18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जोसमनी : मौलिक नेपाली दर्शन

विचार डा. टीकाराम आचार्य आरुणि February 9, 2025, 4:47 pm
डा. टीकाराम आचार्य आरुणि
डा. टीकाराम आचार्य आरुणि

१. परिचय
नेपाली माटोमा जन्मे हुर्केको र सनातन धर्मका धार्मिक विधिविधानका कट्टताको पञ्जाबाट उम्काउनका लागि आविष्कार गरिएको सुधारपरक व्यावहारिक चिन्तन जोसमनी दर्शन हो । एउटा सम्प्रदायका भक्तहरुमा प्रचलित भएका कारण यसलाई ॅमत’ पनि भन्न सकिन्छ । यो दर्शन सनातनीहरूले स्वीकार गर्ने वेद निर्दिष्ट कर्ममा आधारित भए पनि यसले कट्टताका नियमलाई हुबहु मान्दैन बरु परिष्कार गरी सरल बनाएर जीवन चलाउनु पर्छ भन्ने मान्यता सहर्ष स्वीकार गर्छ । वैदिक विधिमुताक गरिने यज्ञयज्ञादिमा हुने अभिचार विधिको जटिलता एवं त्यसबाट पोषित छुवाछुत लगायत भेदभावपूर्ण नीति नियम बहिष्कार गर्दछ । मन, वचन र कर्मबाट अहिंसालाई जोड दिनु, ईश्वरीय आराधनालाई सजिलो र सर्वस्वीकार्य बनाउनु, समाजका सडेगलेका चिन्तनहरूलाई अफाल्नु, निर्गुण ईश्वरको अस्तित्व ग्रहण गर्नु, विभेद, भ्रष्टाचार, आडम्बर, नारीहिंसा, गरिब विरोधी तŒवको उछितो काड्नु र जातिप्रथाको खुेलेर विरोध गर्नु यस मतका विशेषता हुन् । धर्मलाई कल्पनाको लेपबाट अतिरञ्जित नगरी व्यावहारिक बनाउनु पर्ने यस मतको मूल विचार रहेको छ ।
जोसमनीका अनुयायीहरू निर्गुण शिव तŒवको उपासना गर्छन् । योग, साधना, तपस्या र वैराग्य यस मतका विभाग हुन् । यस मतको व्याख्याका लागि लेखिएका रागवाणी, गुरूपञ्जा, रागभजन, लहरी स्तुति, अजप गीत र भजनहरू प्रशस्त मात्रामा उपलब्ध छन् । उक्त कृतिमा शिव, राम, कृष्ण, ईश्वर, प्रभु, सत्गुरु र ब्रह्म जस्ता ईश्वरपरक शब्दहरूको प्रयोग गरी भजनको रचना गरिएको छ । नामरुपमा जे भने पनि सारमा परम शिवतŒवप्रतिको निष्ठा उनीहरुको लक्ष्य रहेको देखिन्छ । उल्लेख गरिएअनुसार ईश्वरका अनेका नाम देखिए पनि तिनको साकार स्वरूप भने मानिएको छैन । त्यो ईश्वरलाई प्रशन्न तुल्याउनका लागि कर्मकाण्ड विधिको उपयोग गर्नुपर्छ भन्ने उनीहरूको विधानमा छैन ।
जोसमनी मतका संस्थापक आचार्य सन्त शशिधर हुन् । उनीपूर्व पनि उनका गुरु र परगुरु हरिश्चन्द्र (प्रथम), हरिभक्त (प्रथम), हरिश्चन्द्र (द्वितीय) र धिर्जेदिल दास गरी चारवटा सन्ताहरूको गुरुपरम्पार थियो भन्ने मत जनकलाल शर्माको छ (शर्मा, २०७७ : पृ.५) । यी सन्तका अतिरिक्त लगभग तिन दर्जनजति सन्तहरूको गुरूपरम्पराबाट जोसमनी मत रहेको देखिन्छ । सन्त शशिधर पनि ज्ञानदिल दास र मोक्षमण्डलले जोसमनीको दर्शनलाई थप मजबुद पार्ने काममा योगदान थपेका छन् । कालीमाई र शक्तिमाई जस्ता महिला साधुहरू पनि यस मतबाट दीक्षित भएका देखिन्छ । जुनसुके जातजाति, लिङ्ग र समूहको मानिसलाई यस मतको दीक्षा लिने अधिकार रहेको छ (कतै किसान र व्यापारीलाई नलिनु भन्ने पनि छ) । यसरी योगसाधनाबाट आत्मचिन्तनको बाटो अवलम्बन गरी समाजलाई जागरुक तुल्याउने काम जोसमनीका सन्तहरुले प्रशस्त मात्रामा गरेका छन् ।
निर्गुण भक्तिका माध्यमबाट मानवलाई जागरुक तुल्याउने कर्ममा जोसमनीका साधुहरु दत्तचित्त भएर लागेका छन् । आजभन्दा दुई सय वर्ष जति अगाडि सगुण भक्तिको प्रबलता रहेको र त्यसका कारण समाजमा गलत प्रथाहरु व्याप्त रहेका अवस्थामा नयाँ धार्मिक उद्बोधका माध्यमबाट जनसाधारणलाई चेतनशील पार्ने र अध्यात्मका माध्यमबाट आनो समेत जीवन सुधार गर्ने उपाय जोसमनीहरुले खोजी गरेका हुन् । उनीहरुले खोजी गरेको आध्यात्मिक विचार कविता र भजनका माध्यमबाट प्रस्तुत भएको पाइन्छ । तिनै प्रमाणका आधारमा उनीहरुको मौलिक चिन्तनका बारेमा संक्षेपमा क्रमशः प्रस्तुत गरिएको छ ।
२. जोसमनी दर्शनका मूलभूत मान्यता
जोसमनी दर्शन सुधारवादी आस्तिक दर्शन हो । यसले आत्मा र परमात्मालाई एकाकार भएको देख्छ त्यसकारण अद्वैतवादी दर्शन हो । आत्मा परमात्माको ऐक्यसम्म पुग्ने उपायका रुपमा अष्टाङ्ग योग र हठ विधिलाई अवलम्बन गर्छ । आसन, प्रणायाम, बन्ध, मुद्रा र ध्यानको उपयोग गरेर कुण्डलिनीको जागरण गर्न सकिन्छ भनी विश्वास गर्छ । वैराग्यलाई मात्र होइन मानवताको रक्षा, आडम्बरको विरोध, अभिचारमा सुधार र अन्याय एवं शोषणका विरुद्धमा चेतनाको बिगुल फुक्ने काम गर्न छुटाउँदैन । धार्मिक कट्टरता र जातिवादलाई अस्वीकार गर्दछ । यस मानेमा जोसमनी परिष्कारपरक अद्वैतवादी आध्यात्मिक दर्शन हो ।
२.१ गुरु गरिमा
गुरु शिक्षाका मुहान हुन् । गुरुको मार्गदर्शनबिना धर्म, अर्थ, काम र मोक्षको सिद्धि सम्भव छैन । गुरुको मार्गदर्शनभन्दा अगाडिको अवस्थाको शिष्य अज्ञान अवस्थाबाट गुज्रिरहेको हुन्छ । गुरुको सही शिक्षादीक्षापछि ऊ परमार्थको कर्म सहज रूपमा अगाडि बढाउन सक्छ । अनुभवविहीन शिष्यलाई अनुभवी गुरुले प्रशिक्षण दिएर शनैशनै हठयोगको बाटोमा अगाडि बढाउँछन् । गुरुको लबेदाको फुर्को समाएर शिष्य पनि कुण्डलिनी शक्तिको जागरणका लागि गर्नुपर्ने उपायहरू क्रमशः सिक्दै जान्छ । पौराणिक साहित्यको अध्ययन र कर्मकाण्ड विधिबाट सजिलै ब्रह्मप्राप्ति हुन नसक्ने कुरा पनि गुरुबाट नै बुझ्छ । निरञ्जन, निराकार स्वरूप ब्रह्मको अन्वेषण गरी ज्ञानको प्रवोधीकरणका लागि गुरुकुलको ग्रहण गरी परमार्थका लागि अगाडि बढ्छ (शशिधर, २०७७ : पृ.१७७) । शिष्यलाई सुशिक्षित र सुसंस्कृत बनाउनका लागि गुरु पनि सोही अनुरूपको अनुभवी र हठयोग जानेको हुनु अत्यावश्यक छ । हठयोग योगको पनि योग भएको हुनाले त्यस्तो योग सिकाउ गुरु एकदमै शक्तिशाली र अनुभवी हुनु आवश्यक छ ।
