेट हिंडेपछि प्रतिबिम्बित पोखरी पुग्यौं । त्यहाँदेखि पनि केही दक्षिणमा ट्वाइलेट पाएका थियौं । त्यो पाउन पनि निकै कठिनाइ परेको थियो । लिङ्कन मेमोरियल अवलोकनपछि पुनः ट्वाइलेट जाँदा त्यो पनि बन्द भइसकेकाले हामीलाई निकै गाह्रो बनाएको थियो । जाँदाको मात्र समय ५मिनेट लाग्ने । जसोतसो पुग्यो बन्द भैसक्ने । धेरै दुःख भयो । अन्त त्यस्तो सुविधा कतै देखिएन । यस्तो कुरा भन्न त नहुने तर पाएको हैरानी त बताउनै पर्यो इमान्दार भएर ।
डि.सीदेखि १३५कि.मि.टाढा रहेको उत्तरी भर्जियिालाई केन्द्र विन्दु बनाएर ११अगस्ट २०११को ५.८ गतिमान म्याग्नेच्युडको भूकम्पको धक्काबाट पुरानो संरचना क्षतिग्रस्त भएको रहेछ । तत्पश्चात् क्षति भएको भागको मर्मत गरिएपछि यात्रीहरुका लागि खुला गरिएको रहेछ ।
यो मोनोमेन्टलाई हेर्दा कतै अडेसो लागेजस्तो देखिन्छ । सियोको टुप्पाको आकारको चुच्चो र त्यही चुच्चो पिरामिडको आकारमा निर्मित देखिन्छ । जग हालेको ठाउँदेखि चुचुरोसम्मको भागलाई हेर्दा परालको कुन्यु(मचान)बनाएको आकारमा टुङ्याइएको छ । सबैभन्दा माथिको टुप्पोमा आल्यूमिनियम धातुको प्रयोग गरी गजुर बनाइएको छ । भूकम्पपछि यात्रीहरुका लागि एलिभेटर(लिफ्ट) प्रयोग गरिदो रहेछ । बाह्र मिनेटमा टुप्पोमा पुग्न सकिन्छ, भनिएको छ । तर त्यसका लागि अग्रिम बुकिङ गर्नु पर्ने रहेछ । हामीले समय मिलाउन नसकेका कारणले टिकट अग्रिम बुकिङ गर्न सकेनौं, त्यसैले टुप्पामा पुग्ने अवसर पाएनौं । मोनोमेन्टको वरिपरि चौर छ । बस्न र आराम गर्न सहज छ । यसले १०६.०१ एकड जमीन ओगटेको रहेछ । यो मोनोमेन्टलाई टाढाबाट हेर्दा एकैनासको ढुङ्गाले बनेकोजस्तो देखिन्छ । तर पनि नजिकबाट मसिनो गरी निध्याएर हेर्यौं भनें आधा भाग सेतो टल्कने मार्बलबाट बनाइएको देखिन्छ । अनि आधादेखि माथिल्लो भागमा रातो बलौटे ढुङ्गा प्रयोग गरिएको छ । टुप्पोमा अल्यूमिनियमको प्रयोग गरिएकाले सेतो देखिन्छ ।
हामी हतार मैं थियौं तापनि मैले गीतालाई सोधें, तिमीलाई यी ठाउँको हेराइपछि कस्तो लाग्यो ? ‘यस क्षेत्रमा हामीले अवलोकन गरेका लिङ्कन मेमोरियल, वार मेमोरियल र वासिङ्टन मोनोमेन्टले क्रमशःस्वतन्त्रता, समानता, एकतामा महनीय कार्य गर्ने महान् व्यक्तित्वको उच्च सम्मान गर्दै त्यसलाई चिरस्थायी बनाउने उद्देश्य राखिएको रहेछ । त्यस्तै राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतालाई अक्षुण्ण राख्न राष्ट्रका लागि महासमरमा होमिएर जीवन बलिदान गर्ने योद्धाहरु र सिभिल सर्भिसहरुको योगदानको कदर गरिएको काम राम्रो मान्नु पर्दछ ।’
