18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजनीतिक र सामाजिक समस्या निरूपणका दृष्टिले सुशीला कार्कीको 'कारा' उपन्यास

कृति/समीक्षा प्रा. डा. विष्णुप्रसाद पौडेल January 23, 2025, 3:39 am
प्रा. डा. विष्णुप्रसाद पौडेल
प्रा. डा. विष्णुप्रसाद पौडेल

विषयप्रवेश
कारा भनेको कारावास वा बन्दीगृह हो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्की (सन् १९५२) को पहिलो उपन्यास कारा (२०७६) २०४७ पूर्वको नेपालको राजनीतिक र सामाजिक समस्या निरूपणमा केन्द्रित छ । पञ्चायत व्यवस्थाका विरुद्ध विद्रोहमा लागेका र विभिन्न सामाजिक अपराधका कारण जेलमा परेका पात्रहरूको कार्यकलाप यसमा रहेको छ । यसको खास कार्यपीठिका नै मोरङको बन्दीगृह हो । जम्मा २१९ पृष्ठमा फैलिएको (पृ.७­२२७) यस उपन्यासको मूल विषयलाई २० परिच्छेदमा विभाजित गरी प्रस्तुत गरिएको छ । उपन्यासको विषयको खास समय नायिका पुष्पा जेल परे (२०४५ साल चैत) देखि बहुदल घोषणा भएको (२०४६ चैत २६) केही समय पछिसम्म रहेको छ । उपन्यासका पात्रहरूको अतीत कथन गर्ने क्रममा २००७ सालदेखिको सन्दर्भ (पृ.६३­६४) पनि यहाँ आएको छ ।
उपन्यासको भूमिका अनुसार कार्कीको यो उपन्यास उनले २०४६ सालको आन्दोलनका क्रममा ब्यहोरेको जेलजीवन र तिस वर्षसम्म वकालत गर्दा देखेभेटेका चरित्रमा आधारित छ । उपन्यासमा विषय प्रस्तोताका रूपमा समेत आएकी प्रमुख पात्र म वा पुष्पाको पारिवारिक पृष्ठभूमि र उसको चरित्रमा उपन्यासकारको व्यक्तित्वको छाप पनि भेटिन्छ ।
उपन्यास पञ्चायत व्यवस्था र त्यसले सिर्जना गरेका यावत् समस्या (विशेषतः नारीसमस्या) का विरोधमा केन्द्रित छ । उपन्यासका प्रमुख पात्र पुष्पा र सानु काङ्ग्रेस र कम्युनिस्ट परिवारका सदस्य हुन् । पञ्चायत विरोधी उनीहरूका बिच राम्रो एकता देखिएको छ । त्यस व्यवस्था विरुद्ध लाग्नेलाई कसरी दुःख दिइन्थ्यो, त्यस व्यवस्थामा नारीले के कस्ता समस्या झेल्नुपर्थ्यो, बन्दी गृहभित्रै बन्दीहरूबीच के कस्ता गुटबन्दी निर्माण गरेर वा उनीहरूलाई फुटाएर राज गर्ने चलन थियो, प्रशासक र न्यायाधीशले समेत नारीहरूलार्इ कसरी दुख दिन्थे जस्ता कुराहरू उपन्यासमा आएका छन्। त्यसैले उपन्यासमा राजनीतिक र सामाजिक विषय उत्तिकै महत्वका साथ आएका छन् । २०४६ साल फागुन ७ गते आरम्भ भई २०४६ साल चैत २६ गते सम्म चलेको पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनका सिलसिलामा बन्दीगृहमा बढ्दै गरेको भिड र त्यसपछि बन्दीगृहमा हुन थालेको परिवर्तनलाई पनि यसमा सङ्केत गरिएको छ । नारी बन्दीगृहमा सचेत नारीहरू (सानु र पुष्पा) पञ्चायत व्यवस्था विरोधी रहेका र उनीहरूकै तारतम्य अनुसार बन्दीगृहभित्र पनि स्थिति परिवर्तन हुन थालेको देखाइएको छ । साथै उपन्यासमा नेपाली समाजमा नारीप्रति के कस्तो व्यवहार गरिन्छ र उनीहरू के कस्ता परिबन्दका कारण बन्दीगृहको नारकी यातना झेल्न बाध्य हुन्छन् भन्ने कुरा विस्तारमा प्रस्तुत गरिएको छ । ती सबै समस्याको मूल स्रोत पञ्चायत व्यवस्था हो भन्ने आशय यसमा छ । त्यही स्थितिको परिवर्तनका लागि नेताहरूले जन आन्दोलनको घोषणा गरेका र त्यो सफल भएको सङ्केत पनि यसमा छ ।
यसका साथै परम्परित समाज मनोविज्ञानले पनि सामाजिक समस्या निर्माणमा उत्तिकै भूमिका खेलेको हुन्छ भन्ने कुरा पनि उपन्यासमा देखाइएको छ । त्यसैले यसलाई विशुद्ध राजनीतिक उपन्यास मात्रै पनि भन्न सकिन्न। उपन्यासको बन्दीगृहमा राजनीतिक र सामाजिक बन्दी छन् । त्यसैले उपन्यासमा पञ्चायती व्यवस्थाका ज्यादती र विद्रोहका साथै परम्परित पितृसत्ताको ज्यादती र नारीका प्रतिरोधका कुरा त आएकै छन् । त्यसबाहेक नारीका आफ्नै कमजोरी, त्रुटिपूर्ण न्यायव्यवस्था, बन्दीगृहका प्रशासनिक भ्रष्ट्राचारका कुरा पनि यसमा आएका छन् । तिनको क्रमशः तल चर्चा गरिएको छ ।

