18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाहरु

कथा विश्वराज अधिकारी January 30, 2025, 2:39 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

म अर्थात मनोरञ्जन नेपाल आज तपाइँहरूलाई एउटा रोचक कथा सुनाउने छु। कथा कस्तो लाग्यो पुरै सुने पछि भन्नु होला है।
“२५ जुलाई २०१० मा हामी क्यानाडा पट्टिको नाएग्रा फल्स जान भनि टोरन्टो नजिक रहेको ब्राम्प्टन शहरबाट हिँडेका थियौ। आफ्नै कार भएकोले नाएग्रा फल्ससम्म पुग्न यस्तै डेढ घण्टा जति लागेको थियो।”
“नाएग्रा फल्स जाने टोलीमा तीन जना सदस्यहरु थिए। ती सदस्यहरु थिए- उमेश दाइ, म र नेपालबाट छोरा बोहारीलाई भेट्न र क्यानाडा घुम्न भनि आउनु भएका रामु काका। उमेश दाइ ब्राम्प्टनमा नै बस्नु हुन्थ्यो। क्यानाडाको पि आर पाएर पाल्पाको तानसेनबाट आठ वर्ष पहिले आउनु भएको थियो। उमेश दाइ पेशाले इन्जिनियर भएता पनि एक साहित्यकार भन्दा कम हुनु हुन्थेन। भद्रताले पनि उत्तिकै भरपूर हुनु हुन्थ्यो। हामी अलि पछि नाएग्रा फल्स जाने विचारमा थियौ तर वहाँको बलियो आग्रहले गर्दा त्यस दिन नै त्यहाँ घुम्न जाने योजना बनेको थियो। खास गरी म त्यस दिन जाने बिचारमा थिन। सि यन टावर हेरेपछि मात्र नाएग्रा फल्स हेर्न मेरो योजना थियो। उमेश दाइकी श्रीमति, मेनुका भाउजुले भने अनुसार उमेश दाइले तीन चार चोटो नाएग्रा फल्स घुमिसकेको भएता पनि कसैले फेरि त्यहाँ घुम्न जाउँ भने उहाँ जान तुरुन्त तयार भइ हाल्नु हुन्थ्यो। म युकेबाट पुगेको थिएँ। रामु काकासँग भने मेरो चिनजान पहिलेदेखि थिएन। कस्तो संयोग! म युकेबाट जुन दिन टोरन्टो हुँदै उमेश दाइको कहाँ ब्राम्प्टन पुगे त्यसै दिन टोरन्टो नजिक रहेको शहर, मिसिसागबाट रामु कका उमेश दाइ कहाँ आउनु भएको थियो।”
“म, २३ जुलाई २०१० मा उमेश दाइ कहाँ पुगेको थिएँ। रामु काकालाई आफू कहाँ आउन उमेश दाइले नै आग्रह गर्नु भएको थियो। मिसिसागामा बस्ने रामु काकाको छोराले नै आफ्नो बुआलाई स्वयंले नाएग्रा फल्स घुमाइ दिने विचार गर्नु भएको थियो। तर उमेश दाइको अति आत्मिय आग्रहलाई काट्न नसकेर रामु काका उमेश दाइको घर आइ पुग्नु भएको थियो उहाँको छोराले नै नाएग्रा फल्स घुमाइ दिने योजनालाई छाडेर। रामु काका उमेश दाइको घरमा दुई चार दिन बस्ने गरी आउनु भएको रहेछ। उमेश दाइको घरमा नै मेरो रामु काकासँग परिचय भएको थियो। परिचय मात्र के भन्नु, केही दिनको संघत र कुराकानि पश्चात अति घनिष्टता नै हुन पुगेको थयो। कसैसँग कुराकानी गरेको केही क्षण मै अपनत्वको आभाष दिने र छिटै नजिक हुन सक्ने किसिमको रामु काकको विशेष किसिमको बानी व्यवहार नै थियो। नेपालमा उहाँ सरकारी सेवामा हुनु हुन्थ्यो। सचिव या सह सचिव यस्तै कुनै पदबाट अवकास प्राप्त गर्नु भएको थियो। उहाँको कुराले मात्र मैले