18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाँसुरीको धुनले आगो निभ्दैन

निबन्ध चिरञ्जीवी दाहाल January 2, 2025, 1:59 am
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

रोमन साम्राज्यका तत्कालीन सम्राट नीरोको नाम नसुन्ने सायदै कम हुनुपर्छ । उनको नाम सुन्नासाथ सबैको मनमा एउटा चित्र आउने गरेको छ , आगोमा दन्किरहेको रोम र त्यही आगोको राप छेउमा बाँसुरीको तान छेड्दै मुस्कुराइरहेको एउटा सन्की शासक नीरो ।

नीरो त्यही व्यक्ति हुन् जसलाई इतिहासले क्रुर, सन्की, स्वार्थी र गैह्र जिम्मेवार शासक‌को रूपमा संसारलाई परिचित गरायो । नीरो साच्चै उल्लेख गरेजस्तै थिए या उनलाई बिना आधार यो पगरी गुथाइएको हो ? यो भने इतिहासको पानामा विस्तृतसँग उल्लेख गरिएकै छ । इतिहासले मूल्याङ्कन गरिसकेको विषय भएकोले यस विषयमा म थप चर्चा गर्न चाहन्न । मैले चर्चा गर्न लागेको विषय भने नीरोको कुख्यातिका लगि प्रमुख भूमिका निभाउने बाँसुरीको विषयमा हो । जसलाई इतिहासले बिर्सिएको छ । मेरो मनमा एउटा प्रश्नले सधैँ घर गरिरहेको हुन्छ, रोम शहर जलिरहेको समयमा नीरोले बजाएको त्यो बाँसुरी कस्तो थियो ? अहिले कता होला ? कस्तो अवस्थामा होला ? वा अहिले त्यो अस्तित्वमा छैन ?

नीरोको विषयमा विश्व इतिहासले अनगिन्ती शब्दहरू खर्चिएको पाइन्छ तर पनि त्यस बेला बजाइएको त्यो चर्चित बाँसुरीका बारेमा इतिहास मौन देखिन्छ । “रोम जलिरहँदा नीरोले बाँसुरी बजाइरहेका थिए ।" मलाई लाग्छ, यतिले मात्र बाँसुरीको वर्णन पूरा हुँदैन । नीरोले बजाउने गरेको बाँसुरीको पूर्ण ब्याख्या किन कतै फेला पर्दैन ? त्यस बाँसुरीका विषयमा मेरो मनमा किन यतिविधि प्रश्न उठिरहन्छन् ?

रोम जलिरहँदा लापरवाह बनेको अभियोग नीरोलाई लगाइएपछि बाँसुरीको पनि विस्तृत विवरण दिइएको भए कसको के बिग्रन्थ्यो ? इतिहासले नीरोका विषयमा मात्र चर्चा गरेर बाँसुरीलाई चटक्कै किन बिर्सियो ? के इतिहास पदासीनहरूको मात्र लेखिन्छ ? चाहे ऊ सन्की, क्रुर र निर्दयी नै किन नहोस् ! त्यसैले नीरोको इतिहास लेख्नेहरूले बाँसुरीका विषयमा लेख्न कञ्जुस्याइँ गरेकै हो ।

लाग्छ, रोम जलिरहँदा नीरोको हातमा त्यो बाँसुरी नभइदिएको भए इतिहासले नीरोलाई यति बिधि निन्दा गरेर चित्रण नगर्न पनि सक्थ्यो । न त उनले तीस वर्षको युवावस्थामा आत्महत्या गर्नुपर्ने थियो ! नीरोले आत्महत्या गर्नुअघि बाँसुरीलाई पूर्णरूपमा दोषी मान्दै कच्याककुचुक बनाएर आत्महत्या गरेका थिए वा आत्महत्या गर्ने समयमा उनलाई बाँसुरीको पटक्कै याद आएन ? त्यो कुरा इतिहासमा कतै उल्लेख गरिएको छैन । हुनसक्छ बाँसुरीको ब्याख्या गरिएको इतिहास मैले फेला पार्न सकिन !