विषयविस्तार
राजनीतिक समस्या
पञ्चायत व्यवस्थाका विरुद्ध विद्रोहको स्वर उराल्ने यस उपन्यासमा राजनीतिक विद्रोही चरित्रका रूपमा पुष्पा र सानु रहेका छन् । पुष्पा विद्यार्थीकालबाटै काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घसँग सम्बद्ध छ । उसलाई त्यस्तो प्रेरणा हजुर बुबाबाट प्राप्त भएको थियो किनभने हजुर बुबा नेपाली काङ्ग्रेसका अनुयायी थिए। २००७ सालको नेपाली काङ्ग्रेसको आन्दोलनमा भोजपुरबाट उनी सहभागी भएका थिए । त्यस क्रममा हजुर बुबाका भाइ सहिद पनि भएका थिए। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेर पञ्चायत व्यवस्था ल्याएका हुँदा त्यसमा बोल्ने, लेख्ने र राजनीतिक स्वतन्त्रताको अधिकार नभएको हुँदा त्यसलाई फ्याक्नुपर्छ भनी पुष्पा र सानु जस्ता चरित्र यसमा क्रियाशील देखिएका छन् तर जेलभित्र भएका हुँदा बाहिरको जनआन्दोलनमा सहभागी हुन भने पाएका छैनन् ।
बीपीले भारतबाट पञ्चायत व्यवस्था विरुद्ध सशस्त्र आन्दोलन चलाए पनि त्यो असफल भए पछि मेलमिलापको नीति लिई स्वदेश फर्के । त्यसपछि २०३६ सालको आन्दोलनले जनमत सङ्ग्रह गर्न राजालाई बाध्य पा­यो तर बहुदल पराजित भएको हुँदा बहुदलवादी पुनः सङ्गठित भई पञ्चायत व्यवस्था विरुद्ध लागेर २०४६ सालको जनआन्दोलनले बहुदल पुनस्थापित गरेको नेपालको राजनीतिक इतिहास यस उपन्यासमा आएको छ । उपन्यासका १७ देखि १९ परिच्छेदसम्म जेल बाहिरको पञ्चायत विरोधी राजनीतिक (२०४६ को जनआन्दोलनको) विषय केही विस्तारमा आएको छ ।
उपन्यासमा प्रसङ्गवश पञ्चायती व्यवस्था कति क्रूर थियो भन्ने सन्दर्भ यहाँ ठाउँ ठाउँमा आएका छन्। पुष्पा यद्यपि काङ्ग्रेसी राजनीतिसँग सम्बद्ध थिई तर उसलाई अराजनीतिक विषयमा समातेर जेलमा हालिएको थियो। गाउँको कृषक दाजुले साझा संस्थामा भ्रष्टाचार भएको थाहा पाई त्यसको विरोध गर्दा उसलाई प्रहरीले समाते गायब गरे पछि पुष्पाहरूले निजलाई सार्वजनिक गर भनी प्रहरी चौकीमा धर्ना बसेका थिए। धर्नामा घुसपैठ गरी चौकीमा ढुङ्गा हान्न लगाएर उनीहरूलाई समातियो र आतङ्ककारीहरूले प्रहरी चौकीको हतियार लुट्न आएको अभियोग लगाई छानी छानी राजनीतिक प्रतिशोध लिने किसिमले जेलमा राखियो । सानुका बुबाआमा नै कम्युनिस्ट राजनीतिमा सङ्गठित रूपमै लागेका हुँदा उसलाई पनि त्यस्तै निहुँमा जेल लगिएको थियो । यी राजनीतिक मानिस भएका हुँदा जेलमा रहँदा पनि उनीहरूले सङ्गठित रूपमै सरकारको ज्यादतीको सक्दो प्रतिरोधमा लागेको देखिन्छ।
उपन्यासले पञ्चायत व्यवस्था परिवर्तनपछि सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन हुने अपेक्षा राखेको छ । व्यवस्था परिवर्तनकै कारण पुष्पा र सानु जस्ता विभिन्न बहानामा बन्दी बनाइएका राजनीतिक मानिसहरू छुटेका पनि छन् तर अपेक्षित सकारात्मक परिवर्तन हुन नसकेको कुरा उपन्यासको भूमिका (मेरो भनाइ) मा सङ्केत गरिएको छ । यथार्थ पनि त्यस्तै छ ।

सामाजिक समस्या
