साहित्यकार शान्ति थापाः सामान्य परिचयन-
कथाकार शान्ति थापा पूर्वाञ्चल भारतले जन्माएको एकजना सशक्त नारी प्रतिभा हुन्। गुवाहाटीमा माता यशोदा देवी र पिता कालु थापाको परिवारमा सन् १९६१ सालमा जन्म लिएको कथाकार थापाले हिन्दी साहित्यमा स्नातकोत्तर र विद्यावारिधि गरेकी हुन्। अलमल (सन् १९९९) नामक कथा लेखेर कथालेखन क्षेत्रमा प्रवेश गरेका कथाकार थापाले हालसम्म अनुवाद कृति, उपन्यास, गीत तथा कथा क्षेत्रमा धेरैवटा कृतिहरू प्रकाशनमा ल्याएकी छन्। हालसम्म उनका प्रकाशित सिर्जनात्मक कृतिहरूमा माया (गीत सङ्ग्रह, सन् २००४), मोहनी डट. कम् (उपन्यास, सन् २००९) तथा अनुदित कृतिहरूमा नामघरे (अनुदित उपन्यास, सन् १९९७), अस्तराग (अनुदित उपन्यास, सन् २००२), लोहित घाटी की कहानियाँ (अनुदित कथा सङ्ग्रह, सन् २००८) आदि कृतिहरू मुख्य छन्। डा. थापाले असमेली नेपाली कथा यात्रा (सम्पादन, सन् २००८) लगायत हाम्रो ध्वनि (नेपाली मासिक साहित्यिक पत्रिका , सन् २००१ देखि निरन्तर प्रकाशित), मृण्मय (बहुभाषी शोधपत्रिका, सन् २००४), अंतरंग (समकालीन नेपाली कथा विशेषाङ्क, सन् २००५), रंगघर (नेपाली साहित्य, संस्कृति र कला विशेषाङ्क, सन् २००५) पूर्वा (हिन्दी शोधमूलक पत्रिका, सन् २००६), दस्तावेज (हिन्दी त्रैमासिक पत्रिका, सन् २००६) आदि जस्ता साहित्यिक पत्र-पत्रिका र शोधपत्रिकाहरूको कुशल सम्पादन कार्य गरेको जानकारी पाइन्छ।
डा. शान्ति थापालाई सन् १९९९ सालमा समालोचनाका निम्ति संजय नारायण स्मृति स्वर्ण पदक, सन् २००२ सालमा साहित्य अकादमी नयाँ दिल्लीद्वारा अनुवाद क्षेत्रमा साहित्य अकादमी पुरस्कार, सन् २००८ सालमा नेपाली साहित्य परिषद, असमद्वारा आवर्तन कथासङ्ग्रहका निम्ति टंकनाथ उपाध्याय पुरस्कार, आवर्तनकै निम्ति वि.सं. २०६६ सालमा गुञ्जन प्रतिभा पुरस्कार, सन् २०१२ सालमा नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा दियालो पुरस्कार, सन् २०१४ सालमा काठमाडौंद्वारा मदन स्मारक सम्मानले सम्मानित हुन्।
शान्ति थापाका हालसम्म आवर्तन (सन् २००७) र यो सहर ढल्दैछ (सन् २०१६) नामक दुईवटा कथा सङ्ग्रहहरू प्रकाशनमा आएका छन् । अनुराग प्रकाशन, गुवाहाटीको सौजन्यमा प्रकाशित पहिलो कथाकृति आवर्तनमा दसवटा कथाहरू सङ्कलित छन्। आवर्तनका कथाहरूका सन्दर्भमा समालोचक डा. इन्दुप्रभा देवीको मन्तव्य यस प्रकार रहेको छ- शान्ति थापाको धेरै कथाहरूको केन्द्रस्थ भाव हो समाजमा रहेको जटिल समस्या लिङ्ग वैषम्य, पुरुष नारीबीचको मेरुविभाजन। उनको कथाहरूमा त्यो मेरुविभाजनको परिणाम भोग्ने नारीहरूको जीवन चित्रित भएको छ।...शान्ति थापाको कथामा सशक्त विद्रोह नभए पनि पुरुष सत्तातल जड भइबसेको नारीजीवनमा परिवर्तनको आह्वान छ। सोझा सङ्घर्ष नदेखाई पनि कथाकारले नारीहरूका अनेकौं पाटालाई उभ्याएर समाजव्यवस्थालाई परोक्ष आक्रमण त गरेकै छन्। साहित्यमा सबै कुरोरो सोझो प्रतिवाद हुनुपर्छ भन्ने पनि छैन। यहाँ कति कथामा नारीको विवशता र बाध्यताहरू देखाएर समाजसुधारकै आशा राखिएको छ। सधैँ उपेक्षित नारीहरूको मर्मवेदनाको प्रकाश गर्न र समतातो समाज निर्माणको भावनालाई सहृदय पाठकसमक्ष पुर्याउन उनी समर्थ छन्। विषयमा नौलोपन कम्ती भए तापनि उनको भाषा र संरचनासिपले यी कथालाई रोचक बनाएका छन्।
