१. विषय प्रवेश
नेपाली साहित्यको मानचित्रमा अब फानुस सादाको नाम पनि जोडिन आएको छ। २०२२ मा उनको कथासङ्ग्रह एलीको प्रकाशनपछि उनी कथाकारका रूपमा दरिएका छन्। जीवनभर सरकारी नोकरीमा बिताएर सेवानिवृत्तिपछि साहित्य सिर्जनामा लाग्नु कथाकारको सादाको प्रशंसायोग्य काम मान्न सकिन्छ। अबको बाँकी जीवन उनी साहित्यकै अध्ययन, लेखन र चर्यामा बित्नेछ भन्ने आशा गर्न सकिन्छ। उनको सिर्जनशीलता पहिले नै थियो तर समय र अवकाश नमिलेर तथा प्रतिभालाई उकास्ने कुनै कारण आदि नभएर उनीभित्रै दबिएको थियो भन्न मिल्छ। पछिबाट समय अवकाश र परिवेश पाएपछि उनको त्यो सिर्जना प्रतिभा उक्सिएर आएको प्रतीत हुन्छ। पुस्तकको भूमिकामा भूमिकाकारले नै फानुस सादा कलेजका विद्यार्थी छँदा उनीलगायत चारजना विद्यार्थीहरू मिलेर क्षितिज नामको साहित्यिक संस्था खोलेका र त्यही नामको सामयिक पत्रिका सम्पादन गर्दथे। हस्तलिपि सुन्दर हुनाले अन्य लेखकका लेखोटलाई सारेर प्रुफ हेर्न प्रेस पठाएर फेरि त्यसलाई सम्पादन गर्थे भन्ने जानकारी पाइन्छ।
२. एली कथासङ्ग्रह
सादाको नयाँ कथासङ्ग्रह एलीले आफ्नै स्वर, प्रवृत्ति र बान्की लिएर देखा परेको छ। यसमा कथावस्तुको बुनोट गर्दा धेरै अन्य तत्वहरूका अन्तर्घुलन गरिएको छ। यसमा रहेका जम्मा पन्ध्रवटा कथाहरूलाई उनले आफ्नो सिप, मेहनत गरेर तयार पारेका हुन्। आफ्नो जीवनका विभिन्न घटना र प्रसङ्गलाई कथाको कच्चा पदार्थ तुल्याएर तिनलाई खिपेर, केलाइ कुलाई गरी, कलात्मक भङ्गी प्रदान गरी पाठकका निम्ति रोचक कथा सिर्जना गरेका छन्। हाम्रा वरिपरि नै कथाका कच्चा पदार्थ हुन्छन् तर तिनलाई नियालेर कलात्मक रूप दिएर कथा सिर्जना गर्नु नै कथाकारको विशेषता हो। कथाकार फानुस सादाले आफ्नो नोकरी गर्दाका विभिन्न अनुभवलाई कथामा उतारेका छन्, मूर्त रूप दिएका छन्। एक प्रकारले भन्नु पर्दा प्रत्येक व्यक्तिले केही न केही कथा देखेको, बुनेको, सुनेको, जानेको हुन्छ तर तिनलाई शब्द, अर्थ, कल्पना, शिल्प आदिद्वारा कथाको रूप दिन सक्ने हुँदैनन्। थोरैले मात्र आफ्नो अनुभवलाई कथा बुन्न सक्छन्। यस सङ्ग्रहभित्र रहेका अधिकांश कथाको मूलपात्र लेखक स्वयम् हुन् किनभने आफ्नो अनुभवलाई निर्वैयक्तिकरण गरेर, अलिकता कल्पना थपी, शिल्प सचेत भएर कथा बुनेका हुन् भन्न सकिन्छ। एली भित्रका कथाहरू हाम्रै वरिपरिका घटिरहने घटनाका कथा हुन्।
एली कथासङ्ग्रहका बारे यसको भूमिका लेखक रूद्र पौडेल र समीक्षक ज्ञान सुतारले केही समीक्षण र मूल्याङ्कन गरेका छन्।
३. सादाका कथाहरूको विषयवस्तुहरू-
