लन्डनमा अवस्थित अक्सफोर्ड स्ट्रिटको जेब्रा क्रसिङमा बाटो काटिरहको थिएँ । एक युवतीले मैले उनलाई ठक्कर दिएको आरोप लगाईन् । मलाई त्यसको कुनै सम्झना छैन । ती युवतीले जेब्रा क्रसमै रोकेर कुराको छिनोफानो गर्न खोजिन् । रातो बत्ती बल्न अघिको पहेँलो बत्ति बलिसकेको थियो । दुर्घटना होला भनेर उनलाई जेब्रा क्रसिङबाट तानेर सडक पेटीमा ल्याएँ ।
तपाईंले मलाई धक्का मात्र दिनु भएन हात समातेर तान्नु पनि भयो भनेर बखेडा झिकी । अरु यात्रुले मलाई पुलुक पुलुक हेर्दै हिँडेपछि लाज लाग्यो । यहाँ होइन उ त्यो सामुन्नेको स्टारबक्स कफिशपमा गएर कुरा गरौं भनेर फकाएँ । उनी मसँगै आइन् । कफि लिएर एउटा कुनाको कुर्सीमा बस्यौं ।
तपाईंले कफिसपमा ल्याएर प्रेमिका झैं व्यवहार गर्नु भयो । के म तपाईको प्रेमिका हुँ भनेर निहुँ खोजी । कफिशपमा एकदम भिड थियो । छेउछाउका ग्राहकले हामीलाई हेर्न थाले । म लाजले रातोपिरो भएँ । अलिअलि डर पनि लाग्यो । अरुले सुन्लान् भनेर उनलाई बाहिर जाउँ भने ।
बाहिर निस्केपछि यो ब्यस्त ठाउँमा होइन एकान्तमा गएर कुरा गरौं भनी ।
“अक्सफोर्ड स्ट्रिट जस्तो व्यस्त ठाउँमा कहाँ एकान्त भेटिन्छ ? कहाँ जानु ?” मैले सोधेँ ।
“मेरो कोठामा जाउँ नत्र तपाईकै कोठामा जाउँ ।” उनले भनिन् ।
“उनको आग्रहलाई मान्ने कुरै भएन । त्यसपछि मेरो हात समातेर तान्न थालिन् । डरले उनको हात पन्छाएर भागेँ । उनले मलाई पछ्याउन थालिन् । दौडदै यहाँ आइ पुगेको हुँ ।” उसले एकै सासमा सारा कुरा बतायो ।
“किन डराउनु भयो ?” डाक्टरले सोधे ।
“कोठामा गएको भए उनले मलाई श्रीमान् भनेर दावी गर्ने थिइन् ।” उसले डराउँदै भन्यो ।
“तपाईं सही ठाउँमा आइपुग्नु भयो । अब डराउनु पर्दैन । सव ठीक हुन्छ ।” मानसिक अस्पतालबाट भागेपछि फेरि फर्केर आएको बिरामीलाई डाक्टरले सम्झाउँदै भने ।
बेलायत