गुरुले देखाएको बाटोमा बिना संशय कटिबद्ध भई हिँड्नु शिष्यको परम कर्तव्य हो । शिष्यले निराशालाई समूल नष्ट गर्नुपर्छ । अन्तर्प्रेरणा, आत्मविश्वास र हौसलालाई सदैव हृदयमा सुसज्जित राख्नुपर्छ । अष्टाङ्ग योगका विधिको ज्ञान भएपछि कुण्डलिनी योगको बाटोलाई समाउनुपर्छ । साधनाबाट आधारचक्रदेखि ब्रह्मरन्ध्रसम्मका चक्रहरूको शरीरमै अन्वेषण गर्नुपर्छ । शरीरमा रहने नाडीहरूको गति र स्थिति बुझ्नुपर्छ । कुण्डली जागरणका काइदाहरू गुरुबाट ग्रहण गरेपछि ज्ञान र वैराग्यको सहयोगमा बिस्तारै शरीरको नश्वरता बुझ्नुपर्छ । गुरुको आशीर्वाद, निरन्तरको योगाभ्यास र नश्वर शरीरको नश्वरता बुझेपछि वैराग्य सुदृढ हुँदै जान्छ । त्यसपछि वैराग्यको दृढता र प्रकृति (माया) उत्पादित वस्तुहरूको अवबोध हुन्छ । कुण्डली जागरणका दशवटा चरण पूरा गरेपछि परम अखण्ड ब्रह्मको बोध हुन्छ (शशिधर, २०७७ :पृ.१७२) । यसरी जोसमनी मतमा गुरुकुलीय परम्पराको अधीनमा रही ज्ञानको प्रवोधीकरणका लागि अथक प्रयास गरिएको हुन्छ । यस मतमा हठयोग महŒवपूर्ण भएको हुनाले त्यसको अभ्यासका लागि गुरुमुखी हुनु एकदमै जरुरी छ । समाजिक अन्धता, कुरीति, अन्याय र शोषणका बिरुद्ध भक्तिकै मध्यमबाट जागरण फैलाउनुपर्छ भन्ने चेतना भरिदिने पनि गुरु नै हुन् । उनै आत्मज्ञानीहरूले निर्भयतापूर्वक आफ्नो विचार समाजमा प्रस्तुत गर्नका लागि प्रशिक्षण दिन्छन् । गुरुकै निर्देशन र संरक्षणबाट योगी समाधि अवस्थासम्म पुग्छ भन्ने जोसमनी मत आगमनात्मक शास्त्र हो ।
जोसमनीहरूले ईश्वरलाई र अध्यापक दुबैलाई गरु शब्दबाट सम्बोधन गरेको पाइन्छ । यस मतलाई अवलम्बन गर्नका लागि शिष्य शाब्दी मात्र भए हुन्छ । त्यसपछिका क्रियाहरू योगीका लागि निर्दिष्ट हुन् । गुरुको अगुवाइबिना कुण्डलिनीको अभ्यास मात्र होइन ध्यान विधिको समेत सही तरिकाले उपयोग गर्न नसकिने हुनाले गुकुलमै अध्ययन गरी ज्ञानको क्षितिज फराकिलो पार्नुपर्छ भन्ने समर्पणवादी चिन्तन जोसमनीको रहेको छ ।
२.२ निर्गुण परमात्माको प्रशस्ति
परमात्मा साकार नभएको हुनाले मठमन्दिरमा उसको बास हुँदैन । त्यहाँ अर्पण गरेका नैवेद्यको भोग उसले गर्दैन । भोगको मोह नभएको हुनाले भोक्ता होइन । साकार पनि छैन । त्यसको आरम्भ कहाँबाट भयो र कहाँ पुगेर टुङ्गिन्छ भन्ने ठेगान हुँदैन । ठेगान नभएको ईश्वरको नाम अनादि र अनन्त हो । कहिल्यै नास नहुने भएकाले नित्य छ । ऊ परिवर्तनशील हुँदैन । प्रकृतिका मायाको प्रभाव नरहेको परमात्मा निरन्ञ्जन स्वरूपको हुन्छ । त्यही परमात्मालाई सन्त शशिधरले गुरु, साहेब, मातापिता र स्वामी भनेर सम्बोधन गरेका छन् (शशिधर, २०७७ : पृ.१२४) । परमात्मालाई मानिसको शरीरमा परिचय दिने तŒव जीवात्मा हो । जीवात्माका कर्मबाट ॅम प्रकृति निर्मित वस्तु होइन, मेरो स्वरूप त मन, बुद्धि अहङ्कारभन्दा भिन्न छ’ भन्ने बोध भएपछि अज्ञानको समाप्ती हुन्छ । त्यो अवस्था नै परमात्मा र जीवात्मा एक भएको परिस्थिति हो । जीवात्मालाई ॅम अज्ञानी भएको हुनाले जन्ममृत्युका चक्करको बन्धनमा परेको छु’ भन्ने बोध गराउने सामर्थ्य उही परमात्माबाट प्राप्त हुन्छ । परमात्मा तŒव मानिसका प्राण, मस्तिष्क, मन, अहङ्कार, शरीर लगायत भुसुनादेखि यावत् ब्रह्माण्डसम्म सबैमा व्याप्त रहन्छ । त्यही अखण्ड ब्रह्मको सन्धान गर्नु मानवचोलाको प्रमुख कर्तव्य हो ।
एउटै ब्रह्म चराचर जगत्मा व्याप्त छ । त्यसकारण यो साराका सारा जगत् ब्रह्ममय छ । त्यसको खोजीका लागि लाखौँ अक्षर प्रायोग हुन्छन् । ती अक्षरको मर्म नबुझी अण्ड र पिण्डको भेद खुल्दैन । अण्डको मतलब ब्रह्माण्ड हो भने पिण्डको अर्थ शरीरका नौँ द्वार (शरीर हो) हुन् । दशौँ द्वार ब्रह्मरन्ध्रमा रहन्छ (ऐ : पृ.१२५) यसको तन्तुगत सम्बन्ध आज्ञाचक्रमा रहेको हुन्छ । यो सारा संसार नामरूप मात्र रहेको हुनाले सत्य छैन भन्ने जानेपछि तŒवबोध (दशौँ द्वार) हुन्छ । उक्त द्वारको बोध भएपछि परम शन्ति वा आनन्द प्राप्त गर्दछ भन्ने विचार जोसमनीको रहेको छ । जीवात्मा र परमात्मा एकाकार भएको मान्ने जोसमनी अद्वैतवादी विचारधारा हो ।
साकार ईश्वरको नभई निराकार ब्रह्मको अस्तित्व जोसमनीहरुले ग्रहण गरेका छन् । उनीहरू मूर्तिमा ईश्वर नभेटिने हुनाले त्यसको पूजाविधि आनावश्यक रहेको ठान्छन् र निर्गुण भक्तिमार्गलाई अवलम्बन गर्नका लागि जोड दिन्छन् ।
२.३ आत्मसन्धानमा रुचि
प्रकृतिको पञ्जामा रहेको जीव त्यसका विकारबाट मुक्त हुन्छ भने त्यसैलाई आत्मा भनिन्छ, जो आफैँ हो । त्यो आत्मा परमात्मा नै हो । मानिसको शरीरको चिन्हबाट देखाइएको हुनाले त्यसलाई सम्झन सजिलोको लागि आत्मा नाम दिइएको हो । आत्माको खोजीका लागि कहीँ स्वर्ग, नरक, आकाश, पाताल वा अन्य कुनै लोकमा भौँतारिनु आवश्यक छैन । परमात्मारूपी आत्मा त प्रत्येक प्राणीका घटघटमा रहेको हुन्छ (शर्मा, २०७७ : १२४) । आत्मज्ञानको प्रबोधीकरण भएपछि संसारका सबै वस्तु मूल्यहीन बन्न जान्छन् । हीरा समान परमात्माको बोध नै एक तरिकाको प्रबोधीकरण हो । ज्ञानको अवबोध भएपछि जीवात्मा झुसिल्कीराबाट पुतली बने जसरी स्वतन्त्र हुन्छ र आफ्नो स्वस्वरूपमा रहन्छ । बद्ध आत्मालाई मुक्त पार्नका लागि योगासनमा बसेर नाद फिराउनु पर्छ र आत्माको अलख जगाउनु पर्छ ।