एली कथासङ्ग्रह पढेपछि पाठकलाई धेरै किसिमबाट आनन्द लाभ हुन्छ। यसमा एक भद्र भलाद्मी कथाकारभित्रको आदर्श-स्व प्रतिबिम्बित भएको छ। कथाभित्र मानवीय गुण, परिस्थिति आदिको सर्वेक्षण पाइन्छ। विषय विस्तार पाएका छन्, अरूले नसोचेका कुराहरूलाई कथाका सामग्री बनाएका छन्, हाम्रै वरिपरिका घटनाप्रसङ्गलाई कथावस्तु बनाउन सक्षम छन्। हाम्रै वरिपरिका साना-ठुला मानिसका जीवनलाई नियालेर कथा सिर्जना गरेका छन्। हाम्रातिरका अरूले ख्याल गरेका नगरेका यथार्थहरूलाई अघि ल्याएका छन्।
३.१. यथार्थका विविध रूप-
एलीभित्रका जम्मै कथाहरू यथार्थका प्रतिरूप र उद्घाटन पाइन्छन्। जस्तै घरेलु काम गर्ने नोकर चाकर बङ्गालको अलिपुरद्वार र आसामका दुर्गम गाउँतिरबाट कमिसनमा ल्याइदिने दलाल, कोलकातामा डेरामा बस्ताका यथार्थहरू, नपढेकी एली दुबइमा गएर त्यहीँकै भाषा र अङ्ग्रेजी सिकेर जीवन सपारेकी, उद्योग गरेर जीवन सपार्ने युवाहरू, प्रेमका विविध पाटाहरू कथामा उद्घाटित छन्। जीवनका विभिन्न मोडहरूहरूमा विभिन्न मानिसहरूसित भेट हुन्छ, आत्मीयता हुन्छ, जीवनमा तिनको प्रभाव कस्तो पर्छ आदि कुराको लेखाजोखा पाइन्छ।
३.२. आदर्श-स्वको स्थापना
एली कथासङ्ग्रहमा जम्मा पन्ध्रवटा कथाहरू समावेश छन्। यस कथासङ्ग्रहको भूमिकामा श्री रूद्र पौड्यालले फानुस सादाको कथाकारितामाथि राम्रोसँग न्याय दिएका छन्। यस सङ्ग्रहभित्रका कथाहरू पढ्दा जीवनको महत्त्व दर्शिन्छ, जीवनमोह बढ्छ। यसका आधारमा उनलाई एकदमै दक्ष कथाकार भन्न नसकिए तापनि उनी एक इमानदार कथाकार हुन्। उनको जीवनको पहिलो पुस्तकाकार रूपमा यो कथासङ्ग्रह एलीमा आफ्नो कथाचेतना, सौन्दर्य चेतना अभिव्यक्त गरेका छन्। सौन्दर्य चेतनाभित्र उनीभित्रको असल मान्छे प्रतिविम्बित हुन्छ। कथाहरूभित्र आस्तिक चेतना, नैतिक-स्व र आदर्श-स्व परिलक्षित हुन्छ। उनले सुन्दर र आदर्श समाजको परिकल्पना गरेका छन्। यसमा रहेका प्रायः जम्मै कथामा आदर्शोन्मुख यथार्थवाद पाइन्छ। यसमा आदर्शलाई अघि राखेर यथार्थलाई अघि सारिएको छ। लेखकको चाहना आदर्शको स्थापना गर्नु हो। समाजका विकृति र विसङ्गतिलाई हटाएर स्वस्थ, सुसभ्य समाजको स्थापना गर्न चाहन्छन्। कुनै पनि कथाको अन्त्यमा लेखकभित्रको आदर्श-स्व ले पुष्टि पाएको छ।
३.३. कथाहरूभित्र लेखक-स्वको स्थिति-आत्मजीवनीको आभास –
यसमा समावेश रहेका अधिकांश कथाहरूमा म पात्रको उपस्थिति पाइन्छ। यहाँ म पात्रलाई दुई प्रकारको प्रस्तुत गरिएको छ- एउटा हो कल्पना पात्रका रूपमा म र अर्को लेखक पात्र म। यद्यपि पाठकलाई यी दुई म-हरू भिन्नाभिन्नै हुन् कि एउटै हुन् छुट्याउन गाह्रो पर्छ। दुवै एकै ठाउँमा मिलिएका छन्। मङ्पुमा मावल घर गएर बाजे बोजूको सत्कार पाउने म, कुकुर पाल्ने