उपन्यासमा राजनीतिक विषयका साथै सामाजिक समस्याको पनि निरूपण रहेको छ । ती सबै समस्या पञ्चायत व्यवस्थाले गर्दा जन्मेका हुन् भन्ने सङ्केत उपन्यासका कतिपय ठाउँमा भेटिन्छन् । जस्तै­ समाजमा गरिबलाई झन् गरिब बनाउने र धनीलाई झन् धनी बनाउने काम पञ्चायत व्यवस्थाले गरेको छ (पृ.२०९) । नारीले भोगेका यावत समस्याका जिम्मेवार पनि जनतामारा पञ्चायत व्यवस्था र यसका नेता भनाउँदाहरू नै हुन् किनभने “न महिलालाई गतिलो शिक्षा दिइयो, न सम्पत्ति । न अवसर नै दिइयो । महिलाहरूलाई सधैँ दबाएर राखिएका कारण उनीहरूको यस्तो बिजोक भएको हो” (पृ.१२२) । नारीलाई शिक्षा, सम्पत्ति र अवसर केही पनि नदिँदा यस्ता समस्या आएका हुन् भन्ने पुष्पाको दृष्टिकोण छ । तर लामो सामाजिक सांस्कृतिक परम्पराका आडमा विकसित यस्ता समस्या न पञ्चायत व्यवस्थाले मात्रै निर्माण गरेको हो न त्यो राजनीतिक व्यवस्था परिवर्तन हुनासाथ सर्लक्क परिवर्तन भएका छन् । यस गहिराइका साथ समस्याको विश्लेषण गर्न पुष्पाले सकेकी छैन ।
उपन्यास नारी बन्दीगृहमा केन्द्रित भएको हुँदा यहाँ नारीसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, यौनिक र मनोवैज्ञानिक समस्या देखिएका छन् । नारीहरू जीर्ण बन्दीगृहको भौतिक बन्धनमा मात्रै नभर्इ सामाजिक दबाबको मानिसक बन्धनमा परेका छन् । यस्ता समस्याको निरूपणका कारण नै उपन्यासले आफ्नो औचित्य स्थापित गर्न सकेको छ ।
नारी केन्द्रित समस्याहरूलाई नारीवादी कोणबाट विश्लेषण गर्नु बढी व्यावहारिक देखिन्छ। त्यसरी हेर्दा यहाँ सामाजिक समस्यालाई मुख्यतः पितृसत्ताको ज्यादती र नारी प्रतिरोधका प्रयासमा विभाजित गरेर हेर्नु उचित ठानिएको छ ।

पितृसत्ताको नारीप्रतिको ज्यादती
नेपाली समाज पितृसत्ता प्रधान छ र यो धेरै लामो परम्परादेखि आएको हुँदा यसले नारीप्रति अनेकन अत्याचार गरेको पाइन्छ । यो उपन्यास २०४६ साल पूर्वको नेपाली समाजमा आधारित रहेको हुँदा यसले तत्कालीन पितृसत्ताको ज्यादती प्रस्तुत गरेको छ । उपन्यासको केन्द्रीय कार्यपीठिका नारी बन्दीगृह हो र यसमा रहेका पुष्पा, सानु जस्ता राजबन्दी बाहेक अरु सबैजसो नारीहरू पितृसत्ताको नारीप्रतिको नकारात्मक सोच र व्यवहारकै परिणामका रूपमा बन्दीगृहको नारकीय जीवन बिताउन बाध्य देखिएका छन् । पुष्पा यद्यपि राजनीतिक कारणले बन्दीगृहमा छ तर ऊ पनि पितृसत्ताको चेपुवामा परेकी छ । ऊसँग विवाह गर्ने भनेको केटाले पितृसत्ताकै कारण उसलाई छाडेर अरुसँग विवाह गरेको छ ।
समाजमा छोराको जुन मूल्य छ, छोरीको छैन । लाहुरेकी जेठी श्रीमतीले चार चार वटा छोरी छोरी पाएकी हुँदा छोरो पाउन कान्छी श्रीमतीका रूपमा जिम्मालकी नातिनी हीरामाया भित्र्याएको छ तर उसले पनि लगातार तीन वटा छोरी पाए पछि उसलाई माइत लखेटेको छ । लाहुरेले छोरीलाई सन्तानै ठानेको छैन। छोरो नभएको हुँदा आफ्नो भएको सम्पत्ति भट्टी र जुवाको खालमा बसेर सक्न थालेको छ । “मैले कसका लागि जोगाउने सम्पत्ति ? छोरो भए पो ??” (पृ.१३८) भन्ने उसको सोच छ ।
छोरीलाई पुरुषको वासना पूर्ति गर्ने साधन मात्रै ठान्ने सोच समाजमा विद्यमान छ । त्यही भएर राम्रा भनिएका होटेलमा पुरुषलाई सुखसुविधा दिन केटीहरू राख्ने चलन छ । व्यापार उकास्न नारीदेह बेच्ने प्रचलन हिजो पनि थियो र आज पनि छ । नाइकेनी तिमिलाको बाबु नै त्यो धन्दा गर्थ्यो । पछि तिमिला पनि सोही धन्दामा लागी । त्यस्तै धनी परिवारकी शिवा र गरिब परिवारकी सुधा जस्ता पढेलेखेका सचेत युवतीहरू धनको उन्माद र विपन्नताका कारण सोही धन्दामा तानिएका छन् । उनीहरूको माग धरान, विराटनगरमा मात्रै नभई देशका विभिन्न सहरका गनिएका होटेलमा हुने गरेको छ । देशका ठुलाठालुसँग उनीहरूको सम्बन्ध हुने हुँदा वेश्यावृत्ति नै भए पनि उनीहरू स्तरीय वेश्यामा परेका छन् । उनीहरू जेल परेपछि होटल व्यवसाय नै चल्न नसकेको स्थितिले पनि हाम्रो समाजिक मनोदशा र पितृसत्ताको सोचको अनुमान गर्न सकिन्छ ।
