18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पलायन हुने सन्दर्भ र त्यसको व्याख्या

विचार प्रमाण अधिकारी January 7, 2025, 3:50 pm
प्रमाण अधिकारी
प्रमाण अधिकारी

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ले, आफ्नो जिम्मेवारीबाट पन्छिने काम, डराएर वा परिस्थितिसँग हारेर भाग्ने कामलाई पलायन भनेर परिभाषित गरेको छ । साथै आफ्नो डेग छाड्ने काम वा सुइँकुच्चा ठोक्ने कामलाई पनि पलायन हुने अर्थमा परिभाषित गरेको छ । यी परिभाषाहरूले कुनै कुरा वा परिस्थितिदेखि डराएर भाग्ने, आफ्नो सिद्धान्तमा अडिग हुन नसक्ने, खुट्टा कमाउने र भगौडा प्रवृत्तिलाई इङ्गित गर्न खोजेका छन् । त्यसैले यस किसिमको प्रवृत्ति भएको अथवा यस प्रवृत्तिलाई पछ्याउने व्यक्तिलाई पलायनवादी भन्दा रहेछन् भनेर बुझ्नुपर्ने हुन्छ । कुनै व्यक्ति बाँचेको समाज, त्यहाँको सामाजिक आर्थिक परिवेश, त्यहाँ उसले पाउने सम्मान आदिले उक्त व्यक्ति पलायन हुने कि नहुने, पलायन हुने बाटो रोज्ने कि नरोज्ने भन्ने कुराको छिनोफानो गर्न भूमिका खेल्छ तर उसको चेतनाले ऊ पलायन हुने वा नहुने भन्ने निर्णयमा पुग्न महत्त्वपूर्ण भूमिका खेल्छ । विश्व व्यवस्था, क्षेत्रिय शक्ति सन्तुलन र राज्यका संरचना नियन्त्रण र परिवर्तनका कुरामा कुनै सर्वसाधारण व्यक्तिको भूमिका नगन्य रहन्छ नै तथापि कवि गोपालप्रसाद रिमालले भनेजस्तो एक जुगमा आउने एकदिन जसले उलटपुलट र हेरफेर लिएर आउँछ, त्यस्ता क्षणमा भने सर्वसाधारण व्यक्तिको महत्त्वपूर्ण भूमिका रहने कुरालाई यहाँ उल्लेख नगरिरहन सकिन्न । पलायन हुँदाको अवस्थालाई व्याख्या गर्न हामी व्यक्तिका भौतिक पक्ष र गतिविधिमा मात्र ध्यान दिन्छौं । तर पलायन हुने अवस्थासम्म पुग्न कुनै पनि मानिसले मानसिक रूपमा धेरै कुराको संश्लेषण र विश्लेषण गरेको हुन्छ । विभिन्न कारणले विषम परिस्थितिको विकास भएको, स्थिति नियन्त्रण बाहिर गएको र उक्त दुरावस्थाले परिवेष्टित भएको महसुस गर्ने कुनै पनि सिद्धान्तनिष्ठ हुन चाहने र आफ्ना मान्यतामा चट्टान झैं अडिग हुन खोज्ने मानिसलाई दिक्दारी लाग्नसक्छ । आफूले पहिले लिएका अडानबारे पश्चातापको आभाष हुनसक्छ । ति पुराना अडान असान्दर्भिक र अव्यावहारिक साबित हुन सक्छन् । परिस्थितिको मूल्याङ्कन सँगसँगै व्यक्तिका बुझाइ र जीवनप्रतिको दृष्टिकोणमा परिवर्तन आउन सक्छ । त्यसले गर्दा कुनै मानिस एउटा स्थितिबाट अर्को स्थितिमा फड्को मार्न सक्छ । बाटो मोड्न सक्छ । पलायन हुन सक्छ । त्यसैले पलायन हुने सबै व्यक्ति नराम्रा हुन्छन्, डरपोक हुन्छन्, समस्याबाट भाग्ने प्रवृत्तिका हुन्छन् र यो नकारात्मक कुरा हो भनेर बुझ्नु गलत हो भन्ने लाग्छ ।