मानिसमा सत्वगुण, रजोगुण र तमोगुणको प्रभाव रहेको हुन्छ । सत्वगुणको आधिक्यले अन्तःकरण शुद्ध भई मानिस निर्विकर बन्न पुग्छ । रजोगुणको प्रधानता रहँदा सौर्य, ऊर्जा, तागत र अन्तःकरणमा प्रशस्त मात्रामा क्रियशीलता उत्पन्न हुन्छ । तमोगुणको अधिकताका कारण प्रमाद, आलस्य, निद्रा र मोहको प्रभाव बढी हुन्छ र मानिसको बुद्धि मन्दातिमन्द बन्दै जान्छ । रज र तमोगुणको प्रभाव कम हुँदै गएपछि सत्वगुणले जित्न थाल्छ । यिनै गुणमा रहेको अज्ञानको छायाँ आत्मामा परेपछि आत्मा पनि मलीन बनेको जस्तो देखिन्छ । यी तिन गुणमध्ये सत्वगुणको उद्रेकबाट आत्मा र जीवको भिन्नता अधिगत हुन्छ । हृदयको बीच भागमा रहने आत्माको ज्ञानभन्दा इतर विषयको ज्ञान सतही ज्ञान हो । सतही ज्ञानबाट हृदयाधितिष्ठित आत्माको बोध हुन सक्दैन । आत्मालाई घेरेर बसेको मायाको तुच्छ जालो निर्गुण भक्तिबाट नष्ट हुन्छ । माया मोह नष्ट भएपछि जोसुकै भक्त प्रभुचरणको शरणमा रहन्छ । त्यस अवस्थामा अन्तःकरणका सङ्कल्प विकल्प समूल नष्ट हुन्छन् । यस अवस्थामा आत्मयोगको अभ्यास र गुरुवाक्यबाट सुषुप्त अवस्थाको ज्ञान ब्यूँझिन्छ अनि अगम, अगोचर र नित्य आत्मा स्वाधिष्ठानमा रहन्छ । यस अवस्थामा सन्त वा भक्तलाई परम सुख प्राप्त हुन्छ । यसरी आत्मा र परमात्मा एकाकार भएको देख्ने जोसमनीहरु अद्वैतवादी चिन्तक हुन् ।
जोसमनी दर्शनका आधारमा जीवात्मा र परमात्मा गरी दुई प्रकारको शक्ति छ तर ती दुबै फरक नभई एकै हुन् । मोहबाट प्रेरित भएको अवस्थाको बद्ध आत्मालाई जीवात्मा र मुक्त स्वरूपको आत्मालाई परमात्मा ठानिएको छ । जीवात्मा र परमात्मा भ्रमको कारणले फरकजस्ता देखिएका भए पनि ती दुई एकै समान छन् भन्ने यो दर्शन एकात्मवादी दर्शन हो ।
२.४ महावैराग्य (हठयोग)प्रति निष्ठाभाव
संसारका यावत् वस्तुहरूको अनित्यता बोध गरी ती वस्तुहरूको उपयोगमा क्षणिक सुख मात्र छ भन्ने ठानी निःसारताको अनुभव गर्नु महावैराग्य हो । प्राण र अपान वायु एकाकार हुनु, नाद र विन्दु सम अवस्थामा पुग्नु, परमात्मा र आत्मा अद्वैत हुनुलाई हठयोग भनिन्छ । प्राणायम र बन्धको अभ्यासबाट अपान वायुलाई प्राणवायुसम्म पुर्‍याउने विधि हठयोग साधना हो । यस अवस्थामा कसैसँग लिनुपर्ने र कसैलाई दिनुपर्ने सांसारिक वस्तु केही रहँदैन । शत्रु मित्रमा समान भाव रहन्छ । चाण्डाल, पशुपंक्षी, मानिस, साराका सारा संसारका वस्तुमा परमात्मा दृष्टि रहन्छ । हेय र ग्राह्य केही रहन्न । शत्रु मित्रमा समान भाव रहन्छ । भौतिक वस्तुबाट उत्पन्न हुने तनावको अवस्था रहन्न । शरीरसहित मन शुद्ध बन्न पुग्छ । शरीरमा, मनमा एवं विचारमा दृढता र स्थिरता उत्पन्न हुन्छ । अनुकूल प्रतिकूल परिस्थितिबाट प्रभावित नभई धैर्य उत्पन्न हुन्छ । हलुका प्रकाशमय अवस्था उत्पन्न हुन्छ । सूक्ष्मातिसूक्ष्म आन्तरिक वृत्तिहरुको बोध हुन थाल्छ (घेरण्ड संहिता, १/९) । मनमा आशक्तिको भावना लेस पनि रहन्न । यसपछि घटस्थ मूलाधार चक्रमा बास भएको कुण्डलिनी शक्ति जागरित भएको हुन्छ । मूलाधार लगायतका जम्मा षड्चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा) लाई सातौँ चक्र सहस्रदलमा लगी बिलीन गराइएको हुन्छ । यसैलाई प्रकृतिको शिव वा ब्रह्ममा विलीन भनिन्छ । यही अवस्थालाई महावैग्य वा हडयोगको पराकाष्ठा भनिन्छ । यसको अर्थ स्थूल शरीरबाट सूक्ष्म शरीरको पहिचान, सूक्ष्म शरीरमाथिको प्रहारबाट चित्तवृत्तिको निरोध र त्यसपछि स्वात्मबोध क्रमशः गर्न सकिन्छ भन्ने हो ।
जागृत अवस्थाको कुण्डलिनी शक्ति बिजुलीजस्तो चम्किलो हुन्छ । कुण्डलिनी जागरणपछि मानवीय सृजनाशक्ति पनि जागरण हुन्छ । सृजनाशक्तिको प्रभावका कारण इडा, पिङ्गला र सुषुम्नाजस्ता मुख्य नाडीमा उद्दीपन हुन्छ (जम्मा १४ नाडी रहेका) । यी नाडीहरूको उद्गम स्थल त्यही कुण्डलिनी वा आधारचक्र हो । यो चक्र जननेन्द्रियको उपल्लो मेरु भागमा रहन्छ । नाडीहरूको आसन (योगासन) र प्रणायाम (पूरक, कुम्भक र रेचक) का माध्यमबाट जागरण सम्भव हुन्छ । आसन र प्रणायाममा सिद्धि प्राप्त गरेपछि साधक बन्ध र मुद्रातर्फ अगाडि बढ्छ । आसन र प्रणायामको समष्टिरूप बन्ध (मूल, जालन्धर, उड्डियनबन्ध) र मुद्रातर्फ (खेचरी, शांभवी, अश्विनी र योनी) अभिमुख हुन्छ (शर्मा, २०७७ : ३१) । त्यसपछि जननेन्द्रिय र मलद्वारबाट अपानवायुलाई माथि खिच्दै मूलबन्धको अभ्यास गर्नुपर्छ । घाँटी खुम्च्याएर च्यूँडोलाई दह्रोसँग घाँटीमा टाँस्नुलाई जालन्धरबन्ध भनिन्छ । फोक्सोमा रहेको श्वास खाली गरेर पेटलाई छातीमा मज्जाले टाँस्नु उड्डियन बन्ध हो (घेरण्ड संहिता, ३/१०,११,१२,१३,१४ र १६) । गुरुको निगरानीमा जिब्रोको तल्कुरो शनैशनै काटेर आँखीभौँ छुनुलाई खेचरी मुद्रा भनिन्छ । आज्ञाचक्रका निवासी शिवलाई दर्शन गर्नु शांभवीमुद्रा हो भने गुदामार्गको छालालाई आवश्यकता अनुसार भित्रबाहिर खुम्च्याउँदै चिमिकचिमिक पारेर कुण्डलीको साधना गर्ने विधिलाई अश्विनीमुद्रा भनिन्छ । योनीमुद्रा भनेको दुबै हातको प्रयोग गरी औँलाहरूद्वारा कान, आँखा, नाक र ओठ एकैपटक बन्द गरेर जप गर्ने विधि हो (घेरण्ड संहिता, ३/२६,२७,३७,६४,६५ र ८२) । यस्ता मुद्राहरुको प्रयोग शरीरस्थ सूक्ष्म वृत्तिहरुको पहिचान र तिनीहरुको नियन्त्रण रेखा कहाँ छ, त्यसको मालिक को हो भनेर पत्ता लगाउन गरिन्छ । यसबाट वायु, कफ, पित्त र रक्त शोधन हुन जन्छ । यसरी शारीरिक ऊर्जा शक्तिको अन्वेषण गर्नका लागि यस्तो हठ विधिको उपयोग गरिन्छ ।