त्यस्तो अनुमान गरेको थिएँ किनभने उहाँले कुराको सन्दर्भमा म यस्तो उस्तो पदमा थिएँ, यस्ता यस्ता कामहरु गरे, मैले यति पढेको छ, यस्ता व्यक्तिहरुसँग मेरो उठ बस छ, चिनजान छ, यो नेतालाई चिन्दछु जस्ता स्वप्रशंसाका कुराहरु कहिले पनि गर्नु भएन। प्रसंगबस आउने कुरामा आफूले भन्न खोजेको कुरा मात्र थप्नु हुन्थ्यो। गफगाफ गर्दा बिना प्रशंगको पनि आफ्ना ठूला ठूला कुराहरु मिसाएर आफूलाई ठूलो देखाउने प्रयत्न पनि कहिले गर्नु भएन। बिना प्रसंगको पनि आफ्नो बडाइ हुने कुरा झिकेर आफूलाई ठूलो देखाउने रोग केही सरकारी सेवा निवृत नेपाली उच्च अधिकारीहरुमा भएता पनि उहाँ भने मेरो बुझाइमा त्यो रोगबाट पूर्णरुपेण मुक्त हुनु हुन्थ्यो। आफ्ना अनुभवका रोचक पक्षहरु बडो चाँखलाग्दो किसिमबाट सुनाउने सिप उहाँमा बेजोड थियो। र त्यतिकै सिप उहाँमा अरुका कुराहरु सुन्नमा थियो। रामु काकाअरुको अनुभव र ज्ञानको सम्मान गर्न पट्टकै कंजुस्याइ गर्नु हुन्थेन।”
“नाएग्रा फल्स हामी बिहानको यस्तै दस साढे दस बजेतिर पुगेका थियौ। त्यस दिन राम्रो गरी घाम नलागेको हुनाले त्यहाँको फोटो खिच्न गार्हो भएको थियो। नाएग्रा फल्स र त्यस वरपरका फोटो खिच्नेहरु यति थिए कि जता हेर्यो उता फोटो खिच्ने पर्यटकहरुको भीड देखिन्थ्यो। नाएग्रा फल्समा पर्यटकहरु ठूलो संख्यामा आउँदा रहेछन। वर्षेनी करीब एक करोड बिस लाख जति पर्यटकहरुले नाएग्रा फल्सको भ्रमण गर्छन। त्यसैले होला जता हेर्यो उतै पर्यटकहरुको भीड देखिएको थियो। १२ हजार वर्ष पुरानो नाएग्रा नदीलाई तरूण नदी मानिंदो रहेछ। यो नदीको प्रवाह प्रति घण्टा ५६.३ माइल छ। यसै गरी यसको लम्बाइ ५८ किलोमिटर रहेको उल्लेख गरिएको छ। नाएग्रा फल्सको पानी लेक ओन्टारियोमा गएर मिसिन्छ र पछि सेन्ट लरेन्स नदी हुँदै एटलान्टिक ओसनमा पूर्णतया विश्राम लिन्छ। सन् १८८६ सम्म, जब स्टेच्यू अफ लिवर्टीको स्थापना गरियो, नाएग्राको पानीको प्रवाहलाई अमेरिका तथा आधुनिक विश्वको संकेतको रुपमा दर्शाउने गरिन्थ्यो। विश्वको अनेक भागबाट उत्तर अमेरिका हेर्न आउनेहरुले नाएग्रा फल्सलाई पुग्नै पर्ने गन्तव्यको रुपमा राख्थ्ये।”
“हुन त नाएग्रा फल्स केवल ज्यादै फराकिलो मैदानबाट बग्दै आएर एक ठाउँमा पुगेपछि माथिल्लो सतहबाट तल्लो सतहमा बग्ने पानीको ठूलो राशीको प्रवाह मात्र हो तर यो हेर्दा यति रमाइलो छ कि जो सुकै पनि प्रकृतिले रचेको यो अति सुन्दर लिला हेरेको हेर्यै हुन्छ। हेर्नेको मन जति हेरे पनि अघाउँदैन। त्यसैले पनि होला नाएग्रा फल्सलाई संसारको सुहागरातको राजधानी (The honeymoon capital of the world) भन्ने गरिन्छ। कैयौले यस ठाउँमा आएर सुहागरात मनाएका छन। सुहागरात मनाउनेहरुमा, थियोडोसिया बर, जो अमेरिकी उपराष्ट्रपति एरोन बरकी छोरी थिइन, सन् १८०२ मा आफ्नो