विश्वका अन्य अर्थतन्त्रमा जस्तै उदारवादी अर्थतन्त्रले नेपालको सामाजिक, आर्थिक, पर्यावरणीय अवस्थामा थुप्रै चुनौतीको सिर्जना गरेको छ । हाम्रा पाठ्यक्रमका किताबमा नेपालमा मिश्रित अर्थव्यवस्थाको अवधारणा प्रयुक्त छ भन्ने गरेपनि उदारवादी अर्थतन्त्रको जबर्जस्त कार्यान्वयनले बग्रेल्ती समस्या र चुनौतीका पहाड बनाइसकेको छ । शिक्षा महँगो छ । स्थास्थ्य उपचार महँगोमात्र छैन गम्भीर प्रकृतिका रोग लागे घरखेत बन्धकी राख्नुपर्ने अवस्था छ । चल–अचल सम्पत्ति पनि नभएका मानिसले मृत्युलाई पर्खने बाहेक अर्को विकल्प छैन । कृषिप्रधान मुलुक भनेर विद्यालयमा रट लगाएर पढाए पनि देश कृषिप्रधान मुलुक हुन सकेको छैन । साना किसान कि त कृषि मजदूर बनेका छन् कि यो क्षेत्रबाट विस्थापित हुँदै अर्को कुनै क्षेत्रमा प्रवेश गरेका छन् । सामाजिक, आर्थिक विकासका लागि आवश्यक पर्यावरणमैत्री पूर्वाधार बनाउने काममा खासै प्रगति भएको छैन । कामको अभाव छ जसले जीविकोपार्जनका चुनौतीलाई थप जटिल बनाएको छ । सामाजिक सुरक्षाका सुविधा पनि औपचारिक क्षेत्रमा सीमित छन् । सर्वसाधारणले पाउने सामाजिक सुरक्षाका कार्यक्रम सम्बन्धित मानिस आर्थिक रूपमा सक्रिय हुन नसकेको अवस्थामा भरथेग गर्नसक्ने खालको छैन । यस्तो परिस्थितिमा देशका लागि केही गर्छु भनेर सोचेको, देशले मलाई के दियो हैन मैले देशलाई के दिएँ भन्ने कुरा महत्त्वपूर्ण हो भन्ने चेतनाले भरिएको एउटा युवा पलायन हुन्छ भने त्यसलाई शब्दकोशले परिभाषित गरेको जस्तो भगौडा र आफ्नो डेगबाट हटेको भनेर किमार्थ अर्थ्याउन मिल्दैन ।

पलायन हुने प्रक्रियासँग बसाइसराइको अवधारणा प्रत्यक्ष रूपमा सम्बन्धित छ । जनसंख्या अध्ययनको विद्यार्थी भएका नाताले भन्नुपर्दा सैद्धान्तिक रूपमा बसाइसराइ स्वेच्छिक र बाध्यकारी गरी दुई प्रकारका हुन्छन् भनेर हामीले पढ्यौं । तर यस सन्दर्भमा बसाइसराइ स्वेच्छिक हुनै सक्तैन भन्ने धारणा पनि बलियो छ । बसाइसराइलाई राजनीतिक सीमानाका हिसाबले अन्तरवडा, अन्तरपालिका, अन्तरजिल्ला, अन्तरप्रदेश, अन्तर्राष्ट्रिय बसाइसराइ भनेर पनि विभाजन गर्न सकियो । कुनै स्थान विशेषमा बसोबास गरिरहेको मानिसले त्यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक आदि पक्ष कुनै अर्को स्थानको भन्दा कमजोर ठहर्याएमा त्यहाँका धकेल्ने कारकहरू, जसलाई