हठयोगको प्रक्रियामा साधकले षड्चक्रहरूको शनैशनै क्रमिक रूपमा भेदन गर्नुपर्छ । षड्चक्रको भेदन योगको अन्तिम प्रक्रिया हो । आसन र प्राणायाममा नियमितता, बन्ध एवं मुद्राको नियमित अभ्यास र नाडीको जागरणपछि चक्रहरूको भेदन वा पहिचानको आरम्भ हुन्छ । सबैभन्दा पहिला मूलाधार चक्रमा रहेको बन्धन वा अज्ञानको प्रतीक कुण्डलिनीको पहिचान गर्नुपर्छ । निरन्तरको साधनापछि त्यसको उपल्लो भाग नाभीमा रहेको मणिपुरको भेदन हुन्छ । मणिपुरको भेदनपछि हृदयमा रहेको अनहत् चक्रको पहिचान गर्ने काम हुन्छ । अनहत्को परिचयपछि कण्ठस्थानमा रहेको विशुद्ध चक्रको जागरण र पहिचान हुन्छ (घेरण्ड संहिता, ३/६ र ७) । विशुद्धको पहिचानपछि आँखीँभौँका बीचमा रहेको आज्ञाचक्रको भेदन हुन्छ । आज्ञाचक्र शरीरीरिक ऊर्जा र ईश्वरीय ऊर्जाको संगम स्थल हो । यहीँबाट अण्ड र पिण्डको भेद छुट्टिएको हुन्छ । अण्ड ईश्वरशक्ति हो भने पिण्ड शरीररस्थ नवद्वारको परिवर्तनशील वासना हो । दशौँद्वार ब्राह्मणले टुप्पीराख्ने ठाउँ वा शिरको माथिल्लो पृष्ठभूमिमा रहेको हुन्छ । त्यो ब्रह्मरन्ध्र वा सहस्रदल कमल हो । त्यही सहस्रदलमा कुण्डलिनीलाई उत्तरोत्तर गतिमा माथिमाथि लगिकन विसर्जन गरिन्छ । सहस्रदल कमलमा नै मुख्य तिन नाडीको मिलन भएको हुन्छ (घेरण्ड संहिता, ६/१५,१६,१७,१८ र १९) । जब ती नाडीको गतिमा अवरोध हुन्छ, नवद्वारको वासना वा माग समाप्त हुन्छ, आज्ञाचक्रले अज्ञानी प्रकृति स्वरूपा कुण्डलिनीलाई ब्रह्मरन्ध्रमा जानका लागि आदेश दिन्छ । तब शरीरेन्द्रियहरू भौतिक क्रियाबाट शान्त भई सहस्रदल कमल याने शब्दातीत ब्रह्मको सान्निध्य प्रकृष्ट मात्रामा बोध हुन्छ । अनन्तर हठयोगको क्रिया कत्ति पनि बाँकी रहन्न । योगी निर्विकार, निर्विकर र मात्र निर्विकार अवस्थामा रहन्छ ।

नवद्वारको वैकारिक परिवर्तन मुत्यु र बन्धनको कारक हो । नवद्वारका सांसारिक कर्मका कारण आज्ञाचक्रको सान्निध्यमा रहेको आत्मा त्यस तलका चक्रहरू (पिण्ड) मा झर्दछ र कुनै एक चक्रमा निवास बनाई बसेको हुन्छ । नवद्वारमध्येको कुनै एक प्वाल मुख वा नाकबाट प्राणवायु शरीरमा प्रवेश गरेपछि त्यो शरीरभरि विभिन्न ठाउँमा बसोबास गर्छ । सहस्रचक्रमा याने शरीरभरि व्यान वायु, विशुद्धि चक्रमा उदान वायु, अनहत् चक्रमा प्राणवायु, मणिपूरमा समान वायु र मूलाधारचक्रमा अपान वायुको आधिक्य रहेको हुन्छ । कुण्डलिनी जागरणको प्रक्रियामा यी वायुका साथसाथै मूलाधार चक्रमा रहेको कुण्डलिनी ऊर्जालाई ऊर्ध्व ऊर्ध्वगतितर्फ लगेर शक्तिको सञ्चालन गरिन्छ । यस प्रकार शक्ति सञ्चालनको अभ्यासलाई निरन्तरता दिँदै गएमा वीर्यशक्ति सञ्चय हुन पुग्छ । प्राणवायुको आवागमन शान्त हुन्छ अनि अभौतिक जगत्को अलौकिक रहस्य बोध गरी योगी समाधि अवस्थामा पुग्छ । यसैलाई मोक्ष भनिन्छ (शशिधर, २०७७ : १६२) । हठयोग साधना एकदमै चुनौतीपूर्ण र साहसिक छ । गुरुबिना यसलाई अवलम्बन गर्न कठिन छ । योग बिग्रिएमा मानसिक सन्तुलन पनि बिग्रने उत्तिकै सम्भावना हुन्छ । त्यसकारण यस यौगिक क्रियामा जति चुनौती छ त्यत्ति नै धेरै योग संसिद्धको सम्भावना पनि लुकेर बसेको हुन्छ भन्ने मान्यता पाइन्छ ।
दार्शनिक दृष्टिबाट नियाल्ने हो भने जीव र ब्रह्मको मिलन भएको अवस्था नाद हो भने जीव र ब्रह्म एकाकार भएको परिस्थिति बिन्दु हो । नाद फिराउनका लागि गरिने कृत्य कुण्डलीको जागरण हो । त्यसको जागरणका लागि स्थूल (भौतिक शरीर) वस्तुले सूक्ष्म (जीवात्मा) वस्तुलाई प्रहार गरिन्छ अनि शरीरका स्नायुहरुको आधार इलाका पहिचान गरी सत्यासत्यको निरूपण गरिन्छ । यसरी कुण्डलिनीको जागरण गर्नका लागि गरिने प्रयासको समष्टि रूप महावैराग्य हो । त्यस अवस्थामा शरीरप्रतिको मोह पूर्ण तरिकाले हटिसकेको हुन्छ ।

२.५ सांसारिक मायामोहमा निर्लिप्त
ईश्वरीय भक्ति निष्पन्न गर्नका लागि गृहत्याग गर्नै पर्छ भन्ने मान्यता जोसमनीले राख्दैनन् । शाब्दी (गरुबाट मन्त्र मात्र लिने), गुरुमुखी (गुरुमार्गमा सही तरिकाले चल्ने) र गुरूपञ्जा (बाना, झोला, तुम्बा, चिम्टा, तार लिने) जस्ता तिन तरिकाबाट जोसमनी मतको अनुशरण गर्न सकिन्छ । शाब्दीहरूले ॅसोऽहम्’ भन्ने मन्त्र लिई गृहस्थीमै बसेर मतको अनुयायी बन्न सकिन्छ । गुरुमुखीले योगाभ्यास, आसन, मुद्रा र नादको अभ्यास सिक्नुपर्छ । कुण्डलिनीदेखि सहस्रदल कमलसम्मका चक्रहरूको शिक्षा ग्रहण गर्नुपर्छ । यसैलाई षड्चक्रको अभ्यास भनिन्छ । गुरुमुखी भएर सफलता प्राप्त गरेपछि गुरुपञ्जा लिन सकिन्छ । गुरुलाई जिज्ञासु व्यक्ति वा शिष्य गुरूपञ्जा लिनका लागि योग्य छ भन्ने दृढ विश्वास हुनुपर्छ अनि मात्र पञ्जा दिएर पूर्ण योगीमा रूपान्तर गर्दछन् । पञ्जा लिएपछि बहुधा बोल्न नहुने, बहुधा हिँड्न नहुने र निरन्तर अद्वय आत्माको अभ्यास गरिराख्नु पर्छ (शशिधर, २०७७ : पृ.१६३) । यसका लागि पनि गृहस्थाश्रम छोड्नुपर्ने बाध्यता छैन । गृहस्थाश्रमको भोगसँगै ईश्वरसँग योग हुन सक्छ भन्ने विश्वास जोसमनीहरूमा रहेको छ । यसरी संसारका पदार्थहरूलाई छोडेर भन्दा तिनलाई भोगेर मोहबाट पूर्ण विच्छेद हुन सकिन्छ भन्ने अवधारणा जोसमनीहरूको रहेको छ ।