म, ब्लीडिङ हर्ट फूल रोप्ने म, कोलकाता बाँडेर खाने म, एलीको सानो अङ्कल, मारियाको बालसखा म, रेल यात्रा गर्दा बाटामा भेटिएका सहयात्रीहरूलाई उपदेश दिने म पात्र, गान्तोक मुनिको राङ्का जाने बाटोको घरकी बोजूको सोझोपनलाई टिठ्याउने म पात्र, बदमवाला खोकनलाई दुई सय दिएर उपकार गर्ने म, गान्तोकमा काम खोज्न जाँदा मन्त्री भेट्ने म, कोलकातामा किरायमा बस्ने म पात्रहरू वास्तविक लेखक हुन कि काल्पनिक म हो, छुट्याउन सकिन्न। दुवै म हरू अन्तर्मिश्रण छन्। लेखक आफैं यी सबै म पात्र हुन सक्छन्।
यसभित्रका अधिकांश कथाहरूको मूल पात्र लेखक आफैं हुन्। कथासङ्र्ग्रहका पन्ध्रवटा कथाहरू क्रमिक रूपमा अध्ययन गर्दै हामी लेखकको जीवनी नै पढ्न पाउँछौं। आरम्भको मङ्पुको मावली घरको अल्प बसाइदेखि लिएर अन्तिम कथामा वर्णित आफु नोकरीबाट सेवानिवृत्तिसम्मको एक प्रकारले लेखकले आफ्नै जीवनको रेखाङ्कन गरेका छन्। अर्थात् परोक्ष प्रत्यक्ष रूपमा लेखकले आफ्नो जीवनको सङ्केत पनि गरिएको छ। लेखक आफु बाल्यकालमा मङ्पुका बाजे-बजै भेटन गएका अनि त्यहाँ बोजुले आफ्नो बारीमा फलाएका फलफूल खाएको बारीमा काम गरेकोदेखि लिएर आफु कालेबुङ प्रतिष्ठित एसयुएम आइ विद्यालय पढेको, त्यसपछि सिक्किमको महाविद्यालय अध्ययन गरेको, त्यसपछि सिक्किममा साँडे तीन वर्ष शिक्षण कार्य गरेको, त्यसपछि बङ्गाल सरकारको सरकारी काम गर्दा चार वर्ष कोलकाता गएको, त्यसपछि फेरि केन्द्रीय सरकारको आयकर विभागमा अधिकारीका रूपमा सेवा गरेर अन्तमा सेवानिवृत्त भएको घटनावलीलाई जोड्दै गए यसमा लेखकको आत्मजीवनी प्रतीत हुन्छ। कथाक्रमसँगै लेखकको जीवनक्रम छायाँजस्तो देखा पर्दछ। जम्मै सङ्ग्रहका कथाहरूको आन्तरिक कथाका पात्रहरूको क्रम बढ्दै गएको छ। कथाहरूभित्र नै लेखकको क्रमबद्ध विकास भएको आभास पाइन्छ। समाजभित्र बसेपछि लेखकका अन्य व्यक्तिहरूसित सम्पर्कबद्धता भन्ने कुरा सङ्केत पाइन्छ।
३.४. सन्देशमूलकता-
जीवनमा आत्मिक सुख नै सर्वोत्तम हो, आदर्श जीवन नै प्राप्ति हो, सन्तोष नै जीवनको प्राप्ति हो भन्ने आदर्श चेतना पाइन्छ। सत्कार्यले नै मान्छेको भलो हुन्छ। लेखकको आदर्श नै परोपकार, सेवाभाव, सहभाव, धार्मिक सहिष्णुता, ठुलाप्रति आदरभाव, सानाप्रति स्नेहभाव, सरकारी सेवामा इमान, पशुप्राणी पनि सेवाभाव, ठुला व्यक्तिप्रतिको आदरभाव, आफुलाई गुण लाउनेप्रति जीवनभर श्रद्धाभाव आदि जस्ता हुन् भन्ने बुझिन्छ। मित्रता मेटिदैन, घरमा पालेको कुकुरप्रति पनि उत्तिकै स्नेहभाव, घरमा काम गर्ने नोकर-चाकरलाई समेत आफ्नै छोराछोरीजत्तिकै स्नेह दिएका छन्। मान्छेले आफ्नो जीवनमा इमान गुमाउनु हुँदैन, मानवता