त्यस्तैें संयुक्त राज्य अमेरिकाको प्रथम राष्ट्रपतिको उच्च आदर र सम्मान गर्दै वासिङ्टन मोनोमेन्टको निर्माण गरिएको बाट के प्रस्ट हुन्छ भनें आफ्नो राष्ट्रप्रति बफादार रहने राष्ट्रप्रमुख र राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने बहादुरहरुको योगदानलाई मुलुकले युगयुगसम्म सम्झिरहने छ, भन्ने सन्देश दिएको पाइयो । तर हाम्रो राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता अक्षुण्ण राख्न अङ्ग्रेजका विरुद्धमा कुमाउँ, गढवाल, नालापानी लगायत विभिन्न मोर्चा र गढीहरुमा लड्दा जीवन बलिदान गर्ने महान् योद्धाहरु अमरिंसह थापा, भक्ति थापा, बलभद्र कुँवर लगायतका वीर वीरङ्गनाहरुको उल्लेखनीय कार्यको चिरस्मरणका लागि कुनै शालिक, स्तम्भ कहीं कतै बनाइएको नदेख्दा मन हुँडलिएर आउँछ । राणाहरुले टुडिखेलको चार कुनामा बडेबडेमानका घोडाचढेका शालिक बनाउँदा इतिहासलाई बिर्सिएको टड्कारो उदाहरण छ । हामी त यस्ता भइसक्यौं कि राष्ट्रिय विभूति तथा सम्मान गर्नु पर्ने महान् साहित्यकारका नाममा श्रद्धाले जनस्तरबाट बनाइएका शालिकहरु पनि ध्वस्त बनाउँदै हिड्छौं । राणाशासनको निरङ्कुशताका विरुद्धमा लडेर प्रजातन्त्र स्थापना गर्ने उद्देश्य राख्ने टङ्कप्रसाद आचार्यको कोटेश्वर चौकमा रहेको शालिक हटाएर जडिबुटी नजिक पुर्याएर सडकको किनारमा राख्नका लागि राखिएको छ । कहाँ छ सम्मान ? देश र नागरिकहरुका लागि समर्पित हुनेहरुको ? त्यही पनि वरिपरिका बोटविरुवा र सडकको धुलोले पुरिएको अवस्थामा देखिन्छ । चिन्नेहरुले त चिन्लान तर उपत्यका बाहिरबाट काठमाडौँ घुमघाम गर्न आउनेहरुले त यो शालिक कसको हो ? भनेर चिन्दापनि चिन्दैनन् । पहिचान गराउने गरीको बोर्ड राख्ने, समय समयमा सफा गराउने काममा कम्तीमा स्थानीय सरकारको ध्यान जानु पर्ने होला नि ? यस्ता उदाहरणहरु कति छन् कति मुलुकभरि, के कुरा गर्नु कुरा गर्यो कुरैको दुःख भनेजस्तै ।
संसद भवन
डि.सी क्षेत्रमा रमाइला रमाइला घुम्ने र हेर्ने ठाउँ त धेरै रहेछन् तर हाम्रो समय सारिणी ज्यादै खचाखच भएका कारणले धित मरुञ्जेल घुम्न पाएनौं । छोटो समय भए पनि संसद भवन हेर्नै पर्ने भनेर दौडियौं त्यतातिर । ढुङ्गा ओछ्याइएको सफा ठाउँ हेर्न लायकको रहेछ । भित्र संसद चलिरहेको छ, बाहिर चकमन्न छ । मान्छे आउने जाने गरिरहेका देखिन्छन् । सिंढी चढेर निकै माथि नै पुग्नु पर्ने रहेछ । टाढा टाढाबाट आएका बूढाबूढीहरु पनि सकिनसकी सिंढी चढिरहेका थिए । त्यहाँको स्मरणका लागि भए पनि एक दुई फोटा लियौं हामीले पनि । समय धेरै थिएन हाम्रो ।