जोसमनीहरूले प्रकृतिबाट उत्पन्न विकारलाई साधनाका बाधक तŒव मानेका छन् । उनीहरूका अनुसार साधना गर्नका लागि शरीर त अवश्य चाहिन्छ । त्यसमा रहेका ज्ञानेन्द्रिय, कर्मेन्द्रियहरुको समेत आवश्यकता पर्छ । पञ्चमहाभूतसहित मन, बुद्धि, अहङ्कार पनि शरीरकै निवासी हुन् । यिनीहरू प्रकृति उत्पादित भएको हुनाले अनित्य र मायावी छन् । अन्तःकरण (मन, बुद्धि र अहङ्कार) सहित इन्द्रियहरू ब्रह्मबोधका लागि चाहिने साधन हुन् । तिनमा माया, मोह र दुःखको भावना लेस्सिएर बसेको हुन्छ । अन्तःकरणकै अज्ञानको प्रभाव आत्मामा पर्न थाल्छ । आत्मा अज्ञानी भएको जस्तो देखिनु भ्रम हो (ऐ, पृ.१६६) । आत्मा त परमात्माजस्तै अविनाशी र मुक्त स्वभावको हुन्छ । अन्तःकरणसँगको अति निकटताका कारण आत्माले आफ्नो वास्तविक अवस्था भुल्न पुग्छ अनि म अन्तःकरणहरूझैँ अज्ञानी छु भनी जन्म र मृत्युको चक्करमा जीव (दस इन्द्रिय, पाँच तन्मात्रा, तिन अन्तःकरण) सँग मिसिर चौरासी लाखपटक जन्ममृत्युको चक्कर काटिरहन्छ । त्यसैलाई बन्धन भनिन्छ । यसरी जन्ममृत्युको चक्करमा चल्नु जीवको विशेषता हो आत्माको होइन । अन्तःकरणको प्रभावबाट विमुख हुँदै ज्ञान, वैराग्य र त्यागबाट कार्यकारण सम्बन्ध टुट्छ । त्यसपछि आत्मा आफ्नो दिव्यस्वभावबाट उज्यालिन्छ । संसारमा रहेका कर्महरू स्वाभाविक रूपमा निष्पन्न गर्दै गएर अन्तिम अवस्थामा मोहरहित बन्न सकिन्छ । कर्मको बाटोलाई स्वीकार गरी सात्विक कर्मलाई बढावा दिन सकिएको खण्डमा समाजका बन्धनहरू उच्छेद हुन सक्छन् भन्ने जोसमनी मत छ । यस आधारमा जोसमनीहरूले सांसारिक कर्मलाई स्वीकार गर्दै त्यसकै भोगको निरर्थकताबाट मोक्षको बाटो पहिल्याउन सकिन्छ भन्ने विश्वास गर्दछन् र वेदान्तीले जस्तै प्रकृतिलाई माया वा मोहको कारक ठान्छन् भन्ने देखिन्छ ।
सन्त शशिरधरले वैराग्याम्बरमा सांसारिक मायामोहको नश्वरताका बारेमा प्रस्ट पारेका छन् । उनको उक्त कृतिमा निर्दिष्ट विचारअनुसार वितरागी भएर गृहस्थको समेत उपभोग गर्दै निर्मोही बन्न सकिन्छ भन्ने मूल मर्म रहेको छ । वैराग्यको अन्तिम अवस्थामा संसारका कुनै पनि पदार्थको प्रभाव साधकमा परेको हुँदैन भन्ने उनको मत भौतिकवादी होइन ।
२.६ धर्मलाई व्यावहारिक बनाउने सत्प्रयास
उन्नाइसौँ शताब्दीको पूर्वार्धमा सगुण भक्तिधाराको व्यापकता थियो । त्यही समयमा त्यसका कतिपय नियमहरू तर्कसङ्गत नलागेर सनातन धर्मका नियमलाई उत्परिवर्तन गरी नयाँ विचारको प्रतिपादन जोसमनीहरूले गरे । अनेक पन्थ र आचरण अँगालेका नेपाली जनहरूलाई धर्मपथका माध्यमबाट एकसूत्रमा आवद्ध गर्ने सत्प्रयास शशिधर र उनका चेलाहरूले गरे । छरिएर अवस्थामा रहेको समाजलाई कुनै न कुनै तरिकाबाट एकताबद्ध गर्नु जरुरी थियो नै । त्यही अभावको पूर्ति गर्नका लागि सर्वसुलभ एवं अभिचार विधिमा सरल (हठ साधनाका सन्दर्भमा योगीका लागि जटिल पनि) जोसमनी मतको स्थापना भएको थियो । यसले मानिसको जीवनपद्धतिलाई सजिलो तरिकाले तŒवज्ञानको मार्गमा डोर्‍याउने काम गरेको छ ।
जोसमनी मतमा आवद्ध भएपछि मूर्ति पूजा र पुरोहित्याइँका क्रियाहरू गर्नुपर्दैन । परमात्मा नभएको ठाउँ कहीँ कतै छैन त्यसकारण त्यसलाई सीमित गरेर मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बाको चौघेरामा लगेर कैद गर्नु आवश्यक छैन । निश्चित ठाउँमा मात्र पूजाविधि गरेर निर्गुण ईश्वरको सम्मान हुँदैन । सगुण अराधानामा यस्ता सीमा भएको हुनाले परमात्मको व्यापकतालाई ग्रहण गरी निर्गुण उपासना गर्नु हरेक मानिसका लागि श्रेष्ठ हुन्छ (अच्युतदिल दास, २०७७ : २४०) । कर्मकाण्डवादी समाजमा जातपातलाई स्वीकार गरी एउटा वर्गको पक्षपोषण गरिएको हुन्छ । त्यसैलाई अस्वीकार गरेपछि भेदभावको भावना त्यहाँ रहने भएन । सबैलाई समान व्यवहार गरेपछि ठूलो सनो, उचो निचो भन्ने भेद पनि नरहने भयो । सबै जातजातिलाई समान रूपमा व्यवहृत गरिएका कारण यस मतमा सबैले सम्मानजनक ठाउँ पाए । छुवाछुत, जातपात, दानदक्षिणा र असामाजिक गतिविधिले जोसमनी सम्प्रदायमा ठाउँ नपाएकै हुनाले यस मतप्रति सबैको अपनत्वबोध भयो र स्वीकार्य पनि बन्न पुग्यो । लोकप्रिय समेत बन्यो । फलस्वरूप मानिसहरू विधर्म वा विदेशी धर्मतिर बहकिनबाट जोगिए । हठयोगको अभ्यासमा (योगीका लागि सहज) जोसमनी मत जटिल भए पनि अभिचारमा जटिलता नभएको हुनाले अुनयायी भएर ईश्वरीय उपासना गर्न वा स्वदेशी धर्ममा रहन सहज र सरल पक्कै पनि भयो । सोही कारण नेपालको पूर्वदेखि पश्चिमसम्ममात्र नभएर भारत, सिक्किम (हाल भारत), वर्मासम्म पनि यस मतले व्यापकता पायो । यसरी जोसमनीका साधुहरूले सधुक्कडी भाषाको प्रयोग गरी निर्गुण भक्ति परम्पराको मौलिक मत स्थापना गरी समाजमैत्री चिन्तनको धारालाई उत्परिवर्तन गरेका हुन् । उनीहरूको यो मत व्यावहारिक र परिष्कारपरक रहेको छ ।