शान्ति थापाका कथामा कथ्य-योजना एवम् प्रवृत्तिः विमर्शन ‘’
कथाकार शान्ति थापाको प्रस्तुत यो सहर ढल्दैछ शीर्षक दोस्रो कथाकृति अनुराग प्रकाशन, गुवाहाटीद्वारा प्रकाशनमा आएको छ। सन् २००८ देखि सन् २०१६ सालसम्म अर्थात् नौ वर्षको समयावधिमा लेखिएका कथाहरू यस सङ्ग्रहमा परेका छन्। कथाकार थापाले पुस्तकको आमुख मनका कुरा-मा ‘नौ वर्षसम्म उकालीओह्राली र देउराली हुँदै जीवन यात्राक्रममा जे जति कथारूपि जे जति उघाउँन सकें-उघाएर यहाँ प्रस्तुत गरेको छु’, भनेर स्विकृति जनाएकी छन्। यस दोस्रो कथा कृतिअन्तर्गत यो सहर ढल्दैछ, फिर्ता, कथ्य-अकथ्य, मुक्तिबन्धन, फूलमाया वृत्तान्त, दोभान, पारूहाङ, म हारें, नीरव साधना, हिसापकिताप, तर पनि केही रहिजानेछ, गुँड, मोक्ष, साँप र मानिस शीर्षकका मझौला आकारका जम्मा चौधवटा कथाहरू सङ्कलित छन्। यस कथाकृतिमा अग्रज कथाकार खडकराज गिरीज्यूको शान्ति थापा र उनको कथा सिर्जना शीर्षकमा निकै गहकिलो र फराकिलो मूल्याङ्कनपरक भूमिका रहेकाले कथासङ्ग्रह अझ उज्यालो र गहकिलो बनेको छ।
कथाकार थापाका केही कथाहरू परम्परालाई ताकेर लेखिएका छन् भने केही कथाहरू परम्परादेखि सामान्य बाहिर हटेर, अलिक भिन्न स्वरूप शैली अँगालेर लेखिएका छन्। यथार्थ जीवनजगत्, वास्तविक जीवनलाई नै मूलाधार बनाई अधिकांश कथाहरू लेखिएको भेटिन्छ। अतः कथा लेखनको आधार नै जीवन-जगत् र यथार्थ संसार मुख्य रहेको स्पष्ट देखिन्छ। छोटा-छरिता र मझौला आकारमा संरचित यी कथाहरू प्रभावकारी छन्। प्रत्येक कथामा आ-आफ्नै किसिमको सौन्दर्य रहेको भेटिन्छ।
यो सहर ढल्दैछ- यस कथामा महादेव र गुणबहादुर दुई मुख्य मञ्चीय पात्रको रूपमा उपस्थित छ। दुलियाजन सहरको पृष्ठभूमिमा लेखिएको यो वैचारिक प्रकृतिको कथा हो। पात्रको मानसिकता र उसको माध्यमबाट धेरै कुरा भन्न खोजिएको छ। यस कथाले पाठकलाई गतिलो वैचारिक भ्रममा धकेल्छ। कथाको मूल पात्र महादेव, जो एकजना जागिरे पनि हो। एकदिन त्यसै पानी ट्याङ्कीतिर पुगेर त्यसका सिँडीहरू उक्लिँदै माथिबाट तेलनगरी दुलियाजन सहरको अवलोकन गर्छ। महादेवले यो सहर दिहिङतिर ढल्दै गएको बोध गर्छ। उसलाई यो किन, के कारणले र कसरी भइरहेछ, के साँच्चै सहर ढल्दैछ त ? ऊ बुझ्नै सक्तैन। ऊ त्रसित र आफैमा भयभित हुँदै तल जमीनमा ओर्लिन्छ।