पति जोसेफ एलिस्टनसँग सुहागरात मनाउन नाएग्रा फल्स आएकी थिइन। यसै गरी नेपोलियनका भाइ जेरोमी बोनापार्ट आफ्नी पत्नी एलिजाबेथ पेटरसनसँग सन् १८०४ मा सुहागरात मनाउन नाएग्रा फल्स आएका थिए। अहिले पनि हजारौं जोडीहरुले सुहागरात मनाउन नाएग्रा फल्सलाई गन्तव्यको रुपमा पहिलो प्राथमिकता राख्छन। नाएग्रा फल्सको मोहकताको बयान गरेर साद्दे नै छैन। यसको सुन्दरतालाई शव्दमा उतार्न सम्भव छैन। आफ्नै आँखाले अनुभूत गर्नुको मज्जा नै बेग्लै छ। यो यति मनोरम छ कि यसलाई लाखौ पर्यटकहरु आफ्नो क्यामरा र स्मरण, दुबैमा राख्न उत्सुक हुन्छन। क्यामरामा राख्न अहिलेको डिजिटल फोटो प्रविधिले ज्यादै सजिलो पारिदिएको छ पनि। तर फोटोग्राफीको आविष्कार हुनु भन्दा पहिले भने नाएग्रा फल्सलाई स्मरणमा राख्न मानिसलाई असजिलो हुन्थ्यो। त्यो बेलामा स्मरणमा राख्न मानिसले नाएग्रा फल्सको रेखा चित्र बनाउँथे। यसबाट पनि नाएग्रा फल्सको लोकप्रियताको अनुमान लगाउन सकिन्छ। नाएग्रा फल्सको रातिको दृश्य त झनै मोहक हुन्छ। राति यसको पानीमा फैलिएको थरि थरिको रंगिन प्रकाशले यसलाई यति मोहक पार्दछ कि लाग्छ नाएग्रा फल्स कल्पनाको कुनै स्वर्ग नै हो। यी त भए प्रकृतिले दिएका वरदानका कुराहरु। यसलाई सिंगार्न गरिएका मानवीय पर्यत्न पनि कम छैन। नाएग्रा फल्सको वरपर मनोरन्जनात्मक कुराहरु यति बढी समाबेस गरिएका छन् कि एक व्यक्तिले एक दिनमा, दिनभरि समय लगाएर पनि, यहाँ भएका कुराहरु घुम्न गार्यो पर्छ। ‘मेड अफ दि मिस्ट’, टेबल रक सिनिक टनेल्स’, ‘स्पनेस एरो कार’, ‘रिप्लेज बिलिभ इट और नट म्युजियम’, ‘मेरिलैण्ड’, ‘कसिनो नाएग्रा’, ‘आइमेक्स थिएटर’, ‘बटरफ्लाइ कनजरभेटरी’ जस्ता आकर्षणहरुले पर्यटकहरुलाई नाएग्रा फल्समा दुई चार रात बिताउन बाध्य पार्छन। कतिपय साहित्यकारहरुले यस ठाउँलाई साहित्य श्रृजनाका लागि ज्यादै उपयुक्त स्थलको रुपमा प्रयोग गरेका छन। प्रकृतिको यो लिलाले उनीहरुलाई रचनात्मक चिंतनका लागि ज्यादै उत्प्रेरित गर्छ त्यसकारण कुनै खास रचना सृजना साहित्यकारहरूले नाएग्रा फल्सलाई एक अति उपयुक्त स्थलको रुपमा प्रयोग गर्ने गरेका छन्। । चाल्स ब्रकेटद्वारा निर्मित, हेनरी हेथवेद्वारा निर्देशित, संयुक्त राज्य अमेरिकाको The 20th Century For Movie को स्टुडियो प्रयोग भएको एक ज्यादै चर्चित फिल्म- नाएग्रा, जसमा मर्लिन मोनरोले अभिनय गरेकी थिइन, को छायांकन १९५२ मा ओन्टारियोको यसै नाएग्रा फल्समा भएको थियो। यो फिल्म रिलिज भने सन् १९५३ मा भएको थियो। नाएग्रा फल्ससँग जोडिएको एउटा अर्को रोचक घटना पनि छ। त्यो के हो भने सन् १९०१, अक्टोबर २४ का दिन मिचिगन बे सिटी निबासी एक महिला स्कूल शिक्षक एनी टेलर, जसलाई ‘Queen of the Mist’ पनि भन्ने गरिन्छ, ले ब्यारेलबाट नाएग्रा फल्सको यात्रा