ज्ञानदिल दासको समायमा पुरुषप्रधान समाजका धार्मिक, सामाजिक र साँस्कृतिक नियमबाट प्रशस्त महिलाहरू प्रताडित थिए । समाजमा शोषण, अन्याय, थिचोमिचो र घुसखोरी व्याप्त थियो । नारी घरको चौघेरमा अघोषित बन्दी थिए । गरिबहरू अन्याय र गरिबीबाट प्रताडित थिए । बाल्यकालमै विधवा भएका घरका छोरी, बहिनी श्रीमान् श्रीमतीको कर्तव्य थाह नै नपाउँदै विधवा भएका थिए । उनीहरू आजीवन विवाहित घरमा विविध लाञ्छना सहेर नारकीय जीवन बिताउन बाध्य थिए । बेमेल (उमेरमा फरक) विवाहले जरो गाडेको थियो । जातपातको विभेद उत्कर्ष अवस्थामा थियो । केही उच्च जात भनिएका र मुखियाहरूबाट आवाजबिहीनहरू पिडित पनि थिए । सो आसमानतामूलक समाजमा बालविवाहको विरोध गर्ने, विधवा विवाहलाई मान्यता दिने, अन्तर्जातीय विवाहलाई प्रश्रय दिने, भातभान्सा छुतअछुत नमान्ने, अन्तर्जातीय विवाहलाई मान्यता दिने र निमुखाहरूको आवाज बुलन्द पार्ने काम जोसमनीहरूबाट भएको थियो । उनीहरुका विचारमा यही जनमुखी र व्यवहारमा सजिलो विधि धर्म हो भने यसको विपरीत जनघाती विचार अधर्म हो ।
जोसमनीहरूले धार्मिक विचारलाई केवल सिद्धान्तमा सीमित गरेका थिएनन् । त्यसलाई व्यवहारमा प्रयोग गरेर अरुलाई प्रेरणा दिने काम पनि गरेका थिए । ब्राह्मण परिवारका ज्ञानदिल दासका छोर रविदिलले गुरुङ कन्या कालीमाईसित विवाह गरेका थिए । ज्ञानदिलले न्याय निसाफको खरिदबिक्री, घुसखोरीको भण्डाफोर, शोषणका विरुद्धमा आवाज उठाएर नवचेतनाको बिगुल फुकेका थिए । मनमौजी राणा शासनका समयका स्वार्थीपन, आडम्बरी व्यवस्था, धनको मद र शोषणबाट पिल्सिएर सत्ताको नजरको पुछारमा परेका जनताहरूमा उद्बोधनको बीज उमार्ने काम ज्ञानदिलदासबाट भएको थियो । सनातनदेखि चलिआएको धार्मिक कट्टरताका विरुद्धमा समावेशी पन्थलाई थप मजबुत बनाउनका लागि देशका विविध भागको भ्रमण गरी जनतामा जागरण भर्ने र नयाँ सिराबाट धर्मको व्याख्या गरी मानिसहरुलाई धर्ममार्गमा आबद्ध गरेर जनतालाई एकीकरण गर्ने काम पनि उनीबाट भएको थियो । यसरी अमङ्गल, असमावेशी, समाजद्वेषी र कट्टर आस्तिक परम्परालाई परिष्कार गरी नेपाली समाज र धर्मानुरागीहरूलाई व्यावहारिक धर्मको नयाँ बाटो देखाउने काम गर्नमा जोसमनीहरूको महŒवपूर्ण योगदान रहेको छ ।
२.७ आडम्बरी प्रवृत्तिको खण्डन
जोसमनीहरूले आडम्बर र ढोँगलाई रतिभर मन पराउँदैनन् । सन्त शशिरधरले ॅपाखण्ड खण्ड अखण्ड शब्द’ लेखेरे पाखण्ड खण्डनको पताका फहराएका छन् । उनले निर्भयताका साथ अनेक वेषभूषामा पेटभर्नका लागि गरिने पण्डित्याइँ, भिक्षाटन, मुठीदान र सिङ्गारपटारलाई ॅठगनके उपाइ’ भनी देखावटीपनको विरोध र तिनमा सुधारको अपेक्षा गरेका छन् । सतीप्रथा चलाएर नारीलाई जिउँदै जलाउने अनि फेरि तिनै जलाएका नारीको नाममा पिण्डपानी दिने, दानपुण्य गर्ने, पुराण वाचन गराएर पेट भर्ने तर ज्ञानलाई महŒव नदिने विरोधाभाषी व्यवहारको हाकाहाकी खण्डन गरेका छन् । मूर्तिपूजा, ब्रतउपवास, तन्त्रमन्त्र, जादु, टुनामुना, धामीझाँक्री, तीर्थव्रत अनाश्यक ठानेका छन् । सिमेभूमे पूजा, मस्टो पूजा, देवी देउराली, भैरिम, अघोर तपस्या आदि पूजाविधि पनि परमार्थका लागि निरर्थक ठान्छन् (शशिधर, २०७७ : १७४) । आत्मज्ञानरूपी छुराले यी सबै देखावटी एवं परमार्थका लागि अनावश्यक तŒवहरूको अपसारण आवश्यक मान्छन् । ज्ञानेच्छुहरूले यस्ता अनावश्यक र अनित्यवस्तुहरूको सीमितता बुझी पाखण्ड गर्नेलाई पनि अस्वीकार गरी ब्रह्म उपासनाको सत्य बाटोमा यात्रा गर्न आह्वान गर्दछन् । यस्ता सामाजिक विभ्रमहरूलाई चिरेर जुनसुकै जाति, सम्प्रदाय, मजहब, वर्ग, देश, काल र पन्थका मानिसले संसारको सुन्दर वस्तु ज्ञान अथवा यथार्थ शिक्षाबाट आफ्नो चेतनालाई जागृत तुल्याउन सक्छ । यो संसार मोहबाट ग्रस्त छ भन्नेठानी बितरागी बन्दै समाजका देखावटीहरू समूल रूपमा नष्ट गर्नुपर्छ भन्ने सुधारवादी चिन्तन जोसमनीहरूमा रहेको छ ।
निर्गुण ईश्वरलाई मन्दिरमा तोरेर राख्न सकिदैँन त्यस कारण मूर्तिपूजा गर्नु आवश्यक छैन । जातपात भ्रम मात्र हो । कर्मकाण्ड पद्धतिले पूर्ण मुक्ति दिन सक्दैन । दानदक्षिण लिने दिने, पूजापाठमा ध्यान दिने काम र यज्ञयज्ञादिबाट अज्ञानको रोग हरण हुँदैन । अज्ञानको अपसारणका लागि वार्णाश्रम व्यवस्था लगायतका यस्ता मामुली चिजमा अल्झिल्नु आवश्यक छैन (मोक्षमण्डल, २०७७ : पृ.२०३) । ज्ञानी ब्रह्म उपासकले यी सबलाई भ्रम ठानी मनको गतिरोधबाट मोक्षमार्गको अवलम्बन गर्नु आवश्यक छ । कुनै पनि देश, काल, वर्ग, सम्प्रदाय, जातजाति, र धर्मको अनुयायीले जोसमनी मतको अवलम्बन गरी मोक्षमार्गको बाटो पहिल्याउने अधिकार राख्दछ । यसअनुसार भक्तबाहेक दोस्रो आँखाबाट मानिसलाई हेरिन्न भन्ने यस मतको विचार हो । यसले सनाती परम्परामा आधारित अमोक्षदायक साधारण कर्मपद्धतिलाई सिधै अस्वीकार गरेको छ र मिहीन तरिकाले ब्रह्मसन्धानको बाटो पहिल्याउनका लागि योगमार्ग अवलम्बन गर्न निर्भीकतापूर्वक आह्वान गरेको छ ।