भूइँमा ओर्लिसकेपछि बाटो लाग्छ। बाटा किनारमा मकै पोलेको बास्नाले उसलाई अतिततिर पुर्याउँछ। उसलाई मकै चखाउने बुढिँदै र कुप्रिँदै गएको उसको बाबुको यादले सताउँछ। घर-घुरेनको पटेर मकैबारी, आफू सुत्ने कोठा, ड्रेसिङ ऐना, त्यसमा प्रतिबिम्बित सुडोल शरीर, यौनाकांक्षा, त्यसको तीब्र भोग र तृप्तिका सारिएका गलत पाइलाहरू, तामाङसिनी भाउज्यूप्रतिको आकर्षण, आफू असफल प्रेमी बन्नु पर्दा मनमा सल्केको आगो, साथी गुणबहादुरले अनाहकमा पिलाएपछि आफूले आजको दिनसम्म केही गर्न नसकेकोमा क्षोभ भाव, साथी गुणबहादुरले सम्झाउँदा-बुझाउँदा पनि सम्झिन नसक्ने स्थितिमा महादेव पुगेको देखिन्छ। यसप्रकार महादेवको सोंचाईको क्रम नमिलेर ऊ एब्नर्मल बन्दै गएको कुरा साथी गुणबहादुर मार्फत् थाहा पाउँछ, त्यसपछि उनीहरूमाझ द्वन्द्व सुरु हुन्छ। जसको फलस्वरूप महादेव विमुख बन्दै आफैलाई एक्लो जराविहीन ठान्न पुग्छ। कथाकथन सरल र सहज भइकन पनि यो गम्भीर प्रकृतिको कथा छ। वास्तवमा दुलियाजन सहर यथावत स्थितिमै रही आफू मात्र ढल्दै गएको महसुस गर्छ। अतः महादेव पात्रको चरित्रमार्फत धेरै कुरा भन्न खोजिएको छ। कथा एककिसिमले सरल जस्तो लागे पनि कथाकथन र कथालेखन शैलीमा नौलोपनको प्रयोग छ।
फिर्ता- यस कथामा सुप्रिया, म, दिल, नरेश, उर्वसी आदि जस्ता पात्र-चरित्रहरूको प्रत्यक्ष-परोक्ष उपस्थिति रहेको छ। म र दिल दुवै कञ्चनजङ्गा एक्सप्रेसमा असम फर्किँदैछन्। म पात्रलाई विस वर्षअघि छोडेको असमको माटोले पिरोलेको छ। सुप्रियासित बिताएका रमाइला-घमाइला दिनहरूले उसलाई सताउँछ। कताकता विगतका यादहरूमा रूमलिँदै, कतै भावुक त कतै निराश बन्दै अनिश्चित स्थितिमा पुग्छ। ब्रह्मपुत्र बगरको उर्वशी खाँबानेर पुगेर अडेसिएपछि मात्र दुवै पात्रको मन शान्त हुन्छ। अतः अनिश्चिततामा पुगेर टुङ्गिएको छ। यसलाई प्रतीकात्मक कथाको सफल दृष्टान्तका रूपमा लिन सकिन्छ।
कथ्य-अकथ्य- प्रस्तुत कथामा एकातिर अमूर्त कथ्यको कलात्मक प्रस्तुति रहेको देखिन्छ भने दार्शनिक भाव चिन्तन रहेको देखिन्छ। अन्य कथाको सापेक्षतामा यो कथा एकदमै भिन्न स्वरूप-संरचनामा आबद्ध रहेको छ। कथानकहीन कथानकको राम्रो दृष्टान्त यस कथामा अनुहारविहीन वेनामी पात्रहरूको विशेष उपस्थिति रहेको देखिन्छ। मुक्तिबन्धन- शीर्षक कथा मिथकीय परिपाटीमा अघि बढेको छ। मुना र वेतालको प्रेम कहानीमा झेलिएको छ। कथामा थोरै पात्र-चरित्रहरूको प्रत्यक्ष उपस्थिति रहेको देखिन्छ। अमूर्त शैलीमा कथ्य-योजना बुनिएको छ। वेताल, मुना, मुनाकी आमा, काम गर्ने लालुमाया र म पात्र नै मञ्चीय पात्रको रूपमा उपस्थित छन्।
फूलमाया वृत्तान्त- प्रस्तुत कथा सामाजिक विषयवस्तुमा केन्द्रित रेहेको छ। अन्य कथाकारका कथाहरू जस्तो उनको यो कथा सरल रैखिक कथन ढाँचामा बगेको छैन। माया लाग्दो लठेप्रो वीरे, जो अस्वाभाविक र अप्राकृतिक छ, उसले ठेला चलाएर जीवन गुजारा गर्छ। पछि उसैसित फूलमायाको बिहे हुन्छ। फूलमायाले चाहेजस्तो तर वैवाहिक जीवन सम्भव हुँदैन। फूलमाया अतृप्त र प्यासी रहन्छे, जो वीरेबाट सम्भव हुँदैन। यस सङ्ग्रहका अधिकांश कथाहरूको कथारेखा अलिक वक्ररैखिक ढाँचामा नै अघि बढेको देखिन्छ। यस कथामा फूलमाया, वीरे, म, दलबहादुर, वीरेकी आमा आदि प्रत्यक्ष र मञ्चीय पात्रहरूका साथमा सूक्ष्म र गौम पात्रहरूको उपस्थिति पनि रहेको देखिन्छ।