अंग्रेजीमा पुस् फ्याक्टर भनिन्छ, ले मानिस बसाइ सरेर जान उत्प्रेरित हुन्छन् । त्यसै गरी आर्थिक रूपले समृद्ध, रोजगारीका अवसर भएको, शिक्षा, स्थास्थ्यका क्षेत्रमा पहँुच सहज भएको तथा समावेशी चरित्रको ठाउँसँग आकर्षण गर्ने वा तान्ने कारकहरू, जसलाई पुल् फ्याक्टर भनिन्छ, हुन्छन् जुन ठाउँमा मानिस बसाइ सरेर आउँछन् । नेपालका सन्दर्भमा गाउँबाट सहरतर्फको बसाइसराइ उल्लेख्य छ । पढ्नका लागि तथा पढेलेखेका व्यक्ति देश छोडेर विदेश जाने, उतै बस्ने गरेको पनि हामीलाई अवगत नै छ । यस प्रक्रियालाई पनि बौद्धिक पलायन भनेर नामकरण गरिएको छ । पलायन हुनुलाई त अझ भासिने जस्ता शब्द पनि प्रयोग गरिन्छ । हाम्रा चलनचल्तिका भाषामा गाउँबाट कोही सहर भासिएको, कोही युरोप, अमेरिका भासिएको भनेर पनि भन्ने गरिन्छ । त्यसैगरी आन्तरिक बसाइसराइका प्रकारमा गाउँबाट गाउँ, सहरबाट सहर र सहरबाट गाउँ जाने प्रवृत्ति पनि छन् ।

नेपालबाट युवाहरूको पलायन बढ्दै जानुमा अर्को एउटा जनसाङ्ख्यिक कारक पनि महत्त्वपूर्ण छ । हाल संसारका विकसित भनेर कहलिएका प्रायः देश र क्षेत्रहरू विशेष गरी युरोप, पूर्वी एशिया, अमेरिका, अष्ट्रेलियालगायतका क्षेत्रमा जनसाङ्ख्यिक ह्रास आउने क्रम जारी छ । अथवा भनौं जनसङ्ख्या वृद्धि न्यून छ, कतिपय देशमा ऋणात्मक छ र ह्रास हुने अवस्थाउन्मुख छ । जनसाङ्ख्यिक ह्रासलाई अंग्रेजीमा डिपपुलेसन भनिन्छ । यो जनसाङ्ख्यिक विकास नेपालका सन्दर्भमा पनि फरक भने छैन । नेपालमा जनसंख्या धेरै भएर जनतालाई सेवा सुविधा नपुगेको, बेरोजगारी बढेको र मान्छे बाहिर जान थालेका हुन् भन्ने पनि होइन । नेपालको वार्षिक जनसंख्या वृद्धिदर एक प्रतिशत भन्दा कम (०.९२ प्रतिशत प्रतिवर्ष) छ । प्रजननका हिसाबले पनि नेपालको प्रजनन दर विस्थापन तहमा पुगेको छ । त्यो भनेको बाआमाले आफ्नो जीवनकालमा सरदर दुई सन्तान पाउने र तिनीहरूले नै त्यो जनसंख्या विस्थापन गर्ने हो । विकसित देशका स्वास्थ्य क्षेत्रमा भएको विकास र विकास भएका अत्याधुनिक प्रविधि, उन्नत सामाजिक तथा आर्थिक अवस्थाका कारण मानिसको औसत बाँच्ने आयु बढ्दै गइरहेको छ । साथसाथै प्रजननका गतिविधि सीमित हुन जाँदा मर्ने मान्छेभन्दा जन्मनेको संख्या कम हुँदै गएको अवस्था छ । यसले गर्दा ज्येष्ठ नागरिकको संख्या धेरै हुने र तल्लो उमेर समूहको जनसङ्ख्या क्रमशः कम हुँदै जाने हुन्छ । यसको प्रत्यक्ष प्रभाव देखिने भनेको आर्थिक हिसाबले सक्रिय रहन सक्ने उमेर समूहका युवाको कमी हुनु हो र अर्थतन्त्रमा