गरेकि थिइन। यो यात्रा उनले कुनै ठूलो दूर्घटना बिना सकुसल सम्पन्न गरिन। नाएग्रा फल्सको प्रथम यात्रीको रुपमा उनलाई लिने गरिन्छ। भाग्य र प्रसिद्धि प्राप्त गर्न जोखिमपूर्ण यात्रामा समर्पित एक बिरांगना यी महिलाले निकै चर्चा पाइन पनि। घटनाको विवरण यस्तो थियो- जब एनीले ब्यारेलमा बसेर नाएग्रा फल्समा प्रवेश गरिन, फल्सको तल जो त्यो दुस्साहसिक कार्य हेर्न बसेका थिए आश्चर्यचकित र चिन्तित थिए। अब के हुने हो भन्ने रणभुल्लमा उनीहरु परेका थिए। यो अधबैंसे उमेरमा यी महिलाले के उटपट्यांग कार्य गर्न थालेको भनेर केहीले आश्चर्य पनि माने। हुन पनि एनीले जति जोखिमपूर्ण त्यो कार्य गर्दा उनको उमेर ६३ वर्ष थियो। केहीले त त्यो घटना हेरिरहँदा यस्तो दु:खदायी आत्महत्याको साक्षी हुनु पर्यो भनी सोंच्दै पनि थिए। जब ब्यारेल बिस्तारै पानीमा देखा पर्न थाल्यो हेर्नेहरुले त्यतातिर आँखा गाडे। ब्यारेल जस्ताको त्यस्तै थियो। एकदम सिंगो थियो। टुटफुट केही भएको थिएन। तर त्यस भित्र बसेकी एनीलाई के भयो जान्न मानिस उत्सुक भए। एउटा बोट र केही व्यक्तिहरु त्यो ब्यारेल समात्न तम्तयार भएर बसे। जब उनीहरुले त्यो ब्यारेल समातेर त्यसको मुख खोले, उनीहरु अचम्ममा परे। ती मध्येका एक कार्लिसली डि ग्राहमले विश्वास गर्न नसकेर अत्तालिंदै कराए- धन्य इश्वर, यिनी त जिवित नै छिन।”
“नाएग्रा फल्स दुई देशको सीमानामा पर्दछ जसले क्यानाडाको ओन्टारियो प्रोभिन्स र संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यलाई छुट्याउँछ। यो दुई देशमा फैलिएको छ। नाएग्रा फल्स दुबै देशका लागि उत्तिकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको छ। यस्ता धेरै रोचक कुराहरु मैले नाएग्रा फल्सको बारेमा पढेको र सुनेको थिएँ। तर देख्न भने पाएको थिन। मैले पहिलो पटक आफ्नै आँखाले नाएग्रा फल्स देखें। तर मैले नाएग्रा फल्सको बारेमा, खास गरी क्यानाडाको क्षेत्रमा रहेको नाएग्रा फल्सको बारेमा, जति सुनेको र पढेको थिएँ यसलाई त्यो भन्दा कैयौं गुणा बढी मनमोहक देखें। अझै उल्लेखनीय कुरा त के छ भने मैले क्यानाडातिरको नाएग्रा फल्स हेर्दा, जति प्रकृतिले नाएग्रा फल्सलाई सिंगारेको छ त्यो भन्दा बढी यसलाई मानवीय प्रयत्नले सिंगारेको देखें। मानवीय प्रयत्नद्वारा गरिएको यस किसिमको सिंगार अनुकरणीय छ। कसरी, कुनै प्राकृतिक सौन्दर्यतालाई अति मनमोहक पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने सन्दर्भमा नाएग्रा फल्स एक उदाहरण नै हो। नेपाल जस्तो प्राकृतिक सुन्दरता अन्गिन्ति भएको मुलुकले नाएग्रा फल्सलाई नमुना मानेर यसबाट धेरै कुरा सिक्न सक्नु पर्छ भन्ने मलाई लाग्यो।”