पुरोहित कर्ममाथि अविश्वास गरी नयाँ सिराबाट आध्यात्मिक उन्नतिको बाटो पहिल्याउनेकाम जोसमनी दर्शनले गरेको छ । समाजमा व्याप्त अन्धविश्वासको भण्डाफोर गरी त्यसमा रहेका विकृत पक्षहरुको सुधार हुनुपर्नेमा जोड दिएको छ । ब्रत उपवासबाट होइन कि अथक साधनाबाट निर्गुणी ब्रह्मको उपासना गरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने विचारको प्रक्षेपण जोसमनीको मौलिक पक्ष हो ।
२.८ कर्मकाण्ड पद्धतिमा अविश्वास
जोसमनीहरूले आन्हिकसूत्रका विधिनिषेधका पद्धतिलाई स्वीकार गर्दैनन् । वेदमा रहेको ज्ञानको निन्दा पनि गर्दैनन् । वेद र पुराणबाट सकारात्मक र ज्ञानयोगसँग सम्बन्धित विषयहरू मात्र ग्रहण गर्ने उनीहरूको बानी रहेको हुन्छ । उनीहरु अभिचार विधिको सीमामा बाँधिन नचाही परमानन्दमय ब्रह्मको खोजीमा मन दिन्छन् (ऐ : पृ.१७३) । अभयानन्द द्वितीयसम्म यस्तो निर्गुण भक्तिको परम्परा चलिरह्यो । उनले निष्काम तरिकाबाट पुराण वाचन, हवन र ज्ञानयज्ञलाई अनुमति दिएपछि भने निर्गुणीहरू पनि यज्ञकर्मतर्फ फेरि आकर्षित भएका हुन् । उनीअघिका सन्तहरूले भने हठयोगलाई साधनाको अङ्ग बनाएका छन् । हठयोगका अङ्ग भनेका अष्टाङ्ग योग नै हुन् । हठमा मुद्रा र बन्धलाई पनि समावेश गरिन्छ । सूर्य स्वरूप पिंगला नाडी (ह) र चन्द्र स्वरूप ईडा नाडी (ठ)लाई एकाकार गरी ब्रह्मरन्ध्रसम्म पुर्‍याउनका लागि गरिने योगाभ्यासलाई हठ भनिन्छ । प्राण र अपान वायुलाई योगाभ्यासद्वार एकाकार गरिदिनु पनि हठ हो । सोही हठ विधिका माध्यमबाट ब्रह्म सायुज्य हुनु मोक्ष हो र त्यो नै मानिसको परम गति हो । नित्य निरञ्जन ब्रह्मसँग आत्माको एकाकार भएको, मायामोह रहित भएको र छवटै कुण्डली जागा भई अण्ड र पिण्डको भेद पहिलिएको अवस्थालाई हठको अन्तिम अवस्था मानिएको छ । यसरी कर्मकाण्डका विधिनिषेधका पद्धतिबाट होइन कि योगमार्गबाट परमात्माको अन्वेषण गर्ने विधि जोसमनीहरूले अवलम्बन गरेका छन् ।
जोमनीहरूमा कर्मकाण्डका विधिको भन्दा गुरुपञ्जाको महŒव ज्यादा रहेको छ । गुरूपञ्जा लिएको व्यक्तिले मुण्डन गर्नु हुँदैन । मृत्युसंस्कार सजिलो छ । कुनै विधिको चौघेरामा नफसी मृत शरीरलाई ॅमट्टी दिएर’ अन्त्येष्टी गर्न सकिन्छ । पिण्डदान, प्रेतकर्म र कोरा बारिरहनु पर्ने आवश्यकता पर्दैन । मृत व्यक्तिको नाममा मरेको तेस्रो दिनमा भण्डारा (भोजन) गरेपछि मृत संस्कार सकिन्छ । त्यसपछि कसैले तेह्र दिनसम्मको आशौच बार्नु पनि पर्दैन (छोरा भएकाले चाहिँ बार्दा फरक पर्दैन) । मूर्तिपूजा, जपपाठ, तिलक, तर्पण र देखावटी योगीको पहिरन सबै नक्कली हुन् । पशुबली, भूतप्रेत मन्साउने, ग्रहयाग, प्रेतकर्म, छुवाछुत, दानपुण्य र अभिचारहरू सबका सब समाजको हित विपरीत छन् (शशिधर, ऐ : पृ.१७७) । त्यसकारण यस्ता अव्यावहारिक विधिले कुनै एकल समूहको मात्र पक्षपोषण गर्ने हुनाले पृथक्पृथक् जातजातिहरू परम्परागत रूपमा चलिआएको पुरोहितकेन्द्री संस्कृतिमा सामेल हुन सक्दैनन् भन्ने उनीहरुको ठम्याइ छ । त्यही कारण सजिलो तरिकाबाट धार्मिक कृत्य गर्ने र सबै जातिजातिलाई सुहाउने मात्र नभई सबैलाई अनुकूल हुने गरी जोसमनीहरूले धार्मिक नियमको सुधार गरी जागरणको अभियान समेत आरम्भ गरेका छन् । यस आधारमा जोसमनी सुधारवादी आस्तिक मत हो ।
जोसमनी विचार ब्राह्मणकेन्द्री कर्मकाण्ड पद्धतिको खिलाफमा उत्रिएको छ । उक्त विधिले छुवाछुतप्रथा, लैङ्गिक विभेद र मानवहित विपरीतसमेतका कृत्यलाई बढावा दिने हुनाले त्यसको सुधारका लागि नयाँ विचारको प्रतिपादन गरेको छ । यस मतका विचारमा ध्यान, धारणा र समामाधितिरको निष्काम कर्मबाहेक अन्य काम्यकर्म अफलदायी भएका हुनाले तिनलाई छोडेर निर्गुण भक्तितिर अभिप्रेरित हुन जोडदार रूपमा आह्वान गरिएको छ ।
२.९ मानवताप्रति सचेततापूर्वक लगन
मानवलाई केवल मानव मात्र मान्नु जोसमनी मतको आकर्षक विशेषता हो । यसले मान्छेमा स्त्री र पुरुषलाई बाहेक चिन्दैन । जातपातमा विश्वास गर्दैन । छुवाछुत पनि मान्दैन । धनी गरीबको भेद स्वीकार गर्दैन । सबैलाई ईश्वरको सन्तान र मान्छेको भाइ ठान्छ । बालविवाहको विरोध गर्छ । विधवा र विधुर विवाहलाई स्वीकार गर्छ । नेपालबासी सबैको न्याय, समानता, भ्रातृत्व र सुशासनको आवाज बुलन्द पार्छ । दैहिक लाभ र स्वमहŒवाकाङ्क्षा पूर्तिलाई जीवनको लक्ष्य ठान्दैन । मानवलाई केबल रज्यका लागि कर तिर्ने टट्टु मान्दैन । मानवलाई प्रसन्नता र सुख बाँड्ने अधिकतम उद्देश्य राख्छ । दुखेको ठाउँमा मल्हम, शोकमा साहरा र अन्याय परेका अवस्थामा ढाडस दिन्छ । पुरुष मात्र योगी बन्ने परम्परालाई चुनौती दिएर नारीहरूलाई पनि योगका अधिकारी बनाउँछ । शिक्षा र चेतनालाई व्यापक बनाउन कम्मर कसेर लाग्छ । शिक्षाजस्तो पवित्र वस्तुलाई कुपात्र दिन नहुने र सुपात्रलाई दिन हुने भनी जाति वा लिङ्गका आधारमा विभेद गर्दैन । दमित आवजहरूलाई उद्बोधित तुल्याउँछ । अहिंसामा जोड दिन्छ । लोभलालच, अशान्ति, घृणा र रुढिहरूलाई अफाल्छ । निमुखाहरूको आवाज बनेर बोल्छ । अन्याय गर्दैन र सहन्न पनि । आफूलाई परेको मर्का सहनु वा अन्यायमा बस्नुलाई बेकुफी सम्झन्छ । जनतामाझ आफ्नो मत खुलस्त राख्छ । अन्धविश्वास र दानपुण्य मान्दैन । पैसामा बिक्दैन । भ्रष्टाचार सिक्दैन (ज्ञानदिल दास, २०७७ : पृ.२८१ र २८७) । कर्ममा शुद्धता ल्याउने र मानिसलाई आत्मजागरुक तुल्याउनके कार्म गर्न सचेततापूर्वक कोशिस गर्छ । यी सबै काम गर्नका लागि निर्गुण भक्तिको सहारा लिन्छ । यही नै जोसमनीहरूको मौलिक मानवतावाद विशेषता हो ।