यस्तै समाजका पुरुषको द्वैध मानसिकतालाई पनि यहाँ सङ्केत गरिएको छ । उपन्यासमा स्पष्टै भनिएको छ­ “जुन पुरुष रातिराति वेश्यालय धाउँछन् तिनै दिउँसोको उज्यालोमा महिलाको चरित्र जाँच गरेर चोकचोकमा सुनाई बस्छन्” (पृ.१७४) । पुरुष जति छाडा र अराजक भए पनि हुने तर नारी भने सामाजिक नैतिक बन्धनमा बाँधिएर बस्नुपर्ने स्थिति छ । सागर र आकाश जस्तो जे आयो त्यसैलाई आफूमा समाहित गरेर बस्नुपर्ने ठानिएको छ (पृ.१७४) । पितृसत्ताको यस्तो ज्यादती यहाँ आएको छ ।
कतिपय पुरुषले नारीलाई प्रेमविवाहको पासोमा पारी भारतका वेश्यालयमा बेचेको पनि देखिन्छ। खोटाङकी ७० वर्षे बज्यैकी नातिनीको कथा यस्तै छ (पृ.१३८) । त्यहाँको वेश्यालयबाट बल्ल तल्ल फुत्केर नातिनी आए पनि उसलाई घरपरिवार र समाजले नस्वीकारेको हुँदा अन्ततः ऊ उही फर्केर कोठीमा केटी दलालीको काम गर्न बाध्य भएकी छ । पछि उसैको दलालीको जालोमा परेर यसकी हजुर आमाले केटी बेच्ने कसुरको सजाय भोग्न बाध्य भएकी छन् । एउटा निरपराध नारी पितृसत्ताको परिबन्दका कारण कसरी अपराधी बन्छे भन्ने यो एउटा उदाहरण हो ।
समाजमा नारीलाई पुरुषको वासनापूर्तिको साधनका रूपमा बेच्ने काम सुरुमा पुरुषले गरेपनि पछि नारी पनि त्यसमा सहभागी भएका छन् । दार्जिलिंगेकी काकीले उसलाई मार्न ड्राइभरसँग पठाए पनि ड्राइभरले बेस्यालयमा बेच्छ तर वेश्यावृत्ति सञ्चालकको छोरासँग उसको प्रेम हुन्छ र उनीहरू भाग्छन् । कलकत्ता पुगेका उनीहरूले विवाह गरी छोराछोरी जन्माउँछन् तर लोग्ने सडक दुर्घटनामा परी मर्छ । त्यसपछि उसका सासूससुरा लिन आउँछन् । दार्जिलिंगे जान्छे तर सासूले विधवी बुहारीलाई पुनः वेश्यावृत्तिमा लागाउन जबर्जस्ती गर्छे । त्यस्तै ७० बर्से बज्यैकी नातिनी, नाइकेनी तिमिलाहरूले पनि यस्तो काम गरेका छन् ।
उपन्यासमा पितृसत्ताका आडमा हुने अनमेल, अनिच्छित र बहुविवाहका प्रसङ्गहरू पनि प्रशस्तै आएका छन्। १८ वर्षे हीरामायाले ५५ वर्षे लाहुरेसँग अनमेल, अनिच्छित र बहुविवाह गर्न बाध्य भएकी छ । उसकी हजुर आमाको पनि १३ वर्षकी हुँदा ४८ बर्से र फुपूको पनि १६ बर्से हुँदा ५० बर्से केटासँग विवाह भएको छ । हुन त तिमिला राईकी आमाले लोग्ने मरे पछि आफूभन्दा कम उमेरको केटोलाई लोग्ने बनाएकी छ तर लोग्नेले उसलाई नहेरी उसकी छोरी तिमिलासँग लागेको देखिन्छ । यसले पितृसत्ताको विस्तार जनजातिमा पनि रहेको देखाउँछ ।
यस्तै जेलरकै तीन तीनवटा श्रीमती छन् । घर स्वास्नी छोराछोरी भए पनि बुढो हल्दारले नाइकेनीसँग उठबस बढाएको छ । हीरामायाकै बाबुले आमा मरेको तीन महिनामै अर्को विवाह गरेको छ । जेल परेका कतिपय नारीका श्रीमान्ले अर्की श्रीमती ल्याएका छन् तर श्रीमान् जेल परेपछि श्रीमतीले उसैलाई कुरेर बसेका छन् । त्यसैले हीरामायाले भनेकी छ­ “लोग्ने मान्छेलाई बिहे गर्न न उमेरले छेक्छ न समाजले” (पृ.५७) । यस्तो दर्दनाक अवस्था पहाडी समाजमा भन्दा अझ बढी मधेसी समुदायमा देखिएको छ । भारतमा माइत भएकी झुम्रिदेवी (?, कतै झुम्री, झुम्रिवती, पृ.१७५­१७६) तेलीको जीवनकथाबाट यसलाई बुझ्न सकिन्छ। तीन वटी छोरी पाए पछि पाएको छोरो रोगाएर मर्दा ऊ विक्षिप्त जस्ती बनेकी थिई । लोग्नेलाई ऊ पैतालामा बिझेको काँडो जस्तो भएकी हुँदा (पृ.१७७) उसले जेलरलाई पैसा खुवाएर जेल हालिदिएको छ र आफूले अर्की स्वास्नी ल्याएर बसेको छ । यसले नारीप्रतिको पुरुषको चरम बेइमानी र हीनतर मानसिकतालाई देखाउँछ ।
उपन्यासमा पितृसत्ताका आडमा हुने धन, धाक र जातीय सोचले पनि नारी जीवन कष्टकर बनेको देखिन्छ। हीरामायाले नै मास्टरसँग प्रेम गरे पनि ऊ हलीको छोरो हुँदा बुढो तर धनी लाहुरेकी कान्छी स्वास्नी बन्नुपरेको छ । राजनीतिक सचेत परिवार भए पनि पुष्पाकै घरपरिवारले पनि पुष्पाको विवाह जड्याहा भए पनि आफ्नै जात मिल्दो बाहुन केटो खोजेका छन् ।