“माफ गर्नुस, मैले भन्न खोजेको कथा अझे शुरु भएको छैन। मैले भन्न खोजेको कथासँग सम्बन्धित नाएग्रा फल्सको म अहिलेसम्म वर्णनन् गर्दै थिएँ। मैले भन्न खोजेको कथा नाएग्रा फल्ससँग किन सम्बन्धित छ भने नाएग्रा फल्स जाने बेलामा नै मैले कथाको सामाग्री फेला पारेको थिएँ। मेरो कथाको मुल पात्र हुनु हुन्थ्यो उमेश दाइ। म र रामु काका सह पात्रहरु थियौ। कथा यस्तो छ।”
“धेरै कुरा गर्नु पर्ने मिजासको उमेश दाइ ब्राम्प्टनबाट नाएग्रा फल्सका लागि हिंडेदेखि नै केहि शान्त देखिनु भएको थियो। हामी, म र रामु काका भने निकै उत्साही थियौ। कुरामाथि कुरा झिक्दै कुरा गरिरहेका थियौ। फूलको कुरा गर्यौ। त्यसपछि फूलसँग सम्बन्धित बगैचाको कुरा गर्यो। बगैचा पछि वनको कुरा गर्यो। वनको कुरा गर्दा गर्दै घना वनहरुको कुरा गर्यौ। घना वनहरुको कुरा गर्दा अफ्रिका महादेशको कुरा गर्यौ। अफ्रिका महादेशको कुरा गरेपछि मानव सभ्यताको विकास त्यसै महादेशबाट भएको कुरा झिक्यो। मानव सभ्यता विकासको कुरा गरेपछि मानिस पहिले कति फिरन्ते हुन्थ्ये भन्ने कुरा गर्यो। मानिस फिरन्ते भएको हुनाले नै यसले यति बढी विकास गरेको तथ्य थप्यो। मानिसले विकास गरेर के नै बढी गर्यौ? बरु उल्टो नैतिकता डरलाग्दो किसिमले गुमायो भन्ने तर्क गर्यौ। गर्भ मै हुँदा शिशुको लिंग पत्ता लाग्ने प्रविधिको विकास नभएको भए अहिले जस्तो गर्भ मै रहँदा शिशुको हत्या हुने थिएन भनेर वैज्ञानिक विकासको आलोचना गर्यो। इतिहासको यो मोडमा मानिस अहिले झनै बढी स्वार्थी भएको ठहर गर्यो। संसारको सम्पूर्ण सृष्टिमा केवल मानिस मात्र यति बढी स्वार्थी भएको निष्कर्ष झिक्यो। यस्तै यस्तै कुराहरु गर्दै हाम्रो कुराकानीको क्रम अगाडि बढिरहेको थियो। हुन त त्यसरी हुने कुराहरुमा उमेश दाइ पनि संलग्न भइ रहनु भएको थियो। तर पनि उहाँको त्यो संलग्नतामा खासै सक्रियता भने देखिएको थिएन। हाम्रो कुरामा उहाँ शरीक भएको महसुस त हुन्थ्यो तर केवल औपचारिक रुपमा। यस्तो क्रम लामो समयसम्म चलेपछि इशाराद्वारा रामु काका र मैले उमेश दाइ केही अपसेट भएको तथ्य एक अर्कालाई जाहेर गर्यौ। उमेश दाइले कार चलाइ रहनु भएको थियो। कार चलाउँदा उहाँ ज्यादै एकाग्र भएको बेला, खास गरी लेन चेंज गर्दा वा कुनै गाडीलाई ओभर टेक गर्दा म र रामु काका उमेश दाइको बारेमा हाम्रो मनमा लागेको धारणा इशाराद्वारा साटा साट गर्थ्यौ जुन उमेश दाइले गाडी पट्टि बढी ध्यान दिनु भएकोले चाल पाउनु हुन्थेन। बाटोभरि यो क्रम चलिनै रह्यो।”
नाएग्रा फल्स पुगेपछि कार कता पार्क गर्ने भन्नेमा केही अलमल भयो। पार्किंग लट पत्ता लगाउन निकै बेर यता उता भौतारिनु पर्यो पनि। तर पछि ज्यादै सजिलो गरी पार्किंग लट पत्ता लाग्यो। कार पार्क गरे पछि हामी ढुक्क भयौ। कारबाट ओर्लने क्रममा मैले सोंधे, “उमेश दाइ, तपाइँ अलि अपसेट देखिनु भएको छ। के त्यस्तो कुराले तपाँईलाई अपसेट पारेको हो?”