भुल्नु हुँदैन, कर्तव्य गरिरहनु पर्छ, जीवनमा उद्योग धन्धा गरे जीवन सफल हुन्छ भन्ने सन्देश दिएका छन्। मङ्पुको सीमित आय भएको बाजेलाई सघाउन बोजूले आफ्नो घरको बारीमा फल-फूल सब्जी खेती गरेर आर्थिक टेवा दिएकी छन्, बदामवाला खोकन एक उद्योगी बनेको छ, सञ्चमान भन्ने पात्र पनि एक सफल माछा उद्योगी बनेको छ, एलीले बोजूले सिकाएका घरेलु कुराहरूलाई अपनाएर दुबइमा काम गरेकी छ।
३.५. प्रतीकात्मकता-
फानुस सादाका केही कथामा प्रतीकहरूको राम्रो संयोजन गरिएको छ। मारिया भन्ने पात्र जो पहिलो विद्यालयमा पढ्दा पढाइ, खेलकुद सबैमा होनहार र अब्बल थियो। चियाकमानमा काम गर्नु थालेदेखि उसको पढाइ छुट्छ। त्यसो हुँदा उभित्रको त्यो प्रतिभा पनि कचल्टिन्छ। चियाको बोटलाई यदि बेलैदेखि बढ्न दिनु हो भने ठुलै रूख हुन्छ तर त्यसलाई बढ्न नदिएर हातले भेट्ने सम्मको होचो पोथ्रा बनाउने गरिन्छ। ठिक त्यस्तै मारिया भन्ने युवकलाई पढ्न र अघि बढ्ने बेलामा सानो चियाकमानमा नोकरीमा लाग्नुपर्दा पछि उ अति मामुली कर्मचारीसम्म बनेको कुरालाई चियाको बोटसित प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। अन्य कथाहरूमा पनि प्रतीकात्मक प्रयोग गरिएका छन्। ब्लीडिङ हार्ट फूलको क्षणिकतालाई जुलीको जीवनमा ढालेका छन्। उक्त फूल फुलेको देखेर त्यसैप्रति आकर्षित हुने जुली पनि बेलैमा फुलेर वैलाउन पुग्छ।
४. कथावस्तु सङ्गठन-
कथाकार फानुस सादाले आफ्ना यी पन्ध्रवटा कथाहरूलाई वास्तविक घटना, कल्पना, संस्मरण आदिलाई निबन्धन गरेर कथाको वस्तु सङ्गठन तयार गरेका छन्। साना-साना घटनाहरूलाई बुनेर, खिपेर कथा तयार पारेका छन्। आफ्ना कथाहरूको वस्तु आफ्नै वरिपरिका घटना, अरूले नदेखेका, ख्याल नगरेका कुराहरूलाई यहाँ राखिएको छ। यसमा कथावस्तु निर्माण गर्दा लेखक र अन्य पात्रको सम्मिश्रण गरिएको छ। लेखकका संस्मरण, लेखकसित सम्बन्धित पात्रहरूका कथा, सुनेका कथा आदिलाई कथाका सामल बनाएका छन्। कथावस्तुको सङ्गठनमा लेखक सचेत छन्। सामान्य विषयवस्तुलाई पनि कलात्मक बनाएर एउटा कथा सिर्जेका छन्। वरिपरिका साना ठुला घटना, प्रसङ्गविशेष आदिलाई अनुभव, संस्मरण, कल्पना, शिल्प आदि संयोजन गरेर वस्तु सङ्गठन गरेका छन्। वरिपरि ज्ञात-अज्ञात घटनाहरूलाई कथा तुल्याइएको छ। कथाकारको आफ्नो अनुभूति, विचार, उत्तरदायित्व चेतना, सचेतता आदि नै कथाका मूल कथ्य हुन्। आफ्नो बाल्यकालमा मावलीघर मङ्पु जाँदाको नोस्टाल्जिक चेतनालाई कथाका वस्तु बनाएका छन्। मङ्पुका बाजे बोजूले घरमा बारीको काम गरेको, फलफूल फलाएका, सरल जीवन बिताएका आदिलाई पाठकका निम्ति रोचक कथाको सिर्जना गरेका छन्। नोकरी खोज्ने क्रममा गान्तोक जाँदा महानन्द पौड्यालले मन्त्रीलाई जवानको कुरा सुनिदिनु भनेर निवेदन गरिदिँदा त्यही दिन काम भएको रोचक प्रसङ्गलाई कथारूप दिएका छन्। सही ठाउँमा सही व्यक्तिको बोलीले ठुलो काम गरेको हुन्छ भन्ने तथ्य प्रस्तुत गरिएको छ। साहित्यकार महानन्द पौड्यालप्रति लेखकको सदा श्रद्धाको भाव व्यक्त गरेका छन्।