अझै हाम्रो गन्तब्य ह्वाइट हाउस बाँकी नै थियो । खाना खाएपछि बेलुकातिर हेरौं भन्ने सल्लाह गर्यौं । तर अर्को टड्कारो समस्या भनेको गाडी पार्किङको । कहीं ३० मिनेट, कहीं ४५ मिनेट, कुनै ठाउँमा १ घण्टा तर त्यहाँ पुग्दा नपुग्दा अर्कोले राखिसकेको हुने । अघिपछि प्रहरीका भ्यानले पछ्याइरहने । एक पटक डि.सी.को परिक्रमा लगायौं । ज्वाइँ र छोरीले पहिले घुमिसकेकाले नयाँ कुरा भएन तर बाँकी हामी तिनजनाका लागि वरिपरि घुम्ने अवसर पायौं नै भन्नु पर्यो । पेटमा मुसा दौडन लागेको केही समय बितिसकेको थियो । होटलमा हामी एक्लै जान सक्ने स्थिति पनि थिएन ।
एउटा सोच बनाउनु भयो, ज्वाइँले । पालो गरौं भन्ने भयो । हामीलाई होटल पुर्याउने, हामी खाना खाँदै गर्ने अनि पार्किङ भेटिए पछि आउने भन्ने सल्लाह गरियो । छोरी र ज्वाँइले हामीलाई होटल छाड्नु भयो । हामी गयौं । एउटा फोन हामीले बोक्यौं । पहिलेदेखि छोरी र ज्वाँइले नेपाली खाना खाने होटल रहेछ । त्यसका प्रोप्राइटर नुवाकोटका वीरबहादुर तामाङको ‘हिमालय हेरिटेज रेष्टुरेन्ट’ विगत चौबिस वर्षदेखि चलाउन थालेको रहेछ । मैले, पार्किङको समस्याले छोरी ज्वाइँ गाडी घुमाउँदै हुनुहुन्छ भनें । उनले, म व्यवस्था गर्छु भनेपछि मैले छोरीको फोन दिएँ । उनले होटल अगाडि बोलाए । उनैले होटल नजिकै गाडी पार्किङको व्यवस्था मिलाए ।
वीरबहादुरले ताजा खाना बनाउन लगाएर खुवाए । सबैले सँगै बसेर खाना खायौं । खुलेरै गफिए । फरासिला रहेछन् । उनले आफ्नो बौद्ध धार्मिक परम्पराअनुसार आराधना गरे । नेपालीले नेपालीलाई विदेशमा भेटेपछिको हार्दिक व्यवहार गरे । अपनत्व देखाए । कहिलेदेखि आउनु भयो यहाँ ? मैले प्रश्न गरें । चौबिस वर्ष ठ्क्याकै पूरा भयो, जवाफ आयो उनीबाट । सबै नेपालीपन रहेछ नि त ? भन्दा, हो त्यसैले ग्राहक आउँछन नि, थपे खुसी भएर । धन्यवाद छ, मिठो खाना खुवाउनु भयो, नेपालकै जस्तो, भनेपछि दिल खोलेर हाँसे । त्यहाँबाट विदा भयौं हामी ।
यस बेला अर्को खुसी लागेको मलाई । त्यो के भनें नेपालीहरु संयुक्त राज्य अमेरिकाको राजधानीजस्तो महत्त्वपूर्ण ठाउँमा पनि दुई दशकभन्दा बढी समयदेखि जमेर अनि रमेर बसेको देख्दा । नेपालीहरु दुःख गरेर भएपनि पछि सुखमय जीवन बिताउन सक्छन् भन्ने राम्रो उदाहरण पेश गरेका छन्, उनले । एक घण्टाको बसाइमा उनले हाम्रो मन जितेका थिए । हामीले उनीलाई सफल व्यवसायी ठान्यौं । यो पनि नेपालीपनले तानेकाले हो भन्नु पर्छ ।