“उमेश दाइले भन्नु भयो- ए होइन, होइन। म अपसेट भएको छैन। किन, तपाँईलाई म अपसेट भएको लाग्यो कि क्या हो?”
“मैले भने- अँ, मलाई त तपाँई अलि अपसेट भए जस्तो लाग्यो। मलाई मात्र होइन, रामु काकालाई पनि तपाँई अलि अपसेट रहेको जस्तो लागि रहेको छ।”
“यति भनेर मैले रामु काकातिर हेरे। रामु काकाले उमेश दाइतिर हेर्दै भन्नु भयो- हो, उमेश जी, साँच्यै, तपाँई अलि अपसेट देखिनु भएको छ। तपाइँ अपसेट नै हुनु पर्ने के होला खास कारण त्यस्तो?”
“रामु काकाको कुरा सुनेपछि उमेश दाइ केही बेर हाँस्नु भयो। हाँस्दै उहाँले मेरो काँधमा हात राख्नु भयो अनि भन्नु भयो- केही त्यस्तो ठूलो कुरा होइन। बिहान तपाँईहरु सतीशको घर उसलाई भेट्न गएको बेला छोरीहरुसँग मेरो केही समय डिस्कस भएको थियो। उनीहरुसँग अलिकति चर्का चर्कि नै पनि परेको थियो।”
“मैले अचम्म मान्दै प्रश्न गरे- के कुरामा, दाइ?”
उहाँले भन्नु भयो- केहि न केहीको कुरामा। आले माले जाले कुरामा।”
मैले फेरि भने- होइन, भन्नुस न के त्यस्तो कुरामा डिस्कस पर्यो?”
त्यो रहस्य थाहा पाउन म मात्र होइन रामु काका समेत पनि जिज्ञासु देखे पछि उहाँले भन्नु भयो- त्यै कुरा के, हिँजो हामीहरुले ड्रिंक गरेको बारे…………………………..।”
“उमेश दाइको कुरा नसकिंदै रामु काकाले भन्नु भयो- हामीले ड्रिंक गरेको इना र इशालाई मन परेन कि क्या हो? त्यस्तो थियो भने हामीले ड्रिंक नै नगरेको हुन्थ्यो नि। उनीहरुको चित्त दुखाएर त्यसरी ड्रिंक गर्नु राम्रो थिएन।”
“उमेश दाइले रामु काकातिर हेर्दै भन्नु भयो- ड्रिंक गरेकोमा उनीहरुको आपत्ति होइन, तपाँईसँग ड्रिंक गरेकोमा पनि उनीहरुको आपत्ति होइन। उनीहरुको आपत्ति के मा भने उनीहरुको उमेरको, उनीहरुको एक किसिमले साथी जस्तो मनोरञ्जनसँग बसेर किन ड्रिंक गरेकोमा।”
“उमेश दाइको कुरा सुनेपछि मैले आश्चर्य मान्दै प्रश्न गरे- मसँग बसरे उमेश दाइले ड्रिंक गरेकोमा उनीहरुलाई किन आपत्ति भएको होला? म के बिग्रेको, त्यस्तो, उस्तो मान्छे हो र? अनि, म के अल्कोहलिक मान्छे हो त? म त एक जिम्मेबार, आफ्नो हित अहित हुने कुरा बुझ्ने मान्छे पो हो त, कि होइन? त्यसमा पनि म एक मेडिकल स्टुडेन्ट हो। कति ड्रिंक गर्नु पर्छ भन्ने कुरा मलाई राम्रो गरि थाहा छ। मलाई उनीहरुले अलि फरक रुपमा लिए जस्तो छ।”
“मेरो कुरा सुनेपछि उमेश दाइले हाँस्दै भन्नु भयो- त्यस्तो केही पनि होइन। तपाँईले सोंचे जस्तो पटक्कै होइन। उनीहरु गुनासो मात्र केमा भने उमेरमा आफूभन्दा त्यस्तो जुनिएर मान्छेसँग किन ड्रिंक गरेको रे। उनीहरुले गुनासो मात्र गरेनन् रुवाबासी समेत पनि गरे। मैले त्यस्तो गर्दा उनीहरुको इन्सल्ट हुन्छ रे। तर तपाँई प्रतिको उनीहरुको धारणा एक दम सफा छ, राम्रो छ है। तपाँईको बौधिकताको त उनीहरु बेस्सरी प्रशंसा समेत गर्छन। त्यसैले पनि तपाँईलाई यी कुराहरु भन्दै छु। तपाँईको ठाउँमा अरु कोही भएको भए म किन भन्थ्ये? यी कुराहरु किन बेलिबिस्ता लगाउँथें। उनीहरुको बारेमा तपाँईले कुनै आग्रह नराख्नु होला नि, फेरि। मेरा छोरीहरु मनको अति सफा छन, तपाँई जस्तो।”