पाठकलाई यसभित्रका केही पढ्दा आनन्द हुन्छ। यीमध्ये पनि एक्लै तिमी नआउ भन्ने कथा सबैभन्दा रोचक र आनन्द लाग्न सक्छ। पाठकले कति परिहास, कति संवेदनशील, पीडा अनुभूति, कतै सुखद् अनुभूति, कतै सन्तुष्टि पाउँछन्। एलीले दुबइमा राम्रो काम गर्दै गरेको र सुख पाएकी जान्न पाउँदा म पात्रसँगै पाठकलाई पनि सन्तोष लाग्छ। जुलीको निधन हुँदा पाठकलाई पनि दुःख लाग्छ, विक्रम भन्ने पात्र पछि बुढो हुँदासम्म एक धनी व्यक्ति बनेको जान्दा पाठकलाई सन्तोष लाग्छ। होनहार मारिया भन्ने केटो पछि गएर मामुली र मायालाग्दो कर्मचारी मात्र बनेको जान्दा पनि लेखकसँगै पाठकलाई पनि सोही अनुभूति हुन्छ। सबै कथामा पाठकहरूलाई एक प्रकारले आनन्दको रसमा डुबाइदिन्छन्।
४.१. कथाहरूको नामरखाइ –
लेखकले कथाहरूको नामरखाइमा निकै सचेत देखिन्छन्। कथाभित्रको मूल कुरालाई साङ्केतिक रूपमा शीर्षक राखिएको छ। नाममा नै कलात्मकता र सौन्दर्य चेतना पाइन्छ। अधिकांश कथाका शीर्षक प्रतीकात्मक र कथाको निचोड़ जस्तो राखिएको छ। बाजेको रासिन तिहुन बोजूको, ब्लीडिङ हार्ट, कलकत्ता बाँडेर खायौं, एली, चियाको बोटजस्तै छँटाइएको जिन्दगी, अब म कुकुर पाल्दिनँ, परदेश खाएको मान्छ, एक्लै तिमी नआउ, गिद्धको मासु खाएर महात्मा भएको एक यात्रा, सन्तोषभरिको शेष जिन्दगी, ईश्वरीय आश्चर्यकर्म, एउटा कथा परदेशी छोराको, कलकत्ता महानगरी मोहनी नगरी जस्ता शीर्षकहरूले नै कथाभित्रका मूल घटनालाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ।
४.२. अकथात्मक कथाको प्रस्तुति-
यसमा रहेका केही कथाहरू भने अकथात्मक जस्ता छन्। सामान्य विषयवस्तु र प्रसङ्गलाई कथा बुनिएको छ। संस्मरण, वार्तालाप, जीवनी आदि तत्वलाई नै संयोजन गरेर कथा बुनिएको छ। वास्तविकतालाई काल्पनिक तुल्याइको छ। अकथामा नै मानवीय संवेदना र अनुभूतिहरूलाई मिश्रण गरेर कथा सिर्जना गरिएको छ। यसमा रहेका जम्मै कथामा मानवीय संवेदनाको तीब्रता पाइन्छ। संवेदनासित जीवनको यथार्थ टप्किएका छन्।
५. एली कथासङ्ग्रहमा कथानकीय पात्रयोजना-