देखिने सङ्कुचन हो । यो श्रमशक्ति अभावको परिपूर्तिका लागि विकसित भनिएका देशले विकासोन्मुख देशबाट कच्चा पदार्थसँगसँगै श्रमका लागि मानिस भित्र्याउने गरेको पनि सर्वविदितै छ । यस सन्दर्भमा अर्को एउटा महत्त्वपूर्ण सिद्धान्त पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक ठहर्छ । इम्यानुयल वालरस्टेनले व्याख्या गरेको विश्व व्यवस्था सिद्धान्त, जसलाई अंग्रेजीमा वल्र्ड सिस्टम थियोरी भनिन्छ, यो स्रोत, शक्ति र श्रमको वितरणका सन्दर्भ बुझ्न महत्त्वपूर्ण छ । उनले यस सिद्धान्तमा गरेको व्याख्याले विश्व व्यवस्थाको केन्द्रमा (कोर) विश्व अर्थतन्त्रमा दबदबा कायम गर्ने, अरू देशका स्रोत र श्रमलाई उपभोग गर्ने मुलुकहरू जस्तै अमेरिका, युरोपका मुलुक रहने बताएका छन् । त्यसको बाहिरी परिधिमा पेरिफेरि भन्ने अर्काे प्रकारका मुलुकहरू हुन्छन् जुन अतिकम विकसित हुन्छन्, कच्चा पदार्थमा धनी हुन्छन्, प्रविधिमा कमजोर हुन्छन् जसले गर्दा सस्तो श्रमिक उत्पादन गर्ने थलो बनेका हुन्छन् । एशियाका, अफ्रिकाका र दक्षिण अमेरिकाका धेरै जसो देशहरू यो श्रेणीमा पर्दछन् । यही केन्द्र र परिधीय क्षेत्रका बीचमा पर्ने विकासशील, केन्द्रमा निर्भर रहने र अघिल्ला दुवै प्रकारका देशको विशेषता भएको देशलाई अर्ध परिधीय देश अथवा अंग्रेजीमा सेमिपेरिफेरि भनिन्छ । युरोप, अमेरिका आदि देशमा पनि श्रम बजारमा धेरै गतिशीलता छ । त्यहाँको सक्रिय जनशक्ति घट्दैछ, त्यहाँका दक्ष श्रमिक राम्रो र उच्चस्तरीय क्षेत्र र बजारको खोजीमा आफ्नो कार्यक्षेत्र परिवर्तन गर्दैछ । यसले गर्दा ति अर्थतन्त्रमा अदक्ष र अर्धदक्ष श्रमिकको आवश्यकता बढ्दै गइरहेको छ । उदाहरणका लागि युरोपका क्रोएसिया, पोर्चुगल, लाट्भिया, माल्टा, रोमानिया आदि देशहरूमा माथि उल्लेख गरिएको परिवर्तन सँगसँगै उत्प्रबासनका कारण पनि श्रमबजारमा धेरै कामदारको आवश्यकता परेको छ । यसको परिपूर्ति तिनै परिधीय मुलुकहरूले गर्दैछन् जस्तै नेपाल, भारत, बङ्गलादेश, ब्राजिल आदि । जबजब अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, अस्ट्रेलिया आदि मुलुकहरूलाई आफ्नो अर्थतन्त्र चलायमान बनाउन कामदार आवश्यक पर्छ उनीहरू आफ्नो अध्यागमन नीति खुकुलो बनाउँछन् । आफ्नो आवश्यकता परिपूर्ति भयो भने आवश्यकता नहुँदासम्मका लागि विभिन्न बहानामा मेधावी विद्यार्थी, सीपले परिपूर्ण व्यक्तिमात्र देशमा आउन दिने भन्दै झ्याली पिट्छन् ।

