श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थताहरु जव श्रष्टाका अनुभूति वा कलममा बांधिन पुग्छन तव ती घटना र परिवेशहरु आकर्षक शव्दहरुमा रुपान्तरण मात्र हुदैनन् तिनिहरु कल्पनाको आकर्षक आवरणमा प्रस्तुत हुने गर्दछन् । यस्ता रचनाको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुने गर्दछ । जीवनका भोगाइहरु तीता वा मीठा दुवै हुन सक्दछन् तर सिर्जनाले अन्तत मीठो अनुभूतिको परिकल्पना गराउन सक्नु पर्दछ। यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको वास्तविक वा काल्पनिक दृष्यलाई सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् ।यस कार्यमा गीतकारका शव्दहरु, संगीतकारको संगीत र गायक गायिकाको स्वरमा सजिएपछि श्रोता वीचमा पुग्ने गर्दछ। तत्पश्चात शव्दहरुले मनोरञ्जनको अतिरिक्त समाजमा एउटा सन्देश प्रवाह गर्न सक्दछ ।
मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका अधिकांश गीतहरुलाई यहि धारमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।यस गीति संग्रहमा नविर्सने कथाको मीठो पाना तिमी, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको, मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ, विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन, बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् ।
गीतको जन्म गीतकारबाट हुने गर्दछ । संगीतकार र संगीतकारको समूहवाट संगीत सहित गीतको एरेन्ज हुने गर्दछ ।गीतकारको शव्द र गीतको एरेन्जको आधारमा गायक गायिकाले स्वर दिएपछि मिक्सिंग आदि प्रक्रिया पूरा गरेपछि श्रोता सामु गीत आउने गर्दछ । आम मानिसमा गायक गायिकाको नामवाट वाट सो गीत बढि चिनिने गर्दछ ।अझ म्यूजिक भिडियोको हकमा अभिनयकर्ताको नामवाट गीत चिनिने गर्दछ । तर प्रबुध्द श्रोताहरुले गीतकार र संगीतकार को को हुन् भनी जानकारी लिने र गीतकार र संगीतकारको नामवाट पनि सो गीत चिनिने प्रचलन पनि व्यापक रुपमा रहेको छ। गीतको शुरुवात गीतकार शव्द र तत्पश्चात संगीतकारवाट अघि बढ्ने गर्दछ ।गीतकारले कथा वा परिवेश वा अवधारणाको सिर्जना गर्ने गर्दछन् संगीतकारले गीतकारको शव्दको भाव बमोजिम लय र संगीतको प्रारुप तयार गर्दछन्। तर यी दुई श्रष्टाहरु पर्दा पछाडि रहने गर्दछन् । पर्दा पछाडि रहेर पनि गायक गायिकाको स्वरलाई कालजयी बनाउने भूमिका यी दुई सर्जकहरुको हातमा रहेको हुन्छ ।जे भएता पनि गीतकार र संगीतकारको संगत अथवा सहकार्यले शव्दलाई जीवन्त स्वरुप प्रदान गर्न सक्दछ । गीतकार संगीतकार र गायक गायिका गीतका त्रिमूर्तिहरु हुन् जसको आपसी मिलनले गीतले पूर्णता पाउने गर्दछ ।