एली कथासङ्ग्रहको विशेषता नै पात्रविधान हो। यसमा कथावस्तुभन्दा पात्रवस्तुको समन्वयपट्टि बढी ध्यान दिइएको छ। यसमा काल्पनिक पात्र र वास्तविक पात्र पाइन्छन्। यसमा पात्रको चरित्र चित्रणमा प्रत्यक्ष र परोक्ष दुवै किसिमबाट गरिएको छ। पात्रहरू यथार्थ छन्, लेखकको जीवनको सम्पर्कमा आइपरेका विभिन्न किसिमका पात्र-पात्राहरूलाई लेखकले समेटेका छन्। यसमा गाउँघरका सामान्य पात्र, दुःख भोगेर पछि सम्भ्रान्त भएका पात्रहरू, चियाकमानका गरीब दुःखीहरूको चित्रण पाइन्छ। एउटा कथामा कुकुरलाई पात्र तुल्याइएको छ।
५.१. एलीको यथार्थ पात्रयोजना।
एली कथासङ्ग्रहभित्रका पात्रहरू हाम्रै वरिपरिका मानिसहरू हुन्। यहाँ किसिम किसिमका पात्र-पात्राहरू समावेश गरिएको छ। समाजका सबै पक्षका मानिसमा अँटाइएको छ। उनका पात्र-पात्राहरू समाजका विभिन्न तह र तप्काबाट चयन गरिएको छ। घरमा काम गर्ने केटी, घरमा पालेको कुकुर, वृद्ध-वृद्धा, युवा, प्रेममा धोका पाएर भौंतारिएका, घर गृहस्थी सम्हाल्दै थाकेका, नोकरीले एउटा प्रतिभालाई थिचेर अति सामान्य भएको जस्ता पात्रहरू रहेका छन्। यसमा लेखकको प्रायः प्रत्येक कथामा आफ्नै भूमिका छ, पात्रता छ। कतै लेखक मावली घर मङ्पु जाने बालक, कतै कुकुरको सहृदयी र संवेदनशील मालिक, कतै जीवनमा कर्तव्यबारे वक्तव्य छाँट्ने दार्शनिक सरह बनेका छन्। परदेशबाट दुःख पाएर चालिस धेरै वर्षपछि घर फर्केको सञ्चमान एउटा सफल माछा उद्योगी बनेर सम्मानित भएको छ, नोकरीको आशामा झुऩ्डेको विक्रम पछिबाट एक सफल र सम्पन्न बनेको छ। बदामवाला खोकन एक सफल व्यवसायी बनेको छ। मङ्पुका बाजे-बोजू र नातिपात्र, जुली, एली, राजदीप, अनिमेष, शान्तनु दा, मारियानुस उराँव, सञ्चमान र उसकी स्वास्नी र दाजुभाइ, विक्रम र वीणा, गान्तोकमुनि गाउँकी बोजू, बदामवाला खोकन, लिडिया, रत्नमान र सीमा, सीमा र मिक्कु आदि यस कथासङ्ग्रहभित्रका कथाहरूको मूल पात्र-पात्रा हुन्।
५.२. वास्तविक पात्र –
यसभित्र केही कथामा वास्तविक पात्र र काल्पनिक पात्र गरी मूलतः दुई खालका पात्रहरू रहेका छन्। वास्तविक पात्रहरूमा तुलसीराम कश्यप, महानन्द पौड्याल आदि हुन्। लेखक सिक्किममा शिक्षकको नोकरीको खोजीमा तत्कालीन शिक्षामन्त्री तुलसीराम कश्यपको गान्तोकको निवासमा जाँदा त्यहाँ लेखक महानन्द पौड्यालसित भेट हुँदा उनले शिक्षामन्त्रीलाई ‘जवानको कुरा सुनिदिनु होला बरू मेरो काम होइन, उनको काम गरिदिनुहोला’ भनेकाले लेखकको काम भएको वास्तविकता यस कथामा पाइन्छ। यसकारण पौड्यालप्रति लेखकको सदैव श्रद्धा र ऋणीको भाव रहेको कुरा उल्लेख पाइन्छ। यो अकथालाई एउटा सुन्दर कथा तुल्याइएको छ।
५.३. कथामा म पात्रको स्थान-