पारूहाङ- यस कथामा कथ्य-वस्तुअनुरूप विवेक र चेतनाकै वरिपरि अन्य सहायक, गौण र नेपथ्य पात्रहरूले जरा फैलाएको छ। यसको कथानक क्षीण छ। अमूर्त शैलीमा कथात्मक संरचना बुनिएको छ। प्रस्तुत कथामा पारूहाङ अर्थात् किरातहरूको शिव-को प्रतीक उभ्याएर पुरूषहरूको प्रवृत्तिमाथि तिखो व्यङ्ग्यप्रहार गरिएको छ। घरमा श्रीमती भएर पनि बाहिर माखा झैं भन्किरहने पुरूषहरूप्रति कटाक्ष गरिएको छ। प्रस्तुत कथामा पारूहाङ आजका शिवहरूको प्रतिनिधि चरित्र बनेर उभिएका छन्। अतः पारूहाङ पुरूषको चञ्चल मनको एउटा प्रतीकात्मक कथा हो।
म हारें- प्रस्तुत कथामा जूना पेसेवार पत्रकार, जो कुनै पत्रिकामा फोटो पत्रकारिताको काम गर्छे। पत्रिकाको निम्ति नाङ्गो तस्वीर उतारेर ल्याउँदा सम्पादकले ठीक गर्यौ भनेर स्याबासी दिए पनि ज्ञानेन्द्रले उसको कामप्रति सन्तुष्ट छैन। गरीब-नग्न युवतीको यथार्थ फोटो उतार्नुको सट्टा उसको आङ ढाकिदिएको भए राम्रो हुने थियो भन्ने ज्ञानेन्द्रको विचार रहेको देखिन्छ। ज्ञानेन्द्रको उक्त विचारले जूनाको जीवनमा आमूल परिवर्तन ल्याउँछ। कुनै दिन यस्तै यस्तै किसिमको घटना दोहोरिँदा ज्ञानेन्द्र व्यङ्ग्यात्मक शैलीमा जूनालाई फोटो खिच्यौ भनेर सोद्छ, तर जूनाले गहकिलो र दार्शनिक भावशैलीमा उत्तर गर्छे- जतिसुकै बेला जिन्दगीलाई क्यामेरामा कैद गर्न नसकिँदो रहेछ-ज्ञानेन्द्र।
नीरव साधना- छोटो-छरितो यस कथामा नीरवको महत्त्व, यसको उपयोगिता, यसले मानिसको जीवनमा ल्याउने शान्ति र अनुशासन नै यसको मूल कथ्य विषय रहेको छ। यस कथालाई एउटा सफल द्वन्द्व कथाको रूपमा लिन सकिन्छ। कथामा प्रत्यक्ष पात्रको उपस्थिति देखिँदैन तर नीरवतालाई सुन्न, देख्न र सुँध्न सकिने भनाइहरूलाई कथ्यभावभूमिमा समेटिएको छ। कथाको प्रस्तुतिमा केही नौलोपन देखिन्छ। दोभान- यो प्रेमपरक वियोगान्त प्रकृतिको कथा हो। अन्य कथाको तुलनामा यो कथा सरल रैखिक ढाँचामा बुनिएको छ।
हिसापकिताप- आजको समय र मान्छे साइबर संस्कृतिभित्र जेलिएको छ। आफूलाई जन्मदिने आमा-बाबु, घरपरिवार, इष्टमित्र सबै छोड़ेर आजको साइबर युगका साथीहरू मोबाइल, फेसबुक, वाट्स-एप, इन्टरनेटको संयन्त्रमार्फत् झुटो मायाजालमा फँसेर गलत कदम उठाएको ग्लानीबोधले म पात्र जीवनदेखि आतेस खाएर झुण्डिएर आत्माहत्या गर्ने कोशिश गर्छ। आत्माहत्याबाट बाँचेको ऊ परिवारको माया पाएर नयाँ जीवन जीउन पुग्छ। बाबाको घर आउनु भन्ने म्यासेज पाएपछि औंठी बेचेर भए पनि जसोतसो घर आइपुग्छे तर आफ्नो पिठ्यूँमा नवजात शिशुसमेत बोकेर। वास्तवमा हताशा, निराशा र असफल प्रेमको मार्मिक तथा व्यङ्ग्यात्मक किसिमको कथा हो।
