18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘पुनर्जन्म’ नमान्ने लेखकको ‘पुनर्जन्म’

कृति/समीक्षा अर्जुन अन्योल February 12, 2025, 5:03 pm
अर्जुन अन्योल
अर्जुन अन्योल

१. विषय परिचय
‘पुनर्जन्म’ शिखा बुक्सबाट प्रकाशित प्रगतिशील साहित्यकार राम विनयद्वारा लेखिएको मझौला आकारका संस्मरणहरूको सङ्ग्रह हो । वि. सं. २०८१ भाद्र महिनामा प्रकाशित यस पुस्तकमा सन् २०१९ मा संसारभरि नै महामारीका रूपमा देखापरेको कोरोना भाइरस र त्यसबाट प्रभावित नेपाली समाजको वस्तुस्थितिलाई सरल एवम् रोचक ढङ्गले प्रस्तुत गरिएको छ । चीनबाट सुरु भएको महामारी विश्वव्यापीकरणको प्रभावस्वरूप संसारका अन्य मुलुकमा जसरी नै नेपालमा पनि फैलिएपछि यसबाट आक्रान्त भुइँमान्छेहरूले भोग्नुपरेका दुःखकष्ट र पीडाप्रति असीम सहानुभूति प्रकट गरिएको यो कृति तत्कालीन समाजमा देखापरेको आकस्मिक सङ्कट र त्यसबाट उत्पन्न विकृत पक्षलाई बुझ्न निकै उपयोगी देखिन्छ । सारा मुलुक महामारीको चपेटामा परी छटपटाइरहेको सङ्कटमय घडीमा पनि राज्य भने आमनागरिकलाई मद्दत गर्नुको सट्टा मूकदर्शक बनेको अवस्थाप्रति संस्मरणकारको चिन्ता, असन्तोष र आक्रोश यस कृतिमा एकैसाथ अभिव्यक्त भएको छ । प्रस्तुत कृति लेखकको जीवनमा अनपेक्षित रूपमा आइपरेको भयावहपूर्ण परिस्थिति र रोगसँग जीवनमरणको सङ्घर्ष गर्ने क्रममा भोग्नुपरेका आर्थिक, सामाजिक तथा मानसिक कठिनाइको सजीव दस्तावेज हो । धैर्य, सहनशीलता, आत्मप्रेम, आत्मस्वीकारोक्ति र मानवीय जीवनका सीमाहरूको पहिचान गर्नु जीवनको महत्त्वपूर्ण हिस्सा हो भन्ने विषयको केन्द्रीयतामा प्रस्तुत कृतिको रचना भएको देखिन्छ ।

२. संरचनागत विन्यास
क. शीर्षकीकरण
प्रस्तुत ग्रन्थमा अभिव्यक्त विषयवस्तुका आधारमा विश्लेषण गरेर हेर्दा पुस्तकको शीर्षक ‘पुनर्जन्म’ भए पनि यस कृतिमा पौराणिक ग्रन्थहरूमा वर्णन गरिएजस्तो अर्को या पटकपटकको जन्म भन्ने अर्थ नबुझाई जीवन र मृत्युबीचको सङ्घर्षमा जीवनको महिमागान, वास्तविक अर्थ र जीवन मूल्यको नवीन परिभाषालाई प्रस्तुत गरिएको छ । जीवनमा आइपर्ने कठिन चुनौतीहरूका माझ पनि नवीन अर्थ र मूल्यहरूको खोजी गर्नु मार्क्सवादी लेखकहरूको मूल प्रवृत्ति हो । स–साना कुरामा पनि खुसी खोज्नु, आफ्नो जीवन र आफूलाई प्रेम गर्नु, जीवनका हरेक पललाई उत्सवमय तरिकाले मनाउनु नै वास्तविक जीवन हो र जीवनको सौन्दर्य मूल्य नै जीवनमा आइपर्ने चुनौतीहरूमा अन्तर्निहित छ भन्ने सुस्पष्ट एवम् आत्मविश्वासयुक्त दृष्टिकोणकै सेरोफेरोमा पुस्तकको नामकरण भएको देखिन्छ ।