“उमेश दाइको कुरा सुनेपछि म केवल हाँसे मात्र। केही पनि बोलिन। म चुप लागेको देखेर उमेश दाइले भन्नु भयो- बरु मेरो पो टाउको दुखेको छ। कोसित बोल्ने, कोसित नबोल्ने त्यो त मेरो इच्छाको पो कुरा हो। अब मैले कोसित बोल्ने कोसित नबोल्ने भनि उनीहरुसँग सोध्नु पर्ने। मेरा छोरीहरुले निर्देशित गरेको दिशमा मैले मेरा सारा क्रियाकलापहरुलाई डोर्याउनु पर्ने भयो। नयाँ उमेरकाहरुसँग मैले कुराकानी गर्न नपाउने, हेलमेल बढाउन नपाउने। हामीलाई त सबै उमेरको व्यक्तिहरुसँग हेलमेल बढाउन मन लाग्छ, कुराकानी गर्न मन लाग्छ। आफू अलि उमेरदार भएँ भन्दैमा उनीहरुलाई खुसी तुल्यान आफूभन्दा झन उमेरदारहरुसँग मैले संघत गर्नु पर्ने। उनीहरुको इन्सल्ट हुन नदिन उनीहरुले भने अनुसारको व्यवहार मैले गर्नु पर्ने। ऐ बाबा, हामीलाई हरेक दिनको सूर्योदय र सूर्यास्तले उमेरको यो बिन्दुमा ल्याएको हो। उमेरको पहाड दिन र रातको माटो थपिंदै थपिंदै यस्सरी अग्लिएको हो। शरीर र उमेरको यात्रा साथ साथ चल्छ। तर मन र उमेरको यात्रा भने साथ साथ चल्दैन। मेरा छोरीहरुले जीवनका यी कटु यथार्थहरु किन नबुझेका होलान? मन त कहिले झन बालक झै हुन खोज्छ। कहिले नव युवक कहिले युवक झै हुन खोज्छ यो मन। कहिले आफू भन्दा अति कम उमेरकाहरूसँग बसरे उनीहरुको कुराहरु सुन्न मन लाग्छ कहिले भने उनीहरुलाई आफ्नो युवा अवस्थाका कुराहरु सुनाउन मन लाग्छ। मैले, मभन्दा धेरै कम उमेरकाहरुसँग बसेर गफागाफ गरे भन्दैमा मेरा छोरीहरुले टाउको दुखाउने कारण म केहि देख्दिन। म जस्तो उमेरको मान्छेले केवल मेरै उमेरको हाराहारीमा भएको वा म भन्दा जेठो मानिससँग मात्र मैले हेमखेम, सर-सँघत गर्नु पर्ने भनि मेरा छोरीहरूले कस्तो अचम्मको धारणा बनाएको होला? होइन, मेरा छोरीहरुले मात्र यस किसिमले सोंच्छन कि मेरा छोरीहरूका उमेरका अरुका छोराछोरीहरूले पनि यसै गरी सोंच्छन? भन्नुहोस त रामु काका।”
“उमेश दाइको कुरा सुनेर रामु काका निकै बेरसम्म हाँस्नु भयो। रामु काका त्यसरी हाँसेको देखेर म र उमेश दाइ दुबै जना आश्चर्यचकित भयौ। आफ्नो मुहारमा आश्चर्य भाव ल्याए हामीले केवल रामु काकातिर केही बेर हेर्यौ। हामीले त्यसरी रामु काकालाई हेरेको देखेर उहाँले भन्नु भयो- तपाँईका छोरीहरुले जसरी तपाँईको बारेमा सोंच्छन तपाँईकै उमेरको मेरो छोराले पनि मेरो बारेमा त्यस्तै सोंच्छ। म