तर पनि केही रहिजानेछ- मार्मिक ढङ्गमा लेखिएको यस कथामा महानागरीय जीवन शैलीलाई दर्शाइएको छ। एउटी ७० वर्षीय वर्ष पार गरेकी विधवा आमै सहरमा नोकरी गर्ने छोरा-बुहारीको घरमा नोकर्नी सरह आफ्नो विधवा जीवन धानिरहेकी छे। जन्म दिने आमालाई पनि कज्याएर नोकर्नीसरह राखेको छ। बुहारीले अह्राएको नमान्दा बेलुकीको खाना समेत नदिएको दुःखद तथा मार्मिक वर्णन छ। परिवारमा सत्तर वर्षीय बुढी विधवा आमाको निम्ति कसैसँग मायाप्रेम, मानवताको भावना, संवेदनशीलता छैन। आफ्ना श्रीमानलाई चालिस वर्षको उमेरमै अघि लगाएर आफू एक्लैले दुई छोरी र एक छोरालाई पालन-पोषण र पढाई-लेखाइ गरी बिहे दान गरिदिएपछि सबै छोरा-छोरीहरू हुनेखाने भएपछि एक्ली विधवा आमाले गरेको ती नाना दुःख कष्ट सबैले भूले। उसको छोरो जोइटिङ्ग्रे छ, उसकी स्वास्नीले भनेको कुरो मात्र मान्ने। आमामाथि भएको अन्याय र असुविधाहरूबारे पनि ऊ आँखा चिम्लेर बसेको छ। यस घरमा परिवारका सदस्यबाहेक खोराकीमा बस्ने एकजना पात्र, जो यस कथाको समाख्याता पनि रहेको छ। त्यस पात्रमार्फत् नै कथाको सम्पूर्ण कथ्य विषय सविस्तार खोलिएको छ । अतः सीमित सम्वादको प्रयोग भए पनि वर्णात्मक शैलीमा यो कथा बुनिएको छ।
गुँड-जीवनको यथार्थ स्थितिलाई यस कथाले समेट्न खोजेको छ। आजको दुनियाँ साइबरको सयन्त्रमा रूमलिएको छ। ई-मेल, फेसबुक, वाट्स-एपमार्फत् नै यो वार्ताकथाको स्वरूप लिइ अघि बढेको छ। लोग्ने मान्छे नोकरीको सिलसिलामा घर बाहिर हुँदा घरकी स्वास्नी चाँहि अन्य पुरुष तथा अन्य साथीहरूसित अचाहिँदो वार्तालापमा व्यस्त हुन्छे। अर्थात् विकृत मनोभिलाषा झ्याँगिदै गएको स्थितिलाई यसमा देखाइएको छ। हामी गुडँ बनाउँछौं तर त्यो गुडँ बिस्तारै बिस्तारै सबैले छोड्दै छोड्दै जान्छन् र कालान्तरमा त्यो गुडँ फेरि रित्तो हुन्छ।
मोक्ष- यस कथामा बालविहारको प्रसङ्ग उल्लेख छ। बालविवाहले ल्याएको नकारात्मक प्रभाव छ। बालविवाह भएको केही दिनमै विधवा भएकी महामायालाई पुरोहितले सुझाउ दिए अनुसार अन्ततः आश्रममा पुगेकी छ। लोग्नेले सत्तर वर्षको उमेरमा आठ वर्षीय नाबालिकालाई विवाह गरेर स्वास्नी बनाएको घटना-प्रसङ्ग छ। कथामा ८० वर्षको संघार नाघिसकेका महामाया पात्राको मार्मिक उपस्थिति दर्शाइएको छ। छोटो-छरितो यस सन्देशयुक्त कथामा प्रकृतिको मार्मिक कथा छ। एकजना मानिसले आफ्ना निम्ति पुण्य कमाउन अर्का एकजना मानिसको जीवनसित कसरी खेल्न सकेको, आफ्नो परलोक सुधार्न अर्काको जीवन नरक बनाउने कामलाई यी आमै पुण्य भनिरहेकी छन्- कति टीठलाग्दो छ नि। तोता रटाएसरी छ यिनको सोच। मभित्रको महामाया आफ्ना सारा अस्त्रशस्त्रका साथ जङ्गिन थाल्छ।
