समयको परिवर्तनसँगै अचेल अधिकांश वृद्धवृद्धाहरू घरको चौघेरा भित्र झोक्राइरहेका भेटिन थालेका छन् । केही साल अघिसम्म यदाकदा बाहेक यो दृश्य त्यति बाक्लो देखिदैन थियो । वर्तमान अवस्थामा सबै यसरी झोक्राउनु पर्ने कारण भने एउटा मात्र छैनन्, अनगिन्ती छन् । गजबको कुरा, प्रायः यस्ता दृश्य आफ्नो परिवारमा होइन प्रायः अर्काको घर परिवारमा मात्र देखिन्छ । अचेल म पनि यसरी नै हरेक क्षण झोक्राइरहने गरेको छु । अधिकांश नेपालीहरूका जस्तै मेरा सन्तान पनि उज्ज्वल भविष्य खोजीको निहुँमा घर छोडेर हिँडेको निकै समय भइसकेको छ । यतै अल्मलिएका बाँकी सन्तानले चिन्दैनन् भन्न त मिल्दैन, मजाले चिन्छन् । तर तिनलाई घर व्यवहार र परिवारको बोझले आमा बाबुलाई समय दिने फुर्सद त्यति भए जस्तो लाग्दैन ।
उमेर चढ्दै जाने क्रममा अधिकांश मान्छेको जस्तै मेरो पनि सहने शक्ति घट्दै गएको छ । वृद्धावस्थामा देखिने गरेका अनेक समस्या बिस्तारै म भित्र पनि देखापर्न थालेका छन् । आँखा, कान तथा अन्य आन्तरिक र वाह्य अङ्गहरू कमजोर र सिथिल बन्दै गएको महसुस हुन थालेको छ । युवावस्थामा भन्दा अचेल मलाई धेरै चित्त दुख्ने गरेको छ । सायद अधिकांश वृद्धवृद्धाहरूलाई पनि यस्तै हुनसक्छ । हजुरबा पुस्तालाई बा र काकाहरूले ध्यान दिए जस्तो हाम्रो पुस्ताले बाआमालाई त्यति ध्यान दिन नसकेकै हो । यो सिलसिला बढदै गएको छ । त्यसैले हाम्रा छोरा पुस्ताले पनि हामीलाई समय दिन नसकेको हुनुपर्छ, यसलाई कसरी अस्वाभाविक मानौं ! मानिसहरू भन्छन्, “बुढेसकालमा जीवनको आनन्द लिन जान्नुपर्छ । बुढेसकालमा मुस्कुराउन सक्ने व्यक्तिलाई बुद्धिमान व्यक्ति भनिन्छ " दुर्भाग्यवश जीवनको आनन्द लिने र सधैँ मुस्कुराउने अवसर हतपती सबैलाई प्राप्त हुँदैन । मुस्कुराउन र आनन्द लिन भित्रदेखि खुशी हुन सक्नुपर्छ , जब त्यो खुशी नै आउँदैन भने कसरी मुस्कुराउन सकिन्छ ? कसरी आनन्द लिन सकिन्छ ?
गजबको कुरा, बुढेसकालको सोचाइ डरलाग्दो हुन्छ । डरलाग्दो यसकारण हुन्छ, मान्छेले क्रमस युवावस्था र प्रौढावस्था पार गरेर वृद्धावस्थामा प्रवेश गरिसकेको हुन्छ । वृद्धावस्थामा शरीरमा बल र तागत घट्दै जान्छ । घर परिवारका सदस्यहरूले समेत उपयोग विहिन वस्तुमा गणना गर्न थाल्छन् , यसको छनक बिस्तारै हुँदै जान्छ । यसैले वृद्धावस्था लागेपछि हरेक क्षण मृत्युले ढोका ढकढक्याइ रहेको जस्तो लाग्छ । आफूले हाड घोटेर जोडेको सम्पत्तिमा अन्य कसैले हक जमाउँदै गरेको देख्नुपर्दा वृद्धहरूको मनमा नैराश्यता बढ्दै जान्छ । मनभित्र देखि तयार गर्ने गरिएका अनगिन्ती जीवन जिउने योजनाहरू एकाएक स्थगित हुन पुग्छन् । हुन त कसैले हक नजमाउने हो भने हाम्रो परम्परा र सामाजिक संरचना खल्बलिने सम्भावना हुन्छ या त ध्वस्त नै हुन्छ । वृद्धावस्थामा देखिने गरेका अधिकांश मनमुटाव र पारिवारिक समस्याहरू पुर्ख्यौली सम्पत्तिका कारण हुने गरेको पाइन्छ । तर यो यथार्थलाई अधिकांश व्यक्तिले सहजै स्वीकार गर्न चाँहदैनन् ।