समाजमा श्रीमती श्रीमान्प्रति एकहोरो समर्पित भएको देखिए पनि श्रीमान्ले श्रीमतीप्रति बेइमानी नै गरेको देखिन्छ। खोटाङे सुनुवारकी पत्नीले लोग्नेको अपराध आफूले गरेको भनी आफू जेल पर्छे तर लोग्नेले उसका सन्तान उसैको माइतीमा लगेर छाडी अर्की स्वास्नी ल्याएर बस्छ । जेल परेकीलाई कुनै वास्ता गर्दैन । पुरुषको नारी नारीप्रतिको चरम कृतघ्नता यसको व्यवहारबाट पनि प्रकट भएको छ ।
यस्तै समाज नारीप्रति अत्यन्त नकारात्मक छ भन्ने कुरा पुरूष बन्दीगृहमा भन्दा महिला बन्दीगृहमा एकदमै कम मानिस भेट्न जानुले पनि देखाएको छ । बन्दीगृहमा पुगेका नारी एक किसिमले समाजबाट तिरस्कृत जस्तै हुन्छन् । त्यसैले कतिपय बन्दी गृहका नारीहरू जेल सजाय भोगिसकेपछि पनि बाहिर निस्कन नचाहेको देखिन्छ । यस्तो हुनुमा जेललाई सुधार गृहका रूपमा विकसित गर्न नसक्नु पनि हो । यदि बन्दीहरूलाई जेलमा शिक्षा र आत्मनिर्भर हुने सीप सिकाइन्थ्यो भने उनीहरू बाहिर आएर आफूलाई रूपान्तरणसहित स्थापित गर्न सक्थे तर जेलभित्र त्यस्तो वातावरण निर्माण हुन सकेको छैन। बरु उल्टै नकारात्मक मनोवृत्तिलाई नै टेवा पुग्ने अवस्था देखिएको छ ।
उपन्यासका धेरैजसो नारी पात्रहरू परिबन्दका कारणले अपराध गर्न बाध्य भएर वा कुनै अपराध नै नगरीकन पनि जेलको नारकीय जीवन बिताइरहेका देखिन्छन् । परिबन्द सिर्जना गर्ने काम मूलतः पितृसत्ताले नै गरेको पाइन्छ । जस्तै हीरामाया, दार्जिलिंगे, बुदिया बाँतार, ७० वर्षे बज्यै, पार्वती, रमादेवी, खोटाङे सुनुवारकी पत्नी जस्ता महिला बन्दीहरूको जीवन कथाहरूले त्यसैको पुष्टि गरेका छन् । यसबाट के पनि स्पष्ट भएको छ भने हाम्रो न्याय प्रणालीमा पनि पुरूषकै भूमिका हुने भएकाले उनीहरूले महिलालाई उचित छानबिन गरी न्याय दिँदैनन् । अपराध गर्नुको पृष्ठभूमिको गहिराइमा नै नपुगी सतही आधारमा नै निरपराधी महिलालाई अपराधी सिद्ध गर्छन् ।
न्यायालयका साथै जेल प्रशासन पनि महिला बन्दीप्रति बढी नै कठोर देखिएको छ । बन्दीगृहको सरसफाइ, आन्तरिक भौतिक व्यवस्थापनमा प्रशासनले खासै चासो दिँदैन । नियमअनुसार सरकारले दिने रासन र अन्य सुविधा पनि प्रशासकले कटौती गर्छन् र आफूले खान्छन् । प्रशासनिक कागजमा धेरै कुरा भए पनि उनीहरूलाई आधा पनि दिँदैनन् (पृ.१०८) । कसैले विरोध गर्न खोजे यातनागृह वा सेल घरमा पठाई चरम यातना दिन्छन् । कैदीहरूलाई सङ्गठित हुन नदिने, फुटाएर शासन गर्ने, जेलभित्र कोही मरिहाले कात्रो पनि नदिने र त्यसबापतको रकम आफै खाने गर्छन् । यसरी जेलको रकम खानेमा नाइकेनी, सुब्बा, जेलरदेखि माथिसम्मकै सङ्लग्नता रहने कुरा पनि उपन्यासमा आएको छ (पृ.१०८­११०) ।
उपन्यासमा पुरुषको नारीप्रतिको ज्यादती मात्रै नभई नारीकै नारीप्रतिको ज्यादतीको निरूपण पनि रहेको छ । जस्तै हीरामायाले तीनवटा छोरी पाएपछि पाएको छोरोलार्इ उसले लोग्नेको नभई अरु कुनै नाठोको हो भनी उसकी सौताले हल्ला फिँजाएकी छ । त्यस्तै नाइकेनी तिमिलाले महिला बन्दीहरूप्रति गरेको चरम दुर्व्यवहार र यातना, सौताको हत्या गरी जेल परेका अनि तिमीलाईसँग साँखै हुन उसलाई कुरा लगाउने सावित्री र लालुमायाको व्यवहार, दार्जिलिङेकी काकी र सासूले उसलाई गरेको व्यवहार आदि यसका उदाहरण हुन् । नारीकै यस्तो नारीद्रोही चरित्र निर्माणमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष पितृसत्ताले काम गरेको छ ।

नारीप्रतिरोध र नारीवादी स्वर