ख. विषयगत व्यवस्थापन
विषयको संरचनागत व्यवस्थापनलाई आधार मानेर १ सय ९६ पृष्ठमा संरचित प्रस्तुत पुस्तकलाई जम्मा २७ शीर्षकमा विभाजित गरी प्रस्तुत गरिएको छ । हरेक शीर्षकको सम्बन्ध पुस्तकको मूल शीर्षकसँग कुनै न कुनै हिसाबले जोडिएर आएको छ । ‘आईसीयूमा एक्लोपन’ शीर्षकको संस्मरणमा आईसीयूमा अन्य बिरामी र उपचार टोली भए पनि एक्लोपनका कारण लेखकले आफूलाई निकै महसुस गरेको भाव व्यक्त गर्दै एक्लोपनले भविष्यप्रति निराशाको भावना मात्रै जागृत गर्ने भएकाले मानिसको जीवनमा एक्लोपन सबैभन्दा पीडादायी हुने विचार व्यक्त गरेका छन् । ‘अकल्पनीय महामारी’ शीर्षकको संस्मरणमा नेपाली समाजलाई महामारीले नराम्रोसँग प्रभावित पारेको सन्दर्भलाई संस्मरणकारले शान्त तलाउमा अचानक आएको आँधीबेहरीसँग तुलना गरेका छन् भने ‘बुबालाई बिसन्चो’ शीर्षकको आलेखमा कोरोना महामारीका कारण स्वास्थ्यमा समस्या देखिएपछि अन्ततः दुखद् निधन भएको अवस्थाको मार्मिक चित्रण गरिएको छ । त्यसैगरी, ‘महामारीको साम्राज्य’ शीर्षकको संस्मरणमा बन्दाबन्दीका कारण आममानिसहरू खोरभित्र पस्न विवश बनेका तर जङ्गली जनावर सडक र बजारमा निस्किएको डरलाग्दो यथार्थको प्रस्तुति पाइन्छ भने ‘बुद्धि भ्रमित भएको पल’ शीर्षकको आलेखमा जसरी धूमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने जान्दा जान्दै पनि अम्मलीहरूले चुरोट छोड्दैनन्, ठीक त्यसैगरी कोभिड सङ्क्रमणबाट बच्ने उपाय थाहा हुँदाहुँदै पनि यसप्रति उनको आफ्नै लापरबाहीका कारण आफन्तहरूलाई रोग सर्न गई समाजको प्रेरक बन्ने अवसरबाट वञ्चित हुनुपरेको विषयको उठान गरिएको छ । ‘कोभिडका लक्षण र त्रास’ शीर्षकको संस्मरणमा कोभिडका लक्षण देखापरेपछि क्वारेन्टाइनमा बस्नुपर्दाको पीडा र त्रासको यथार्थपरक तरिकाले बयान गरिएको छ भने ‘परिवारमा सङ्क्रमणको आँधीबेहरी’ शीर्षकको आलेखमा परिवारका सदस्यहरू कोरोना सङ्क्रमणको चपेटामा परेपछि सुखमय पारिवारिक वातावरण बिथोलिन पुगेको चर्चा गरिएको छ । ‘बी एन्ड बी अस्पतालमा’ शीर्षकको संस्मरणमा पीसीआर परीक्षणमा कोरोना भएको पुष्टि भएपछि मुस्किलले बी एन्ड बी अस्पतालमा भर्ना भई उपचार सुरु गरेको सन्दर्भलाई सरल तरिकाले बयान गरिएको छ । ‘घरको खबर बाहिरबाट’ शीर्षकको आलेखमा अस्पतालमा भर्ना भएपछि घरसँगको सम्पर्क बिच्छेद हुँदा आफ्नै आफन्तको निधनको खबरसमेत छिमेकी या आफन्तजनबाट थाहा पाउनुपर्ने अप्ठ्यारो परिस्थितिको मार्मिक चित्रण छ भने ‘बी एन्ड बी अस्पतालबाट ह्याम्स अस्पतालमा सरुवा’ शीर्षकको आलेखमा सो ठाउँमा उपचार सम्भव