पुस्ता हस्तान्तरण नियमित र अनिवार्य सर्त हो । हामी अलमलिएको चाँही कहाँनिर हो भने पुस्ता हस्तान्तरण प्रकृयालाई हामीले सामान्य घट्ना मान्न सकिरहेका हुँदैनौं । पुस्ता हस्तान्तरण प्रक्रियालाई सामान्य घटना सम्झनुपर्छ । जायजेथा बुझाउने र बुझिलिने दुवै पक्षले यसलाई सामान्य घट्नाको रुपमा लिनुपर्छ । पुस्ता हस्तान्तरण बोली र वचनले मात्र हुँदैन । आफ्नो जिम्माको जायजेथा र आफ्नो जीवनभरीको जति भएको कमाइ पनि साथै बुझाउनु पर्ने हुन्छ । यसरी बुझाएपछि वृद्ध पुस्ताले संसारमा नभएको अनौठो काम गरेँ भन्ने सोच राख्नु हुँदैन । यसरी आफ्नो पोल्टाको सम्पत्ति र जायजेथा बुझाउने कार्य वृद्धावस्थामा सबैले गर्छन् र गर्नुपर्छ । हामी यही परम्परा र प्रचलनमा अभ्यस्त हुँदै आएका छौँ । यसरी सम्पत्ति हस्तान्तरण गर्दा नोक्सान मात्र हुँदैन व्यक्तिगत रूपमा फाइदा पनि हुन्छ । जब हामीसँग आफ्नो जिम्मामा सम्पत्ति बाँकी नभएर बुढो शरीर मात्र बाँकी रहन्छ, सबै थरीका तनावबाट मुक्त हुन पाईन्छ । जीवनको सबैभन्दा ठूलो आनन्द तनावमुक्त हुनु हो ।
वृद्धावस्थामा जतिसक्दो तनावमुक्त रहनुपर्छ । पुस्ता हस्तान्तरण पश्चात झिनामसिना विषयमा चिन्ता लिइरहनु पर्दैन । गृहस्थ धान्ने र घरको प्रबन्ध मिलाउने जिम्माबाट मुक्त हुन जिउ मात्र होइन, मन पनि हलुका हुन जरूरी छ । अब घर संचालन गर्दा नपुग हुने आर्थिक खर्चको चिन्ता तपाइँले कहिले पनि नलिए हुन्छ । किनकि पुस्ता हस्तान्तरण गर्दा सम्पत्ति मात्र होइन, त्यो महत्वपूर्ण जिम्मेवारी समेत तपाईँले छोरा पुस्तालाई हस्तान्तरण गरिसक्नु भएको हुनेछ । अब भने एकाएक वृद्धवृद्धाहरूको भूमिकामा परिवर्तन आइसकेको हुन्छ । यसबेला वृद्घवृद्धाहरू घरको जिम्मेवार घरमूलीबाट घरको सम्मानित सल्लाहकारमा रुपान्तरित भइसकेका हुनेछन् । सल्लाहकारको काम कसैले सल्लाह मागे उचित रायसल्लाह दिने र नमागे खुशी भएर आनन्दले रहनु हो, यो अवस्थामा चिन्ता लिनु हुँदैन ।
होइन ,यस्तो स्थितिमा घरको लथालिङ्ग अवस्था देख्दादेख्दै पनि घर सम्हाल्न नसक्ने र सक्ने भए पनि नपाइनुलाई भयङ्कर अपमान र कष्ट पाएको सम्झनु हुँदैन । निकै वर्षसम्म आफू एक्लैले सम्हालेको घरमा आज आफूले दिन खोजेको एउटा सानो सल्लाह कसैले स्वीकार गर्दैन भने पनि चिन्ता नलिए हुन्छ । किनकि तपाईँ भन्दा उनीहरू सक्षम भएको उनीहरूको सोचाइ हुन्छ । यस्तो अवस्थामा सल्लाह मागेनन् भने ढुक्क हुनुहोस् तपाइँ भन्दा उनीहरू सक्षम भइसकेका रहेछन् । सन्तान सक्षम हुँदा कुनै पनि पितामाताले चिन्ता गर्नु पर्दैन बरु खुशी हुनुपर्छ ।