त्यस बखत रोममा भएको त्यो आगलागीले नगरको सत्तरी प्रतिशत भाग ध्वस्त पारेको र आधा जनसंख्यालाई घरबारविहीन बनाएको घटना इतिहासमा उल्लेख गरिएकोले त्यसलाई असत्य मान्न पनि मिल्दैन । घटना जे जस्तो भएपनि नीरोलाई बदनाम गराउने बाँसुरी नीरोको मृत्युपछि पनि अस्तित्वमा रहिरहन सक्यो वा सकेन, मेरो मनमा हरहमेसा उठिरहने प्रश्न यही हो । जतनसँग राखिएको भए त्यो बाँसुरी आजसम्म पनि ज्युँका त्युँ हुनसक्छ । होइन , नीरोलाई आगलागीको अवस्थामा स्वार्थी र लापरवाह बनाउन प्रमुख भूमिका खेलेको आरोपमा बाँसुरी त्यतिबेलै नष्ट गरिएको वा रोम जलेको आगोको भुङ्रोमा राखेर जलाइएको पनि हुनसक्छ ।

आखिर त्यो सर्बसाधारण व्यक्तिले बजाउने बाँसुरी थिएन । रोमन सम्राटले प्रयोग गर्ने गरेको वस्तु विनसित्तै गायव पारिएको वा नष्ट गरिएको हुनसक्ने आधार पनि त देखिदैन ! सम्राटको बाँसुरी कस्तो थियो होला ? के त्यो आल्मुनियम, ताँबा वा पित्तलको हुनसक्छ ? कि सुनको थियो ? वा बाँसुरीमा हिरामोती समेत जडान गरिएको थियो ? त्यो पनि नभए बाँसुरी साधारण बाँस र निगालोको पनि हुनसक्थ्यो तर यस्तै थियो भन्ने न आधार छ न कुनै प्रमाण ! बाँसुरीको लम्बाई, मोटाई र त्यसमा भएका प्वालहरू कति र कस्ता थिए ? एउटा प्वाल देखि अर्को प्वाल बीचको दुरी कति थियो ? आजभोलि चलन चल्तीमा आएको बाँसुरी सोही चर्चित बाँसुरीको हुबहु नमुना हो वा केही फरक प्रकारले विकसित गरिएको हो ? कि कतै बाँसुरीको पूर्वज नै सोही बाँसुरी थियो ?

यसरी मैले बाँसुरीका विषयमा चाहिनेभन्दा धेरै समय र सोचाइ खर्च गरिसकेको छु । यदि नीरोको इतिहास लेख्दा बाँसुरीको पनि लेखिएको भए मैले यति धेरै सोच र समय खर्च गरिरहनु पर्ने थिएन । न त यस्ता मनगढन्ते अनुमान नै गर्नुपर्ने थियो ! किन किन मलाई नीरोको विषयमा इतिहास लेख्ने इतिहासकारसँग यही गुनासो छ ।

रोम शहर जल्दा जति दोषी नीरो थिए त्यति नै दोषी त्यसबेला बज्ने बाँसुरी नहुनुपर्छ । किनकि बाँसुरीसँग कुनैपनि निर्णय गर्न सक्ने क्षमता हुँदैन । नीरो उठेर आगो नियन्त्रण गर्ने प्रयास गरिरहँदा बाँसुरीले उठ्न नदिएको पक्कै होइन । बाँसुरी विल्कुल निर्जिव वस्तु हो । नीरोले चाहेको भए हातको बाँसुरी तत्काल मिल्काएर आफ्ना सेनालाई आगो निभाउने उर्दी जारीगर्न सक्थे ।

हुन त भुइँचालोमा घर भत्किन लाग्दा घरमूलीसँग अनुमति लिएर घर बाहिर भाग्ने गरिँदैन । रोममा लागेको आगो निभाउने जिम्मेवारी नीरोको मात्र नभइ सर्वसाधारण जनता, भाइभारदार र सेनाको पनि हुन्थ्यो । तर पनि इतिहासले भने आगलागीको मुख्य दोषी नीरोलाई मात्र मानेको छ ।