साँप र मानिस- सङ्ग्रहको सबैभन्दा छोटो र तिख्खर कथा। यसलाई लघुकथाको स्वरूपमा लिन सकिन्छ। यस कथामा साँप र मानिस नै दुई मुख्य चरित्र उपस्थित छन्। ती दुवै चरित्र प्रतीकात्मक किसिमका छन्। भूमिकाकार खड्गराज गिरीज्यूले भूमिकामा हिन्दी साहित्यका प्रसिद्ध आख्यानकार अज्ञेयको प्रभाव कथाकार थापालाई परेको सन्दर्भ उल्लेख गर्दै प्रस्तुत लघुकथाले पनि छोटा-छरिता संवादद्वारा व्यापक भाव- प्रस्तुतिका साथै समय त्रासदीतिर यसको अन्तरदृष्टि पुगेको कुरो सङ्केत गरेका छन्।
शान्ति थापाका कथाहरूको भाषाशैलीय विन्यासः सर्वेक्षण
शान्ति थापा एकजना प्रतिभाशाली कथाकारको रूपमा उभ्याउन सकिन्छ। यस पछिल्लो कथा सङ्ग्रह यो सहर ढल्दैछ-मा समाविष्ट चौधवटा कथाहरूले नै यसको प्रमाण दिन्छ। कथ्यवस्तुअनुरूप परिवेश-योजना, पात्र-योजना तथा कथ्य-योजनाको लोभलाग्दो प्रयोग भएको छ। यस छोटो लेखमा परिवेश र पात्र-योजनालाई अहिलेलाई केही पर पन्साएर भाषाशैलीय विन्यासलाई मात्र सामान्य रूपमा अवलोकन गर्ने प्रयास गरिएको छ।
कथाकार थापाका कथामा प्रयुक्त अङ्ग्रेजी भाषा मार्फत् आएका शब्दहरू- वायरलेस टावर, इन्डिस्ट्रियल स्टेट, चियर्स, च्याट, रिङ्गटोन, एब्नर्मल, अफिस, क्यान्टिन, मार्शल, ग्लोबल भिलेज, ग्लोबल होम, पेइङ गेस्ट, बाथरूम, किड्स, जुडिसियली, डाइनिङ टेबिल, ब्रेकफास्ट, किचन, टिफिन, ग्यास्ट्रिक, सेल्फ डिपेन्डन्ट, हेयर ड्रायर, सिङ्क, इस्यु, ग्लेमर, रेडिमेड, मशिन, स्वेटर, डिजाइन, कम्प्युटर, प्रोसपेक्टस, भर्चुवल, म्यासेज, कमेन्टस्, एकाउन्टस् शट डाउन, कम्पार्टमेन्ट, रेडियोथेरापी, मेटेलिक बेड, लेन्स, डिस्चार्ज, क्यानवस्, एक्सरे, डिजीटल क्यामेरा, फिलर, स्टाफ, फोटोग्राफर, केरियर, एयरपोर्ट, गेट, रेड अलर्ट, स्लीपिङ ट्याबलेट, कलिङ बेल, फर्निचर, हाइहिल सेण्डेल, ह्याण्ड ग्रेनेट, फेस बुक, सेन्टिमेन्ट, ई-मेल, वाटस्-एप, होटेल, सफ्ट कपि, गेजेट, सुपर सेफ, रेसिपी, थ्याङ्क्स, कम्प्युटर साइन्स, मोबाइल, रिसिभ, स्वीच अफ्, मेडम, ट्यान्सन, अफिस, डिस्टेन्स पर्सपेक्टिभ, एयरव्याग आदि तथा अङ्ग्रेजी कोड मिश्रित शब्दहरूमा- ग्यासको ट्याङ्की, न्यूक्लिर युग, कञ्चनजङ्गा एक्सप्रेसमा, ड्याडीको स्कुटर, ग्रीलको गेट, फर्जी प्रोफाइल, भर्चुवल सुख, कम्युटरको लग अन, फर्जी प्रोफाइल, कलेजको सेमिस्टर, सिनिकल वक्तव्य, ब्लैक जोक, टिफिनमा हटडग, फ्लेशको चमक, मेल चेक गर्नु, स्वादिष्ट डिनर प्रभृतिलाई दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ।
कथाकार थापाले आफ्नो लेखनशिल्पलाई अझ फराकिलो र मनोरञ्जनात्मक बनाउन नेपाली समाजमा प्रचलित उखान-तुक्का, लोकोक्तिको प्रयोगका साथै स्थानीय भाषा र बोलीका कतिपय शब्दहरू टिपेर सजाएकी छन्। उनको कथामा यशोधराको त्याग, निरापद दुरत्व, गौरी दान, रौरव नरक, बाल विवाह, अकथ्य पीडाहरू, जागिरको ताडना, अँगालोको बन्धन, आदिम अनुभूति, अविराम गति, लामो सुसेली, रातको चकमन्नता, फिक्का मुस्कान, जोर जुलुम, माटाको