नभएपछि ह्याम्स अस्पतालमा सर्नुपर्दाको कठिन अवस्थाको चित्रण गरिएको छ । ‘आईसीयू अर्थात् सघन उपचार कक्षमा’ शीर्षकको आलेखमा जीवन र मृत्युको दोसाँधमा कष्टकर जीवन बाँचिरहेका लेखकको आफ्नै कष्टकर अवस्थाको मार्मिक चित्रण छ भने ‘आफ्नो अवस्था देखेर आफैँलाई दया लाग्यो’ शीर्षकको संस्मरणमा जीवनभर जानेर कसैलाई नठगेको जिकिर गर्दै संस्मरणकारले अरू धेरै मानिसबाट बरु आफू नै ठगिनुपरेको तथा जीवनमा यति निरीह हुनुपर्ला भनेर कहिल्यै नसोचेको अभिव्यक्ति दिएका छन् । ‘जीवन मरणको धारबाट जीवनतर्फ’ शीर्षकको संस्मरणमा आईसीयूबाट अन्य वार्डमा सरेपछि लेखकका मनमा उत्पन्न जीवनका तमाम वास्तविकताको रहस्योद्घाटन गरिएको छ । भौतिकवादी दृष्टिकोणप्रति जतिसुकै गहिरो आस्था राख्ने भए पनि र मानिसले आफूलाई जतिसुकै नास्तिक ठाने पनि कालको मुखैमा पुगेको अवस्थामा भने ईश्वरकै पुकारा गर्दोरहेछ भन्ने वास्तविकतालाई पौराणिक सन्दर्भसहित स्पष्ट पारिएको छ । लामो समयसम्म जेलमा बसेका मान्छे जेलबाट रिहा हुँदा दुःखी भएझैं मृत्युको मुखमा पुगेर नयाँ जीवन पाएका लेखक अस्पतालका डाक्टर, नर्स तथा स्टाफको हेरचाहमा अभ्यस्त भएकाले अस्पतालबाहिरको जीवन असुरक्षित पो हुने हो कि भन्ने मनस्थितिको बयान ‘अस्पतालबाट डिस्चार्ज’ शीर्षकको संस्मरणमा छ । ‘हामी श्रवणकुमार’ शीर्षकको संस्मरणमा लेखकका चारै दाजुभाइ पौराणिक पात्र श्रवणकुमारले झैं मातापिताको सेवासुश्रुषामा समर्पित भए पनि कोभिडका कारण ९७ वर्षको उमेरमा भएको निधन र यसबाट परिवारमा उत्पन्न पीडाको विस्तारपूर्वक बयान गरिएको छ भने ‘कोरोना र इन्टरनेट एडिक्सनको महामारी’ शीर्षकको संस्मरणमा कार्यालयीय काम घरबाटै सम्पन्न गर्नुपर्ने जटिल परिस्थिति र अनावश्यक फुर्सदका कारण केटाकेटी गृहिणी हरेक तहतप्काका मानिस मोबाइल एवं इन्टरनेटको दास बनेका कारण अपत्यारिलो तरिकाले मानसिक समस्याको समेत महामारी बेहोर्नुपरेको तीतो यथार्थको उद्घाटन गरिएको छ । ‘बाहिरी संसारलाई नियाल्दा’ शीर्षकको संस्मरणमा पोस्ट कोभिडका दिनहरूमा आफूप्रति आफन्त तथा साथीभाइको चिन्ता, चासो र हार्दिक व्यवहारको सूक्ष्म ढङ्गले विश्लेषण गरिएको छ भने ‘सामाजिक सञ्जालबाट गहन सम्बन्ध’ शीर्षकको आलेखमा सामाजिक सञ्जालका माध्यमबाट केही व्यक्तिहरूसँग गहन सम्बन्ध स्थापित भएको विषयलाई निकै महत्त्वका साथ स्मरण गरिएको छ भने ‘कोरोनापछि मानवतावादी चिकित्सकसँग’ शीर्षकको संस्मरणमा सुप्रसिद्ध डाक्टर रवीन्द्र समीरको स्वार्थरहित सहयोग तथा मानवतावादी भावनाको उच्च प्रशंसा गरिएको छ । ‘डरलाग्दा