प्रायः सबैजसो कथामा लेखक पात्रको उपस्थिति पाइन्छ। कतै बाजे-बाजूलाई सघाउने, सम्मान गर्ने नातिका रूपमा, कतै एलीका बारे शुभचिन्तना गर्ने उदार पुरूषका रूपमा, कतै जुलीको सहृदयी, आत्मीय, अभिभावकसरह स्नेही, कुकुर पाल्ने एक पशु संवेदनलाई बुझ्ने एक सहृदयी, मरियानुस उराँवको मित्रता नबिर्सिने एक आदर्श मित्र, रेलमा सहयात्री महिलाहरूलाई जीवनको उपदेश दिने उपदेशक, गान्तोक रूम्तेक हिँडेर ओहोरदोहोर गर्दा तल गाउँकी बोजूको सन्तोषप्रियता, कोलकातामा जागिरको सरूवा भएर जाँदा त्यहाँको डेरामा बस्ता सीमा र मिक्कुको प्रेममा समर्थन र सहयोग गर्ने, महानन्द पौड्यालको गुण नबिर्सिने एक सज्जन आदिका भूमिकामा देखा पर्दछन्।
६. कथानकीय यथार्थ परिवेश निर्माण -
पन्ध्रवटा कथाहरूको परिवेश अध्ययन गर्दा पहाडी भूभाग र उत्तर बङ्गालका विभिन्न भूभाग र सिक्किमका केही ठाउँका प्राकृतिक परिवेश, सामाजिक परिवेश झल्काइएको छ। यसमा कालिम्पोङ, गान्तोक, कोलकाता, सिलगड़ी आदितिरका ठाउँहरूको उल्लेख पाइन्छ। कालिम्पोङको बमबसत्ती, लोले बस्ती आदि गाउँहरूको उल्लेख पाइऩ्छ। गाउँको स्वच्छ परिवेश, खोला-नाला, खेत जङ्गल आदिको वर्णन गरिएको पाइन्छ। उनका कथाहरूको रूचि क्षेत्र ग्राम हो। गाउँले जीवनको चित्रण पनि गरिएको छ। अधिकांश कथाहरूका परिवेश लेखकको घर र कर्मथलो सम्बन्धित रहेका छन्। कोलकाताको भाषिक, सांस्कृतिक बहुलता, भीड़भाड़-कोलाहलमय परिवेश देखाइएको छ। लेखकलाई ग्रामीण परिवेश मन पर्छ। आफुसित काम गर्ने सहकर्मी जुली लेखकको घरको परिवेश देखेर मक्ख पर्दछ। केही कथाहरूमा नेपाली, लेप्चा, आदिवासी जनगोष्ठीका सांस्कृतिक परिवेश सिर्जना गरिएको छ। यसमा भौगोलिक परिवेश, सांस्कृतिक परिवेश, आर्थिक परिवेश, राजनैतिक परिवेश आदिको सङ्केत गरिएको छ। बाह्य परिवेशसँग मानसिक परिवेशको पनि अङ्कन गरिएका छन्।
७. सादाका कथाहरूको मूल्याङ्कन-
नेपाली कथा साहित्यमा अब फानुस सादाको नाम पनि अङ्कित भएको छ। उनको एली कथासङ्ग्रहले आफ्नै मौलिक किसिमको बान्कीपन, विचार. चेतना, शिल्प सौन्दर्य, मिठासपन बोकेको छ। आफ्नो समाज वरिपरिका कुरा, प्रसङ्ग, साना-ठुला घटना आदिलाई लिएर कथा बुन्ने काम गरेका छन्। एली सङ्ग्रहभित्रका कथामा दैनन्दिन रूपमा घटिरहने घटनाहरूलाई काल्पनिक लेप दलेर रोचकता दिने काम गरेका छन्। यसमा रहेका पन्ध्रवटै कथाहरू पाठकका निम्ति रोचक र सुस्वादु किसिमका छन्। वास्तविकता र काल्पनिकता गाँसेर कथा सिर्जना गरेका छन्। अ-कथालाई कथारूप दिएका छन्। यसमा रहेका कथाहरूमा यथार्थका विविध रूप पाइन्छन्। कथाहरूमा यथार्थ वस्तु सिर्जना, यथार्थ पात्रहरूको प्रस्तुति, यथार्थ परिवेशको निर्माणले यसमा रहेका कथाहरू पाठकप्रिय छन्। अतः फानुस सादाको एली कथासङ्ग्रह मिठा र बान्की परेका छन्, सङ्ग्रनीय र पठनीय छन्।