अदक्ष र अर्धदक्ष कामदारका रूपमा नेपालबाट मध्यपूर्व एशियाका देशहरू र दक्षिण पूर्व एशियाको देश मलेसिया जाने क्रम त निकै पहिलेदेखि सुरु भएको हो । वैदेशिक रोजगारीबाट आफ्ना छोराछोरीका लागि राम्रो शिक्षा र स्वास्थ्यको व्यवस्थापन गर्न मानिस गाउँबाट सदरमुकाम पलायन भएका छन् । अझ सक्ने अलि ठूला सहरतिर भासिएका छन् । कोही काठमाडौं बसेका छन् । सबैका आआफ्ना परिस्थिति र बाध्यता छन् । वैदेशिक रोजगारीपछि वैदेशिक अध्ययनका लागि माथि उल्लेखित केन्द्रभागका मुलुकहरूतिर भासिने क्रम पनि ह्वात्तै बढेको छ । नेपालका हरेक सहरमा शैक्षिक परामर्शका काम गर्ने पसल वा कार्यालय कति खुलेका छन् यहाँ चर्चा गरिरहन आवश्यक छैन । विद्यालयको पढाइ सक्काएको र उच्च शिक्षा पढ्दै गरेको एक विद्यार्थीले कि त जापानीज भाषा, कि त कोरियन भाषा सिक्न थालिसकेका हुन्छन् । चल–अचल सम्पत्ति भएका वा पैसा जुटाउन सक्नेले युरोप, अमेरिकामा बोलिने भाषाका परीक्षा दिएर नेपालमा केही काम गर्न नसकिएको अवस्थाको विकल्पका बारे बेलैमा तयारी थालिसकेका हुन्छन् । यस्तो अवस्थामा परिवर्तन ल्याउनका लागि देशमा सरकारले र राजनीतिक दलहरूले जनतामा, विशेष गरी युवा वर्गमा, भविष्यप्रतिको आशा जगाउन आवश्यक छ । त्यसका लागि आमूल परिवर्तनका आवाज उठ्न थालिरहेका छन् । वर्तमान निराशाको शीघ्र सम्बोधन र सकारात्मक परिवर्तनका लागि अल्पकालीन र दीर्घकालीन नीतिको प्रस्तुति र उचित प्रगति दृष्टिगोचर नभइ युवाहरूको विदेशिने प्रवृत्तिमा कमी आउने सम्भावना देखिंदैन । कला, सङ्गीत, खेलकुद, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलताका क्षेत्रमा बौद्धिक पलायनको अवस्था चिन्ताजनक छ । अत्यन्त मिठो, कर्णप्रिय र सुमधुर स्वर भएका गायक गायिका नेपाल बाहिर नै अर्थपूर्ण जीवनको सार खोज्न जान बाध्य छन् । कति राम्रा र जीवन्त अभिनय गर्ने कलाकार जीविकाका लागि विदेशमा भौंतारिइरहेका छन् । देशको शिच उँचो बनाउने खेलाडीहरू आफ्नै खर्चमा खेल खेल्न बाध्य छन् । खेलकुदमा लागेर जीवन सार्थक बनाउने सपना पूरा भएको छैन नेपालमा । कोही आफूले जितेका तक्मा र पदवी बेचेर जीवनका कठिन घडीमा एक्लै संघर्ष गर्दै छन् । कोही उदीयमान खेलाडी खेल जीवनको सुरुवाती अवस्थामै विदेशिएका छन् । यस्तो अवस्थामा देशको समृद्धि, उँचो शिर र खुशीको सञ्चार भन्ने जस्ता क्षणहरू एउटा सपनामात्र बन्न गएको प्रतीत हुन्छ । हाम्रा युवा पुस्तासँगसँगै हाम्रा सपना र आशा पनि पलायन भइरहेका छन् ।