पोस्ट कोभिड समस्याहरू’ शीर्षकको लेखमा कोभिड निको भइसकेपछि देखापरेका चिन्ता, तनाव र उदासिनता जस्ता समस्याको वर्णन छ भने ‘साथीहरूको अविरल चासो’ शीर्षकको संस्मरणमा कलमजीवी तथा लेखकको आबद्धता रहेका संघसंस्थाका साथीहरूले व्यक्त गरेको चासोप्रति आभार प्रकट गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा पाएको साथ र स्नेहले रोगसँग लड्न मलमपट्टीको काम गरेको अभिव्यक्ति दिइएको छ । ‘पटकपटक स्वास्थ्य परीक्षण’ शीर्षकको संस्मरणमा डाक्टरहरूको सल्लाहअनुसार पीसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि पनि विविध रोगको पहिचानका लागि पटकपटक स्वास्थ्य परीक्षण गर्नुपरेको विषयको वर्णन छ भने ‘पुनर्जीवनले दिएको सन्देश’ शीर्षकको संस्मरणमा आईसीयूबाट बाहिर निस्किँदा लेखकले जीवनलाई नयाँ कोणबाट हेर्न थालेको, जीवनको वास्तविकता बुझेको, स्वास्थ्य र समयको महत्त्व बुझेको, आफन्त र पराइ चिन्ने अवसर पाएको, जीवनको क्षणभङ्गुरता बुझेको आत्मस्वीकारोक्ति र आफ्ना सीमाहरूलाई चिन्न सक्षम भएको, परिवार र आफन्तजनको महत्त्वबोध गरेको जस्ता जीवनोपयोगी विषयको मिहिन तवरले विश्लेषण गरिएको छ । ‘तन अस्पतालमा मन आकाश पातालमा’ शीर्षकको संस्मरणमा बिरामी भएर ओछ्यान पर्दाको अवस्थामा तन अस्पतालको बेडमा भए पनि मन भने टाढा टाढासम्म विचरण गर्दै गरेको अवस्थाको वर्णन गरिएको छ । यसमा लेखकले मृत्यु जन्मपछिको एक मात्र शाश्वत सत्य भएको तथ्यलाई गहन ढङ्गले केलाएका छन् । ‘पुटिङ द लास्ट फस्ट’ शीर्षकको संस्मरणमा कोरोना कहरका कारण मृत्युको मुखबाट फुत्किएर घर फर्केपछि संस्मरणकारका जीवनको लक्ष्य बदलिएको भन्दै लेखकले सहभागितामूलक ग्रामीण अनुसन्धान लेखाजोखा कार्यक्रमका बेलायती विशेषज्ञ रबर्ट च्याम्बरको ‘पछाडि परेकालाई अगाडि राख’ सिद्धान्तको स्मरण गरेका छन् । बाहिरी मुलुकमा जस्तै हाम्रो देशमा पनि पछाडि परेकालाई अगाडि राख्ने राग अलापिए पनि कोरोना महामारीमा जसको पहुँच छ, जुन परिवारको खर्च गर्न सक्ने क्षमता छ, उनीहरूको सबलता र सचेतनाका कारण समयमै बिरामीको उपचार भयो र उनीहरू बाँचेर घर फर्के । यसलाई कसैले भाग्यको साथ र कसैले ईश्वरको कृपा भने पनि ‘पुटिङ द लास्ट फस्ट’ नभई लेखकको हकमा भने फेमिली फस्ट हुन पुगेको यथार्थतर्फ यसमा सङ्केत गरिएको छ । ‘महामारीले देखायो ऐना’ शीर्षकको रचनामा नेपालजस्ता साना देशमा स्वास्थ्योपचार राम्रो छैन भनेर बिदेसिने लहर तत्कालीन समयमा व्यापक रूपमा देखिएको भए पनि अमेरिकाको न्युयोर्कलगायतका सहरमा अस्पतालको बेड र अक्सिजन मात्रै नभई माक्सको समेत अभाव भएको र कोभिड महामारीले शक्तिशाली देशको वास्तविकतालाई उदाङ्गो पारिदिएको घटनातर्फ यसमा ध्यानाकर्षण गराइएको छ । ‘पारिवारिक वियोगको पीडा’ शीर्षकको आलेखमा बुबा, माइला भाइ र साहिँला भाइलाई महामारीकै कारण एउटै समयमा गुमाउनुपर्दाको पीडाबाट मर्माहत बनेका लेखकको हृदयविदारक मनस्थितिलाई सूक्ष्म ढङ्गले विश्लेषण गरिएको छ । यस महामारीमा लेखकले बुबा तथा दुईजना भाइ गुमाउनु उनको परिवारका लागि मात्रै नभएर समस्त मुलुककै लागि अपूरणीय क्षति हो । लेखकले भोग्नुपरेको पीडा तथा उनका परिवारमा परेको यस्तै प्रकारको वज्रपात नेपाली समाजका हजारौँ परिवारमा पनि परेको हुनाले यसलाई तत्कालीन समाजको प्रतिनिधिमूलक घटनाका रूपमा लिन सकिन्छ ।

३. निष्कर्ष
सरल र काव्यिक भाषाको प्रयोग गरेर लेखिएको यस कृतिमा तत्कालीन कालखण्डमा मृत्युको मुखैमा पुगेर बाँचेका लेखकले भोग्नुपरेको असह्य पीडा उनले आर्जन गरेको ज्ञान र आठ दशकसम्म बटुलेको अनुभवको सन्तुलित प्रस्तुति पाइन्छ । यस कृतिमा मानव जीवनमा पारिवारिक सहयोगको महत्त्व र आदर्शको महिमागान गरिएको छ । पारिवारिक मेलमिलाप र सद्भावकै कारण आफ्नो पुनर्जीवन सम्भव भएको स्पष्टीकरण दिँदै संस्मरणकारले मानिसलाई आपत्विपत् परेको बेला अन्तिम घडीसम्म परिवारले नै साथ दिने भएकाले सुखमय जीवन तरिकाले जीवन निर्वाह गर्न चाहनेहरूले पारिवारिक सन्तुलन पनि कायम राख्न सक्नुपर्ने अभिव्यक्ति दिएका छन् । लेखकले यस कृतिमार्फत जीवन र स्वास्थ्यको वास्तविक महत्त्व यी दुवै कुरा सङ्कटमा परेको बेला मात्रै बुझ्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएका छन् । स्वस्थ छँदा एक्लोपनलाई निकै प्रेम गर्ने लेखक कसरी र कुन अवस्थामा एकान्तसँगै भयग्रस्त बन्न पुग्छ भन्ने विषयलाई यस कृतिमा निकै रोचक तथा मार्मिक ढङ्गले व्यक्त गरिएको छ । विचारमा असाध्यै स्पष्ट र जीवनवादी स्रष्टाको पहिचान बनाएका, मृत्युसँग कहिल्यै हार्न नचाहने उच्च मनोबलयुक्त प्रतिबद्धताका कारण नै रोगलाई परास्त गर्न सफल भएका हुन्् भन्ने विषयकै सेरोफेरोमा यस कृतिको रचना भएको देखिन्छ । मृत्युलाई निकै नजिकबाट स्पर्श गर्नपुगेका संस्मरणकारले कोरोना महामारीका बेलामा वर्तमान पुस्ताले के कस्ता कठिनाइ भोग्नुपर्यो ? के कति कमजोरी र विसङ्गति भए ? र के कति राम्रा कुरा भए ? भन्ने विषयको सूक्ष्म अध्ययन गर्नका लागि प्रस्तुत कृति निकै उपयोगी रहेको छ ।

मानेभञ्ज्याङ–६, थाक्ले, ओखलढुङ्गा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।