यथार्थमा नीरोको बाँसुरी त एउटा सामान्य वस्तु मात्र थियो । असली कुरा थियो, नीरोको सोचाइ । संसारमा नीरोको जस्तै सोचाइ हुने शासकहरू प्रसस्त हुनसक्छन् । फरक यति मात्र हो नीरो बाँसुरी बजाउन खप्पिस थिए । अन्य शासकहरू तवला र सारङ्गी बजाउन खप्पिस हुनसक्छन् । कुनै सहनाई र मृदङ्गका शौखिन हुनसक्छन् । कसैसँग कथा कहानी र उखान टुक्का सुनाउने शोख हुनसक्छ । कुनै शासक कविताका पारखी हुन सक्छन् तर इतिहासले नीरोको बाँसुरी बजाउने शोखको मात्र चर्चा गरेर उनलाई मात्र वदनाम गराउने प्रयास किन गरिएको हो ? मेरो कुतुहलताको विषय यही हो ।

त्यही बाँसुरीको चिन्ताले कुनै रात म निदाउन सक्दिन । घरीघरी मेरो मनले प्रश्न गरिरहन्छ , आखिर नीरोको त्यो बाँसुरी के भयो होला ? त्यो अचेल छ कि छैन ? यदि छ भने कस्तो अवस्थामा र कहाँ छ ?

मेरो मनले भन्छ, त्यो बाँसुरी कुनै सङ्ग्रहालयमा पुरानो साम्राज्यको अवशेषको रूपमा सुरक्षित राखिएको हुनसक्छ । हिजोआज अनगिन्ती विदेशी पर्यटकहरूले फोटो खिच्दै र सोच्दै होलान्, "यही बाँसुरीका कारण रोम जलिरह्यो !" त्यहाँ ठूला ठूला अक्षरले लेखिएको लेखोट पनि सँगै हुनुपर्छ , “ रोमन सम्राट नीरोको चर्चित बाँसुरी " । त्यही लेखोटका कारण पर्यटकले सजिलै नीरोलाई जीरो बनाउने बाँसुरीको दृश्यावलोकन गरिरहेका होलान् । अथवा, त्यो बाँसुरी कुनै नाटकघरका कलाकारले प्रयोग गरिरहेका हुनसक्छन् । ऐतिहासिक नाटकलाई जीवन्त बनाउँदै। म त्यही बाँसुरीका विषयमा अनेक कल्पना गरिरहेको हुन्छु, अनेक सम्भावनाका बारेमा सोचिरहन्छु ।

मैले कल्पना गर्ने गरेका सम्भावनाहरू यतिमात्र छैनन् । कहिलेकाहीँ लाग्छ, नीरोको बाँसुरी हिजोआज कुनै प्रख्यात सङ्गीतकारको हातमा पुगेको छ। आजको आधुनिक समाजमा त्यही बाँसुरी "सपना पूरा गराउने बाँसुरी"को रूपमा पुनर्जीवित भएको हुनसक्छ । कुनै लोकप्रिय सङ्गीतकारले सोही बाँसुरीको प्रयोग गरेर शानदार धुन भरेर निकै चर्चित गीत सङ्गीतवद्ध गरिसकेको हुनसक्छ। बाँसुरीले पनि भन्दै होला, "समय परिवर्तनशील छ ! कहिले रोम जलाइयो, अहिले प्रेमको धुन बजाइयो ।"

अर्को तर्फ, ठिक त्यस्तै बाँसुरी बजारमा नक्कली रूप लिएर सस्तो दाममा बिक्री भइरहेको हुन सक्छ। कुनै स्थानीय पसलको कुनामा थन्किएको, "रोमन सम्राटको बाँसुरीको प्रतिकृति, केवल तीस रुपैयाँमा !" भन्ने साइनबोर्डमा अङ्कित गरेर ठिक त्यस्तै अनगिन्ती थान बाँसुरी बिक्रि भइसकेको हुनुपर्छ । त्यसमा न कुनै नीरोको प्रभाव हुनेछ ,न कुनै ऐतिहासिक महत्व नै !