मेरो शव्द, आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको "एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ" गीत पहिलो पटक रेकर्डिंग भएको गीत हो । यसमा किरण कडेलको मनमोहक संगीत रहेको छ । शव्दहरु गीतकारका सम्पत्ति हुन् शव्दले दिएको भावलाई गीतकारको शव्दलाई कुनै दायां बायां थपथाप नगरिकन कुशल संगीतले आकर्षक बनाउने क्षमता यस गीतमा संगीतकारले प्रमाणित गरिदिनु भयो । मैले दिएकै शव्द र लाइनहरु यथास्थितमै स्वरांकन हुन सक्यो। संगीतकार किरण कडेलको संगीतले शव्दलाई राम्रो लय र संगीतमा ढाल्न सक्यो भने गायक आनन्द कार्कीको मनमोहक स्वरले हरेक शव्द र भावलाई पूर्ण न्याय गर्दै गीत तयार भयो । मेरो पहिलो गीतमै किरण कडेलले पूर्ण न्याय गरि अति राम्रो र कर्णप्रिय गीत ल्याइदिनु भयो । यसमा मित्र रामहरि खड्का संगको सहकार्यमा सियोन श्रेष्ठको निर्देशन आरुष के सी र सोनु ढुंगानाको अभिनयमा म्यूजिक भिडियो समेत तयार भयो ।
"अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" मेरो रेकर्डिंग र म्युजिक भिडियो बनेको दोश्रो गीत हो । यसगीतमा संगीतकारको भूमिका डि वि लामाले निर्वाह गर्नु भएको थियो भने प्रताप दास र अनु चौधरीको स्वर रहेको थियो । संगीतकार डि वि लामाले यस गीतमा संगीतको असल संयोजन गरिदिनु भएको छ । गीतको भाव शव्द र गीतले परिकल्पना गरेको समग्र परिवेश प्रति अति नै आकर्षक र सुनिरहु लाग्ने संगीतले सो गीत कर्णप्रिय बनेको छ । साथै गीतको शव्द र संगीत बमोजिम गायक र गायिकाको रुपमा प्रताप दास र अनु चौधरीको छनौट अति नै उपयुक्त छनौट बन्न गएको छ । मूलत प्रेमभावमा अगाडी बढेको भएपनि यसको शव्द र संगीत ले सकारात्मकता र आशावादिताको सन्देश बोकेको पृष्ठपोषण मलाई प्राप्त भएको छ । धेरै स्थानहरुमा सकारात्मक सोचका प्रशिक्षण हुदा यो गीतले स्थान पाएको देखियो । यो गीत आफैमा सकारात्मक भाव बोकेको र चुनौतीलाई स्वीकार्दै कर्मक्षेत्रमा लागिरहनु पर्ने वाक्यहरु गीतमा प्रयोग भएका थिए । यस गीतका थप केही वाक्यांशहरु यस्ता थिए जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् ,चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन , घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै , केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला , सुखदुख हो जीवन घुमिरहन्छ सधै सधै, अध्यारोमा सूर्य पनि हराउंछ कहि कतै। गीतको सफलता संगै यी हरफहरु धेरै चर्चित बने ।यी हरफहरुमा भिडियो, रिल र टिकटकहरु धेरै बने ।गीतले यस किसिमको सफलता प्राप्त गर्नमा संगीत र गायक गायिकाको स्वरको उच्च स्थान त रहेकै थियो त्यसमा प्रयोग भएका शव्दहरुले पनि राम्रै साथ दिइरहेका थिए ।यस गीतमा नितिन चन्दको निर्देशन रामहरि खड्का र श्रृष्टि खड्काको अभिनयमा तयार भएको म्यूजिक भिडियो पनि राम्रो बन्न सक्यो ।
यसपछि मेरो सहकार्य गायन र संगीत क्षेत्रका चर्चित श्रस्टा मुरलीधर संग हुन गयो "सिरेटोले छुदै छुन्न" गीतमा।मुरलीधरले यसमा संगीतकार र गायक दुवैको भूमिका निर्वाह गरिदिनु भयो । उहांका विगतका गीतहरु जस्तै एउटा भिन्न पहिचान कायम गर्न यो गीत सफल भयो ।मुरलीधरसंगको यो संगत अति नै उपयोगी र चीरस्थायी बन्न सक्यो ।
"अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" गीतवाट अमिट छाप छोड्नु भएका संगीत डि बी लामासंग थप सहकार्य गर्ने मेरो चाहना रहिरहेको थियो । समय मिलिरहेको थिएन । केही पछि समय पनि जुर्यो । "डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ" भन्ने गीतमा । यसपटक मैले उहांलाई केही गीत दिएको थिएं छनौटको लागि।उहांले "डाँडापारी घाम डुव्यो" गीतमा संगीत दिन इच्छा देखाउनु भयो र गीतको डमी मलाइ पठाउनु भयो । सो गीत महिला स्वरको लागि तयार गरिएको थियो तर पुरुष स्वरमा आएको डमी पनि अतिनै कर्णप्रिय बनेको थियो । अव हामी कुन कलाकार छान्ने छलफलमा लाग्यौ। यसमा महिला स्वरको आवश्यकता थियो ।केही गायिकाहरुको वारेमा छलफल गर्दै अन्तत समीक्षा अधिकारीको स्वरमा गीत ल्याउने निर्णय गरियो । समीक्षा अधिकारीको स्वरमा स्वारांकन गरिदा गीत मनमोहक बन्न गयो ।डि बी लामाको कुशल क्षमता यहां पनि प्रदर्शन भयो । गीतले एउटा विरह गाथा बोकेको थियो । तर यसका शव्द र हरफ हरुमा श्रोताबाट राम्रो पृष्ठपोषण प्राप्त हुन पुग्यो ।"मनभरिको वेदना यो कुन चिठीमा लेखुं, पुर्याइदिने हुलाकी म कतै छन् कि खोजुं" "जूनको उज्यालो संगै आउछौ जस्तो लाग्छ" लगायतका सकारात्मक सन्देश बोकेका हरफले धेरै प्रशंसा पायो । डि वि लामा संगको सहकार्यले मेरो धीत अझै मरेको थिएन यसैले अर्को सहकार्य पनि जुट्यो मन एउटै भएर होला दुई मुटु एउटै भएर होला भन्ने गीतमा जसमा स्वर सुरेश लामा र दीपा लामाको रहेको छ।यस गीतमा पनि डि वि लामाको संगीत संयोजन अति नै उत्कृष्ट रहेको छ । डि वि लामा संगको संगतले धेरै मेरो शव्दले धेरै राम्रो संगीत मात्र पाएन गायक र गायिकाहरुको सही छनौट समेत हुन पुग्यो । प्रभात पल ठकुरी र अप्सना बलामीको अभिनय उत्तम श्रेष्ठ शिसिरको निर्देशनले गीतलाई थप प्रभावकारी वनाउन सक्यो । यो गीतको लागि समग्र टीम र पात्रको छनौट ठीक ढंगले गरिएको कारणले गीतको समग्र पक्ष सफल बन्न पुग्यो ।
एक दिन म रेडियो नेपालमा गएको थिएं । अतिनै सहृदयी मिलनसार र सरल स्वभावका मित्र तथा भाइ राम अविरल संग गीति अन्तरवार्ताको लागि ।म गीति क्षेत्रमा प्रवेश गरेदेखि हरेक क्षणमा मलाइ उत्साह र उर्जा मित्र तथा भाइ राम अविरलबाट प्राप्त भैरहेको छ । अन्तर्वार्ताको समापन पछि रेडियो नेपालमै दिवाकर शर्मा संग चिनजान भयो भाइ राम अविरल मार्फत। दिवाकर शर्मा एउटा कुशल संगीतकार हुनुहुन्छ तर संगीतकारको रुपमा उहां किर्ती न्यौपानेको नामले चिनिनुहुन्छ । उहां एउटा राम्रो गायक पनि हुनुहुन्छ गायकको रुपमा उहां दिवाकर शर्माको नामले चिनिनु हुन्छ, धेरै नाम जस्तै धेरै प्रतिभालेयुक्त व्यक्ति । अलि पछि मेरो शव्दमा संगीतकार किर्ती न्यौपानेको सहकार्य हुने कुरा हामी वीचमा तय भयो । मैले जिन्दगीको पाठशालाले धेरै पढायो बोलको गीत उहांलाई दिएं । गीतको एरेन्ज र डमि तयार भयो पुरुषोत्तम सुवेदी समेतको सहकार्यमा । मेरो शव्दमा संगीतकार किर्ती न्यौपाने खुशी हुनुहुन्थ्यो उहांको संगीत संयोजनमा म मख्ख थिएं ।