तपाँई कहाँ आउने बेलामा मेरो छोराले भन्दै थियो- म तपाँईलाई नाएग्रा फल्स लगिदिइ हाल्छु नि। अर्को विकइण्डमा मेरो फुर्सत छ, त्यै बेला जाउँला त्यतातिर। तर म तपाँईको घरमा आउन उत्सुक थिएँ। गफ गाफ गर्न खोजिरहेको थिएँ। तपाँईले टेलिफोन गरेर मलाई आउन भने पछि त मलाई कति खेर तपाँई कहाँ पुगौला जस्तो भएको थियो। म तपाँई कहाँ आउन उत्सुक भएको देखेर मेरो छोराले व्यंग गर्दै भनेको थियो- बुआ, उमेश त मेरो पो साथी हो। तर तपाँई उसलाई भेट्न यति ब्यग्र हुनु भएको छ, यति हतारिनु भएको छ कि लाग्दछ, उमेश मेरो होइन, तपाँईको नै साथी होस जस्तो।”
“रामु काकाको कुरा सुनेर हामी सबै निकै बेरसम्म हाँस्यौ। केही क्षण पश्चात उमेश दाइले हाँसोको त्यो क्रमलाई तोड्दै भन्नु भयो- कतिपय तथ्यहरु केवल बा भएपछि मात्र थाहा हुँदो रहेछ।”
“उमेश दाइको कुरामा रामु काकाले थप्नु भयो- प्राय: सबै छोरा छोरीहरुको बाबु आमाप्रतिको समान किसिमको धारणा हुने रहेछ। छोरा छोरीहरुले बाबु आमालाई केवल बाबु आमाको रुपमा मात्र सोंच्छन अनि देख्छन पनि। भगवान् जस्तो मर्यादित भएर केवल मन्दिर भित्र स्थिर रहुन भनी बाबु आमाको व्यवहारबाट खोज्छन। तर उनीहरुले यो सोंच्दैनन् कि बाबु आमाले पनि उमेरका धेरै खुडकिलाहरु पार गरेका छन्। तिनीहरु बालक थिए, नव युवा भए, जबान भए। जवानीका रंगीन पलहरू वृदध आमाबाबुका मष्तिष्कमा नाचिरहेका हुन्छ। त्यो पनि हरपल।”
“यस्तै कुराहरु गर्दा गर्दै हामी पार्किंग लटबाट नाएग्रा फल्सको त्यो ठूलो झर्नाको निकै नजिक पुगिसकेका थियौ। त्यो ठूलो झर्नातिर देखाउँदै उमेश दाइले भन्नु भयो- ल अब त्यो कुरालाई विश्राम दिऔ। अब नाएग्रा फल्सको आनन्द लिनेतिर लागौ। त्यस्तो ठाउँको आनन्द लिऔ जहाँ आउन विश्वभरिबाट लाखौ मान्छेहरुले प्रत्येक वर्ष योजना बनाउने गर्दछन्।”
“उमेश दाइले यति भने पछि हामी नाएग्रा फल्स हेर्नमा केन्द्रिय भयौ। म फोटो खिच्नमा व्यस्त भए। मैले फोटो खिचिरहेको क्रममा उमेश दाइले भन्नु भयो- नाएग्रा फल्स किन हो आज त अरु दिनभन्दा झनै मन मोहक देखिएको छ। कुनै नव यौवना जस्तो। सोर्ह सृङ्गार गरेकी कुनै युवती जस्तो।”
“उमेश दाइको भनाइमा रामु काकाले प्रतिक्रिया व्यक्त गर्नु भयो- “हो र? होला होला। नाएग्रा फल्स हेरे पछि मलाई त मेरो पहिलो प्रेमिकाको याद आयो। उनको रुपमको याद आयो। उनले मसँग बिहे गर्ने हिम्मत गरेको भए आज मेरो कहानी अर्कै हुने थियो।”
मैल भने, “अनुभव साटा साटले तपाँईहरुको मन हल्का भए जस्तो छ। मन हल्का भए पछि राम्रो कुरा झनै राम्रो देखिन्छ, बुझ्नु भयो, बाहरु। नाएग्रा फल्स त्यसकारणले गर्दा पनि आज थप सुन्दर देखिएको होला।”

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।