अनगिन्ती सम्भावनाहरू मध्य अचेल मेरो मनले अनुमान गर्न लागेको छ, त्यो बाँसुरी कुनै माध्यमबाट यतै आइपुगेको हुनुपर्छ । म कुनै बेला राजधानी जाँदा कताकता त्यसको धुन सुनेको झझल्को लागेको थियो । मसँग यहाँ सुनेको बाँसुरीको धुन र रोमन साम्राज्यका सम्राट नीरोको बाँसुरीको धुन छुट्याउने सामर्थ्य त छैन ! त्यसैले त्यही बाँसुरीको धुन काठमाडौमा बजेको हो भनेर म किटानसाथ भन्न पनि सक्दिन । ध्यान मुद्रामा म गहिरिएर सुन्छु, त्यो बाँसुरी आजभोलि यतै कतै बजिरहेको हुनुपर्छ । रोमबाट बाँसुरी कसरी यता भित्रियो त्यो छुट्टै अनुसन्धानको विषय हुन सक्ला तर ध्यान दिएर सुन्ने हो भने अचेल काठमाडौं र आसपासका क्षेत्रमा बाँसुरीको धुन जो कोहीले पनि स्पष्टसँग सुन्न सक्छ । फरक यतिमात्र हो, हामी सबैले उतिसारो ध्यान दिएर सुन्ने कोशिश गरेका छैनौँ ।

जमाना विज्ञानको हो । सायद , हिजोआज त्यही बाँसुरीको नक्कल गरिएको पनि हुनसक्छ । हिजोआज चारैतर्फ ट्याँ ट्याँ र टिँ टिँ गर्दै बाँसुरी बजिरहेको सुनिन्छ । तर नक्कल गर्न पनि अक्कल चाहिन्छ ! माउ सिँहदरबारमा बजाइने बाँसुरी, गाउँ सिँहदरबारमा बजाउने प्रयास भइरहेको पाइन्छ तर तान मिलिरहेको देखिदैन। त्यस बेलाको बाँसुरी रोम दरबारमा मात्र बजेको सुनिएको हो । सारा रोमन साम्राज्यभरी एकसाथ बजेको थिएन ।

यहाँ भने विद्यालयका पाठ्यक्रमदेखि विद्यालय र कलेजका कक्षाकोठामा, दैनिक पत्रपत्रिकाका कार्यालयमा, लेखकका लेखहरूमा, फिल्म र नाटकहरूमा, सरकारी कार्यालयहरूमा, माउ सिँहदरबार देखि गाउँ सिँहदरबारहरूमा समेत ठिक त्यस्तै धुन निकालेर बाँसुरी एकनाससँग बजिरहेको छ । बाँसुरीले हावादारी कथा सुनाइ रहेको छ । कुनै समस्या हुँदा, समाधान खोज्नुभन्दा दोष थुपार्ने अनि मनोरञ्जन खोज्ने हाम्रो प्रवृत्ति देख्दा लाग्छ, नीरोको बाँसुरीको धुन सिँहदरबारमा मात्र होइन, आजभोलि हाम्रो मानसिकतामा पनि बजिरहेको छ।

नीरो, रोमन साम्राज्यको एक कुख्यात सम्राट थिए । आफ्नो क्रूरता र अत्याचारका लागि परिचित थिए। तर, उनको अर्को पक्ष पनि थियो जुन कम चर्चामा छ, उनको बाँसुरी बजाउने प्रतिभा । नीरोको बाँसुरी बजाउने सिप विचित्रको थियो । यही कारण उनले आफूलाई एक महान् सङ्गीतकार ठानेका थिए र सार्वजनिक रूपमा बाँसुरी बजाउन रुचाउँथे । सामान्य व्यक्ति होस् वा शासक जसलाई पनि आफ्नो सिप देखाउने प्रवल इच्छा हुन्छ । बाँसुरी बजाउँदा नीरो यसरी हराउँथे, जब बाँसुरीबाट सुमधुर आवाज निस्कन्थ्यो, उनी त्यही धुनको गहिराइमा डुबिरहेका हुन्थे । त्यसबेला नीरोलाई आफू को हुँ भन्ने पनि ख्याल हुँदैन थियो । आफू कहाँ छु , के गरिरहेको छु , आफ्नो हैसियत के हो ? उनलाई केही पनि थाहा हुँदैन थियो । सायद यसरी बाँसुरी बजाइरहँदा नीरो मात्र होइन सबै गहिराइमा डुबिरहेका हुन्छन् ।

सो बाँसुरी यता आइपुगेको अनुमान त्यसै गरिएको भने होइन, वर्तमान समाज गैरजिम्मेवारी र उदासीनताको नमूना बन्दै गएको छ । अचेल राजनीति नामको बाँसुरीले बजाएको नयाँ धुनले हाम्रो कानलाई लठ्ठ बनाउने गरेको छ । तिनका अनेक प्रकारका नक्कली धुनले हामी मख्ख परिरहेका छौँ । धुन सुन्नेहरू यति मख्ख छौँ भने बाँसुरी फुक्ने हरूलाई झनै कस्तो अनुभुति भएको होला, यसै अनुमान गर्न सकिन्छ । जब समाज वास्तविक समस्याबाट जर्जर हुन्छ, तब राजनीति र राजनीतिका बाँसुरी बादकहरू बाँसुरी बजाउँदै आत्म प्रशंसामा मग्न भेटिन्छन् ।

भोकमरी, बेरोजगारी, शिक्षा, स्वास्थ्यको आगो जताततै बलिरहेको छ, तर उनीहरूको ध्यान त्यो आगो निभाउन होइन, आफ्नो कुर्सी मजबुत बनाउनतिर लाग्ने गरेको पाइन्छ । जब विकराल समस्या हाम्रो आँखा अगाडि चियाइरहेको हुन्छ, तब हामी बाँसुरीको धुनमा लठ्ठ परेर समस्यालाई बेवास्ता गर्न खोजिरहेका हुन्छौँ । घर डुबेर नाकसम्म पानी आइपुगिसकेको हुन्छ, हामी उही शैलीमा बाँसुरीको राग सुन्न र सुनाउनमा व्यस्त हुन्छौँ । यहाँ महङ्गीको आगो बलिरहदाँ पनि बाँसुरी बजिरहेको सुनिन्छ । गरिबी र अभावको आगो बलिरहेको छ । वेथितीको आगो बल्न लागेको निकै समय भइसकेको छ । यो धुनले धन कमाउने सपना साँचेर सन्तानलाई सात समुन्द्र पारी पठाएर एक्लिएका वृद्ध बाबुआमाका मनमा दन्किएको आगो निभाउन पनि सक्दैन । बाँसुरी वादक हरूलाई लाग्नसक्छ बाँसुरीको धुनले दन्किरहेको आगो नियन्त्रण गर्न सकिन्छ ! तर यो दिवास्वप्न मात्र हो, बाँसुरीको धुनले जलिरहेको शहर र मनमा बलिरहेको आगो निभाउन सकिदैन । इतिहासले सबैभन्दा लापरवाह उल्लेख गरेका नीरोले पनि यस्तो धुनले आगो निभ्न सक्छ भन्ने पक्कै सोचेका थिएनन् ! उनले त केवल बेवास्ता मात्र गरेका थिए । समय परिवर्तन भयो । वर्तमानले भने बेवास्ता सँगै बाँसुरीको धुनले आगो निभाउने छली कुरा गरेर समाजको आँखामा छारो हाल्ने प्रयास गरिएको देखिन्छ ।

बाँसुरीको धुन मजाले सुनाउनुस् र सुन्नुस पनि, तर मनोरञ्जनका लागि मात्र । समस्याले गाँजेको समयमा बजाइएको धुनले मनोरञ्जन होइन थप पीडा दिनसक्छ ! सम्झनुस्, “आगो निभाउन पानी चाहिन्छ, बाँसुरीको धुनले आगो निभ्दैन !”

कालिका चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।