पुस्ता हस्तान्तरणमा जिम्मेवारी लिनेले पनि के बुझ्नुपर्छ भने , “ अनिवार्य सम्पत्ति प्राप्त गर्नु बाध्यात्मक सर्त होइन । हामीले कसैको दयामाया र विवेकका कारण पुर्ख्यौली सम्पत्ति हात पारेका हौं । यदि हाम्रा बाबु बाजेले पुर्ख्यौली सम्पत्ति नजोगाइदिएको भए आज आफ्नो हातमा केही पनि पर्ने थिएन" । हरेक सन्तानले पितामाताको यस कार्यलाई उनीहरूको महत्वपूर्ण र महान योगदान सम्झनुपर्छ । मातापिता भनेका परमेश्वर हुन् भन्ने ठान्नुपर्छ । पिता माताको स्याहार सम्भार र मान सम्मान हामी सबैको कर्तव्य हो भन्ने बुझ्नुपर्छ ।
कतिपय सन्तानले यही यथार्थलाई मनन गर्न नसकेकोले वृद्ध मातापितालाई निकम्मा सम्झने गर्छन् । तर सन्तानका नजरमा तपाइँ निकम्मा सावित मानिए पनि , केही साल अघि आफूले अर्काको समेत घरपरिवारमा भएको बेमेल अन्त्य गरिदिएको, मजासँग घर गृहस्थ सम्हालेको दृश्य आँखा अगाडि आउँँछ, त्यसलाई सम्झनुपर्छ र आफू निकम्मा नभएको विश्वास गर्नुपर्छ । विश्वासले आत्मबल बढाउँछ । आफूलाई समाजले विश्वास गरेको सम्झना आउन सक्छ। सायद यसरी घरपरिवारबाट तिरस्कृत हुनुपर्ने अन्य केही कारण नभए पनि आफूमा आएको वृद्धावस्था नै त्यसको एक मात्र कारण बनिरहेको हुन्छ ।
वृद्धावस्थामा रोग, दुखाइ, पीडा र वचनले बिस्तारै दिएको झिनो र प्याट्ट थप्पड पनि कसैले गाला फुट्ने गरि दिएको चड्कन जस्तै लाग्छ । सक्रिय व्यावसायिक जीवनबाट अवकाश पाएको कारणले गर्दा मनमा खालीपनको अनुभूति हुन्छ । बिभिन्न माध्यमबाट उक्त खालिपन भर्ने कोशिस गरिरहनुपर्छ । आध्यात्मिक चिन्तन, आध्यात्मिक अध्ययन, टेलिभिजन, मोबाइल, आफ्नो उमेरका साथीहरूसँगको भेटघाट, वरपरका मन्दिरमा दर्शन, चौर र पार्कमा गरिने भ्रमण यसको लागि भरपर्दो विकल्प हुन सक्छन् । उल्लेख गरिएका यिनै भौतिक र प्राकृतिक वस्तुहरूसँग निर्धक्कसँग बातमार्न सकिन्छ । जब बात मार्ने साथी पाइन्छ, कसैसँग आफ्नो मनमा गुम्सिएर बसेका कुरा पोख्न पाइन्छ, मन हलुका हुन्छ ।
बुढेसकाल त्यस्तो अवस्था हो,जसमा हाड,छाला,दाँत, रौं छिप्पिँदै जान्छ र मन भने कलिलो हुँदै जान्छ । यसर्थ सानो ठक्करले पनि मनमा चसक्क चस्का दिने गर्छ । यस्तो ठक्कर आफूले मात्र होइन, अधिकांशले पाइरहेका हुन्छन् , चित्त बुझाउनुपर्छ । सन्तान र परिवारका सदस्यको बोली बचन मात्रले पनि पहरामा ठोकिएको कुहिनोलाई जस्तै झननन्न झन्का दिन्छ । यस्ता झिनामसिना झन्काले केही पनि लछार्दैन । मान्छे जब साठी वर्षबाट उकालो लाग्छ, आँसु र हाँसो कतिखेर फुत्कन्छ स्वयं आफैलाई थाहा हुँदैन । यो सामान्य घटना हो । यसलाई ठूलो घटना मान्नु हुँदैन । यस्ता समस्याबाट छुटकारा पाउन बुढेसकालमा एउटा बानीको विकास गर्नुपर्ने हुन्छ । तिरस्कार, अपमान र हेला हुँदा रिसाउनुको सट्टा, सके हाँसिदिनु पर्छ अन्यथा बुढेसकालको बुद्धिको फाइदा उठाएर कुनै प्रतिक्रिया विहिन भएर बस्ने अभ्यास गर्नुपर्छ । यस्तो अभ्यासले अपमान गर्नेले मौन सजाएँ पाएको अनुभूति गर्न सक्छ ।