पलायन हुने सन्दर्भ र जीवनमा गरिने सङ्घर्ष पनि यस बहसमा जोडिएका छन् । के पलायन भएका भनिएका सबै व्यक्ति सङ्घर्षबाट भागेका, सङ्घर्ष गर्न डराएर भागेका हुन् त? कदापि होइनन् । मानिस जहाँ जन्मेको छ, जस्तो परिस्थितिमा हुर्केको छ, त्यसमा सकारात्मक परिवर्तनका लागि सङ्घर्ष चलिरहन्छ । यहि सङ्घर्षको सिलसिलामा कोही गाउँबाट सहर आउला, एउटा सहरबाट अर्को सहरतिर जाला वा विदेश जाला तर उसको जीवनको सङ्घर्ष जीवनयात्राका क्रममा निरन्तर चलिरहेकै हुन्छ । त्यसैले सङ्घर्ष पनि पलायन भएका भनिएका अधिकांश व्यक्तिका जीवनका एक पाटा हुन्छन् । कुनै व्यक्ति पलायन भएको भनेर व्याख्या गर्दा उक्त व्यक्तिको जीवन सहज बनाउने, सकारात्मक परिवर्तन ल्याउने प्रक्रियामा उसको सङ्घर्षशील व्यक्तित्वलाई हामी अक्सर बिर्सन्छौं ।

पढेर नेपाल फर्किन्छु भनेर विदेश गएका धेरै विद्यार्थीहरू विविध कारणले विदेशमा नै नयाँ जीवनको सुरुवात गर्ने र आफ्नो जीविका चलाएर बस्ने गरेका छन् । जहाँ बसेपनि जीविकाका निमित्त श्रम नगरी भएन । कामको उचित सम्मान, पहिचान र सामाजिक सुरक्षाका हिसाबले केही हदसम्म सुरक्षित हुने वातावरण भएका कारण पनि धेरै नेपाली नेपाल फर्कन सक्तैनन् । मानिसले ‘स्वेच्छाले म बसाइ सरेको हुँ ।’, ‘स्वेच्छाले कतै बसेको हुँ’ भन्नसक्छ । तर उक्त निर्णय लिनुमा धेरै सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वातावरणीय आदि तत्त्वले भूमिका खेलेका हुन्छन् । त्यसैले पनि बसाइसराइको निर्णय मानिसले कुनै कारणै बिना गरेको विषय हो भन्न सकिंदैन । स्वेच्छिक निर्णय भन्ने कुरा पनि हुँदैन । कुनै निर्णयमा पुग्नका लागि धेरै कुराको संश्लेषण र विश्लेषण गरिएको हुन्छ । त्यसैले राम्रा अवस्थाका लागि, उन्नत, प्रगतिशील भविष्यका लागि कसैले आफ्नो अवस्थामा परिवर्तन ल्याउन आफू बसेको ठाउँ छाडेर जान्छ भने उसलाई पलायन भएको भनेर नकारात्मक व्याख्या गर्न मिल्दैन । मानिस गतिशील प्राणी हो । मानव इतिहासको अध्ययनमा पनि बसाइसराइको महत्त्वपूर्ण स्थान छ । मानिस गतिशील नभएका भए, कुनै एक ठाउँबाट अर्को सम्भावना बोकेको ठाउँ खोज्दै हिँड्दैनथ्यो भने, पलायन हुँदैनथ्यो भने, मानिस अहिलेको जस्तो चेतलशील र गतिशील हुँदैनथ्यो कि? त्यसैले पलायन हुनु समस्याबाट भाग्नेमात्र होइन समस्याको उचित समाधान, प्रतिकूल परिस्थितिको अन्त्य खोज्ने एउटा प्रक्रियाको उपज हो । त्यसैले पलायन शब्दको अर्थलाई विश्वमा आएका नयाँ परिवर्तन र तिनको व्याख्याका आधारमा पुनर्परिभाषित गर्न सकिन्छ ।

रामघाट, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।