उपन्यासमा समस्याहरूको मात्रै निरूपण नगरी त्यसको प्रतिरोध पनि प्रस्तुत गरिएको छ । पञ्चायत व्यवस्था ढाल्नका लागि २०४६ सालको जनआन्दोलनमा नारीहरू पनि सहभागी हुनु राजनैतिक प्रतिरोध हो । यसमा पुरूषको उल्लेख्य सहभागिता हुँदा त्यसले व्यवस्था ढाल्न सफल पनि भयो। तर पितृसत्ताको प्रतिरोधमा सबै नारीहरू उत्रन सकेका छैनन् र उनीहरूको प्रतिरोधले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन। धेरैजसो नारीहरूको प्रतिरोध सुविचारित र सङ्गठित पनि छैन। अवस्था विशेषको आवेगात्मक प्रतिरोध छ । त्यसले झन् उनीहरू बन्दीजीवन बिताउन बाध्य भएका छन्। हीरामायाले आफ्नो शिशु छोरोलाई लोग्नेले नाठोको सन्तान भनी खुकुरीले काट्न खोजेपछि त्यही खुकुरी खोसेर उसैलाई छप्काइदिएकी छ भने दार्जिलिंगेले पनि आफूलाई वेश्यावृत्तिमा धकेल्ने सासूको हत्या गरेकी छ । त्यसपछि यी दुवै जेलको नारकीय जीवन भोग्न बाध्य भएका छन् । शिवा र सुधाको प्रतिरोध नाइकेनीको ज्यादती र जेलभित्रको परिवेश सुधार्नमा केन्द्रित छ तर ती स्वयं आफै सही निर्णय लिन सक्ने देखिएका छैनन् । व्यवस्थित प्रतिरोध त पुष्पा र सानुको छ । यी राजनीतिक सचेत चरित्र हुँदा नारीका अनेक सामाजिक समस्याको समाधान बुद्धिमत्तापूर्ण ढङ्गमा खोज्न चाहेका छन् । सानुले आफ्नै आमालाई भनेर हीरामायाका छोरीहरूको उद्धार गरेकी छ भने जेलभित्रका महिला बन्दीहरूलाई सङ्गठित गर्न पनि पुष्पासँग मिलेर काम गरेकी छ । पुष्पाले जेलभित्रका महिलालाई सङ्गठित गर्दै प्रतिरोधको चेतना सञ्चार गर्न खोजेकी छ । महिलाहरूलाई शिक्षा, सम्पत्ति र अवसर दिएर मात्रै पितृसत्तात्मक सोचबाट निर्माण भएका समस्याहरूको समाधान गर्न सकिने पुष्पा देख्छे । त्यसैले तत्कालीन पञ्चायती व्यवस्थाबाट त्यो सम्भव नहुने हुँदा व्यवस्था नै परिवर्तन उसको मूल ध्येय छ । तर व्यवस्था परिवर्तनपछि के कसरी परिवर्तन गर्दै लाने भन्ने दूरदृष्टि उसमा पनि देखिँदैन।
पुष्पा सापेक्षित रूपमा अरुभन्दा सचेत र प्रतिरोधी चरित्र भए पनि उसमा परम्परित पितृसत्ताको ठोस प्रतिरोध देखिँदैन । बरु अवस्था विशेषमा पितृसत्तात्मक ज्यादतीलाई सहजताका साथ आत्मसाथ गरिन पुगिँदो रहेछ भन्ने विस्मय नै उसले व्यक्त गरेको पाइन्छ । उसले भनेकै छ­ “हामी कतिपय असमानतालाई यसरी स्वीकार गर्दा रहेछौं कि त्यो असमान पनि लाग्न छाड्दो रहेछ” (पृ.५७) । उसलाई मात्रै होइन उसका हजुर बुवालाई पनि “राजाको आँखी भएर समाजमा टिक्न सकिन्न भन्ने” (पृ.६९) लाग्थ्यो । त्यसैले नेपाली काङ्ग्रेसमा लागेका पुष्पका बुबा र हजुर बुबाले पुष्पा जेल परेको राम्रो मानिरहेका थिएनन् तर सानु बस्नेतका कम्युनिस्ट बाबुआमाले भने छोरी देशका लागि जेल परेकी भनी गर्व गर्थे । पारिवारिक पृष्ठभूमिका कारण सानु आँटिली र व्यवहार कुशल पनि छ तर उमेरले अलि सानै भएकीले ऊ पितृसत्ताको खुलेर प्रतिरोध गर्नतिर लागेको देखिन्न। सानुभन्दा उमेरले पनि परिपक्व पुष्पले नै परिस्थितिको विश्लेषण गरेर प्रतिरोधका स्वरहरू उपन्यासमा विभिन्न प्रसङ्गमा व्यक्त गरेको भने पाइन्छ । जस्तै– भ्रष्टाचारको विरोध गरेको निहुँमा गाउँको दाइलाई पुलिसले बेपत्ता पारेको हुँदा पुष्पा प्रहरी चौकीमा धर्ना दिन जानु नै अन्यायका विरुद्धको प्रतिरोध हो । त्यसपछि जेलभित्र महिला बन्दीहरूप्रति गरिएको अत्याचारलाई उनीहरूबाटै बुझ्ने र त्यसपछि उनीहरूप्रति भएको ज्यादती अरूमा सञ्चार गर्ने, आफ्नो बलबुताले भ्याएसम्म त्यसलाई रोक्ने प्रयत्न गर्ने, बन्दीप्रति चरम क्रूरताको व्यहार गर्ने नाइकेनी तिमिलालाई तरिका मिलाएर हटाउने जस्ता काम उसले गरेका प्रतिरोध हुन् ।