मलाई सम्झना आउँछ, सानो छँदा मलाई केही बुढापाकाहरूले निकै माया गर्थे । म उनीहरूले सुनाउने कथा र कहानीको नियमित श्रोता थिएँ । तिनका कुराले म मनोरञ्जन लिन्थेँ भने उनीहरू आफ्ना कुरा सुनाउने मान्छे पाएकोमा दङ्ग पर्दै मन हलुका बनाउँथे ।
तिनीहरूको कुरा गर्ने शैली र तिनको मुहारमा देखिने शान्तिले मेरो आत्मविश्वास बढ्थ्यो । मलाई लाग्थ्यो युवा र प्रौढहरूको तुलनामा वृद्ध वृद्धाहरूले, जीवनलाई शान्तिपूर्वक हेर्ने गर्दछन् । उनीहरू अधिकांश समय खेत बारी र गाई भैँसी का गोठ वा कुनै काममा संलग्न हुन्थे ।
मलाई लाग्थ्यो, तिनीहरू भगवानसँग कुरा गर्न सक्छन् , माटो र प्रकृतिसँग कुरा गर्न सक्छन् । त्यसैले यी धेरै वर्षसम्म बाँचिरहेका छन् । तिनीहरूबाट मैले प्रसस्त माया पाएँ , त्यसको बदलामा उनीहरूलाई मैले पनि माया दिने गरेको थिएँ । सायद मायाको उमेर हुँदैन, आकार पनि हुँदैन माया निराकार हुन्छ । मायाको क्षेत्रफल पनि हुँदैन । जसले दिएपनि माया आखिर माया हो । प्राप्त माया शान्तिमा रुपान्तरित हुन्छ । यसैले वृद्धावस्थामा माया र सद्भाव आफूले मात्र खोजेर हुँदैन आफूले पनि अरुलाई दिने अभ्यास विकसित गर्नुपर्छ ।
विशेष गरी वृद्ध वृद्धाहरूसँग बालबालिका र किशोर किशोरीलाई सुनाउने नीतिकथा , उखानटुक्काहरू प्रसस्त हुन्छन् । जुन कथाले बालबालिका एवं किशोर किशोरीहरूलाई गहिरोसँग छुन्छ । सायद त्यसैले होला, मेरो जीवनभरी, मैले सधैं बुढ्यौली भनेको व्यक्तिको सबैभन्दा सुन्दर र अर्थपूर्ण उमेर हो भन्ने विश्वास गर्ने गरेको थिएँ , जुन विश्वास आजसम्म पनि कायम छ । युवा पुस्ताको मन जित्न यस्ता क्रियाकलापहरू निकै सहायक हुनसक्छन् । सँधैँ अमिलो मुख बनाएर बस्ने वृद्धवृद्धालाई परिवारले मात्र होइन, समाजले पनि मन पराउँदैनन् । परिवारलाई आफूले दिन चाहेको र तिनले लिन नचाहेको सरसल्लाह र निर्देशन भरिसक्के दिन छोडिदिनु पर्छ । उनीहरूले मागेको सल्लाह भने जसरी पनि दिनुपर्छ ।
जब म गाउँको संस्कृत निम्नमाध्यमिक विद्यालयबाट केही टाढा रहेको आरुघाट स्थित माध्यमिक विद्यालयमा पुगेको थिएँ, मैले आफूलाई एकाएक बूढो भएको कल्पना गर्न थालेको थिएँ । त्यसबेला हामीले कथा कहानी सुनाउने र सुनिदिने भाइ पुस्ता गाउँमा थिए । हामी उनीहरूलाई कथा कहानी सुनाउने कोशिस गर्थ्यौँ । यस प्रकार केही सुनाउने रहर म भित्र बढ्दै गएको थियो । लाग्थ्यो, यी भाइ पुस्ताले राम्ररी नसुनेका कुरा भविश्यमा नाति पुस्तालाई सुनाउनु पर्छ । जब बुढो भइन्छ म पनि बौद्धिक व्यक्तित्त्व बनेर किशोर र युवायुवतीलाई यसरी नै कथा कहानीहरू सुनाउने छु । त्यसबेला जसरी मैले बुढाबुढीको मान सम्मान गरेको थिएँ, त्यसरी नै बुढो हुँदा मेरो पनि मान सम्मान हुनेछ भन्ने आशा साँचिरहेको थिएँ । मेरो यो सोचाइमा