खाना खाएपछि ज्वाइँले हामीलाई ह्वाइटहाउस पुर्याउनु भयो । नजिक पार्किङ गर्ने ठाउँ पाइएन । उहाँ छुट्नु भयो । वहाँलाई त केही फरक परेन, किनभने पहिले पनि पटक पटक हेरिसकेको सक्नु भएको थियो तर हामीसङ्गै हुन सकेनौं, त्यो चाहिँ खल्लो लाग्दो भयो । हामी चारजना मात्र ह्वाइट हाउसतर्फ लाग्यौं । राष्ट्रपति भवन अगाडि उभिएर फोटा खिचेर अरुले राखेको देख्दा कसरी प्रवेश पाए होलान् भन्ने लाग्थ्यो पहिले । तर त्यहाँ पुगेपछि मात्र थाहा भयो भवनदेखि धेरै बाहिर नै फलामे बारा लगाइएको रहेछ । नजिकबाट खिच्दा त त्यही फलामका घेराबाराले छेक्ने रहेछ । भवनदेखि निकै टाढा पुगेर मात्र प्रस्ट देखिने रहेछ, भवन । हामीले त्यहीं उभिएर फोटा लियौं तर पनि चित्त बुझेको थिएन । मानिहरुको भीडभाड त्यहाँ पनि उत्तिकै थियो । सबैजना एकै ठाउँमा उभिएर टाढाको भवनसमेतको फोटो खिच्ने मानिसको खोजीमा थियौं । त्यही मौकामा एकजना सञ्जन नेपाली तयार भए । सुरुमा त उनी नेपाली होलान भन्ने ठानेका थिएनौं तर फोटो खिच्ने बेलामा ‘नजिक आउनु’ भनेपछि बल्ल स्पष्ट भयो । नेपालीहरु जहाँ भेटिए पनि सहयोगी नै हुन्छन् भन्ने यकिन भयो । खुसी लाग्यो । उनलाई धन्यवाद दिएर विदा भयौं ।
राष्ट्रपति भवनको उत्तरतर्फ कागजका बाकसका बाक्ला बाहिरी बोक्राको छाप्रो बनाएर एकजना व्यक्ति एउटा हाते माइकले इजरायल र हमासका बिचको युद्धको प्रसङ्ग कोट्याउँदै युद्ध रोक्नु पर्ने अभिव्यक्ति दिइरहेको देखियो । मैले ताना शर्माको ‘बेलायततिर बरालिंदा’ नियात्राभित्रको ‘वक्ताहरुको कुनो’लाई सम्झें । वक्ताको कुनाको वक्तालाई फुक्किफाल भएर बोल्ने स्वतन्त्रता भएजस्तै ह्वाट्हाउस अगाडि छाप्रोमा बसेको वक्तालाई पनि स्वतन्त्रता रहेछ भन्ने ठानियो । नजिकबाट कैयौं प्रहरीहरु ओहोर दोहोर गरिरहेपनि त्यो माइक वालालाई कुनै वास्ता गरेको देखिएन । सबै आआफ्ना काममा जुटिरहेका, कसैको कुरा कसैले सुनेको देखिएन । सुन्ने फुर्सद भए पो !
रत्न पार्कमा हाते माइकबाट कराउँदै औषधि बेच्नेले ग्याष्टिक, गानो, गोला, अपच, खुट्टा मर्केको, दुःखेको हजूर ! यो अचुक औषधी भनेर घोक्रो फुटुञ्जेल चिच्याएर अरुको कानको जाली फुट्ने गरी कराउँदा जतिसुकै हतार भएपनि हेरौं न त भन्ने हामी नेपालीहरु झुरुप्प झुम्मिएर रमिता हेरेको सम्झिएँ । यहाँ त कसैलाई फुर्सद नै देखिदैन । अहिले हामीलाई फुर्सद नभएजस्तै । रात परिसकेकाले लाग्यौं, बास बस्ने गुँडतिर ।
लुजियाना, संयुक्तराज्य अमेरिका