मानवताको रक्षाका लागि दिउसै राँको बालेर जात खोज्न र शास्त्रार्थ गर्नमा जोसमनी सन्तहरू पछि परेनन् । स्वामी निर्वाणानन्दले जातिप्रथा हटाउन सहभोजको आयोजना गरे । सन्त शशिधर लगायतका योगीहरूले राई, मगर, गुरुङ, ब्राह्मण, क्षत्री, शेर्पा, सुनार, नेवार र लेप्चा जातिहरूलाई दीक्षित गरे । ज्ञानदिल दासले दार्जलिङमा रेभ्रेन्ट ए टर्नबुलसँगको शास्त्रार्थमा आफ्नो विद्वत्ताले हराएर टर्नबुललाई बाइबल पोल्न बाध्य परेका थिए । उनैले अब्रह्मणको खुट्टा धोएर जल खाएपछि उनको जात घटुवा गरिएको थियो । त्यसको विरोधका लागि उनले सिंग्ला बजार दार्जलिङमा आफ्नो जात हराएको भनी दिउसै राँको बालेर खोजि हिँडेका थिए (शर्मा, २०७७ : ८९) । यसरी सनातन परम्परामा प्रचलित कर्मकाण्ड पद्धतिका नराम्रा पक्षहरूको विरोध मात्र होइन जातजातिगत समानताको वकालत यस मतका अनुयायीहरूले गरे । उनीहरूका मतमा कुनै तरिकाबाट पनि मानव मानवमा भेदभाव गर्नु आवश्यक छैन । आज धर्म परिवर्तनको लहर चलेको र कर्मकाण्डीहरूलाई मात्र सरापिरहेको अवस्थामा यस मतको झनै आवश्यकता छ तर यस मतका विशेषताको न त सनातनीहरूले खेजेका छन् न त सनातनमा असमानता छ भन्नेहरूले नै स्वदेशी समाजवादको खोजीनीति गरेका छन् । कागले कान लग्यो भनी कान नछामी कागको पछाडि लाग्ने चलन अद्यापि विद्यमान छ । त्यसैले जोसमनी समयसापेक्ष रुपमा अघ्घोरै क्रान्तिकारी, उत्कृष्ट मानववादको वकालत गर्ने श्रेष्ठ मत रहेको बुझिन्छ ।
यसरी समावेशितालाई अवलम्बन गरी सहभागितामूलक मानवतावादी आध्यात्मिक चिन्तनको साँचो जोसमनी दर्शनले उघारेको छ । दैहिक लाभ, सामाजिक तिरष्कारका बाबजुत पनि आनो सुधारपरक सचेत मनवतावाद दर्शनको प्रचार प्रशार गरी जनमानसमा फैलाउन जोसमनीहरू कतै चुकेका छैनन् । बरु उनीहरुले नौलो आध्यात्मिक शक्तिले युक्त नौलो मानवतावादको प्रतिपादन गर्न सफल भएका छन् ।
३.निचोड
नेपाली भाषाका माध्यमबाट आध्यात्मिक दर्शनको नयाँ ग्रन्थी फुकाउने काम जोसमनी सन्तहरुले गरेका छन् । उनीहरुले फुकाउन खोजेको नयाँ चिन्तन जोसमनी चिन्तन हो र यसले मानवलाई ईश्वरको श्रेष्ठ सन्तानका रुपमा व्याख्या गरेको छ । एकै पिताका सन्तानलाई विविध तरिकाबाट विभाजन गरी जातपात, लिङ्ग, वर्ण र सम्प्रदायका आधारमा भेदभाव गर्न नहुने निचोड पनि दिएको छ । बरु मानवलाई अतिरञ्जित नगरी मानव नै रहन दिनुपर्छ भन्ने प्रखर मानवतावाद मान्यता यस मतको रहेको छ । मानवले धर्म हुने नाममा चलाएका सती प्रथा, दास प्रथा, गलत पुरोहित्याइँ, दानपुण्य, मूर्ति पूजा, भेष परिवर्तन, भेदभाव र छुवाछुत सबका सब मानवघाती रहेको ठहर गर्दै सुधारपरक समुन्नत समाजको परिकल्पना पनि गरेको छ । पाखण्डीपनको अस्वीकार गरी ध्यान, धारणा र समाधिलाई जोड दिएको छ । परमात्मालाई प्रशन्न तुल्याउनका लागि र शारीरिक शुद्धिका लागि अनिवार्य रुपमा योगका विधिको अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । श्राद्ध, काजक्रिया, प्रेतकर्म र पुराणनिर्दिष्ट नकारात्मक पक्षहरु(जोमनीका विचारमा)को सुधारको अपेक्षा गरेको छ । सनातनदेखि चलिआएका आन्हिकसूत्र र मनु निर्दिष्ट नियमहरु समयसापेक्ष नवप्रवर्तन गर्नुपर्नेमा जोड दिएको छ । अरण्य सभ्यतामा निर्माण गरिएका सनातनी नियमहरू आजको युगका लागि उपयुक्त नहुने ठानी अध्यात्म मार्गको शुद्धीकरणसहित सजिलो बाटोतर्फ डोर्‍याउनका लागि दिशानिर्देश गरेको छ । यसरी हठ विधिका माध्यमबाट शरीरिक शुद्धि गरी आत्माको अलख जगाउन सकिन्छ भन्ने जोसमनी हठवादी (वैरागी) दर्शन हो । अध्यात्म, योग, वैराग्य, न्याय, समानता, सहजता, परिष्कार र मानवता यस दर्शनका मूलभूत मान्यता हुन् ।

सन्दर्भसामग्री सूची
घेरण्ड मुनि, (सन् २०२३), घेरण्ड संहिता, चौँथो संस्क., भाष्य., श्री स्वामीजी महाराज, मध्यप्रदेश, भारतः पीताम्बरा पीठ, ।
दास, अच्युतदिल, (२०७७), ॅनिर्गुण’ सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन, पृ.२४० ।
दास, ज्ञानदिल, (२०७७), ॅउदय लहरी’ सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन ।
..................(२०७७), ॅरागवाणी’ सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन, पृ.३०६ ।
दास, शशिधर, (२०७७), ॅसच्चिदानन्द लहरी’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन ।
.................. (२०७७), ॅवैराग्याम्बर’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन ।
..................(२०७७), ॅपाखण्ड खण्ड अखण्ड शब्द’, सङ्क., जनकलाल शर्मा, जोसमनीसन्त परम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन ।
..................(२०७७), ॅअजप गीता’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन ।
मोक्ष मण्डल, (२०७७), ॅनिर्गुन’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन, पृ.२०३ ।
शर्मा, जनकलाल, (२०७७), जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडौँ : अजम्बरी पब्लिकेसन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।