तर गायक वा गायिका कसलाई राख्ने सामान्य खाका बनेपनि निधो भैसकेको थिएन । अलि पछि उहांले आनि छोइङ्ग डोल्माको नाम प्रस्तावित गर्नु भयो मैले नमान्ने कुरै भएन । यहांनिर अर्को समस्या खडा भयो ।यसअघि तयार भैसकेको एरेन्ज र डमी आनि छोइङ्गको स्वर र उहांले कायम गरेको गायिकाको पहिचान संग मिल्ने हुनु आवश्यक थियो । यसैले तदनुरुप एरेन्ज र डमी पुन तयार भयो । एकाध पटक गीतकार संगीतकार र गायिका तीनै संगै वसि छलफल गरियो गीत कुन रुपमा ल्याउने भनेर । अन्तत मेरो शव्द रहेको, किर्ति न्यौपानेको संगीतमा, आनि छोइङ्ग डोल्माको स्वरमा जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत स्वरांकन भै सार्वजनिक समेत भयो । गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढेकोले धेरै श्रोताको मन छिट्टै आकर्षण गर्न सक्यो । यस गीतका अन्य वाक्यांशहरुमा कहिले हसायो कहिले रुवायो जीवनका पहलु सवै सिकायो, बाधा विघ्न आउंछन् धेरै नमानी रत्ति , दुखमा आंशु पुछि सुखमा नमात्ति , व्यथाहरु लुकाइ हांस्न सिकायो , भत्केका ती आशालाई जोड्न सिकायो , ओइलाएको मन भित्र नयां जोश पलायो, चुनौतीको सामनामा उर्जा दिलायो, पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिड्न बाटो देखायो रहेका छन् । यो गीतले इमेज एफ एम मा साताको गीत र साइनिंग स्टार स्तम्भ अन्तरगत प्रशारण भयो भने कान्तिपुर एफ एम मा हट प्रपर्टि स्तम्भ अन्तरगत प्रशारण हुन सक्यो। यसका साथै रेडियो नेपाल लगायत अन्य रेडियो स्टेशनहरुवाट समेत प्रशारणमा स्थान पाएको र श्रोताहरुको राम्रो साथ पाइरहेको छ।दिवाकर शर्मा अर्थात किर्ती न्यौपाने संगको संगत यसअर्थमा धेरै फलदायी बन्न पुग्यो ।यस गीतको भावलाई न्याय गर्ने कलाकारको छनौट चुनौतीपूर्ण रहेको थियो । लक्ष्य लिनु पर्छ पूरा भैहाल्छ भने जसरी नै मिथिला शर्माको अभिनय र कृष्णदेव रुपाखेतीको निर्देशनमा म्यूजिक भिडियो बन्न सफल भयो ।
यसरी गीतकार र संगीतकार वीचको अन्तरक्रिया अन्तरंग सम्बन्धबाट गायक गायिकाको छनौट गायक गायिकाको पहिचान अनुरुपको मेलोडी आदिका लागि हरेक चरणामा गरिने तयारीले राम्रो गीत बन्न सक्दछ भन्ने कुरा मैले संगत गरेका संगीतकार गायक गायिका र अभिनयकर्ताहरु संगको सहकार्यले पुष्टि गरिसकेको छ। यसर्थ गीतकार गीतको रचनाकारको भूमिकामा मात्र होइन संगीतकार, गायक, गायिकाको चयनकर्ता, गीतको भाव अनुरुप संगीत र स्वरको सामञ्जस्यता मिलाउन सक्ने र अभिनयकर्ताको चयन गर्न सक्ने एउटा कुशल व्यवस्थापक पनि बन्न सक्नु पर्दछ । गीतकारको रुपमा उसका शव्दले सकारात्मक सन्देशको प्रवाह गर्न सक्नु आश्यक छ भने संगीत, गायन र अभिनयका अन्य फरक विधाका संग पनि सहकार्य गर्न सक्ने क्षमता हुनु आवश्यक छ ।