बतास, यौवनको उच्छवास, नित्य नैमित्तिक, जीवनको अभिशाप, दुःखदायी पीड़ा, मायाको सागर, वेदनासिक्त आवाज, हाँसोको झरना, अभिमानको झरना, पीडाको छाल, विस्फारित आँखा, कम्पित स्वर, कङ्कला स्वर, मायाजालको चक्रव्यूह, दुर्दान्त प्रेम, हिमालको विशालता, आवाजविहीन परिवेश, ऐश्वरिक अनुभूति, आवाजविहीन अनुभूति, मनको अस्थिरता, मृत्युको प्रतीक्षामा, मृत्युकामना, साँझको निस्तब्धता, लेखकीय सत्ता, जागीरको ताडना, अक्षरको खेती, अन्तर्मनको दुर्दम्य, निर्देशात्मक आँखा, अनागत महाभारत, ज्यामितिक विन्यास, रहस्यमय अनुभूति, बाधाहीन स्वतन्त्रता, तर्जनीको इसारामा, अनन्तको यात्रा, अन्तहीन यात्राको थालनी, प्राणहीन शरीर, घाइते सपनाहरू, रहस्यमय जटिलता, सत्ता अट्टहास, मुसे दौड, जराविहीन परिचय आदि जस्ता क्रियायुक्त र क्रियामुक्त पदावलीहरूको यथेष्ट प्रयोग भएको भेटिन्छ।
यसका अतिरिक्त सारा रात झ्यालबाट मसित यात्रारत् ताम्बुलका बोटहरू- लास्य भङ्गीमा रामदानी नृत्य गरी रहे, एकअर्कासित हातेमालो गर्दै मलाई समेत तन्मय बनाउँदै। (पृ-१०), उद्धम बैंसको मदमस्तताले शरीरमनलाई तन्मय बनाइरहेको बेला, मायावी देशतिर लैजाने मादकतापूर्ण जादु, काँचो रगतको एउटा ज्यामितिक विन्यास, सुखदुख हर्षविषादबाट जो जति टाढिन सक्छ ऊ उति नै नीरवताका छेउ पुग्छ सक्छ, आकाशतिर धावित बिल्डिङ्गहरू, तामाङसिनी भाउज्यूको जिउमा थियो पृथ्वीको रङ्गीन पोखरी (पृ.७) जस्ता कवितात्मक बिम्बहरू तथा के खोज्छस् कानो आँखो, साउँको भन्दा व्याजको माया, नभेटुञ्जेल सुनसरी भेटेपछि माटोसरि आदि नेपाली समाजमा प्रचलित उखानको समेत प्रयोग गरिएको भेटिन्छ।
कथामा पानबजार, श्रीरामपुर चेकगेट, कोक्राझार स्टेशन, शराइघाट, नीलाचल पर्वतमाथि माँ कामाख्याको मन्दिर, दिहिङ, गौहाटी, ब्रह्मपुत्र, काठमाडौं, दुलियाजन आदि स्थाननामलाई पनि जोड्न खोजिएको छ भने ज्ञानेन्द्र, महेन्द्र, प्रदीप, विवेक, महादेव, गुणबहादुर, ज्ञानेन्द्र, दिल, नरेश, तरूण, जय, श्यामल, रामे, दलबहादुर, वीरे, पारूहाङ आदि पुरुष पात्रहरू तथा सुपर्णा, जूना, चेतना, उर्वसी, तामाङसिनी, सुप्रिया, मेधा, मुना, रूपा, लालुमाया, फूलमाया, महामाया आदि नारी चरित्रहरू लगायत सम्पादक, कर्मचारी, वृद्ध महिला, म, एउटी अर्द्धनग्न नारी, आमै, आमा, युवती, मोम, बहिनी, पत्नी, छोरी भनेर सम्बोधन गरिएका अनामित प्रशस्त पात्र-चरित्रहरूको उपस्थिति रहेको देखिन्छ।