केही शङ्का र आशङ्का हरू जिवितै थिए । प्रथमतः बुढ्यौली उमेरको अनुभव गर्न पाइन्छ या पाइन्न ? यदि पाइने भयो भने मेरा कथा कहानीहरू कसैले सुनिदिने छन् या छैनन् ! मेरो मनमा यस प्रकारको विचार उठिरहेको हुन्थ्यो । नभन्दै, आजभोलि मैले जानेका कथा कहानी सुनिदिनेको अभाव भएको छ । एक्लै कथा कहानी र उखान टुक्का भनौं मान्छेले पागल भनिदिने डर हुन्छ । कसलाई सुनाउँ , केही छोरा बुहारी मुलुकमा छैनन्, मुलुक छोड्न नसकेका छोरा बुहारीलाई फुर्सद छैन । ध्यान दिएर सुनिदिन्छ कि भन्ने आसा गरेको नाति सात समुद्रपारि छ ! अचेल धेरै वृद्धवृद्धाहरूले आफ्नो कथा कहानीहरू फेसबुक, युट्युब र इन्स्टाग्रामलाई सुनाएर मन हलुका पार्ने कोशिस गरिरहेका देखिन्छन् । जसरी मैले सुनाइरहेको छु । यो डिजिटल प्रविधिको फाइदा तपाइँ हामीले पनि लिन सक्नुपर्छ। चिन्ता होइन, खुशी हुन सिक्नुपर्छ । गर्व गर्नुपर्छ, धरामा जन्मिने सबैले बुढ्यौली उमेरको स्वाद लिन नपाउन सक्छन् । त्यसैले बुढ्यौली अवस्था पक्कै पनि ईश्वरको वरदान हो । बुढ्यौली उमेरमा पुग्न पाएकोमा ईश्वरलाई धन्यवाद दिन बिर्सनु हुँदैन र आफूलाई पनि भाग्यमानी सम्झनुपर्छ ।
"बुढ्यौली उमेरमा पुग्नु, पहाड मात्र होइन सगरमाथा चढ्नु जस्तै हो । जब हामी पहाड चढ्न आरम्भ गर्छौं, हामीलाई थकाइ लाग्न सुरुहुन्छ । सास छोटो हुन्छ र सास फेर्न कठिन हुन्छ । तर याद गर्नु पर्ने कुरा के हो भने यसबेला हाम्रो दृष्टिकोण विस्तार हुँदै गएको महशुस हुन्छ । जसरी बुढेसकालमा प्रात: घुमफिर गर्दा हुन्छ । मान्छे प्रौढावस्थासम्म पुग्दा सानातिना पहाड चढेको अनुभव गरिसकेको हुन्छ । बुढ्यौली अवस्था सानो पहाड मात्र होइन सगरमाथाको आरोहण गरे जस्तै हो । सगरमाथाको आरोहण गर्न रहर गरेर मात्र हुँदैन ।
जब म छरछिमेक, गाउँ घर र समस्त मुलुकको वातावरण र सामाजिक अवस्था हेर्छु, बुढेसकाललाई सकारात्मक नजरले हेर्ने आँखा हतपती देख्न पाइँदैन ! मानिसहरू बुढ्यौली उमेर देखि डराउँछन् , तर्सिन्छन् । हालको विकसित प्रणालीले बुढ्यौलीलाई निन्दा गरिरहेको प्रष्ट देख्न सकिन्छ । बुढ्यौलीलाई हेर्ने नजरिया परिवार, समाज र राज्यको करिब उस्तै पाइने गरेको छ । बुढाबुढी परिवारका बोझ मानिन्छन् समाज र राज्यले पनि राजनीति बाहेक सबै क्षेत्रमा वृद्ध वृद्धालाई अघोषितरुपमा निषेध गर्ने गरेको छ । राजनीतिले केही बुढाखाडाको अस्तित्वलाई स्वीकार गरे पनि नयाँ बुढाहरूलाई पत्याउँदैन । पुराना र यसभन्दा अघि विभिन्न उच्च ओहोदामा पुगेर पद र पैसाको तर मारिसकेका हरू मात्र राजनीतिको छनौटमा पर्ने गरेका छन् । वृद्धवृद्धाहरूले अर्काको छनौटमा पर्ने आश गर्ने होइन, आफ्नो छनौटमा अरुलाई पार्ने खेल देखाउनु पर्छ । वृद्धवृद्धाहरूको नयाँ र नौलो काम देखेर सबै पछि लाग्ने परिस्थिति जन्माउने कोशिस गर्नुपर्छ ।
चितवन।