त्यस्तै जीर्ण बन्दीगृह र त्यसभित्रका साना साना कोठामा थुप्रै बन्दी कोचेर राख्दा हुने गरेको बेथिति र प्रशासनको गैरजिम्मेवारीप्रति पनि पुष्पाले तिखो टिप्पणी गरेकी छ । जस्तै­ “जिउँदाको फिक्री नगरिने समाजमा कैदी बस्ने ठाउँको कसलाई के मतलब ? ....... घर भत्किएर कैदी मरे भने पाल्नुपर्दैन भनेर पनि मर्मत नगरिएको हो कि ?” (पृ.४५) । बन्दीहरूका नाममा शोषण गर्ने नाइके, नाइकेनी, सुब्बा, जेलरदेखि माथिसम्मका मान्छे छन्; कैदीबन्दीहरूलाई उनीहरू खुरुखुरु अण्डा दिने पोथी जस्तो ठान्छन्; विदेशीले झ्यालखानाका पीडितहरूलाई भनी पठाएका लुगाफाटा, दबाई, खानेकुराहरू पनि धनीमानीले नै आफ्नो कब्जामा पार्छन्; राणाकालदेखि अहिलेसम्मका शासकले धनीले मात्रै राम्रो लाउने, मिठो खाने सोच राखेका छन्; गरिबको हिस्सामा त्यो परेको छैन; गरिबको भागै खोसेर वा लुटेर भए पनि धनी झन् धनी हुने संस्कृति विकास गरिएको छ; पुरुष कैदीका अपेक्षा महिला कैदीलाई सुविधा कम छ; आफन्त भेट्न र सहयोग गर्न पनि महिला कैदीका कम आउँछन्; प्रशासन मात्रै होइन समाज पनि नारीपीडक छ भन्ने गुनासो पुष्पाको देखिन्छ (पृ.११०) ।
यस्तै नाइकेनी तिमिलाले आफूलाई सेल घरमा लगेर चरम यातना दिएको कुरा पुष्पाले अदालतमा न्यायाधीश सामु भन्नु, शिवा र सुधालाई नाइकेनी विरुद्ध सङ्गठित गर्नु, अन्ततः नाइकेनी तिमीलाका ठाउँमा दार्जिलिंगे नियुक्त गर्न भूमिका खेल्नु, अशिक्षित बन्दीहरूलार्इ सचेत बनाउँदै अक्षर चिनाउन खोज्नु जस्ता प्रतिरोधका केही काम पनि गरेको देखिन्छ । यस्तै बन्दीगृहलाई सुधारगृहमा परिणत गर्नतिर न्यायालय र जेल प्रशासन नलागेको, सयौं दोषी छुटुन् तर एउटा पनि निर्दोष मानिसले सजायको भागी नबनोस् भन्ने बारेमा न्यायलयले ध्यान पुर्याउन नसकेको, अपराध नै नगरेका (यशोदा), मनोरोगी (झुम्रिदेवी) र परिबन्दमा परेर अपराध गरेका (हीरामाया) मानिसलाई २० बर्से कैद तोकिएको जस्ता कुरा पनि यहाँ पुष्पामार्फत उजागर गरिएको छ । साथै पुष्पाले भनेकी पनि छ­ “न्याय, कानुनका दफाहरूमा होइन मानिसको विवेकको डोरीमा झुन्डिएको हुन्छ। विवेकको डोरी खुकुलो भयो भने त्यो पासोमा न्यायकै प्राण जान्छ” (पृ.१५२) । यो उपन्यासकारको दृष्टिकोण पनि हो । उपन्यासका धेरैजसो महिला बन्दीहरूको कथाले यहाँ न्याय नै पासोमा परेको पुष्टि गरेको छ । हाम्रो पितृसत्तात्मक समाजको न्याय व्यवस्थाको नयाँ रहस्यको उद्घाटन गर्न यो उपन्यास यस अर्थमा सफल पनि छ ।
यस्तै होटेलका नाममा वेश्यावृत्तिको धन्दा चलाउने, ठुलाबडा रातभरि त्यसैमा मग्नमस्त हुने र दिनमा फेरि नारीको नैतिक चरित्रको व्याख्यान गर्ने द्वैध चरित्रका तथाकथित ठुलाबडा पुरुषहरूको चरित्रप्रति पनि पुष्पाले तिखो टिप्पणी गरेकी छ (पृ.१७४)। महिलामाथि पुरुषले हिंसा गर्दा पनि सहनुपर्छ भन्ने सामाजिक मान्यताका विरूद्ध ऊ छ ।
उपन्यासको मूल विषय प्रस्तोता नै म वा पुष्प रहेकी हुँदा उपन्यास वा उपन्यासकारको दृष्टिकोण पनि पुष्पाका कथनमार्फत नै आएका छन् । उपन्यासको अन्त्यमा पुष्पाले अन्तरजातीय विवाहका लागि आफन्तलाई राजी गराउनु, नाइकेनी तिमिलाले जेलजीवन पूरा गरेपछि धर्मकर्ममा लागेर सन्यासिनी बनेको देखिनु, अन्य बन्दीमा पनि सकारात्मक भाव विकास भएको सङ्केत दिनु जस्ता कुराले सामाजमा सकारात्मक परिवर्तनको सम्भावनालाई देखाएको छ । यस्तै पुष्पा र सानुको एकै घरका दाजुभाइसँग हुने विवाहले काङ्ग्रेस र कम्युनिस्ट मिलेर परिवार, समाज र देश अगाडि बढाउने छन् भन्ने राजनीतिक सहिष्णु राजनीतिक सोचको सञ्चार गर्न खोजिएको छ । उपन्यास उदार सुधारवादी वा आदर्शवादी दृष्टिकोणबाट बुनिएको छ ।

निष्कर्ष
२०४७ साल पूर्वको नेपाली राजनीतिक र सामाजिक समस्यालाई निरूपण गर्ने कारा उपन्यास समाजको यथार्थतामै आधारित तुल्याएर प्रस्तुत गरेको पाइन्छ । उपन्यासकारले २०४६ सालको आन्दोलनमा बेहोरेको बन्दीजीवन र वकालतका सन्दर्भमा प्रत्यक्षीकरण गरेका अनेक चरित्रहरूको आलोकमा यसको निर्माण गरिएको छ । यसमा एकातिर पञ्चायत व्यवस्थाका ज्यादतीहरूको बयान गरी त्यस विरुद्ध उठेको विद्रोहको स्वर अनि त्यसले २०४६ सालमा जनआन्दोलनको रूप लिर्इ अन्ततः पञ्चायत व्यवस्थाको अवसान र बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएको ऐतिहासिक राजनीतिक तथ्यलार्इ देखाइएको छ भने अर्कातिर नारी बन्दीगृहका नारीहरूको जीवन केलाएर पितृसत्तात्मक नेपाली समाजका नारीप्रतिका ज्यादती वा दासता र त्यसप्रति मलिनो नै भए पनि नारीप्रतिरोधसहितको नारीवादी स्वर प्रस्तुत गरिएको छ ।
उपन्यासमा राजनीतिक विद्रोहको केन्द्र तत्कालीन पञ्चायत व्यवस्था रहेको छ भने सामाजिक विद्रोहको केन्द्र परम्परित पितृसत्तात्मक समाज रहेको छ । राजनीतिक विद्रोह जनआन्दोलनमा परिणत भएर व्यवस्था परिवर्तन गर्न सफल भएको छ तर सामाजिक विद्रोह त्यो स्तरमा विकसित हुन सकेको छैन । यसो भए तापनि पुष्पा, सानु जस्ता सचेत नारीको प्रयत्नले केही सकारात्मक परिणाम दिन थालेको देखाइएको छ ।
उपन्यासमा पितृसत्ताका ज्यादती जति धेरै देखिएका छन् त्यति त्यसप्रतिको प्रतिरोध देखिएका छैनन् । त्यसो हुनुमा नारीलाई शिक्षा, सम्पत्ति र अवसरबाट वञ्चित तुल्याउने तत्कालीन पञ्चायती व्यवस्थालाई कारक ठानिएको छ । व्यवस्था परिवर्तनसँगै अवस्था पनि छिटै परिवर्तन हुने अपेक्षा यसको रहे पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन । राजनीतिक परिवर्तन जस्तो सामाजिक परिवर्तन सजिलो हुन्न भन्ने कुराको आकलन गर्न सकिएको छैन । सामाजिक परिवर्तनका लागि जुन गम्भीरता उपन्यासमा अपेक्षित थियो त्यो देखिएको छैन । नारीले ब्यहोरेका भौतिक र मानसिक बन्धनको घनत्व भने यसले राम्रै देखाएको छ ।
यसमा आएका सामाजिक विषय (पितृसत्ता, त्यसको प्रतिरोध र नारीवादी स्वर) २०२० साल पूर्वकै कतिपय उपन्यासमा आइसकेका भए पनि नारीबन्दीगृहभित्रको जीवनको अभिलेख र राजनीतिक विषय परम्पराका सापेक्षतामा नवीन छन् । यस्तै पितृसत्तात्मक समाजको न्यायालयको नारीप्रतिको उदासीनता र उपेक्षा पनि यसका नवीन पक्ष हुन् ।
यसको समापन सुधारवादी सुखान्त ढाँचामा गरिएको छ । नारीवादी कोणबाट हेर्दा यो उदार नारीवादी सोचको निकट रहेर निर्मित छ ।
राजनीतिक र सामाजिक समस्यालाई संश्लेषित गरी सुधारवादी आदर्शवादी सुखान्त ढाँचामा बुनिएको यस उपन्यासले जुन सुन्दर भविष्यको सपना देखाएको छ त्यो ३० वर्षपछिको नेपालमा पनि देख्न नपाएको गुनासो उपन्यासकारले उपन्यासकै भूमिकामा प्रकारान्तरले गरेकी छन् र त्यो देखिएको यथार्थ पनि हो ।
उपन्यासकारको उपन्यास लेखनको यो पहिलो प्रयत्न भए पनि औपन्यासिक कच्चा पदार्थ यसमा प्रचुर देखिएको छ । बन्दीगृहका हरेक नारीको व्यथामय कथा अलग अलग उपन्यास बन्न सक्ने छन् तर तिनको छनोट गरी सीमित पात्रमा गहिरिने काम यहाँ गरिएको छैन । यसको विषय निरूपणमा सुरुका केही परिच्छेदमा जुन गम्भीरता र कलात्मक सजगता देखिएको छ त्यो पनि पछिल्ला धेरै परिच्छेदमा रहेको छैन । एकै किसिमका समस्या भएका पात्र, जेलभित्रको एकै किसिमको दैनन्दिनीको पुनरावृत्ति, विषयको सामान्य किसिमको वर्णन र विवरणत्मकता, समाज र जीवन रहस्यप्रतिको गम्भीर निरीक्षणको अभाव, भाषा र विषय संयोजनमा कलात्मक आकर्षणको न्यूनता जस्ता कतिपय सीमाले उपन्यासको समष्टि सौन्दर्यको ऒजको घनत्वलार्इ भने धेरै नै हलुङ्ग्याउने काम गरेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।