कथाकार शान्ति थापाको कथालेखनबारे समालोचक लीला लुइँटेलले आफ्नो पुस्तक भारतीय नेपाली महिला साहित्यकारमा यसप्रकार मूल्याङ्कन गरेकी छन्- “कथानक क्षीण रहेका यिनका कथामा युगीन जनजीवनका विभिन्न विषयवस्तुको प्रस्तुति पाइन्छ। यिनी विभिन्न उमेर, वर्ग र अवस्थाका नारीहरूले सम-विषम तथा विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विविध सन्दर्भका माध्यमबाट विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन्। यिनले मूलतः नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई कथावस्तुको रूपमा आफ्ना कथामा समेटेकी छन्। यस दृष्टिले हेर्दा यिनका कथामा अभिव्यक्त मूल स्वर नारी संवेदना नै हो। सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि यौनजन्य दुर्व्यवहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण पनि पाइन्छ। पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनपुगेको मानसिकतालाई पनि यिनले आफ्ना कथामा स्थान दिएकी छन्। सामाजिक संस्कार एवं रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्कन हुने सामाजिक परिपाटीप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा साइबर संस्कृतिको दुरुपयोगबाट उत्पन्न दुष्परिणामलाई पनि देखाइएको छ। यिनले प्राकृतिक एवं पौराणिक बिम्बका माध्यमबाट व्यक्तिको क्षणिक मनोवेगलाई पनि कथात्मक संरचना प्रदान गरेकी छन्। तत्सम शब्दका अत्याधिक प्रयोगका अतिरिक्त प्रतीकात्मक भाषिक प्रयोगका कारण बौद्धिक पाठकको अपेक्षा गर्ने यिनका कतिपय कथा सामान्य पाठकका लागि क्लिष्ट एवं दुरुह देखिन्छन्। अधिकांशतः क्रियापदविहीन वाक्य प्रयोगका कारण यिनका कथामा प्रयुक्त भाषामा गद्यकविताको झझल्को पनि पाइन्छ।”(पृष्ठ-११४-११५)
मूल्याङ्कन-
प्रायः सबैजसो कथाको पृष्ठभूमिका रूपमा पूर्वाञ्चल भारत अर्थात् असम वरिपरिको क्षेत्रहरूलाई समेटिएको छ। अधिकांश कथाले आजको सामाजिक, वैचारिक, मानसिक पृष्ठभूमिलाई आधार बनाएका छन्। जसमा आजको समाजले भोग्ने र भोग्न परेका समस्त सन्दर्भलाई समेट्न खोजिएको छ। सबैजसो कथामा नारी पात्रलाई प्रमुख चरित्रको रूपमा उभ्याइएको भेटिन्छ। चौध कथाहरूमा प्रयुक्त पात्र-चरित्रहरूले भिन्न-भिन्नै अवस्था र स्थिति भोगेका छन्। उनीहरू आ-आफ्नै ढङ्गमा युग बाँचेका छन्, समाज भोगेका छन्। कथामा मानिस, स्थानीय परिवेश, जीवनजगत, मायामोह, संवेग, समवेदना, हार्दिकताका धेरै कुराहरू कथामा समेटिएको छ। स्थानीय र आञ्चलिक कथ्य वस्तु सन्दर्भलाई भन्दा कथाकार थापाले वैश्विक विचार तथा विश्व समाजलाई नै अँगाल्न खोजेको बुझिन्छ। जसको फलस्वरूप यस सङ्ग्रहका प्रायः सबै जसो कथाहरू विषय गाम्भीर्यले परिपूर्ण छन्। थापाका कथामा जीवनका जटिलताहरू, मान्छेभित्रका अमान्छे तत्त्वहरूको विकास, समसामयिक बदलिँदो परिस्थितिको चित्रण र प्रस्तुति नै मुख्य रूपमा भेटिन्छन्। वस्तुतः कथाकार शान्ति थापारचित यो सहर ढल्दैछ-मा समाविष्ट चौधवटै कथाहरू बेग्लाबेग्लै स्वरूप संरचना, नौलो प्रयोग र प्रस्तुति लिएर देखा परेको छ। कथालेखनगत प्रयोगधर्मिता, सामाजिक वस्तु यथार्थता र सिर्जनात्मक मौलिकता उनका कथाहरूको मूलभूत विशेषता मान्न सकिन्छ।
सह-प्राध्यापक, स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ ।