दुखेर नै जीवनदेखि हारेको म मान्छे
दुख्नुले नै तर धेरै खारेको म मान्छे ।।
घाउसँग मितेरीको साइनो गाँसेपछि
मुटु दुख्ने बेलापनि टारेको म मान्छे ।।
अब जीवन कति होला खुसी पाउनुपर्ने
लड्दा लड्दा समयले मारेको म मान्छे ।।
पीडा पनि आफ्ना-आफ्नै हुन्छन् संसारमा
आत्मग्लानी जे जति छन् स्विकारेको म मान्छे ।।
अब भने साह्रो गाह्राे एक्लै खप्नुपर्छ
उमेरैले यसमा ढुक्क पारेको म मान्छे ।।
बाधा विघ्न जति पर्छन् लडेकै छु अझै
उकालोले यदाकदा झारेको म मान्छे ।।
गुनासो म कहाँ अनि कसका अघि गरौँ
नियतिले पछिल्तिर सारेको म मान्छे ।।